Sunday, December 5, 2021

साइकले विचार १ : एकलब्य

प्रिय मानिस,

मान्छेका दुई स्वरुप छन् । तर दुई स्वरूप मान्छेले आफूमा भने कहिल्यै देख्दैन । म आफैँले चाहिँ कम्तिमा देख्दिनँ त्यसैले मैले मान्छेको जातलाई नै यो उदाहरणको घानमा हालेको हो । खासमा यो मेरो आफ्नै कुरा हो ।

भन्नलाई त दुई दिनको जिन्दगी भन्छ मान्छे तर जिन्दगी लामो छ । छोटो छँदै छैन । किनकी मान्छेले कहिल्यै जिन्दगी छोटो छ भनेर बाँचेकै हुँदैन । हरेक मान्छे यसरी बाँच्छ मानौँ ऊ कहिल्यै मर्नेवाला छैन । हुन त मृत्यु अवश्यंभावी छ भनेर जान्ने एक मात्र प्राणी हो मान्छे । जनावरहरु पनि संभावित मृत्यु वा खतराबाट त भाग्छन् तर (सायद) उनीहरुलाई कहिल्यै थाह हुँदैन कि मृत्यु अवश्यंभावी छ । एक दिन मर्नै पर्ने हुन्छ भन्ने कुरा थाह हुन्थ्यो भने छाडा छोडेको कुखुराको भाले फर्केर खोरमा आउँदैन्थ्यो, जंगलतिर फुर्र हुन्थ्यो । पाखामा चराउन लगेको बाख्राको पाठो टारी फड्केर कुलेलम ठोक्थ्यो ।

जनावरलाई अवश्यंभावी मृत्युको ज्ञान हुँदैन । उनीहरु यसरी बाँच्छन् मानौँ उनीहरूलाई कहिल्यै मर्नु पर्दैन ।

अच्छा, म खासमा २ प्रकारका मान्छेका कुरा गर्दै थिएँ ।

तिमी हाम्रो लामो जिन्दगीमा अनेकन मान्छे आउँछन् । अनेकन मान्छे जिन्दगीबाट निस्कन्छन् । कुनै मान्छे लामो समयसम्म हाम्रो जिन्दगीसँग जोडिन्छन् । कुनै एकाध दिनमैँ निस्किएर जान्छन् । जिन्दगीभर तिमीसँग रहने भनेको त तिमी मात्रै हो । जन्मदेखि मृत्युसम्म साथ दिने यहाँ कसैको कोही हुँदैन । (फेरि कता बितर्किएँ । सरी है । म लाइनमा आइहाल्छु ।)

जिन्दगीमा आएका मध्ये केही मान्छे यस्ता हुन्छन् जसले तिम्रो सर्वोत्कृष्ट स्वरुप के हो बताइदिन्छन् । तिम्रो सबलताको क्षितिज उघारिदिन्छन् । तपाईको सुमधुर स्वरूप देखाएर जान्छन् । तिम्रो संभावनाको गणित सिकाएर जान्छन् । तिम्रो अस्तित्वको अर्थ महशुस गराएर जान्छन् । तिम्रो गुण, तिम्रो सकरात्मकता, सिर्जनात्मकता, तिम्रो सर्वाधिक उन्नत अवस्था जे सुकै होस् त्यसको आभाष दिएर जान्छन् ।

मान्छे आफैँलाई आफ्नो उत्कृष्टताको बारेमा कहिल्यै थाह हुँदैन । तिमीमा मानवता कति छ ? दया कति छ ? निस्वार्थता कति छ ? तिमीमा प्रेम कति छ ? निष्ठा कति छ ? समर्पणभाव कति छ ? तिमी कत्तिको क्षमाशिल हुनुहुन्छ ? यस्ता प्रश्नको उत्तर तिमी एकलैले कहिल्यै थाह पाउन सक्नुहुन्नँ । तिमीलाई कहिल्यै थाह हुँदैन तिमीमा कुन स्तरको हृदय छ ? तिमीलाई कहिल्यै थाह हुँदैन तिमी कुन तहसम्म झुकेर कसैसँग अकारण माफि माग्न सक्नुहुन्छ वा कसैलाई नि:सर्त माफि दिन सक्नुहुन्छ । आफ्नै स्वभाव बुझ्न पनि तपाईलाई कसैको सहयोग चाहिन्छ । आफ्नै हृदयको संगीत अनुभुत गर्न पनि तिम्रो जिन्दगीमा कोही न कोही मान्छे आएकै हुनुपर्छ ।

एक दिन मर्नै पर्ने हुन्छ भन्ने कुरा थाह हुन्थ्यो भने छाडा छोडेको कुखुराको भाले फर्केर खोरमा आउँदैन्थ्यो, जंगलतिर फुर्र हुन्थ्यो । पाखामा चराउन लगेको बाख्राको पाठो टारी फड्केर कुलेलम ठोक्थ्यो ।

पहिलो कोटीमा पर्ने यस्ता मान्छेहरूले तिमीलाई तिम्रो सर्वोत्कृष्ट स्वरुप देखाइदिन्छन् । जस्तो कि जाम्बवन्तले हनुमानलाई "तिमी उड्न सक्छौ" भनेर थाह दिएका थिए । कृष्णले अर्जुनको हृदयमा लुकेको तटस्थताको भाव जगाइदिएका थिए ।

तर कुनै कुनै सम्बन्धहरू यस्ता हुन्छन् जसले तिमीलाई दानवी बनाइदिन्छ । तिमीभित्र लुकेको राक्षसलाई उक्साईदिन्छ ।

कुनै मान्छे तिम्रो जिन्दगीमा आउँदा अथवा जिन्दगीबाट बाहिर निस्कदाँ तिमीलाई यो देखाएर जान्छ कि ऊ कतिसम्मको खराब छ । कतिसम्मको हरामी छ । भ्रष्ट छ । लाचार छ । यस्तो प्राय जिन्दगीमा आउँदा भन्दा पनि जिन्दगीबाट निस्किँदा ज्यादा हुन्छ ।

भन्छन् नि, जब कोही मान्छे तिमीबाट टाढा हुन्छ अनि बल्ल देखाएर जान्छ उसको असली स्वरूप । उसको सक्कली अनुहार ।

यहाँ नेर यौटा कुरा ख्याल गरिसक्नु भयो होला । यो कुरा पहिलेजस्तो छैन । उल्टो छ । उसले तिमीलाई महशुस गराउँदैन कि तिमी कतिसम्मको खराब हुनुहुन्छ ? उसले यो भनेर जाँदैन कि तिमी कतिसम्मको अमानवीय हुनुहुन्छ ? कतिसम्मको निर्दयी हुनुहुन्छ ? उसले भन्दैन कि तिमी कुन तहसम्मको घृणा गर्न सक्नु हुन्छ ? अँह भन्दैन कि तपाई कतिबिघ्नको घिनाहा हुनुहुन्छ । बरू बताएर जान्छ कि ऊ आफू चैँ कति खराब छ । ऊ कति निकृष्ट छ ? उसले तिमीलाई होइन आफूलाई चिनाएर जान्छ । आफ्नो अनुहारको पर्दा उचालेर सक्कली चेहरा देखाएर जान्छ ।

अब यी दुबै अवस्थाबाट गुज्रने मान्छे, सिकाएर जाने मान्छेको स्वरुपमा आफूलाई हालेर हेर्नुस् । तिमीले तिम्रो जिन्दगीमा आउने मान्छेहरूको क्षमता उकास्नु हुन्छ कि दोष ? उनीहरूको प्रेमलाई उकेरा लगाउनु हुन्छ कि घृणालाई ? उनीहरूको संभावनालाई उजागर गर्नुहुन्छ कि संकिर्णतालाई ? उनीहरूको पहिचानलाई हौस्याउनु हुन्छ कि गिराउनु हुन्छ ? उनीहरूको सौन्दर्यको तारिफ गर्नुहुन्छ कि गराउनु हुन्छ कुरुपताको एहसास । ‘तिमी असल मान्छे हौ’ भनेर उत्साहित पार्नु हुन्छ कि ‘तिमी त खराब मान्छे रहेछौ’ भनेर निरास बनाइदिनु हुन्छ ।

त्यो मान्छे एकलै हुँदा न कहिल्यै असल थियो न कहिल्यै खराब थियो । त्यो मान्छे त खासमा तिमीले जे बनाइदिनु भयो त्यही भएको मात्रै थियो ।

जब तिमी कसैको जिन्दगीमा प्रवेश गर्नुहुन्छ तिमीसँग सँधै दुई प्रकारको भएर प्रवेश गर्ने अवसर हुन्छ । जब तिमी कसैको जिन्दगीबाट बाहिरिनु हुन्छ, तिमीसँग सधैँ दुई प्रकारको भएर छुट्टिने विकल्प हुन्छ ।

किनकी एकलो मान्छेलाई थाहै हुँदैन उसको सकरात्मकता र नकरात्मकताको सिमाना कुन किनारसम्म छ, त्यसैले मान्छेलाई मान्छे चाहिन्छ । खराब हुन पनि मान्छेलाई मान्छे चाहिन्छ । असल हुन पनि मान्छेलाई मान्छे चाहिन्छ । एकलो मान्छे असल हुन पनि संभव छैन । खराब हुन पनि संभव छैन ।

सम्बन्धका अनेकन किस्साहरू बाँचेपछि म आफूलाई पहिलो कोटीमा राख्ने सक्दो कोशिष गर्छु । मेरो कारणले कसैलाई सुख नहुन सक्ला नसक्ला त्यो अर्कै कुरा हो, तर मेरै कारणले कसैलाई कहिल्यै दुख हुने छैन । यति प्रयत्न चाहिँ अवश्य गर्छु । कसैसँग छुट्टिनु अघि आफ्नो गल्ती भए पनि नभए पनि छुट्टिनु पर्नाको दोष आफूले लिन्छु । मैले सँधै माफि मागेर कम्तिमा यत्ति कुरा भन्छु - "म कस्तो खराब मान्छे रहेछु । आज बल्ल महशुस भयो । तिमी नभएको भए मैले आफ्नै खराबी थाह नपाउने रहेछु । तिमीलाई मैले बेक्कारमा दुख दिएँ । सक्नुहुन्छ भने मलाई माफ गरिदिनुस् । तिम्रो माफिले मेरो मन बोझमुक्त हुनेछ ।"

मैले खराब भइदिँदा संभावित ग्लानीबाट ऊ मुक्त हुनसक्छ भने छुट्टिनु अघि म त्यो अवसर किन चुकाऊँ ? कसैलाई बोझमुक्त गर्नुजस्तो आनन्द के हुन्छ ? सौभाग्य के हुन्छ ?

(तर चाहेको कुरा सधैं कहाँ पाइन्छ । जिन्दगीमा कहिलेकाहीँ यस्ता मान्छे आउँछन् जसलाई दुखाउँदिन भनेर सोच्दा सोच्दै पनि उनीहरू दुखिरहेका हुन्छन् । दुख्नु यौटा कुरा दुखाउनु अर्को कुरा ।)

प्रिय मानिस,

मैले यो कुरा आफैँ सिकेको होइन । तिमीबाट सिकेको हुँ । म तिम्रो एकलब्य हुँ । मलाई थाह छ तिमीले मसँग औँला माग्ने छैनौ । कसैलाई दुखाउनु तिम्रो चाहना कहिल्यै हुँदैन । वाध्यता त फगत बाहाना मात्रै हो । मान्छेसँग अरूलाई दुखाउन वाध्य हुने कुनै कारण हुँदैन । दुख बाहाना, हो सत्य होइन । दुखलाई सत्य भन्ने बुद्ध खासमै गलत बुद्ध हो ।

आत्माअवलोकनको यो लामो यात्रापछि मैले महशुस गरेको छु - मेरा तमाम खराबीका बावजुत पनि मलाई बोझमुक्त बनाउन तिमीले सदैव माफि गरिरह्यौ । मलाई तिमी आत्मावलोकन गर्न सिकायौ आत्मग्लानी गर्न होइन । मैले जिन्दगीमा धेरै गल्ती गरेको छु तर तिनीहरू प्रति मेरो कुनै पश्चाताप छैन । कुनै ग्लानी छैन । यो सबै कुरा मैले तिमीबाट सिकेको हुँ ।

तिम्रो जिन्दगीको यो पाठ मेरो प्रेरणापाठ हो ।

म तिम्रो यही पाठको म तिम्रो सनातन प्रेमको आदिम एकलब्य हुँ । मलाई अरू कसैको अघिल्तिर असल साबित हुनु छैन । म आफ्नै आत्मालाई निशाना साँधेर तीर चलाइहने एकलब्य हुँ ।

प्रिय मानिस, म तिम्रो सनातन प्रेमको आदिम एकलब्य हुँ । तिमीबाटै सिकेको हुँ मैले सकैलाई नि:सर्त प्रेम गर्न । तिमीबाटै सिकेको हुँ मैले सबै सिकाईको गुरू हुँदैनन् । सबै सम्बन्धहरू संस्थागत हुँदैनन् ।

आजको साइकल यात्रा सकियो । छुटेँ ।

तिम्रो अस्तित्वको वरिपरी पाइडल घुमाइबस्ने उही तिम्रो साइकले,
गनेस पौडेल
पोखरा







#CycleThoughts #Cyclay #Ekalabya

1 comment: