Z

Monday, October 3, 2022

उम्मेदवार छनौट गर्ने अटेरी तरिका :

'अटेरी' एक सामाजिक र राजनीतिक अभियान हो तर यो राजनीतिक दल होइन । यो कुनै संगठित संस्था पनि होइन । यो अभियानले कसैलाई ‘टिकट’ दिदैँन  यस पटक अटेरी अभियानको समर्थन कुनै बिशेष राजनीतिक दल र खास 'चिन्ह'मा छैन। प्रत्येक निर्वाचन क्षेत्रका सबैभन्दा योग्य उम्मेदवारलाई हाम्रो समर्थन हुन्छ।

हामी अभियान हौँ । स्थानीय निर्वाचनका बेला हामीले 'स्थानीय तहलाई दलीय नबनाऔँ' भन्ने नारामा काम गरेका थियौँ र स्वतन्त्र उम्मेदवारलाई समर्थन र सहयोग गरेका थियौँ । यस पटक हामीले #नो_नट_अगेन जस्ता शुद्धिकरण अभियानलाई सहयोग र समर्थन गरेका छौँ ।


आम मतदाताले हामीले समर्थन गर्ने उम्मेदवार को को हुन चिन्न सकून् भन्ने आशयले  निम्नानुसारको समर्थन तालिका बनाएका छौँ । तलको तालिकाको हिसाबले जुन क्षेत्रको जुन उम्मेदवारले सबैभन्दा धेरै अंक प्राप्त गर्छ उही सबैभन्दा योग्य उम्मेदवार हो भनेर बुझ्नु पर्छ : 


अटेरी अभियानको उम्मेदवार समर्थन तालिका : 


उम्मेदवारी अनुसार :


१)     पहिलो पटक उम्मेदवारी दिएकोलाई : १०० अङ्क  

२)     दोस्रो पटक उम्मेदवारी दिएकोलाई : ७५ अङ्क 

३)     तेस्रो पटक उम्मेदवारी दिएकोलाई : ५० अङ्क 

४)     तीनभन्दा धेरै पटक उम्मेदवार भएकोलाई : २५ अङ्क 


२) संलग्नता अनुसार : 


१)     स्वतन्त्र तथा वैकल्पिक दलका उम्मेदवारलाई : १०० अङ्क

२)     परम्परागत दल (काँग्रेस एमाले माओवादी राप्रपा आदि) का उम्मेदवारलाई : ७५ अङ्क

३)     दलले टिकट नदिएको झोकमा उठेका बागी उम्मेदवारलाई — ५० अङ्क

४)     निश्चित जाती धर्म समूदाय आदीको वकालत गर्ने नश्लकेन्द्रित दलका उम्मेदवारलाई : २५ अङ्क


उमेर अनुसार :


१)     ४० बर्षभन्दा कम उमेरकोलाई — १०० अङ्क

२)     ५० बर्षभन्दा कम उमेरकोलाई — ७५ अङ्क

३)     ६० बर्षभन्दा कम उमेरकोलाई — ५० अङ्क

४)     ६० बर्ष माथिकोलाई — २५  अङ्क


अध्ययन अनुसार :


१)     स्नाकोत्तर वा सोभन्दा माथिकोलाई — १०० अङ्क

२)     स्नातक पुरा गरेकोलाई — ७५ अंक

३)     प्रविणता प्रमाणपत्र (१२ कक्षा) पुरा गरेकोलाई — ५० अङ्क

४)     एसएलसी/एसइइ गरेकोलाई — २५ अङ्क

५)     साक्षर — १० अङ्क


विशेष पहिचानअनुसारको थप अङ्क 


१)    महिलादलितआदिवासीजनजातीलैंगिकभाषिक वा जातीय अल्पसंख्यक भएमा — थप २५ अंक

२)    यस अघि कुनै विशेष सामाजिक काम तथा राजनीतिक आन्दोलन वा अभियानमा संलग्न भएको भएमा — थप २५ अंक

३)    विशेष प्रख्यातिप्राप्त व्यक्ति (खेलकुद, लेखन, सिनेमा, पत्रकारिता आदिजस्ता क्षेत्रबाट) भएमा — थप २५ अंक

४)    पुष्टि भएका विशेष ज्ञान सीप अध्ययन अनुभव या सिर्जनात्मकता भएका व्यक्ति उम्मेदवार भएमा — थप २५ अंक


नोट : 

१) 

यस बाहेक कुनै पनि उम्मेदवार र उसको दलको चुनावी प्रचार शैली र घोषणापत्रलाई मूल्याङ्कन गरी मतदाताको स्वविवेकले अतिरिक्त १०० अङ्क दिनु पर्नेछ । घोषणापत्रमा उल्लेख गरिएका विवरण कत्तिको वैज्ञानिक छन् ? कत्तिको बस्तुनिष्ट र व्यवहारिक छन् ? भन्ने कुराको मूल्याङ्कनका आधारमा यस्तो नम्बर दिनु पर्नेछ । यस्तो नम्बर दिँदा ९० भन्दा बढि र ४० भन्दा कम अङ्क कसैलाई पनि दिनु हुँदैन । 

२) माथिको अंक तालिकामा जेसुकै भनिएको भएता पनि कुनै आपराधिक गतिविधिमा वा भ्रष्टाचारमा संलग्न भएकोलैंगिक हिंसा गरेको वा त्यसलाई टेवा दिने अभिव्यक्ति दिएको,  कसैको मौलिक हकजातीयधार्मिक वा साँस्कृतिक पहिचानलाई ठेस पुग्ने काम गरेको वा अभिव्यक्ति दिएको, नेपाली हुनुको अभिमान या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउने गतिविधिमा संलग्न भएको उम्मेदवारलाई हाम्रो कुनै समर्थन रहँदैन  

Saturday, July 23, 2022

आमाको अपमान नगर !

 

देश भनेको भूगोल होइन । भूगोलको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताप्रति वफादार नागरिकहरूको समष्टि नै देश हो । देश भनेको ढुँगा–माटो होइन, मानिसहरू हुन् । नागरिकहरू हुन् । राष्ट्रको परिभाषामा संविधान त्यसै भन्छ ।

•••

स्वघोषणा नै गराउने भए देशको सार्वभौमिकता, स्वतन्त्रता र अखण्डताप्रति वफादार रहेको स्वघोषणा गराऊ, कसमै ख्याऊ । तर सन्तानलाई ‘नागरिक’ बनाउनकै लागि आमाहरूलाई आफ्नो आत्मसम्मानको बली चढाउन बाध्य नबनाऊ । बाबुको अतापता नभएको स्वघोषणा गराउनुको अर्थ के हो ? त्यसको अन्तर्य के हो ? 

उसै पनि बाबु भनेको चाहिँ के हो ?

कथासारितसागरमा एउटा किस्सा छ । एक राजाले पितृको श्राद्धका बेलामा  पिण्डहरु नदीमा चढाउन लाग्दा पिण्ड ग्रहण गर्न पानीबाट तीनवटा हातहरु निस्कन्छन् । एउटा किसानको, अर्को साधुको र अर्को सिपाहीको । 

तीनमध्ये कसको हातमा पिण्ड थमाउने भनेर राजा अप्ठेरोमा पर्छन् । त्यति नै बेला आकाशवाणी हुन्छ : किसानले तिम्रो आमालाई बिहे गरेका थिए, तपस्यीले उनलाई गर्भवती बनाएका थिए र सिपाहीले तिम्रो भरणपोषण गरेका थिए । यी तिनैका हात हुन् । यीमध्ये तिम्रो बाबु को हो त्यसैको हातमा मात्र पिण्ड थमाउनू । 

ल भन्नुस् राजाले कसको हातमा पिण्ड थमाए होलान् ? 

आमा र बाबु को हो भन्ने बिषयमा शास्त्रीयकालबाटै बहसहरू छन् । एउटा सन्तानको दुईवटा आमा हुनसक्ने (द्वैमात्री) को कल्पना समेत शास्त्रमा छ । एउटै सन्तानका धेरै बाबु हुन सक्ने, वा बाबु नभए पनि सन्तान हुन सक्ने प्रावधान पनि शास्त्रहरूमा छ । बाबु नहुनुको अर्थ वीर्य बिनानै जन्मेको भन्ने अवश्य पनि होइन । एउटी महिलाले आफ्नो सन्तानको जैवीक बाबु चिनाउन चाहन पनि सक्छे, नचाहन पनि सक्छे । त्यो उसको सनातनी हिसाबले धार्मिक र आधुनिक हिसाबले लैङ्गिक अधिकारको कुरा हो ।

आमाहरूले सनातनदेखि उपभोग गरिआएकै अधिकारलाई अपमान गरेर कस्तो देश बनाउँदैछस्, ए सरकार ? 


Monday, February 28, 2022

अटेरी अभियानको चुनावी आचारसंहिता



यो आचार संहिता अटेरी अभियानका सम्पूर्ण अभियन्ता, उम्मेदवार तथा समर्थकहरूका लागि निर्माण गरिएको हो । यसका केही बुँदाहरू चुनावकेन्द्रित छन् भने केही सर्वकालीन छन् । यसको पालना गर्न चुकेमा कुनै पनि अभियन्ता अटेरी अभियन्ता रहने छैन, कुनै पनि उम्मेदवार अटेरी अभियान अन्तरगतको उम्मेदवार रहिरहने छैन । उनीहरूको संलग्नता स्वतः खारेज भएको मानिनेछ ।

अटेरी उम्मेदवार तथा अभियन्ताले पालना गर्नुपर्ने नियम :

१.     नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हो । मुलुकको यो पहिचान निर्माणमा प्राणको आहुती दिने सबै खाले आन्दोलनका सम्पूर्ण सहिदहरू प्रति श्रद्धाभाव देखाउनु पर्नेछ । कुनै पनि औपचारिक कार्यक्रम सहिदहरूप्रति सम्मानपूर्वक मौन धारण गरेर मात्रै सुरु गर्नु पर्नेछ ।

२.     संविधानवाद अटेरी अभियानको पहिलो सर्त हो । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी लोकतन्त्र जस्ता संविधानका आधारभूत बिषयमा विवादास्पद वा परिस्कारवादी अभिव्यक्ति दिनु हुँदैन ।
३.     राष्ट्रको गरीमा तथा सार्वभौमिकतामा आँच पु¥याउने खालका कुनै पनि गतिविधि गर्नु हुँदैन, कुनै पनि औपचारिक वा अनौपचारिक जमघटमा तथा सामाजिक सञ्जालमा समेत टिप्पणी गर्नु हुँदैन ।

४.     कुनै पनि व्यक्तिको जातीय, धार्मिक, पारम्परिक, साँस्कृतिक, लैंगिक वा अन्य कुनै प्रकारको पहिचानलाई अपमान गर्ने गरी अभिव्यक्ति राख्नु वा क्रियाकपाल गर्र्नु हुँदैन । यौनिक पहिचान, पेशा–व्यवसाय, शारिरिक फरक क्षमता आदिको आधारमा कसैको अपमान हुने गरी कुनै पनि अभिव्यक्ति दिनु हुँदैन ।

५.     अभियानको प्रचार–प्रसारमा कुनै खाले जिम्मेवारी लिएको व्यक्ति तथा अभियान अन्तरगतको उम्मेदवार समाजको नजरमा हुन्छ । चुनावको अवधिसम्म आफ्नो सामाजिक सञ्जालको खातामा अभियानलाई असर गर्न सक्ने अन्य वैयक्तिक विचार, चित्र, भिडियो वा अडियो पोष्ट गर्नु हुँदैन ।

६.     कुनै पनि जमघट वा कार्यक्रममा कुनै पनि बहानामा बालबालिकालाई ल्याउनु हुँदैन ।

७.     अभियानको यौटा मुख्य उद्देश्य स्थानीय तहको निर्वाचनलाई दलीय नबनाउन प्रयत्न गर्नु हो । तर यसको अर्थ हामी वहुदलीय व्यवस्थाको विरोधी होइनौ । हामी दलविहिन लोकतन्त्रको कल्पना गर्न सक्दैनौँ । हाम्रा अभियन्ता तथा उम्मेदवारले कुनै दल वा उम्मेदवारको खराब अभ्यास र क्रियाकलापको विरोध गरिरहँदा बहुदलीय लोकतन्त्रको विरोध भने गर्नु हुँदैन । (संसारका धेरै उन्नत लोकतन्त्रमा स्थानीय तहको चुनाव दलीय प्रतिस्पर्धाका आधारमा नभई स्वतन्त्र रुपमा हुन्छन् । राजनीतिक दलले आफ्नो उम्मेदवार त उठाउन सक्छन् तर आफ्नो दलको चुनाव–चिन्हको प्रयोग गर्न पाउँदैनन् ।)

८.     अटेरी अभियान अन्तरगतका हरेक उम्मेदवारले आफ्नो मतदाता वा अन्य नेपाली नागरिकले समेत मागेको खण्डमा आफ्नो बारेको कुनै पनि सूचना दिनु पर्नेछ । तर यसरी सूचना दिदाँ आफूसम्बद्ध अन्य व्यक्तिको गोपनीयताको अधिकारलाई हनन गर्न पाइने छैन ।

९.     असंलग्न परराष्ट्र नीति हाम्रो मुलुकको वैदेशिक नीति हो । अभियानका क्रममा कुनै पनि मुलुकको नाम तोकेर विरोधी विचार सम्प्रेषण गर्नु हुँदैन । कुनै पनि मुलुक वा त्यहाँका जनताको सार्वमौमिकतामा आँच आउने वा तिनको अपमान गर्ने प्रकारको अभिव्यक्ति दिनु वा क्रियाकलाप गर्नु हुँदैन ।

१०.     अभियानप्रति आर्थिक, भौतिक र नैतिक रुपमा निष्ठावान् हुनुपर्नेछ । चुनाव प्रचार प्रसारको लागि निर्वाचन आयोगले तोकेको रकमको पनि २५ प्रतिशत भन्दा धेरै रकम खर्चिन पाइने छैन ।

११.     शान्तपूर्वक बाँच्न पाउने नागरिक अधिकार कुण्ठित गरी माइकिङ गर्ने, होहल्ला गर्ने, नाराबाजी सहितको र्याली गर्ने, आमसभा गर्ने जस्ता काम गर्नु हुँदैन । र्याली गर्नै पर्ने भएमा मौन र्याली वा साइकल र्याली गर्न सकिनेछ । पोस्टर टाँस्ने, होर्डिङ बोर्ड बनाउने जस्ता काम गर्नु हुँदैन ।

१२.     घरदैलोले व्यक्तिको गोपनियताको हक हनन गर्छ । शान्तपूर्वक बाँच्न पाउने अधिकारलाई अपमान गर्छ । त्यसैले अभियानका सदस्यले कार्यकर्ता बटुलेर घरदैलो गर्नु हुँदैन । तर उम्मेदवार वा अभियन्ताको आफ्नै छरछिमेकमा छिमेकीको हैसियतमा पुगेर चुनावी कुराकानी गर्न यसले बन्देज गर्ने छैन । अन्य चुनावी प्रचार प्रसार शैली प्रयोग गर्न नसकिने साना पालिका तथा ग्रामीण क्षेत्रमा यो बुँदा वाध्यकारी हुने छैन ।

१३.     अटेरी अभियानको चुनावी घोषणापत्रसँग बाझिने गरी कुनै पनि अभिव्यक्ति दिनु वा नयाँ योजना राख्नु हुँदैन । “आफ्नो घोषणापत्र अनुसारका काम गर्नेछु नभए बिचैमा राजिनामा दिनेछु” भनेर प्रतीज्ञा गर्नु पर्नेछ ।

१४.     “निर्वाचन जितेपछि मैले भ्रष्टाचार गर्दिनँ, अनियमितता गर्दिनँ” भनेर सार्वजनिक घोषणा गरेको भिडियो बनाई आफ्नो सामाजिक संजालमा अनिवार्य राख्नु पर्नेछ । भिडियोमा बोल्ने भाषा अटेरी अभियानले तोकेबमोजिम हुनुपर्नेछ ।

१५.     अभियानको चुनावी गतिविधिमा सरिक भएका अभियन्ता तथा चन्दा वा सहयोग दाताले समेत ‘सहयोग वापत कुनै पनि प्रकारको व्यक्तिगत लाभ र स्वार्थ राख्ने छैन’ भन्ने मौखिक प्रतीज्ञा गर्नु पर्नेछ ।

१६.     ‘अटेरी अभियान’को लागि वा उम्मेदवारलाई व्यक्तिगत रुपमा आएको सहयोगको सम्पूर्ण हरहिसाब दुरुस्त राख्नु पर्नेछ । चन्दादाताले नचाहेमा वहाँको व्यक्तिगत परिचय खुलाउनु हुँदैन तर वहाँहरुलाई अभियानले तोकेबमोजिमको कोड नम्बर दिनु पर्नेछ । सोही कोड अनुसारले आम्दानी तथा खर्च विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नु पर्नेछ । आम्दानीभन्दा खर्च धेरै भएको विवरण पेश गर्न पाइने छैन ।

१७.     उम्मेदवारी दर्ता गराइसकेपछि चुनावको दिन अर्थात बैशाख ३० गतेसम्म कुनै पनि उम्मेदवारले अत्यावश्यक कामबाहेक विदेश भ्रमण गर्नु हुँदैन । पूर्व सूचनाबिना आफ्नो निर्वाचन क्षेत्र समेत छोडेर जानु हुँदैन ।
१८.     माथिका बुँदाहरू बाहेक, निर्वाचन आयोगले जारी गर्ने आचार संहिताको पूर्ण पालना गर्न प्रतिबद्ध हुनु पर्नेछ ।

अटेरी अभियान यौटा आन्दोलन हो, राजनीतिक दल होइन । अभियानमा जोडिएका कुनै पनि उम्मेदवारलाई अभियानले उठाएको होइन, सबै उम्मेदवार आफ्नै विवेकले स्वतन्त्र रुपमा उठेका हुन् भन्ने कुरा बिर्सनु हुँदैन । उम्मेदवार तथा अभियन्ताका कमजोरीहरू व्यक्तिगत हुनेछन्, सबलता र सहकार्य मात्रै अभियानका हिस्सा हुनेछन् ।

चुनाव प्रचार प्रसार समिति
अटेरी अभियानको मुख्यालय
पोखरा–९, नयाँबजार, कास्की

Sunday, February 20, 2022

अपिल त्रिपाठीसँग गनेस पौडेल

पोखरा महानगरका अटेरी उम्मेदवार गनेस पौडेलेसँग पत्रकार अपिल त्रिपाठीले लिनुभएको बिशेष अन्तरवार्ता

सहयोगका लागि अपिल




सबैलाई नमस्ते !

उम्मेदवारी पछिको अति व्यस्तताले गर्दा मैले सबै परिवारजन साथीभाइ इष्टमित्र गाउँले तथा सहृदयी शुभचिन्तकहरूसँग सल्लाह तथा आर्शिवाद लिन आउन भ्याएको छैन । हामीलाई वास्तै गरेन नभनिदिनु होला ।

मेरो उम्मेदवारी कुनै राजनीतिक दलको विरूद्दमा होइन । न कुनै तरिकाले कुनै व्यक्ति वा दललाई प्रभावित पार्ने मनशायले म चुनावमा उठ्ने निर्णय गरेको हुँ । खासमा यो उम्मेदवारी मात्रै होइन राष्ट्रिय अभियान हो । खडेरीको आगो झैं देशभर यसको आभा सल्किरहेको तपाईहरूले अवलोकन गर्नु भएकै छ ।

अभियान अन्तरगत १७ वटा पालिकामा उम्मेदवारी घोषणा भैसकेको छ भने देशभर रहेका २८३ वटै पालिकाहरूमा अटेरी उम्मेदवार उठाउने अन्तिम योजना साकार हुँदैछ । पोखराका सबै वडाका सबै पदमा उम्मेदवारी दिने अन्तिम तयारीमा हामी छौँ ।
अटेरी अभियानको मुख्य उद्देश्य स्थानीय निकायको चुनावलाई दलीय प्रतिस्पर्धाको चुनाव नबनाउने, स्वतन्त्र उम्मेवारले मात्रै यसमा भाग लिन पाउने व्यवस्था लागू गरौँ भन्ने हो ।

संसारका प्राय सबै मुलुकमा स्थानीय चुनावमा दलले भाग लिन पाउँदैनन् । उनीहरूले कसैलाई समर्थन भने दिन सक्छन् । छिमेकी भारतमै पनि सबै स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारले मात्रै भाग लिन्छन् । दलबाट चुनिएकाले भन्दा स्वतन्त्र उम्मेदवारले स्थानीय निकायमा प्रभावकारी काम गर्न सक्छन् भन्ने उदाहरण संसारभर स्थापित र अनुसन्धानले प्रमाणित मान्यता हो । दलीय चासो वितरणामूखी हुने र तत्काल असंभव हुने ठुला योजनामा बढि केन्द्रित देखिने कुरा त तपाई हामीले भोगेकै कुरा हो ।

समाजको अति सानो एकाइमा पनि दलको प्रवेश हुँदा स्वार्थ बाझिने र कार्यसम्पादनमा ढिलाई हुने समाज र टोल समेत विभाजित हुने गर्दछ । ११ सदस्यी कुनै आमा समूह वा युवा क्लब वा टोल सुधार समितिको कार्यसमिति चयन गर्दा पनि दलीय भागबण्डा मिलाउने कसरत हुने गरेको कुनै घटना तपाईले स्मरण गरे पुग्छ ।

यो अभियानले राष्ट्रव्यापि रूप लिइरहँदा मलाई खुसी लाग्नु स्वाभाविक हो तर खुसी भन्दा धेरै डर पनि लागेको छ । जिम्मेवारी वोध भएको छ ।

मलाई थाह छ कुनै पनि व्यक्तिको अभियान नीजि योजना हुँदैन । कसैको ज्ञान सीप क्षमता वा जीवन त्यो व्यक्तिको नीजि सम्पदा होइन । त्यसको निर्माणमा उसको परिवार र उसको बाँचेको समाजले सबैभन्दा धेरै योगदान गरेको हुन्छ । म आफै बनेको होइन । तपाईहरूले बनाउनु भएको हो । मेरो जीवन र यसले लिने निर्णयमा समाजको हक छ ।

अभियानको सार्थकता पछि म राजनीतिमा सक्रिय भएर लाग्दिनँ । त्यो मेरो जीवन होइन । म लेखक हुँ र लेखेरै बाँच्न चाहन्छु । राजनीति अतिविघ्न फोहोरी भएपछि यसलाई सफा गर्न केही प्रयास गर्न सकिन्छ कि भन्ने अभिलाशाले मैले यो अभियान सुरू गरेको हुँ ।

यो अभियानमा भाग लिन र्‍यालीमा सहभागी हुनु पर्दैन । कुनै सार्वजनिक अभिव्यक्ति दिनु पर्दैन । म अटेरी भएँ भनेर घोषणा गर्नु पर्दैन । तपाईँ एमाले हो भने एमाले छोड्नु पर्दैन । काँग्रेस भए काँग्रेस त्याग्नु पर्दैन । माओवादी राप्रपा वा अरू कुनै दलमा भएको भए पनि दल त्याग गर्नु पर्दैन । तपाईँ जुनसुकै दलमा भए पनि आ-आफ्नो दलमा हुनुभएका माथिल्लो तहका नेतृत्वलाई यत्ति भनिदिनु भए पुग्छ :

क) स्थानीय निकायको चुनाव दलीय प्रतिस्पर्धाबाट होइन स्वतन्त्र नागरिकको प्रतिस्पर्धाबाट गराउने परिपाठी बसालौँ । यसले देशलाई फाइदा हुन्छ । राजनीतिक दललाई पनि फाइदा पुग्छ । उनीहरूलाई ठुला योजनामा मात्रै केन्द्रित हुने समय पुग्छ ।

ख) तत्काल यसो हुन हालाकि संभव छैन । चुनाव घोषणा भैसकेको छ र तत्काल संविधान र कानुन फेर्न संभव छैन । यसर्थ यसपटक कम्तिमा स्वतन्त्र उम्मेदवारलाई नै दलीय समर्थन दिन दबाब दिनुहोस् । उनीहरू पार्टीको होइन स्वतन्त्र उम्मेदवारलाई दिइएको चुनाव चिन्हबाट चुनाव लड्नेछन् ।

ग) शक्ति संघर्षको कारणले हुने भागबण्डा र कार्यकर्ता व्यवस्थापनमै नेपालका राजनीतिक दलको आधि समय सकिने गर्छ । उनीहरूलाई जनताका खास समस्यामा केन्द्रित हुने समय नै पुग्दैन । कार्यकर्ता व्यवस्थापन गर्नु पर्ने वाध्यताकै कारणले 'ख' बुँदाको कुरा पनि देशका सबै स्थानीय निकायमा लागू गर्न तत्काल संभव छैन । तथापि केही ठाउँमा यस्तो हुने संभावना बढेको छ ।

यस्तो बेला तपाईको पार्टीको चुनावी टिकट दिने नेता वा निकायलाई भन्नुहोस् कि हाम्रो पार्टीबाट कम्तिमा 'अटेरी' उम्मेदवारभन्दा योग्य उम्मेदवार उठाउनु होस् । उनीहरूभन्दा युवा, इमान्दार र अध्ययनशील उम्मेदवार उठाउनु होस् । नत्र यसपटकलाई हामी पनि अटेर गर्न वाध्य हुनेछौँ ।

अन्त्यमा :

अटेरी अभियान देशव्यापि हुँदै गएको भए पनि हाम्रो कुनै संगठन छैन । जहाँ जहाँ जो जो उठ्नु भएको छ वहाँहरू आ-आफ्नै हिसाब र आँटले उठ्नु भएको छ ।

मैले पोखरा महानगरबाट नगर प्रमुखमा उठ्ने घोषणा गरेको छु ।

चुनावको प्रसारप्रसार गर्न, घोषणापत्र लगायत चुनावी प्रचारप्रसारको सामग्री छपाइ तथा निर्माण गर्न खर्चको आवश्यकता पर्छ । चुनावी खर्चमा व्यक्तिगत लगानी भयो भने उक्त मान्छेको पहिलो ध्यान चुनाव जितेपछि आफूले गरेको खर्च उठाउनु नै हुन्छ । यसले नेतृत्वलाई भ्रष्ट बनाउँछ । भ्रष्ट हुन बाध्य हुन्छ । देशमा भ्रष्टाचार बढ्नुको मुल कारण यही हो ।

तपाईले पनि मलाई कुनै प्रकारले सहयोग दिने मनशाय बनाउनु भएको छ भने म त्यसलाई हृदयत स्वागत गर्न चाहन्छु । सहयोग लिने बारेमा मैले यस्तो नियम बनाएको छु :

क) भरसक आर्थिक सहायता नलिने । भौतिक वा कार्यगत सहायता (In-Kind Help) मात्रै लिने ।

ख) कुनै व्यक्तिबाट रू १ लाख भन्दा धेरै सहयोग नलिने ।

ग) त्यस्तो व्यक्तिबाट सहयोग नलिने जसले पछि मबाट व्यक्तिगत लाभ प्राप्त गर्ने आशा राखेको हुन्छ ।

मेरो लागि कुनै पनि सहयोग गर्न चाहनु हुन्छ भने मेरो चुनावी कार्यक्रमको व्यवस्थापन हेरिरहेका मित्र राजन गोदार (९८५१०८७१६९) वा मलाई सम्पर्क गर्नु होला । आर्थिक सहयोग गर्नेको गोप्यता कायम गर्न हामी एउटा कोड दिनेछौँ र सोहि कोड अनुसारले आर्थिक विवरण सार्वजनिक गर्ने छौँ । चुनावी खर्चपछि पनि रकम बाँकि रहेमा त्यसको पारदर्शी विवरण सार्वजनिक गरी जडेगा रकम कुनै सामाजिक संस्थालाई हस्तान्तरण गर्नेछौँ ।

सम्पर्क नगरी सिधै सहायता रकम पठाउन चाहनु हुन्छ भने :
खाता विवरण :

A/C Holder: Khadak Raj Paudel
Bank : Machhapuchhre Bank Ltd.
A/C Number: 0010079414000019
Branch: Pokhara
वा
इसेवाबाट पठाउने भए : 9856031647

नोट: खातामा रकम पठाउँदा रिफरेन्समा Ateri लेखिदिनु होला ।

सबैको जय होस् !

आउनुस् यसपटक 'अटेर' गरौँ ।