Contact Form

Name

Email *

Message *

Saturday, November 28, 2015

अशरफ फयादको नाममा


ओर्हन पामुक भन्छन्, 'जबसम्म अर्को घरको, कोही अर्को लेखक स्वतन्त्र हुँदैन संसारभरका कोही पनि लेखक स्वतन्त्र हुँदैनन्।' किशोर पहाडी दाइले सञ्चालन गर्ने 'शब्दपथ' नामक साहित्यिक फेसबुक पेजमार्फत गत हप्ता एउटा दुखद सूचना थाहा पाएँ- साउदी अरबले एक ३५ वर्षीय प्यालेस्टाइनी कविलाई यही नोभेम्बर १९ मा कविता लेखेकै आरोपमा मृत्युदण्डको सजाय सुनायो। उनी थिए 'इन्सट्रक्सन्स विदइन' नामक कविता संग्रहका लेखक अशरफ फयाद। सूचनाले सनन्न पार्यो मन।
पोहोर सालमात्रै चार वर्षको जेल र आठ सय कोर्राको सजाय तोकिइसकेका उनलाई यसपटकको पुनरावेदनले मृत्युदण्डको सजाय सुनाएको हो। लेखकहरूको अधिकारका लागि कार्यरत संस्था पेन इन्टरनेशनलका अनुसार 'इन्सट्रक्सन्स विदइन' शीर्षकको कविता प्रकाशित भएपछि सन् २०१३ अगस्टमा उनलाई पहिलोपटक कैद गरिएको थियो। बीचमा जमानतमा छोडिए पनि सन् २०१४ मा पुनः पक्राउ गरियो।
स्वतन्त्रताविनाको सिर्जनाशीलता सम्भव छैन। सिप र सिर्जनशीलताविना स्वतन्त्रता पनि सम्भव छैन। बिजिनेसको विद्यार्थी हुँदा पढ्थेँ- बाकसबाहिरबाट सोच्नु नै सिर्जनशीलता हो। तर बाकसबाहिरबाट सोचेकै आरोपमा यो शताब्दीमा कसैको ज्यान जान्छ भन्ने कुरा मैले कहिल्यै सोचिनँ। कारण यो मेरो युग थियो। छुस्स केही हुनेबित्तिकै संसारले थाहा पाउने युग। संसार तातिहाल्ने युग।
पृथ्वी घुम्छ भन्यो भन्ने आरोपमा ग्यालिलियो कठघरामा उभ्याइएको किस्सा त मैले पढेकै हुँ। राज्यको अरोपलाई स्वीकार गरेर हाँसीहाँसी हेमलक पियो कसैले भन्ने पनि सुनेकै हुँ। तर विश्वासचाहिँ मान्नै सकेको थिइनँ। कसरी आफ्नै जिन्दगीभरको खोज, अनुसन्धानबाट प्राप्त विश्वास मेटेर ग्यालिलियोले आफ्नो भनाइ फिर्ता लिन सक्छ? कसरी सक्छ, राज्यको बफादारीको नाममा मृत्युलाई हाँसेर स्वीकार्न सुकरातले?
तिनले सकेकै भए पनि त्यो मेरो युग थिएन। म नजन्मेको युगमा सायद मेरो सोचाइभन्दा फरक केही हुन सक्ने सम्भावना थियो। त्यसैले ती सब घटना भए। तर मेरै युगमा, मेरै सूचना मुन्तिर, कोही कविलाई मात्र कविता लेखेको आरोपमा मृत्युदण्डको सजाय सुनाइन्छ भने मेरोभन्दा लाचार जिन्दगी सायदै कसैले बाँच्ला! कोही यति निरीह पनि हुन नपरोस् कि मानवताको वकालत गरेको आरोपमा मान्छे मारिएको टुलुटुलु हेर्न परोस्! यति विवश पनि कोही हुन नपरोस् कि आफैंले विश्वास गरेर पढेको नवाजको कानुनले उसैको प्राण हरोस्! कोही यति कमजोर पनि हुन नपरोस् कि सिंगो मुलुकलाई नाकाबन्दीले जन्माएका मानवीय संकटले घेरिरहँदा पनि हेल्पलेस भएर हेरिरहन परोस्!
आफ्नैअगाडि निर्दोषले सजाय पाएको देख्दा पनि असहाय हुनुपर्ने मान्छे कसरी स्वतन्त्र हुन सक्छ? म स्वतन्त्र छैन। मेरो कुनै आत्मसम्मान छैन। मेरा नाममा कुनै मानवअधिकार छन् भने पनि तिनलाई धिक्कार छ। मेरो खोकिलामा कुनै मानवीयता भन्ने शब्द जीवित छ भने त्यसलाई पनि धिक्कार छ। आमाकै अगाडि उभिएर निहुरिएको, बलात्कारपछि घर फर्केको घिनालु अनुहारझैं भएको छ अहिलेको मानवीयता। म अनुमानसम्म गर्न सक्दिनँ, कसरी उभ्भिन सक्छ एक बलात्कारी आमाको अगाडि?
तर विश्व उभिएको छ। हिजो पनि उभिएकै थियो। त्यो बलात्कारी कहिले पुँजीवाद त कहिले धार्मिक अन्धविश्वासको लिविडो ठड्याएर उभिएको छ आमाको अगाडि। तथाकथित ग्लोबलाइज्ड पुँजीवाद भर्सेस धार्मिक अतिवादको साँढेको जुधाइमा निम्छरो भएर मिचिएका छन्, सर्जक नामका बाच्छाहरू।
म देख्छु, कोही त्यस्तो अर्को घर पनि कहाँ छ र जहाँ लेखक स्वतन्त्र होस्? म स्वयं स्वतन्त्र भएको भए आज अर्कै कुनै विषयमा लेख्दै हुन्थेँ होला। वा हुन्थेँ होला फार्म हाउसमा बाख्रा, कुखुरा र माछा स्याहार्दै। म स्वतन्त्र छैन आफ्नो मनखुसी गरिबस्न, यसैले लेख्दै छु।
मेरा एक बंगलादेशी मित्र छन्, अमेरिकामा। 'किलिङ द वाटर'का लेखक मोहमद रहमान हुन्, उनी। बंगलादेशमा एक ब्लगरमाथि गरिएको फतवाको प्रसंगमा एक दिन उनले भनेका थिए, 'हामीले मानवताको होइन अमानवीयताको सीमा तोड्न सिर्जनशीलताको प्रतिस्पर्धा गर्दै छौं। अहिलेको प्रतिस्पर्धाको एउटै प्रश्न बाँकी छ— हु इज मोर क्रियटिभ इन किलिङ ह्युमानिटी?'
धर्म, साम्प्रदायिक अधिकार र मानवीयताको नाममा हुने घिनलाग्दा अमानवीय, असामाजिक र अधार्मिक प्रयोगहरू हामी दिनदिनै सुन्न विवश छौं। एक्काइसौं शदीको मान्छेको सिर्जनशीलताले गरेका निम्न आविष्कार हेरौं :
१. बालबालिकालाई पेट्रोल खुवाउन लगाई आगो लगाएर 'पेट–बम' पड्काउने।
२. मोटरमा हावा भर्ने मेसिनबाट बेहोस मान्छेको गुदद्वारबाट हावा हुल्दिने र फुल्दै गएको पेट नफुटुन्जेल पम्प गर्ने।
३. सुत्केरीको यौनांगमा अमिलो र पिरो खन्याउने।
४. ईश्वरको नाममा अबोध बालकको घाँटी रेटेर रगतको धारा मूर्तिमा चढाएर बलि दिने।
५. सुत्केरी व्यथाले च्यापेकी महिला र बिरामी बालबालिकालाई एम्बुलेन्सभित्रै थुनेर बाहिरबाट इँटा बर्साउने, आगो लगाउने।
६. डोजर वा अन्य सवारीले कुल्चेर आन्दोलनकारी दबाउने।
७. रूखको फेदमा हातखुट्टा बाँधेर आधी घाँटी छिनालेर छोडिदिने।
८. हातखुट्टा बाँधेर नमरुन्जेल कोर्रा लगाउने। सार्वजनिक चोकमा ढुंगाले हानीहानी मार्ने।
९. बोक्सीको आरोपमा अशक्त वृद्धालाई शौच सेवन गराउने।
साहित्य, समाचार वा विचारबाट शब्द सञ्चार गरेको आरोपमा स्रष्टाहरू मारिनु, देशनिकाला हुनु वा जेल हालिनु यसैको एउटा क्रम हो। तर मान्छेको इतिहास मानवीयताको इतिहास हो। दया, करुणा र सहिष्णुताको इतिहास हो। अन्याय र अत्याचारै गरेको भए पनि मान्छेले समयक्रममा त्यसलाई बिर्सन्छ, मानवीयता र दयाले प्रतिस्थापित गर्छ। बिर्सनुभन्दा महान् मानवीयता अर्को हुँदैन। सम्झीसम्झी दिइने क्षमाभन्दा पनि महान् हो बिर्सने गुण। सायद त्यसैले होला नित्से भन्थे, 'बिर्सने गुण नभएको भए मान्छेको सभ्यता उहिल्यै नासिन्थ्यो।'
तर हामीले धेरै कुरा बिर्सन छोडेका छौं। एकएक हिसाब–किताब राख्ने रकमी भएका छौं। 'किलिङ क्रियटिभिटी'को जन्म भएकै मान्छेले बिर्सन छोडेपछि हो।
मानवीयताको रक्षा सिर्जनशीलताले गरेको हो। घेराबाहिरबाट सोच्न सक्नेहरूले निर्माण गरेको हो। घेराबाहिरबाट सोच्ने भनेका कि कवि हुन्छन्, कि कलाकार हुन्छन्, कि वैज्ञानिक हुन्छन्, कि दार्शनिक हुन्छन्। घेराबाहिरबाट सोच्नेहरू जहिल्यै घाँडो हुन्छन् निरंकुशतन्त्रको। व्यक्ति, संस्था वा धर्मका नाममा चलेका राज्यहरूले बनाएका नियन्त्रणका घेराभन्दा बाहिर सोचेकै भरमा वा सोचेको आरोपमा संसारभरका कवि, कलाकार, वैज्ञानिक, दार्शनिकहरूलाई सजाय दिइएको छ। निरंकुशताले सिर्जना कर्मलाई जहिल्यै घेरामा पार्न खोज्छ। घेराभित्रबाट लेखिने साहित्य, गरिने कलाकारिता, बनाइने आविष्कार वा सोचिने दर्शन खासमा भजनकीर्तन मात्रै हुन्छन्। यस्तै भजनकीर्तन मार्काका गीत र कविताको भलबाढी नै देख्थ्यौं हामी राजसंस्था रहुन्जेल। त्यस्तो भक्तिकेन्द्र राजसंस्था नरहे पनि त्यसको विकल्प प्रतिस्थापनमा राजनीतिक पार्टी दर्ता भएका छन्। अरूको विचारलाई शत्रु सम्झने अस्विकारवादी र घेरावादीहरू पनि खासमा भक्तिपथका कार्यकर्तामात्रै हुन्, सर्जक होइनन्।
सर्जक त प्यालेस्टाइनका अशरफ फयाद हुन् जो अभिव्यक्तिको स्वतन्त्रताका लागि साउदी अरबमा मृत्युदण्डको पर्खाइ गरिरहेका छन्। सर्जक त ब्लास्फेनीको विरोधमा बहराइनको जेलमा दुई सय दिनसम्म भोकहडताल गरेर आमाको अन्त्येष्टीसम्म गर्न नदिइएका वृद्ध सर्जक डा. अब्दुलजालि अल सिङ्गेस हुन्, जो जन्मकैद भोगिरहेका छन्। सर्जक त इरानी शासनले बर्साएका सयौं कोर्राका डामबाट कविताका रेखा उमार्ने कविहरू फतेमेह इख्तेसारी र मेहदी मुसाभी हुन्। सर्जक हुन्, काजकिस्तानका भ्लादिमिर कोज्लोभ। सर्जक हुन्, सिरियाली सिनेकर्मी ओसामा अल हबाली। सर्जक हुन्, हाम्रा कृष्ण सेन 'इच्छुक'; जसको मसीको कालोले इतिहासमा नेपालीको क्रूरता पोतिएको छ। सर्जकको फेहरिस्त लामो छ किनकि निरंकुशता नभएको देश कुनै पनि छैन विश्वमा।
ट्युनिशियाको चमेली विद्रोहको सपोर्टमा कतारी कवि मोहमद अल आजमीले लेखेका थिए, 'वि अल आर ट्युनिशिया इन फेस अफ रिप्रेसिव इलाइट'।
एउटा कुलीन दमनको शासन अघिल्तिर
हामी सब ट्युनिशियाली हौं
अरबी शासन, जसले तिनीमाथि राज गर्छ।
तिनीहरू सप्पै,
कुनै छुटपुटविना सप्पै
लाजलाग्दा चोरहरू हुन्।
हुन पनि कुलीनता नामको दमनकर्ताको अगाडि हामी सबैको हालत उही हो। त्यो कुलीनता कहिले पुँजीवादी अतिवाद बनेर सिरियामा बर्सन्छ, कहिले त्यही धार्मिक कुलीनताको अतिभाव आतंक बनेर ट्वीन टावरमा र पेरिसका सडकमा बर्सन्छ। कहिले त्यो कुलीनताले कूटनीतिक अतिवादको नाटक मञ्चन गर्छ, नेपालका सीमा नाकामा। एउटा धार्मिक अतिवादी र निरंकुश मुलुकमा शासकलाई 'लाजलाग्दा चोर' भन्ने मान्छे जेलमा नभए कहाँ हुन्छ?
कुलीन दमनका विरुद्धमा लेखिएको 'जस्मिन अफ ट्युनिशिया'को सम्भवतः यही पंक्तिका कारण आजमी १५ वर्षको जेल सजायमा छन्, सन् २०११ देखि। यो पंक्तिले कतारमा पनि दमन छ र कतारीहरू पनि ट्युनिशियाली जस्तै विद्रोह गर्न सक्छन् भन्ने कुराको संकेत गर्दैन, सिधै भन्छ। जसले गर्दा अरिम हामेद विन खलिफा अल थानीको मानहानी गरेको आरोप उनीमाथि लाग्यो। अमिरमाथि मानहानी गरेमा मृत्युदण्ड दिने कतारी कानुन छ।
सन् २०१० डिसेम्बरदेखि सन् २०११ को जनवरीसम्म करिब दुई महिना ट्युनिशियाली जनताले असहयोग आन्दोलन गरे। एक महिनासम्मको लामो प्रदर्शनका क्रममा विश्वका धेरै सर्जकले उक्त विद्रोहलाई समर्थन गरे। आखिर राष्ट्रपति बेन अलिको सत्ता ढल्यो। यही जनप्रदर्शनलाई जस्मिन रिभोलुशन अर्थात् चमेली विद्रोह भनिन्छ। चमेली ट्युनिशियाको राष्ट्रिय फूल हो।
बिट मार्छु आजमीको सोही कविताको अन्तिम पंक्तिबाट। यो पंक्ति हाम्रो देशको पनि आम नियति हो। धार्मिक र सामन्तवादी अतिवादबाट मुक्त भएको भनिए पनि हाम्रो सत्ता कमजोर र कामचोर नेताहरूको कब्जामा छ। निरोको बाँसुरी बजाएर बसेका छन्, प्रधानमन्त्री। न तिनले मधेस जलेको देखेका छन् न पूरै मुलकको चुल्हो निभेको देखेका छन्। एक महिनामा डेढ मिलियनको भोज चलाएर ग्यास सकेर बसेका छन्, बालुवाटारमा। तिनै बालुवाटारे निरोलाई एक प्रश्न, आजमीको अन्तिम पंक्तिबाट :
एउटा प्रश्न :
जसले तिमीलाई रातभर सुत्नै दिन्न-
यसको उत्तर फेलै पर्नेछैन
कुनै सरकारी अधिकारीका टेबल र फाइलमा
हो एउटा प्रश्न :
किन,
किन शासकले सबचिज पश्चिमबाट आयात गर्छ-
सब चिज, सिवाय कानुनको शासन
सब चिज, सिवाय मानव अधिकार
सब चिज, सिवाय स्वतन्त्रता।
फ्रीडा काहलोको जुँगा

कवि : अशरफ फयाद
अनुवाद : चन्द्र गुरुङ
१.
म बेवास्ता गरिदिनेछु हिलोको दुर्गन्धलाई
वर्षालाई तर्साउनुपर्ने आवश्यकतालाई
र, मेरो छातीभित्र लामो समयदेखि रहेको आगोलाई।
म आफ्नो हालको लागि सही राहत खोज्दैछु,
जसले मलाई तिम्रो ओठबारे सोच्न दिँदैन तर म चाहन्छु-
या म झार्न सकूँ तिम्रो रातो पत्रदलमा जमेको कुइरोको थोपो
या झाँेकको गतिलाई गर्न सकूँ सुस्त जो फैलिन्छ ममाथि
जब यो अनुभव हुन्छ कि
तिमी छैनौ यस घडी मसित
र रहने छैनौ' जब मलाई आफ्नो स्थिति साबित गर्नको लागि
विवश गरिन्छ रातको कातिल मौनताअघि
नाटक गर कि धर्ती मौन छ,
जस्तो कि टाढादेखि हेर्छौं हामी यसलाई
र हामीबीच जे भयो त्यो लामो चलेको
कुनै भद्दा मजाकभन्दा धेरै केही थिएन!
२.
तिमी के सोच्छौ ती दिनहरूबारे जुन मैले तिमीविना बिताएँ?
ती शब्दहरूका बारेमा जो मेरो भारी दुखाइबाट यत्ति चाँडै वाष्पित भए?
ती गाँठबारे जो मेरो छातीमा सुकेको लेउझैं जमेका थिए?
मैले तिमीलाई भन्न बिर्सें कि
मलाई तिम्रो अनुपस्थितिको बानी परिसकेको छ (यान्त्रिकी रूपमा भन्नुपर्दा)
र शुभकामनाहरूले तिम्रो इच्छाहरूको बाटो बिर्सिसके
र मेरो स्मृतिलाई बिर्सिदिएको छ
कि म अझै पनि गरिरहेछु उज्यालोको पिछा हेर्नको लागि होइन
किनभने अँध्यारो खतरनाक छ
हामीलाई यसको बानी परिहाल्ने पनि!
के मेरो क्षमायाचनाले पुग्छ?
ती सबको लागि जो घटे त्यस दौरान जब म राम्रो बहाना गर्ने कोसिसमा रहेँ।
३.
हरेकपटक ईर्ष्या उठिरह्यो मेरो छातीमा
हरेकपटक निराशाले मेरो अँध्यारो दिनहरूको एक नयाँ दिन बर्बाद गर्योप
हरेकपटक मैले भनेँ न्यायलाई हुनेछ महिनावारीको कष्ट
र प्रेम आफ्नो ढलिरहेको उमेरमा एक कमजोर दिमागी मान्छे थियो
जो नपुंसकताले ग्रस्त थियो।
४.
मलाई आफ्नो स्मृतिहरूदेखि जोगिनुछ
र घोषणा गर्नुछ कि म मस्त सुत्छु
मैले ती प्रश्नहरूलाई च्यात्नैपर्नेछ
जो खोज्दै आएका छन् तर्क, सटीक जवाफ पाउनका लागि
ती प्रश्नहरू, थुप्रै निजी कारणहरूले स्वाभाविक विराम खसेपछि आएका हुन्।
५.
ऐनालाई भन्न देऊ कि तिमी कत्ति सुन्दर छौ
हटाऊ धुलो भरिएको आफ्नो शब्दहरूको थुप्रोलाई
गहिरो सास लेऊ
याद गर कत्ति माया गर्थें म तिमीलाई,
अनि कसरी सबथोक फेरियो बिजुलीको एक झट्कामा
जो हुनसक्थ्यो भयानक आगोको कारण
'एउटा खाली गोदाममा।
(फ्रीडा काहलो प्रसिद्ध मेक्सिकन पेन्टर हुन्, जसले आफ्नो 'सेल्फ प्रोट्रेट'मा जुँगा बनाएकी थिइन्।)

0 Comment:

Post a Comment