Contact Form

Name

Email *

Message *

Saturday, August 1, 2015

एक सादगीको महाप्रयाण


एपिजे अब्दुल कलामले धरतीवासीका लागि कुनै अनौठो आविष्कार गरेका होइनन्। एक वैज्ञानिक हुन्, तर उल्लेख्य होइनन्। उनका कामले भारत देशमात्रको हितमा योगदान गरेको होला, समग्र विश्वकै लागि उनको योगदान केही होइन। उनका नाममा प्रकाशित भएका दुई दर्जन हाराहारीका प्रेरक पुस्तकका गुदी भनिएका कुरा कुनै नवीन दर्शन होइनन्। शिव खेरा वा रोबर्ट कियोसाकी मार्काका किताबमा पाइने समान्तान्तर कुरा नै हुन्। तर पनि किन यतिबिघ्न पपुलर छन् त अब्दुल कलाम? कलामले आखिर मलाई के दिए जसको सम्झनामा म यो आलेख लेख्दै छु!
हामी सबैले चिठी लेखेपछि अन्तिममा धेरैपटक लेख्यौं 'योर्स सिन्सर्ली' वा 'योर्स फेथफुल्ली'। हामीलाई चिठी लेख्न सिकाउने मास्टरले यतिमात्रै सिकाए तर, त्यो 'सिन्सर्ली' या 'फेथफुल्ली' शब्दको अर्थ 'इमानदार' हुन कति गाह्रो छ भन्ने कहिल्यै सिकाएनन्। चिन्दै नचिनेको म्यानेजरलाई लेख्ने निवेदनमा पनि 'सिन्सर्ली' या 'फेथफुल्ली' लेखेर हामीले स्वयं इमानदारीकै खिल्ली उडायौं, उडाउँदै छौं। संस्कार नै बनायौं, इमान्दारी र नैतिकता खिल्ली उडाउने कुरा हुन्।

यही इमानदारी र नैतिकताका खातिर म अब्दुल कलामलाई सम्झन्छु। उनी त्यस्ता इमानदार मान्छे हुन्, जो इमानदारी लेख्दैनथे मात्र, बोल्दैनथे मात्र, खाँटी इमानदार भएर बाँच्थे, इमानदार बाँच्न प्रेरित गर्थे। रवीन्द्रनाथ टैगोरपछिका सर्वाधिक इमानदार मान्छे यिनै हुन्, स्वयं महात्मा गान्धीभन्दा पनि इमानदार। पश्चिममा मलाई साँच्चैको इमानदार लाग्ने मान्छे लियो तोल्सतोयमात्रै हुन्।

उनको मृत्यु सादगीको अन्तिम संस्करण हो भारतीय उपमहाद्वीपको। सुराइ, छाता र ट्याम्का बोकेर बालुवाटार छिर्ने प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको अवसानपछि जसरी नेपालमा एउटा सादगीको इमानदार अध्याय सकिएको थियो, अब्दुल कलामको देहावसानपछि भारतमा त्यस्तै भएको छ। पूरै महाद्वीपमा त्यस्तै भएको छ।

राष्ट्रप्रमुख हुँदाका बखत आलिसान राजप्रासाद भवनको शयन कक्षमा भित्तामा लुंगीमात्रै झुन्ड्याउने योगीजस्ता मान्छे थिए, उनी। उनी राष्ट्रपति रहँदा राजप्रसादको शयनकक्ष ठिक त्यस्तै साधारण थियो जस्तो कुनै मध्यमवर्गीय दक्षिण भारतीय नागरिकको हुन्छ। भित्तामा काँटी गाडेर लुंगी झुन्ड्याइएको र त्यसको तल विणा राखेको देखेर भावुक भएको प्रसंग उनका मित्र कस्तुरीरंगनले एक अन्तरवार्तामा सम्झेका छन्।

सबैलाई थाहा नहुन सक्छ, राष्ट्रपति भएपछि राजप्रासादमा पहिलो अतिथि बनाएर कलामले कसलाई बोलाएका थिए? उनले बोलाए— आफूले जुत्ता सिलाइमाग्ने चमार र कर्मचारी छँदा यदाकता खाना खान जाने सानो होटलको मालिकलाई। तिनीहरूलाई खाने टेबलको मुख्य आसनमा बसाए, डिनर खुवाए र सत्कारसहित बिदा गरे। तर त्यसको हल्ला गरेनन्। कतिले त चालसम्म पाएनन्।

मलाई सदैव अचम्म लाग्थ्यो, मद्रासको दुईकोठे फ्ल्याटमा सादगीपूर्ण जीवन बिताएका कलाम राष्ट्रपति भएपछि कसरी बसे हुनन् त्यो आलिसान भवनमा? आवास क्षेत्रमा भएका आधा दर्जनभन्दा बढी टेनिस कोर्ट, ओलम्पिक साइजको स्विमिङ पुल, स्क्वेस कोर्ट, पोलो ग्राउन्ड र नौ होल भएको गल्फ कोर्सको हालत कस्तो थियो होला? १३० हेक्टरको मुगल बगैंचा के भएको थियो होला? दुईदुई वटा सिनेमा हल र ३४५ वटा कक्षहरूको के बिजोग भएथ्यो होला? बिचरा, यी सब कति लालायित थिए होलान् ती सादगी पुरुषको स्पर्श पाउन?

हुन त ८३ बर्षको आयु छोटो होइन। तर आयु लामो, छोटो र औसत भन्ने कुरा बाँच्ने मान्छेमा भर पर्छ। ८३ वर्षकै किन नहोस्, सक्रिय जीवन लामो हुँदैन। यो अवधिमा उनले अद्यावधिक भएर बाँचे। कवितै लेखेनन् तर कविझैं उत्पादको ऊर्जा बोकेर बाँचे। विज्ञानमा प्रयोग खोजेर बाँचे। राजनीतिक भूमिकामा नीति खोजेर बाँचे। यति जिन्दगी बाँचिरहँदा कति छोटो भयो होला यो आयु? एउटै जीवन बाँच्दा त छोटो लाग्छ यो आयु। तथापि इमानदार मान्छेहरू आयु बाँच्दैनन्; जति बाँच्छन् पूरापूर बाँच्छन्।

डा. एपिजे अब्दुल कलामका लागि शब्दकोशमा प्रचलित विशेषणहरूबाट हुने तारिफ फिक्का लाग्छन्। जसरी प्रेमको अगाडि, मानवीयताको अगाडि, धार्मिकताका अगाडि, समर्पणको अगाडि, उत्साहको अगाडि आउने विशेषणहरूको खास मूल्य हुँदैन; अब्दुल कलामको अगाडि आउने 'भारत रत्न, राष्ट्रपति, डाक्टर वा वैज्ञानिक' जस्ता शब्दको हालत त्यस्तै हुन्छ।

अब्दुल कलामलाई धेरैले उनी राष्ट्रपति भएपछि चिने। तर भारतीय विद्यार्थीहरूका माझ उनी राष्ट्रपति हुनुअघि, हुँदाका बखत र अवकासपछि पनि उत्तिकै प्रिय र पहुँच्य रहे। जुनसुकै शैक्षिक संस्थाले बोलाए पनि उनी दौडेर पुग्थे। उनका बारेमा अनेकानेक रमाइला किस्सा सुन्न पाइन्छ। सम्भवतः बच्चाबच्चीमाझ लोकप्रिय 'चाचा' (जवाहरलाल) नेहरूपछि भारतीय नेताहरूमा सर्वाधिक एनेक्डोटल उनै हुन्। उनका एनेक्डोट निर्मित थिएनन्, प्राकृत थिए। स्वभावजन्य थिए।

उनी अनौठा चराप्रेमी थिए। चराहरूप्रति कतिसम्म भावुक थिए भने राष्ट्रिय सुरक्षासम्बन्धी रिसर्च गर्ने डिफेन्स रिसर्च एन्ड डेभलपमन्टको कार्यालयको कम्पाउन्ड वालमाथि सिसाका टुक्रा ओछ्याउन उनले रोक लगाए। उनी त्यसका डाइरेक्टर थिए। तर्क थियो, धारिलो सिसा माथि राखेर पर्खाल बनाउँदा चराहरूलाई बस्न मिल्दैन। उनकै ढिपीका कारण सुरक्षा संवेदनशील क्षेत्रको कम्पाउन्ड भए पनि आखिरमा सिसाका टुक्रा नराखीकन पर्खाल लगाइएको थियो।

उनलाई निजी सुरक्षाको कुनै फिक्री थिएन। राज्यले नकार्न नदिने अति साधारण सुरक्षाका बीच वेपरबाह घुम्थे। जुन दिन उनी राष्ट्रपति हुने पक्कापक्की भएको थियो उनी स्थानीय विद्यालयमा प्रवचन दिँदै थिए। फितलो सुरक्षा व्यवस्था थियो। करिब चार सय विद्यार्थीमाझ घेरिएर उनले माइक (लोडसेडिङ भएकोले), पिनड्रप साइलेन्समा विद्यार्थीलाई कुरा सुनाए।

राष्ट्रपति हुँदाकै दिन अविवाहित यिनले आफ्नो पूरै सम्पत्ति एउटा ट्रस्टलाई दिएका थिए, जसले विकट ग्रामीण इलाकामा सहरी सुविधा पुर्यातउने काम गर्छ। उनले त्यति बेला भनेका थिए, 'राष्ट्रपति भइसकेपछि मेरो बाँकी जीवन राज्यले हेर्छ। मलाई यो सम्पत्तिको के काम?'

विद्यार्थी भन्नेबित्तिकै हुरुक्कै हुन्थे उनी। बारम्बार भन्थे, 'मलाई शिक्षक भएर बाँच्न नपाएकोमा थकथकी लाग्छ।' यो थकथकीलाई मेट्न यो वा त्यो बहानामा विद्यालय, कलेज वा विश्वविद्यालयका कार्यक्रममा नरोकिईकन जान्थे।

एकपटक यस्तो भयो। भोलिपल्ट कुनै कलेजमा उनी प्रमुख अतिथि भएर जाँदै थिए। तर आयोजक सब दंगै परे जब उनीहरूले अब्दुल कलामलाई अघिल्लो रातमै कार्यक्रम स्थलमा देखे। केही विद्यार्थीहरू भोलिको तयारीका लागि काम गरिरहेका थिए। आश्चर्यचकित विद्यार्थीलाई उनले भने, 'म साँच्चैका मेहनती विद्यार्थीको अनुहार हेर्न चाहन्थेँ। त्यसैले अहिल्यै आएको।'

सम्पूर्ण भारतीय युवा जगतलाई जुरुक्कै उचालेर अध्ययन, आविष्कार र सिर्जनात्मकताका लागि उत्प्रेरित गर्नु भनेको सानो ऊर्जा र विश्वसनीयताले सकिने काम होइन। बजारमा 'करोडपति कैसे बनेँ' भनेर लेख्ने तर आफैंचाहिँ दरिद्र जीवन बाँच्नेहरू छन्। 'सुखी कैसे रहेँ' भनेर कुरा कोरल्ने दुख्याहा कुखुरा/कुखुरीहरू छन्। नेतृत्व विकासको तालिम र इन्सिपिरेशनल किताबको नाममा दुनियाँमा हजारौं जन्मेका छन्। तर सबैमा हजारौं युवाको हृदयलाई एकसाथ उचाल्न सक्ने उत्तोलक हुँदैन। मान्छेको उत्प्रेरणा तन्तुलाई उचाल्ने कुनै साधारण यन्त्र छैन। छ त मात्र इमानदारी।

उनी फेसनेबल होइनन्। तर पुर्ख्यौली विन्यासको कपालका कारण उनी सदैव चर्चामा रहे। लरक्क दुईतिर झारिएको लामो कपाल थियो उनको। कुशलतापूर्वक छाँटिएको कपालको घुर्मैलो कुनै श्वेत कविताको अन्त्यानुप्रासझैं लाग्थ्यो मलाई। एक जमाना थियो जापानका प्रधानमन्त्री जुनिकिरो कोइजुमी र कलामको हेयर स्टाइल खुब हिट थिए। यिनीहरूले 'सभ्य र सुसंस्कृत' भनिने हेयर स्टाइलको मापदण्ड भत्काइदिएका थिए। सुसंस्कृत हुनु र सभ्य हुनु सोचको कुरा हो, पहिरन र आउटलुकको होइन। यिनको कपाल देख्दा म गौतम बुद्धलाई जिन्स र टिसर्टमा उभिएको कल्पना गर्थे। जिन्स र टिसर्टमा पनि बुद्ध त बुद्धै हुन्थ्यो। शान्त अनि ज्ञानी। अब्दुल कलामको नमाझेका जस्ता लाग्ने पहेँलपुरे दाँत र टेढिएको जस्तो लाग्ने ओठको बीचबाट उब्रेर आउने मुस्कान जीवनपर्यन्त उनको ट्रेडमार्क भयो। निष्कपट, निर्दोष, इमान्दार।

उनले कुनै पनि ठाउँमा मानहानीको अनुभव गरेनन्। अमेरिकाले दुईदुई पटक उनीमाथि खेलाँचीपूर्ण अपमान गर्दा भारत बोल्यो तर उनी मुस्कुराए। पछि अमेरिकाले माफी माग्यो। उनमा कुनै प्रकारको अहम् थिएन। वाणारसीको एक युनिभर्सिटीको दीक्षान्त समारोहमा मञ्चमा पाँच कुर्ची थिए। डा. कलाम थिए, प्रमुख अतिथि। उनका लागि अरूभन्दा ठूलो, आरामदायी र विशेष कुर्सी राखिएको थियो भने बाँकी कुर्सी एकानासका थिए। कार्यक्रममा युनिभर्सिटीका दिग्गज विद्वान गुरुहरू थिए। जब उनलाई मञ्चस्थ हुन बोलाइयो, उनले आफ्नो लागि भनिएको कुर्सीमा बस्नै मानेनन्। पछि अरूको जस्तै कुर्सी व्यवस्था भएपछि मात्रै कार्यक्रम सुचारु भयो।

उनको एउटा भनाइ चर्चित छ, 'आफ्नो कामलाई प्रेम गर, कम्पनीलाई होइन किनकि तिमीलाई थाहा नहुन सक्छ— कहिले तिम्रो कम्पनीले तिमीलाई प्रेम गर्न छोड्छ।' समयमा काम सक्न, अबेरसम्म अफिसमा नबस्न, सदैव परिवार र साथीभाइलाई समय दिन उक्साउँथे उनी। आफू अविवाहित रहेका उनले अरूलाई दिनको लागि यो एउटा दर्शनजस्तै थियो।

यसको एउटा रमाइलो किस्सा पढ्न पाइन्छ। भारतीय सुरक्षा शोध केन्द्रको प्रमुख हुँदा एउटा कर्मचारीले छोराछोरीलाई महोत्सव घुमाउन लैजान उनीसँग छुट्टी मागेछन्। उनले दिए। तर ती वैज्ञानिक कर्मचारी काम गर्दागर्दै घर जानै भुलेछन्। जुन बेला ती कर्मचारीले समयको हेक्का गरे, ढिला भइसकेको थियो। गल्ती महसुस गरी डराइडराई घर पुगेका उनी तब चकित परेछन्, श्रीमतीले उनलाई बताइन् कि अब्दुल कलामले अघि नै आएर केटाकेटीलाई लिएर घुमाउन लगेका छन्। आफ्ना कर्मचारीलाई परिवारलाई समय दिन उक्साउने उनी अद्भूतका म्यानेजर थिए।

सिम्प्लिसिटी अर्थात् सादा जीवनका सयौं किस्सा छन्, उनका। डा. कलामले राष्ट्रपति हुँदैका बखत 'याहु आन्सर्स'मा एउटा प्रश्न पोस्ट गरेका थिए, 'आतंकवादबाट हाम्रो ग्रहलाई मुक्त पार्न के गर्नुपर्छ?' सामान्यता 'याहु आन्सर्स' विद्यार्थीहरूमाझ पपुलर छ। आफ्ना समस्याहरू राख्ने र अरूबाट त्यसको उत्तर पाउनका लागि यसको प्रयोग हुन्छ। सायद याहु आफैं दंग पर्यो। होला राष्ट्रपतिबाट प्रश्न सोधिँदा। सम्भवतः याहुको यो प्रश्न शाखाले पहिलोपटक यो उचाइको व्यक्तिको प्रश्न भेट्टायो, जसमा श्री श्री रविशंकर, किरण वेदी, लियन्डर पायसजस्ता सुप्रसिद्ध व्यक्तिहरूले कमेन्ट गरेका छन्।

विज्ञान र अध्यात्मका अलौकिक मिश्रण थिए, उनी। धार्मिक कट्टरताको पर्याय मानिने मुस्लिम धर्मावलम्बी भइकन पनि उनी गीता–कुरान सँगै बोकेर हिँड्थे। ल त कोही पोपले भन्दियोस्— मेरो सिरानीमुनि गीता, कुरान, बाइबल र धम्मपद पनि सँगै हुन्छ! कुनै १००८ अंकधारी मठाधीश पण्डितले वा कुनै इस्लामिक इमामले अथवा कुनै अवतारी लामाले घोषणा गरोस् कि— गीता कुरान, बाइबल र धम्मपदमा कुनै फरक छैन! यत्तिको मानवीयता र सहिष्णुता भइदिएको भए मान्छेले कहिल्यै लडेर खानुपर्थेन। असमानता भोग्नुपर्थेन। मानव सभ्यता र मानवीयताको विडम्बना के हो भने धार्मिक नेता भनेर चिनिनेहरू नै धार्मिक छैनन्, ठेकेदारमात्रै छन्। मान्छेको मानवीयता र यसमा अन्तरनिहित धार्मिकता बच्ने भनेको अब्दुल कलाम जस्तै गीता र कुरान सिरानीमुनी राखेर सुत्ने विज्ञानपुरुषका कारणले हो। मेरा लागि यिनी कुनै पोप, मुल्लाह, पण्डित वा दलाई लामाभन्दा महान् थिए र हुनेछन्।

जीवनको १५ वर्ष शिक्षक हुनुको गर्वानुभूति बाँचेको मलाई अब्दुल कलाम स्वयं आदर्शभन्दा पनि उच्च लाग्छन्। म मित्र महेशलाई सम्झेर बिट मार्छु, जसले अब्दुल कलामको मृत्युको खबर सुन्नेबित्तिकै मलाई समवेदना सन्देश पठाएको थियो। 'विश्वले मानवताको एउटा असल शिक्षक गुमाएको छ। राष्ट्रपति हुँदासमेत एपिजे अब्दुल कलामले जहिले पनि 'म त एउटा शिक्षकमात्र हुँ' भनिरहे। विद्यार्थीहरूको माझ आफ्ना कुरा राख्दाराख्दै उनले अन्तिम सास लिएका छन्। एउटा असल सहकर्मी गुमाएका तिमीलाई हार्दिक समवेदना छ।'

0 Comment:

Post a Comment

YouTube