Contact Form

Name

Email *

Message *

Z

Showing posts with label किताब. Show all posts
Showing posts with label किताब. Show all posts

Tuesday, November 5, 2019

छोयला खाँदै ‘सोताला’, अयला खाँदै ‘पैताला’


कुमार नगरकोटीलाई लेखनभन्दा पठन प्यारो छ । उनी विश्वसाहित्य र नेपाली साहित्यका नयाँनयाँ पुस्तक पढ्न सधैं लालायित हुन्छन् ।
यस्ता अध्ययनशील फिक्सन डिजाइनर नगरकोटीलाई मनपर्ने नेपाली पुस्तक कुनकुन होलान् ? जिज्ञासा स्वाभाविक छ ।
यही जिज्ञासा मेट्न नगरकोटीसँग भेट्ने सहमति भयो, पाटनढोकास्थित ‘पाटन बुक हाउस’मा ।
केही हिन्दी कविताका किताब छान्दै गरेका नगरकोटीले भेट्नेबित्तिकै सुनाइहाले– ‘जहाँ पुगे पनि पाटनका गल्ली र यो पाटन बुक हाउसमा नफर्की बस्नै सक्दिनँ ।’
हो, जहाँ पुगे पनि आफ्नो डेरा (उनी डेरालाई गुफा भन्न मन पराउँछन्) बालकुमारी फर्केपछि नगरकोटी एकचोटि ‘पाटन बुक हाउस’ पुगिहाल्छन् । दसैं मानेर गाउँबाट फर्कनेबित्तिकै पनि उनी बुक हाउस नै पुगेका रहेछन् ।
केही छिनपछि हामी किताबका कुरा गर्न नजिकैको क्याफेमा गयौं । उनले कडा रङको बाक्लो दूध चिया मगाए । कालो कमिजको बगलीबाट चुरोट निकालेर सल्काए । अनि सुरु भयो, किताबका कुरा ।
धेरै लामो कुराकानी गर्ने अनुकूलता मिलेन । छोटो बसाइमा उनले आफूलाई मनपर्ने पुस्तकका बारे भनेका कुराः
मलाई पछिल्लो समय मन परेका दुई किताब हुन्– ‘सोताला’ एण्ड ‘पैताला’ (सोताला डोरबहादुर विष्टको उपन्यास हो, पैताला गनेस पौडेलको ।) कुरा गरौं सोतालाबाट ।

सोतालाः छोयला खाँदै पढ्ने किताब

चर्चा कम भए पनि उम्दा आख्यान हो सोताला । समाजशास्त्री डोरबहादुर विष्ट बडो मज्जाका कथा लेख्छन् । यो उपन्यासचाहिँ अदृश्य (इनभिजिबल) जस्तो भयो । तर, तपाईंले प्राचीन काठमाडौं खोज्न सक्नुहुनेछ यसमा । काठमाडौंको आत्मा भेट्नुहुन्छ । अनि तिब्बती (भोट) इलाकामा भ्रमण गर्न सक्नुहुनेछ । अलौकिक भौगोलिक परिभ्रमण गर्न सक्नुहुनेछ ।
डोरबहादुर विष्टले लेख्नु नै सोतालाको दुर्भाग्य भयो । तर, तपाईं यसमा नेपाली व्यापारी र तिब्बती युवतीको प्रेम पाउनुहुन्छ । यसरी नेपाली र तिब्बतीबाट जन्मेको बच्चालाई सोताला भनिँदोरहेछ । रियलिस्टिक उपन्यास सोताला ओभर स्याडोड भयो । अर्थात् डोरबहादुर विष्टको समाजशास्त्री, मानवशास्त्रीको परिचयले यसलाई थिच्यो ।
इतिहास पढ्नेलाई यो किताब उपयोगी हुन सक्छ । राणाकालीन जनजीवन बुझ्न पनि सोताला उपयुक्त हुन सक्छ । मलाईचाहिँ पुरानो काठमाडौंको झल्को दिने उपन्यास भएकाले यो मन परेको हो । सुन्दर उपन्यास सोतालालाई तिख्खर छोयला खाँदै पढ्न रुचाउँछु ।
(समाजशास्त्री डोरबहादुर विष्टद्वारा लिखित उपन्यास सोताला साझा प्रकाशनले २०३३ सालमा छापेको थियो । यसको दोस्रो संस्करण हिमाल बुक्स प्रालिले २०६७ सालमा प्रकाशन गरेको छ ।)

पैतालाः अयला खाँदै पढ्ने किताब

अयला वा जुनसुकै मात दिने पेयको पेग लिँदै तपाईं पैताला पढ्न सक्नुहुनेछ । स्टोरी टेलिङको मनोटोनस शैलीलाई यसले भत्काएको छ । अर्थात् एकनासको दिक्क लाग्ने गरी कथा भनिएको छैन । परम्परागत कथा वाचन यसमा छैन । यसमा जो कल्पनाशिलता छ, त्यसलाई आफ्नो शैलीमा ढाल्न सक्ने सामथ्र्य गनेस पौडेलमा छ । क्राफ्टम्यानसिप छ ।
पछिल्लो दशकको सुन्दरतम साहित्यिक प्राप्ति हो ‘पैताला’ । उपन्यासमा गरिने प्रयोग पनि सुन्दर हुन्छ भन्ने उदाहरण हो पैताला । गनेस स्वयम् पनि एकल–यात्रीजस्तो लाग्छ मलाई । उपन्यास लेख्ने मान्छे यस्तै हुन्छ शायद । आफ्नै लयमा हिँड्न रुचाउने । यसर्थ ऊ दुर्लभ मान्छे हो ।

केही रहस्य, केही खोज ‘पैताला’मा पाउनुहुनेछ । मैले धेरै मानिसलाई प्रेमपूर्वक उपहार दिएको किताब पैताला नै हो । यसर्थ म अयला खाँदै ‘पैताला’ पढ्न रुचाउँछु ।
(बुक हिलले प्रकाशन गरेको उपन्यास पैताला २०७४ सालमा बजारमा आएको थियो । आख्यानकार गनेस पौडेलको यो पहिलो उपन्यास हो ।)
प्रकाशित https://shilapatra.com/detail/13263

Sunday, July 28, 2019

पठन वार्ता

पठन वार्ता

‘पैताला’ पुस्तकका लेखक गनेस पौडेलसितको फुर्सद-गफ यहाँ प्रस्तुत छ 
कत्तिको फुर्सद हुन्छ ?
जत्तिको जनावर, चराचुरुंगी, जलचर वा रूखहरूलाई हुन्छ।
के गर्नुहुन्छ फुर्सदमा ?
अहिले मेरो कामै पढ्ने, लेख्ने, सिनेमा हेर्ने मात्रै छ। त्यसबाट छोटो फुर्सद निस्क्यो भने छोरीसँग खेल्छु, लामै निस्क्यो भने घुम्न निस्कन्छु।
 कस्ता किताब, संगीत, सिनेमा रुचाउनुहुन्छ ?
यस्तै भन्ने छैन, सबै खाले किताब मन पर्छन्। दिउँसो एक झमट नाच्ने बानी छ। त्यसका लागि नेपाली पुराना लोकगीत वा अमेरिकी कन्ट्री संग्स् बजाउँछु। बेलुका हरिप्रसाद चौरसिया, रवि शंकर, ल्याङ्ल्याङ, जाकिर हुसैन आदिका वाद्यवादन सुन्दै सुत्छु। सिनेमा त झन् सबै खाले मन पर्छन्।
 पछिल्लो पटक पढेको किताब ?
फ्रस्फ्वा वोर्गिनियनको ‘द ग्लोबलाइजेसन अफ् इनइक्वलटी’।
पछिल्लो पटक हेरेको सिनेमा ?
प्रशान्त बर्माको ‘अ’।
‘अ’ कस्तो सिनेमा हो ? किन मन पर्‍यो ?
मनोवैज्ञानिक थ्रिलर हो। बहुव्यक्तित्वको द्वन्द्व प्रस्तुति गज्जब छ।
सिरानीमा किताब ?
रोबट्र्सद्वय जोन वि. र एलिजाबेथ ए. लिखित ‘फ्रिइङ् टिबट ः फिफ्टी इअर्स अफ् स्ट्रगल, रिजिलियन्स एन्ड होप’। तिब्बती शरणार्थीबारे उपन्यास लेखिरहेको हुनाले सन्दर्भका लागि पढ्दै छु।
हातमा भएको किताब ?
रवीन्द्र समीरको ‘मृत्युको आयु’।
थाती राखेको किताब ?
जर्ज सौन्डर्स्को ‘लिंकन इन द बार्डो’।
धेरै पल्ट पढेको किताब ?
महाभारत।
 पहिलो (बच्चाको) किताब ?
‘कृष्ण चरित्र’। हजुरआमा र काकीका लागि पढियो। आफ्नै लागि पढेको गोर्कीको ‘आमा’।
 धेरैपल्ट उपहार दिएको किताब ?
युभल नोह हरारीको ‘स्यापियन्स : अ ब्रिफ् हिस्ट्री अफ् ह्युमनकाइन्ड’। बुद्धिसागरको ‘कर्णाली ब्लुज’, नगरकोटीको ‘मिस्टिका’, नयनराज पाण्डेको ‘घामकीरी’, अमर न्यौपानेको ‘पानीको घाम’।
धेरैपल्ट उपहार पाएको किताब ?
रुमीको ‘लभ पोअम्स्’, खुसवन्त सिंहको ‘द कम्पनी अफ् विमिन’।
 पढ्न मन लागेर नपाएको किताब ?
सल्मान रुस्दीको ‘द सटानिक भर्सेस्’। साथी सर्कलमाझ कुरा हुँदा अहिलेसम्म पढेको छैन भन्दा लाजै लाग्छ।
कहाँ किन्नुहुन्छ ?
प्रायः पोखराको हिमालयन रिडर्स कर्नरमा। काठमान्डु जाँदा एड्युकेसनल बुक हाउसमा।
कसरी किन्नुहुन्छ ?
पसल गएर। अनलाइनबाट त उपहार मात्रै पठाउँछु।
समीक्षाहरूमा विश्वास छ ?
पढेका किताबका समीक्षा मात्रै पढ्छु र फिस्स हाँस्छु।
पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् लाग्छ कि सकेसम्म नभेटून् ?
राम्रा किताब राम्रा मान्छेलाई पढाउन मन लाग्छ। उपहार दिन्छु वा फोन गरेर पढ्न सुझाउँछु।
पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?
लाग्छ तर आफैं पनि लेखक भैटोपलेको हुनाले थोरै डर, धेरै दया जाग्छ र लेख्दिनँ।
पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?
मैले पढेको किताब ‘सेकेन्ड ह्यान्ड’ पसलले पनि किन्दैन होला। केरकारले ध्वस्तै हुन्छ।
किताब धेरै मन परे के गर्ने बानी छ ?
नेपाली रहेछ भने टाइप गर्थें। अरू भाषाको रहेछ भने अनुवाद गर्थें। तर यो मजस्तै अनियमित छ।
अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
घरमा। मुड चले पढ्छु, नत्र सिनेमा हेर्छु।
यहाँसँग भएको दुर्लभ पुस्तक ?
छैनन्। केही समय अघिसम्म सेल्डन वी. कोपको ‘इफ् यु मिट द बुद्ध अन द रोड, किल हिम !’ लाई दुर्लभ ठानी बसेको थिएँ। अचेल जतासुकै पाइँदो रहेछ।
 राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
राष्ट्रपतिलाई फिट्जराल्डको ‘द ग्रेट ग्याट्स्बी’। प्रधानमन्त्रीलाई खुशवन्त सिंहको ‘द बिग फ्याट जोक बुक’। पुष्पकमल दाहाललाई मेरै किताब ‘पैताला’। शेरबहादुर देउवाले दैनिक पत्रिकासम्म पढिदिए हुन्थ्यो।
किनेको सबैभन्दा महँगो पुस्तक ?
भागवत गीता। विशेष प्रकाशन भएको हुनाले महँगो पर्‍यो।
बढ्ता होहल्ला भएको औसत पुस्तक ?
फ्वाँक्कैमा अपजस किन खेप्नु ?
कम होहल्ला भएको गज्जबको पुस्तक ?
फर्नान्डो पेसोआको ‘द बुक अफ् डिस्क्वाइट’। उनका कविताहरू पनि शानदार छन् तर कमै चर्चामा छन्।
रोजाइमा साहित्य कि गैरसाहित्य ?
लेख्नमा साहित्य, पढ्नमा गैरसाहित्य।
आख्यान कि गैरआख्यान ?
लेख्नमा आख्यान, पढ्नमा गैरआख्यान।
 कुन लेखक पढ्न चाहनुहुन्छ ?
भेटेजति भ्याएजति सबै। पुरानाभन्दा समकालीन लेखकमा रुचि छ। प्रायः सबै नेपाली लेखकका नयाँ रचना पढ्छु। युभल नोह हरारी, जरेड डायमन्ड, स्टेफन हकिन्स्, टमस पिकेटीका किताब रिडिङ टेबलमा सधैं हुन्छन्।
Published at:
http://annapurnapost.com/news/133142

Saturday, August 26, 2017

मिलान कुन्देराको 'ठट्टा'

-- अभय श्रेष्ठ


तपाईंले असाध्यै प्रेम गरेकी केटी १५ वर्षपछि एक्कासि भेटिई भने कस्तो होला? त्यो पनि सैलुनमा तपाईंकै सेवा गरिरहेको स्थितिमा? मिलान कुन्देराको उपन्यास 'जोक' यस्तै पे्रममय हार्दिक वर्णनबाट अगाडि बढ्छ। यो, त्यस्तो मनमोहक उपन्यास हो जुन पढ्दा नयाँ प्रेमिकासँग लामो सहयात्रा गर्न पाएझैँ लाग्छ। आरोन असरले अंग्रेजी अनुवाद गरेको ३१७ पृष्ठको उपन्यास जति पढ्यो त्यति रहस्य र हार्दिकताको पोयो फुक्दै जान्छ। (उपन्यासको पहिलो भाग पढिसकेपछि म कति डुबेँ भने अगाडि अक्सफोर्ड एड्भान्स्ड लर्नर्स डिक्सनरी राखेर लगातार १६ घन्टा पढिरहेँ)।
लुसीको उदास कथा

१५ वर्षपछि लुडभिक जान प्रागबाट कुनै कार्यक्रमका लागि मातृसहर मोराभिया आउँछ। ऊ दाह्री काट्न नाउकहाँ जान्छ। एउटी केटी उसको दाह्री काट्न थाल्छे। केटीलाई ऐनाबाट देख्दा झसंग हुन्छ। के यो उसकै प्रेमिका हो? त्यसो त त्यसको अनुहारमा पहिलेजस्तो झरिलो बहार थिएन। केही मोटी भएकी थिई र अनुहार फुस्रो भएको थियो। तर, त्यसको सातो गएजस्तो लाग्ने जुन अनुहार थियो, त्यो पनि एउटा प्रमाण थियो। त्यसले ऊसँग फेरि आँखा जुधाइन। सबै कुराबाट उदास भएर टोलाउन थाली। पैसा लिँदा पनि ऊतिर हेरिन जसका कारण लुडभिकले बोल्ने मौका पाएन। साथी कोस्तकालाई सोध्यो, 'मेरो दाह्री काट्ने केटीको नाम लुसी सेबेत्का हो?'

'त्यो यस सहरमा अर्कै नामले चिनिन्छे,' कोस्तकाले भन्यो, 'तर उसको खास नाम त्यही हो। कसरी चिन्यौ?'

अस्ट्रभा सहरमा भेटिएकी लुसी कति दुःखी, उदास तर प्यारी थिई! ऊ एक्कासि त्यहाँबाट गायब भएकी थिई। त्यसबेला रुसमा अत्यन्तै प्रसिद्ध फिल्म 'कोर्ट अफ अनर' हेर्ने क्रममा सिनेमा हलमा भेटिएकी थिई। लुडभिक त्यससँग एकतर्फी प्रेम गर्न थाल्यो। सानैमा बाबु गुमाएको लुडभिक धनी व्यापारीकी पत्नी बनेकी फुपुका कारण बुर्जुवाविरोधी बन्यो। ऊ कम्युनिस्ट पार्टीको सदस्य बन्यो। आफ्नी सहपाठी मार्केटालाई पोस्टकार्डमा अनेक दर्शन छाँटेर दिन थाल्यो। एकपल्ट उसले लेखेको थियो, 'आदर्श जनताको अफिम हो। स्वस्थ वातावरण आफै दुर्गन्धित छ। ट्रात्स्की जिन्दावाद!' मार्क्सले त धर्मलाई अफिम भनेका थिए। के लुडभिकको अभिव्यक्ति पार्टीविरुद्ध छैन? किन छैन? विचरा उसले त केटीलाई आकर्षित गर्न ठट्टास्वरूप यस्तो लेखेको थियो। पार्टीबाट मात्र होइन, ऊ विश्वविद्यालयबाटै अपमानपूर्वक निकालियो। उसलाई सुधार्न सेनामा भर्ती गरियो र अस्ट्रभाको खानीमा कडा काम लगाइयो। आमा मर्दा पनि घर जान पाएन। यसै क्रममा मरुभूमिमा मरुद्यानजस्तै भेटिएकी थिई लुसी। कुनै कारखानामा काम गर्ने त्यो केटी गरिब, दुःखी, मायालाग्दी, राम्री र इमानदार थिई।

सेनाको कमान्डर असाध्यै कडा थियो। ऊ लुडभिकलाई बिनादोष बारम्बार सजाय दिन्थ्यो। दुई महिनापछि बल्ल छुट्टी पाएको लुडभिकले लुसीलाई उसकै कोठामा भेट्यो। कोठा निकै सजाइएको थियो। उसलाई लाग्यो, लुसी भव्य समारोहबीच आफ्नो कुमारित्वलाई बाईबाई गर्न चाहन्छे। उसले लुसीलाई खाटतिर तान्यो। अचम्म, लुसी आफूलाई जोगाउन भिडन्त गर्न थाली! समर्पणका बेला केटीले गर्ने त्यो, सामान्य नाटकमात्र थिएन, साँच्चिकै भिडन्त थियो। उसले फकायो, केही सफल पनि भयो। लुसी फेरि संघर्षमा उत्रिई। तेस्रो प्रयासमा शान्त भई। 'मैले उसको स्कर्ट फर्काइदिएँ र घुँडाभन्दा आठ वा नौ इन्च माथि किस पनि गरेँ', लुडभिक भन्छ, 'त्यसपछि उसले एक लाइन पनि माथि उक्लिन दिइनँ।' केटीले अर्को कुनै दिनको भाका राखी। लुडभिकले एउटा मजदुरको घरमा व्यवस्था मिलायो। नभन्दै लुसी आई । लुडभिक भागेर त्यहाँ पुग्यो। केटी थरथर काँप्न थाली। लुडभिक यसपालि पनि सफल भएन। केटीले रुँदै भनी, 'तिमी मलाई माया गर्दैनौ, मात्र भोग्न चाहन्छौ।' वाक्क भएर लुडभिकले उसलाई बाहिर जाने अनुमति दियो।

केही दिनपछि उसलाई आफ्नो गल्ती महसुस भयो र लुसीलाई भेट्न गयो। लुसी सहर छाडेर हिँडिसकेकी थिई। कता गई? कसैलाई थाहा भएन।

लोककथाकी नायिका

पश्चिमी बोहेमियाको एउटा फार्म हाउसमा अचम्मको कथा सुनियो। एकपल्ट युवकहरूले परालको कुन्युबाट अन्दाजी २० वर्षे युवती निस्केर जंगलतिर दौडँदै गएकी देखे। हेर्दाहेर्दै त्यो अलप भई। अर्कोपल्ट एक महिलासँग त्यसले रोटी मागी। महिलाले सोधिन्, 'कहाँ जाँदैछ्यौ नानी?' केटीले भनी, 'मेरो बाटो लामो छ। मैले आफूसँग भएको सबै पैसा हराएँ।' एउटा गोठालो माथि पहाडमा रोटी, नौनी र दूधको जग रुखमुनि राखेर भेडाको बथान धपाउन गयो, फर्कंदा ती सब गायब थिए। केटाकेटीका लागि त्यो अब किंवदन्तीकी नायिका भई। उनीहरूले त्यसको नामै राखिदिए, भ्यागाबन्डेला। घरबारविहीन केटी। उनीहरू पोलेको आलु र अरु खानेकुरा एक भाग त्यसका लागि छुट्याउँथे र हरेक पल्ट बेग्लाबेग्लै ठाउँमा राख्थे। भोलिपल्ट सधैँ त्यो खानेकुरा त्यहाँ हुँदैनथ्यो।

यो जादुमय कथा धेरै लम्बिन पाएन। फार्म हाउसका निर्देशक र जिल्ला राष्ट्रिय समितिका अध्यक्षले निरीक्षणका क्रममा एक दिन एउटा कोठामा पुरानो ब्याग, त्यसभित्र थोत्रा केही कपडा र चिठी भेटे। चिठी कसको नाममा थिए? ढिलोसम्म उनीहरू चियो गरेर बसे। केटी फेला परी। हरे त्यो दुःखी त हाम्रै प्यारी लुसी पो थिई! फार्महाउसको प्रबन्धक बनेको धर्मभीरु कोस्तकालाई उसले सबै बताइ। उसको घर चेबमा थियो। बाबु सानैमा बिते। आमाले अर्को बिहे गरिन्। सौतेलो बाबु र आमा उसलाई सधैँ कुट्न थाले। ऊ घर छाडेर केही आवाराको समूहमा पुगी। १६ वर्ष पुगी। केटाहरू २० देखि १६ सम्मका थिए। एक दिन रक्सी खाएर समूहको नाइकेले उसलाई लुगा फुकाल्न आदेश दियो। ऊ रुन थाली। ऊ त यिनीहरूलाई नै आफ्नो संरक्षक ठान्थी। त्यसले बलात्कार गर्योो। त्यसपछि उमेरअनुसार पालैपालो तिनीहरू ऊमाथि खनिए। कान्छोको पालामा प्रतिकार गरी। त्यसले उसलाई मुखमा जथाभावी मुक्का हान्यो र अझ बढी क्रूरतापूर्वक बलात्कार गर्यो । यो क्रम नियमित चल्न थाल्यो। यसै क्रममा चोरीका सामानसहित तिनीहरू प्रहरी फन्दामा परे। केटाहरू जेल परे। केटीलाई सुधारालय राखियो। ऊ इमानदार थिई, यसकारण चाँडै नै मुक्त भई। इमानदारी पनि कस्तो अभिशाप! अब ऊ कहाँ जाओस्? त्यसपछि ऊ ओस्ट्रभा पुगी र कारखानामा काम गर्न थाली।

ऊप्रति एउटा सिपाही आकर्षित भयो जसले उसलाई बलात्कारको प्रयास गरेको थियो। त्यसो त ऊ पनि त्योसँग एक्लै कोठामा ढोका बन्द गरेर बसेकी थिई नि! के ऊ त्यसलाई प्रेम गर्थी? अँहँ, आफ्नो जीवनको शून्यताबाट वाक्क भएरमात्र उसले त्यसको संगत स्वीकारेकी थिई।

लुसीबारे फार्म हाउसमा धेरै प्रश्न उठ्छन्। सुधारालयमा, ओस्ट्रभामा कारखाना र डर्मिटरीमा पनि उसको रेकर्ड राम्रो थियो। ओस्ट्रभामा केबल एकपल्ट चिहानबाट फूल चोर्दै गर्दा समातिएकी थिई। फार्म हाउस उसलाई सुरक्षामात्र दिँदैन, काम र माम पनि दिन्छ। कारखानामा सबैजना ऊप्रति असल व्यवहार गर्छन्। खालि कहिलेकाहीँ जिस्कँदा उसको विगत कोट्याइदिन्छन्। लुसी आफूलाई दोषी महसुस गर्र्छे।

कुनै दिन उसले आवारा समूहलाई विश्वास गरेकी थिई। ती अत्यन्तै क्रूर साबित भए। तिनीहरूको पनि साथ छाडेपछि कहाँ जाने? यस कारण तिनीहरूका लागि 'स्कर्ट खोलिदिएकी' थिई। पछि केटाहरूलाई बानी लाग्यो। तिनीहरू उसलाई निलडाम हुनेगरी कुट्न पनि थाले। प्रहरीसामु उल्टै उसलाई चेबकै कलंक भन्न थाले। यस कारण उसलाई सुधारालय पठाइएको थियो। व्यवस्थाद्वारा सताइएको दुःखी लुडभिक पनि तिनै चोरजस्तै क्रूर थियो। हरेकपल्ट ऊ लुसीको 'कुमारी बैँस' भंग गर्न चाहन्थ्यो। दुःखी मनको शून्यताबाट थाकेर संगत स्वीकार्नु बेग्लै कुरा हो, नत्र लुसी त्यसलाई पनि प्रेम गर्दिनथी।

पादरीको छोरा कोस्तका प्रागको एउटा विश्वविद्यालयमा प्राध्यापक थियो। ईश्वरमाथि उसको आस्था थियो। आन्दोलनका क्रममा उसले कम्युनिस्ट विद्यार्थीलाई साथ दिएको थियो। कम्युनिस्ट सत्तामा आएपछि उसको आस्थाबारे प्रश्न उठाउन थालियो। लुडभिक उसको पक्षमा उभियो। कोस्तकाले त्यहाँ राजीनामा गरेर पश्चिमी बोहेमियाको फार्म हाउसमा प्रबन्धकका रूपमा काम थाल्यो। लुसीलाई उसले ठूलो सहयोग गर्योा। नैतिक बल दिएर उसैले जीवनप्रति आशा जगाइदियो। आइमाईहरू सदैव प्रेम चाहन्छन्। त्यसको बदला उनीहरू कैयौँ गुणा बढी पे्रम दिन्छन्। अनन्त दुःख र त्रास भोगेकी एउटी केटीलाई यस्तो आत्मीयता पाएपछि के चाहियो? ऊ कोस्तकालाई प्रेम गर्न थाली। उसैसँग समर्पित पनि भई। कोस्तकाका एक छोरा र ऊभन्दा छ वर्ष जेठी स्वास्नी प्रागमा थिए। यसैबीच सरकारले फार्म हाउसको डाइरेक्टरमाथि अनेक अभियोग लगायो, जसको प्रमुख तारो थियो धर्मभीरु कोस्तका। निर्देशकले उसको बचाउ गर्योो। तर, यी सब सहन कोस्तका तयार भएन। राजीनामा गरेर ऊ मोराभिया पुग्यो जहाँ लुडभिकको सहयोगले एउटा अस्पतालमा काम गर्न थाल्यो।

लुसीले बिहे गरी। लोग्ने सहरमा कुनै व्यवसाय गर्न चाहन्थ्यो। यस कारण उसले फार्म हाउसको काम छाड्नुपर्योो। उनीहरू मोराभिया आए जहाँ लुसीले हेयरड्रेसिङको काम थाली। लोग्ने दुष्ट पर्योल। लुसीमाथि त्यो अत्यन्तै क्रूर व्यवहार गर्थ्यो। अभागी लुसीले कहिल्यै सुख पाइन। तर, अब ऊ कोस्तकालाई आफ्नो दुःख सुनाउँदिनथी किनभने कोस्तका दुःखी भएको ऊ हेर्न सक्दिनथी। साँच्ची ऊ किन मोराभिया आएकी थिई? बिहे अरुसँगै गरेकी थिई, तथापि ऊ कोस्तकालाई नियमित सुन्न, भेट्न र हेर्न चाहन्थी। कठै लुसीको प्रेम!
लुडभिक, हेलेना र जेरोस्लाभ
सेनामा सजाय सकिएपछि लुडभिकले विज्ञानमा डिप्लोमा गर्योक र अनुसन्धानमूलक संस्थामा वैज्ञानिकको राम्रो जागिर भेट्यो। लुडभिकको सहपाठी पाभेल जेमानिककी स्वास्नी हेलेना प्राग रेडियोमा रिपोर्टर थिई। लुडभिकसँग उसको हिमचिम बढ्यो। मोराभियाको एउटा समारोहमा रिपोर्टिङका लागि पुगेकी हेलेनाको शरीरसँग लुडभिकले खुब खेल्यो। पाभेलले हेलेनालाई छाडिसकेको थियो। उसले भर्खरकी केटीलाई कान्छी बनाएको थियो। लुडभिकसँगको सम्बन्धले हेलेना खुसी भई। तर, लुडभिकले यो सबै बिर्सिदिन आग्रह गरेपछि ऊ ज्यादै निराश भई। उसले बिष पिई। खबर पाउनेबित्तिकै लुडभिक हेलेनाकहाँ पुग्यो। हेलेनाले बिष भनेर पिएको अर्कै औषधि परेछ। उसले लुडभिकलाई घृणा गरी। सायद अब ऊ अनुहारभरि चायाँ परेको आफ्नै प्राविधिक सहयोगी जिन्द्रासँग समर्पित हुन्छे, जो ऊप्रति एकतर्फी आकर्षित भएको थियो।
जेरोस्लाभ मोराभियामा स्थानीय संगीत टोलीको नाइके थियो जसमा कुनै दिन लुडभिक पनि सदस्य थियो। ऊ त्यहाँको राजा चुनिएको थियो। हंगेरीका राजाले त्यो ठाउँ छाडेपछि जिल्ला समितिको सिफारिसमा मोराभियामा नयाँ राजाको राज्याभिषेक गर्ने चलन थियो। लुडभिकको जिन्दगीमा एक्कासि आँधीबेरी आयो जसले पछि उसलाई अराजकतावादी बनाइदियो। वर्षौंपछि मातृसहर आएको लुडभिकले आफूलाई नदेखेझैँ गर्दा जेरोस्लाभ निकै दुःखी भएको थियो। जेरोस्लाभले नोकर्नी केटी भ्लास्तासँग बिहे गरेको थियो। तिनीहरूका छोरा भ्लादिमिरलाई पछि राजा चुनियो। राज्याभिषेक समारोह भव्य भयो। यही कार्यक्रमको रिपोर्टिङका लागि हेलेना मोराभिया आएकी थिई जहाँ ऊ लुडभिकसँग फसी। भ्लादिमिरले राजा हुन अस्वीकार गरेको रहेछ। ऊ त आफ्नै साथीको मोटरसाइकलमा बसेर कतै भागिसकेको रहेछ। राजा सजाउने बेला भ्लास्ताले जेरोस्लाभलाई कोठाभित्र छिर्न दिएकी थिइन। आफ्नै छोरा र स्वास्नीले आफूलाई धोका दिएकोमा ऊ अत्यन्तै दुःखी भयो। स्थानीय होटलमा बेलुकी उसको टोलीले संगीत दिनु थियो। लुडभिकले पनि उसलाई साथ दियो। संगीत दिँदादिँदै जेरोस्लाभ ढल्यो। उसलाई हृदयाघात भएको थियो। मानिसहरू रक्सीले मातेर संगीतको तालमा नाचिरहेका थिए, तर त्यही संगीत टोलीको नाइके हृदयाघात भएर मृत्युको मुखमा पुगेको घटनाबारे तिनीहरूलाई चासो थिएन।
कुन्देराको शक्ति
कुन्देराको लेखनमा त्यो शक्ति छ, जसले हरेक वर्गका पाठकको मर्मलाई छुन्छ। 'जोक'का सात भागमा प्रत्येक पात्र आआफ्ना दृष्टिबाट कथा भन्दै जान्छन्। पहिलो भागमा लुडभिक, दोस्रोमा हेलेना, तेस्रोमा लुडभिक, चौथोमा जेरोस्लाभ, पाँचौँमा लुडभिक, छैठौँमा कोस्तका, सातौँमा लुडभिक, जेरोस्लाभ, हेलेनाको माध्यमबाट आत्मगतरूपमा कथा अघि बढ्दै जान्छ। खट्कने कुरा के छ भने उपन्यासकी सबैभन्दा शक्तिशाली चरित्र लुसीको माध्यमबाट भने कथा अगाडि बढ्दैन। उसबारे सारा कथा लुडभिक र कोस्तकाले मात्र भन्छन्। हेलेनाको सट्टा लुसीलाई उभ्याउनु जरुरी थियो।
सन् १९२९ मा जन्मेका कुन्देरा किशोरवयमै चेक कम्युनिस्ट पार्टीका सदस्य भए। पार्टीविरोधी गतिविधि गरेको आरोपमा १९५० मा अर्का प्रसिद्ध स्रष्टा जान ट्रेफुल्कासँगै निकालिए। ट्रेफुल्काले ह्यापिनेस रेन्ड अन देम (१९६२) तथा कुन्देराले द जोक (१९६७) मा यही घटनालाई मूल विषय बनाए। सन् १९५६ मा कुन्देराले फेरि पार्टीमा प्रवेश पाए। सन् १९७० मा फेरि निकालिए। सन् १९७५ देखि उनी पेरिसमा छन्। विडम्बना, समाजवादको पतनसँगै चेकोस्लोभाकिया दुई टुक्रा भएको छ। धन्न रुसजस्तो १५ टुक्रा भएन।
समाजवाद र महिलाप्रति असहिष्णुताका कारण कुन्देराको लेखन सधैँ विवादास्पद रह्यो। उनका धेरैजसो आख्यानमा चेकोस्लोभाकियाको तत्कालीन समाजवादमा व्याप्त 'जडता'को खिल्ली उडाइएको छ। त्यसबाट प्रभावित जीवनका यावत तरंग उनका सिर्जनामा छताछुल्ल छन्। उनका उपन्यासलाई कम्युनिस्टविरोधी भन्दा फरक पर्दैन। विवाद आफ्नो ठाउँमा छ, तथापि उनको लेखनको 'इपिक्यालिटी' अनुपम छ। उनको लेखनमा बेजोड वर्णन क्षमता, मनमोहक भाषाशैली, तीक्ष्ण व्यंग्यात्मक मार र हास्यरस छ। त्यसकै लागि पनि उनलाई सबै वर्गका पाठक र लेखकले पढ्नु जरुरी छ। समीक्षकहरूले उनलाई संसारकै सबैभन्दा रमाइला र सबैभन्दा उदास लेखक भनेका छन्। धेरैपल्ट मनोनित भए पनि अन्ततः पन्छाइएका उनी आउँदा कुनै पनि वर्ष नोबेल विजेता हुन सक्छन्।


Thursday, April 27, 2017

हेराइला कथा


अभिनयको क्षेत्रमा एउटा लोभलाग्दो स्पेस निर्धारण गरेका खगेन्द्र लामिछानेको पहिलो कथासंग्रह 'फूलानी' बजारमा आउनेबित्तिकै किताब बजारमा एउटा गतिलो गफगाफ भएको छ । बजारको गफगाफ जायज छ, जसको कारण छर्लङ्ग छ । लेखेरै सेटिब्रिटी हुने र सेलिब्रिटी भएर लेखनमा आउनेहरूबीचको जुहारीमा खगेन्द्रको नाम पनि दर्ज भएको छ । यो जुहारी अर्थात् आमपाठकको अदालतमा खगेन्द्रको कलम कमजोर साबित हुँदैन भनेर उनका प्रशंसकले ढिपी जित्ने ठाउँहरू 'फूलानी' मा छन् ।
'फूलानी'मा सात थान कथा छन् । थानको साइज बराबर छैनन् । तर हरेक कथाको वाचन शैलीमा खगेन्द्रले जुन स्वर निर्माण गरेका छन् त्यसको पिच र फ्रिक्वेन्सी समान छ । स्वर न अल्ली बढी धोक्रे छ, न अल्ली कम तिखो छ । 'सिक्स सिग्मा' पाएको कुनै कम्पनीको उत्पादनजस्तो एकानासको छ ।
'
फूलानी'का कथाहरूले फरक फरक भूगोलमा पात्रहरूलाई खेलाएका भए पनि तिनले बोल्ने भाषा पश्चिम नेपालको लवजमा छ । यसैले उनका सबका सब पात्रहरू गण्डक क्षेत्र अर्थात् पोखरा सेरोफेरोका हुन् । त्रिशूलीदेखि कालीगण्डकीसम्मको क्षेत्रका ग्रामीण पात्रको बोली हुबहु उतारेका छन् खगेन्द्रले । गाउँका नरमनरम हृदयका पात्रलाई कहिले काठमाडौं पुर्‍याएर सास्ती ख्वाएका छन् त कहिले गाउँमै राखेर रनभुल्ल पारेका छन् । जीवनलाई, समाजलाई, संघर्षलाई र संघर्षबाट फुत्किने उपायलाई सुझ्ने उनका सरल पात्रको तरिकाले कतै मुटु कोट्याउँछ कतै फोक्सो फुलाउँछ, कतै 'छ्या यस्तो त भएन, यस्तो त हुँदैन' भन्न बाध्य पार्छ ।
सरल रेखाको एकात्मक स्वर निर्माणमा उनी सफल छन् । ''मा नभई ''मा टुङ्ग्याएर बोलिने क्रियापद, क्रियापदकै स्वरवर्णको अनुच्चारण (जस्तै 'लाएर'को साटो 'लार') लगायतका लेखककै जन्मथलोको स्थानीय बोलीचालीको भाषालाई सकुशल उतारेका छन् । कथा कथ्ने तरिकामा उनकै एक सिनेमाको पात्र 'टुल्के'को इमेज पाइन्छ । मिश्रीकाँढाको पानी निलेपछि ज्यानमा गढेको खरो उत्रिएजस्तै उनका कथाको अन्त्यतिर पाठकको अन्तरमा गढेको केही कुरा बाहिर निस्कन्छ । त्यो निस्कने 'केही कुरो' कथैपिच्छे केही न केही मिल्दोजुल्दो छ । खगेन्द्रकोको खासियत यही हो । खासमा, उसको कमजोरी पनि यही हो ।
जस्तो कि एउटा 'केही न केही'को उदाहरण हेरौं । सात थान कथामध्ये 'बाउसाप्को कथा' बाहेक बाँकी सबैमा प्रेम वा विवाहमा रहेका जोडीलाई छुटाइएको छ । पात्रहरू कि प्रेम सम्बन्धलाई तोडेर गएका छन्, कि प्रेम जीवितै राख्ने तर विवाहलाई चाहिँ भत्काएर गएका छन्, कि प्रेम पातलिँदै जाने तर विवाह बाँकी राखेका छन्, कि प्रेम र विवाह दुवैलाई टुङ्ग्याएका छन् । त्यो सम्बन्धको 'भत्काइ' नै मुख्य विषय भएका कथामै पनि पाठकलाई पात्रहरूको 'वियोग'ले धुरुक्क पार्दैन । हरेक कथामा खगेन्द्रले 'सफ्ट कर्नर' छोडेका छन् जसले गर्दा पाठकले वियोगलाई मनमै गढेर लिँदैन । कथामा 'रोइदिम् त नि !' भनेर अभिनय गरे मात्रै हो । आँसु त परै जाओस् अलि गहिरो प्रकारले 'सिरियस' पनि बनाउँदैन विछोडको प्रसंगले । त्यसैले कथामा सम्बन्ध टुट्ने जुन घटना छ, त्यसलाई 'वियोग' वा 'विछोड' भन्नुभन्दा मात्र 'विन्यास' भन्नु ठीक होला ।
भाषाको 'लवज' र स्थानीयताको अवलोकनमा गहिरो पकड देखिए पनि घटनाको बुनाइमा र कथाको 'स्पिड मेन्टेन' गर्न खगेन्द्रले खास ध्यान दिएको देखिन्न । कतिपय स्थानमा पट्यार लाग्ने किसिमले अति सस्याना 'डिटेल'मा पात्रलाई भुलाइएको छ । त्यस्तो 'डिटेल' उपन्यासमा मात्रै ठीक हुन सक्ला ।
उनका कथाका पात्रमा अर्को एउटा समानता छ । पात्रहरू ससाना बुद्धजस्ता छन् । एउटा ठिक्कको बुद्धत्व नै हासिल गरेका जस्ता पात्रहरूले भौतिकता, भोगवादिता, वैयक्तिकता, निजात्मकता, स्वतन्त्रताजस्ता कुरामा बडो बडप्पन देखाउँछन् । कथाका पात्रलाई अनेकन दु:ख त पर्छ तर स्वयम् पात्रले नै त्यो दु:खलाई सहज रूपमा लिइदिन्छन् । जसका कारणले आमपाठकले उदास हुने मौकै पाउँदैनन् । बरु पाठक फिस्स हाँस्छन् र 'म भए त त्यस्तो किन गर्दाम् र ?' भन्छन् । पाठकले 'एसिमिलेट' गर्न सक्ने आधार अलिक कम छन् ।
उनका कथालाई एक एक गरी यसरी हेरौं ।
कथाकारले विशेष महत्व दिएको कथा हो 'घनघसे' । महत्त्व के भने यो उनको पहिलो कथा रहेछ । आफ्नै गाउँको यथार्थ कथा । यसमा एउटा मजदुर दलितको अजबको प्रेम छ । लोग्नेलाई छोडेर अन्तै हिँडे पनि न बिर्किम्लीले घनघसेको माया मार्न सकेकी छ न त प्यारालाइलिसले अपाङ्ग भएको घसघसले पोइल गएकी बिर्किम्लीलाई बिर्सन र घृणा गर्न सकेको छ । मान्छेले चाहेर न प्रेम गरिरहन सक्छ, न त घृणा । मान्छेका प्रेम, घृणा र सम्बन्धको लर्कोले छुने अनेक कारण छन् । अर्कैसँग पोइल गएपछि पनि बिर्किम्ली अशक्त पूर्वलोग्नेलाई खर्चपानी पठाउँछे । बदलामा घरखेत बेचेर ऋण तिरिसकेपछि उब्रेको पैसा 'बिर्किम्लीलाई देओ' भनेर खुट्टा खोच्याउँदै घनघसे गाउँ छोडेर अन्जान गन्तव्यतिर हानिन्छ । कथाको अन्त्यले पाठकला-ई एक छिन 'रेस्ट' गर्न बाध्य पार्छ ।
एउटा रमाइलो तर दार्शनिक व्यङ्ग्य कथा हो 'प्राध्यापकको कार वियोग' 'डिभोर्सी' नेपाली विषयको प्राध्यापक र उसको एउटी कवि कन्यासँग भएको प्रेमकथाको छायामा कथाकारले पाठकलाई भौतिक सुखको मोह र पारिवारिक विखण्डनको किनारै किनार साहित्य जीवनका अध्याँरा गल्छेडामा हिँडाएका छन् । वस्तुको स्वामित्वले दिने अहम् र पस्तुको क्षयीकरणसँगै हुने अहम्क्षयिकरणको कथ्य सुन्दर छ । कार किनेर गम्केको प्राध्यापक नन्दप्रसाद पहिलो दिनमैं गेटले 'कारको कोखो' कोतरिदिँदा रातभरको चैन गुमाउँछ । त्यसपछि नाटकीय रूपमा हुने पटकपटकको कार दुघर्टनाले आजित हुन्छ । त्यही आजितावस्थाबाट 'ट्रान्सेन्ड' भएर सस्यानो बुद्धत्व देखाउँछ उसले । कारको स्वामित्वबाट मुक्त हुने र बदलामा अहम्मुक्त हुने उसको कोसिस अपत्यारिलो भए पनि दार्शनिक छ ।
शीर्षकथा 'फूलानी'मा नेपाली चरित्रभन्दा परक पात्रलाई उभ्याएर कथाकारले प्रेम, स्वतन्त्रता र निजत्वको एउटा रूप देखाएका छन् । अन्जलीलाई प्रेम गरिरहेको विभोर अचानक पूर्वप्रेमिका फूलानीको सम्पर्कमा जोडिन्छ । फूलानी निजात्मक अनुभूति र स्वतन्त्र जीवनको पक्षपाती हुन्छे । आम धारभन्दा फरक तरहले ऊ नारीवादी छे । 'मलाई जीवनसाथीको रूपमा केटा मान्छे पटक्कै मन पर्दैन' भनेर विभोरको जीवनबाट दोस्रोपटक पनि सजिलै छुट्टिन्छे । विभोर र फूलानीको रोमान्सका किस्साहरू तन्याइला छन् । तान्छन् । आमाको सम्झनामा दैनिक चुल्ठोमा गुलाब सिउरिएर बाहिर निस्कने फूलसमकक्षी फूलानीको प्रेम पनि फूलजस्तै कमजोर र कोमल छ । प्रेमभन्दा स्वतन्त्रता प्यारो उसलाई । तेस्रो कथा 'बार लभ'ले धेरै पाठकको चरित्रलाई कोतरिदिन्छ । यौन लालसा र हिरोगिरीको दोसाँधबाट पात्रलाई गुजारेर खगेन्द्रले रमाइलो कथा बुनेका छन् ।
मलाई सर्वाधिक मन परेको कथा हो 'बाउसाप्को साइकल' 'सियो / स्यो' लगाएर कुरा सिउँदै बोल्ने स्याङ्जाली ठकुरी भुवनेश्वर चन्दको गिर्दो आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थाको चित्रणले कतै मन हुँडल्छ, कतै हँसाएरै मार्छ, कतै 'अब के होला ?' भन्ने डर र उत्सुकताले घेर्छ । राजनीतिक परिवर्तनले पुरानो सबै हैसियत गुमाएको एक ठकुरी विरासतको अन्तिम पात्र भुवनेश्वर अन्त्यमा आजित भएर राजनीतिकै शरणमा जान्छ । एउटै सानो कथालाई सिएर तमामका मनोदशालाई उप्काउन सफल छ यो कथा । संग्रहको सर्वाधिक चलायमान र छोइने कथा हो यो । सिनेमा हेरेजस्तो वा सिनेमाको लागि कथा लेखेजस्तो छ यो । चरम गरिबीका बाबजुद पनि ह्वास्स हिँगको गन्ध आउने थोत्रो टालोले पारिवारिक र सांस्कृतिक 'इजेइत' धान्दै आएको भुवनेश्वर चन्दको जीवनमा आएको राजनीतिको रङ्गले आम पाठकलाई नराम्ररी पोत्छ । लगत्तैको 'अटलबहादुरको आतङ्क' भने पढिन्जेल धेरथोर मजा आउने तर सर्वाधिक कमजोर कथा हो । दुई वृद्धवृद्धा, पूर्वलाहुरे गुरुङ र बालविधवा बाहुनीको दैनिकी र हुर्कँदो सामिप्यका बिचमा उक्सेको गाउँले 'गोसिप'को यो कथाले प्रेम, विवाह, सेक्स र सम्बन्धको आम मान्यतामाथि प्रश्न गर्ने कोसिस गरेको छ । 'जति गर्दा पनि नहुर्केको चौतारोको बरको बोट त्यसैमा हलक्क भएको एक्लो पीपलको हाँगामा एकलै कराइबस्ने कागको बिम्ब उनेर लामिछानेले वृद्धकालीन एकाकीपन र सेक्सभन्दा माथि उक्लेको प्रेमालु सहाराको आकांक्षालाई खोतलेका छन् । वृद्धवृद्धाको बियाँलोलाई अनैतिक मानेर 'पञ्च भलाद्मी' बोलाउने समाज देखेर टिठ लाग्छ ।
केही कथाबाहेक अधिकाँस कथा 'खुल्खुले' छन् । कथामा अलिक कस्सिलो कुरा खोज्ने पाठकलाई झ्वाट्ट नछुन सक्छ यसले । 'फूलानी'का कथा न उत्पातका राम्रा छन् न नराम्रा छन् । तर केही कथा औसतभन्दा माथि छन्, केही औसत छन् । औसतभन्दा कम छैनन् । जस्ता कथा छन् तिनको आधारमा यति भन्न सकिन्छ कि 'फूलानी'को प्रकाशनबाट खगेन्द्रले आफ्नो कथाकारितालाई सावित गरेका छन् ।
अन्त्य पहिले एउटा कुरा उप्काऊँ । मेरै बगलमा बसेर मेरी छोरी सौरभीले उनका सबै सिनेमा हेरेकी छे । 'टलकजंग भर्सेस टुल्के' उसको 'बेस्टी' हो । 'फूलानी' पढ्दै गर्दा छोरीले अचानक यस्तो भनी, 'यो बाबा कि फिलिम हेर्नुहुन्छ कि फिलिम पढ्नुहुन्छ । खालि यो टुल्केलाई कति पढेको ? मलाई ड्रइङ सिकाइदिनु त !' छोरीले कसरी भनी तर सही भनी । 'फूलानी'का कथा पढिन्नन् । कथा हेराइला छन् । सिनेमा हेरेझैं हेरिन्छन् । त्यसपछि कुनै 'कथार्सिस इफेक्ट' बिनै छोरीलाई 'ड्रइङ' सिकाउन गइन्छ । नाटक र सिनेमा लेखेर आफ्नो शब्दकलाको सम्भाव्य देखाइसकेका लामिछानेले 'फूलानी'मार्फत शुद्ध साहित्यको 'भेन्चर' गरेका छन् । उनको 'भेन्चर'मा पाठकले साहित्यिक 'एडभेन्चर' पाइदिउन् !
प्रकाशित: जेष्ठ २९, २०७३
Published at:

प्रेमको ह्याङओभर


सरुभक्तका दुइटा उपन्यासः 'पागल बस्ती' र 'समय त्रासदी', म जहिल्यै लुकाएर राख्छु। हत्तपत्त खोजेर नपाइने ठाउँमा। कतिपय बेलामा मैले चाहेरै खोजेका बेलामा पनि तिनीहरू हाता पर्नुहुँदैन। मेरो मान्यता।'पागल बस्ती' पढिरहँदा मलाई स्विडिस सिनेमा 'वाइल्ड स्ट्रबेरीज'को हिरो डा. आइज्याक बोर्गको जस्तो अनुभूति हुन्छ। बाटोमा भेटिएका जान-अञ्जान हिचहाइकर्सजस्ता लाग्छन् त्यसका पात्र, जसको छायामा म आफ्नो सफल-असफल अनेकन प्रेमका अनेकन किस्सा सम्झन्छु।
आखिरमा हरेक सफल प्रेम-कथाका पछाडिपट्टि कयौं असफल प्रेमकथाहरूको हात हुँदोरहेछ। पहिलो प्रेमले 'प्रेम वास्तवमा के हो ? ' भन्ने चिनाउँदो रहेछ। त्यसपछिका प्रेमले 'प्रेम यस्तो हो त्यसैले यस्तो बनाउन यस्तो गर्नुपर्छ' भनेर सजिलो परिदिन्छ। मान्छे अनि 'त्यस्तै' हुन्छ र प्रकारान्तरमा 'सफल प्रेम'को भागीदार हुन पुग्छ' 'पागल बस्ती'को नायक प्रशान्त जो भन्छ, '(हामी) प्रेमलाई हैन, प्रेमको अवधारणालाई प्रेम (गर्छौ)।'
 कतिका हकमा पहिलो प्रेमपछिको प्रेममात्रै अघोषित 'बदला' हुन जान्छ' त्यो 'बदला' अंग्रेजीको 'रिभेन्ज' पनि हुन सक्छ, 'रिप्लेसमेन्ट' पनि हुन सक्छ' अनि म 'पागल बस्ती' कै छेलकमा सोचिबस्छु, 'मान्छेको पहिलो प्रेममात्रै प्रेम हुँदोरहेछ, त्यसपछिका बाँकी प्रेम त्यसलाई भुल्ने बहाना।'
'पागल बस्ती' उपन्यासका केही वाक्यहरू भूतजस्ता छन्' मेरो मनलाई तर्सारहन्छन्' प्रेम र अहम्को अतिवादी युद्धको ध्रुवान्तर पक्षमा बोलिएका ती वाक्य ओकल्ने पात्रहरू मध्यदिनमै मूच्र्छा खाएर बर्बराउने पिचासजस्ता छन्। म अन्धविश्वासको चरम अभ्यासमा बाल्यकाल गुजारेको मान्छे हुँ।
भूत प्रेत, पिचासका कुरा मात्रैले तर्सन्छु' र, मैले देखेको भूतमध्येको सर्वाधिक तर्साउने गुणयुक्त भूत पहिलो प्रेम हो' सरुभक्त स्वयम् कुनै प्रेतेश्वर महादेवजस्तो लाग्छन् मलाई' प्रेम र अहम्का नन्दी भृंगी, दैत्य, नागहरू अघिपछि लगाएर हिँड्ने घनघोर त्रिशूलबाबा जस्तो लाग्छन् उनी' एकदम अघोरी।
'पागल बस्ती'कै घृणा-कोरोलरी मानिने उनको अर्को उपन्यास 'समय त्रासदी' पढ्दा घिनको चरमावस्थाबाट यसरी गुज्रिएछु कि मैले एक महिना जति माँसभक्षण नै गरिन' यौनसम्पर्क समेत गरिन' दुई दिन घर बाहिरै निस्किन। दुई दिनपछि निस्केर त्यो रातो जिल्दावाला किताब कच्याककुचुक पारेर पुराना किताब कोचर्ने बोरामा हालेर भैंसीको गोठको कुनै कुनामा मिल्काइदिएको थिएँ। पछि उपमहानगरको फोहोर उठाउने गाडीमा फल्दिनुभएछ आमाले। पूरै बोरा। 
पोखराको ल्यान्डफिल साइटमा कम्पोस्ट मल भएर बस्यो होला त्यो अहिले। धेरैपछि आफ्नो संस्था र्यान्डम रिडर्समा यही किताबमा छलफल हुँदा दोस्रोप्रति खरिद गरेको हुँ' त्यो दोस्रोप्रति पनि तुरुन्त उपहार दिइहालेथेँ कसैलाई।
म चाहन्छु, कम्तीमा पनि शुभ बिहानीको तरोताजगीपूर्ण मुहूर्तमा, काम गरिरहनुपर्ने दिउँसोको उज्यालोमा, छोरीसँग खेलेर खितखिताउने साँझको झिस्मिसेमा वा थकाइले चूर्ण भएको ज्यान फालेर निदाउने रातको बेलामा सरुभक्तका ती दुईटा किताब नदेखिऊन्। ती किताबको झल्को मात्रैले पनि मेरो पूरै मुड बिग्रन्छ।
'पागल बस्ती'को कल्पनाभूमि म बेलाबेलामा बरालिइरहने भूमि हो। त्यो भूमि कुनै बेलाको रोज्जा 'डेटिङ टेरिटोरी' हुन्थ्यो मेरो। सुरक्षित क्षेत्र। बगर, सिमपानी, हेमजा, यामदी खोला, सुइखेत, नौडाँडा, कास्की कोट, ठूलीपोखरी, सराङकोट हुँदै विन्ध्यवासिनीको बाटोबाट फेरि बगर निस्कने त्यो चक्रपथलाई क्लकवाइज पनि धेरै घुमियो' एन्टी क्लकवाइज पनि' प्रेम यात्राको महाशून्य चक्रपथ। 
बाटोमा पर्ने फेदीको सुकुटी, छेकलमा पर्ने मर्दीको माछा, अलिक माथि कविता गाउँ भनिने लुम्ले र काँडेको लोकल कुखुरा। प्रेमरसका शार्दूल सितन हुन्थे। धम्पुस, अस्ट्रेलियन क्याम्प र पोथनामा लालीगुँरासका पोथ्राहरू स्वागतार्थ हुन्थे, सिजन पारेर। 'पागल बस्ती'को कल्पना क्षेत्रलाई मैले कति फन्को मारेँ कति ! कहिले प्रेमले आतुर आतुर भएर' कहिले प्रेमविहीनताले व्याकुलव्याकुल भएर।
त्यो चक्रपथको बीचमा उभिएर बस्ने कास्कीकोट कुनै प्रेमेश्वर महादेवको कहिल्यै स्खलित नभएको जुरुक्क उठेर बसेको अटल-अमर लिंगजस्तो लाग्छ। कैलाश पर्वतको जस्तै शिवलिंगको आकृति नभए पनि कास्कीकोट यस्तै कुनै लिंग हो जस्तो लाग्छ मलाई। (यौनिक आध्यात्मको प्रेमिल लिंग-पूजन बरु मैबाट सुरु होस् !) त्यसैले डेटिङ जाँदा पनि कुनै अलौकिक तीर्थाटनमा गएजस्तो अनुभूत हुन्थ्यो।
बाह्र वर्षअघि हेम्जातिर दुई वर्ष जति बरालिएथेँ- मास्टरीको बहानामा। मैले वार्डन गरेको होस्टेलको पश्चिमपट्टि फर्केको झ्यालबाट ठ्याक्कै अगाडि देखिन्थ्यो कास्कीकोटको सेपिलो उत्तरी पाखो। घनघोर हरियाली र सन्नाटामय शीताश्म-क्षेत्र। फुर्सदका बेलामा त्यही पाखोको बीचोबीचबाट उम्रेर झर्ने बर्खे झरना हेरेर बियाँलो गर्थे। छुट्टीमा 'पागल बस्ती'का बासिन्दाले (सम्भवत) खुट्टा चोबलेको यामदी खोलामा एक्लै नुहाउन जान्थेँ। 
'बतासे चौतारो'मा बसेर दिनभरि एफएम रेडियो सुनिदिन्थेँ' त्यो चिसो पाखोको पश्चिमोत्तर खण्डमा एउटा रूखो जमिन छ। तर गाउँको नाम छ- सिमपाली' प्रख्यात नौडाँडादेखि थोरै तलतिर पर्ने यही सिमपाली गाउँको कुनै कुनामा सरुभक्तले 'पागल बस्ती'को रचना गरेको हुनुपर्छ भन्ने मेरो अनुमान हो। 
यो धेरैको अनुमान पनि हो' (त्यसो त सरुभक्तका सदाकालीन मित्र तीर्थ श्रेष्ठका अनुसार, अहिलेको नौडाँडा बजारबाट अलिक मास्तिरको पाउँदुर गाउँ नै पागल बस्तीको कल्पनाभूमि हो') हेमजामा बसेर कास्कीकोटको डाँडाले छेकेको अदृश्य 'पागल बस्ती'को भूगोललाई सुम्सुम्याइरहन्थेँ म। 
सिमपालीबाट कहिलेकाहीँ त्यो 'पागल बस्ती'को काल्पनिक भूगोल सल्बलाउँथ्यो। सल्बलाउँदै नौडाँडाका गाउँगाउँ चहाथ्यो। सेराचौर, दारेगौँडा, दक्षिणतिरको प्याउँदी र ठूलाचौर, बगलकै रयाले र कैडिले पुग्थ्यो 'पागल बस्ती'। कहिले पूर्वतिरको फल्लापानी पुग्थ्यो।
कहिले लेवाडे, पोखरा गैह्रा, निवारे, मराम्चेहुँदै पश्चिमको काँडे पनि छिचोल्थ्यो' कल्पनाभूमिलाई कुनै यही 'जिपियस'मा छ भनेर देखाउनु पनि कसरी ? 'पागल बस्ती'को सल्बलाहट जायज थियो।
होस्टेलकै झ्यालबाट बाहिर टोलाउँदै सम्झन्थेँ नौ डाँडावासीले एकताका गरेको विरोध' आफ्नो गाउँलाई 'पागल बस्ती' करार गरिदिएकोमा सरुभक्तप्रति गाउँलेहरू रुष्ट थिए रे ! विरोधको कार्यक्रम नै पनि गरेका थिए रे ! फिस्फिसाउन यत्ति जोक काफी हुन्थ्यो' साहित्यकका नाममा बन्ने 'एनेक्डोट' पनि बेजोडका साहित्य लाग्छन् मलाई।
आजकल मझेरीपाटनको सेती दोभानतिर एक्लैएक्लै साइकलमा बतारिँदा कहिलेकाहीँ 'पागल बस्ती' को झल्को आउँछ। सोच्न थाल्छु, कुनै दिन ओह्रान पामुकको उपन्यास 'म्युजियम अफ् इनोसेन्स'को जस्तै सरुभक्त (वा अरू कसै) ले 'पागल बस्ती' को भौतिक संरचना निर्माण गर्नेछन्। 
एउटा साहित्यिक पर्यटनको आधार बन्न सक्नेछ त्यो म्युजियम' घर फर्कन्छु अनि पामुकका पात्र केमेल र फुसुनको प्रेम कथालाई सरुभक्तका मार्था र प्रशान्तसँग घोलमाल गरेर सर्वत पार्छु। सिनित्त पिउँछु। सर्वतले उल्टो तिर्खामात्रै बढाउँछ। आदिमाता मार्थाको भन्दा तिख्खर तिर्खा।
नौ कक्षा हुँदा पहिलोपटक पढेको हुँ 'पागल बस्ती'। तिनताका मनको टिलटिले मेटालिक पेपरमा 'पहिलो प्रेम' नाम गरेको मःमको डल्लो प्याकिङ गर्दै थिएँ म। राम्ररी स्टिम नभैसकेको 'मःम'को डल्लो डबल 'म' हुन सकेन। एउटा सिंगल 'म' यतातिर छु। 
अर्को सिंगल 'म'को निजी जीवन छ अर्कै भूगोलमा' र, हामी आ-आफ्नै भूगोलमा आ-आफ्ना डबल जिन्दगी बाँचिरहेका छौं। म गर्मीले उमुख भएका बेलामा उनी जाडोले सिरक तानिरहेकी हुन्छिन्' सार्वभौम जाडो-गर्मी समेत फरकफरक सिजनमा अनुभूत गर्छौं हामी। 
दूरी मेन्टेन कसैले गरोस् त मैले जसरी गरोस्' न नजिक, न टाढा' सदाबहार समान' २०५२ साल यता उनलाई देखेको पनि छैन, स्वर सुनेको पनि छैन। एकदम समानान्तर सम्बन्ध।

रजनिश क्याम्प भएको ठाउँमा अहिले एउटा म्यानेजमेन्ट कलेज छ' क्याम्पमा प्रवेश गर्न हामी केटाकेटीलाई बर्जित थियो' कारण, गाउँभरि हल्ला थियो : 'तिनको गुरु (रजनिश) ले दैनिक एक बटुको केटाकेटीको रगत खान्छन्' त्यहाँ घरबार बिग्रेका तर धनीमानी पागलहरूमात्रै बस्छन्'

तिनताका के बुझ्नु मैले: 'प्रेमको बाइबल हो पागल बस्ती !' पढेका वा किताबबारे सुनेका बुजुर्गहरूले भनेको सुन्थेँ- 'सरुभक्तको आत्म कथा हो यो। ... प्रेमको नाममा आजीवन ब्रम्हचारी बस्दिएका रे सरुभक्त ! ...उनको साहित्यिक नामका अगाडिका दुई अक्षर उनकी प्रेमिको सर्टकट नाम हो रे ! ... सरुभक्तलाई कामेच्छा नै छैन रे !... सरुभक्त आत्महत्या गर्न तयार छन् रे तर आत्मकथा लेख्न छैनन् रे !...' चोकमा 'रे' किस्साको कमि थिएन। 
गाउँको स्थानीय क्लबले आयोजना गर्ने साहित्यिक कार्यक्रममा आइरहने हुनाले हामी सरुभक्तको बजार हल्ला र बजार बिम्ब देखिरहन्थ्यौं' उनका ब्याकबाइटिङ सुनिरहन्थ्यौं। त्यसैले पनि मलाई नपढी भएको थिएन 'पागल बस्ती'। 
मेरो अध्ययनशीलता कस्तो भने, पढेपछि मैले उपन्यासको हिरो र हिरोइन प्रेममूर्ति र जमुना हुन् भन्ने पो बनाएछु। मार्था र प्रशान्त होइन' हुन पनि जसको कथाले छुन्छ आखिरमा हिरो उही त हुन्छ नि। जमुनाको देहावसानले घँक्कै पारेको थियो मलाई।
अहिले बुझ्छु (? )। 'पागल बस्ती'को हिरो जसलाई बनाइदिए पनि हुन्छ। पत्रकार किशोरलाई बनाइदिए पनि हुन्छ। बुढी कुकुर्नी बिन्दुलाई बनाइदिए पनि हुन्छ। उपन्यास भित्र अटाएका नामधारी वा नधारीमध्ये जो कोही अरू त अरू भइहाले, त्यसको हिरो मै बबुरो गनेस पौडेललाई (मात्र किताबको पाठक भएको नाताले) बनाइदिए पनि हुन्छ। 
'बाइल्ड स्ट्रबेरिज'का निर्देशक इग्मर बर्गम्यान ठीकै भन्छन्- 'हामीले मान्छेका अनुहारमा सदैव आफ्नै प्रतिछायाबाहेक केही देख्दैनौं।' आखिरकार 'पागल बस्ती' प्रशान्तकै छाया पात्रहरूको बस्ती न हो।
तिनताका उपन्यास पढ्दा मलाई 'पागल बस्ती' भनेको कुनै रजनिश क्याम्प हुनुपर्छ जस्तो लाग्थ्यो' त्यसको खास कारण के होला भने, तिनताका मलाई छिमेकी गाउँ छिनेडाँडामा अवस्थित 'रजनिश क्याम्प'को इम्प्रेसन थियो' त्यो क्याम्प भएको ठाउँमा अहिले एउटा म्यानेजमेन्ट कलेज छ। 
क्याम्पमा प्रवेश गर्न हामी केटाकेटीलाई बर्जित थियो' कारण, गाउँभरि हल्ला थियोः 'तिनको गुरु (रजनिश) ले दैनिक एक बटुको केटाकेटीको रगत खान्छन्' त्यहाँ घरबार बिग्रेका तर धनीमानी पागलहरूमात्रै बस्छन्'' तर, पनि हामी वैशाख-जेठतिर पाक्ने काफल चोर्न त्यो विशाल क्पाम्पमा छिर्थ्यो। 
काफलको रसिलो अनुमानमा डरको छायाँ पग्लिएर जान्थ्यो' टनाटन खरबारी थियो काफल बगैंचामा। काँसको फुक्र्यौलो झाडीमा लुकेर पागल भनिएका अनौठा मान्छेलाई हेथ्र्यौं' स्वदेशी र विदेशीहरूको अप्रतिम जमघट थियो त्यो। पूरा पिकनिक जाँदाको जस्तो माहौल। 
कलेजी पोसाकमा नरनारीहरू त्यसै मग्न उफ्रिरहेका देखिन्थे' नाचिरहेका हुन्थे। कोही कोही खेतमा काम गरिहेका पनि हुन्थे। कोही बगैंचा गोडिरहेका हुन्थे' कोही खानाको मेस चलाउँदै हुन्थ्ये' कोही पौडी पोखरीमा आनन्द उठाइरहेका हुन्थे। कोही किताब पढिरहेका हुन्थे। 
कोही हामी लुकेकै झाडीजस्तै झाडीमा लम्पसार सुतेर आकाश हेरिरहेका हुन्थे' अनौठो बस्ती थियो त्यो' तिनका गुरुले केटाकेटीको एक बटुको रगत खान्छन् भनेर पत्याउन सकिने थिएन' तथापि तिनका नजिक कहिल्यै परेनौं हामी' डरको एउटा रेखाले बस्तीलाई हामीबाट छुट्याइराख्यो।
आफ्नो घरदेखि दुई मिनेटको दूरीमा भए पनि त्यो कलेजी बस्तीमा औपचारिक रूपमा कहिल्यै छिर्न पाइएन' सायद त्यही रजनिश क्याम्पको प्रभावले होला; प्रशान्त, मार्थामात्रै होइनन्, प्रेममूर्ति, जमुना, मैचाङलगायतका सबै 'पागल बस्ती'का बासिन्दालाई म कलेजी गाउन् लगाएर बसेको कल्पना गर्थे' 'पागल बस्ती'को आदि आरोग्यशालाका विरामी्समेत कलेजी बिस्तारामा पल्टेको कल्पना गर्थेँ' डाक्टरहरूको गाउन् समेत कलेजी नै भएर आउँथ्यो' कस्तो कस्तो 'म्यारुन मेमोरी' थियो त्यो !
जहिले जहिले म 'पागल बस्ती' सम्झन्छु, त्यसको प्रेमवियोगी पत्रकार किशोर छपक्कै आँखामा आइहाल्छ' यतिको आलेख सकिन लाग्दा पनि उसलाई नसम्झनु अन्याय होला' प्रेम वियोग भुल्न पोखरा हानिँदा पनि आफ्नो व्यावसायिक गुण नबिर्सेको पत्रकार किशोर मार्था आन्टीलाई सोध्छ: 'कसैले प्रेम गर्छ भन्ने जान्दा जान्दै किन अरुसित विवाह गर्छन् मान्छेहरू ? के प्रेमलाई अपमान नगरिकिन संसार चल्न सक्दैन? '
केही दिन अगाडि कुनै सामाजिक सञ्जालमा राखेको आफ्नै अपडेट राखेर भागिहाल्छु: संसारमा जो जति मान्छेहरू दुःखी छन् ती सब प्रेमकै कारणले छन्' जो जति मान्छेहरू सुखी छन् ती पनि प्रेमकै कारणले छन्' कुनै पनि मान्छेका सुख र दुःखका कारणहरू सोध्नु बेक्कारको कुरा हो' प्रेमको नाममा संसारमा जे जति प्रश्नहरू सोधिन्छन् ती सब बकवासमात्रै हुन्'
तर पत्रकार किशोरको त्यो बकवास प्रश्नको उत्तर म अझै किन खोजिरहन्छु?
Published at: