Contact Form

Name

Email *

Message *

Wednesday, August 26, 2015

अमान्छेको अकथा

म ब्रह्माण्डको उत्पत्तिबाट कुरा सुरु गर्छु। किनकि उत्पत्ति मिस्टिक कन्सेप्ट हो । भनिन्छ, ब्रह्माण्डको उत्पत्ति पहिले महाशून्य व्याप्त थियो। त्यो शून्यको महाविस्फोट भयो। असीम ऊर्जा प्रवाहित भयो। त्यही ऊर्जाबाट पदार्थको उत्पत्ति भयो । पदार्थबाट जीव अर्थात् जीवात्माको निर्माण भयो। जीवात्मामध्येको मान्छेबाट (मात्रै?) चेतनाको निर्माण भयो। 

सपाटमा उत्पत्तिको क्रम यस्तो हुन्छ: १ शून्य, २ ऊर्जा, ३ पदार्थ, ४ जैविकता र ५ चेतना अर्थात् अहम्।तर हाम्रो ज्ञानको क्रम ठीक उल्टो छ। ज्ञानेन्द्रियको माध्यमले पहिला हामी पदार्थ बुझ्छौं। त्यसपछि ऊर्जा। त्यसपछि जीवन अर्थात् जैविकतामा पुग्छौं। त्यहाँबाट चेतना। अनि अन्त्यमा बुद्धत्व अर्थात् महाशून्यमा पुग्छौं। तर संसारका अधिकांश मान्छे पदार्थमैं अल्झेर बस्छन्। अति कमले मात्रै ऊर्जाबाट उक्लेर चेतना र शून्यताको अनुभूत गर्छन्। जब उत्पत्तिको वा ज्ञानको यो सिरियल शृंखला भंग हुन्छ। तब सर्रियल शृंखला सुरु हुन्छ। जब पदार्थ, ऊर्जादेखि शून्यसम्मका चरणहरू एक डल्लो पर्दिन्छन् वा डिजोल्भ भइदिन्छन्। तब कुमार नगरकोटी ब्युँझन्छन् र मिस्टिका नामको 'उपन्यास हो कि जस्तो र होइन कि जस्तो' किताब निकाल्छन्।
उत्पत्ति अर्थात् सिर्जना र ज्ञान अर्थात् खोजको सर्वमान्य प्राकृत शृंखला भंग हुनु भनेको समय र स्थान अर्थात् टाइम एन्ड स्पेस खारेज भइदिनु हो। स्पेसोटोम्पोरल नै ध्वस्त भइगएपछि ‘कथा कथाजस्तो नहुनु' सामान्य कथा हो।
मान्छे अजम्बरी भइदियो भने के हुन्छ? अथवा मान्छेको आयु बढेर दुई-चार सय वर्ष जति पुग्यो भने के हुन्छ ? त्यस्तो अवस्थामा के हाम्रा जीवनसम्बन्धी, विवाहसम्बन्धी, परिवार र सम्बन्धसम्बन्धी, समाजसम्बन्धी वा अरू धेरै कुरासम्बन्धी विद्यमान धारणाहरू उस्तै भइरहँलान्? 
सरुभक्तको कथा 'हृदयको पाँचौं कोठा'मा मान्छे जन्मिरहने तर नमर्ने भएमा बाँचेकाहरूले भावी पुस्ताको लागि स्वैच्छिक मरण अर्थात् देहत्याग गर्नु पर्ने प्रसंग छ। ठीक त्यस्तै कारणले नभए पनि त्यस्तै परिस्थितिमा स्वप्निल भ्यालीका मान्छेहरू जीवन बाँच्नदेखि अघाएर देहत्याग गर्छन्।
'मिस्टिका' व्यक्तिको होइन एक सहरको कथा हो। काठमाडौंको खाल्डोलाई स्वप्नील भ्यालीको डिजाइनमा सिटी प्लानिङ गरेर नगरकोटीले केही पात्रहरूको जमघट गराएका छन्। पात्र बिल्कुल हामीजस्ता छैनन् तर हाम्रा अवचेतनजस्ता छन्। 
न ती हामी जसरी जन्मन्छन्, न मर्छन्। आदि-जन्म र अन्त्य-मृत्युमै विविधता भएपछि तिनले अभिव्यक्त गर्ने प्रेम, घृणा, भोक, खोज र यौनको सौन्दर्य नै हाम्रोजस्तो नहुनु नौलो भएन। तिनको कथा हाम्रोजस्तो नहुनु अचम्म भएन। 
तिनीहरू यौनका किस्सा किस्साका कुरा गर्छन् तर तिनका कुरा पढिरहँदा कुनै पाठकको लिविडो फायर्ड हुँदैन। तिनीहरू प्रेमका कुरा गर्छन् तर त्यो किस्सा पढ्दा पाठकको मनमा आफ्नो÷नी प्रेमीको झल्को आउँदैन। तिनीहरूले न मृत्युका कुरा गर्दा कुनै 'डर' लागेर आउँछ। 
न जन्मको कुरा गर्दा 'हर्ष'। दुवैले कौतुहल र आश्चर्यमात्रै दिन्छन्। नगरकोटीका पात्रले मान्छेका अनुभूतिलाई सर्पास्ड गरेका छन्। यसैले 'मिस्टिका' मान्छेको कथै होइन। अमान्छेको हो।
'मिस्टिका'को कुनै पात्रमाथि पोयटिन न्याय या अन्याय भएको छैन। त्यहाँ त कुनै अदालतै छैन काव्यिकताको। कुनै नायक छैन। कुनै खलनायक छैन। कुुनै द्वन्द्व छैन। यहाँ केवल चरित्र छन्। कोही पात्र अलि दोहोरिएर आएका छन् कोही कम। 
जति छोटो वा लामो प्रसंग बोकेर आएको भए पनि तिनीहरूको भूमिका र महत्व समान छ। तिनीहरूले युनिक टाइमिङ र स्पेस समातेर आएका छन् । तर त्यही टाइम र स्पेस पनि त्यहाँ डिजोल्भ भएको छ। तिनीहरूको जन्मै अनौठो छ, चालचलनै अनौठो छ।
हरेक पात्रलाई पढेपछि कस्तो कस्तो लागेर आउँछ। पेटभित्र 'के हो के हो' चलेजस्तो भएर आउँछ । कथाका पात्रहरू देख्दा न दया लाग्छ, न माया लाग्छ, न घृणा लाग्छ। न रिस उठ्छ। न खुसी नै लाग्छ।
लाग्छ त केवल एउटा कुरा लाग्छ। कसले हो कसले बोलाएजस्तो लाग्छ। तर फर्केर हेर्दा कोही हुँदैन। पात्रहरूलाई कता कता कहिले हो कहिले भेटे जस्तो लाग्छ। र एक फेर फेरि तिनका कुरा कुमार नगरकोटीको किताबमा पढ्दा अचम्म भए जस्तो लाग्छ। 
बाटोमा कतै भेटे चिन्छु कि जस्तो लाग्छ। यस्तो अनुभूति भएर आउँछ जसको कुनै नाम छैन। अनुभवहीन अनुभूति। परिचयविहीन अनुभूति।
एउटा अनुभूतिहीन अनुभूतिको अवस्थामा जब तपाईं पुग्नुहुन्छ, तब तपाईंलाई एउटा कृत्रिम आफ्टर म्याथ अनुभूतिले समात्छ। त्यो हो निराशा। तपाईंलाई थाहा छ तपाईंभित्र केही न केही भइरहेको छ। समथिङ इज ह्यापनिङ इनसाइड। 
एउटा फिलिङको फिलिङ्गोले तपाईंलाई भित्रभित्रै पोलिरहेको छ। त्यो थाहा छ। तर त्यो आगो कस्तो आगो हो, थाहा हुँदैन। कथा सकेपछिको संवेदनाको किल्किले रुद्रघण्टीमा आइबस्छ, तपाईंलाई कुदेर चौरको एक राउन्ड मारेर स्याँस्याँ पार्दै फोक्सोमा अड्एिको त्यो संवेदनाको डल्लो फाल्दिन मन लाग्छ। तर त्यो डल्लो के हो थाहा हुँदैन।
तपाईलाई जुन मार्काको कर्थासिस भएको हो त्यो मार्का नै थाहा हुँदैन।नगरकोटीको भौतिकताको प्रेम, भोगवादिता, र शरीर मोहको झल्को उनको वर्णनबाट पाइन्छ। कुण्डलिनी कुहिरोले पाटनको गल्ली हुँदै पुरै सहर ढाकेको किस्सा सिनेमा हेरे जस्तो छ। किताबले सर्वाधिक अपिल गर्ने अंग आँखा, छाला र कान हुन्। 
संगीत पनि तप्प तप्त चुहिन्छ उनको वर्णनमा। भुईंभरि सल्सलिन्छ संगीत। कफीको मगमा बस्न आइपुगेको ज्युँदो कुहिरोलाई क्यानभासमा छ्यापेर चित्र बनाउँछ चित्रकार। दृश्य, आवाज र स्पर्शलाई मुछेर एक डल्लो अनुभूति दिने प्रयास गर्छन् उनी। भोगवादिता प्रचुर छ पात्रहरूमा। यही भोगको अन्त्य नै मृत्यु हो भन्ने दर्शन भोगवादिताकै छेकलमा राखिएको छ।
'मिस्टिका' व्यक्तिको होइन एक सहरको कथा हो। काठमाडौंको खाल्डोलाई स्वप्नील भ्यालीको डिजाइनमा सिटी प्लानिङ गरेर कुमार नगरकोटीले केही पात्रहरूको जमघट गराएका छन्। पात्र बिल्कुल हामीजस्ता छैनन् तर हाम्रा अवचेतन जस्ता छन्। न ती हामी जसरी जन्मन्छन्, न मर्छन्।
पात्रहरू शब्दहरूमा खेल्छन्। तिनको फोनेटिक्समाथि जोक गर्छन्। विचार पस्कन्छन्। तर ती बडो सुक्खासुक्खा छन्। खै के हो के हो पिरलोले थिलिएका तर हाँसिरहेका जस्ता छन् पात्र।
 स्वप्नील भ्यालीको मुख्य विशेषता के हो भने त्यहाँ मान्छे मर्दैनन्। मर्दैनन् भन्नुको अर्थ के हो ? तिनलाई रोगै लाग्दैन भनेको हो कि, तिनको दुर्घटनै हुँदैन भनेको हो? त्यस्तो केही नभइकन बूढो हुनेहरू पीपलको रूखमा झुन्डिँदा चाहिँ किन मर्छन्? मृत्यु मान्छेलाई सबैभन्दा डरलाग्दो जिनिस हो। 
डरको स्रोत अज्ञानता हो। 'मर्दा के हुन्छ ? मरेपछि के हुन्छ? ' भन्ने प्रश्नको उत्तर जानेको भए मान्छे मर्नदेखि सायद डराउँदैनथ्यो। मृत्यु रहस्य विज्ञानको 'कुण्डलिनी' हो। यही कुण्डलिनीबाटै संसारभरका धर्म जन्मेका हुन्। संसारभरका तन्त्र, मन्त्र र रहस्य जन्मेका हुन्। संसारभरका काला बिराला जन्मेका हुन्। 
नगरकोटीले 'डर'को यही पुच्छर समातेर यो निजी मिथक अर्थात् मिस्टिकाको अन्डा कोरलेका हुन्।स्वप्नील भ्यालीका अनौठा बासिन्दा बीचमा दुई जीवित (? ) पात्र पनि छन्। नगरकोटी र अनुप बराल। अनुप बराल सिनेमा बनाउँदैछन् 'सिल्भिया' नामक। 
सिल्भियाको लिड गर्दैछे मिस्टिकाले। क्यालिग्राफर कृष्णमोचन मास्केकी तरुनी बहिनी हो मिस्टिका। ऊ जो सधैं राति १:१ बजे दिवंगत बुढाथोकी अर्थात् टाइपराइटरलाई फोन गर्छे। टेलिफोन र टाइपराइटको संवाद हामीले मात्रै ओभरहर्ड गछौँ।
क्यालिग्राफरकी पर्सनल असिस्टेन्ट हो सिमसारा जसलाई एक क्याफेको काउन्टरमा भेटेको प्रसंग सुरुमा छ। ब्ल्याक फ्यान्टासी नामक मोबाइल पाउँदाको कुुरा। त्यो मोबाइल कुमार नगरकोटीकै हुन्छ तर अबको ३० वर्ष पछाडिको नगरकोटीको। नगरकोटीको कल्पनाले नगरकोटीलाई फोन गरेर यसो गर उसो गर भन्दै जान्छ। जुनियर नगरकोटी गर्दै जान्छ।
'सिल्भिया' सिनेमा प्रोजेक्ट कुण्डलिनी कुहिरोले गर्दा सुचारु हुन पाउँदैन। त्यो भेडासिङको गुभाजू अर्थात् कालो बिरालो हुन्छ जसले डोर्‍याउँदै न्यारेटरलाई क्यालिग्राफर कृष्णमोचन मास्केकहाँ पुर्‍याउँछ। उसकी बहिनी मिस्टिकालाई भविष्यको ज्ञान हुन्छ। 
दाइको मार्केटर अर्थात् 'सिल्भिया'को कथाकारसँग आफ्नो जन्मदिनमा वीर्य लिएर अन्डा जन्माउँछे। अन्डा उधिनेर जन्मन्छ कालो बिरालो। कथा यस्तै छ। समग्रमा एउटा के लेख्दैछु थाहा नभएको तर उपन्यास लेख्दैछु भन्ने थाहा भएको पात्र नगरकोटीलाई कसरी उसका मानस पात्रहरूले लेखनका सहयोग गरे भन्ने किस्सा यसमा छ। 
अन्तिममा किताब र कथा एकसाथ सकिन्छ । अन्त्य त महाभारतको शहदेवको जस्तो छ। अन्त्य थाहा हुने तर केही गर्न नसक्ने प्रकृतिको।'मिस्टिका' जस्तो नामको रहस्यमय नाम राख्नु। अतिकल्पनाको संसारमा मान्छेलाई आत्महत्या गराएर मार्नु। जन्म, जीवन, मरण, परिवार, पुनर्जन्मजस्ता किस्सालाई असामाजिक टोन दिनु। 
मान्छेको विगत र आगत कतैबाट कन्ट्रोल्ड र गाइडेड छ भनेजस्तो आभास दिनु तर पनि त्यही नियतिको नाममा, रहस्यको नाममा, अज्ञात कन्ट्रोलको नाममा ईश्वरीय सत्तामा समर्पित नहुनु यो उपन्यासको खासियत हो। मानवीय सिर्जनात्कता र कल्पनाशीलतालाई ईश्वरभन्दा महान् ठान्नु उनको यो उपन्यासको महत्वपूर्ण पाटो हो।
अन्त्यमा अप्रासंगिक एउटा कुरा। साहित्यमा 'मूलधार' भन्ने कुनै शब्द हुँदैन। कुमार नगरकोटीलाई 'मेनस्ट्रिम माफिया' भनेर यही किताबमा उल्लेख गरिएको छ। यो सरासर नाजायज दोषारोपण÷आत्मारोपण हो।

२०७२ आस्विन २ शनिबार

Published at:
http://archive.annapurnapost.com/News.aspx/story/19387?_REQUEST=News.aspx/story/19387