Contact Form

Name

Email *

Message *

Tuesday, November 5, 2019

छोयला खाँदै ‘सोताला’, अयला खाँदै ‘पैताला’


कुमार नगरकोटीलाई लेखनभन्दा पठन प्यारो छ । उनी विश्वसाहित्य र नेपाली साहित्यका नयाँनयाँ पुस्तक पढ्न सधैं लालायित हुन्छन् ।
यस्ता अध्ययनशील फिक्सन डिजाइनर नगरकोटीलाई मनपर्ने नेपाली पुस्तक कुनकुन होलान् ? जिज्ञासा स्वाभाविक छ ।
यही जिज्ञासा मेट्न नगरकोटीसँग भेट्ने सहमति भयो, पाटनढोकास्थित ‘पाटन बुक हाउस’मा ।
केही हिन्दी कविताका किताब छान्दै गरेका नगरकोटीले भेट्नेबित्तिकै सुनाइहाले– ‘जहाँ पुगे पनि पाटनका गल्ली र यो पाटन बुक हाउसमा नफर्की बस्नै सक्दिनँ ।’
हो, जहाँ पुगे पनि आफ्नो डेरा (उनी डेरालाई गुफा भन्न मन पराउँछन्) बालकुमारी फर्केपछि नगरकोटी एकचोटि ‘पाटन बुक हाउस’ पुगिहाल्छन् । दसैं मानेर गाउँबाट फर्कनेबित्तिकै पनि उनी बुक हाउस नै पुगेका रहेछन् ।
केही छिनपछि हामी किताबका कुरा गर्न नजिकैको क्याफेमा गयौं । उनले कडा रङको बाक्लो दूध चिया मगाए । कालो कमिजको बगलीबाट चुरोट निकालेर सल्काए । अनि सुरु भयो, किताबका कुरा ।
धेरै लामो कुराकानी गर्ने अनुकूलता मिलेन । छोटो बसाइमा उनले आफूलाई मनपर्ने पुस्तकका बारे भनेका कुराः
मलाई पछिल्लो समय मन परेका दुई किताब हुन्– ‘सोताला’ एण्ड ‘पैताला’ (सोताला डोरबहादुर विष्टको उपन्यास हो, पैताला गनेस पौडेलको ।) कुरा गरौं सोतालाबाट ।

सोतालाः छोयला खाँदै पढ्ने किताब

चर्चा कम भए पनि उम्दा आख्यान हो सोताला । समाजशास्त्री डोरबहादुर विष्ट बडो मज्जाका कथा लेख्छन् । यो उपन्यासचाहिँ अदृश्य (इनभिजिबल) जस्तो भयो । तर, तपाईंले प्राचीन काठमाडौं खोज्न सक्नुहुनेछ यसमा । काठमाडौंको आत्मा भेट्नुहुन्छ । अनि तिब्बती (भोट) इलाकामा भ्रमण गर्न सक्नुहुनेछ । अलौकिक भौगोलिक परिभ्रमण गर्न सक्नुहुनेछ ।
डोरबहादुर विष्टले लेख्नु नै सोतालाको दुर्भाग्य भयो । तर, तपाईं यसमा नेपाली व्यापारी र तिब्बती युवतीको प्रेम पाउनुहुन्छ । यसरी नेपाली र तिब्बतीबाट जन्मेको बच्चालाई सोताला भनिँदोरहेछ । रियलिस्टिक उपन्यास सोताला ओभर स्याडोड भयो । अर्थात् डोरबहादुर विष्टको समाजशास्त्री, मानवशास्त्रीको परिचयले यसलाई थिच्यो ।
इतिहास पढ्नेलाई यो किताब उपयोगी हुन सक्छ । राणाकालीन जनजीवन बुझ्न पनि सोताला उपयुक्त हुन सक्छ । मलाईचाहिँ पुरानो काठमाडौंको झल्को दिने उपन्यास भएकाले यो मन परेको हो । सुन्दर उपन्यास सोतालालाई तिख्खर छोयला खाँदै पढ्न रुचाउँछु ।
(समाजशास्त्री डोरबहादुर विष्टद्वारा लिखित उपन्यास सोताला साझा प्रकाशनले २०३३ सालमा छापेको थियो । यसको दोस्रो संस्करण हिमाल बुक्स प्रालिले २०६७ सालमा प्रकाशन गरेको छ ।)

पैतालाः अयला खाँदै पढ्ने किताब

अयला वा जुनसुकै मात दिने पेयको पेग लिँदै तपाईं पैताला पढ्न सक्नुहुनेछ । स्टोरी टेलिङको मनोटोनस शैलीलाई यसले भत्काएको छ । अर्थात् एकनासको दिक्क लाग्ने गरी कथा भनिएको छैन । परम्परागत कथा वाचन यसमा छैन । यसमा जो कल्पनाशिलता छ, त्यसलाई आफ्नो शैलीमा ढाल्न सक्ने सामथ्र्य गनेस पौडेलमा छ । क्राफ्टम्यानसिप छ ।
पछिल्लो दशकको सुन्दरतम साहित्यिक प्राप्ति हो ‘पैताला’ । उपन्यासमा गरिने प्रयोग पनि सुन्दर हुन्छ भन्ने उदाहरण हो पैताला । गनेस स्वयम् पनि एकल–यात्रीजस्तो लाग्छ मलाई । उपन्यास लेख्ने मान्छे यस्तै हुन्छ शायद । आफ्नै लयमा हिँड्न रुचाउने । यसर्थ ऊ दुर्लभ मान्छे हो ।

केही रहस्य, केही खोज ‘पैताला’मा पाउनुहुनेछ । मैले धेरै मानिसलाई प्रेमपूर्वक उपहार दिएको किताब पैताला नै हो । यसर्थ म अयला खाँदै ‘पैताला’ पढ्न रुचाउँछु ।
(बुक हिलले प्रकाशन गरेको उपन्यास पैताला २०७४ सालमा बजारमा आएको थियो । आख्यानकार गनेस पौडेलको यो पहिलो उपन्यास हो ।)
प्रकाशित https://shilapatra.com/detail/13263

0 Comment:

Post a Comment