Contact Form

Name

Email *

Message *

Z

Showing posts with label अन्नपूर्ण पोष्ट. Show all posts
Showing posts with label अन्नपूर्ण पोष्ट. Show all posts

Thursday, April 15, 2021

कुुटुुनी बूढीको कथा

 


त्यो दिन तिमी र म कुुनै अनकन्टार ठाउँमा बनाइएको एउटा प्राचीन कुुटीमा थियौं। यस्तो एकान्त ठाउँ लामो पदयात्रामा हुुँदा कहिलेकाहीँ मात्रै देखिन्छ। त्यस्तो बिरलाकोटी स्थानमा अवस्थित पुुरानो कुुटी नै हाम्रो स्थायी घर थियो। हामीसँग कुुटीमा बस्ने अरू कोही थिएनन्। हाम्रा गाउँले पनि थिएनन्।

अहिले झ्वाट्टै सम्झन सकिनँ, त्यो कुुटी कुुन्नि केले बनेको थियो ? मैले त्यस्तो तिक्खर तरिकाले त्यसलाई अवलोकन गरिनँ कि भन्ने लाग्छ। मलाई साँच्चै स्मृति छैन, त्यो कुुटी काठले बनेको थियो कि ढुुंगामाटोले ? मलाई यत्ति कुुराको भने राम्रै हेक्का छ। त्यसको ढोका मजबुुत थिएन। सायद त्यसमा कुुनै गजबार वा चुुकुुलसमेत थिएन।

झ्याल थियो, जसका खापा काठका थिए तर पलेटामा सिसा मात्रै भरिएका थिए। सुुरक्षाको लागि चौकोसमा ग्रिल वा फलामको रड हालिएको थिएन। कोही बदमास आएर सिसा फोरेर सजिलै भित्र पस्न सक्थ्यो। तर, त्यस्तो घटना भएको कुुनै सम्झनामा हामीलाई थिएन। एक दिन यस्तो अवश्य हुुनेछ भन्ने डर भने निकै थियो।

हाम्रो कुुटीका बारेमा मैले सम्झेको यत्ति हो।

‘कुुटी’को प्रसंग आउँदा तिमीलाई केटाकेटीमा खेलेको ‘कुुटिनी बूढी ढोका खोल, तेरो पाहुुना आयो’ भन्ने खेलको सम्झना आउन सक्छ। त्यस्तो खेल नखेलेको भएचाहिँ हामी कतै ‘कुुटी’मा बस्ने कुुनै ऋषि, तपस्वी वा सन्न्यासी त थिएनौं भन्ने शंका लाग्न सक्छ। तर, हामी त्यस्तो थिएनौं। तिमी र म पूर्णतया सांसारिक थियौं। हाम्रो कुुटीबास कुुनै हालतमा आध्यात्मिक थिएन। प्रयोगात्मक पनि थिएन। आममान्छेको घरजमजस्तै त्यो हाम्रो नियमित बसोबास थियो।

मलाई एउटा कुुराको स्पष्ट सम्झना छैन, त्यति बेला तिमी र म लोग्नेस्वास्नी थियौं कि थिएनौं ? सायद थिएनौं। न थि– पो –यौं कि ! अब आएर यस्तो शंकाको झमेलामा नपर्दा हामी दुुवैलाई ठीक होला। हामी सहवरणमा थियौं या थिएनौं प्रस्ट नभए पनि सहबासमा भने अवश्य थियौं। यो कुुरामा यकिन हुुन सक्नाको कारण के हो भने त्यति बेला तिमी र म भर्खरै सहबासबाट उठेका थियौं।

सहबासपछि तिमी सिनेमा हेर्न थालेकी थियौ। यो तिम्रो अनौठो स्वभाव थियो, सहबासलगत्तै सिनेमा हेर्ने। तिम्रो सिनेमाप्रेम लोभलाग्दो थियो। खासमा म तिमीप्रति लोभिएकै तिम्रो सिनेमाप्रेम देखेर हो। तिमीजस्तो नामुुद सिनेमावाज सुुन्दरीसँग सहबासमा रहे आनन्द हुुँदो हो भनेर म कामना गरिरहन्थेँ।

अचाक्लीसँग सिनेमा हेर्दाहेर्दा तिमीभित्र एउटा अनौठो खुुबी विकसित भएको थियो— तिमी अति नै चाँडो सिनेमा हेर्न सक्थ्यौ। लगभग तीन घण्टाको सिनेमा तिमीले एक घण्टामा हेरिभ्याउँथ्यौ। सिनेमा मात्रै होइन, तिमीले त नाटक पनि उत्तिकै रफ्तारमा हेर्न सक्थ्यौ। पोहोर हो कि कहिले हो, काठमान्डुुको एउटा नाटकघरबाट तिमी १५ मिनेटमा बाहिर निस्केकी थियौ। जब कि आमदर्शक एक घण्टापछि मात्रै बाहिरिएका थिए। सिनेमा र नाटक हेर्ने तिम्रो स्पिड लोभलाग्दो थियो। तर किताब भने तिमी असाध्यै ढिलो पढ्थ्यौ। मेरो किताब पढ्ने रफ्तार देखेरै तिमी मसित झ्याम्मिएकी थियौ जस्तो लाग्छ।

त्यस दिन तिमीले हेरिरहेको सिनेमा कुुनचाहिँ थियो कुुन्नि ? याद गरेको भए अहिले बताउन मजा हुुन्थ्यो होला। सिनेमा र किताबका नाम म प्रायः याद गरिहाल्छुु। त्यस दिन किन गरेनछुु ? हुुन त तिमीले हेरिसकेको सिनेमा हो, तिमीलाई त्यसको नाम किन चाहियो र, हैन?

सहबासपछि मलाई कफीको तलतल लाग्छ। म किचनमा कफी बनाउन गएँ, सानो इलेक्ट्रिक मगमा। तिम्रो कफी टेबलमा राखेँ। कफी भन्ने कुुरा तिमी सधैं नीलो मगमा खान्थ्यौ। मलाई भने सधैं हरियो मगमा मन पथ्र्यो। कफीको अन्तिम सुुर्कोलाई सुुरुप्प पारेपछि मेरो आँखा ढोकाको देब्रे कुुनामा गयो, गग्रेटोमा।

‘अहो, आजलाई पानी नै छैन !’, मलाई याद भयो। देब्रे हातमा पित्तलको गाग्री समात्दै मैले भनेँ, ‘पानी सकिएछ लिएर आउँछुु।’

तिमीले मतिर हेर्दा पनि नहेरी मुुन्टो हल्लाउँदै भन्यौ, ‘चाँडै आऊ है। मलाई डर लाग्छ।’ पानी भर्न कुुटीदेखि निकै तल जानुुपथ्र्यो, खोलामा। घना जंगलको बाटो। कुुटीबाट निस्किँदै गर्दा मलाई लाग्यो, आज तिमीलाई थोरै सताउनुु पर्छ। तिम्रो गाग्रीको घाँटीसम्म डर भरिदिनुुपर्छ।

जंगलको बाटोमा झाडी पन्छाउँदै म खोलातिर गएँ। खोला संग्लो थियो। पानी कञ्चन थियो। गाग्री भरेँ तर तुुरुन्तै कुुटीमा फर्किइनँ। मोबाइल झिकेर हेर्न खोजेँ। कुुटीमै छुुटेको रहेछ। सोचेँ, ठीकै भयो। लुुगा खोलेँ र खोलामा हामफालेँ। पौडेर पारि पुुगेँ। त्यस बेला सायद साँझको ४ बजेको थियो होला।

पारि पुुगेर एकछिन टहलिएँ। तराईको पनि होइन, पहाडको पनि होइन कस्तो कस्तो ठाउँ थियो त्यो। जमिन यस्तो थियो कि त्यहाँ कुुनै उकालो पनि थिएन, समथर पनि थिएन। वा हुुन सक्छ त्यो जमिन उकालो ओरालो अथवा समथर कस्तो छ भन्नेतिर ध्यान नै दिइनँ मैले। ध्यान गरे न थाहा हुुने रहेछ सत्य कुुरा।

म खोलावारि थिएँ। तिमी खोलापारि थियौ। त्यो कुुरा मलाई मात्रै थाहा थियो, तिमीलाई थिएन। म एक वस्त्र अर्थात् नितान्त निजी पोसाकमा थिएँ। होइन होइन, म कुुनै पोसाकमा होइन, सर्वांग नांगै थिएँ।

सहबासपछि तिमी सिनेमा हेर्न थालेकी थियौ। यो तिम्रो अनौठो स्वभाव थियो, सहबासलगत्तै सिनेमा हेर्ने। तिम्रो सिनेमाप्रेम लोभलाग्दो थियो। खासमा म तिमीप्रति लोभिएकै तिम्रो सिनेमाप्रेम देखेर हो। तिमीजस्तो नामुुद सिनेमावाज सुुन्दरीसँग सहबासमा रहे आनन्द हुुँदो हो भनेर म कामना गरिरहन्थे‌‌।

खोलाको पारिपट्टि घाँसे मैदान थियो। मैदानको किनारामा बुुट्याने जंगल देखिन्थ्यो, वा हुुन सक्छ त्यो जंगलको चित्र मेरो कल्पना मात्रै थियो। एक घण्टाजति चिच्याएर गीत गाएँ। खोलाको किनारैकिनार बालुुलामा खुुट्टा लतार्दै दौडेँ। जंगली फूल टिपेँ। गुुच्छा बनाएँ। फूलगुुच्छा देखेपछि बल्ल मलाई तिम्रो हेक्का भयो। अब त फर्कन्छुु भन्ने सोचेर खोलातिर गएँ।

तर खोला अघिको जस्तो थिएन। निकै ठूलो थियो, धमिलो थियो। कति चाँडै बाढी आएको रहेछ। सायद खोलाको मुुहानतिर ठूलो वर्षा भएथ्यो होला। खोलो यति उर्लेर आएको थियो कि पौडेर तर्ने आँटै आएन। मरियो भने त मरिगयो नि !

मेरा सबै कपडा पारिपट्टि थिए। के गरूँगरूँ भयो। उता कुुटीमा तिमी एक्लै थियौ। बेकारमा पौडिने बुुद्धि पलाएछ भनेर थकथकी भयो। ज्यानकै बाजी थापेर उर्लेको खोलामा हामफाल्ने कुुरा पनि भएन। म खोलाको किनारैकिनार माथितिर दगुुरेँ। सोचेँ, ‘माथितिर एउटा न एउटा पुुल त पक्कै भेटिन्छ होला नि !’

म दौडिरहेँ–दौडिरहेँ तर अहँ, पुुल आएन। बरु पुुलभन्दा पहिला एउटा हलुुका बजार आयो। तिमीलाई भनिसकेँ नि, म पुुरापूर नांगै थिएँ। तर खै किन हो बजारको सम्मुुखमा आइपुुग्दा पनि मलाई नांगो छुु भन्ने हेक्कै भएन। हेक्का हराएको हुुनाले मभित्र लाज–घिनको चेतनै थिएन। वा हुुनसक्छ म खोलाखोलै दौडेर त्यहाँ पुुग्दासम्म म कपडा लगाएको भइसकेको थिएँ। तर त्यस्तो पनि नहोला। मेरो मनमा कपडा लगाएको वा नलगाएको अनुुभूतिको कुुनै सारसंकेत थिएन।

त्यो सानो बजार थियो। तीनचारवटा मात्रै पसल थिए। सबै पसलमा जोडेर मुुस्किलले तीनचारजना मान्छे देखिएका थिए। बजारको पुुछारको चिया पसलमा अचानक तिम्रा बालाई देखेँ। मैले तिम्रो बालाई पहिलोचोटि त्यहीँ देखेँ। मलाई थाहै थिएन, तिम्रा बा उमेरमा तिमीभन्दा धेरै नै कान्छा रहेछन्। कस्ता कलिला बा ! मात्र उन्नाइस बीस वर्षका !

तिम्रा बा चिया खाँदै थिए। उनीसँग अरू मान्छे पनि थिए। उनीहरू मलाई अर्थात् हामीलाई नै खोजिरहेका थिए। मलाई भर्खरै मात्र याद भयो कि हामीहरू केही समयपहिले घरबाट भागेर आएका थियौं। तर, त्यो समय कति दिन, हप्ता, महिना वा वर्षपहिले थियो थाहा भएन।

सकेसम्म तिम्रा बाको पक्राउमा पर्ने कुुरा थिएन। उनले मलाई नदेख्दै म फरक्क फर्किएँ, जुुन बाटो आएथेँ त्यही बाटो हान्निँदै कुुदेँ। खोलाको किनारैकिनार लड्दैपड्दै अघि पौडी खेलेकै ठाउँमा आइपुुगेँ। त्यहाँ आइपुुग्दा मध्यरात भइसकेको थियो। जून टाउकोमाथि थियो। जुुनेली उज्यालो छरपस्ट थियो। त्यही उज्यालोमा मैले अघि बनाएको फूलगुुच्छा देखेँ। फूलगुुच्छा देखेपछि मलाई तिम्रो सुुमधुुर सम्झना आयो। सुुमधुुर सम्झनाले उल्टै थुुरथुुर डर लागेर आयो।

‘अब यसले मलाई गाली गर्ने होला। विचरा डराएर बसेकी होला। उता ढोकाको छेस्किनी पनि बिग्रेको थियो। जंगलको नजिक त्यसरी एक्लै छाडेर हिँड्नुु हुुन्थेन मैले। जंगली जनावर जताततै छन्’, खोलाको किनारमा उँधोमुुन्टो लगाएर यस्तै सन्ताप गर्न के थालेको थिएँ, खोलाको पानी झ्याप्पसँग सुुक्यो। चिरिप्पै भयो। छिनभरमै खोलो सुुक्खाटाट भयो। कस्सो मैले गाग्रीचाहिँ अघि नै भरिसकेको थिएँ !

खोलो अचानकसँग सुुकिदिएको हुुनाले जलचरलाई फसाद पर्‍यो। माछाहरू फ्याक-फ्याक उफ्रन थाले। गँगटाहरू बालुुवामा गुुटमुुटिन थाले। झिँगेहरू क्यारम्–क्यारम् भए। बामहरू बाउँठिएर बटारिन थाले। तर मलाई माछा, गँगटा, झिँगे वा बामहरूमा कुुनै दिलचस्पी भएन। दिलचस्पी लिएको भए त्यो दिनको मात्रै होइन, बाँकी धेरै दिनको तरकारीको जोहो हुुन्थ्यो। कुुटीमा फ्रिज छँदै थियो। तर, मलाई चाँडै घर पुुग्नुु थियो। तिमी जंगलको बिचोबीच एक्लै जो बसिरहेकी थियौ।

सुुक्खा खोलाको पारि पुुग्नेबित्तिकै मैले झटपट कपडा लगाएँ। गाग्री बोकेँ र हस्याङफस्याङ गर्दै कुुटीमा फर्कें। तिमी अझै पनि सिनेमा हेर्दै थियौ। मलाई ढोकामा आइपुुगेको चाल पाएर तिमीले भन्यौ, ‘हैन कति चाँडै आएको यो मान्छे ? उडेरै जान्छौ कि के हो ? ’

‘हैन के भन्छ्यौ तिमी ? बाहिर हेर त। सिनेमा हेर्दाहेर्दा रात परेको पनि थाहा नपाउने हुुस्सुु !’ मैले झ्यालतिर देखाएँ। उच्चाटलाग्दो कुुरा के भने बाहिर पूरै टन्टलापुुर थियो। अब टन्टलापुुर अँध्यारो त हुुने कुुरा हुुँदैन, त्यो हुुने त घाम नै हो। सोचेँ, ‘मुुला सपना त हो, घाम लाग्नलाई कुुनै कारण किन चाहियो ? सपनाको घाम जतिखेर लागे पनि भयो, जतिखेर अस्ताए पनि भयो।’

‘पागल ! तिमी अब बहुुलाउन बेर छैन।’ रिमोटको कुुनै बटन थिच्दै तिमीले भन्यौ। टीभीको स्क्रिनमा अघिसम्म छङछङ बगिरहेको सिनेमा एउटा दृश्यमा अड्किएर टक्क रोकियो। मलाई सिनेमा र अघिको खोलो उस्तै लागेर आयो। तर, टीभीको स्क्रिनमा माछा, गँगटा वा झिँगेहरू फœयाक फœयाक उफ्रिरहेका थिएनन्। त्यहाँ त एउटा सानो कुुटी थियो, रातो माटोले लिपिएको। कुुटीको पिँढीमा पित्तलको हत्यौरी थियो।

सायद मलाई मात्रै थाहा थियो, हामी सपनाको कुुनै घटनामा छौं भन्ने कुुरा। तिमीलाई थिएन। मैले ‘यो सपना हो प्रिय। यहाँ घाम–जूनको ठेगान हुुँदैन। यहाँ सिनेमा र खोलामा अन्तर हुुँदैन।’ भनेर भनिदिएको भए पनि हुुन्थ्यो। तिमी विचरी जे देख्यौ, जे सुुन्यौ, त्यसैलाई यथार्थ ठानिबस्यौ र मैले ल्याएको पित्तलको गाग्री बोकेर खित्खिताउँदै भान्छातिर लाग्यौ। त्यसो त साँझको खाना बनाउन ठिक्क परेको मान्छेलाई यो यथार्थ होइन, सपना हो भनेर रनभुुल्लमा पार्ने कुुरा थिएन मैले।

भान्छातिर जाँदाजाँदै उर्दी गर्‍यौ, ‘बाँकी फिल्म हेर्देऊ है। आजको खाना म बनाउँछुु।’

तिमीले यस्तरी भन्यौ मानौं सिनेमा हेर्नुु पनि एउटा काम हो, बच्चाबच्ची हेर्नुुजस्तै, खेतीबारीको हेरालो गर्नुुजस्तै, घरकुुरुवा बस्नुुजस्तै। यस्तो काम जसलाई परिवारका सदस्यले पालैपालो गर्नुुपर्छ। दायित्वको काम। कर्तव्यको काम। हात बाँड्ने काम। म सिरक ओढेर सोफामा बसेँ। रिमोटको ‘प्ले’ गेडी थिचेँ। टीभी स्क्रिनमा त्यही सिनेमा चल्न थाल्यो, जसको कथा मैले तिमीलाई भर्खरै सुुनाएर भ्याएको छुु।

Published on : Annapurna Post

Sunday, July 28, 2019

पठन वार्ता

पठन वार्ता

‘पैताला’ पुस्तकका लेखक गनेस पौडेलसितको फुर्सद-गफ यहाँ प्रस्तुत छ 
कत्तिको फुर्सद हुन्छ ?
जत्तिको जनावर, चराचुरुंगी, जलचर वा रूखहरूलाई हुन्छ।
के गर्नुहुन्छ फुर्सदमा ?
अहिले मेरो कामै पढ्ने, लेख्ने, सिनेमा हेर्ने मात्रै छ। त्यसबाट छोटो फुर्सद निस्क्यो भने छोरीसँग खेल्छु, लामै निस्क्यो भने घुम्न निस्कन्छु।
 कस्ता किताब, संगीत, सिनेमा रुचाउनुहुन्छ ?
यस्तै भन्ने छैन, सबै खाले किताब मन पर्छन्। दिउँसो एक झमट नाच्ने बानी छ। त्यसका लागि नेपाली पुराना लोकगीत वा अमेरिकी कन्ट्री संग्स् बजाउँछु। बेलुका हरिप्रसाद चौरसिया, रवि शंकर, ल्याङ्ल्याङ, जाकिर हुसैन आदिका वाद्यवादन सुन्दै सुत्छु। सिनेमा त झन् सबै खाले मन पर्छन्।
 पछिल्लो पटक पढेको किताब ?
फ्रस्फ्वा वोर्गिनियनको ‘द ग्लोबलाइजेसन अफ् इनइक्वलटी’।
पछिल्लो पटक हेरेको सिनेमा ?
प्रशान्त बर्माको ‘अ’।
‘अ’ कस्तो सिनेमा हो ? किन मन पर्‍यो ?
मनोवैज्ञानिक थ्रिलर हो। बहुव्यक्तित्वको द्वन्द्व प्रस्तुति गज्जब छ।
सिरानीमा किताब ?
रोबट्र्सद्वय जोन वि. र एलिजाबेथ ए. लिखित ‘फ्रिइङ् टिबट ः फिफ्टी इअर्स अफ् स्ट्रगल, रिजिलियन्स एन्ड होप’। तिब्बती शरणार्थीबारे उपन्यास लेखिरहेको हुनाले सन्दर्भका लागि पढ्दै छु।
हातमा भएको किताब ?
रवीन्द्र समीरको ‘मृत्युको आयु’।
थाती राखेको किताब ?
जर्ज सौन्डर्स्को ‘लिंकन इन द बार्डो’।
धेरै पल्ट पढेको किताब ?
महाभारत।
 पहिलो (बच्चाको) किताब ?
‘कृष्ण चरित्र’। हजुरआमा र काकीका लागि पढियो। आफ्नै लागि पढेको गोर्कीको ‘आमा’।
 धेरैपल्ट उपहार दिएको किताब ?
युभल नोह हरारीको ‘स्यापियन्स : अ ब्रिफ् हिस्ट्री अफ् ह्युमनकाइन्ड’। बुद्धिसागरको ‘कर्णाली ब्लुज’, नगरकोटीको ‘मिस्टिका’, नयनराज पाण्डेको ‘घामकीरी’, अमर न्यौपानेको ‘पानीको घाम’।
धेरैपल्ट उपहार पाएको किताब ?
रुमीको ‘लभ पोअम्स्’, खुसवन्त सिंहको ‘द कम्पनी अफ् विमिन’।
 पढ्न मन लागेर नपाएको किताब ?
सल्मान रुस्दीको ‘द सटानिक भर्सेस्’। साथी सर्कलमाझ कुरा हुँदा अहिलेसम्म पढेको छैन भन्दा लाजै लाग्छ।
कहाँ किन्नुहुन्छ ?
प्रायः पोखराको हिमालयन रिडर्स कर्नरमा। काठमान्डु जाँदा एड्युकेसनल बुक हाउसमा।
कसरी किन्नुहुन्छ ?
पसल गएर। अनलाइनबाट त उपहार मात्रै पठाउँछु।
समीक्षाहरूमा विश्वास छ ?
पढेका किताबका समीक्षा मात्रै पढ्छु र फिस्स हाँस्छु।
पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् लाग्छ कि सकेसम्म नभेटून् ?
राम्रा किताब राम्रा मान्छेलाई पढाउन मन लाग्छ। उपहार दिन्छु वा फोन गरेर पढ्न सुझाउँछु।
पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?
लाग्छ तर आफैं पनि लेखक भैटोपलेको हुनाले थोरै डर, धेरै दया जाग्छ र लेख्दिनँ।
पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?
मैले पढेको किताब ‘सेकेन्ड ह्यान्ड’ पसलले पनि किन्दैन होला। केरकारले ध्वस्तै हुन्छ।
किताब धेरै मन परे के गर्ने बानी छ ?
नेपाली रहेछ भने टाइप गर्थें। अरू भाषाको रहेछ भने अनुवाद गर्थें। तर यो मजस्तै अनियमित छ।
अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
घरमा। मुड चले पढ्छु, नत्र सिनेमा हेर्छु।
यहाँसँग भएको दुर्लभ पुस्तक ?
छैनन्। केही समय अघिसम्म सेल्डन वी. कोपको ‘इफ् यु मिट द बुद्ध अन द रोड, किल हिम !’ लाई दुर्लभ ठानी बसेको थिएँ। अचेल जतासुकै पाइँदो रहेछ।
 राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
राष्ट्रपतिलाई फिट्जराल्डको ‘द ग्रेट ग्याट्स्बी’। प्रधानमन्त्रीलाई खुशवन्त सिंहको ‘द बिग फ्याट जोक बुक’। पुष्पकमल दाहाललाई मेरै किताब ‘पैताला’। शेरबहादुर देउवाले दैनिक पत्रिकासम्म पढिदिए हुन्थ्यो।
किनेको सबैभन्दा महँगो पुस्तक ?
भागवत गीता। विशेष प्रकाशन भएको हुनाले महँगो पर्‍यो।
बढ्ता होहल्ला भएको औसत पुस्तक ?
फ्वाँक्कैमा अपजस किन खेप्नु ?
कम होहल्ला भएको गज्जबको पुस्तक ?
फर्नान्डो पेसोआको ‘द बुक अफ् डिस्क्वाइट’। उनका कविताहरू पनि शानदार छन् तर कमै चर्चामा छन्।
रोजाइमा साहित्य कि गैरसाहित्य ?
लेख्नमा साहित्य, पढ्नमा गैरसाहित्य।
आख्यान कि गैरआख्यान ?
लेख्नमा आख्यान, पढ्नमा गैरआख्यान।
 कुन लेखक पढ्न चाहनुहुन्छ ?
भेटेजति भ्याएजति सबै। पुरानाभन्दा समकालीन लेखकमा रुचि छ। प्रायः सबै नेपाली लेखकका नयाँ रचना पढ्छु। युभल नोह हरारी, जरेड डायमन्ड, स्टेफन हकिन्स्, टमस पिकेटीका किताब रिडिङ टेबलमा सधैं हुन्छन्।
Published at:
http://annapurnapost.com/news/133142

Thursday, June 13, 2019

भाषाको यौन विन्यास

अघिल्लो शनिबार ‘फुर्सद’मै रमेश सायनको आर्टिकल पढेँ। ‘छुटेका अनुहार’का शब्दशिल्पी सायनका झैं रिट्ठो नढाँटी, बिलकुल इमानदार भएर यौनका अनुभव र अनुभूतिबारे लेख्ने ल्याकत मसँग छैन। यौनका मामलामा म खासै ‘अनुशासित’ र ‘आदर्श’ मान्छे होइन। खासगरी त्यस्तो ‘अनुशासन’ र ‘आदर्श’ जसको परिभाषा समाजले  गरेको हुन्छ। 
मसँग यौनका बारेमा अत्यन्त निजात्मक, अति संवेदनशील, आममान्छेका सोचाइ र सन्दर्भमा भन्दा, साह्रै असामाजिक र असभ्य करार भइन सकिने अनुभव र अनुभूति छन्। सरुभक्तको भनाइका रूपमा कतै पढेको ‘म आत्महत्या गरूँला तर आत्मकथा लेख्दिनँ’ भन्ने वाक्य मेरा लागि पनि उत्तिकै दुरुस्त वाक्य हो। सरुभक्तको सात्विक प्रेमको विषय होला, मेरो होला तामसिक। तर अन्तिम कथन मेरो पनि त्यही हो।
प्रेम र यौनका बारेमा मैले जे देखेँ, जे भोगेँ त्यसलाई समेटेर संस्मरण वा आत्मकथा लेख्ने कुनै मनसुवा मसँग छैन। त्यो आवश्यक पनि छैन। मलाई थाहा छ— संसारका सबै अनुभव वा अनुभूति बाँड्नका लागि हुँदैनन्। सबै अनुभवलाई, सबै भोगाइलाई कथ्नैपर्छ भन्ने छैन। केही याद जिन्दगीसँगै मरिजानु पर्छ।
म हुर्कौलो हुँदै गर्दा मेरो संगत दामलीहरूसँग भन्दा ज्यादा पाकाहरूसँग भयो। स्कुलबाट भाग्ने, सिनेमा हेर्ने, पौडी खेल्ने, माछा-चरा मार्ने, फलफूल चोर्नेजस्ता काममा लागियो। खोलामा पौडी खेल्दा सिनियरहरू ‘हस्तमैथुन’ प्रतियोगिता नै गर्थे। हामी केटाकेटी रमिते हुन्थ्यौं। टीभी र भिडियो प्लेयर भाडामा ल्याएर हरेक शुक्रबार रातभरि र शनिबार दिनभरि सिनेमा हेर्ने चलन थियो। मध्यरातमा खोलमा ‘रामायण’, ‘महाभारत’ लेखिएका ‘पोर्न मुभी’हरू देखाइन्थ्यो। म १०/११ वर्षकै उमेरमा यस्ता फन्डामा परेँ। पैंचालीस सालको मध्यतिर गाउँमा सार्वजनिक टीभी आयो। टीभी हेर्न सारा गाउँले गुन्द्रीकाम्लो बोकेर चौतारोमा आउँथे। टीभी देखाइने ठाउँको अलिक पर्तिर मात्रै सुनसान ठाउँमा पुरानो औडी थियो जहाँ टाप्रेको गाँज मात्रै थियो। गाँजभित्र सिनियरहरू आ-आफ्ना तरुनी बोकेर जान्थे। ‘मलाई मान्छे आउँछन् कि हेर !’ भनेर बाटो कुर्न लगाउँथे। 
उमेर नपुग्दै मलाई यौनका बारेमा धेरै कुरा थाहा भइसकेको थियो। तर अचम्मलाग्दो कुरा के भने कक्षा ८ पढ्दासम्म पनि मैले ‘सम्भोग, लिंग, योनि’ जस्ता शब्द सुनेकै थिइनँ। त्यसो पनि होइन। शिवलिंगको प्रसंगमा ‘लिंग’ शब्दचाहिँ सुनेको थिएँ। तर मलाई शिवलिंगको लिंग पनि यही मान्छेको जस्तै लिंग हो भन्ने कुरा थाहा थिएन। मलाई अझै पनि शिवलिंग र मेरो लिंग उस्तै अवयव र अवधारणा हुन् भन्ने कुरामा विश्वासै छैन। त्यसो त सम्भोग, योनि, लिंग आदि शब्द मेरो भाषाका शब्द होइनन्। यी संस्कृत शब्द हुन्। मलाई थाहा नहुनु कुनै ठूलो कुरा होइन। तर मैले यी शब्दको सेरोफेरो जनाउने खाँट्टी नेपाली नाम भने बालखैमा सिकेको थिएँ। ती पनि एउटा होइन, अनेकन। 
आठ कक्षा पढ्दा मलाई लागेको एउटा उटपट्याङ जिज्ञासा थियो— हामीलाई संस्कृतका शब्द सम्भोग, योनि, लिंग अथवा अंग्रेजीका सेक्स, भजाइना वा पेनिस भन्दा वा लेख्दा कुनै सकस नहुने। लाज नहुने। असभ्य नभइने। तर त्यही अर्थ दिने हाम्रा आफ्ना नेपाली शब्द बोल्दा वा लेख्दा किन लाज हुने ? किन असभ्य भइने ? सँगसँगै मलाई अर्को जिज्ञासा आएको थियो— स्वयं बेलायतमा चाहिँ यो कुरा पढाउँदा आफ्नो भाषाका शब्द प्रयोग गर्छन् कि अरूका ? चीन वा कोरियामा के गर्छन् ? के उनीहरू पनि हाम्रोजस्तै अर्काको भाषाबाट सापटी लिएर लाज जोगाउँछन् ? 
दुई हप्ताअघि हेटौंडाबाट पोखरा फर्किंदा लेखक ब्रजेश र व्यवसायी दिनेश कार्कीसँग पनि संयोगवश यस्तै प्रसंग उप्काएँ। मैले यिनै प्रश्न दोहोर्‍याएँ। ब्रजेश दाइले प्रस्तावै राखे, ‘नेपाली भाषामा ‘सेक्स’लाई जनाउने शब्द के के छन् भनौं त ?’
शब्दकर्मीको प्रस्ताव टार्ने कुरा भएन। एकपछि अर्कोले पालैपालो गर्दै हामीले भटाभट आएजति शब्द भन्न थाल्यौं। एकपछि अर्को जिब्रोबाट शब्दहरूको मकैफुला उठिरह्यो। सागर किनारमा छाल आउन रोकिएला तर शब्दको लहर रोकिएन। नारायणगढ-मुग्लिन खण्डको सडक नापेर सकियो तर हाम्रा जिब्रोबाट कामुक शब्दको फेहरिस्त खस्न रोकिएन। गर्नु, पल्टाउनु, सेट्नु, दाप्नु, ङ्याक्नु, क्वाँक्नु, मच्चिनु, ख्याँस्नु, कन्याउनु, सुत्नु, .ि..क्नु, सुताउनु, लडाउनु, ठोक्नु, अँचेट्नु, ढिच्काउनु, च्यात्नु, दपेट्नु, छिराउनु, चिप्ल्याउनु, दन्काउनु, फट्याउनु, जोल्टिनु, सिल तोड्नु, तातो पानी फाल्नु, पाँच खुट्टा टेक्नु, 
ढिकिच्याउँ गर्नु, कोल चलाउनु, भाँडा बजाउनु, ट्याम्पु पल्टाउनु, मियो गाढ्नु, दही मथ्नु, घिउ निकाल्नु, फलफूल खानु, जग्गा हेर्नु...।
एउटै वा उस्तै अर्थ दिने शब्दहरू जति धेरै हुन्छन्, त्यो अर्थको विषयमा त्यो भाषा बोल्ने समाजको मानसिक चित्र उति नै प्रस्ट हुँदै जान्छ। भन्छन् नि, क्यानडाका आदिवासी इस्किमोहरूको भाषा युपिकमा जमेको पानी अर्थात् हिँउ जनाउनका लागि मात्रै दर्जनौं शब्द छन्। तिनले हिउँको अनेकन प्रकारलाई बताउँछन्। हिउँको आकार, रङ मात्रै होइन; कुनै हिउँ कति पुरानो हो, त्यो कति बेला देखियो, कसरी देखियो आदि अनेकन सूचना पनि एउटै शब्दले दिन्छ। हिउँ मात्रै होइन, हिउँ परेको स्थान र त्यसलाई हेर्ने मान्छेअनुसार पनि हिउँका अनेकन नाम उनीहरूसँग छन्।
के सेक्स जनाउने हाम्रा शब्दले पनि यस्तै ‘प्रकार’लाई देखाउँछन् ? पक्कै देखाउँछन्। जस्तो कि ‘टेम्पो पल्टाउनु’ शब्दावली सिनेमामा काम गर्ने प्रोड्युसरका लागि प्रयोग गरिन्छ/थ्यो जसले सिनेमामा ‘रोल’ दिने बहानामा महिला कलाकारसँग यौनसम्बन्ध राख्ने नियत राख्छ/थ्यो। उता ‘फलफूल’ शब्द नेपाली क्यासिनोमा प्रचलित शब्द हो। जस्तो कुनै यौन अड्डामा नयाँ युवती आएकी रहिछन् भने ‘बजारमा नयाँ फलफूल आएको छ’ भनिन्छ। कुनै यौनकर्मीको गुण-दोष बताउनु परे ‘फलानी त जुनारजस्ती छ, भुइँकटहरजस्ती छ, कट्मेरो आँपजस्ती छ’ भनिन्छ। ‘हिजो त्यसले रातभरि फलफूल खाएर बस्यो। ऊ त फलफूल व्यापारी हो नि’ आदि वाक्य पनि त्यताका आमसंवाद हुन् !
आजकाल जग्गा कारोबारीहरूले पनि नयाँ शब्दको प्रयोग गर्न थालेका छन्। फोनमा कुरा गर्दा सुन्ने (श्रीमती वा अरू कोही)ले थाहा नपाओस् भनेर उनीहरू यसरी ‘कोड’ भाषामा बोल्छन् :
- आज जग्गा हेर्न जाने हो ? (प्रस्ताव राखेको)
- कति आनाको हो ? (यौनकर्मीको उमेर सोधेको)
- मोहोडा कस्तो छ ? (उसको अनुहार सोधेको)
- अनि चारा पाटा मिलेको छ कि छैन ? पिछाड कस्तो छ ? (फिगर सोधेको)
- आना/हातको कति लाग्छ ? (एक पटक/रातको मूल्य सोधेको)
- खाली जग्गा हो कि घर पनि छ ? (विवाहित
हो कि होइन ?)
- जग्गाधनी नेपालमै छ ? (लोग्ने विदेश छ कि
यतै छ ?)
- आजै बैना हुन्छ त ? (आऊँ त ?)
यौनसँग सम्बन्धित मात्रै हामीसँग यति धेरै शब्द रहेछन् कि हामीले बलपूर्वक तिनलाई सम्झनै परेन। शब्दको डोर नसकिने देखेपछि झ्यावै लागेर छोड्यौं। अझ हाम्रो नयाँ पुस्ताले अनेकौं नयाँ सडक-शब्दहरू जन्माइसकेको होला, जुन शब्दले अहिलेसम्म हाम्रो कानमा पर्ने ‘सौभाग्य’ पाएकै छैनन्। सम्भवतः एउटै काम जनाउने यति धेरै शब्द भएको हाम्रोजस्तो ‘समृद्ध’ भाषा अन्त खोज्न गाह्रै पर्ला।
तलतिर व्याख्या गरिएका पेसागत शब्दावलीलाई छोडेर बाँकी चल्तीका क्रियापदलाई एकबाजी केलाएर हेरौं। ती शब्दको प्रयोग गर्ने व्यक्तिको मनोविज्ञान नियालौं। महिलाप्रतिको उसको धारणा कस्तो रहेछ भनेर सोचौं। अनि यसरी पनि सोचौं— ती क्रियापदको प्रयोग कसले गर्छ, महिला या पुरुष ? के नेपाली महिलाहरूसँग पनि यस्तै शब्दभण्डार छ ? तीमध्ये कति क्रियापदले पुरुष कर्ता माग्छ ? कतिले महिला माग्छ ? कतिमा महिला वा पुरुष जे भए पनि फरक पर्दैन ? 
व्याकरणीय हिसाबले सोच्ने हो भने ती सबै शब्दको कर्ता पुरुष छ र कर्म स्त्री। भाषाबाटै (यौन) मनोविज्ञानको निर्माण हुन्छ भन्ने विचारलाई मान्ने हो भने हाम्रो समाजमा ‘सेक्स’ पुरुषले मात्रै ‘गर्ने’ काम हो भन्दा हुन्छ। महिला फगत ‘सेक्स टोय’ मात्रै हुन्। यसको भोक्ता पुरुष हो, महिला भोग्या हुन्। यसले यौनका मामलामा पुरुष सक्रिय र महिला निष्क्रिय हुनुपर्छ भन्ने धारणा गर्छ। हाम्रा संसर्गजनक क्रियापदले ‘पुरुषत्व’को अहम् र तुजुकलाई यसरी नै हाम्रो मस्तिष्कमा स्थापित गरेका छन्। र हाम्रो यौन मनोविज्ञान यिनै शब्द प्रयोगको सिलसिलाबाटै निर्माण भएको छ।
त्यसो त पूर्वीय परम्परामा यौन कर्मका लागि दुई शब्द छन्— कामक्रीडा र रतिक्रीडा। रतिदेवी र कामदेव यौनका देवजोडी हुन्। संसर्ग गर्नु भनेको हिन्दू परम्पराअनुसार एक ‘क्रीडा’मा सामेल हुनु हो जसको मूल ध्येय मनोरञ्जन हुन्छ। यसमा महिला र पुरुष दुवैको अहम्, सक्रियता र आनन्दलाई समेटिएको छ। आनन्द, सक्रियता र यौन-अहंका हिसाबले पुरुषप्रधान सम्भोगलाई कामक्रीडा भनिन्छ भने स्त्रीप्रधान सम्भोगलाई रतिक्रीडा। खैर यी कुरा पौराणिक जिनिस भइसके जसको सामाजिक अभ्यास अहिले छँदैछैन। 
मेरो एकजना नजिकका भाइ छन्। अझै अविवाहित। १५ वर्षअघि बेलाबेलामा उनी मेरो फ्ल्याटको चाबी माग्न आइरहन्थे। उनी केटी साथी लिएर आउँथे। उनका कम्तीमा तीनजना पूर्वप्रेमिकालाई म पर्सनल्ली चिन्थेँ। सबैजनासँग उनको सबैखाले सम्बन्ध थियो भन्ने कुरा मलाई थाहा छ।
तीन वर्षपहिले उनको विवाहको कुरा चल्यो। अर्कै कुनै युवतीसँग। त्यो बेला उनी कसैसँग ‘रिलेसन’मा थिएनन्। मागी विवाहका लागि राजी थिए। परिवारले खोजेकी ती युवती पढेकी थिइन्। जीउडाल मिलेकी थिइन्। परिवार पनि सुहाउँदो थियो। तर उनले मरिकाटे उनीसँग बिहे गर्न मानेनन्। मैले एकान्तमा लगेर कारण सोधेँ। उनले भने, ‘यो केटीको पहिले अर्कैसँग सम्बन्ध थियो। यसको केटो बाहिर गएर उतै बिहे गरेको हो। सी इज नट भर्जिन। जुठो कुरा कसले बेहोर्छ ?’ उनले साथी ‘सर्कल’ परिचालन गरेर ती युवतीको पूरै ‘हिस्ट्री’ उतारेर ल्याइसकेका रहेछन्। केटाको कुरा सुनेर मेरो भाउन्ना छुट्यो। विवाहअघि दर्जनौं केटीसँग सम्बन्ध राखेको एउटा युवाले आफूले बिहे गर्ने केटीको पहिलो मापदण्ड ‘भर्जिनिटी’ राखेको थियो। योभन्दा घिनलाग्दो अवधारणा अर्को के हुन सक्छ ? 
केही समयपहिले अन्नपूर्ण दैनिककै अनलाइन संस्करणमा एउटा बलात्कारको समाचार पढेको थिएँ। त्यहाँ बलात्कृत महिलाकै भनाइको छेकलमा ‘उसले इज्जत लुट्यो’ भन्ने शब्दावली प्रयोग गरिएको थियो। यहाँ पत्रकारले लेखेको ‘इज्जत’ भनेको अरू केही होइन ‘भर्जिनिटी’ हो। के कुनै स्त्रीको हाइमन नष्ट हुनु भनेको इज्जत जानु हो ? नत्र भन्नोस्, खासमा बलात्कार गर्नेको इज्जत जान्छ कि बलात्कृत हुनेको जान्छ ? 
विवाह गरेको केही हप्तामा गृहकलह सुरु भएर घरबार बिग्रेका कैयन् उदाहरण मैले देखेको छु। बुझ्दै जाँदा तिनको मूल कारण ‘भर्जिनिटी’ नै हुन्थ्यो। संसर्गको पहिलो रातबाटै लोग्ने बितर्किन थालिहाल्थ्यो। 
पुरुषको हकमा विवाहपूर्वको सेक्सलाई अति सामान्य मान्ने हाम्रो समाजले २४/२५ पुगेकी कुनै अविवाहित युवती अझै पनि ‘भर्जिन’ हुनैपर्छ भन्ने घिनलाग्दो मान्यता किन राख्छ ? बालखैमा बिहे गरेको पुरानो पुस्ताले यस्तो मान्यता राख्नु अर्कै कुरा हो तर सुपठित नवयुवकले समेत महिलाका बारेमा बनाउने यस्तो अवधारणा लैंगिक विभेदको निकृष्ट नमुना हो। मलाई लाग्छ— ‘भर्जिनिटी’को अवधारणा राख्नु लैंगिक अपराध गर्नु हो र कलुषित अन्धविश्वासको घिनलाग्दो अभ्यास गर्नु हो भनेर सामाजिक बहस चलाउनु जरुरी छ।
मनोविद् अब्राहम मास्लोले गाँस, बास, कपासजस्तै यौनलाई पनि मान्छेको आधारभूत आवश्यकताका रूपमा व्याख्या गरेका छन्। यौन अतृप्तताले मान्छेको शारीरिक मात्रै होइन; मानसिक, सामाजिक र आत्मिक स्वास्थ्यमा पनि असर पुर्‍याउँछ। जसरी खानेकुराको कमीले मान्छेलाई कुपोषण लाग्छ, यौन अतृप्तताले पनि मान्छेको मस्तिष्कलाई कुपोषित गर्छ।
अब एउटा सामाजिक प्रश्न सोधौं, यति ठूलो आधारभूत आवश्यकता मानिएको यौन चाहनाको परिपूर्तिका लागि हामीसँग सामाजिक व्यवस्था के छ त ?
क) विवाह गर्ने 
ख) प्रेम गर्ने
ग) वेश्यावृत्ति गर्ने 
घ) एक अर्काको खाँचो टार्ने
मनोविद्हरू १८ वर्ष पुग्नुलाई यौनिक आवश्यकता पूर्ति गर्न थाल्नुपर्ने उमेरको रूपमा लिन्छन्। अधिकांश नेपालीको यौनजीवन विवाहपछि मात्रै सक्रिय हुन्छ। आवश्यकता पुग्ने गरी होइन कि अनुभवका लागि मात्रै गरिने विवाहपूर्वका एकाध ‘सेक्स’का कुरा भिन्दै हुन्। ‘लभ गर्ने’ र ‘सेक्स गर्ने’ कुरा झन् अनौठो कुरा हो। होटलमा भेटिएको जोडीलाई अपराधीलाई झैं समातेर थुन्ने पुलिस प्रशासन भएको ठाउँमा ‘सेक्स’ गर्ने सुरक्षित स्थान नै छैन। उता होटलबाट पक्राउ गर्दा पनि महिलालाई वेश्याको अरोप लाग्छ, पुरुष छुटिहाल्छ। यसको अर्कै पाटो छ।
पश्चिमाहरूका झैं केटा वा केटी साथीलाई घरमै ल्याएर आमाबाबु र परिवारको मुखेन्जी कोठामा पस्ने संस्कार हाम्रोमा छैन। होटलमा जाँदा पुलिससँगसँगै कसै न कसैले देख्ला वा चिन्ला भन्ने डर उत्तिकै हुन्छ। सायद त्यसैले होला, अचेल होटलबाट मात्र होइन; जंगल, खोला, खहरे र खोँचहरूबाट समेत प्रेमीहरू पक्राउ परेका समाचार बग्रेल्ती सुनिन्छन्।
एकातिर विवाह गर्ने औसत उमेर बढेको बढ्यै छ। सहरमा त २५ वर्षअघि बिहे गर्ने चलन लगभग हराइसक्यो। यो वर्ष म आफैंले निम्तो मानेका १५ वटा विवाहमा केटाको औसत उमेर २७ वर्ष आयो भने केटीको २३। यो हिसाबले सहरिया युवकयुवतीको अन्दाजी १० वर्षको आयु यौन कुण्ठामै बित्ने रहेछ। त्यो १० वर्ष जुन उमेरमा मान्छेभित्र सर्वाधिक यौन अभिरुचि हुन्छ। 
मेरा एकजना मित्र छन्। उनी नेपालका सुविख्यात लेखक हुन्। एक दिन उनले मलाई सुनाए, ‘गनेस, म लेख्नुअघि प्रायः हस्तमैथुन गर्छु।’ हस्तमैथुनले उनलाई शान्त र स्थिर बनाउँदो रहेछ। कस्तो स्वाभाविक र शान्त अभिव्यक्ति ! यस्तो खुलस्त विचार ! अभिव्यक्तिका लागि मैले उनलाई धन्यवाद पनि दिएँ।
महिलाको मनमा के हुन्छ मलाई थाहा छैन तर हरेक पुरुषको मनमा हरेक क्षण यौनको चिन्तना रहेकै हुन्छ। मेरोमा पनि बस्छ। दिमागमा त्यही योनि, स्तन र नितम्बको छायाँ अविराम बसेको हुन्छ। टुप्पीदेखि पैतालासम्म कुण्ठै कुण्ठाबाहेक केही छैन। र त्यो कुण्ठा जीवित हुनुमा उसको व्यक्तिगत दोष छैन। यौन-कुण्ठा भाषिक र सामाजिक व्यवस्थाको परिणति हो।
१६ देखि २५ वर्षसम्मको उमेरमा मान्छे यौनका मामलामा कति कुण्ठित भइसकेको हुन्छ भने विवाहपछि पनि त्यो कुण्ठा जीवितै रहन्छ। कुण्ठा बिस्तारै व्यवहारबाट बदलिएर स्वभावमा रूपान्तरण भइसकेको हुन्छ। मान्छेले आफ्नो व्यवहार बदल्न सक्छ, स्वभाव फेर्न सक्दैन। प्रवृत्ति फेर्न सक्दैन। विवाहपछि पनि मान्छेको यौन-कुण्ठा उस्तै रहनुको मूल कारण यही हो। कुण्ठाले समात्ने भनेकै कि सिर्जनाको बाटो हो कि हिंसाको। सिर्जना अप्ठेरो बाटो हो। सिर्जनाले धैर्य माग्छ, शिल्प माग्छ। हिंसा तात्कालिक  बाटो हो। यसले हतारको निर्णय र फुर्सदको पछुतोबाहेक केही माग्दैन।
Published at: 

Sunday, January 7, 2018

उदयप्रकाशसँग नौका विहार



फेवातालसँग मेरा अनेकन किस्सा छन्। रैथाने पोखरेलीको फेवासँग किस्सा हुनु खास ठूलो कुरा पनि होइन। यस आलेखमा केही किस्सा सुनाउन मन भयो।
क) १५ वर्षअघि हरेक फुल मुनमा मित्र राजन र म राति १२ बजे बोटिङमा जान्थ्यौं। डुंगामै बसेर मस्त पिउँथ्यौं, गीत गाउँथ्यौं र पौडी खेलेर आउँथ्यौं। मीनपचासको पूर्णिमामा फेवाको बिचोबिच डाइभ मार्नु कम्ता एड्भेन्चरस थिएन।
ख) मेरो पहिलो प्रेम पर्दाको बखत म कल्पना गर्थे, स–स्यानो योजना पनि बनाउँथेँ, मेरी उनीसितको पहिलो सेक्स फेवातालमै होओस्। बोटमा। सेक्सका हरेक स्ट्रोकसँगै बोटमुन्तिरको पानी छचल्कियोस् र अन्तिम स्ट्रोकमा एउटा गहन छप्ल्यांग होओस्। तर, त्यो एउटा रहर यस्तो भयो जुन कहिल्यै पूरा भएन।
ग) मैले पहिलोपटक स्कुलबाट भागेर गएको पहिलो ठाउँ थियो फेवाताल। अरुण कार्की दाइको दुईडन्डे साइकलमा पशुपति दाइसहित ‘त्रिपल लोड’ पुगेको थिएँ फेवा। हामी दिनभर पौडेर बसेका थियौं। सायद ६ कक्षामा भर्खरै पुगेको थिएँ म। उमेर १२÷१३। त्यो दिनपछि स्कुलबाट भाग्ने लत यस्तरी लाग्यो कि म हरेक ‘स्कुल’बाट भागिरहेकै छु।
घ) मैले पहिलो सुसाइड एटेम्ट फेवातालको बाँधमा गरेको थिएँ। दिनभरि बाँधमा हल्लिएर बसेँ तर आँट आएन। अनि फर्केको थिएँ। त्यो थियो ५३ सालको कुरा।
भो नथापौं, यस्ता किस्साको संस्मरणले बेक्कारसँग उदास बनाउँछ मान्छेलाई। तर, बताउँदा बोर नहुने एउटा कुरा के हो भने मैले फेवातालमा धेरैलाई मस्तसँग बोटिङ गराएको छु। लेखक, कवि, गायक, राजनीतिकर्मी, कलाकार, रंगकर्मी। यसको लिस्ट निकै लामो छ। हरेकसँगका रोचक अनुभवहरू छन्। तीमध्ये एक थिए, उदयप्रकाश अर्थात् मिस्टर मोहनदासका कुख्यात मानस–पिता।
बाराही घाटबाट दुइटा डुंगा छुटेका थिए। एउटामा उदयप्रकाश र म, अर्कोमा फोटोग्राफर कृष्णमणि बराल र केशवशरण। बाँकी साथीहरू केही बेर किनारमै पर्खिएर बसे। यो केशवशरणको आइडिया थियो, ‘दुइटा लेखकको सिंगल बोटिङ जाओस् न।’









यज्ञश अनुदित कथासंग्रह ‘नेलकटर’को विमोचन तथा अन्य कुराकानीका लागि पोखरा आएका उदयप्रकाशसँग कुरा गर्ने र कुराकानीलाई अन्नपूर्ण पोस्ट् ‘फुर्सद’मा फिचर गर्ने रहर थियो केशवशरणको। त्यसैको फेरोमा म बाँधिएको थिएँ र बाँधिएको थियो, एउटा भलिबलजत्रो टिम ः चितौने पढक्कु उदय अधिकारी जो उदयप्रकाशका पुराना मित्र थिए, पत्रकार युवराज श्रेष्ठ अनि फोटोग्राफर कृष्णमणि बराल।
उदयप्रकाशसँग सँगालेको दुईघन्टे सत्संगको संस्मरण लेखूँला भन्ने कुनै योजना थिएन। जीवनमा यस्ता संस्मरणहरूको तादाद यति बाक्लो छ, सबैलाई पल्टाउन बस्यो भने आयु त्यसै उल्टिएर सकिन्छ। म विगत सम्झेर आयु रित्याउने धन्दामा फँस्न चाहन्नँ। तर, उदय प्रकाशका लागि अलिकति आयु खर्चिनु ठिकै कुरा होला भन्ने प्रस्ट त्यति बेला भयो, जब ‘आयुचोर’का नोटोरियस योजनाकार कुमार नगरकोटीले लिँडे ढिपि नै गरे, ‘एक लेख ! दुई लेख ! तीन लेख ! लेख, लेख, लेख !’
नगरकोटी मलाई चकचके बालकजस्ता लाग्छन्। बच्चाको जिद पूरा नगर्ने कुरै भएन। उनैले फुराइदिएको शीर्षक हो यो, ‘उदयप्रकाशसँग नौका विहार।’
‘दोचा’को विमोचनका बेला दसैंलगत्तै पारिवारिक घुमघामका लागि पोखरा आउने निम्तो गरेको थिएँ कुमार नगरकोटीलाई। यसकै छेकलमा ‘नगरकोटी नाइट’ नाम राखेर पोखरामा एउटा काव्य साँझ पनि आयोजना गरिएको थियो। काव्य साँझको अघिल्लो दिन हामी नौका विहारमा थियौं। भाउजु सावित्री, छोरा ग्रिस्मिल अनि मेरो परिवार; श्रीमती नताशा र छोरी सौरभी। नौकाको एउटा टुप्पोमा उनी थिए, अर्कोमा म। बीचमा बसेको पारिवारिक उपस्थितिलाई नोटिससम्म पनि नगरी हामी गफिएका थियौं।
फेवातालको बिचोबिच पुग्दा कुमार दाइले भने, ‘यु नो गनेस, मलाई पोखरा खास मन पर्दैन। यहाँको ताल, हिमाल, हरिया डाँडा, सङ्ला खोला मेरा रुचिमै पर्दैनन्। बरु मलाई लेकसाइडका कफी कर्नरहरू मन पर्छन्। ढुंगा टाँसेर चम्किला पारिएका यहाँका घरहरू मन पर्छन्। मलाई लेकसाइडको औरा मन पर्छ, त्यो पनि झम्किलो साँझको। मलाई मान्छेले बनाएका कुरा मात्रै मन पर्छन्। तँ हुँदैनथिस् भने मलाई पोखराका यी कुरा पनि मन पर्दैनथे होला।’
कुमार नगरकोटीका प्रेमिल वचनले धन्य भएको अवसर छोपेर सम्झनामा आएका थिए उदयप्रकाश। फेवातालको अहिले हामी भएकै ठाउँनेर डुंगा लिएर पुग्दा मिस्टर मोहनदासका मानस–पिता फेवा र हिमालको विराट् सौन्दर्यले अवाक् भएका थिए। उनले मलाई वरपरका सबै पहाड र हिमालका नाम सोधेका थिए। आफ्ना प्रिय दुई लेखकका पोखराबारेका पस्र्पेक्टिभ बिल्कुल अलग थिए। एउटा पोखराको प्राकृतिक सौन्दर्यले छोपिएर आफ्नो हृदयलाई बुरुकबुरुक पार्दै थिए, अर्का थिए त्यसप्रति टोटल्ली इन्डिफरेन्ट। एक थिए उदयप्रकाश, जसलाई मान्छेले बनाएका कुराप्रति कुनै चासो थिएन, बरु अटल असन्तुष्टि र घृणा थियो; अर्का थिए नगरकोटी जो मान्छेले नबनाएका कुरामा कुनै दिलचस्पी लिँदैनथे।
सायद म बीचमा थिएँ। मैले सोचेथेँ, कस्सो दुवै जनालाई एकसाथ लगेनछु बोटिङमा। नभए यी दुई साँढेको चेपुवामा म विकल बाच्छो किमा बन्ने पक्का थियो। त्यसो त ‘भेट’ भन्ने कुरा पात्र, समय र स्थानको संयोजनले मात्रै बन्दो रहेछ। उदयप्रकाश, कुमार नगरकोटी र मेरो नौका विहारको स्थान त एउटै थियो, फेवाताल। तर, समय त्यही थिएन। साक्षी पात्र बनेको म पनि दुवै अवसरमा थिएँ तर कुमार नगरकोटी र उदयप्रकाश एकैचोटि थिएनन्। त्यसैले उनीहरू भेट भएनन्। भएको भए के हुन्थ्यो होला ?
सायद त्यो कुमार नगरकोटीको कुनै सर्रियल कथा हुन्थ्यो। अनुमान सहज छ।
‘दाइ तपाईंले जन्माएकामध्ये सबैभन्दा दुःखी पात्र को हो ? ’ उदयप्रकाशमाथि संस्मरण लेख्न हत्तु हालेका नगरकोटीलाई मैले सोधेँ।
‘दुःखै पाउने त को हुनु र खै ? छैन त्यस्तो त।’ उनले आफ्ना मानस पुत्रपुत्रीहरू सम्झिन खोज्दै भने। फुस्रोकालो चिन्डे तालु मुन्तिरको निधारमा सम्झन खोज्दा उम्रिएका कसरतका रेखाहरू एकैछिन उठे अनि सेलाए।
‘तुलनात्मक रूपमा भन्नुस् न। यो पात्र जन्माएर मैले ठीक गरिनँ, विचराको भविष्य बर्बाद भयो भनेजस्तो लाग्ने कुनै पात्र त होला नि !’ मैले लामो हाँसो मार्दै फेरि जोडबलसाथ सोधेँ।
‘अहँ छैन, छँदै छैन। मेरा मानस पुत्रपुत्रीहरू सुखी पनि छैनन्। दुःखी पनि छैनन्। मलाई दुःख र सुखको झन्झटमा फँसेर लेख्नै आउँदैन’, नगरकोटीले कन्क्लुड गरे।
मैले उदयप्रकाशलाई पहिलोपटक उनका कविताहरू मार्फत चिनेको थिएँ। ‘सुनो कारिगर’, ‘एक भाषा हुवा करती है’ दुवै कविता संग्रहलाई मैले बरोबर प्रेम गरेको थिएँ। उनको आख्यानको परिचय भने यज्ञशले गराएका थिए, ‘मोहनदास’मार्फत। त्यसपछि पढेको हुँ मैले भेटेजति उनका कथा। पिली छतरीवाली लडकी, वारेन हेस्टिग्स का साँड, तिरिछ, वाल अफ् दिल्ली ...।
बाराही घाटबाट दुइटा डुंगा छुटेका थिए। एउटामा उदयप्रकाश र म, अर्कोमा फोटोग्राफर कृष्णमणि बराल र केशवशरण। बाँकी साथीहरू केही बेर किनारमै पर्खिएर बसे। यो केशवशरणको आइडिया थियो, ‘दुइटा लेखकको सिंगल बोटिङ जाओस् न।’
जलविहारपछि थकाइ मार्न हामी प्याराडिसो नामको रेस्तुराँमा छि¥यौं। फेवा किनार ताकेर एउटा टेबलमा बस्यौं। त्यो विल्कुल त्यही टेबल थियो, जसलाई १० महिनापछि लेखक बुद्धिसागरले ‘ब्रह्मजंग’को स्क्रिप्ट लेख्न प्रयोग गरेका थिए। बुद्धिले लगभग एक महिना छोडनन् त्यो टेबल। मिस्टर ब्लुजलाई सायद १० महिनापहिले भएको हाम्रो जमघटको आभाले छोपेको थियो कि !
‘तपाईंका हरेक कथामा उदेकलाग्दो निराशा भेट्छु म। तपाईंका पात्रहरू एउटा संघर्षमा त हुन्छन् तर उनीहरू एकदमै चाँडै संघर्षबाट थाकेर हत्तु भैजान्छन्। कति पात्र मरिन्छन्, कतिले आत्महत्या गर्छन्, कति पागल हुन्छन्, कति पलायन भएर जान्छन्। जस्तो कि ‘मंगोसिल’की नौ वर्षीया बालिका अज्ञात रोगसँग लड्दा लड्दै आत्महत्या गर्छे। ‘वाल्स अफ् दिल्ली’को रामनिवास बरा पुलिसको गोलीले मारिएको छ। आत्म परिचयको लडाइँमा पराजित मोहनदासको पलायन, पाउल गोमराको पागलपन...। एउटा लेफ्टिस्ट विङको राइटरलाई सुहाउने प्रस्तुति हो र यो ? ’
मेरो प्रश्न सुन्नेबित्तिकै उदयप्रकाशको गोरो निधारमा पनि उस्तै रेखाहरू देखिएका थिए, जस्तो रेखा भर्खरै मैले नगरकोटीका निधारमा पाएथेँ। तर, उदयप्रकाशका रेखामा अनिश्चय र डर ज्यादा थियो। अशान्ति थियो।
‘यसो हुनुका मूल कारण सायद मेरो बालापन होला। मैले ११ वर्षको उमेरमा आमा गुमाएँ, १५ वर्षपछि बा जानुभयो। दुवैलाई क्यान्सरले लगेको हो। त्यसपछि हामी टुहुरा केटाकेटी गाउँ छोडेर सहर पस्न बाध्य भयौं, जुन बेला मेरी बहिनीमात्रै पाँच वर्षकी थिई। ‘नेलकटर’ मेरी आमाको मृत्युको कथा हो। आमा बिरामी हुँदा म आमाबिना कसरी बाँचूला भनेर कल्पना गर्दै रुन्थेँ। तर, आखिर त्यसरी नै बाँचे जसरी मैले कल्पना गर्थें; बडो दुःखपूर्वक। मृत्यु र अनिश्चितताको त्यो गहिरो अनुभूतिबाट गुज्रेको हुनाले होला, मेरो अवचेतनले, मेरो हृदयतलले मेरा पात्रहरूलाई त्यस्तै भविष्यतिर लैजान्छ। म अनिश्चय र मृत्युको छायाबाट भाग्नै सक्दिनँ।’
मैले भर्खरै सम्झनामा आएका उदयप्रकाशको उत्तर कुमार नगरकोटीलाई सुनाएँ। उत्तर सुनेर फिक्सन डिजाइनर मौन बसे। पामेतिरको कुनै किनारमा कालिजुरे हाँस एक्लै उडिरहेको थियो। उनका आँखा टफ्टेड डकमा एकटक थिए। सोचेँ, सायद नगरकोटीले आफ्नो जीवन यति अस्तव्यस्त भएर बाँचे कि उनलाई दुःखी हुने समय पनि मिलेन। सुखी हुने समय पनि मिलेन। उनका पात्रहरू पनि त्यस्तै जन्मे। बाबुजस्तो भयो, छोराछोरी उस्तै जन्मिनु स्वाभाविक पनि होला। वा हुन सक्छ, उनले जीवनमा उच्चाट गहिरा दुःख र उत्ताना सुखका लिमिटहरू पार गरेर आएका छन्। यसैकारण पनि उनी चाहन्छन् कि आफ्नो नियति आफ्ना पात्रलाई नसरोेस् !
भोलि साँझ हुने ‘नगरकोटी नाइट’मा उनले सुनाउने मैले आजसम्म नपढेको नयाँ कविता सम्झेँ, ‘डेथ इज अ कम्प्लिट वेस्ट अफ् टाइम।’
‘तपाईंलाई थाहा होला म मूलतः कवि हुँ, म संयोगले मात्रै आख्यानमा आएको हुँ। त्यसैले पनि म कहिल्यै आशावादी वा यथार्थवादी लेखक हुनै सक्दिनँ। एउटा कवि सदैव निराशावादी हुँदो रहेछ, काल्पनिक हुँदो रहेछ। जात, धर्म, व्यवस्था, राजनीतिले निचोरेका मान्छेहरूका अनुहार देख्दा विद्रोहको भावना त आउँछ तर म त्यो विद्रोहलाई सकुशल परिवर्तनमा पटाक्षेप गर्न चाहन्नँ वा भनूँ गर्न सक्दिनँ। मैले मेरा कथामा विद्रोह र आशावादिता भर्ने कोसिस नगरेको होइन, गरेँ। तर, जब लेखेर सकिन्थ्यो त्यो यथार्थ होइन, फेन्टासी भइजान्थ्यो।’ मैले फेरि उदयप्रकाश सम्झेँ र सम्झनाको त्यो उत्तर नगरकोटीलाई सुनाएँ।
आफ्नै सन्तानको भविष्य दुःखपूर्ण बनाइदिने जैविक–पिताहरूलाई के भनेर गाली गर्नुपर्छ, तपाई आफैं गर्नुस् तर त्यस्तै मानस–पिता भने हाम्रो समाजका सफल मान्छेहरू हुन्छन्। आफ्ना आख्यानका पात्रलाई जति धेरै दुःख दिन सक्यो, जति गहिरो पीडाको खाडलमा जाक्न सक्यो, सायद उत्ति सफल हुन्छ एउटा लेखक अर्थात मानस–पिता। यसरी सोच्दा, हरेक लेखकहरू परपीडक
(सेडिस्ट) पो हुन् कि, होइन ?
एक झमटको मौनतापछि नगरकोटीले मोबाइल खोल्दै भने, ‘ल उदयप्रकाशको एउटा कविता पोस्ट भएको छ यता, राजेन्द्र महर्जनको वालमा। सुन्छौ ? ’ मैले मुन्टो हल्लाएपछि उनले वाचन गर्न थाले।
आदमी मरने के बाद कुछ नहीँ सोचता
आदमी मरने के बाद कुछ नहीँ बोलता
कुछ नही सोचने और कुछ नहीँ बोलने पर
आदमी मर जाता है।
यो कविता मैले पहिलोपटक दीपक सापकोटाको फेसबुक वालमा पढेको थिएँ। पछि कवि नवराज पराजुलीले मलाई धेरै पटक सुनायो। आज नगरकोटीको लवजमा सुन्ने अवसर मिल्यो।
‘उदयप्रकाशका लगभग सबै किताब पढेको भएर पनि मलाई उनीसँग गफिन निकै असजिलो भइरहेको थियो। उनको मोटो अनुहारमा मासुका लप्का–लप्काहरू यसरी फुकेका देखिन्थे, जसरी कुनै बूढो जिमबाजका शरीरमा फुस्कन लागेका मासुका गाँठाहरू धोल्लिएका हुन्छन्। एकखाले सदाकालीन उदासी र असन्तोषको भाव उनका आँखाहरूमा देखिन्थ्यो।’ मैले कुरा सम्झँदै नगरकोटीलाई भने।
‘तपाईं आफू हिन्दीमै लेख्नुहुन्छ तर पनि हिन्दी भाषालाई उत्पादले घृणा गर्नुहुन्छ भन्ने कुरा मैले तपाईंका धेरै अन्तर्वार्तामा पढेको छु, सुनेको छु। संसारभर साहित्य लेख्नु भनेको भाषाको सेवा गर्नु भन्ने अर्थमा बुझिन्छ। उसो भए तपाईंले आफूलाई घिन लाग्ने भाषाको सेवा गरिरहनुभएको हो त ? ’ मेरो प्रश्न थियो।
प्रश्नले उनी खिस्स हाँसेका थिए। खैनीले आधी खियाएका खयरका काठजस्ता दाँतलाई ओठले छोपेर लुकाउँदै उनले डुंगाको कापोमा सिउरिएर राखेको जगेडा बहना निकालेका थिए, अनि मसँगसँगै बहनाको पाटीले पानी हुत्याउँदै भनेका थिए, ‘भारतमा बसेर हिन्दीमा लेख्नु भनेको कुनै जमिनदारको घरमा बँधुवा मजदुर भएर काम गर्नुजस्तै हो। यस्तो काम, जसले तपाईंलाई होइन, जमिनदारलाई फाइदा हुन्छ। हिन्दी भाषाको सीधा सम्बन्ध धर्म, त्यहाँको धार्मिक राजनीति र जात­–प्रथासँग जोडिएको छ। हिन्दी भाषामा साहित्य लेखेर मैले साहित्यको होइन त्यही जात, धर्म र राजनीतिको फाइदा पुर्‍याएको जस्तो आभास हुन्छ, अनि मलाई असाध्य पीडा हुन्छ। म आफ्नो हृदय अर्कैको भाषामा खोलिरहेको छु भन्ने सम्झँदा आफैंसँग रिस उठ्छ। सायद यसै कारण पनि होला, मैले लेखेकै हिन्दीमा भन्दा अनुवाद गरिएका मेरा कृतिप्रति ज्यादा अट्याचमन्ट (अपनत्व) छ।’
उत्तर सकेपछि भने उनले दाँत लुकाएनन्। बरु सुर्तीको एउटा फाँकोलाई ओठमा च्यापे। सन्तोषको सुर्ती। यता उदयप्रकाशको प्रसंगलाई ध्यानमग्न सुनिरहेका नगरकोटीले कोटको भित्री खल्तीबाट भर्खरै फेरिएको नयाँ ब्रान्डको चुरोट निकाले, सल्काए अनि सन्तोषको धूवाँ फाले। मैले बहनाको पाटीले सैंतेर सन्तोषका एकाध पानी–भुल्काहरू हुत्याएँ।
म कहिलेकाहीँ कुमार नगरकोटीलाई सोध्छु, ‘तपाईंका रचनालाई अरू भाषामा अनुवाद गर्दा कस्तो होला ? कस्तो देखिएला ? कस्तो पढिएला ? ’
‘मेरो उपन्यास ‘ज्ञ’ एकैचोटि चारवटा भाषामा आउनेछ। त्यो बेला तिमीले आफ्नो प्रश्नको उत्तर पाउनेछौ।’
‘त्यसो त अनुवादको टन्टो सम्झेर किताब लेख्ने कुरा पनि त हुँदैन।’ म पनि हाँसेर कुरा मिलाउँथे। ती कहिलेकाहीँका कुरा हुन्। आजका होइनन्।
‘भारतमै जन्मेर, भारतमै बसिरहेर लेख्ने हुँदाहुँदै पनि तपाईंले आफूलाई डायस्पोरिक लेखक हुँ भनेर किन भन्नुहुन्छ ? ’ मैले उदयप्रकाशलाई सोधेको थिएँ।
उनको रेडिमेड उही जवाफ आएको थियो, सपाट, ‘अधिकांश भारतीय लेखन ‘एक्जाइल’मा बसेर लेखिरहेको छ।’ (कहिलेकाहीँ त मलाई यस्तो पनि लाग्छ कि उदयप्रकाशलाई सोध्नुपर्ने नयाँ प्रश्नहरू नै छैनन्। न उनले थपेर सुनाउनुपर्ने कुनै पुराना उत्तर बाँकी छन्। संसारले उनलाई सोध्नुसम्म सोधेको छ र उनले दिनुसम्म उत्तर दिएका छन्।)
कुमार नगरकोटी एकसुरले चुरोट उडाइरहेका थिए। म एकसुरले उदयप्रकाशसँगको कुराकानी सम्झिरहेको थिएँ। आकाशमा एकसुरले एउटा प्याराग्लाइडर हाम्रै थाप्लामा खस्छु कि झैं गरी उडिरहेको थियो। पर अघिकै ठाउँमा उडिरहेको थियो एउटा हिले बकुल्ला। छोरा ग्रिस्मिल र छोरी सौरभी एकसुरले खाइरहेका थिए तारेको आलुका चाना। भाउजू सावित्री र नताशा एकसुरले खिचिरहेका थिए एकअर्काका फोटो। आकाशमा एकसुरको घाम थियो। मुन्तिर एकसुरको पानी।
‘तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने देख्नुहुन्छ, संसारमा जो धेरै शिक्षित र जानेबुझेको छ, खासमा त्यो व्यक्ति ऊभन्दा कम शिक्षित र कम जानेबुझेको मान्छेको दलाली गर्नमा व्यस्त छ। संसारका सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी मान्छेहरू प्रायः अल्पशिक्षित नै हुन्छन्। ‘मंगोसिल’की सुरिनको रोगको मूल कारण खासमा गरिबी हो, सामाजिक विभेदको ज्ञान हो। नपत्याए आफैं हेर्नुस्, संसारका हरेक केटाकेटीलाई अचेल सुरिनको जस्तै रोग लागेको छ। यस्तो रोग, जसले शरीरको तुलनामा टाउकोको अस्वाभाविक वृद्धि गराउँछ। झुपडीमा बस्ने यस्ता घनटाउके केटाकेटीहरू उमेर नपुग्दै व्यवहारले खारिएर छिप्पिन्छन् र सखाप हुन्छन्।’
मैले उदयप्रकाशको एउटा अन्तर्वार्ताको किस्सा नगरकोटीलाई सुनाएँ। खसीको खुट्टाबाट सुरुवाको सुर्को तानेझैं चुरोटको अन्तिम सर्को तानेर ठुटो विसर्जन गर्दै नगरकोटीले एक पित्को थुक पिच्च थुके फेवातालमा। मैले थपेर भनेँ, ‘प्रिम्याच्युरिटी गरिब केटाकेटीको डरलाग्दो नियति हो। इम्याच्युरिटी सम्पन्न वयस्कहरूको दुर्भाग्य हो। खासमा धनी हुनु र गरिब हुनु दुवै अभागी अनुभूति हुन्।’
बे्रकफास्ट सकिँदा लगभग १० बजिसकेको थियो। उदयप्रकाशको सेसन थियो आज लिट्रेचर फेस्टिवलमा। समय बहकाउने समय थिएन। ब्रेकफास्ट सक्दासक्दै उनले लु झुनको कथा हाले ः
‘एक जना मान्छे थियो, जसलाई ४० वर्षमा अचानक शंका भयो कि म खासमा को हुँ ? हो, उसको परिवार पनि थियो। बच्चा थिए। तर ४० वर्षपछि उसले ठान्न थाल्यो, यो मेरो परिवार होइन, पत्नी र बालबच्चा पनि मेरा होइनन्। घरको खोजीमा ऊ आफ्नै घरबाट निस्कियो। आत्मपरिचयको खोजीमा उसले पूरै दुनियाँ घुम्यो र अन्त्यमा ऊ तिब्बत आइपुग्यो। तिब्बतमा उसले पहिलोचोटि बर्फिला पहाडहरू देख्यो। एउटा एकाकीपन देख्यो, जसलाई उसले यतिका लामो समयदेखि सपनामा देखिरहन्थ्यो। उसले देख्यो, मानिसहरूको एउटा झुन्ड ऊ उभिएकै ठाउँतिर आइरहेको छ। झुन्डको अघिल्तिर एउटी महिला थिई, जो हस्याङफस्याङ गर्दै हान्निँदै उसलाई बोलाउँदै थिई, ‘ली, ली, ओ ली !’ आइमाईका पछाडि बच्चाबच्चीहरू पनि थिए। यसरी अन्त्यमा उसले आफ्नो परिवार भेट्यो। आफ्नो सक्कली परिचय भेट्यो। ऊ खासमा ली झु थियो, जसले अमेरिकामा ४० वर्ष बिताएको थियो।’ कथा सकिएलगत्तै उदयप्रकाशकी श्रीमती कुमकुम खित्का छोडेर हाँसिन्। श्रीमतीको हाँसोमा हाँसो मिसाउँदै उदयप्रकाशले थपे, ‘यो कथाको अर्थ के हो भने तपाईं जहाँको हुँ भन्नुहुन्छ, खासमा त्यहाँको नहुन पनि सक्नुहुन्छ। तपाईं अन्त कतैको पनि हुन सक्नुहुन्छ। यही द्वैध नै उपनिषद्हरूको सार हो।’
टेबलबाट उठ्नुअघि उनले नेपाली साथी उदय अधिकारीको बाहुला समातेर मतिर देखाउँदै भने, ‘उदयजी, तपाईं उहाँलाई लिएर जरुर दिल्ली आउनुहोला है। मेरो घरमा बस्ने गरी।’
दक्षिण एसियाका महान् लेखकले यसरी व्यक्तिगत निम्तो टक्र्याउँदा म हुनुसम्म फुलेल भएको थिएँ। तर, मलाई थाहा थियो, त्यो कुमार नगरकोटीको निम्तो थिएन, जसको ‘गुफा’ आजकाल मेरो अघोषित बेडरुम भएको छ। उदयप्रकाशको निम्ता एउटा मीठो कर्टेसी थियो, यसको सुन्दरता पूरा हुनुमा भन्दा नहुनुमा ज्यादा रहन्छ।
शनिबार, पुस २२, २०७४
Published at: 

Monday, August 28, 2017

कात्तिके कैंडा

कात्तिक दोस्रो हप्ताको पहिलो दिन, सोमबार । मट्टिखानको टाकुराबाट हिमालका चुचुरा हेर्ने मनसुवा उठेपछि भट्भटेको घैंटोमा एकबार फेरि टिल्पिल्ल पेट्रोल भरियो । तिहारको झमेलाभन्दा एकहप्ता जसो अगाडि । झोलामा पसालेँ जुगाडको एक बोतल मिनरल वाटर । एक पुरिया चाउचाउ । अनि काल-जमानाकी ओशोमार्गी मा आनन्द शिलाको 'डन्ट किल हिम !'
राम्रा पहाडका थुम्का, नदी-ताल किनार, जंगल जे देखे पनि मलाई त्यहीँ घर बनाऊँ बनाऊँ लाग्छ ।
बाँकी जिन्दगी यतै घर बनाएर बस्ने स-सानो योजना पनि बनिहाल्छ । घरमा कतिवटा कोठा हुने ? कस्तो मोडलको हुने ? ढलान गर्ने कि टिनले छाउने वा खरको छानो हाल्ने ? यी सबै समस्याको छिनोफानो पनि तत्कालजस्तै हुन्छ । बगैंचा र तिनमा उमार्ने फूलका प्रकारको समेत हेक्का हुन्छ । यस्ता मनको घर ठडिएका ठाम देशैभरि कति छन् कति ! मेचीदेखि महाकालीसम्मै । दुई दर्जन घर त पोखरामै छन् । बाइबलको सुक्तिका झैं 'त्यहाँ घर भैजाओस् (लेट देअर वि अ हाउस)' भन्नेबित्तिकै घर ठडिन्थ्यो भने के हुन्थ्यो होला ? मेरो गाउँका मान्छे त मेरै घरमा मात्रै अटाउँथे होलान् ।
हो, मेरो यस्तै एउटा मानस-गृह छ मट्टिखानमा । त्यहाँ गएर सुन्तला नखाएको धेरै भयो । पृथ्वीचोकमा अमिलो नखस्केका हरिया गेडा खरिदेर म एक्लै कुदेँ मट्टिखान ।
घुम्नुको खास त्यस्तो लहड छुटेको धेरै समय भयो । हिँडेर यात्रा नगरेको त कति भयो कति ! एकताका थियो, कुनै उच्चाट किसिमको सिनेमा हेरियो भने वा किताब पढियो भने त्यसको मानसिक कैंडा मार्न म मोटरसाइकल लिएर कुद्थेँ । पोखरालाई छेकेर बसेका सबैजसो डाडाँको टुप्पोमा पुग्नु र त्यहाँ दिनभरि एक्लै बसेर उपत्यका हेर्नु मेरो आम दैनिकी हुन्थ्यो । सूर्यनारानको अन्तिम झिल्को अन्नपूर्णमा सेलाएपछि मेरो मन बाँउठिएर बनेको कैंडा हराउँथ्यो । सिनेमा र कथाका पात्रले हुँडलेको मन थामिन्थ्यो । अनि ओर्लन्थें ।
दुई वर्षअघि नै साइकलको फेसनले मलाई पनि छोप्यो । नन्प्रोफेसनल राइडर, मैले पहाडका चुचुरामा त पेडल मार्न सकिन, तर सेती र विजयपुरका गल्छेडाहरूका ठसठस ठेलेर किताब र सिनेमाको कथार्सिस साम्य पारेको हुँ । बेलुका घर पुग्दा मनको कैंडा मत्थर हुन्थ्यो, तनको कैंडा जागृत । यसरी मैले मनलाई तनमा र तनलाई मनलाई कन्भर्ट गरेँ । अस्तिका दुई वर्ष । यसरी नै मनका सम्बन्ध तनमा र तनका सम्बन्ध मनमा फेरिएपछि अलग कथार्सिस सुरु इैहाल्ने भो आफ्नै कथामा । आजकल न साइकल न मोटरसाइकल नै प्रयोग भएको छ । कथा बाँच्न छोडियो भने पनि भयो ।
पहिलो दिन खेल खेल्दा होस् वा खेतमा काम गर्दा, वा होस् कुनै शारीरिक काम गर्दा, दोस्रो बिहान जो कसैको शरीरलाई आलस्यले अँठ्याउँछ । मांसपेशीहरूमा कुनै गाँठो परेजस्तो हुन्छ । त्यस्तो अनुभूतिलाई मेरो गाउँतिर कैंडा लाग्ने भन्छन् । किताब र सिनेमाले पनि यस्तै कैंडा पार्छन् । कहिले मनमा कैंडा लाग्छ, कहिले मस्तिष्कमा । तर आजकाल कैंडा लाग्न छोडेको पनि धेरै भयो । एउटै बल र चाल चाहिने काम गरिरहँदा कैंडा नलाग्दो रहेछ । थोरै बल बढी परोस् ! थोरै नयाँ चाल चाल्न परोस् ! थोरै सीप ज्यादा खोज्ने काम परोस् ! खै, आजकल पर्खाइले बरु तुरतुरे पार्छ । त्यस्तो किताब पाइनै छाडे ।
०००
आज म कुनै सिनेमा वा किताबको कथाले रन्थनाएर पुगेको थिइन् मट्टिखान । लामो समयदेखि नोस्टाल्जिक भइरहेको थिएँ । तीव्र्र सहरीकरणको चपेटामा मेरो समाजले गुमाएका केही कृषि संस्कृतिका मौलिक पर्वहरू विलय भएको आकस्मिक चेतनाले म भुन्भुनिएको थिएँ । चाको हराएको माहुरी जस्तो । केही समय भयो मैले यस्तै कुरा सुनाउन थालेको जमघटहरूमा । मेरा एकजना रेडियोकर्मी साथी छन्- दीपेन्द्र श्रेष्ठ । मेरा कुरा सुनेपछि कफी गफमा एकदिन उनले यस्तरी भन्दिएः 'तपार्इंका बात सुन्दा तपाईंको उमेर ८४ वर्ष पुगे जस्तो लाग्छ ? '
आज मट्टिखानबाट स्मृतिका केही कैंडा मार्छु । आउनुस् मेरो चौरासी पूजामा फूलपाती दिएर बस्नोस् । भोकै भए बेल-पत्र बेस !
०००
गौडी पूजा ।
एउटा सामान्य चाड । तर मेरो बाल मस्तिष्कमा यसरी गढेर बसेको थियो, मलाई यसको पखाई दसैंको भन्दा ज्यादा हुन्थ्यो । वर्षको दुई पटक यसको पूजा हुन्थ्यो । जेठ र मंसिरको पूर्णिमाका दिन । गोठमा गाईको गोबरको थुप्रो पारिन्थ्यो । शिव लिंग जस्तो । चामलको पैसे-रोटी र खीर बनाइन्थ्यो प्रसादमा । पूजा अवधिभर घरका सबै केटाकेटीलाई पशु-प्रतिष्ठा गरेर गोठमा दाम्लोले बाँधेर राखिन्थ्यो । अनि केराको पातमा प्रसाद राखेर मुन्टो मुन्तिर राखिन्थ्यो । हातलाई पिठ्युँपछाडि समातेर मुख गाढेर प्रसाद खानु पथ्र्यो । खाने बेलामा बाले घरबुना धनुष ताक्दै भन्नुहुन्थ्यो, 'हाचा, हाचा, भाग !'
मालगीतपछि दुलाहापक्षका मध्ये एकजना वृद्धले 'खड्गो गान' गर्थे । हातमा नाङ्गो खुकुरी लिएर नाच्दै र गाउँदै जगिया परिक्रमा गर्थे । झाँक्रीको मन्त्रोच्चारण जस्तै गरी राजा र राणाका गुनगान बर्बराउँथे ।
त्यस्तो धनुष पातीको डाँठबाट बनाइन्थ्यो । तीर निगालो वा खरको डाँठको हुन्थ्यो । हामी पशुले अन्नबाली खाएझैं नटेरी नटेरी खान्थ्यौं । प्रसाद सकिएपछि बाले धनुष हामीलाई दिनुहुन्थ्यो । हामीले धनुष खैंचेर तीरले गोठ कटाउँथ्यौं । रमाइलो खेलजस्तो थियो यो चाड । आजकल यस्तो कसैले गरेको देखेको छैन । मेरै घरमा पनि मनाउन छाडियो यो पर्व ।
घरका केटाकेटीलाई पशु र मान्छेबीचको युगीन सम्बन्ध बुझाउँदै हुर्काउने मीठो संस्कृति किन लोप भयो होला ? 
०००
हरेलो ।
भदौ महिनाको पहिलो मंगलबार हरेलो गरिन्थ्यो । यो पूजाको पुजारी हुन्थे घरका हलीदाइ । उनी नभएमा हामी केटाकेटीलाई पूजा गर्न पठाइन्थ्यो ।
गिँदरी भन्ने घाँसको रूख हुन्छ । यसको झ्यापुल्ले हाँगालाई काटिन्थ्यो । मकैका सुत्लामा धानबाहेकका नौ थरी अन्न बाँधेर पोका पारिन्थ्यो र पोकालाई गिँदरीको हाँगामा बाँधिन्थ्यो । त्यसपछि पूजा सामग्री बोकेर घरको मुख्य खेतको खले गह्राको आलीमा गइन्थ्यो । गिँदरीको हाँगालाई आलीमा गाडेर पूजा गरिन्थ्यो ।
'यस्तो पूजा किन गरिन्छ ? ' एकदिन मैले बालाई सोधेको थिएँ । 'वर्षभरि खेत जोत्ने खन्ने गर्दा कयौं कीरा, फट्याग्रा, गँड्यौला मरेका हुन्छन् । यिनको हत्याको पापले नपिरलोस् भनेर यिनलाई सम्झेर पूजा गरेको हो । यिनको आत्माले शान्ति पाओस् भनेर ।'
नेपालकै अन्यत्र यस्तो पूजा हुन्छ या हुँदैन ? मलाई थाहा भएन । तर किसानमा भएको प्रकृति र पर्यावरणप्रतिको सचेतता जनाउने यो चाडको अलग सौन्दर्य थियो । आजकल पोखराका किसानले हरेलो गरेको देख्न पाइँदैन ।
०००
लुतो फाल्ने ।
साउने संक्रान्तिको दिनमा साँझ घरमा लुतो फाल्ने पूजा हुन्थ्यो । सुन्दा खास नलागे पनि यो चाडको एउटा आकर्षक पक्ष थियोः वनस्पति प्रेम । 'धर्तीमा उम्रेका सबै बिरुवाको पात' जम्मा गर्न बिहानै बाले खटाउनु हुन्थ्यो । धर्ती भन्नाले आफ्नो गाउँ । सामान्य झारपातदेखि अग्ला रूखसम्मका पात समेटर हामी जम्मा गथ्र्यौं । कसले कतिवटा वनस्पति जम्मा गर्ने भन्ने पनि हुन्थ्यो । युनिक भैटोपल्नाका लागि अरूले वास्ता नगर्ने वनस्पति जम्मा गर्ने होड हुन्थ्यो । धेरैले खोज्ने युनिकमध्येको वनस्पति 'सर्पको मकै' पनि हुन्थ्यो । खास वनस्पतिमध्येमा, लुतेझार त खोज्नै पर्ने हुन्थ्यो । लुतेझारलाई गौलेटो वा गग्लेटो भनिन्थ्यो ।
लुतो फाल्ने साँझ दिनभरि खोजेका वनस्पतिको हाँगाबिँगा, झारपात आदि नाङ्लामा राखिन्थ्यो । त्यसमाथि चार थान अगुल्टो । अनि बाले लुतो फ्याक्ने मन्त्र उच्चारण गर्न थाल्नुहुन्थ्योः 'कण्डारक ! सुराधीश ! गृहाण दीपमुत्तमम् । सरलेन्धनसम्भुतं ममारिष्टं विनाशय ।। कण्डारक ! रात्रिचर ! लुतादी भयनाशन । उक्कामिमां प्रक्षिपामि मास्तु लुताभयं मम ।'
मन्त्रोचारणलगत्तै बाले पहिलो अगुल्टो घरको धुरी कटाएर उत्तरतिर फाल्नुहुन्थ्यो । त्यसो गर्दा म खंग्रङ्गै हुन्थेँ । खरको छानोमा आगो टिपे त बर्बादै भइहाल्यो नि ! तर कहिल्यै त्यस्तो भएन । कसैको घरमा भएन । अनि बाँकी तीनवटा अगुल्टो भने तीन दिशामा फाल्नुहुन्थ्यो । सामान्यता लुतो फाल्दा आफ्नो जग्गामा अगुल्टो पार्न हुँदैन भन्ने थियो । त्यसैले घरबारीको सिमाना कटाएर फालिन्थ्यो । अहिले घरहरू पनि बाक्लिए । लुतो फाल्ने चलन पनि हरायो ।
०००
मागल गान ।
मंगललाई गाउँले भाषामा मागल भनिन्छ । विवाह, व्रतबन्ध, भागवत कथावाचन आदि मंगल कार्यको अघिल्लो दिन गाउँका सबैभन्दा ज्येष्ठ महिलाले मंगलगान गर्ने यो चलन अचेल हराइसक्यो । शुभकार्यको अघिल्लो दिन (कसार बटार्ने दिन) मा खुदोमा चामलको पिठो भुटेको पहिलो घान नाङ्लामा खन्याएपछि त्यसलाई बटार्दै गाउँका सर्वाधिक बूढी महिलाहरू लामो लयमा मागल गाउँथे । यो लयमा कुनै लोकगीत रेकर्ड भएको मैले सुनेको छैन ।
धेरथोर तीज पञ्चमीको बेलामा गाइने लामो लयको गीतजस्तै भए पनि यसको थमौती र उठौती फरक छ । 'बाबैको आँगनीमा जगिया ...' शब्दबाट सुरु हुने यो गीतले भोलिको कार्यक्रम शुभ-शुभ सम्पन्न होस् भन्ने कामना गर्दछ । गाउँका बूढीआमाहरूलाई विशेष सम्मान दिएर शुभकार्य प्रारम्भ गरिने मौलिक परम्परा पनि पोखराले बिर्सिसक्यो ।
मेरा माइला बा जगन्नाथ पौडेलका अनुसार विवाहको बेलामा पहिलेपहिले जन्ती बूढाहरू भेला भएर श्लोक हाल्थे । नाच्नेहरू तिनताले (भोटेशाला) मा नाच्थे तर विवाहको विशेष रौनक श्लोकको प्रतिस्पर्धाले गथ्र्यो । अहिलेको अन्ताक्षरी जसरी अन्तिम अक्षरबाट उठाएर रामायण, महाभारत आदिका श्लोकहरू मुखाग्र हाल्नेको कौशल देखिन्थ्यो । अरूका श्लोक गायन गरेरमात्रै होइन, आँसुकविका झै मौलिक श्लोक रचना गरेर पनि रमाइलो गरिन्थ्यो । श्लोक हाल्नकै लागि अन्यत्रबाट सिपालु कविलाई विशेष निम्तो पनि गरिन्थ्यो ।
पूजा अवधिभर घरका सबै केटाकेटीलाई पशु-प्रतिष्ठा गरेर गोठमा दाम्लोले बाँधेर राखिन्थ्यो । अनि केराको पातमा प्रसाद राखेर मुन्टो मुन्तिर राखिन्थ्यो । हातलाई पिठ्युँपछाडि समातेर मुख गाढेर प्रसाद खानुपथ्र्यो । खाने बेलामा बाले घरबुना धनुष ताक्दै भन्नुहुन्थ्यो, 'हाचा, हाचा, भाग !'
छोरी पक्षका महिलाहरू कन्यादानपछि विशेष प्रकारको दुःखको गीत गाउँथे । यस्तो गीतलाई मालगीत भनिन्थ्यो । वधूलाई बिदाइ गर्ने, घरजम गरेर खान सुभाशिष दिने यस्तो गायन पनि गाउँका वृद्धाहरूले नै गर्दथे । मालगीत पनि अहिले पूरै लोप भइगयो ।
त्यसो त क्षेत्रीहरूको विवाहमा अर्को अध्याय पनि थपिन्थ्यो । मालगीतपछि दुलाहा पक्षकामध्ये एकजना वृद्धले 'खड्गो गान' गर्थे । हातमा नाङ्गो खुकुरी लिएर नाच्दै र गाउँदै जगिया परिक्रमा गर्थे । झाँक्रीको मन्त्रोच्चारण जस्तै गरी राजा र राणाका गुनगान बर्बराउँथे । खड्ग गानको अन्त्यमा '..बैरीको गर्धन चैट !' भन्दै खुकुरीले जगियामा गाडेको एउटा केराको थामलाई च्वाट्ट काट्थे ।
मैले मालगीत गाएको सुनिन तर खड्गो हालेको भने सुनेको थिएँ । खड्गो हाल्दा राजा, राणा र नेपाल एकीकरणको गाथा गाउने चलन थियो । २००७ सालमै राणाशासन सकिए पनि पछिसम्मै श्री ३ को गुनगान गाएर खड्गो हालिरहन्थे यताका क्षेत्रीहरू । अहिले गणतान्त्रिक र धर्मनिरपेक्ष भइसकेको मुलुकमा खड्गो हाल्न अनिच्छुक देखिनु खास नराम्रो पनि नहोला । तर मेरो जिज्ञासा, पोखरा क्षेत्रमा गरिने यस्तो खड्गो हाल्ने परम्परा अन्यत्र थियो कि थिएन ? यस्तो परम्परा कहिलेबाट कसरी स्थापित भयो ?
(यो लेख लेख्दै गर्दा मेरो विशेष अनुरोधमा कवि मुकुन्दशरण उपाध्यायकी धर्मपत्नी राधादेवी पौडेलले फोनमै मागल गान र मालगीत गाएर सुनाउनुभयो । त्यस्तै गाउँमा एकमात्र खड्गो हाल्न जान्ने व्यक्ति होमबहादुर कार्की, मेरा मित्र रञ्जित कार्कीका बुबालाई पनि सम्झिएँ ।)
०००
मान्छेले चाहेको सबै रोज्न सक्दैन । एउटा रोज्दा अर्को छोड्नुपर्छ । खेतीपाती र सहरीकरणमध्ये रोज्ने नै एउटा हो । पोखराजस्तो सानो क्षेत्रफल भएको उपत्यकाले कि उब्जाउ जमिन जोगाएर गाउँ बनिराख्न पर्‌र्यो कि खेतबारी नासेर घर उभ्याउन दिनपर्‌यो । सहरीकरणको प्रक्रियामा यो स्वाभाविक पनि हो । तर सहरीकरणको लपेटामा पिता पुर्खाले वर्षौंदेखि अभ्यास गर्दै आएका कृषि-संस्कृतिका मौलिक परम्परा पनि एकाएक नास भएर जाँदा मनमा कैंडा लाग्दोरहेछ । यस्तो कैंडा जो मट्टिखान पुगेर पनि मर्दैन बरु बल्झिन्छ ।
पोहोर सालसम्म छिनेडाँडाका रैथाने बासिन्दाका हरेक परिवारले माईपूजाको दिनमा प्रस्तावित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको खाली चौरमा गएर भात खाएका थिए । यो वर्ष वा अर्को वर्ष यस्तो भान्छा चल्छ कि चल्दैन ? मलाई शंका लाग्छ । छिनेडाँडाका रैथानेहरू वर्षको एक पटक घरमा भान्छा गर्दैनन् । भाँडाकँडा र अन्न बोकेर चौरमा आउँछन् । परिवार पिच्छेको खाना छुट्टाछुट्टै पकाएर खान्छन् । कराई अर्थात् अहिलेको पिकनिक पनि होइन त्यो ।
पिकनिकमा त सबैको भान्छा एउटै हुन्छ । माईपूजामा घरैपिच्छेको छुट्टै खाना पाक्छ । दाउराको आगोमा । सयौं परिवारको सयौं चुल्हो एकसाथ बलेको देख्दा यस्तो लाग्छ, कतै सुदूर कन्दराबाट बसाइ सरेर भर्खरै आएको काविलाको भेला हो यो । मुसाफिर आर्य जातिको आदिम परिदृश्य हो यो । तर सायद अबका केही वर्षमै मेरो गाउँको यो परम्परा हट्दै जानेछ । माईखाने चौरमा बोइङ उत्रने भएपछि परम्पराको मोह के होला र खै ?