फ्ल्यासब्याक भर्सेस फोरटोल्ड

भनाइ एक: आफूले खोजेको कुरा तिमीले महाभारतमा भेटेनौ भने वास्तवमा तिमीले त्यो कुरा खोजेकै थिएनौ।

भनाइ दुई: संसारमा त्यस्तो कुनै घटना न हिजो भएको थियो न कहिल्यै हुनेछ, जो महाभारतमा घटित नभएको होस्।

दुई भनाइको सार: महाभारत विगतको फ्ल्यासब्याक स्टोरीमात्रै होइन आगतको फोरटोल्ड स्टोरी पनि हो।
आजको यो आलेखमा यस्तै केही अपूर्ण संवाद गर्छु।

महाभारतको कथाको जड कर्मसँग जोडिएको छ। कर्मको क्रम जन्मक्रमसँग जोडिएको छ। पूर्वजन्मको वरदान वा श्रापबाट, प्रतिशोध लिने उत्कण्ठाबाट वा यस्तै अरू विभिन्‍न कुण्ठा-कारणबाट महाभारतका हरेक पात्रको जन्मक्रम चलेको हुन्छ।

पुनर्जन्मको किस्सा नभएको कुनै पात्र महाभारतमा छैन। कर्म गीताको सार हो । महाभारतका पात्रले जे काम गर्छन्, त्यो अर्को जन्मका लागि गर्छन्। जे गर्न बाध्य हुन्छन्, त्यो पूर्वजन्मका कारणले हुन्छन्।

त्यो पूर्वजन्मको किस्सा गुजुल्टिँदै वैदिक कालसम्म पनि पुगेको छ। स्वयं महादेवसमेत ब्याचलर अर्थात् अविवाहित रहँदाका बखतदेखिकै कनेक्टेड किस्साहरू महाभारतमा छन्। महाभारत एक पूरापूर फ्ल्यासब्याक स्टोरी हो।

महाभारतको हिस्सा ओगट्ने कृष्णदेखि सामान्य सिपाहीसम्म सबै पात्रका फ्ल्यासब्याक कथा छन्। यस्तो लाग्छ, मान्छे कहिल्यै पहिलोपटक जन्मँदै जन्मन्न। पहिलोपटक मर्दै मर्दैन।

महाभारतको आदि पर्वमा यस्ता पूर्वजन्महरूको फेहरिस्त छ। पात्रको यस जन्मको भूमिका के हो, खुलाइएको छ । सबका सब पात्रहरू समयको कालातीत डोरी समातेर फुतुफुतु जन्मिएका छन् महाभारतको कालमा।

जन्मन बाँकी पनि यस्ता प्रतीत हुन्छन्, मानौं ब्याकस्टेजमा आफ्नो भूमिकाको डायलग कण्ठ गर्दै बसेका छन्। यस्तो लाग्छ, महाभारतका सबका सब पात्रहरू भड्किएका आत्माहरू हुन्। आदि पर्वले महाभारतको वास्तविक कथार्सिसलाई हल्का पारिदिएको छ।

'प्रारब्धको खेल' भन्ने लाजमर्दो लजिकका आधारमा पात्रहरूमाथि घिनलाग्दो पोयटिक जस्टिस लादिएको छ। म जसलाई महाभारत पढ्न सिफारिस गर्छु, आदि पर्व नै नपढ्ने सल्लाह दिन्छु।

रमाइलो कुरा के भने महाभारतपछि कुनै पात्रले अर्को जन्म लिनु परेन। अथवा त्यस्तो कुनै प्रसंग कम्तीमा महाभारतमा (अरू कुनै वैदिक ग्रन्थमा पनि) छैन जसमा दमित इच्छा वा प्रतिशोधको शृंखलाका कारण कुनै दैवी शक्तिले 'अर्को जन्ममा यस्तो होला÷होओस् !' भनेर दिएको आश्वासनको प्रसंग परोस्। वा कसैले अर्को जन्मका लागि श्राप वा वरदान दिएको होस्।

यसैले पनि महाभारत कालातीत पुनर्जन्मका साइक्लिक किस्साहरूको एकमुष्ठ अन्त्येष्टि किताब हो। अ डेड एन्ड स्टोरी अफ भिसिअस सर्कल अफ रिबर्थ। यस्तो लाग्छ, महाभारतपछि मत्र्यलोकको कोही पनि मान्छे पुनर्जन्मको टिठलाग्दो दोहोरीबाट मुक्त भएको छ।

महाभारतमा कर्णको कथाले धेरैलाई पिरोल्छ। महाभारतमै बिहेपूर्व मात्रै होइन बिहेपछि समेत परपुरुषबाट सन्तान जन्माएर पनि सम्मानित भएका अरू घटना हुँदाहुँदै कुन्तीले कर्णलाई खोलामा बगाउनुको कुनै लजिकल कोहरेन्स भेट्न सकिन्‍न।

शूरवीर र दानवीर कर्ण सदैव छलको सिकार हुन्छन्, छलपूर्वक नै मारिन्छन्। कर्णमाथि काव्यिक अन्याय थोपरेको आरोपबाट लेखकलाई जोगाउँदै पाठकलाई पनि ‘ए यस्तो पो रैछ' भनेर चित्त बुझाउने कुनै ठाउँ छ भने अब मात्रै फ्ल्यासब्याक छ।

पूर्वजन्ममा कर्ण थिए एक राक्षस। नाम दम्भोद्भव। सूर्यको उपासनाले उनले हजार कवज प्राप्त गर्छन्। वर पनि पाउँछन्। त्यो कवज उनले मात्रै तोड्न सक्छन्, जसले हजार वर्ष तपस्या गरेका हुन्छन्। अनि जसले उनको कवज तोड्छ, उसको तत्कालै मृत्यु हुन्छ।

त्यसपछि उनी सहस्र कवच नामले चिनिन्छन्। उनी सबैलाई दुःख दिँदै हिँड्न थाल्छन्। त्यसबाट चिन्तित मुर्तीले विष्णुलाई गुहार्छिन् । महादेवकी पहिली श्रीमती सतीदेवीकी बहिनी थिइन् मुर्ती। विष्णु उनको गर्भमा प्रवेश गरी नर र नारायण नामक जुम्ल्याहाका रूपमा जन्मछन्। ती दुई शरीर एक आत्मा भएका केटाहरू थिए।

ठूलो भएपछि नारायणको तपको बलमा नरले सहस्र कवजलाई परास्त गर्दै जान्छन्। एउटा कवच तोड्नेबित्तिकै नर मर्छन् तर नारायणको मृत्युञ्जय मन्त्रले उनलाई ब्यूँताइहाल्छ। अन्तिममा नौ सय ९९ वटा कवज तोडिएपछि उनी भाग्छन् र सूर्यको शरणमा पर्छन्।

पछ्याउँदै गएको नारायणले आदेश दिँदा पनि सूर्यले आफ्नो भक्तलाई जोगाउँछन्। त्यसैले मनुष्यजुनीको श्राप पाउँछन्। यो श्राप नै त्रेतायुगको अन्तिम श्राप हुन्छ। तत्कालै प्रलय भई युग परिवर्तन हुन्छ। द्वापर आउँछ।
महाभारतमा फ्ल्यासब्याकलाई लाक्षणिक हतियारको रुपमा प्रयोग गरिएको छ। उदाहरणीय भनिएका पात्रहरुले पनि अनुमानै नगरेको मएत्‍यु र सजाय  भोग्‍न परेपछि पाठकमा उत्‍पन्‍न हुने काव्‍यिक असन्तुष्टिको आभास मेटाउने यो हतियार प्रयोग  भएको छ।  

महाभारतमा जन्मने कर्ण आधा सूर्य र आधा दम्भोद्भव हुन्। उनी पूर्वजन्ममा बाँकी अन्तिम एउटा कवज बोकेर जन्मेका हुन्छन्। उनी आधा महागुण र आधा महाअवगुण बोकेर जन्मनुको कारण त्यही नै हो । आधा, व्यापक हिरो अनि आधा, व्यापक भिलेनजस्तो स्वभाव देखाउँछन् उनले।

त्यस्तै अर्जुन र कृष्ण नर र नारायण हुन्। मुर्तीलाई दिएको वचन पूरा गर्न कृष्ण र अर्जुन जन्मेका हुन्छन्। गीतामा कृष्णले अर्जुनलाई 'तिमी र म अविभाज्य नर-नारायण हौं' भनेका छन्।

त्यस्तै पोयटिक जस्टिस नपुगेको अर्का पात्र हुन्, अभिमन्यु। शुभद्रा र अर्जुनको छोरा अभिमन्यु काँचो उमेरमा चक्रव्यूहको सिकार हुन्छन्। सोह्रवर्षे किशोरवयमै छलपूर्वक मारिएका बहादुर केटाले सबै पाठकको मन जित्छन् । यसको मृत्युले पाठकको मनमा कुँजिएको अन्यायिक पीडाको गाँठो फुकाउन पनि पुनर्जन्मको फ्ल्यासब्याक टेक्निककै सहारा लिइएको छ।

अभिमन्यु वास्तवमा कल्यावण नाम गरेको राक्षस हुन्छन् पूर्वजन्ममा। कृष्णले नै उनको वध गरेका हुन्छन्। वधपछि उनको आत्मालाई आफ्नो पछ्यौराले बेरेर द्वारिकामा लगेर दराजमा बन्दी बनाई राख्छन्।

पाण्डवहरू वनबासमा हुँदा शुभद्राले दराज खोल्छिन्। त्यही बेला प्रकाशमान आत्मा उनको गर्भमा प्रवेश गर्छ र अभिमन्यु जन्मन्छन्। यसै कारणले नै कृष्णले अभिमन्यु गर्भमा छँदा चक्रव्यूह प्रवेश गर्ने तरिकामात्रै सुनाएका थिए, निस्कने होइन। त्यसको फन्दामा परेर अभिमन्यु मर्छन्।

हुन त अभिमन्यु राक्षस नभई चन्द्रदेवको छोरो भएको र आफ्नो प्राणप्रिय छोरालाई मत्र्यलोकमा १६ वर्षका लागि मात्रै पठाउन राजी भएको कारणले उनको १६ वर्षमै मृत्यु भएको प्रसंग पनि सुन्नमा पाइन्छ।

पाठकको मन जित्‍ने अर्का होनहार पात्र हुन्, एकलव्य । द्रोणाचार्यको नक्कल मूर्तिलाई सक्कल गुरु थापेर धनुर्विद्या सिकेका उनले अक्कल गुमाएर सक्कल बूढस्औंला चढाउँछन् गुरुदक्षिणामा। यसले एकपटक विद्यार्थी जीवन पार गरेका जोकोही पाठकलाई अनावश्यक झोक चलाउँछ।

अब यसको नैतिक निरुपण पनि फ्ल्यासब्याकले मात्रै दिनसक्ने भयो। एकलव्य देव श्रवको छोरा हुन्छन्। देव श्रव वासुदेवका भाइ हुन्। यसरी एकलव्य त कृष्णको अंकलका छोरा भइगए।

जंगलमा हराएका एकलव्यलाई निशाद हिरन्यधनुले भेट्टाएर हुर्काएका हुन्छन्। रुक्मिणीको स्वयंवरका बखत बाबु देव श्रवलाई बचाउँदा दाइ कृष्णको हातबाट उनी मर्छन्।गुरुदक्षिणाको छलबाट पीडित भएका एकलव्यलाई कृष्णले द्रोणाचार्यसित बदला लिन पाउने वरदान दिन्छन्, मृत्युपूर्व।

एकलव्य पछि धृष्टध्युम्न भएर जन्मन्छन् जसले छोरा अश्वत्थामा मरेको खबरले आक्रान्त भई समाधिमा बसेको द्रोणाचार्यको शिर छेदन गर्छन्।काव्यिक न्यायको धारा उपधाराले नछोएका पात्रहरू कति छन् कति महाभारतमा।

बाबुको यौनिक सनकलाई पूरा गर्न अविवाहित रहेको भीष्म किन तीरमा सुतेर ५८ दिनसम्म बस्नुपर्‍यो? लोग्नेकै खातिर किन गान्धारीले जीवनभर अन्धो हुनुपर्‍यो?द्रौपदीले किन पाँचपाँच लोग्नेलाई बेहोरेर बस्नुपर्‍यो? धृतराष्ट्र स्वयं किन दृष्टिदोष बोकेर जन्मनु पर्‍यो? पाण्डु किन रोगी भए ?

किन कृष्णको यादव वंश पूरै विनाश हुन पुग्यो? किन उनको नामसँग सदैव जोडिएर आउने १६ सय ग्वालिनीहरू म्लेच्छहरूको अपहरणमा परी यौन शोषणको सिकार भए? यी सब प्रश्नको उत्तर फ्ल्यासब्याकमा छन्।

त्यो फ्ल्यासब्याक कतिको यही जीवनमा छ, कतिको भने पूर्वजन्ममा । विचरा भीष्मको त ७३ जुनी अगाडि छ । त्यो बेला तीरले घोचेर कीरा मारेको हुनाले अहिले तीरऔबिस्तरा प्राप्त भएछ उनलाई।

मेरो कुराको सार के हो भने महाभारतमा फ्ल्यासब्याकलाई लाक्षणिक हतियारको रूपमा प्रयोग गरिएको छ। उदाहरणीय भनिएका पात्रहरूले पनि अनुुमानै नगरेको मृत्यु र सजाय भोग्न परेपछि पाठकमा उत्पन्न हुने काव्यिक असन्तुष्टिको आभास मेटाउन यो हतियार प्रयोग भएको छ।

रमाइलो कुरा के भने, आफ्नो पूर्वजन्मको बारेमा केही पात्रले मात्रै कृष्णबाट थाहा पाउँछन्। ती ती पात्रहरूको मात्रै कृष्णले फ्ल्यासब्याक बताउँछन् जो जो पात्र अन्यायमा परेको आभास पाठकलाई हुन्छ।

यो भयो फ्यासब्याक कुरा। तर महाभारत त एक फोरटोल्ड स्टोरी पनि हो। हरेक फ्ल्यासब्याक एक फोरटोल्ड भइजान्छ महाभारतमा। धेरैले अविश्वास गर्ने एउटा सत्य के हो भने महाभारत जसले लेखे भनियो, वेदव्यास, यो कुनै व्यक्तिको नाम नभएर पद हो।

वेदहरूको पूर्ण ज्ञातालाई वेदव्यास भनिन्थ्यो। अर्को अनौठो कुरा के हो भने घटना हुनुअघि नै महाभारत लेखिएको (रचिएको भन्दा उपयुक्त होला) थियो। यस मानेमा महाभारत फोरटोल्ड स्टोरी हो।

यस्तो कथा जहाँ पात्रहरूले खासमा आगामी घटनाहरूको अवलोकनमात्रै गरेका हुन्। तर महाभारतका हरेक पात्रलाई कम्तीमा के ज्ञान थियो भने उनीहरूमाथि जे हुँदैछ त्यो सब प्रारब्धले हुँदैछ। पूर्वनिर्धारित भाग्यको बाटोमा मात्रै हिँडिरहेका छन् उनीहरू। उनीहरूले पात्रतामात्रै निर्वाह गरेका हुन्।

यसर्थ यसका पात्रहरू मात्रै निरीह भूमिका निर्वाह गर्दै थिए जुन किताबमा लेखिएको थियो । दुःखको कुरा, ती पात्रलाई नै आफ्नो के कथा लेखिइसकेको छ ?  थाहा थिएन। त्यसो पनि होइन।

महाभारतका केही पात्रलाई भने यो कुरा थाहा थियो। कथा लेखक व्यास, अवतारी कृष्ण र बाबुको मासु खाएर त्रिकालदर्शी बनेका सहदेवलाई विगत, वर्तमान र आगतको पूरै कुरा थाहा थियो। त्यस्तै आंशिक कुरा थाहा थियो लाइभ न्यारेटर सञ्जयलाई र बूढो बाजे भीष्मलाई।

महाभारतको पूरापूर भविष्यको ज्ञान पाण्डवमध्येको कान्छो सहदेवलाई थियो। पिता पाण्डुले मर्नुअघि आफ्नो मृत शरीरलाई ‘विसर्जन नगर्नू बरु खानू’ भनेर छोराहरूलाई भनेका हुन्छन्। यसरी खाए आफ्नो ज्ञान र सिद्धि छोराहरूलाई पनि प्राप्त हुने उनले बताउँछन्।

पाण्डु ज्ञान, बुद्धि र बलका वैभव थिए। त्रिकालदर्शी थिए। तर बाबुको लास काटेर मासु खाने कुरा कुसंस्कृत थियो। अभोग्य र असोच्य थियो। त्यसैले कसैले पनि आफ्नो बाबुको अन्तिम इच्छा भए पनि त्यसलाई पूरा गर्नेबारे सोच्दा पनि सोचेनन्। तर लास कुरेर बसेका बेला सहदेवले देख्छन्, केही कमिला पाण्डुको लास कुटुकुट टोकेर फर्किंदै थिए।

बाबुको अन्तिम इच्छा लाक्षणिक रूपमा भए पनि पूरा हुने सोची सहदेव फर्किंदै गरेको एउटा कमिलालाई कसैले थाहा नपाउने गरी मुखमा हाल्छन् र घुटुक्क निल्छन् । तत्कालै उनलाई दिव्यबोध हुन्छ।
अरू सबै गुण ट्रान्सफर नभए पनि त्रिकाल दृष्टिको गुण उनमा उदय हुन्छ। तर कृष्णले उनलाई आफूलाई थाहा भएको कुरा अरूलाई बताउन नपाउने बन्धनमा पार्छ। झुठो नबोल्ने सहदेवले कसैले सोधे भनेमात्रै ‘प्रश्नहरूमा उत्तर दिनुपर्ने' वाचा गराउँछन्।

आफूलाई सबै कुरा थाहा भए पनि चुपचाप बस्नुपर्ने पीडादायी अवस्थाबाट गुज्रेका कारणले नै सहदेवलाई सर्वाधिक सहनशील व्यक्ति भनिन्छ। सर्वज्ञानले युक्त हुनु तर अभिव्यक्तिको स्वतन्त्रता नपाउनुको मिथकीय पीडाको मनोविज्ञान हो। सहदेव जो आफ्नो छोरो सुहोत्र कर्णको हातबाट मर्ने थाहा हुँदाहुँदै पनि चुपचाप एक्लै रोएर बस्थे।

भीष्मलाई ‘महाभारतको कथा अघि नै लेखिएको र आफू मात्रै त्यसमा जे लेखियो त्यसैको भूमिका निर्वाह गर्न आएको' ज्ञान थियो। कौरव पक्ष महाभारतको युद्धमा पराजित हुँदै गइरहेका थिए। दुर्योधन एक साँझ भीष्मकहाँ गए र ‘आफ्नो पूर्ण क्षमताले युद्ध नगरेको' भनेर वृद्ध सेनापतिसँग गुनासो गरे।

आरोपले आवेगमा आएका भीष्मले तुरुन्त मन्त्र जाप गरी पाँचवटा तीर उत्पन्न गरे। तिनै पाँच तीरले भोलिपल्ट पाँचै पाण्डवको देहलीला समाप्त गर्ने वचन दिए। आगतको ज्ञान नभएका भए भीष्मले त्यस्तै तीर न उत्पन्न गर्थे न भोलिपल्ट त्यही तीरले पाण्डवको बध गर्ने वचन दिन्थे।

महाभारत एक पूरापूर फ्ल्यासब्याक स्टोरी हो। महाभारतको हिस्सा ओगट्ने कृष्णदेखि सामान्य सिपाहीसम्म सबै पात्रका फ्ल्यासब्याक कथा छन्। यस्तो लाग्छ, मान्छे कहिल्यै पहिलोपटक जन्मँदै जन्मन्‍न। पहिलोपटक मर्दै मर्दैन।

अविश्वासी दुर्योधनले रातभरमा बूढाको मन फेरिएला र तीर गायब गर्लान् भन्ने डरले पाँचवटै तीर आफैंले लिएर गए। भोलिपल्ट पाण्डवको विनाश अवश्यम्भावी थियो। अब पाण्डवलाई बचाउन केवल फ्ल्यासब्याकले मात्रै सक्ने भयो। भीष्म, जसलाई प्रतिज्ञा पुरुष भनिन्थ्यो, उनको अमोघ तीरको सामना गर्ने सामर्थ्य स्वयं कृष्णसँग पनि थिएन।

पाण्डवको वनबासका बेलामा खिसिट्युरी गर्न वनमा गएका दुर्योधनको जलक्रीडाका क्रममा गन्धर्वहरूसँग झगडा भएको हुन्छ। गन्धर्वहरूले उनलाई बन्दी बनाएर लैजान्छन्।

बन्दी भएका दुर्योधनलाई अर्जुनले बचाउँछन्। आफ्नो शत्रुबाट उद्धार भएको पीडामा दुर्योधनले अर्जुनलाई केही वरदान माग्न भन्छन् । अर्जुुनले ‘बेला आउँदा माग्छु' भनेका हुन्छन्।

भोलिपल्टको युद्धको सुरुमै कृष्णले अर्जुनलाई भीष्मका पाँच तीर माग्न लगाएपछि दुर्योधनले वचन पूरा गर्नुपर्ने क्षेत्रीय धर्मबाट विवश भएर ती पाँचै तीर अर्जुनलाई दिन्छन्। दुर्योधन सरासर भीष्मकहाँ पुगेर अर्का पाँच तीर फेरि उत्पन्न गर्न भन्छन्। तब भीष्म भन्छन्, अब कदाचित् त्यस्तो सम्भव छैन। जे भइरहेको छ, त्यो पहिल्यै लेखिएको छ । म नलेखिएको कुरा गर्न सक्दिनँ।

र अन्तिममा अफ द बिट कुरा। कौरव र पाण्डव दुवैले बेलाबखतमा छलपूर्ण व्यवहार गरेका छन्। स्वयं कृष्णको जीवन नै पूरै यस्तै हल्काफुल्का वा गम्भीर छलहरूबाट सिँचित छ।

महाभारतमा कोही पनि पात्र पूर्ण गुणी र पूर्ण दोषी छैनन्, पूर्ण पापी र पूर्ण धर्मात्मा छैनन्। खासमा त्यस्तो दर्दनाक र संहारक भनिएको युद्ध हुनुपर्ने कुनै गम्भीर कारण पनि महाभारतभित्र छैन।

त्यसैले कतिले त ‘गीताको ज्ञानलाई प्रदान गर्ने प्राक्टिकल अवसर सिर्जना गर्नकै लागि मात्र कृष्णले युद्धका लागि उक्साएका हुन्' भन्ने विचार पनि राख्छन्। यसैका कारण गान्धारीको श्राप लागेर उनको वंश विनाश भएको हुन्छ।

हो अफ द बिट कुरा। कथा पहिले नै लेखिने र सोही लेखोटलाई कहिले फ्ल्यासब्याक त कहिले फोरटोल्डजस्तो गरेर न्यारेट गर्ने टेक्निकमा भर्खरै कुमार नगरकोटीले 'मिस्टिका' नामको उपन्यास लेखेका छन्। यो टेक्निकअनुसार पात्रहरू कथानक घटनाको सिकार वा साक्षीमात्रै हुन्छन्, कर्मिक हुँदैनन्।
अन्नपूर्ण पोस्ट्को फेसबुक, ट्वीटर, गुगल प्लस र युट्युबमा जोडिनुस् । मोबाइलका लागि एन्ड्रोइड र आइस्टोरबाट एप डाउनलोड गर्नुस् ।

- See more at: http://annapurnapost.com/News.aspxstory/17889#sthash.SLHp9Xnr.dpuf

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment