Contact Form

Name

Email *

Message *

Sunday, January 7, 2018

उदयप्रकाशसँग नौका विहार



फेवातालसँग मेरा अनेकन किस्सा छन्। रैथाने पोखरेलीको फेवासँग किस्सा हुनु खास ठूलो कुरा पनि होइन। यस आलेखमा केही किस्सा सुनाउन मन भयो।
क) १५ वर्षअघि हरेक फुल मुनमा मित्र राजन र म राति १२ बजे बोटिङमा जान्थ्यौं। डुंगामै बसेर मस्त पिउँथ्यौं, गीत गाउँथ्यौं र पौडी खेलेर आउँथ्यौं। मीनपचासको पूर्णिमामा फेवाको बिचोबिच डाइभ मार्नु कम्ता एड्भेन्चरस थिएन।
ख) मेरो पहिलो प्रेम पर्दाको बखत म कल्पना गर्थे, स–स्यानो योजना पनि बनाउँथेँ, मेरी उनीसितको पहिलो सेक्स फेवातालमै होओस्। बोटमा। सेक्सका हरेक स्ट्रोकसँगै बोटमुन्तिरको पानी छचल्कियोस् र अन्तिम स्ट्रोकमा एउटा गहन छप्ल्यांग होओस्। तर, त्यो एउटा रहर यस्तो भयो जुन कहिल्यै पूरा भएन।
ग) मैले पहिलोपटक स्कुलबाट भागेर गएको पहिलो ठाउँ थियो फेवाताल। अरुण कार्की दाइको दुईडन्डे साइकलमा पशुपति दाइसहित ‘त्रिपल लोड’ पुगेको थिएँ फेवा। हामी दिनभर पौडेर बसेका थियौं। सायद ६ कक्षामा भर्खरै पुगेको थिएँ म। उमेर १२÷१३। त्यो दिनपछि स्कुलबाट भाग्ने लत यस्तरी लाग्यो कि म हरेक ‘स्कुल’बाट भागिरहेकै छु।
घ) मैले पहिलो सुसाइड एटेम्ट फेवातालको बाँधमा गरेको थिएँ। दिनभरि बाँधमा हल्लिएर बसेँ तर आँट आएन। अनि फर्केको थिएँ। त्यो थियो ५३ सालको कुरा।
भो नथापौं, यस्ता किस्साको संस्मरणले बेक्कारसँग उदास बनाउँछ मान्छेलाई। तर, बताउँदा बोर नहुने एउटा कुरा के हो भने मैले फेवातालमा धेरैलाई मस्तसँग बोटिङ गराएको छु। लेखक, कवि, गायक, राजनीतिकर्मी, कलाकार, रंगकर्मी। यसको लिस्ट निकै लामो छ। हरेकसँगका रोचक अनुभवहरू छन्। तीमध्ये एक थिए, उदयप्रकाश अर्थात् मिस्टर मोहनदासका कुख्यात मानस–पिता।
बाराही घाटबाट दुइटा डुंगा छुटेका थिए। एउटामा उदयप्रकाश र म, अर्कोमा फोटोग्राफर कृष्णमणि बराल र केशवशरण। बाँकी साथीहरू केही बेर किनारमै पर्खिएर बसे। यो केशवशरणको आइडिया थियो, ‘दुइटा लेखकको सिंगल बोटिङ जाओस् न।’









यज्ञश अनुदित कथासंग्रह ‘नेलकटर’को विमोचन तथा अन्य कुराकानीका लागि पोखरा आएका उदयप्रकाशसँग कुरा गर्ने र कुराकानीलाई अन्नपूर्ण पोस्ट् ‘फुर्सद’मा फिचर गर्ने रहर थियो केशवशरणको। त्यसैको फेरोमा म बाँधिएको थिएँ र बाँधिएको थियो, एउटा भलिबलजत्रो टिम ः चितौने पढक्कु उदय अधिकारी जो उदयप्रकाशका पुराना मित्र थिए, पत्रकार युवराज श्रेष्ठ अनि फोटोग्राफर कृष्णमणि बराल।
उदयप्रकाशसँग सँगालेको दुईघन्टे सत्संगको संस्मरण लेखूँला भन्ने कुनै योजना थिएन। जीवनमा यस्ता संस्मरणहरूको तादाद यति बाक्लो छ, सबैलाई पल्टाउन बस्यो भने आयु त्यसै उल्टिएर सकिन्छ। म विगत सम्झेर आयु रित्याउने धन्दामा फँस्न चाहन्नँ। तर, उदय प्रकाशका लागि अलिकति आयु खर्चिनु ठिकै कुरा होला भन्ने प्रस्ट त्यति बेला भयो, जब ‘आयुचोर’का नोटोरियस योजनाकार कुमार नगरकोटीले लिँडे ढिपि नै गरे, ‘एक लेख ! दुई लेख ! तीन लेख ! लेख, लेख, लेख !’
नगरकोटी मलाई चकचके बालकजस्ता लाग्छन्। बच्चाको जिद पूरा नगर्ने कुरै भएन। उनैले फुराइदिएको शीर्षक हो यो, ‘उदयप्रकाशसँग नौका विहार।’
‘दोचा’को विमोचनका बेला दसैंलगत्तै पारिवारिक घुमघामका लागि पोखरा आउने निम्तो गरेको थिएँ कुमार नगरकोटीलाई। यसकै छेकलमा ‘नगरकोटी नाइट’ नाम राखेर पोखरामा एउटा काव्य साँझ पनि आयोजना गरिएको थियो। काव्य साँझको अघिल्लो दिन हामी नौका विहारमा थियौं। भाउजु सावित्री, छोरा ग्रिस्मिल अनि मेरो परिवार; श्रीमती नताशा र छोरी सौरभी। नौकाको एउटा टुप्पोमा उनी थिए, अर्कोमा म। बीचमा बसेको पारिवारिक उपस्थितिलाई नोटिससम्म पनि नगरी हामी गफिएका थियौं।
फेवातालको बिचोबिच पुग्दा कुमार दाइले भने, ‘यु नो गनेस, मलाई पोखरा खास मन पर्दैन। यहाँको ताल, हिमाल, हरिया डाँडा, सङ्ला खोला मेरा रुचिमै पर्दैनन्। बरु मलाई लेकसाइडका कफी कर्नरहरू मन पर्छन्। ढुंगा टाँसेर चम्किला पारिएका यहाँका घरहरू मन पर्छन्। मलाई लेकसाइडको औरा मन पर्छ, त्यो पनि झम्किलो साँझको। मलाई मान्छेले बनाएका कुरा मात्रै मन पर्छन्। तँ हुँदैनथिस् भने मलाई पोखराका यी कुरा पनि मन पर्दैनथे होला।’
कुमार नगरकोटीका प्रेमिल वचनले धन्य भएको अवसर छोपेर सम्झनामा आएका थिए उदयप्रकाश। फेवातालको अहिले हामी भएकै ठाउँनेर डुंगा लिएर पुग्दा मिस्टर मोहनदासका मानस–पिता फेवा र हिमालको विराट् सौन्दर्यले अवाक् भएका थिए। उनले मलाई वरपरका सबै पहाड र हिमालका नाम सोधेका थिए। आफ्ना प्रिय दुई लेखकका पोखराबारेका पस्र्पेक्टिभ बिल्कुल अलग थिए। एउटा पोखराको प्राकृतिक सौन्दर्यले छोपिएर आफ्नो हृदयलाई बुरुकबुरुक पार्दै थिए, अर्का थिए त्यसप्रति टोटल्ली इन्डिफरेन्ट। एक थिए उदयप्रकाश, जसलाई मान्छेले बनाएका कुराप्रति कुनै चासो थिएन, बरु अटल असन्तुष्टि र घृणा थियो; अर्का थिए नगरकोटी जो मान्छेले नबनाएका कुरामा कुनै दिलचस्पी लिँदैनथे।
सायद म बीचमा थिएँ। मैले सोचेथेँ, कस्सो दुवै जनालाई एकसाथ लगेनछु बोटिङमा। नभए यी दुई साँढेको चेपुवामा म विकल बाच्छो किमा बन्ने पक्का थियो। त्यसो त ‘भेट’ भन्ने कुरा पात्र, समय र स्थानको संयोजनले मात्रै बन्दो रहेछ। उदयप्रकाश, कुमार नगरकोटी र मेरो नौका विहारको स्थान त एउटै थियो, फेवाताल। तर, समय त्यही थिएन। साक्षी पात्र बनेको म पनि दुवै अवसरमा थिएँ तर कुमार नगरकोटी र उदयप्रकाश एकैचोटि थिएनन्। त्यसैले उनीहरू भेट भएनन्। भएको भए के हुन्थ्यो होला ?
सायद त्यो कुमार नगरकोटीको कुनै सर्रियल कथा हुन्थ्यो। अनुमान सहज छ।
‘दाइ तपाईंले जन्माएकामध्ये सबैभन्दा दुःखी पात्र को हो ? ’ उदयप्रकाशमाथि संस्मरण लेख्न हत्तु हालेका नगरकोटीलाई मैले सोधेँ।
‘दुःखै पाउने त को हुनु र खै ? छैन त्यस्तो त।’ उनले आफ्ना मानस पुत्रपुत्रीहरू सम्झिन खोज्दै भने। फुस्रोकालो चिन्डे तालु मुन्तिरको निधारमा सम्झन खोज्दा उम्रिएका कसरतका रेखाहरू एकैछिन उठे अनि सेलाए।
‘तुलनात्मक रूपमा भन्नुस् न। यो पात्र जन्माएर मैले ठीक गरिनँ, विचराको भविष्य बर्बाद भयो भनेजस्तो लाग्ने कुनै पात्र त होला नि !’ मैले लामो हाँसो मार्दै फेरि जोडबलसाथ सोधेँ।
‘अहँ छैन, छँदै छैन। मेरा मानस पुत्रपुत्रीहरू सुखी पनि छैनन्। दुःखी पनि छैनन्। मलाई दुःख र सुखको झन्झटमा फँसेर लेख्नै आउँदैन’, नगरकोटीले कन्क्लुड गरे।
मैले उदयप्रकाशलाई पहिलोपटक उनका कविताहरू मार्फत चिनेको थिएँ। ‘सुनो कारिगर’, ‘एक भाषा हुवा करती है’ दुवै कविता संग्रहलाई मैले बरोबर प्रेम गरेको थिएँ। उनको आख्यानको परिचय भने यज्ञशले गराएका थिए, ‘मोहनदास’मार्फत। त्यसपछि पढेको हुँ मैले भेटेजति उनका कथा। पिली छतरीवाली लडकी, वारेन हेस्टिग्स का साँड, तिरिछ, वाल अफ् दिल्ली ...।
बाराही घाटबाट दुइटा डुंगा छुटेका थिए। एउटामा उदयप्रकाश र म, अर्कोमा फोटोग्राफर कृष्णमणि बराल र केशवशरण। बाँकी साथीहरू केही बेर किनारमै पर्खिएर बसे। यो केशवशरणको आइडिया थियो, ‘दुइटा लेखकको सिंगल बोटिङ जाओस् न।’
जलविहारपछि थकाइ मार्न हामी प्याराडिसो नामको रेस्तुराँमा छि¥यौं। फेवा किनार ताकेर एउटा टेबलमा बस्यौं। त्यो विल्कुल त्यही टेबल थियो, जसलाई १० महिनापछि लेखक बुद्धिसागरले ‘ब्रह्मजंग’को स्क्रिप्ट लेख्न प्रयोग गरेका थिए। बुद्धिले लगभग एक महिना छोडनन् त्यो टेबल। मिस्टर ब्लुजलाई सायद १० महिनापहिले भएको हाम्रो जमघटको आभाले छोपेको थियो कि !
‘तपाईंका हरेक कथामा उदेकलाग्दो निराशा भेट्छु म। तपाईंका पात्रहरू एउटा संघर्षमा त हुन्छन् तर उनीहरू एकदमै चाँडै संघर्षबाट थाकेर हत्तु भैजान्छन्। कति पात्र मरिन्छन्, कतिले आत्महत्या गर्छन्, कति पागल हुन्छन्, कति पलायन भएर जान्छन्। जस्तो कि ‘मंगोसिल’की नौ वर्षीया बालिका अज्ञात रोगसँग लड्दा लड्दै आत्महत्या गर्छे। ‘वाल्स अफ् दिल्ली’को रामनिवास बरा पुलिसको गोलीले मारिएको छ। आत्म परिचयको लडाइँमा पराजित मोहनदासको पलायन, पाउल गोमराको पागलपन...। एउटा लेफ्टिस्ट विङको राइटरलाई सुहाउने प्रस्तुति हो र यो ? ’
मेरो प्रश्न सुन्नेबित्तिकै उदयप्रकाशको गोरो निधारमा पनि उस्तै रेखाहरू देखिएका थिए, जस्तो रेखा भर्खरै मैले नगरकोटीका निधारमा पाएथेँ। तर, उदयप्रकाशका रेखामा अनिश्चय र डर ज्यादा थियो। अशान्ति थियो।
‘यसो हुनुका मूल कारण सायद मेरो बालापन होला। मैले ११ वर्षको उमेरमा आमा गुमाएँ, १५ वर्षपछि बा जानुभयो। दुवैलाई क्यान्सरले लगेको हो। त्यसपछि हामी टुहुरा केटाकेटी गाउँ छोडेर सहर पस्न बाध्य भयौं, जुन बेला मेरी बहिनीमात्रै पाँच वर्षकी थिई। ‘नेलकटर’ मेरी आमाको मृत्युको कथा हो। आमा बिरामी हुँदा म आमाबिना कसरी बाँचूला भनेर कल्पना गर्दै रुन्थेँ। तर, आखिर त्यसरी नै बाँचे जसरी मैले कल्पना गर्थें; बडो दुःखपूर्वक। मृत्यु र अनिश्चितताको त्यो गहिरो अनुभूतिबाट गुज्रेको हुनाले होला, मेरो अवचेतनले, मेरो हृदयतलले मेरा पात्रहरूलाई त्यस्तै भविष्यतिर लैजान्छ। म अनिश्चय र मृत्युको छायाबाट भाग्नै सक्दिनँ।’
मैले भर्खरै सम्झनामा आएका उदयप्रकाशको उत्तर कुमार नगरकोटीलाई सुनाएँ। उत्तर सुनेर फिक्सन डिजाइनर मौन बसे। पामेतिरको कुनै किनारमा कालिजुरे हाँस एक्लै उडिरहेको थियो। उनका आँखा टफ्टेड डकमा एकटक थिए। सोचेँ, सायद नगरकोटीले आफ्नो जीवन यति अस्तव्यस्त भएर बाँचे कि उनलाई दुःखी हुने समय पनि मिलेन। सुखी हुने समय पनि मिलेन। उनका पात्रहरू पनि त्यस्तै जन्मे। बाबुजस्तो भयो, छोराछोरी उस्तै जन्मिनु स्वाभाविक पनि होला। वा हुन सक्छ, उनले जीवनमा उच्चाट गहिरा दुःख र उत्ताना सुखका लिमिटहरू पार गरेर आएका छन्। यसैकारण पनि उनी चाहन्छन् कि आफ्नो नियति आफ्ना पात्रलाई नसरोेस् !
भोलि साँझ हुने ‘नगरकोटी नाइट’मा उनले सुनाउने मैले आजसम्म नपढेको नयाँ कविता सम्झेँ, ‘डेथ इज अ कम्प्लिट वेस्ट अफ् टाइम।’
‘तपाईंलाई थाहा होला म मूलतः कवि हुँ, म संयोगले मात्रै आख्यानमा आएको हुँ। त्यसैले पनि म कहिल्यै आशावादी वा यथार्थवादी लेखक हुनै सक्दिनँ। एउटा कवि सदैव निराशावादी हुँदो रहेछ, काल्पनिक हुँदो रहेछ। जात, धर्म, व्यवस्था, राजनीतिले निचोरेका मान्छेहरूका अनुहार देख्दा विद्रोहको भावना त आउँछ तर म त्यो विद्रोहलाई सकुशल परिवर्तनमा पटाक्षेप गर्न चाहन्नँ वा भनूँ गर्न सक्दिनँ। मैले मेरा कथामा विद्रोह र आशावादिता भर्ने कोसिस नगरेको होइन, गरेँ। तर, जब लेखेर सकिन्थ्यो त्यो यथार्थ होइन, फेन्टासी भइजान्थ्यो।’ मैले फेरि उदयप्रकाश सम्झेँ र सम्झनाको त्यो उत्तर नगरकोटीलाई सुनाएँ।
आफ्नै सन्तानको भविष्य दुःखपूर्ण बनाइदिने जैविक–पिताहरूलाई के भनेर गाली गर्नुपर्छ, तपाई आफैं गर्नुस् तर त्यस्तै मानस–पिता भने हाम्रो समाजका सफल मान्छेहरू हुन्छन्। आफ्ना आख्यानका पात्रलाई जति धेरै दुःख दिन सक्यो, जति गहिरो पीडाको खाडलमा जाक्न सक्यो, सायद उत्ति सफल हुन्छ एउटा लेखक अर्थात मानस–पिता। यसरी सोच्दा, हरेक लेखकहरू परपीडक
(सेडिस्ट) पो हुन् कि, होइन ?
एक झमटको मौनतापछि नगरकोटीले मोबाइल खोल्दै भने, ‘ल उदयप्रकाशको एउटा कविता पोस्ट भएको छ यता, राजेन्द्र महर्जनको वालमा। सुन्छौ ? ’ मैले मुन्टो हल्लाएपछि उनले वाचन गर्न थाले।
आदमी मरने के बाद कुछ नहीँ सोचता
आदमी मरने के बाद कुछ नहीँ बोलता
कुछ नही सोचने और कुछ नहीँ बोलने पर
आदमी मर जाता है।
यो कविता मैले पहिलोपटक दीपक सापकोटाको फेसबुक वालमा पढेको थिएँ। पछि कवि नवराज पराजुलीले मलाई धेरै पटक सुनायो। आज नगरकोटीको लवजमा सुन्ने अवसर मिल्यो।
‘उदयप्रकाशका लगभग सबै किताब पढेको भएर पनि मलाई उनीसँग गफिन निकै असजिलो भइरहेको थियो। उनको मोटो अनुहारमा मासुका लप्का–लप्काहरू यसरी फुकेका देखिन्थे, जसरी कुनै बूढो जिमबाजका शरीरमा फुस्कन लागेका मासुका गाँठाहरू धोल्लिएका हुन्छन्। एकखाले सदाकालीन उदासी र असन्तोषको भाव उनका आँखाहरूमा देखिन्थ्यो।’ मैले कुरा सम्झँदै नगरकोटीलाई भने।
‘तपाईं आफू हिन्दीमै लेख्नुहुन्छ तर पनि हिन्दी भाषालाई उत्पादले घृणा गर्नुहुन्छ भन्ने कुरा मैले तपाईंका धेरै अन्तर्वार्तामा पढेको छु, सुनेको छु। संसारभर साहित्य लेख्नु भनेको भाषाको सेवा गर्नु भन्ने अर्थमा बुझिन्छ। उसो भए तपाईंले आफूलाई घिन लाग्ने भाषाको सेवा गरिरहनुभएको हो त ? ’ मेरो प्रश्न थियो।
प्रश्नले उनी खिस्स हाँसेका थिए। खैनीले आधी खियाएका खयरका काठजस्ता दाँतलाई ओठले छोपेर लुकाउँदै उनले डुंगाको कापोमा सिउरिएर राखेको जगेडा बहना निकालेका थिए, अनि मसँगसँगै बहनाको पाटीले पानी हुत्याउँदै भनेका थिए, ‘भारतमा बसेर हिन्दीमा लेख्नु भनेको कुनै जमिनदारको घरमा बँधुवा मजदुर भएर काम गर्नुजस्तै हो। यस्तो काम, जसले तपाईंलाई होइन, जमिनदारलाई फाइदा हुन्छ। हिन्दी भाषाको सीधा सम्बन्ध धर्म, त्यहाँको धार्मिक राजनीति र जात­–प्रथासँग जोडिएको छ। हिन्दी भाषामा साहित्य लेखेर मैले साहित्यको होइन त्यही जात, धर्म र राजनीतिको फाइदा पुर्‍याएको जस्तो आभास हुन्छ, अनि मलाई असाध्य पीडा हुन्छ। म आफ्नो हृदय अर्कैको भाषामा खोलिरहेको छु भन्ने सम्झँदा आफैंसँग रिस उठ्छ। सायद यसै कारण पनि होला, मैले लेखेकै हिन्दीमा भन्दा अनुवाद गरिएका मेरा कृतिप्रति ज्यादा अट्याचमन्ट (अपनत्व) छ।’
उत्तर सकेपछि भने उनले दाँत लुकाएनन्। बरु सुर्तीको एउटा फाँकोलाई ओठमा च्यापे। सन्तोषको सुर्ती। यता उदयप्रकाशको प्रसंगलाई ध्यानमग्न सुनिरहेका नगरकोटीले कोटको भित्री खल्तीबाट भर्खरै फेरिएको नयाँ ब्रान्डको चुरोट निकाले, सल्काए अनि सन्तोषको धूवाँ फाले। मैले बहनाको पाटीले सैंतेर सन्तोषका एकाध पानी–भुल्काहरू हुत्याएँ।
म कहिलेकाहीँ कुमार नगरकोटीलाई सोध्छु, ‘तपाईंका रचनालाई अरू भाषामा अनुवाद गर्दा कस्तो होला ? कस्तो देखिएला ? कस्तो पढिएला ? ’
‘मेरो उपन्यास ‘ज्ञ’ एकैचोटि चारवटा भाषामा आउनेछ। त्यो बेला तिमीले आफ्नो प्रश्नको उत्तर पाउनेछौ।’
‘त्यसो त अनुवादको टन्टो सम्झेर किताब लेख्ने कुरा पनि त हुँदैन।’ म पनि हाँसेर कुरा मिलाउँथे। ती कहिलेकाहीँका कुरा हुन्। आजका होइनन्।
‘भारतमै जन्मेर, भारतमै बसिरहेर लेख्ने हुँदाहुँदै पनि तपाईंले आफूलाई डायस्पोरिक लेखक हुँ भनेर किन भन्नुहुन्छ ? ’ मैले उदयप्रकाशलाई सोधेको थिएँ।
उनको रेडिमेड उही जवाफ आएको थियो, सपाट, ‘अधिकांश भारतीय लेखन ‘एक्जाइल’मा बसेर लेखिरहेको छ।’ (कहिलेकाहीँ त मलाई यस्तो पनि लाग्छ कि उदयप्रकाशलाई सोध्नुपर्ने नयाँ प्रश्नहरू नै छैनन्। न उनले थपेर सुनाउनुपर्ने कुनै पुराना उत्तर बाँकी छन्। संसारले उनलाई सोध्नुसम्म सोधेको छ र उनले दिनुसम्म उत्तर दिएका छन्।)
कुमार नगरकोटी एकसुरले चुरोट उडाइरहेका थिए। म एकसुरले उदयप्रकाशसँगको कुराकानी सम्झिरहेको थिएँ। आकाशमा एकसुरले एउटा प्याराग्लाइडर हाम्रै थाप्लामा खस्छु कि झैं गरी उडिरहेको थियो। पर अघिकै ठाउँमा उडिरहेको थियो एउटा हिले बकुल्ला। छोरा ग्रिस्मिल र छोरी सौरभी एकसुरले खाइरहेका थिए तारेको आलुका चाना। भाउजू सावित्री र नताशा एकसुरले खिचिरहेका थिए एकअर्काका फोटो। आकाशमा एकसुरको घाम थियो। मुन्तिर एकसुरको पानी।
‘तपाईंले ध्यानपूर्वक हेर्नुभयो भने देख्नुहुन्छ, संसारमा जो धेरै शिक्षित र जानेबुझेको छ, खासमा त्यो व्यक्ति ऊभन्दा कम शिक्षित र कम जानेबुझेको मान्छेको दलाली गर्नमा व्यस्त छ। संसारका सबैभन्दा शक्तिशाली र सबैभन्दा धनी मान्छेहरू प्रायः अल्पशिक्षित नै हुन्छन्। ‘मंगोसिल’की सुरिनको रोगको मूल कारण खासमा गरिबी हो, सामाजिक विभेदको ज्ञान हो। नपत्याए आफैं हेर्नुस्, संसारका हरेक केटाकेटीलाई अचेल सुरिनको जस्तै रोग लागेको छ। यस्तो रोग, जसले शरीरको तुलनामा टाउकोको अस्वाभाविक वृद्धि गराउँछ। झुपडीमा बस्ने यस्ता घनटाउके केटाकेटीहरू उमेर नपुग्दै व्यवहारले खारिएर छिप्पिन्छन् र सखाप हुन्छन्।’
मैले उदयप्रकाशको एउटा अन्तर्वार्ताको किस्सा नगरकोटीलाई सुनाएँ। खसीको खुट्टाबाट सुरुवाको सुर्को तानेझैं चुरोटको अन्तिम सर्को तानेर ठुटो विसर्जन गर्दै नगरकोटीले एक पित्को थुक पिच्च थुके फेवातालमा। मैले थपेर भनेँ, ‘प्रिम्याच्युरिटी गरिब केटाकेटीको डरलाग्दो नियति हो। इम्याच्युरिटी सम्पन्न वयस्कहरूको दुर्भाग्य हो। खासमा धनी हुनु र गरिब हुनु दुवै अभागी अनुभूति हुन्।’
बे्रकफास्ट सकिँदा लगभग १० बजिसकेको थियो। उदयप्रकाशको सेसन थियो आज लिट्रेचर फेस्टिवलमा। समय बहकाउने समय थिएन। ब्रेकफास्ट सक्दासक्दै उनले लु झुनको कथा हाले ः
‘एक जना मान्छे थियो, जसलाई ४० वर्षमा अचानक शंका भयो कि म खासमा को हुँ ? हो, उसको परिवार पनि थियो। बच्चा थिए। तर ४० वर्षपछि उसले ठान्न थाल्यो, यो मेरो परिवार होइन, पत्नी र बालबच्चा पनि मेरा होइनन्। घरको खोजीमा ऊ आफ्नै घरबाट निस्कियो। आत्मपरिचयको खोजीमा उसले पूरै दुनियाँ घुम्यो र अन्त्यमा ऊ तिब्बत आइपुग्यो। तिब्बतमा उसले पहिलोचोटि बर्फिला पहाडहरू देख्यो। एउटा एकाकीपन देख्यो, जसलाई उसले यतिका लामो समयदेखि सपनामा देखिरहन्थ्यो। उसले देख्यो, मानिसहरूको एउटा झुन्ड ऊ उभिएकै ठाउँतिर आइरहेको छ। झुन्डको अघिल्तिर एउटी महिला थिई, जो हस्याङफस्याङ गर्दै हान्निँदै उसलाई बोलाउँदै थिई, ‘ली, ली, ओ ली !’ आइमाईका पछाडि बच्चाबच्चीहरू पनि थिए। यसरी अन्त्यमा उसले आफ्नो परिवार भेट्यो। आफ्नो सक्कली परिचय भेट्यो। ऊ खासमा ली झु थियो, जसले अमेरिकामा ४० वर्ष बिताएको थियो।’ कथा सकिएलगत्तै उदयप्रकाशकी श्रीमती कुमकुम खित्का छोडेर हाँसिन्। श्रीमतीको हाँसोमा हाँसो मिसाउँदै उदयप्रकाशले थपे, ‘यो कथाको अर्थ के हो भने तपाईं जहाँको हुँ भन्नुहुन्छ, खासमा त्यहाँको नहुन पनि सक्नुहुन्छ। तपाईं अन्त कतैको पनि हुन सक्नुहुन्छ। यही द्वैध नै उपनिषद्हरूको सार हो।’
टेबलबाट उठ्नुअघि उनले नेपाली साथी उदय अधिकारीको बाहुला समातेर मतिर देखाउँदै भने, ‘उदयजी, तपाईं उहाँलाई लिएर जरुर दिल्ली आउनुहोला है। मेरो घरमा बस्ने गरी।’
दक्षिण एसियाका महान् लेखकले यसरी व्यक्तिगत निम्तो टक्र्याउँदा म हुनुसम्म फुलेल भएको थिएँ। तर, मलाई थाहा थियो, त्यो कुमार नगरकोटीको निम्तो थिएन, जसको ‘गुफा’ आजकाल मेरो अघोषित बेडरुम भएको छ। उदयप्रकाशको निम्ता एउटा मीठो कर्टेसी थियो, यसको सुन्दरता पूरा हुनुमा भन्दा नहुनुमा ज्यादा रहन्छ।
शनिबार, पुस २२, २०७४
Published at: 

0 Comment:

Post a Comment