Contact Form

Name

Email *

Message *

Z

Showing posts with label मिथक. Show all posts
Showing posts with label मिथक. Show all posts

Saturday, June 15, 2019

परिवर्तनको जोस

वयाजिदले अल्लाहलाई फरियाद गर्दा उ युवक थियो । उत्साही र क्रान्तिकारी थियो । उसले अल्लाहसँग अनुरोध गर्‍यो, "मलाई यस्तो शक्ति दिनुहोस् कि म संसार परिवर्तन गर्न सकूँ ।"

वयाजिदको यौवन ढल्कियो । मस्जिदमा गयो । पुकारा गर्यो, "हे अल्लाह । आधि जीवन सक्कियो । थाह भो कि म गलत रहेछु । संसार त ठुलो पो रहेछ । परिवर्तन गरी नसक्नु रहेछ । मलाई यत्ति गर्दिनुस् कि म मेरो परिवारलाई परिवर्तन गरुँ । "

वयाजिद बुढो भयो । लखर लखर मस्जिदमा गयो । भन्यो । "हे अल्लाह ! दूनियामा कसैको ठेक्का लिएर परिवर्तन हुने कुरा होइन रहेछ । न परिवार न समाज । तिनलाई परिवर्तन गर्ने खोज्ने म को ? हे अल्लाह, म आफैं परिवर्तन चाहन्छु । म फेरिन चाहन्छु । मलाई आत्म-शक्ति दिनुस् !"

मस्दिजको गोलाकार छत कतैबाट आकाशवाणी आयो, "मैले दिन सक्ने कुरा बल्ल माग्यौ । तर हे वयाजिद ! तिमीसँग मैले दिएको कुरा लिनसक्ने सामर्थ्य नै छैन । अब ढिला भैसक्यो । जाउ जेततेन यत्तिकै गुजारा गर ।"

Friday, June 29, 2018

खप्तड : एक तान्त्रिक रात्रिभोज


भोजको निम्तो ::

अच्छा गुरुले यसो गर्नु पर्यो । 
कसो गर्नु पर्यो 
खप्तड काव्य यात्रामा मिसिन पर्यो  

जिन्दगीमा यी ३ कुराको निम्तो नटार्नू भनी म आफैलाई बेलाकुबेला सम्झाइरहन्छु ः घुमघाम, दारुपानी अनि प्यार । घुमक्कड, पियक्कड र प्रेमक्कड मानिसको मन राखिरहनु पर्छ । त्यसो त आफूले नटेकेको भूगोलमा बहकिनु, पहाडी सालको दारु गिलासमा घरबुना नारेपा घुट्क्याउनु, बिझाउने बिस्तारामा मनमगन फरबिडन एप्पल चबाउनुमा मेरो आफ्नै फिल्डरेकर्ड छ । रुचिको फिल्डभित्रको सेल्फ रेकर्ड । घुमक्डक अमृत भादगाउँलेको एक नम्मरी निम्तो टारेर आफ्नै रेकर्ड खराब गर्ने कुरा भएन । बोरिया बन्तुरा कसेर तयार भइयो ।
दुई वर्षअघि बोलाएको हो खप्तडले मलाई । भनिन्छ नि तीर्थ त्यही मान्छे जान्छ जसलाई तीर्थले बोलाएको हुन्छ । परार साल पोखराकै दिवस कुँवर र म गन्तव्यमा खप्तड राखेर डडेल्धुरा, दिपायल, सिलगुढीका रनवनमा भौतारिएका थियौँ । हिउँदाका दिनमा खप्तड गइसाध्ये नहुने रहेछ । मौसमको ज्ञानबिनै कुदिएछ । एकाध दिन रल्लिँदा पनि मौसम सुधारिने संकेत नभएपछि हामी फर्केका थियौँ । खप्तडको निम्तो तिनताका ट¥यो । अब टार्न हुँदैन ।

'अमृत सुवेदी, तिमी तयार छौ नि ?’

अपेटाइजर अर्थात सन्दीपक ::

सोच्नुस् त, हाम्रा तीर्थहरू भौगोलिक रुपले विकट ठाउँमा मात्र किन बनाइएका होलान् ? हिन्दू मात्रै होइन बौद्ध, इस्लाम, इसाई, जैन आदि सबै धर्मका मख्य तीर्थहरू सम्झनोस् । अनि अहिलेको हवाई र सडक यातायातलाई भुलेर अनकन्टार विगतको कल्पना गर्नुस् ! चट्टाने पहाड, चिसा हिमाल, अभेद्य नदी प्रवाह, हिंस्रक जनावरले आवाद जंगल, प्यासिलो अनि रापिलो मरुभूमि ... । जीवनलाई नै दाउमा लगाएर मात्र पुरा हुन्थ्यो तीर्थयात्रा । तीर्थाटन सजिलो विषय थिएन । तीर्थाटन सजिलो विषय होइन ।
अनि म सोचिरहन्छु प्रायः, ईश्वरलाई यस्तो अनकन्टार ठाउँमा किन लुकाएका होलान् ? के आध्यात्म सुलभ अनुभूति होइन ? यी प्रश्नको उत्तर शेल्डन बि. कोपको बाटोमा बुद्ध भेट्यौ भने मार्देऊमा चर्चित छ । मलाई पुस्तक समीक्षामा चासो छैन । मलाई खप्तडको बात मार्नु छ ।

गुरिल्ला दाइ, एउटा चिसो बियर उघार्नुस् ! इट्स टाइम टु गेट अपेटाइज्ड ।

मेन कोर्स टु भैरव तन्त्र ::

हरेक वर्ष जेठ शुक्ल दशमीका दिनमा लाग्ने गंगा दशहरा मेला खप्तडको सांस्कृतिक पटाक्षेप हो । निर्जन निकुञ्जको त्रिवेणी धाम परिसरमा लाग्ने हजारौँ भक्तालु र पर्यटकको भीडले तपाईंलाई यस्तो आभास दिन्छ, मानौँ आदि युगको भयंकर युद्धबाट फर्केर भेला भएका काबिलाहरूको उत्सवमा तपाईं पनि सहभागी भइरहनु भएको छ ।

बियरको रमरमले पेटका अन्द्रामा भोकको क्षेत्रफलबढाएपछि रुकुम गुरिल्ला ट्रेलका उत्पादक सुरेन्द्र राना र म बिचपानीको एकमात्र होटलको एकमात्र भान्छामा छिरेर लोकल भाले भुत्ल्याउन थाल्छौँ ।

त्रिवेणी धाममा दुइटामात्रै नदी छन् । एउटा गंगा अर्को जमुना । तर त्रिवेणी हुन आवश्यक पर्ने अर्को नदी सरस्वती  भने गुप्तरुपमा बगेको विश्वास गरिन्छ । भारत प्रयागको त्रिवेणीको कथा पनि त्यही हो । त्यसो भए के खप्तड भैरवतन्त्रको छायाँभूमि हो ? सम्पूर्ण सनातन धामको लघुत्तम समापवत्र्य हो ?

महत्तम समापवर्तक पो हो कि ?’ कवि हेमन्त विवशतिर हेरेर मुस्कुराउँदै होमस्टे फ्रिक तारा पहारी भन्छन् ।

हिन्दू दर्शनको त्रिवेणी हो : ज्ञाता, ज्ञेय र ज्ञान । अथवा यसरी भन्दा पनि भयो : द्रष्टा, दृश्य र दर्शन । व्याकरणको भाषामा : कर्ता, कर्म अनि क्रिया । तन्त्रअनुसार ज्ञाता र ज्ञेय गोचर हुन्छन्, ज्ञान अगोचर हुन्छ । खासमा ज्ञान भनेको ज्ञाता र ज्ञेय बीचको सम्बन्ध हो । यी दुबै भौतिक तत्व हुन् । दुई भौतिक तत्वको सबन्धबाट अभौतिक तत्व अर्थात चेतना (ज्ञान/सत्य)को स्थापना हुने कुरा योगले गर्छ । ज्ञाता र ज्ञेय परिवर्तनशील भौतिकी भएकै कारणले तिनको सम्बन्ध पनि समयानूकुल परिवर्तन भइरहन्छ । ज्ञान र सत्य कहिल्यै अन्तिम हुँदैनन् भन्ने हेराक्लिटसको अवधारणा विज्ञान भैरव तन्त्रबाट लिएको सापटी हो । त्यो खोलामा पाइला टेक्ने कुरा त्रिवेणी परिकल्पनाकै उपज हो ।
तन्त्र अनसार मुलाधार चक्रबाट दुई नाडी इडा र पिङ्गला अर्थात गंगा र जमुना हाम्रो मेरुदण्डलाई छड्केपड्के पार्दैै माथितिर जान्छन् । गंगा देब्रे नासिका र जमुनाचाहिँ दाहिने नासिकामा जोडिएका छन् । यी गंगा र जमुनाको मिलन हाम्रो त्रिकुटीमा हुन्छ । त्रिकुटीलाई नै त्रिवेणी भनिएको छ । यसै स्थानमा हिन्दूहरू टीका लगाउँछन् । जब हाम्रो सचेत श्वास दुवै नासिकाबाट समरुप प्रवाहित हुन्छ तब त्यो तेस्रो नाडी सुषुम्ना अर्थात सरस्वती हुँदै प्रवाहित हुन्छ भनेर प्रणायामको महत्वमा बताइएको छ ।
फर्किँदाको दिन दिपायलमा घनश्याम गुरुले ध्यान गराउनु हुन्छ है’, बुद्धमाथि बौद्धिक टिप्पणी गरेर नथाक्ने अभय श्रेष्ठले सूचना जारी गर्दा मिस्टर निर्वाणले कदाचित बुद्ध बनाइदिए भने त सन्यासी भइएला भन्ने भयले मैले भने मनमनै ध्यानमा नबस्ने मुड बनाएँ । बालाबैंसमा तीनवटा निम्तो त कसैले छोड्नु नपरोस् !

, आरके अदिप्त, तिमीलाई सम्झना छ नि तीनवटा निम्तोको कुरो ?

तन्त्र भन्छ, ‘जसको मूलाधार चक्र सक्रिय छ उसको लिबिडो मस्त मोजिलो, भग्न भोगिलो हुन्छ । जसको स्वादिष्ठान चक्र सक्रिय छ ऊ चाहिँ रंग रसिलो, वस्तु विलासी हुन्छ । मणिपुर चक्र तातेको मनुष्यको जीवन शक्तिसंकलनमा सार्थक हुन्छ । अनाहत चक्र सक्रिय हुने चाहिँ कि कवि हुन्छ कि प्रेमी हुन्छ कि पागल । विशुद्ध चक्र उठ्नेको मन्त्र हुन्छ ‘... धिक्कार होस् मकन बाँच्नु नराखी कीर्ति ।जसको आज्ञा चक्र चन्चले छ ऊ उत्सुक छ, छटपटे छ, केही न केहीको खोजमा दिमागको बारी खनखोस्री रहन्छ ।  सहस्रार चक्र सक्रिय भएको मानिसको लागि जिन्दगी एक खेल हुन्छ । लीला ।

हेर गनेस, अब म उसलाई एउटा लालीगुँरास दिन्छु । शाहरुख खान स्टाइलमा ।मुलाधारमा मस्त तर भयंकर अनाहत कवि हेमन यात्रीले अनुमति मागेपछि मैले स्वीकृति किन नदिनू ?

अंग्रेजीको सेक्सीशब्दलाई शुद्ध नेपालीमा अनुवाद गर्दा के हुन्छ ?’ आज्ञा चक्रमा घुमिरहने भादगाउँले प्रश्नलाई कामुक, आकर्षकउत्तर दिनेहरू फेल भए । पछि उत्तर सुनेर हेमन पनि हाँस्दैछ । हेमन हाँसेको सुन्नुभो ?

डिजर्ट उर्फ आकाश यात्रा ::

जिन्दगीमा कति हिँडियो कति तर खप्तड पुगेपछि मात्रै अनुभूति भयो म धरतीमा होइन आकाशमा हिँडिरहेको छु । यस्तो लाग्यो, प्रकृतिको खास सुन्दरता त आकाशको सापेक्ष अनुभूत हुँदो रहेछ ।
सहस्रारलिंगको दर्शनपछि हामी दालभात ताकेर हिँडिरहेका थियौ । तालुमाथिको घाम कोल्टिसकेको थियो । भोक र प्यासको अन्तिम परीक्षामा कोही साथी चिट चोर्दै थिए, कोही चोराउँदै थिए । सरासर उत्तीर्ण होलान् जस्तो कोही देखिएका थिएनन् । सधै झैँ सबैभन्दा अगाडि हिँडेको म डाँफेकोटबाट देखिएको दृष्यले अवाक भएँ । अहो त्यो पाटन ! अहो त्यो आकाश ! खुसीले रन्थन्याएर मलाई के गरुँगरुँ भयो । भीरको ठूलो ढुंगोको डिलमा बसेर मस्त मुतेँ । मुतेर लिङ्ग निथ्रिएपछि भ्युटावरको घाँसे थाप्लोमा फन्फनी नाचेँ । नाच्दानाच्दै मलाई सहस्रारअनुभूति भयो, खासमा सौन्दर्य भनेको त आकाशको उपस्थिती हो । म झन् नाचेँ । नाचिरहेँ ।

भर्खरै नाचेको हुनाले म थाकेर घाँसमा लम्पसार बसेको छु । मुखैमा घाम छ । तर भर्खरै एउटा अग्लो मान्छेको छाँयाले छेकेर शितलो भएको छ । फर्केर हेर्छुभूपिन पो रहेछन् ।

सोधेँ, ‘कवि मैदारोकहिले आउँछ ?’
देजाभूनिस्केकै छैन । मलाई केको हतारो ?

डाँफेकोटबाट खप्तड दहमा हिँडिरहँदा सोचेँ, ‘चाहे त्यो ताल होस्, निर्झर खोला होस्, महासागर होस्, हिमाल होस्, वा निर्जन मुरुभूमी नै किन नहोस् आकाशको आभामा मात्रै तिनीहरू सुन्दर देखिन्छन् । सुन्दरता प्रकाशित हुने भनेको आकाशको उपस्थितिले हो । आकाश नहुने हो भने प्रकृति सुन्दर नै हुँदैनथ्यो । भए पनि अभिव्यक्त हुँदैनथ्यो ।

अमृत सुवेदी, हेमन यात्री, तारा पराजुली अनि म । खल्तीबाट भटमास, ओखर र काजुका दाना टिप्दै कुटुकुटु पार्दै हिँडिरहेका छौँ । 

पेट भरिएको नभए पनि मुखलाई व्यस्त राख्न सकियो भने भोकले गाली गर्दैन । भोक कम हुन्छ ।मैले बोलेको परैबाट सुनिन्छ । 

अनि फेरि मेरै आवाज आउँछ, ‘मान्छेहरु पेटभरि कहिल्यै बाँच्दैनन् । कुटुकुटु भटमास खाए झैँ फुसुफुसु सास फेरेर जीवनको बाँच्ने भोक टारिहेका हुन्छन् ।

आकाशको अघिल्तिर मोटाइ, दुब्लाइ, उचाइ, होचाइ, साघँुरावट, फैलावट सबका सब गौण विषय हुन् । आकाशको आयतन हुँदैन । आकाशको उपलब्धि हुँदैन । आकाश हुनु भनेको केही पनि नहुनु हो । शून्य हुनु हो । आकाश हुनु भनेको निर्गुणनिराकार बाँच्नु हो । उता  आकाशमुन्तिरको जंगल, खोला, ताल, पहाड आदि धरातल बाँच्नु भनेको सगुणसाकार बाँच्नु हो ।  निर्गुण निराकार अनि सगुण साकारको जहाँ मिलन हुन्छ, त्यही सौन्दर्र्य पटाक्षेप हुन्छ । गगन र भुवनको मिलनबाटै सत्यम्, शिवम्, सुन्दरमको मन्त्र पूरा हुन्छ । ज्ञाता र ज्ञेय विलुप्त हुन्छन् । ज्ञान आरम्भ हुन्छ ।
आकाशमाथिको एक झिल्को चिन्तन फुर्ने बित्तिकै भोकको क्षेत्रफल घट्यो । प्यासको गहिराइ साम्य भयो । पेटको परीक्षामा म पास भएँ । अब भात खाने ठाउँतिर होइन अझै २ घन्टा टाढा खप्तड ताल र पाटन पुग्ने मोतो मिलाइयो ।

वन फर द रोड ::

खप्तडका केही रसिला याद छन् । दशहरा मेलामा रातभर सुनिएको देउडाको त्यो मोहनी ट्र्यान्सले अझै रिरिन्न छोपिरहेको छ । केटाकेटी छँदा राति अबेरसम्म भैलो खेलेपछि घर फर्केर बिस्तरामा पल्टिँदा कानमा त्यसै बजिरहने भ्रमको भैलोजस्तै बजिरहेको छ खप्तडको सम्झना । सबैभन्दा रसिलो सम्झना त खप्तड बाबाको कुटी बाहिर भेटिएकी वृद्ध आमाको छ जसले खप्तड बाबा अर्थात  स्वामी सच्चिदानन्द सरस्वतीलाई केटाकेटीमा आफ्नै बाजे ठानेर सेवा गर्थिन् । यिनको सम्झनामा एउटा लामै आर्टिक लेख्न मन छ ।
त्यो गल्फ कोर्स जस्तै फेयरकलिला घाँसे मैदान, ती झपुक्क यौवन सकेर झलिबसेका हिमाली बनस्पतीले छोपिएका झोता ! कवि हेमन्तका अनुसार खप्तडमा २२ वटा ठूला पाटन र ५२ वटा झोता अर्थात थुम्काहरू छन् । माइकास्थान, सहस्रार लिङ्ग, नागढुँगा, खप्तड बाबाको आश्रम, खप्तड दह, सीतापाइला, त्रिवेणी धाम, खापर दह, खुडुली, दुदुली, डाँफेकोट, त्रिवेणी, हरिना चरी, जेठी बहुरानी, छिन्तेढुँगा, केदारढुंगा, गणेशस्थान, माइका थान, घोडादाउन पाटन, नाचन्थली, बलेमेला पाटन, भलाउने पाटन, याइँ घट्ट छ्याइँ पानी, भीम घट्ट ... एकै सासमा भनेर टिप्न नसकिने कति ठाउँ छन् कति खप्तडभित्र । पुरै खप्तड घुमेको त मान्छे नै भेटिन्न भन्छन् गाउँलेहरू । सबै ठाउँका पौराणिक र स्थानीय किस्सा छन्, कथा छन् । महिमा छन् । ती अनेकन धार्मिक र सांस्कृतिक स्थलहरूमध्ये कति ठाउँमा हामी आफैँ पुगियो, कति ठाउँमा कवि हेमन्तले आफ्नो जीवन्त वर्णनमार्फत पु¥याइदिए ।

तान्त्रिकज्यूलाई कस्तो लाग्यो त खप्तड

 अहिले म राष्ट्रिय निकुञ्जको सेल्टरबाट घर फर्किन ओरालो झर्दै छु । साइकलेहरू यो ओरालोमा दूई हुँइकिने सुर कस्तै छन् । फर्केर हेर्छु, प्रश्न गर्ने मनुख्य भएर उभिएको बस्तुमा चितौने पढक्कु उदय अधिकारीलाई देख्छु ।

अरे दाइ, यो त मिनियचर भैरवल्याण्ड रहेछ ।

जस्तो कि मलाई के आभास भयो भने त्यो सहस्रार लिंग भनेको सहस्रार चक्र हो । त्रिवेणी धाममा आज्ञा चक्रको आभा छ । खापरदह जहाँ इन्द्रजात्रा हुन्छ त्यो अनाहत चक्र हो । खप्तड बाबाको कुटीभित्र शक्ति अर्थात मणिपुर चक्र छ । दशहरा मेलामा रातिको रमझम हेर्नेबित्तिकै थाह पाउनु भयो होला कि केदार ढुंगामा स्वाधिष्ठान चक्र छ । अनि त्यो जुन नागढुंगामा प्रेमलीन सेता काला नागहरू देख्नुहुन्छ, तिनले त्यहाँ मुलाधार चक्र बसालेका छन् ।

झिग्राना झंकार : ध्यान भर्सेस कल्पना ::

बीचपानीबाट झिग्राना तिरको ठाडो ओरालो झरिरहँदा मनमा हिजो सहस्रार लिंग जाँदाको सम्झना आइरह्यो । अहो त्यो लिलात्मक अनुभूति ! यस्तो लाग्थ्यो मानौँ मेरो सहस्रार चक्रमा बिग ब्याङ भएको छ । भर्खरै । शरीरभरि क्यान्सरका झैँ गाँठागुँठी पालेर जिन्दगीभन्दा बढी बाँचेका बुढा रुखहरूको जंगलै जंगल जाँदैगर्दा म अति चञ्चल अनुभूति गरिरहेको थिएँ । मैले आफूलाई लाखौँ वर्षअघिको फिरन्ता युगमा बाँचेको कल्पना गराएको थिएँ । आधी मान्छे, आधी बाँदरको दोहोरो चरित्रमा बाँधिएको आफूलाई कहिले भाँचिएका रुखका काण्डहरूमा कुदाएँ, कहिले सेताम्मे फुलेका चिमलको झाँङमा घुसारेँ, कहिले हिउँले ताछेको सुकेको मुढो उठाएर पाखुराको तुजुक देखाएँ । कहिले मित्र चन्द्र काफ्लेलाई बोकेर दगुरेँ र पछारेँ । कहिले आफ्नै देह सुम्सुम्याउँदै चुपचाप चुपचाप एक्लै हिँडे ।
     
बाटोभरि देखिएका बुढा रुखहरू एक बल्र्याङ हिउँको ढिस्को कुरेर बसेका छन् । कुनै हिउँदमा तिनको रहरको हिउँपहिरो आउनेछ, त्यसपछि उनीहरू देहमुक्त हुनेछन् ।हेमन यात्री भावुक हुन्छ । मान्छे होस्, जनावर होस् या वनस्पति । जीवन त बाल्यकालकै सुन्दर हुन्छ ।

हुन पनि कलिला रुखहरूको ऐँजेरुविहीन सुलुत्त काण्डको पनि एउटा मोहनी हुन्छ । सानै बतासमा पनि चुमुक चुमक हल्लिने कलिला पल्लवीहरूको चपलतामा एउटा यौनिक अकर्षण हुन्छ । परागशेचनको दैहिक स्वानन्दमा फक्रेका फुल हुन या प्रेयसीको ओठ भएर झुलेका रसिला फल, रुखको पनि एउटा बैंस हुन्छ । एउटा चिक्चिकाउँदो दैनिकी हुन्छ । तर यी बुढा रुख ! सहरदेखि निकै पर घाट किनारमा बनाइएको वृद्धाश्रममा जुम्रा हेरिरहेका बुढाबुढीजस्तै रुख ! यी कान्तिविहीन अनुभवी रुख ! अनुभव सुन्दरताको दुश्मन हो । यदि सुन्दरता नै सत्य हो भने, अनुभव सत्यको पनि दुश्मन हो । यदि सत्यम् शिवम् सुन्तरम् जीवमन्त्र हो भने अनुभव शिवको पनि दुश्मन हो ।
चेतनको एउटा तहले दुश्मनका बारेमा सोचिरहँदा अर्को तहले भने अनुभवलाई भाऊ दिएर बोल्दै थियो । तपाईं अहिले कति वर्षको हुनुभयो त्यो महत्वपूर्ण होइन । बरु अब तपाईं कति बाँच्दै हुनुहुन्छ त्यो महत्वपूर्ण हो । हाम्रो बाँचेको उमेर होइन, बाँच्न बाँकी आय महत्वपूर्ण कुरा हो । तर आयूभन्दा पनि महत्वपूर्ण हो अनुभव । धेरै बाँच्नु कुनै कुरा होइन, धेरै अनुभवसहित बाँच्नु बल्ल बात हो । जिन्दगीको अर्थ भोगाइ नामको शब्दकोशमा मात्रै खुल्छ ।
म आफैँसँग कुरा गर्दै थिएँ । बाझाबाझ गर्दै थिएँ । अनुभव नहुनुको एउटा नियति यही हो, तपाईं निष्कर्षमा पुग्नै सक्नुहुँदैन । आफ्नै विचारसँग विवाद गरिरहनु हुन्छ । अनुभव भएको भए, एउटा ठिक अर्को बेठिक भइहाल्ने थियो, फटाफट । मलाई फटाफट बाँच्नै आउँदैन । मलाई बूढो भएर बाँच्न घीन लाग्छ । अनुभवी भएर बाँच्न झ्याऊ लाग्छ । म सयौँ वर्ष बाँचेछु भने पनि मेरा अनुभव सुन्न नआउनू । मबाट ज्ञानगुनका कुरा सम्भव छैन । मबाट सही र गलतको फाइनल फैसला सम्भवै छैन । म गैरन्यायिक चरित्रको भोगी मनुवा हुँ ।
दिपायल बासको भोलिपल्ट बिहान उठ्दा गाउँ विकास प्रशिक्षण केन्द्रको चौरमा आख्यानकार घनश्याम उर्फ मिस्टर निर्वाणले भेटेजति सबैलाई ध्यान सिकाउँदै थिए । मलाई ध्यानस्यानमा खास रुचि छैन । मलाई कल्पना नै प्यारो लाग्छ । ध्यान आफूभित्रको यात्रा हो, कल्पना आफूभन्दा बाहिरको । आफूलाई ध्यान र कल्पना दुवैबाट असंलग्न राखेर लेख्नु बोल्नु भनेको तर्क हो ।
कविता ध्यान हो । कथा कल्पना हो । यी दुबै हृदयका काम हुन् । उता निबन्ध दिमागको काम हो । यसको मुल चरित्र तर्क हो । आफूलाई अलग राखेर तथ्य र तथ्यांक केलाएर खेल्नु हो । तर नाटक भनेको जीवन हो । जीवन अर्थात ध्यान, कल्पना र तर्कको संयोजन ।
यो मेरो सोचाइ हो । भर्खरैको । यसलाई याद नगर्नू किनकी भोलि म अर्कै कुरा भन्दिन पनि सक्छु । 
ध्यान गर्नु भनेको कवि र योगीहरूको काम हो । ओशो भन्थे, कवि र योगी दुबै पानी हुन्थे भने यिनमा मात्र १ डिग्रीको फरक हुन्थ्यो । आफ्नो काव्यिक अनुभूतिको चरम अवस्थामा पुग्दा कविको तापक्रम ९९ डिग्री पुग्छ । कविको तापक्रम यसभन्दा माथि पुग्दैन । त्यसपछि पानी बिस्तारै सेलाउँछ, कवि फेरि सांसारिक हुन्छ । तर योगी जब ध्यानको चरम अवस्थामा पुग्छ, ऊ १०० डिग्रीको पुग्छ । त्यसपछि ऊ उम्लन्छ र वाफ बन्छ । योगीलाई फेरि पानी जिन्दगी बाँच्नु पर्दैन, सांसारिक जीवनमा फर्किनु पर्दैन । तर अनुभूतिको हिसाबमा, सत्यमाथिको साक्षात्कारको हिसाबमा कवि र ध्यानी बराबर हुन्छन् । एक डिग्रीले अहिलको अवस्थालाई फरक पारे पनि विगतको अनुभवलाई फरक पार्दैन । अनुभूतिलाई फरक पार्दैन ।

गुरिल्ला दाइ, एउटा चिसो बियर उघार्नुस् ! यो मनसुनमा एउटा लालटिन ट्रेक हान्नुपर्छ ।

Thursday, August 27, 2015

फ्ल्यासब्याक भर्सेस फोरटोल्ड

भनाइ एक: आफूले खोजेको कुरा तिमीले महाभारतमा भेटेनौ भने वास्तवमा तिमीले त्यो कुरा खोजेकै थिएनौ।

भनाइ दुई: संसारमा त्यस्तो कुनै घटना न हिजो भएको थियो न कहिल्यै हुनेछ, जो महाभारतमा घटित नभएको होस्।

दुई भनाइको सार: महाभारत विगतको फ्ल्यासब्याक स्टोरीमात्रै होइन आगतको फोरटोल्ड स्टोरी पनि हो।
आजको यो आलेखमा यस्तै केही अपूर्ण संवाद गर्छु।

महाभारतको कथाको जड कर्मसँग जोडिएको छ। कर्मको क्रम जन्मक्रमसँग जोडिएको छ। पूर्वजन्मको वरदान वा श्रापबाट, प्रतिशोध लिने उत्कण्ठाबाट वा यस्तै अरू विभिन्‍न कुण्ठा-कारणबाट महाभारतका हरेक पात्रको जन्मक्रम चलेको हुन्छ।

पुनर्जन्मको किस्सा नभएको कुनै पात्र महाभारतमा छैन। कर्म गीताको सार हो । महाभारतका पात्रले जे काम गर्छन्, त्यो अर्को जन्मका लागि गर्छन्। जे गर्न बाध्य हुन्छन्, त्यो पूर्वजन्मका कारणले हुन्छन्।

त्यो पूर्वजन्मको किस्सा गुजुल्टिँदै वैदिक कालसम्म पनि पुगेको छ। स्वयं महादेवसमेत ब्याचलर अर्थात् अविवाहित रहँदाका बखतदेखिकै कनेक्टेड किस्साहरू महाभारतमा छन्। महाभारत एक पूरापूर फ्ल्यासब्याक स्टोरी हो।

महाभारतको हिस्सा ओगट्ने कृष्णदेखि सामान्य सिपाहीसम्म सबै पात्रका फ्ल्यासब्याक कथा छन्। यस्तो लाग्छ, मान्छे कहिल्यै पहिलोपटक जन्मँदै जन्मन्न। पहिलोपटक मर्दै मर्दैन।

महाभारतको आदि पर्वमा यस्ता पूर्वजन्महरूको फेहरिस्त छ। पात्रको यस जन्मको भूमिका के हो, खुलाइएको छ । सबका सब पात्रहरू समयको कालातीत डोरी समातेर फुतुफुतु जन्मिएका छन् महाभारतको कालमा।

जन्मन बाँकी पनि यस्ता प्रतीत हुन्छन्, मानौं ब्याकस्टेजमा आफ्नो भूमिकाको डायलग कण्ठ गर्दै बसेका छन्। यस्तो लाग्छ, महाभारतका सबका सब पात्रहरू भड्किएका आत्माहरू हुन्। आदि पर्वले महाभारतको वास्तविक कथार्सिसलाई हल्का पारिदिएको छ।

'प्रारब्धको खेल' भन्ने लाजमर्दो लजिकका आधारमा पात्रहरूमाथि घिनलाग्दो पोयटिक जस्टिस लादिएको छ। म जसलाई महाभारत पढ्न सिफारिस गर्छु, आदि पर्व नै नपढ्ने सल्लाह दिन्छु।

रमाइलो कुरा के भने महाभारतपछि कुनै पात्रले अर्को जन्म लिनु परेन। अथवा त्यस्तो कुनै प्रसंग कम्तीमा महाभारतमा (अरू कुनै वैदिक ग्रन्थमा पनि) छैन जसमा दमित इच्छा वा प्रतिशोधको शृंखलाका कारण कुनै दैवी शक्तिले 'अर्को जन्ममा यस्तो होला÷होओस् !' भनेर दिएको आश्वासनको प्रसंग परोस्। वा कसैले अर्को जन्मका लागि श्राप वा वरदान दिएको होस्।

यसैले पनि महाभारत कालातीत पुनर्जन्मका साइक्लिक किस्साहरूको एकमुष्ठ अन्त्येष्टि किताब हो। अ डेड एन्ड स्टोरी अफ भिसिअस सर्कल अफ रिबर्थ। यस्तो लाग्छ, महाभारतपछि मत्र्यलोकको कोही पनि मान्छे पुनर्जन्मको टिठलाग्दो दोहोरीबाट मुक्त भएको छ।

महाभारतमा कर्णको कथाले धेरैलाई पिरोल्छ। महाभारतमै बिहेपूर्व मात्रै होइन बिहेपछि समेत परपुरुषबाट सन्तान जन्माएर पनि सम्मानित भएका अरू घटना हुँदाहुँदै कुन्तीले कर्णलाई खोलामा बगाउनुको कुनै लजिकल कोहरेन्स भेट्न सकिन्‍न।

शूरवीर र दानवीर कर्ण सदैव छलको सिकार हुन्छन्, छलपूर्वक नै मारिन्छन्। कर्णमाथि काव्यिक अन्याय थोपरेको आरोपबाट लेखकलाई जोगाउँदै पाठकलाई पनि ‘ए यस्तो पो रैछ' भनेर चित्त बुझाउने कुनै ठाउँ छ भने अब मात्रै फ्ल्यासब्याक छ।

पूर्वजन्ममा कर्ण थिए एक राक्षस। नाम दम्भोद्भव। सूर्यको उपासनाले उनले हजार कवज प्राप्त गर्छन्। वर पनि पाउँछन्। त्यो कवज उनले मात्रै तोड्न सक्छन्, जसले हजार वर्ष तपस्या गरेका हुन्छन्। अनि जसले उनको कवज तोड्छ, उसको तत्कालै मृत्यु हुन्छ।

त्यसपछि उनी सहस्र कवच नामले चिनिन्छन्। उनी सबैलाई दुःख दिँदै हिँड्न थाल्छन्। त्यसबाट चिन्तित मुर्तीले विष्णुलाई गुहार्छिन् । महादेवकी पहिली श्रीमती सतीदेवीकी बहिनी थिइन् मुर्ती। विष्णु उनको गर्भमा प्रवेश गरी नर र नारायण नामक जुम्ल्याहाका रूपमा जन्मछन्। ती दुई शरीर एक आत्मा भएका केटाहरू थिए।

ठूलो भएपछि नारायणको तपको बलमा नरले सहस्र कवजलाई परास्त गर्दै जान्छन्। एउटा कवच तोड्नेबित्तिकै नर मर्छन् तर नारायणको मृत्युञ्जय मन्त्रले उनलाई ब्यूँताइहाल्छ। अन्तिममा नौ सय ९९ वटा कवज तोडिएपछि उनी भाग्छन् र सूर्यको शरणमा पर्छन्।

पछ्याउँदै गएको नारायणले आदेश दिँदा पनि सूर्यले आफ्नो भक्तलाई जोगाउँछन्। त्यसैले मनुष्यजुनीको श्राप पाउँछन्। यो श्राप नै त्रेतायुगको अन्तिम श्राप हुन्छ। तत्कालै प्रलय भई युग परिवर्तन हुन्छ। द्वापर आउँछ।
महाभारतमा फ्ल्यासब्याकलाई लाक्षणिक हतियारको रुपमा प्रयोग गरिएको छ। उदाहरणीय भनिएका पात्रहरुले पनि अनुमानै नगरेको मएत्‍यु र सजाय  भोग्‍न परेपछि पाठकमा उत्‍पन्‍न हुने काव्‍यिक असन्तुष्टिको आभास मेटाउने यो हतियार प्रयोग  भएको छ।  

महाभारतमा जन्मने कर्ण आधा सूर्य र आधा दम्भोद्भव हुन्। उनी पूर्वजन्ममा बाँकी अन्तिम एउटा कवज बोकेर जन्मेका हुन्छन्। उनी आधा महागुण र आधा महाअवगुण बोकेर जन्मनुको कारण त्यही नै हो । आधा, व्यापक हिरो अनि आधा, व्यापक भिलेनजस्तो स्वभाव देखाउँछन् उनले।

त्यस्तै अर्जुन र कृष्ण नर र नारायण हुन्। मुर्तीलाई दिएको वचन पूरा गर्न कृष्ण र अर्जुन जन्मेका हुन्छन्। गीतामा कृष्णले अर्जुनलाई 'तिमी र म अविभाज्य नर-नारायण हौं' भनेका छन्।

त्यस्तै पोयटिक जस्टिस नपुगेको अर्का पात्र हुन्, अभिमन्यु। शुभद्रा र अर्जुनको छोरा अभिमन्यु काँचो उमेरमा चक्रव्यूहको सिकार हुन्छन्। सोह्रवर्षे किशोरवयमै छलपूर्वक मारिएका बहादुर केटाले सबै पाठकको मन जित्छन् । यसको मृत्युले पाठकको मनमा कुँजिएको अन्यायिक पीडाको गाँठो फुकाउन पनि पुनर्जन्मको फ्ल्यासब्याक टेक्निककै सहारा लिइएको छ।

अभिमन्यु वास्तवमा कल्यावण नाम गरेको राक्षस हुन्छन् पूर्वजन्ममा। कृष्णले नै उनको वध गरेका हुन्छन्। वधपछि उनको आत्मालाई आफ्नो पछ्यौराले बेरेर द्वारिकामा लगेर दराजमा बन्दी बनाई राख्छन्।

पाण्डवहरू वनबासमा हुँदा शुभद्राले दराज खोल्छिन्। त्यही बेला प्रकाशमान आत्मा उनको गर्भमा प्रवेश गर्छ र अभिमन्यु जन्मन्छन्। यसै कारणले नै कृष्णले अभिमन्यु गर्भमा छँदा चक्रव्यूह प्रवेश गर्ने तरिकामात्रै सुनाएका थिए, निस्कने होइन। त्यसको फन्दामा परेर अभिमन्यु मर्छन्।

हुन त अभिमन्यु राक्षस नभई चन्द्रदेवको छोरो भएको र आफ्नो प्राणप्रिय छोरालाई मत्र्यलोकमा १६ वर्षका लागि मात्रै पठाउन राजी भएको कारणले उनको १६ वर्षमै मृत्यु भएको प्रसंग पनि सुन्नमा पाइन्छ।

पाठकको मन जित्‍ने अर्का होनहार पात्र हुन्, एकलव्य । द्रोणाचार्यको नक्कल मूर्तिलाई सक्कल गुरु थापेर धनुर्विद्या सिकेका उनले अक्कल गुमाएर सक्कल बूढस्औंला चढाउँछन् गुरुदक्षिणामा। यसले एकपटक विद्यार्थी जीवन पार गरेका जोकोही पाठकलाई अनावश्यक झोक चलाउँछ।

अब यसको नैतिक निरुपण पनि फ्ल्यासब्याकले मात्रै दिनसक्ने भयो। एकलव्य देव श्रवको छोरा हुन्छन्। देव श्रव वासुदेवका भाइ हुन्। यसरी एकलव्य त कृष्णको अंकलका छोरा भइगए।

जंगलमा हराएका एकलव्यलाई निशाद हिरन्यधनुले भेट्टाएर हुर्काएका हुन्छन्। रुक्मिणीको स्वयंवरका बखत बाबु देव श्रवलाई बचाउँदा दाइ कृष्णको हातबाट उनी मर्छन्।गुरुदक्षिणाको छलबाट पीडित भएका एकलव्यलाई कृष्णले द्रोणाचार्यसित बदला लिन पाउने वरदान दिन्छन्, मृत्युपूर्व।

एकलव्य पछि धृष्टध्युम्न भएर जन्मन्छन् जसले छोरा अश्वत्थामा मरेको खबरले आक्रान्त भई समाधिमा बसेको द्रोणाचार्यको शिर छेदन गर्छन्।काव्यिक न्यायको धारा उपधाराले नछोएका पात्रहरू कति छन् कति महाभारतमा।

बाबुको यौनिक सनकलाई पूरा गर्न अविवाहित रहेको भीष्म किन तीरमा सुतेर ५८ दिनसम्म बस्नुपर्‍यो? लोग्नेकै खातिर किन गान्धारीले जीवनभर अन्धो हुनुपर्‍यो?द्रौपदीले किन पाँचपाँच लोग्नेलाई बेहोरेर बस्नुपर्‍यो? धृतराष्ट्र स्वयं किन दृष्टिदोष बोकेर जन्मनु पर्‍यो? पाण्डु किन रोगी भए ?

किन कृष्णको यादव वंश पूरै विनाश हुन पुग्यो? किन उनको नामसँग सदैव जोडिएर आउने १६ सय ग्वालिनीहरू म्लेच्छहरूको अपहरणमा परी यौन शोषणको सिकार भए? यी सब प्रश्नको उत्तर फ्ल्यासब्याकमा छन्।

त्यो फ्ल्यासब्याक कतिको यही जीवनमा छ, कतिको भने पूर्वजन्ममा । विचरा भीष्मको त ७३ जुनी अगाडि छ । त्यो बेला तीरले घोचेर कीरा मारेको हुनाले अहिले तीरऔबिस्तरा प्राप्त भएछ उनलाई।

मेरो कुराको सार के हो भने महाभारतमा फ्ल्यासब्याकलाई लाक्षणिक हतियारको रूपमा प्रयोग गरिएको छ। उदाहरणीय भनिएका पात्रहरूले पनि अनुुमानै नगरेको मृत्यु र सजाय भोग्न परेपछि पाठकमा उत्पन्न हुने काव्यिक असन्तुष्टिको आभास मेटाउन यो हतियार प्रयोग भएको छ।

रमाइलो कुरा के भने, आफ्नो पूर्वजन्मको बारेमा केही पात्रले मात्रै कृष्णबाट थाहा पाउँछन्। ती ती पात्रहरूको मात्रै कृष्णले फ्ल्यासब्याक बताउँछन् जो जो पात्र अन्यायमा परेको आभास पाठकलाई हुन्छ।

यो भयो फ्यासब्याक कुरा। तर महाभारत त एक फोरटोल्ड स्टोरी पनि हो। हरेक फ्ल्यासब्याक एक फोरटोल्ड भइजान्छ महाभारतमा। धेरैले अविश्वास गर्ने एउटा सत्य के हो भने महाभारत जसले लेखे भनियो, वेदव्यास, यो कुनै व्यक्तिको नाम नभएर पद हो।

वेदहरूको पूर्ण ज्ञातालाई वेदव्यास भनिन्थ्यो। अर्को अनौठो कुरा के हो भने घटना हुनुअघि नै महाभारत लेखिएको (रचिएको भन्दा उपयुक्त होला) थियो। यस मानेमा महाभारत फोरटोल्ड स्टोरी हो।

यस्तो कथा जहाँ पात्रहरूले खासमा आगामी घटनाहरूको अवलोकनमात्रै गरेका हुन्। तर महाभारतका हरेक पात्रलाई कम्तीमा के ज्ञान थियो भने उनीहरूमाथि जे हुँदैछ त्यो सब प्रारब्धले हुँदैछ। पूर्वनिर्धारित भाग्यको बाटोमा मात्रै हिँडिरहेका छन् उनीहरू। उनीहरूले पात्रतामात्रै निर्वाह गरेका हुन्।

यसर्थ यसका पात्रहरू मात्रै निरीह भूमिका निर्वाह गर्दै थिए जुन किताबमा लेखिएको थियो । दुःखको कुरा, ती पात्रलाई नै आफ्नो के कथा लेखिइसकेको छ ?  थाहा थिएन। त्यसो पनि होइन।

महाभारतका केही पात्रलाई भने यो कुरा थाहा थियो। कथा लेखक व्यास, अवतारी कृष्ण र बाबुको मासु खाएर त्रिकालदर्शी बनेका सहदेवलाई विगत, वर्तमान र आगतको पूरै कुरा थाहा थियो। त्यस्तै आंशिक कुरा थाहा थियो लाइभ न्यारेटर सञ्जयलाई र बूढो बाजे भीष्मलाई।

महाभारतको पूरापूर भविष्यको ज्ञान पाण्डवमध्येको कान्छो सहदेवलाई थियो। पिता पाण्डुले मर्नुअघि आफ्नो मृत शरीरलाई ‘विसर्जन नगर्नू बरु खानू’ भनेर छोराहरूलाई भनेका हुन्छन्। यसरी खाए आफ्नो ज्ञान र सिद्धि छोराहरूलाई पनि प्राप्त हुने उनले बताउँछन्।

पाण्डु ज्ञान, बुद्धि र बलका वैभव थिए। त्रिकालदर्शी थिए। तर बाबुको लास काटेर मासु खाने कुरा कुसंस्कृत थियो। अभोग्य र असोच्य थियो। त्यसैले कसैले पनि आफ्नो बाबुको अन्तिम इच्छा भए पनि त्यसलाई पूरा गर्नेबारे सोच्दा पनि सोचेनन्। तर लास कुरेर बसेका बेला सहदेवले देख्छन्, केही कमिला पाण्डुको लास कुटुकुट टोकेर फर्किंदै थिए।

बाबुको अन्तिम इच्छा लाक्षणिक रूपमा भए पनि पूरा हुने सोची सहदेव फर्किंदै गरेको एउटा कमिलालाई कसैले थाहा नपाउने गरी मुखमा हाल्छन् र घुटुक्क निल्छन् । तत्कालै उनलाई दिव्यबोध हुन्छ।
अरू सबै गुण ट्रान्सफर नभए पनि त्रिकाल दृष्टिको गुण उनमा उदय हुन्छ। तर कृष्णले उनलाई आफूलाई थाहा भएको कुरा अरूलाई बताउन नपाउने बन्धनमा पार्छ। झुठो नबोल्ने सहदेवले कसैले सोधे भनेमात्रै ‘प्रश्नहरूमा उत्तर दिनुपर्ने' वाचा गराउँछन्।

आफूलाई सबै कुरा थाहा भए पनि चुपचाप बस्नुपर्ने पीडादायी अवस्थाबाट गुज्रेका कारणले नै सहदेवलाई सर्वाधिक सहनशील व्यक्ति भनिन्छ। सर्वज्ञानले युक्त हुनु तर अभिव्यक्तिको स्वतन्त्रता नपाउनुको मिथकीय पीडाको मनोविज्ञान हो। सहदेव जो आफ्नो छोरो सुहोत्र कर्णको हातबाट मर्ने थाहा हुँदाहुँदै पनि चुपचाप एक्लै रोएर बस्थे।

भीष्मलाई ‘महाभारतको कथा अघि नै लेखिएको र आफू मात्रै त्यसमा जे लेखियो त्यसैको भूमिका निर्वाह गर्न आएको' ज्ञान थियो। कौरव पक्ष महाभारतको युद्धमा पराजित हुँदै गइरहेका थिए। दुर्योधन एक साँझ भीष्मकहाँ गए र ‘आफ्नो पूर्ण क्षमताले युद्ध नगरेको' भनेर वृद्ध सेनापतिसँग गुनासो गरे।

आरोपले आवेगमा आएका भीष्मले तुरुन्त मन्त्र जाप गरी पाँचवटा तीर उत्पन्न गरे। तिनै पाँच तीरले भोलिपल्ट पाँचै पाण्डवको देहलीला समाप्त गर्ने वचन दिए। आगतको ज्ञान नभएका भए भीष्मले त्यस्तै तीर न उत्पन्न गर्थे न भोलिपल्ट त्यही तीरले पाण्डवको बध गर्ने वचन दिन्थे।

महाभारत एक पूरापूर फ्ल्यासब्याक स्टोरी हो। महाभारतको हिस्सा ओगट्ने कृष्णदेखि सामान्य सिपाहीसम्म सबै पात्रका फ्ल्यासब्याक कथा छन्। यस्तो लाग्छ, मान्छे कहिल्यै पहिलोपटक जन्मँदै जन्मन्‍न। पहिलोपटक मर्दै मर्दैन।

अविश्वासी दुर्योधनले रातभरमा बूढाको मन फेरिएला र तीर गायब गर्लान् भन्ने डरले पाँचवटै तीर आफैंले लिएर गए। भोलिपल्ट पाण्डवको विनाश अवश्यम्भावी थियो। अब पाण्डवलाई बचाउन केवल फ्ल्यासब्याकले मात्रै सक्ने भयो। भीष्म, जसलाई प्रतिज्ञा पुरुष भनिन्थ्यो, उनको अमोघ तीरको सामना गर्ने सामर्थ्य स्वयं कृष्णसँग पनि थिएन।

पाण्डवको वनबासका बेलामा खिसिट्युरी गर्न वनमा गएका दुर्योधनको जलक्रीडाका क्रममा गन्धर्वहरूसँग झगडा भएको हुन्छ। गन्धर्वहरूले उनलाई बन्दी बनाएर लैजान्छन्।

बन्दी भएका दुर्योधनलाई अर्जुनले बचाउँछन्। आफ्नो शत्रुबाट उद्धार भएको पीडामा दुर्योधनले अर्जुनलाई केही वरदान माग्न भन्छन् । अर्जुुनले ‘बेला आउँदा माग्छु' भनेका हुन्छन्।

भोलिपल्टको युद्धको सुरुमै कृष्णले अर्जुनलाई भीष्मका पाँच तीर माग्न लगाएपछि दुर्योधनले वचन पूरा गर्नुपर्ने क्षेत्रीय धर्मबाट विवश भएर ती पाँचै तीर अर्जुनलाई दिन्छन्। दुर्योधन सरासर भीष्मकहाँ पुगेर अर्का पाँच तीर फेरि उत्पन्न गर्न भन्छन्। तब भीष्म भन्छन्, अब कदाचित् त्यस्तो सम्भव छैन। जे भइरहेको छ, त्यो पहिल्यै लेखिएको छ । म नलेखिएको कुरा गर्न सक्दिनँ।

र अन्तिममा अफ द बिट कुरा। कौरव र पाण्डव दुवैले बेलाबखतमा छलपूर्ण व्यवहार गरेका छन्। स्वयं कृष्णको जीवन नै पूरै यस्तै हल्काफुल्का वा गम्भीर छलहरूबाट सिँचित छ।

महाभारतमा कोही पनि पात्र पूर्ण गुणी र पूर्ण दोषी छैनन्, पूर्ण पापी र पूर्ण धर्मात्मा छैनन्। खासमा त्यस्तो दर्दनाक र संहारक भनिएको युद्ध हुनुपर्ने कुनै गम्भीर कारण पनि महाभारतभित्र छैन।

त्यसैले कतिले त ‘गीताको ज्ञानलाई प्रदान गर्ने प्राक्टिकल अवसर सिर्जना गर्नकै लागि मात्र कृष्णले युद्धका लागि उक्साएका हुन्' भन्ने विचार पनि राख्छन्। यसैका कारण गान्धारीको श्राप लागेर उनको वंश विनाश भएको हुन्छ।

हो अफ द बिट कुरा। कथा पहिले नै लेखिने र सोही लेखोटलाई कहिले फ्ल्यासब्याक त कहिले फोरटोल्डजस्तो गरेर न्यारेट गर्ने टेक्निकमा भर्खरै कुमार नगरकोटीले 'मिस्टिका' नामको उपन्यास लेखेका छन्। यो टेक्निकअनुसार पात्रहरू कथानक घटनाको सिकार वा साक्षीमात्रै हुन्छन्, कर्मिक हुँदैनन्।
अन्नपूर्ण पोस्ट्को फेसबुक, ट्वीटर, गुगल प्लस र युट्युबमा जोडिनुस् । मोबाइलका लागि एन्ड्रोइड र आइस्टोरबाट एप डाउनलोड गर्नुस् ।

- See more at: http://annapurnapost.com/News.aspxstory/17889#sthash.SLHp9Xnr.dpuf