Contact Form

Name

Email *

Message *

Z

Showing posts with label अनलाइन. Show all posts
Showing posts with label अनलाइन. Show all posts

Sunday, November 8, 2020

म आफैं जन्मेको हुँ: रोशन [वार्ता-कथा ]





मेरा तीन जना मानस–सन्तान छन् । मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री । जसमध्ये एउटा हो रोशन । हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं । कहिले सिनेमा हेर्छौं । कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं । कहिले बाक्ला थियटरतिर बरालिन्छौं ।

कहिले उच्चाल पहाडतिर हाइकिङ जान्छौं । केही नभएघरकै कोठामा चर्को चर्को गरी नृत्य–संगीत बजाएर झुमिन्छौं ।
यसरी हरेक दिनको तनलाई निद्राले छोडेको तर मनलाई नछोडेको बिहानको सरदर दुई घण्टा र तन मन दुइटैले निद्राभोग गर्न नसकेको साँझको एक घण्टा म मानस–सन्तानसँग मानस–जिन्दगी बाँच्छु ।

चन्द्रमा मनसो जात... !
बाँकी दुई जनाको कुरा पछि गरौंला । कुनै संस्मरण वा कथामा । अहिले म मेरो कान्छो मानस–पुत्र रोशनका बारेमा कुरा गर्छु ।

रोशन जन्मिंदै सात वर्षको भएर जन्मेको थियो । त्यसैले जन्मनेबित्तिकै मैले उसलाई स्थानीय अमरसिंह माध्यमिक विद्यालयको कक्षा–१ मा भर्ना गरिदिएको थिएँ । ऊ नियमित स्कूल त जान्थ्यो, पठनपाठनमा मिहिनेत पनि निकै गर्थ्यो तर खै किन हो उसको दिमागमा पढेको कुरा घुस्तै घुस्तैनथ्यो । साह्रै लद्दु भएर निस्कियो ऊ । खेलकुदमा पनि उसलाई खास रुचि थिएन । कुनै चित्र बनाउने, कविता लेख्ने, अभिनय गर्ने वा यस्तै कुनै सिर्जनात्मक गतिविधिमा पनि उसको रुचि वा सामर्थ्य देखिएन ।
उता वेदव्यास जन्मिने बित्तिकै मातापितालाई देशना दिएर जंगल हिंडेका थिए भनेर आफ्ना जैविक बाजेबाट सुन्दै हुर्केको मलाई जन्मँदै सात वर्षको लाठे भएको आफ्नो मानस–पुत्रको दिमाग देख्दा साह्रै दिक्दार लाग्थ्यो ।

रोशन जन्मेको बखत मलाई पनि रहर लागेको थियो, ऊ टुकुर टुकुर हिंड्दै मेरो नजिकै आओस् । मलाई धर्म, विज्ञान, इतिहास, न्याय आदिका बारेमा अविच्छिन्न प्रवचन देओस् । म ऊसँग तर्क गर्नै नसक्ने भएर शब्दको बुइँगलमा पछारिऊँ । मेरा दुवै हात समातेर उसले मलाई उठाओस् र भनोस् :

'पिताजी, तपाईंले मनमनै भए पनि मलाई जन्माएर असाध्य पुनित काम गर्नुभएको छ । म तपाईंको मानस–पुत्र भएर जन्मेको भए पनि यसरी सधैंभरि तपाईंको मनमा बसेर हुँदैन । दिनका दिन तपाईंसँग मनोगफमा भुलेर हुँदैन । यसो गरेमा मानिसहरूले तपाईंलाई बर्बराउँदै हिंड्ने बौलाहा भन्न पनि बेर लगाउँदैनन् । त्यसैले मलाई तपाईंले आफ्नो मनबाट बिदा दिनुहोस् । म तपाईंको मनोलोकबाट निस्केर सर्वप्रथम ब्रह्माण्डको विचरण गर्न चाहन्छु । त्यसपछि ब्ल्याकहोल जस्तै ब्रह्माण्डकै कुनै अघोर अन्धकारमा ऐकान्तिक तपस्यामा लीन हुन चाहन्छु ।'

तर उसले त्यस्तो भनेन । बुद्धि भए पो भनोस् । १७ वर्षदेखि उसले मेरो दिमाग खाएर बसेको थियो, हरेक बिहान दुई घण्टा । बेलुका एक घण्टा ।

ऊ यतिसम्मको लद्दु थियो कि ७ कक्षा पुग्दासम्म उसलाई पूरै बाह्रखरी समेत आउँदैनथ्यो । अंग्रेजी वर्णमालामा ‘एप्पल’ देखि ‘जेब्रा’सम्म पूरै भन्न सक्दैनथ्यो । कहिले ‘एच’को ‘हेन’मा अड्किन्थ्यो । कहिले ‘आइ’को ‘इन्क’मा । गणितको त झन् कुरै नगरे हुन्छ । भन्थ्यो, ‘बाबा, मलाई हिसाब देखेपछि पिसाब आउँछ । सूत्र घोक्दा घोक्दा मूत्रले सताउँछ ।’
उसको एउटै कुरा ठीक थियो । मान्छे इमानदार थियो । मेरो पैसा चोर्दैनथ्यो । किचकिच गर्दैनथ्यो । भनेको मान्थ्यो । त्यसो त मानस–सन्तानहरू पैसा चोर्न वा पैतृक सम्पत्ति खानका लागि जन्मेका हुँदैनन् ।

त्यही साल हो कि अर्को साल हो, अहिले ठ्याक्कै बिर्सें । उसले स्कूल जान चटक्कै छोडिदियो । छोड्नुअघिको एकदिन उसले मसँग लठारिंदै भन्यो, ‘बाबा, म आजबाट स्कूल जान्नँ । पढेर काम छैन ।’
“अनि के गर्छस् त ? के गरेर खान्छस् ?”, मैले सोधें ।
“म बिजुलीकर्मी हुन्छु । घरको वाइरिङ गर्छु । खम्बामा तार टाँग्छु । एउटा छोटो जिन्दगी बाँच्न धेरै कुरा जान्नु पर्दैन । एउटा मात्रै सीप काफी हुन्छ ।”

छोटो जिन्दगी ? उसले यस्तो शब्दावली कसरी सिक्यो ? कसका लागि सिक्यो ? मेरा लागि अथवा आफ्नै लागि ? के मानस सन्तानको पनि आयु हुन्छ ? के बह्माजीका चार कुमार, नारद, दक्ष, मरिची सबै मरिसके ?
***
यसरी मेरो छोरो बिजुलीकर्मी अर्थात् इलेक्ट्रिसियन बन्यो । खै कसरी हो, रोशनले बिजुलीका रंगीविरंगी तारको जंजाललाई सजिलोसँग उधिन्न सजिलो गरी सिक्यो । मन परेको कुरा सिक्नलाई दिमाग नचाहिने रहेछ ।
पहाडमा छाँगो खस्ता झैं फटाफट दिन बिते । खहरेकै वेगमा महीना सोहोरिए । नदीको रफ्तारमा वर्षहरू ओरालो लागे । अनि अस्ति बिहीबारको दिनदेखि ऊ २४ वर्षको भयो । मैले तन्मयका साथ उसको जन्मोत्सव मनाउने तयारी गरेको थिएँ । ‘२४औं जन्मदिवसको शुभकामना’ देखिएको केक घरमा आइसकेको थियो । उसकी दिदी नर्मदा र दाजु प्रकाशले सम्पूर्ण मानस–गृह सजाएर चिरिच्याट्ट पारेका थिए । उत्सवको उत्कर्ष हुनै लागेको थियो, अचानकसँग बत्ती गयो । मेरो मानस गृहमा चूक अँध्यारो छायो ।
“बर्थ–डे–बोय हुँदैमा त्यसै आराम गर्न कहाँ पाइन्थ्यो !”, मलाई आँखा झिम्क्याउँदै ऊ टुल बक्स बोकेर बाहिर निस्क्यो । बिजुलीको खाँबोमा भर्‌याङ अड्यायो अनि फटाफट माथि चढ्न थाल्यो ।
मैले ‘माथिबाटै बिजुली गएको होला’ भन्ठानेको थिएँ तर छिमेकीका घरहरू पूरै उज्याला थिए । शायद हाम्रो घरमा तार तानेकै बिजुली—खाँबोमा कुनै कैफियत भएर होला । नत्र, रोशन किन माथि चढ्थ्यो र ?
यति सोच्दा कति समय पो लागेको थियो होला र ? तर मैले सोचेर नभ्याउँदै रोशनले सम्पर्कविच्छेद भएका दुई तारलाई जोडिसकेको थियो । बिजुली–खाँबोको टुप्पोमै बसेर उसले मतिर हेर्यो र फिस्स हाँस्यो । मैले पनि हाँसेरै जवाफ दिएँ ।
काम फच्चे गरेर पेन्चिस, स्क्रुड्राइबर वा प्लास कुन्नि के–के समान थन्क्याउँदै थियो, ऊ अचानकसँग बद्रयाम्म भुईंमा पछारियो । म सहयोगको लागि चिच्याउँदै उसको नजिकै पुगें । नर्मदाले ग्यारेजबाट मोटर निकाली हाली ।
रोशनको टाउकोमा अत्यन्त गहिरो चोट थियो । रगतको मूल फुटिरहेको थियो । मैले गलबन्दी फुकालेर घाउ बाँधिदिएँ । बर्थडेका सारा इन्तजाम थन्क्याएर हामीले उसलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अस्पताल पुर्‍यायौं।
***
सात हप्तापछिको एक बिहान म ३ बजे ब्यूँझें । फेरि निदाउन गरेको प्रयत्न सफल भएन । यत्तिकै ओछ्यानमा पल्टेर के गर्नु ? मैले आफ्ना मानस–पुत्रपुत्रीहरूलाई आह्वान गरें । सबैभन्दा पहिले ज्येष्ठ सुपुत्री नर्मदा सामुन्ने आई र प्रफुल्ल मुद्रामा शुभसमाचार सुनाई — उसको प्रिय कान्छो भाइलाई भर्खरै होश आएको छ ।
पूरै उनन्चास दिनपछि ।
यतिन्जेल पढ्दा तपाईंलाई लागेको हुनुपर्छ — करेन्ट लाग्नु भनेको सामान्य घटना हो । आम मान्छेहरूलाई करेन्ट लाग्छ । बिजुलीको झट्काले धकेलेपछि कति जना भर्‌याङबाट पनि खस्छन् । त्यसमा कति अंगभंग हुन्छन् । कति मर्छन् । कति लामै समय बेहोश भएर कुँजिन्छन् । बिजुलीकर्मीको जिन्दगीमा आउन सक्ने आम दुर्घटना हुन यी । यस्तो विवरण पनि कतै कथा हुन्छ ?
तपाईं पक्कै गलत सोचिरहनुभएको छैन भनेर जो कसैले ठोकुवा गर्न सक्छ । तर मेरो कुरा पनि सुन्नुस् — रोशनको किस्सा कथा हुन योग्य कसरी भयो भने बेहोश हुँदासम्म साह्रै लोद्दर भनिएको बोधे मान्छे ब्यूँझँदा अचानकसँग सर्वज्ञानी भएर निस्केको थियो । उसले नजानेको लगभग कुनै विषय थिएन ।
४९ दिनको बेहोशीमा उसको दिमाग अचानकसँग ज्ञानै ज्ञानले कसरी भरियो ? उसलाई अचानकसँग पढ्दै नपढेको गणित र विज्ञानका कठिन साध्य र सूत्रहरू कसरी खर्लप्पै हुन सके ? कहिल्यै नबोलेका संस्कृत, उर्दू वा ग्रीक भाषा फरर्रैका फरर्रै कसरी आउँदो भयो ?
यस्तो लाग्थ्यो उसले नजानेको कुनै विषय धर्तीमा छँदै छैन ।
उसको बोधो दिमागमा विश्वको सम्पूर्ण ज्ञान कहाँबाट घुस्यो ? बिजुलीको एउटा झड्काले कसरी कुनै व्यक्ति अचानकसँग महाज्ञानी हुनसक्छ ? यो त ठूलो चुनौती भयो विज्ञानलाई । शायद एउटा नयाँ आविष्कारको अवसर पनि । अस्पतालकै अगुवाईमा चिकित्सा वैज्ञानिकहरूको एउटा झुण्डले रोशनलाई लामो अध्ययनको लागि लिएर गए । कता लिएर गए भन्ने सूचना पनि हामीलाई दिइएन ।
४९ दिनपछि बल्ल–बल्ल घर फर्किएको छोरोको संगत फेरि छुट्यो ।
करिबन सात महीनासम्मको अनुगमन र अध्ययनपछि वैज्ञानिक र डाक्टरहरूको निष्कर्ष निस्क्यो । कोरोनाको महामारी भएकोले भर्चुअल पत्रकार सम्मेलनको आयोजना भयो । अध्ययन टोलीका प्रमुख डा. कुन्नि के मुकारुङले अध्ययन पत्रको निष्कर्ष वाचन गरेर सुनाए :
“बिजुलीको झड्काका कारण रोशनको मस्तिष्कभित्रको अनुवांशिक ज्ञान भण्डारण गर्ने कोषिकाहरू अचानकसँग उत्तेजित हुन पुगेका थिए । अनुवांशिक–स्मृति–कोष भनिने यस्ता कोषहरू मात्रै हुने उसको मस्तिष्कभित्रको एक विशेष कक्ष अहिले शतप्रतिशत सक्रिय भएको छ । यसका कारणले ऊ आफ्नो जीवनकालको मात्रै होइन आफ्ना बाबु–हजुरबाबु, आमा–हजुरआमालगायत आफूलाई जन्माएका तमाम पुर्खाहरूको समेत ज्ञान, सीप, अनुभवलाई हुबहु सम्झन सक्ने भएको हो । . . . ”
पत्रकार सम्मेलनमा बाँडिएको अध्ययन–पत्रले संसारलाई एकसाथ हल्लायो । सामाजिक संजालका खाता–खातामा विश्वास, अविश्वास र अन्धविश्वासले भरिएका प्रतिक्रियाहरू आउन थाले । आफ्नो कनिष्ठ मानस–पुत्रको यो प्रख्यातिले मलाई हुनुसम्मको आनन्द दियो ।
गत शुक्रबार अर्थात् अक्टोबर २ तारिखमा मेरो आफ्नै जन्मदिन परेको थियो । वैज्ञानिकहरूको अध्ययन–अपहरणमा परेको छोरोसँगै जन्मदिन मनाउन पाइने भयो भनेर म प्रफुल्ल थिएँ । नभन्दै जन्मदिनको बिहान पनि आइपुग्यो । सधैं चाँडै उठ्ने म, त्यस दिन भने आँखा खोल्दा ७ बजिसकेको थियो । मानस–पुत्रपुत्रीबाट शुभकामना लिनुपर्ला भनेर विचार मात्रै के गरेको थिएँ टेलिफोनको घण्टी बज्यो । एकाबिहानै फोन गर्ने कसैलाई टार्नुहुँदैन । उठाएँ । हिमाल खबरपत्रिकाका मित्र रविन गिरी रहेछन् ।
“स्वामीजी कोरोनाको कारण हाम्रो प्रिन्ट इडिसन त स्थगित नै छ । तथापि यो पटकको दशैं अङ्क निस्कने भयो, शायद अनलाइनमा । यो हाम्रो अन्तिम दशैं अंक पनि हुनसक्छ । मलाई तपाईंको कुनै सामग्री चाहियो । स्वामीजीलाई नछापिकन हामी कसरी ‘हिमाल’ भैरहने ?”
“हो हुन त । थाप्लामा हिउँ भए न हिमाल । हिउँ पग्लिए त पहाड भैगो नि !”, मैले तुलसी दिवसको कुनै कविताको भाव गुथेर भनें, “चाहिएको खास के हो गिरीजी ?”
“पोखरामा एकजना रोशन नामका युवा छन् । उनलाई अचानकसँग अनुवांशिक स्मृति हुन थालेको चर्चा त स्वामीजीले पनि सुन्नुभएकै होला . . .।”
गिरीजीको कुरा सुनेर म झसङ्ग भएँ । मेरो निजी मानस–पुत्रको जानकारी बाँकी संसारलाई कसरी भयो ? भएकै भए पनि किन हुने ? मान्छेको सोचाइलाई, मान्छेको गोपनीयतालाई यसरी भौतिकीकरण गर्न पाइन्छ ? के मान्छेको मनको निजी संसार सार्वजनिक मैदान भैसक्यो ? मेरो मानस–जिन्दगी, मेरो मानस–पुत्र रोशन कसरी दुनियाँगिरीका विषय हुन पुगे ? सम्पूर्ण समाजवादमा पनि संभव नहुने कुरा यहाँ कसरी सावित भैदियो ?
“हजुर के भन्नुभयो रे गिरीजी ?”, रविन गिरी बोल्दै गरेको आवाज अझै पनि स्पिकरमा आइरहेको हेक्का भएपछि मैले अक्मकिंदै सोधें । म आफ्नै सुरमा सोचमग्न भएकोले उनले यसबीचमा अरू के–के भनेका थिए, मैले सुन्दै सुनेको थिइनँ ।
“ती भाइसँग एउटा अन्तर्वार्ता गर्नु प‌‌‌‌‌र्‌‌‌यो भनेर भनेको नि ! तपाईंले । मैले सुनेको छु, ती भाइलाई आफू एक कोषीय जीव भएर पृथ्वीमा पहिलोपटक उत्पत्ति हुँदादेखिको सम्झना छ रे ! तपाईं ‘जिनेटिक मेमोरी’ त बुझ्नुहुन्छ नि स्वामीजी ?”
“ज्यू ज्यू, बुझ्छु अलिअलि । आफ्ना पुर्खाहरूको ज्ञान, सीप वा अनुभव जीनमार्फत सन्तानमा सर्ने प्रक्रिया होइन त गिरीजी ?”
“हजुर त्यस्तै । ती रोशन भाइसँग एउटा बिशेष अन्तरर्वार्ता लिनुप¥यो । स्वामीजी आफैँले ।”
“त्यो त ठिक छ, गरुँला । तर ती युवकलाई म कसरी भेट्न सक्छु त ? उनको कुनै सम्पर्क छ ?”, मैले डराई डराई सोधेँ । कतै गिरीजीले ‘ऊ त तपाईँकै मानस सन्तान हो । थाह नपाएको स्वाङ पारेर मलाई उल्लु बनाउन खोज्ने ?’ भनेर झपार्छन् कि भन्ने डर आफैँ आफैँ गहिरो भएर आयो ।
तर उनले त्यसो भनेनन्, “रोशनको बाँकि डिटेल स्वामीजीको इन्बक्समा आइसकेको होला । उनी माथिको ‘रिसर्च पेपर’ पनि पठाइदिएको छु । उनी पोखराको मझेरी–पाटनस्थित लामे पोखरीको नजिकै बस्छन् । उनको आफ्नै मोबाइल नम्बर रहेनछ । तर उनकी दिदीको भने छ, टिप्नुस त ।”
“भन्नुस् !”, म प्रतीक्षारत भएँ ।
“९—८—१—६—६—८—७—७—१—३ ।”, उनले एक एक अंक गर्दै १० वटा अंक वाचे ।
अंक टिपेर सकेपछि म फेरि झस्केँ । यो त त्यही नम्बर थियो जसबाट मेरो एकजना दिवंगत मानस–पुत्र जोस्मणिलाई रहस्मयी तर प्रेमिल म्यासेज आउने गथ्र्यो । त्यो पनि तारन्तार । उसको नायकत्वमा लेखिएको यात्रोपन्यास ‘पैताला’मा मैले यसका रमाइला प्रसंग टिपोट गरिगरी पढेको थिएँ ।
त्यही नम्बर हो कि होइन भन्ने थाह पाउन मैले हतार हतार मोबाइलको ‘कन्ट्याक्ट लिष्ट’ चहारेँ । नभन्दै ‘मिस्टिक लेडी’को नाममा त्यो ‘सेभ’ भएको रहेछ ।
फोन नम्बर ठ्याक्कै मिलेको थाह पाएपछि मलाई भाउन्ना छुट्यो । केही बेर घाइते माहुरी झैँ भुन्भुनिएँ । यस्तो कसरी हुनसक्छ ? मेरी मानस–पुत्री नर्मदा कसरी त्यो रहस्मयी स्त्री हुनसक्छे ? मेरा पुत्र–पुत्रीहरू कसरी एक आपसमा प्रेम गर्न सक्छन् ? यसरी आफ्नै सन्तानहरू बिचमा हातनाता सम्बन्ध हुन थाल्यो भने मान्छे–जातको अनुबांशिक सामथ्र्य पुरै खस्केर जानेछ । सोचेर म बिसारै चिन्तित भएँ । आफ्नो सोचाईको वाक्यभित्र पसेको ‘अनुबांशिक’ शब्दले मलाई पुन गिरीजीसँग कुराकानी भैरहेको सम्झना भयो । सोचाईबाट सम्हालिँदै मैले उनलाई भनेँ, “हस् म केही न केही अवश्य गर्छु ।”
***
रोशनलाई भेट्न भनी भोलिपल्ट बिहानै म मझेरी पाटन हानिएँ । पोखरा भनेकै पाटन, चौर र खर्कहरूको सहर हो । मझेरी पाटन पोखराको सबैभन्दा पुरानोमध्येको एक मानव बस्ती हो भन्ने पनि मलाई थाह थियो । पोखराकै बासिन्दा भएर पनि म पहिलो पटक मझेरी पाटन जाँदै थिएँ । त्यो पनि आफ्नै मानस–पुत्रलाई भेट्न । उसको अन्तरवार्ता लिन । 
प्राप्त नक्शाको ‘जिपिएस’लाई पछ्याउँदै म रोशनको निवास पुगेँ । तर गिरीजीले भनेकोजस्तो छेउछाउमा कुनै लामे पोखरी देखिएन । बरु घरको छेउमा एउटा विकासे पार्क थियो जसलाई पूर्णतया झाडीले कब्जा जमाएको थियो । ‘पोखरी पुरेर पार्क बनाएछन् ।’, सोचेर खिन्न भएँ । तर अर्काको घरछिर्नु अघि खिन्न हुुनु हुँदैन भनेर खिन्नतालाई दबाएँ ।
अर्काको गृहपरिधिमा सवारी बोकेर के छिर्नु ? साइकललाई घर बाहिरको बिजुलीको खम्बामा चाबीले बाँधे । त्यो त्यही खम्बा थियो जसबाट ऊ बिजुलीको झट्का खाएर भुईँमा बजारिएको थियो ।
तगारोको गरालाबिचबाट ज्यान छिराएर म उसको घरको परिधिभित्र दाखिला भएँ । रोशन आँगनमा घाम ताप्दै आगन्तुक माहुरीहरूलाई चास्नी हालिरहेको थियो । हरेक बिहान माहुरीलाई चास्नी–भोज दिने उसको बाल्यकालिन शोख रहेछ । आफ्नै मानस पुत्र भए पनि मलाई उसको यो बानीको बारेमा कल्पना समेत थिएन ।
पाठकवृन्द, 
मलाई लाग्दैन अरु कुनै थप भूमिका यहाँ राख्नु पर्छ । अब म तपाईँलाई सोझै रोशन र म बीचकमा भएको कथित अन्तर्वातामा प्रवेश गराउँछु । पढेर प्रतिक्रिया दिनुहोला । 

Tuesday, November 5, 2019

छोयला खाँदै ‘सोताला’, अयला खाँदै ‘पैताला’


कुमार नगरकोटीलाई लेखनभन्दा पठन प्यारो छ । उनी विश्वसाहित्य र नेपाली साहित्यका नयाँनयाँ पुस्तक पढ्न सधैं लालायित हुन्छन् ।
यस्ता अध्ययनशील फिक्सन डिजाइनर नगरकोटीलाई मनपर्ने नेपाली पुस्तक कुनकुन होलान् ? जिज्ञासा स्वाभाविक छ ।
यही जिज्ञासा मेट्न नगरकोटीसँग भेट्ने सहमति भयो, पाटनढोकास्थित ‘पाटन बुक हाउस’मा ।
केही हिन्दी कविताका किताब छान्दै गरेका नगरकोटीले भेट्नेबित्तिकै सुनाइहाले– ‘जहाँ पुगे पनि पाटनका गल्ली र यो पाटन बुक हाउसमा नफर्की बस्नै सक्दिनँ ।’
हो, जहाँ पुगे पनि आफ्नो डेरा (उनी डेरालाई गुफा भन्न मन पराउँछन्) बालकुमारी फर्केपछि नगरकोटी एकचोटि ‘पाटन बुक हाउस’ पुगिहाल्छन् । दसैं मानेर गाउँबाट फर्कनेबित्तिकै पनि उनी बुक हाउस नै पुगेका रहेछन् ।
केही छिनपछि हामी किताबका कुरा गर्न नजिकैको क्याफेमा गयौं । उनले कडा रङको बाक्लो दूध चिया मगाए । कालो कमिजको बगलीबाट चुरोट निकालेर सल्काए । अनि सुरु भयो, किताबका कुरा ।
धेरै लामो कुराकानी गर्ने अनुकूलता मिलेन । छोटो बसाइमा उनले आफूलाई मनपर्ने पुस्तकका बारे भनेका कुराः
मलाई पछिल्लो समय मन परेका दुई किताब हुन्– ‘सोताला’ एण्ड ‘पैताला’ (सोताला डोरबहादुर विष्टको उपन्यास हो, पैताला गनेस पौडेलको ।) कुरा गरौं सोतालाबाट ।

सोतालाः छोयला खाँदै पढ्ने किताब

चर्चा कम भए पनि उम्दा आख्यान हो सोताला । समाजशास्त्री डोरबहादुर विष्ट बडो मज्जाका कथा लेख्छन् । यो उपन्यासचाहिँ अदृश्य (इनभिजिबल) जस्तो भयो । तर, तपाईंले प्राचीन काठमाडौं खोज्न सक्नुहुनेछ यसमा । काठमाडौंको आत्मा भेट्नुहुन्छ । अनि तिब्बती (भोट) इलाकामा भ्रमण गर्न सक्नुहुनेछ । अलौकिक भौगोलिक परिभ्रमण गर्न सक्नुहुनेछ ।
डोरबहादुर विष्टले लेख्नु नै सोतालाको दुर्भाग्य भयो । तर, तपाईं यसमा नेपाली व्यापारी र तिब्बती युवतीको प्रेम पाउनुहुन्छ । यसरी नेपाली र तिब्बतीबाट जन्मेको बच्चालाई सोताला भनिँदोरहेछ । रियलिस्टिक उपन्यास सोताला ओभर स्याडोड भयो । अर्थात् डोरबहादुर विष्टको समाजशास्त्री, मानवशास्त्रीको परिचयले यसलाई थिच्यो ।
इतिहास पढ्नेलाई यो किताब उपयोगी हुन सक्छ । राणाकालीन जनजीवन बुझ्न पनि सोताला उपयुक्त हुन सक्छ । मलाईचाहिँ पुरानो काठमाडौंको झल्को दिने उपन्यास भएकाले यो मन परेको हो । सुन्दर उपन्यास सोतालालाई तिख्खर छोयला खाँदै पढ्न रुचाउँछु ।
(समाजशास्त्री डोरबहादुर विष्टद्वारा लिखित उपन्यास सोताला साझा प्रकाशनले २०३३ सालमा छापेको थियो । यसको दोस्रो संस्करण हिमाल बुक्स प्रालिले २०६७ सालमा प्रकाशन गरेको छ ।)

पैतालाः अयला खाँदै पढ्ने किताब

अयला वा जुनसुकै मात दिने पेयको पेग लिँदै तपाईं पैताला पढ्न सक्नुहुनेछ । स्टोरी टेलिङको मनोटोनस शैलीलाई यसले भत्काएको छ । अर्थात् एकनासको दिक्क लाग्ने गरी कथा भनिएको छैन । परम्परागत कथा वाचन यसमा छैन । यसमा जो कल्पनाशिलता छ, त्यसलाई आफ्नो शैलीमा ढाल्न सक्ने सामथ्र्य गनेस पौडेलमा छ । क्राफ्टम्यानसिप छ ।
पछिल्लो दशकको सुन्दरतम साहित्यिक प्राप्ति हो ‘पैताला’ । उपन्यासमा गरिने प्रयोग पनि सुन्दर हुन्छ भन्ने उदाहरण हो पैताला । गनेस स्वयम् पनि एकल–यात्रीजस्तो लाग्छ मलाई । उपन्यास लेख्ने मान्छे यस्तै हुन्छ शायद । आफ्नै लयमा हिँड्न रुचाउने । यसर्थ ऊ दुर्लभ मान्छे हो ।

केही रहस्य, केही खोज ‘पैताला’मा पाउनुहुनेछ । मैले धेरै मानिसलाई प्रेमपूर्वक उपहार दिएको किताब पैताला नै हो । यसर्थ म अयला खाँदै ‘पैताला’ पढ्न रुचाउँछु ।
(बुक हिलले प्रकाशन गरेको उपन्यास पैताला २०७४ सालमा बजारमा आएको थियो । आख्यानकार गनेस पौडेलको यो पहिलो उपन्यास हो ।)
प्रकाशित https://shilapatra.com/detail/13263

Monday, May 25, 2015

महाभारतमा यौनिकता



‘पुरुष सुक्त’मा भनिएको छ ‘चन्द्रमा मनसो जात’ अर्थात चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ । एक असामान्य मानसिक अवस्थालाई अग्रेजीमा ‘ल्युनासी’ भनिन्छ जो चन्द्रमा जनाउने शब्द ‘लुनार’बाट बनेको हो । मानसिक बिरामीलाई चन्द्र–पक्षले तलमाथि गर्ने कुरा त जगजाहेर नै छ ।
महाभारत चन्द्रबंशीहरूको कथा हो । यसर्थमा महाभारत खासमा लहडीहरुको कथा हो । मानसकथा हो । कल्पनाको एक सिमाहिन कथा जहाँ जे पनि सम्भव थियो । मानव मस्तिष्कले गर्ने कल्पना कति टाढासम्म पुग्न सक्छ भन्ने प्रश्नको उत्तर हो महाभारत । महाभारतको बारेमा एउटा भनाई छ ः संसारमा त्यस्तो कुनै मानवीय घटना भएकै छैन र हुने पनि छैन जो महाभारतमा कल्पना नगरिएको होस् ।
आजको यो आलेखमा म महाभारतको मनिखाँबोमा रहेर हिन्दू मिथकमा रहेका फरक यौनिक प्रसंगहरुलाई कोट्याउने प्रयास गर्नेछु । आ–आफ्ना बौद्धिकता अनुसारले यसमाथि फरक प्रकारका सन्तुष्टि, असन्तुष्टि वा आरोप समेत आउन सक्छन् भन्नेमा सचेत छु र तीसबैलाई सम्मान गर्ने पुर्वघोषणा गर्दछु ।
महाभारत र यसले समेट्ने पुराण कथाहरूमा वर्णित यौन क्रियाकलाप र सन्तान उत्पादनको प्रक्रिया अति अनौठो लाग्ने गरी राखिएको छ । भनिन्छ, मिथकीय पात्रले देखाउने चरित्र भनेको अवचेतनमा अन्तरनिहित हाम्रो आफ्नै स्वभावको चरित्र हो । महाभारत लगायतका ग्रन्थहरू जसरी समाजमा अति प्रचलित र प्रिय हुनुको पछाडि सायद त्यही अवचेनले काम गरेको छ ।
रजनिश ओशोले द्रौपदीको बस्त्रहरणको बेला भीष्म, विदूर, द्रोणाचार्य, कृपाचार्य लगायतका महापुरुषहरु मौन रहनुमा उनीहरुमा ‘द्रौपदीलाई नाङ्गै हेनेै मोह थियो’ भनेर व्याख्या गर्दा ‘लौ के के न भन्यो’ भन्नेहरू थिए । ओशोले फ्रायडको मनोवैज्ञानिक विवेचनालाई महाभारतमा प्रयोग गरे । तर आज मलाई लाग्छ, ओशोले नाथे फ्रायडलाई प्रयोग गरेर गलत गरे । यौन मनोविज्ञानको पूर्वीय बहस हेर्दा नाथे फ्रायड प्लेगियारिष्ट मात्रै सुनिन्छ । यौन सम्बन्धमा पूर्वले बनाएका मान्यताहरूबाटै यसको विवेचना गर्न सकिन्थ्यो ।
महाभारत कथाको एउटा सार सत्य के हो भने यसका प्रमुख पात्रहरु सबैको जन्म असामान्य यौन व्यबहारबाट भएको छ । तिनीहरू नरनारीको सामान्य सेक्स र गर्भाधारणको समान्य अवधिबाट जन्मेका छैनन् । कुनै एउटै पात्र पनि सामान्य जन्मका छैनन्, ब्यहोराका छैनन् । श्रीकृष्ण, सत्यवती, द्रौपदी, भीष्म, पाण्डव, कौरव, व्यास, शिखण्डी लगायतका सबैको जन्म समान्य छँदैछैन ।
जस्तो कि स्वयम् श्रीकृष्णको परिवारमा हेरौं । आमा देवकी, बाबु बासुदेवसँगै कंशको जेलमा हुँदा सातौ सन्तानको रुपमा कृष्णका दाजु वलराम देवकीको पेटमा हुन्छन् । तर देवताहरुले वलरामको भ्रुण रोहिणीको गर्भमा सारेर देवकीकै गर्भमा चाँहि देवी योगमाया बसेको प्रसंग त्यहाँ पाइन्छ । के त्यतिबेला भ्रुण स्थान्तरणको साँच्चैको काम गरिएको थियो वा कल्पना मात्रै ? के यो सोरोगेट मदरहुडको प्रसंग नै हो त ? वा अरु केही ?
हेरौं शान्तनुलाई । शान्तनुले गंगालाई बिहे गरी भीष्म जन्मिए । एक सामान्य मानवको गंगा अर्थात नदीसँग कसरी बिबाह सम्भव हुन्छ ? सम्भवत गंगा माझी समुदायकी एक बिम्ब महिला हुन् । जसको परिचय गोप्य राख्न उनलाई गंगा नदीको समकक्षमा उभ्याइएको थियो । नदीलाई देखेपछि कामातुर हुने मनोरोग हुन्छ केही मानिसमा । पानीको स्पर्शले आल्हादित हुने यस्तै मनोरोगी पो थियो कि शान्तनु ? जसले कामाबेशका सामान्य मछावारा केटी गंगालाई गर्भवती बनायो ? नभन्दै यस्तै गरी नदी किनारमै अर्की मत्यकन्या सत्यवतीलाई देखेपछि पनि उसको यौनग्रन्थी रनाहा परेको थियो ।
सत्यवतीकै जन्मको प्रसंग पनि सहज र प्राकृतिक छैन । हरिबंश पुराणअनुसार सत्यवती श्रापले गर्दा माछा बनेर बसेकी अद्रिका नामकी अप्सराकी छोरी हुन् । चेदीका राजा बसुले शिकारमा जाँदा आफ्नी रानीको सम्झनामात्रले कामातुर भई वीर्य स्खलन गरेका थिए । सो वीर्यलाई उनले चिलमार्फत रानीकहाँ पठाए तर बाटोमा अर्को चिलसँग लडाईँहुँदा चुच्चोबाट यमुना नदीमा खस्यो । खसेको वीर्य पान गरिन् माछाको योनीमा रहेकी अद्रिकाले र गर्भवती भइन् । एक माझीले उनलाई पक्रेर काट्दा पेटमा दुई स्त्री र पुरुष मानव सन्तान देखे । जसलाई उनले राजाकहाँ लगे । राजाले केटालाई राखे र केटीलाई तिनै माझीले पाले । केटीको शरिरबाट माछाको गन्ध आउँथ्यो यसैले उसको नाम नै मत्स्यगन्धा राखियो । पछि गएर मात्रै उनको नाम सत्यवती भयो ।
यो हो जन्मको कुरा । कामसुत्र अनुसार माछाको गन्धयुक्त योनीरस भएका स्त्रीहरु जोकोहीलाई पनि कामावशमा पार्न सक्ने हुन्छन् भनिएको छ । हुन पनि उनी त्यस्तै थिइन् । यमुना नदीमा माझीको काम गर्दा एकदिन उनको डुँगामा आइपुग्ने पराशर ऋषि उनको त्यही गन्धका कारण कामभावनाले ग्रस्त हुन्छन् । आफ्नो कुमारित्व सुरक्षित रहनुपर्ने र आफ्नो सन्तान जन्मेको कुरा गोप्य रहनुपर्ने सर्तमा पराशरको यौनयाचनालाई सत्यवतीले स्वीकार गर्छिन् । सोही दिन जन्मेका हुन् महर्षि वेद व्यास । जो जन्मिदाकै दिन बढेर हुर्केर देशावरमा हिँडेका थिए । यिनै महाशयले जो लेखे महाभारतको कथा ।
तिनै मत्यगन्धा सुन्दरीको बशमा परे राजा शान्तनु । आफ्ना सन्तानले राजा हुन पाउने भएमात्रै शान्तनुसँग जाने सर्त राखेकै कारणले (?) भीष्मले राजगद्दी त्याग्ने र अविवाहित रहने प्रतीज्ञा गरे । शान्तनुबाट यिनले चित्राङ्गद र विचित्रवीर्य नामका छोरा जन्माइन् । चित्राङ्गद अविवाहित नै मरे भने विचित्रवीर्य अम्बिका र अम्बालिका बिहे गरेपछि सन्तान नजन्मँदै मरे । सोही कारणले सत्यवतीले नियोगका लागि आफ्नो पहिलो छोरा व्यासलाई डाकिन् ।
यही नियोगबाट अम्बिकाबाट पाण्डु र अम्बालिकाबाट धृतराष्ट्र जन्मेका हुन् । कथाअनुसार सेक्स पार्टनरको रुपमा डरलाग्दो योगी ब्यासलाई देखेकाले अम्बिकाले आँखा चिम्लिइन फलस्वरुप धृतराष्ट्र अन्धो जन्मिए । त्यस्तै डरले पहेँलै भएर अम्बालिका सेक्समा सामेल भएको हुनाले रक्तअल्पता भएको पहेलो वर्णको पाण्डु जन्मे । तर तेस्रो नियोगका बेलामा डरले उनीहरुबाट पठाइएकी दासी परिश्रमी भने शान्त रहेको हुनाले  शान्त तथा स्वस्थ विदूर जन्मे । महाभारतले भनेको यस्तै छ ।
किस्सा र कथाले देवब्रत अर्थात भिष्मको अविवाहित रहने प्रतीज्ञा उनको पिताको मत्स्यकन्यासँगको प्रेमका खातिर थियो भनिए पनि महाभारतमा भीष्मका केही शंकास्पद भनाईहरू पाइन्छन् । प्रतीज्ञा लिँदाका बखतबाटै भीष्मलाई आफ्नो लैङ्गिकताको ज्ञान थियो भन्ने विवेचना आजकाल बजारमा छन् । पुरुषमा आशक्त हुने गुण थियो थिएन भन्न नसकिए पनि उनमा आइमाईसँग अनाशक्त रहने यौनिक गुण थियो । उनले आइमाईहरुलाई घृणा गर्दथे भन्ने विवेचना गर्न अनेकन प्रमाणहरु महाभारतभित्रै पाइन्छन् । उनले नरनारी बिचमा हुने यौन र विवाहलाई ‘मानव जातिको पतन भएपछि आएको प्रचलन’ भनेर विवेचना गरेको प्रसंग महाभारतमा पाइन्छ । के उनी समलिङ्गी थिए त ?
श्रीकृष्णका सम्बन्धहरू पनि मापाका छन् । उनले हरेक सम्बन्धलाई सम्पूर्णतामा निभाउन सकेका थिए । यसमानेमा कुनै पनि सम्बन्धको गहिराई श्रीकृष्णको भन्दा गहन हुने कल्पना गीताले गर्दैन । श्रीकृष्णलाई प्रेमका प्रतीक त्यसै भनिएको होइन । उनले प्रेमका तमाम सम्बन्धहरुलाई पराकाष्ठाबाटै भोगेको हुनले उनलाई अवतारहरु मध्येका सर्वाधिक महान भोक्ता पनि भनिन्छ । विष्णुका अवतारमध्येमा उनको ‘मोहिनी रुप’ काफ्काको मेटामर्फोसिसलाई मात ख्वाउने छ । उनी वाइसेक्सुअल थिए भन्ने प्रशस्त आधार वैदिक ग्रन्थमा पाइन्छन् । जस्तो कि भागवत गीतामा अर्जुनलाई भन्छन् ः
तिमी नै म हौ र म तिमी हुँ । जे मेरो हो त्यो नै तिम्रो हो । जसको साथ तिमी छौ उसको साथ म पनि छु । जसले तिमीलाई पछ्याउँछ, उसले मलाई पनि पछ्याउँछ । हे पार्थ, तिमी मबाटै सिर्जित हौ र म तिमीबाट । (वन पर्व)
त्यस्तै द्वारिका फर्कनु अघिल्लोे रातको यस्तो प्रसंग छ :
महा शक्तिशाली कृष्ण धनन्जयको खोपीमा गए । उनको अर्चना गरेर सम्भव भएसम्मको सेवा गरी आनन्द उठाए । महा वुद्धिशाली कृष्णले त्यो रात धनञ्जयसँग एउटै बिस्तारामा आनन्दपूर्वक बिताए । (अश्वमेध पर्व)
मित्रता अर्थात मित लगाउने विधि र वैवाहिक विधि वैदिककालमा उस्तै थियो । भनिन्छ ः सप्त पदम् हि मित्रम् । अर्थात आगोलाई साक्षी राखेर सातफन्का लागाउनाले मित्रता हुन्छ । रामले सुग्रिवसँग यसरी नै मित लगाएका थिए । कृष्णले अर्जुनलाई मित भन्दथे ।
हिन्दू मिथकमा जन्मका असामान्य प्रक्रियाका अनेकन किस्ता छन् । जस्तो कि रामायणमा सीता जमिन (माटो)बाट र महाभारतमा द्रौपदीलाई आगोबाट जन्मेका महिलापात्र हुन् । त्यस्तै महाभारतको जरासन्ध दुईटा आइमाइहरुबाट आधा आधा जन्मेको हो । पछि एक राक्षसीले उसलाई जोडिदिएकी थिई । शिव पुराणमा शिवपुत्र कुमार अर्थात कार्तिर्के पनि अग्नीबाट जन्मेको भनिएको छ । उसलाई श्कन्द पनि भनिन्छ । अग्नीले शिवको विर्यपान गरेपछि श्कन्ध जन्मेका थिए । भागवत पुराण अनुसार शिव र विष्णु (मोहिनी रुप)को समयोगबाट अयाप्पन जन्मेको थियो । त्यस्तै गणेशको जन्म गर्भाशय बाहिरबाटै भएको थियो । त्यस्तै अर्को अनौठो जन्मको प्रसंग पुराणमा पाइन्छ । भगवान शिवको आदेशानुसार दुई विधवा स्त्रीहरुको सन्सर्गबाट भागिरथको जन्म भएको थियो । भागिरथ शब्दमा प्रयुक्त भगको अर्थ स्त्री जनेन्द्रिय भन्ने हुन्छ । क्रित्तिभाको रामायणमा यो प्रसंग छ ।
द्वैमाताको यो यस्ता प्रसंगले समलैङ्गिक व्यवहारको पुष्टि गर्दैन भन्न सकिन्न । जस्तो कि अग्नीलाई द्वैमात्री पनि भनिन्छ । यसको अर्थ दुई आमाबाट जन्मेको भन्ने हुन्छ । द्यौस र पृथ्वी अर्थात आकाश र धरतीलाई यसको आमा मानिन्छ । संस्कृत भाषामा आगो निकाल्ने दाउरा स्त्रीलिङ्गी नाम हो । स्मरण के गर्न सकिन्छ भने फ्रिक्शन (घर्षण)ले आगो उत्पन्न हुन्छ नकि पेनेट्रेशन (गमन)ले । यसैले अग्नीको जन्मलाई पनि समलैङ्गिक मान्न सकिन्छ । त्यसो त ऋग्वेदमा अग्नी उत्पन्न गराउने विधिको व्याख्या गरिएको छ । जसले अग्नीका पाँच पाँच गरी दुई भागमा बाँडिएका १० आमाहरु भनेर ब्याख्या गरेको छ । जसको अर्थ औंलाहरु भन्ने हुनसक्छ । औंलाको यौनिकता पनि स्पर्श र घर्षण हो गमन होइन ।
लिङ्ग परिवर्तनको किस्सामध्येमा सिखण्डीको किस्सा पपुलर छ महाभारतमा । राजा द्रौपदले आफ्नी छोरी शिखण्डीनीलाई पुरै छोरा सरह पालेका हुन्छन् । यतिसम्म कि उनले शिखण्डीको विवाह दशर्ण देशका राजा हिरण्यवर्णकी कन्यासँग गरिदिएका थिए । भनिन्छ, सुहागरातमा मात्रै शिखण्डीलाई र उसकी नवविवाहित दुलहीलाई उसको यौनिकताको बारेमा जानकारी भएको थियो । आफ्नो पति एक स्त्री भएको थाहा पाएपछि उत्पाद हुन्छ । उसको बाबुले द्रौपदको पुरा राज्य ध्वस्त पार्ने धम्की दिन्छन् । समस्याको समाधना नपाएर ब्याकुल शिखण्डीलाई स्थुनाकर्ण नामको यक्षले आफ्नो पुरुषत्व प्रदान गर्छन् । पछि नितीविपरिक काम गरेको आरोपमा यक्षराज कुबेरबाट  स्थुनाकर्णले आफ्नो पुरुषत्व फिर्तापाउन शिखण्डीनको मृत्युसम्म कुर्नु पर्ने श्राप पाउँछ ।
त्यस्तै अर्को प्रसंग छ पुराणमा, किमपुरुषको । किमपुरुष एक महिना नर र अर्को महिना नारी हुने गर्दथी ÷ गर्दथ्यो । पतन्जलीको व्याकरणमा स्त्रीलिङ्ग र पुलिङ्गवाहेक पनि उभयलिङ्ग र नपुंसक लिङ्ग र द्वीलिङ्ग सन्दर्भ छ । यसले वैदिकालमा हुने नरनारी बीचबाहेको यौनिकतालाई दर्शाउँछ ।
कुरुक्षेत्रको युद्धमा पाण्डवको विजयको लागि दूर्गा कालीलाई भोग चढाउनु पर्ने हुन्छ । भोगमा चढ्नको लागि अर्जुन र नागकन्या उलुपीको सन्तान ऐरावण तयार हुन्छ तर अन्तिम ईच्छा राख्छ ः मर्नुपूर्व विवाह गर्ने र कुमार नरहने । भोलीपल्ट मर्न तयार भएको कुनै पुरुषलाई कसैले पनि छोरी दिन तयार हुने कुरा भएन । समस्या समाधानको लागि कृष्णले मोहिनी रुप धारण गर्छन् र ऐरावणसँग विवाह गर्छन् र रातभर उसको कुमारत्व उपभोग गर्छन् । भोलीपल्ट उ मारिएपछि एक विधवाले गर्ने अन्त्येष्टीको कार्य पनि गर्छन् ।
विष्णुको मोहिनी अवतार धेरै आइरहन्छ । असुरहरुलाई उल्लु बनाएर समुन्द्रमन्थनको बेला अमृतविमुख बनाउनमा होस् या साधुहरुको ध्यान उडाएर लठ्ठ पार्न होस् विष्णुको यो रुपको प्रयोग कति छ कति । विष्णुको नारी स्वरुप मोहिनी  रुप यति मोहित गर्ने थियो कि यिनको लहैलहैमा भष्मेश्वरले आफ्नै शीरमा हात राखेर भष्म भयो, स्वयम् शिवले यिनलाई देखेर कामातुर भएर विर्य पतन गरेका थिए जसबाट हनुमान र मणिकन्थन अय्याप्पा जस्ता महावलीको जन्म भएको मानिन्छ ।
प्रश्न मोहिनी रुप धारणलाई साधारण अन्धभक्त भएर लिने कि यसलाई पौराणिक पात्रको समलैङ्गिक चरित्रको रुपमा लिने ? भन्ने मात्रै हो । सर्वशक्तिमान विष्णु मोहिनी अवतारमा आफैं किन उत्रिए ? जबकी यसको कामको लागि उनले कुनै पनि सुन्दरी परी वा अप्सरालाई प्रयोग गर्न सक्थे वा त्यस्तै काल्पनिक स्त्रीको रचना गर्न सक्थे । कुरा प्रष्ट छ, उनी वाइसेक्सुअल थिए । तर बचाऊमा भागवत गीता भन्छ, जसले मोहिनीरुपमा मख्ख पर्यो उ सांसारिक मायाजालमा पर्यो, जसले मोहिनीरुपको सारमा विष्णुलाई देख्यो उ मुक्त भयो । तर उनलाई देख्दैमा कामातुर भएर वीर्य पतन गर्ने महादेवलाई कुन क्याटागोरीमा राख्छ गीताले ?
ब्रह्मा पुराणमा मोहिनीले ब्रह्मालाई भन्छे ः रजस्वालापछि ऋतुकालमा रहेकी महिलाको कामेच्छालाई ईन्कार गर्ने जोकोही पुरुष नपुंशक हो । पुराणको यही निती अर्थात धर्मको आधारमा उर्वसीको ईच्छालाई ईन्कार गर्ने अर्जुनले श्रापमा परेर ब्रिहन्नला भए । एक बर्ष राजा बिराटको दरबारमा नाच सिकाएर बसे । भारतमा पछिल्लो कालसम्म धेरै दरबारमा हिजराहरु रानीका सुसारे बनेर बसेका हुन् । गुजरातमा बहुचराजी नाम गरेकी हिजराहरुकी देवीको मन्दिर नै छ ।
शुद्ध नर वा नारीको भन्दा फरक यौनिकता देखाउने मान्छेलाई वैदिककालमा क्लिवा भनिन्थ्यो । मनुस्मृतिमा क्लिवालाई धार्मिक क्रियाकलाप गर्न, सम्पत्ति आर्जन गर्न बञ्चित थियो । वास्तबमा क्लिवा भन्ने शब्द नर वा नारी वाहेकको फरक यौनिकता राख्ने जोकोही प्रकारको लैङ्गिक स्वभावको सामुहिक नाम थियो । क्लिवाका १४ प्रकार रहेको व्याख्या पाइन्छ जसमध्ये एकमा मुखलाई योनीको रुपमा प्रयोग गर्ने पुरुष भनिएको छ । जसको नाम मुखभग भनिएको छ । नारद पुराणअनुसार महाप्रलय आएर कलियुग समाप्त हुनु अघि मान्छेहरुले यौनिक अकर्मयण्ता देखाउने छन् । ‘नरहरुले योनीबाहेक (मुख वा गुद्वार ?)मा वीर्य पतन गर्नेछन् ।’ हालाकि यसलाई पापको रुपमा व्याख्या गरिएको छ, तर यसबाट बुझ्न के सकिन्छ भने वैदिक विद्वानहरुले यसको अस्तित्वलाई स्विकार गरेका थिए ।
कथासारितसागरमा एउटा कथा छ । एक राजाले पितृको श्राद्धका बेलामा  पिण्डहरु नदीमा चढाउन लाग्दा तिवटा हातहरु निस्के । एउटा किसानको, अर्को साधुको र अर्को योद्धाको । आकाशवाणीले भनेछ ः किसानले तिम्रो आमालाई बिहे गर्यो, तपस्यीले उनलाई गर्भवती बनायो र योद्धाले तिम्रो भरणपोषण गर्यो । यी तिनैका हात हुन् । तर तिमीले पिण्ड किसानको हातमा थमाउनु । यसबाट के थाहा हुन्छ भने, धार्मिक मान्यताले बास्तविक पिताको रुपमा बिवाहित रहेको पुरुष मात्र हुने व्यवस्था गरेको देखिन्छ ।
अन्त्यमा एउटा लोकोक्तिले बिट मार्नु ठिक होला । हिजराहरुमा प्रचलित एक कथाअनुसार १४ बर्ष बनाबास जाँदा पछिलागेका जनतालाई घर फर्किने आदेश दिँदा श्रीरामले ‘सम्पूर्ण नरनारीहरु घर फर्किनू’ भनेका थिए रे । नरनारीमात्रै सम्बोधन गरेकोले तेस्रोलिङ्गीहरु १४ बर्षसम्म उनी आउने बाटो कुरेर बसेका थिए रे । पछि बनबासबाट फर्किदा उनीहरुको भक्ति देखेर रामले ‘यसपछिको युगमा तिमीहरुले शासन गर्नेछौं’ भनेका थिए रे । के त्रेतायुगपछिको द्वापरमा शासन गर्नेहरु तेस्रोलिङ्गी नै थिए त ? नभए महाभारतका हरेक पात्रलाई उत्पाद उत्पादका कल्पनाबाट जन्माउनु पर्ने जरुरत किन थियो व्यासलाई ? सामान्य र प्राकृतिक रुपमा जन्मेका भए के महाभारतको देशना अर्थपूर्ण हुँदैनथ्यो ?

First Published at: