Contact Form

Name

Email *

Message *

Sunday, November 8, 2020

म आफैं जन्मेको हुँ: रोशन [वार्ता-कथा ]





मेरा तीन जना मानस–सन्तान छन् । मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री । जसमध्ये एउटा हो रोशन । हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं । कहिले सिनेमा हेर्छौं । कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं । कहिले बाक्ला थियटरतिर बरालिन्छौं ।

कहिले उच्चाल पहाडतिर हाइकिङ जान्छौं । केही नभएघरकै कोठामा चर्को चर्को गरी नृत्य–संगीत बजाएर झुमिन्छौं ।
यसरी हरेक दिनको तनलाई निद्राले छोडेको तर मनलाई नछोडेको बिहानको सरदर दुई घण्टा र तन मन दुइटैले निद्राभोग गर्न नसकेको साँझको एक घण्टा म मानस–सन्तानसँग मानस–जिन्दगी बाँच्छु ।

चन्द्रमा मनसो जात... !
बाँकी दुई जनाको कुरा पछि गरौंला । कुनै संस्मरण वा कथामा । अहिले म मेरो कान्छो मानस–पुत्र रोशनका बारेमा कुरा गर्छु ।

रोशन जन्मिंदै सात वर्षको भएर जन्मेको थियो । त्यसैले जन्मनेबित्तिकै मैले उसलाई स्थानीय अमरसिंह माध्यमिक विद्यालयको कक्षा–१ मा भर्ना गरिदिएको थिएँ । ऊ नियमित स्कूल त जान्थ्यो, पठनपाठनमा मिहिनेत पनि निकै गर्थ्यो तर खै किन हो उसको दिमागमा पढेको कुरा घुस्तै घुस्तैनथ्यो । साह्रै लद्दु भएर निस्कियो ऊ । खेलकुदमा पनि उसलाई खास रुचि थिएन । कुनै चित्र बनाउने, कविता लेख्ने, अभिनय गर्ने वा यस्तै कुनै सिर्जनात्मक गतिविधिमा पनि उसको रुचि वा सामर्थ्य देखिएन ।
उता वेदव्यास जन्मिने बित्तिकै मातापितालाई देशना दिएर जंगल हिंडेका थिए भनेर आफ्ना जैविक बाजेबाट सुन्दै हुर्केको मलाई जन्मँदै सात वर्षको लाठे भएको आफ्नो मानस–पुत्रको दिमाग देख्दा साह्रै दिक्दार लाग्थ्यो ।

रोशन जन्मेको बखत मलाई पनि रहर लागेको थियो, ऊ टुकुर टुकुर हिंड्दै मेरो नजिकै आओस् । मलाई धर्म, विज्ञान, इतिहास, न्याय आदिका बारेमा अविच्छिन्न प्रवचन देओस् । म ऊसँग तर्क गर्नै नसक्ने भएर शब्दको बुइँगलमा पछारिऊँ । मेरा दुवै हात समातेर उसले मलाई उठाओस् र भनोस् :

'पिताजी, तपाईंले मनमनै भए पनि मलाई जन्माएर असाध्य पुनित काम गर्नुभएको छ । म तपाईंको मानस–पुत्र भएर जन्मेको भए पनि यसरी सधैंभरि तपाईंको मनमा बसेर हुँदैन । दिनका दिन तपाईंसँग मनोगफमा भुलेर हुँदैन । यसो गरेमा मानिसहरूले तपाईंलाई बर्बराउँदै हिंड्ने बौलाहा भन्न पनि बेर लगाउँदैनन् । त्यसैले मलाई तपाईंले आफ्नो मनबाट बिदा दिनुहोस् । म तपाईंको मनोलोकबाट निस्केर सर्वप्रथम ब्रह्माण्डको विचरण गर्न चाहन्छु । त्यसपछि ब्ल्याकहोल जस्तै ब्रह्माण्डकै कुनै अघोर अन्धकारमा ऐकान्तिक तपस्यामा लीन हुन चाहन्छु ।'

तर उसले त्यस्तो भनेन । बुद्धि भए पो भनोस् । १७ वर्षदेखि उसले मेरो दिमाग खाएर बसेको थियो, हरेक बिहान दुई घण्टा । बेलुका एक घण्टा ।

ऊ यतिसम्मको लद्दु थियो कि ७ कक्षा पुग्दासम्म उसलाई पूरै बाह्रखरी समेत आउँदैनथ्यो । अंग्रेजी वर्णमालामा ‘एप्पल’ देखि ‘जेब्रा’सम्म पूरै भन्न सक्दैनथ्यो । कहिले ‘एच’को ‘हेन’मा अड्किन्थ्यो । कहिले ‘आइ’को ‘इन्क’मा । गणितको त झन् कुरै नगरे हुन्छ । भन्थ्यो, ‘बाबा, मलाई हिसाब देखेपछि पिसाब आउँछ । सूत्र घोक्दा घोक्दा मूत्रले सताउँछ ।’
उसको एउटै कुरा ठीक थियो । मान्छे इमानदार थियो । मेरो पैसा चोर्दैनथ्यो । किचकिच गर्दैनथ्यो । भनेको मान्थ्यो । त्यसो त मानस–सन्तानहरू पैसा चोर्न वा पैतृक सम्पत्ति खानका लागि जन्मेका हुँदैनन् ।

त्यही साल हो कि अर्को साल हो, अहिले ठ्याक्कै बिर्सें । उसले स्कूल जान चटक्कै छोडिदियो । छोड्नुअघिको एकदिन उसले मसँग लठारिंदै भन्यो, ‘बाबा, म आजबाट स्कूल जान्नँ । पढेर काम छैन ।’
“अनि के गर्छस् त ? के गरेर खान्छस् ?”, मैले सोधें ।
“म बिजुलीकर्मी हुन्छु । घरको वाइरिङ गर्छु । खम्बामा तार टाँग्छु । एउटा छोटो जिन्दगी बाँच्न धेरै कुरा जान्नु पर्दैन । एउटा मात्रै सीप काफी हुन्छ ।”

छोटो जिन्दगी ? उसले यस्तो शब्दावली कसरी सिक्यो ? कसका लागि सिक्यो ? मेरा लागि अथवा आफ्नै लागि ? के मानस सन्तानको पनि आयु हुन्छ ? के बह्माजीका चार कुमार, नारद, दक्ष, मरिची सबै मरिसके ?
***
यसरी मेरो छोरो बिजुलीकर्मी अर्थात् इलेक्ट्रिसियन बन्यो । खै कसरी हो, रोशनले बिजुलीका रंगीविरंगी तारको जंजाललाई सजिलोसँग उधिन्न सजिलो गरी सिक्यो । मन परेको कुरा सिक्नलाई दिमाग नचाहिने रहेछ ।
पहाडमा छाँगो खस्ता झैं फटाफट दिन बिते । खहरेकै वेगमा महीना सोहोरिए । नदीको रफ्तारमा वर्षहरू ओरालो लागे । अनि अस्ति बिहीबारको दिनदेखि ऊ २४ वर्षको भयो । मैले तन्मयका साथ उसको जन्मोत्सव मनाउने तयारी गरेको थिएँ । ‘२४औं जन्मदिवसको शुभकामना’ देखिएको केक घरमा आइसकेको थियो । उसकी दिदी नर्मदा र दाजु प्रकाशले सम्पूर्ण मानस–गृह सजाएर चिरिच्याट्ट पारेका थिए । उत्सवको उत्कर्ष हुनै लागेको थियो, अचानकसँग बत्ती गयो । मेरो मानस गृहमा चूक अँध्यारो छायो ।
“बर्थ–डे–बोय हुँदैमा त्यसै आराम गर्न कहाँ पाइन्थ्यो !”, मलाई आँखा झिम्क्याउँदै ऊ टुल बक्स बोकेर बाहिर निस्क्यो । बिजुलीको खाँबोमा भर्‌याङ अड्यायो अनि फटाफट माथि चढ्न थाल्यो ।
मैले ‘माथिबाटै बिजुली गएको होला’ भन्ठानेको थिएँ तर छिमेकीका घरहरू पूरै उज्याला थिए । शायद हाम्रो घरमा तार तानेकै बिजुली—खाँबोमा कुनै कैफियत भएर होला । नत्र, रोशन किन माथि चढ्थ्यो र ?
यति सोच्दा कति समय पो लागेको थियो होला र ? तर मैले सोचेर नभ्याउँदै रोशनले सम्पर्कविच्छेद भएका दुई तारलाई जोडिसकेको थियो । बिजुली–खाँबोको टुप्पोमै बसेर उसले मतिर हेर्यो र फिस्स हाँस्यो । मैले पनि हाँसेरै जवाफ दिएँ ।
काम फच्चे गरेर पेन्चिस, स्क्रुड्राइबर वा प्लास कुन्नि के–के समान थन्क्याउँदै थियो, ऊ अचानकसँग बद्रयाम्म भुईंमा पछारियो । म सहयोगको लागि चिच्याउँदै उसको नजिकै पुगें । नर्मदाले ग्यारेजबाट मोटर निकाली हाली ।
रोशनको टाउकोमा अत्यन्त गहिरो चोट थियो । रगतको मूल फुटिरहेको थियो । मैले गलबन्दी फुकालेर घाउ बाँधिदिएँ । बर्थडेका सारा इन्तजाम थन्क्याएर हामीले उसलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अस्पताल पुर्‍यायौं।
***
सात हप्तापछिको एक बिहान म ३ बजे ब्यूँझें । फेरि निदाउन गरेको प्रयत्न सफल भएन । यत्तिकै ओछ्यानमा पल्टेर के गर्नु ? मैले आफ्ना मानस–पुत्रपुत्रीहरूलाई आह्वान गरें । सबैभन्दा पहिले ज्येष्ठ सुपुत्री नर्मदा सामुन्ने आई र प्रफुल्ल मुद्रामा शुभसमाचार सुनाई — उसको प्रिय कान्छो भाइलाई भर्खरै होश आएको छ ।
पूरै उनन्चास दिनपछि ।
यतिन्जेल पढ्दा तपाईंलाई लागेको हुनुपर्छ — करेन्ट लाग्नु भनेको सामान्य घटना हो । आम मान्छेहरूलाई करेन्ट लाग्छ । बिजुलीको झट्काले धकेलेपछि कति जना भर्‌याङबाट पनि खस्छन् । त्यसमा कति अंगभंग हुन्छन् । कति मर्छन् । कति लामै समय बेहोश भएर कुँजिन्छन् । बिजुलीकर्मीको जिन्दगीमा आउन सक्ने आम दुर्घटना हुन यी । यस्तो विवरण पनि कतै कथा हुन्छ ?
तपाईं पक्कै गलत सोचिरहनुभएको छैन भनेर जो कसैले ठोकुवा गर्न सक्छ । तर मेरो कुरा पनि सुन्नुस् — रोशनको किस्सा कथा हुन योग्य कसरी भयो भने बेहोश हुँदासम्म साह्रै लोद्दर भनिएको बोधे मान्छे ब्यूँझँदा अचानकसँग सर्वज्ञानी भएर निस्केको थियो । उसले नजानेको लगभग कुनै विषय थिएन ।
४९ दिनको बेहोशीमा उसको दिमाग अचानकसँग ज्ञानै ज्ञानले कसरी भरियो ? उसलाई अचानकसँग पढ्दै नपढेको गणित र विज्ञानका कठिन साध्य र सूत्रहरू कसरी खर्लप्पै हुन सके ? कहिल्यै नबोलेका संस्कृत, उर्दू वा ग्रीक भाषा फरर्रैका फरर्रै कसरी आउँदो भयो ?
यस्तो लाग्थ्यो उसले नजानेको कुनै विषय धर्तीमा छँदै छैन ।
उसको बोधो दिमागमा विश्वको सम्पूर्ण ज्ञान कहाँबाट घुस्यो ? बिजुलीको एउटा झड्काले कसरी कुनै व्यक्ति अचानकसँग महाज्ञानी हुनसक्छ ? यो त ठूलो चुनौती भयो विज्ञानलाई । शायद एउटा नयाँ आविष्कारको अवसर पनि । अस्पतालकै अगुवाईमा चिकित्सा वैज्ञानिकहरूको एउटा झुण्डले रोशनलाई लामो अध्ययनको लागि लिएर गए । कता लिएर गए भन्ने सूचना पनि हामीलाई दिइएन ।
४९ दिनपछि बल्ल–बल्ल घर फर्किएको छोरोको संगत फेरि छुट्यो ।
करिबन सात महीनासम्मको अनुगमन र अध्ययनपछि वैज्ञानिक र डाक्टरहरूको निष्कर्ष निस्क्यो । कोरोनाको महामारी भएकोले भर्चुअल पत्रकार सम्मेलनको आयोजना भयो । अध्ययन टोलीका प्रमुख डा. कुन्नि के मुकारुङले अध्ययन पत्रको निष्कर्ष वाचन गरेर सुनाए :
“बिजुलीको झड्काका कारण रोशनको मस्तिष्कभित्रको अनुवांशिक ज्ञान भण्डारण गर्ने कोषिकाहरू अचानकसँग उत्तेजित हुन पुगेका थिए । अनुवांशिक–स्मृति–कोष भनिने यस्ता कोषहरू मात्रै हुने उसको मस्तिष्कभित्रको एक विशेष कक्ष अहिले शतप्रतिशत सक्रिय भएको छ । यसका कारणले ऊ आफ्नो जीवनकालको मात्रै होइन आफ्ना बाबु–हजुरबाबु, आमा–हजुरआमालगायत आफूलाई जन्माएका तमाम पुर्खाहरूको समेत ज्ञान, सीप, अनुभवलाई हुबहु सम्झन सक्ने भएको हो । . . . ”
पत्रकार सम्मेलनमा बाँडिएको अध्ययन–पत्रले संसारलाई एकसाथ हल्लायो । सामाजिक संजालका खाता–खातामा विश्वास, अविश्वास र अन्धविश्वासले भरिएका प्रतिक्रियाहरू आउन थाले । आफ्नो कनिष्ठ मानस–पुत्रको यो प्रख्यातिले मलाई हुनुसम्मको आनन्द दियो ।
गत शुक्रबार अर्थात् अक्टोबर २ तारिखमा मेरो आफ्नै जन्मदिन परेको थियो । वैज्ञानिकहरूको अध्ययन–अपहरणमा परेको छोरोसँगै जन्मदिन मनाउन पाइने भयो भनेर म प्रफुल्ल थिएँ । नभन्दै जन्मदिनको बिहान पनि आइपुग्यो । सधैं चाँडै उठ्ने म, त्यस दिन भने आँखा खोल्दा ७ बजिसकेको थियो । मानस–पुत्रपुत्रीबाट शुभकामना लिनुपर्ला भनेर विचार मात्रै के गरेको थिएँ टेलिफोनको घण्टी बज्यो । एकाबिहानै फोन गर्ने कसैलाई टार्नुहुँदैन । उठाएँ । हिमाल खबरपत्रिकाका मित्र रविन गिरी रहेछन् ।
“स्वामीजी कोरोनाको कारण हाम्रो प्रिन्ट इडिसन त स्थगित नै छ । तथापि यो पटकको दशैं अङ्क निस्कने भयो, शायद अनलाइनमा । यो हाम्रो अन्तिम दशैं अंक पनि हुनसक्छ । मलाई तपाईंको कुनै सामग्री चाहियो । स्वामीजीलाई नछापिकन हामी कसरी ‘हिमाल’ भैरहने ?”
“हो हुन त । थाप्लामा हिउँ भए न हिमाल । हिउँ पग्लिए त पहाड भैगो नि !”, मैले तुलसी दिवसको कुनै कविताको भाव गुथेर भनें, “चाहिएको खास के हो गिरीजी ?”
“पोखरामा एकजना रोशन नामका युवा छन् । उनलाई अचानकसँग अनुवांशिक स्मृति हुन थालेको चर्चा त स्वामीजीले पनि सुन्नुभएकै होला . . .।”
गिरीजीको कुरा सुनेर म झसङ्ग भएँ । मेरो निजी मानस–पुत्रको जानकारी बाँकी संसारलाई कसरी भयो ? भएकै भए पनि किन हुने ? मान्छेको सोचाइलाई, मान्छेको गोपनीयतालाई यसरी भौतिकीकरण गर्न पाइन्छ ? के मान्छेको मनको निजी संसार सार्वजनिक मैदान भैसक्यो ? मेरो मानस–जिन्दगी, मेरो मानस–पुत्र रोशन कसरी दुनियाँगिरीका विषय हुन पुगे ? सम्पूर्ण समाजवादमा पनि संभव नहुने कुरा यहाँ कसरी सावित भैदियो ?
“हजुर के भन्नुभयो रे गिरीजी ?”, रविन गिरी बोल्दै गरेको आवाज अझै पनि स्पिकरमा आइरहेको हेक्का भएपछि मैले अक्मकिंदै सोधें । म आफ्नै सुरमा सोचमग्न भएकोले उनले यसबीचमा अरू के–के भनेका थिए, मैले सुन्दै सुनेको थिइनँ ।
“ती भाइसँग एउटा अन्तर्वार्ता गर्नु प‌‌‌‌‌र्‌‌‌यो भनेर भनेको नि ! तपाईंले । मैले सुनेको छु, ती भाइलाई आफू एक कोषीय जीव भएर पृथ्वीमा पहिलोपटक उत्पत्ति हुँदादेखिको सम्झना छ रे ! तपाईं ‘जिनेटिक मेमोरी’ त बुझ्नुहुन्छ नि स्वामीजी ?”
“ज्यू ज्यू, बुझ्छु अलिअलि । आफ्ना पुर्खाहरूको ज्ञान, सीप वा अनुभव जीनमार्फत सन्तानमा सर्ने प्रक्रिया होइन त गिरीजी ?”
“हजुर त्यस्तै । ती रोशन भाइसँग एउटा बिशेष अन्तरर्वार्ता लिनुप¥यो । स्वामीजी आफैँले ।”
“त्यो त ठिक छ, गरुँला । तर ती युवकलाई म कसरी भेट्न सक्छु त ? उनको कुनै सम्पर्क छ ?”, मैले डराई डराई सोधेँ । कतै गिरीजीले ‘ऊ त तपाईँकै मानस सन्तान हो । थाह नपाएको स्वाङ पारेर मलाई उल्लु बनाउन खोज्ने ?’ भनेर झपार्छन् कि भन्ने डर आफैँ आफैँ गहिरो भएर आयो ।
तर उनले त्यसो भनेनन्, “रोशनको बाँकि डिटेल स्वामीजीको इन्बक्समा आइसकेको होला । उनी माथिको ‘रिसर्च पेपर’ पनि पठाइदिएको छु । उनी पोखराको मझेरी–पाटनस्थित लामे पोखरीको नजिकै बस्छन् । उनको आफ्नै मोबाइल नम्बर रहेनछ । तर उनकी दिदीको भने छ, टिप्नुस त ।”
“भन्नुस् !”, म प्रतीक्षारत भएँ ।
“९—८—१—६—६—८—७—७—१—३ ।”, उनले एक एक अंक गर्दै १० वटा अंक वाचे ।
अंक टिपेर सकेपछि म फेरि झस्केँ । यो त त्यही नम्बर थियो जसबाट मेरो एकजना दिवंगत मानस–पुत्र जोस्मणिलाई रहस्मयी तर प्रेमिल म्यासेज आउने गथ्र्यो । त्यो पनि तारन्तार । उसको नायकत्वमा लेखिएको यात्रोपन्यास ‘पैताला’मा मैले यसका रमाइला प्रसंग टिपोट गरिगरी पढेको थिएँ ।
त्यही नम्बर हो कि होइन भन्ने थाह पाउन मैले हतार हतार मोबाइलको ‘कन्ट्याक्ट लिष्ट’ चहारेँ । नभन्दै ‘मिस्टिक लेडी’को नाममा त्यो ‘सेभ’ भएको रहेछ ।
फोन नम्बर ठ्याक्कै मिलेको थाह पाएपछि मलाई भाउन्ना छुट्यो । केही बेर घाइते माहुरी झैँ भुन्भुनिएँ । यस्तो कसरी हुनसक्छ ? मेरी मानस–पुत्री नर्मदा कसरी त्यो रहस्मयी स्त्री हुनसक्छे ? मेरा पुत्र–पुत्रीहरू कसरी एक आपसमा प्रेम गर्न सक्छन् ? यसरी आफ्नै सन्तानहरू बिचमा हातनाता सम्बन्ध हुन थाल्यो भने मान्छे–जातको अनुबांशिक सामथ्र्य पुरै खस्केर जानेछ । सोचेर म बिसारै चिन्तित भएँ । आफ्नो सोचाईको वाक्यभित्र पसेको ‘अनुबांशिक’ शब्दले मलाई पुन गिरीजीसँग कुराकानी भैरहेको सम्झना भयो । सोचाईबाट सम्हालिँदै मैले उनलाई भनेँ, “हस् म केही न केही अवश्य गर्छु ।”
***
रोशनलाई भेट्न भनी भोलिपल्ट बिहानै म मझेरी पाटन हानिएँ । पोखरा भनेकै पाटन, चौर र खर्कहरूको सहर हो । मझेरी पाटन पोखराको सबैभन्दा पुरानोमध्येको एक मानव बस्ती हो भन्ने पनि मलाई थाह थियो । पोखराकै बासिन्दा भएर पनि म पहिलो पटक मझेरी पाटन जाँदै थिएँ । त्यो पनि आफ्नै मानस–पुत्रलाई भेट्न । उसको अन्तरवार्ता लिन । 
प्राप्त नक्शाको ‘जिपिएस’लाई पछ्याउँदै म रोशनको निवास पुगेँ । तर गिरीजीले भनेकोजस्तो छेउछाउमा कुनै लामे पोखरी देखिएन । बरु घरको छेउमा एउटा विकासे पार्क थियो जसलाई पूर्णतया झाडीले कब्जा जमाएको थियो । ‘पोखरी पुरेर पार्क बनाएछन् ।’, सोचेर खिन्न भएँ । तर अर्काको घरछिर्नु अघि खिन्न हुुनु हुँदैन भनेर खिन्नतालाई दबाएँ ।
अर्काको गृहपरिधिमा सवारी बोकेर के छिर्नु ? साइकललाई घर बाहिरको बिजुलीको खम्बामा चाबीले बाँधे । त्यो त्यही खम्बा थियो जसबाट ऊ बिजुलीको झट्का खाएर भुईँमा बजारिएको थियो ।
तगारोको गरालाबिचबाट ज्यान छिराएर म उसको घरको परिधिभित्र दाखिला भएँ । रोशन आँगनमा घाम ताप्दै आगन्तुक माहुरीहरूलाई चास्नी हालिरहेको थियो । हरेक बिहान माहुरीलाई चास्नी–भोज दिने उसको बाल्यकालिन शोख रहेछ । आफ्नै मानस पुत्र भए पनि मलाई उसको यो बानीको बारेमा कल्पना समेत थिएन ।
पाठकवृन्द, 
मलाई लाग्दैन अरु कुनै थप भूमिका यहाँ राख्नु पर्छ । अब म तपाईँलाई सोझै रोशन र म बीचकमा भएको कथित अन्तर्वातामा प्रवेश गराउँछु । पढेर प्रतिक्रिया दिनुहोला । 
गनेस ः— मलाई चिन्नुहुन्छ ?
रोशन ः— चिन्छु किन नचिन्नु ? नामै गनेस, मलाई पनि गनेस । तपाईँलाई नगनेर भयो त ? (हा हा हा)
गनेस ः— किन चिन्नुहुन्छ मलाई ? अर्कालाई त्यसै चिन्दिने ? मलाई प्रसिद्ध हुन झ्याऊ लाग्छ ।
रोशन ः— सही कुरा गर्नु भयो । मलाई पनि प्रसिद्ध हुन झ्याउ लाग्छ । म ३ अर्ब सतहत्तर करोड बर्षभन्दा धेरै बाँचेको छु । कहिले पानीमा । कहिले जमिनमा । कहिले किटाणु भएर, कहिले जनावर भएर । यत्रो लामो आयूमा मलाई चिन्नेहरूको संख्या गनेर साध्य छैन । त्यसैले मेरो लागि प्रसिद्धी भनेको लुते आनन्द हो । खास आनन्द रोगले छोड्दा हुन्छ, कन्याउँदा हुँदैन ।
हुन त तपाईँ पनि त्यति नै बर्ष बाँच्नु भएको हो भन्ने मलाई थाह छ । तर मान्छेको जातलाई आफ्नै अस्तित्व साबित गर्न पनि सबुत चाहिन्छ । तपाईँसँग सबुत छैन । मसँग छ । (हा हा हा)
(उसको बोलीपिच्छ्यै छुट्ने हाँसो देखर मलाई ताज्जुब लाग्यो । आफ्नो मानस पुत्रका लागि मैले यो विघ्नको हँस्यौलीपन सुहाउन सक्छ भनेर कल्पनै गरेको थिइनँ ।)
गनेस ः— कुरो त सही हो । अब वार्तालापको बाटो बदलौँ नत्र पाठकहरूलाई मज्जा नआउला । म सोध्न चाहन्छु, तपाईँले आफ्नो थर किन छोड्नु भयो ? थर भनेको त अनुबंशको लहरो होइन र ? अनुबाँशिक स्मृतिका कारणले चर्चित भएको मान्छेले थर छोड्न मिल्छ ?
रोशन ः— गनेसजी कुरा सार्वजनिक रुपमा भन्न हुने खाले हो कि नहुने खाले हो म यकीन हुन सक्दिनँ । त्यसैले यसरलाई ‘अफ् द विट’ नै राखिदिनु होला । 
खासमा कुरा के भने भने मलाई बाबुतिर र आमातिर दुबैका पूर्खाहरूले भोगेको सम्पूर्ण स्मृति हुवहु हुन्छ । यसैले म भनेकै मेरो पुर्खाहरू हुन् । मेरो पूर्वजन्म भनिदिँदा अझ उत्तम होला ।
तपाईँको प्रश्नमा जाऊँ । अब मेरो अहिलेको थर त थापा हो भनेर तपाईँलाई थाहै छ । मैले के थाह पाएँ भने यो बाबुको थापा थर मैले जुन लिएको छु त्यो अनुबाँशिक थर होइन रहेछ । आठौँ पुस्ता अघिकी मेरी हजुरआमा छिमेकको घरमा काम गर्ने दासबाट गर्भवति भएकी रहिछिन् । त्यो भन्दा अगाडि पनि यस्ता घटना कैयन पटक भएको रहेछ । जुन थापाको थर मलाई थोपरिएको छ त्यसले कुनै अनुबाँशिक इतिहास बताउने रहेछन भन्ने प्रष्ट भयो ।
मैले आमातिरको अनुबाँशिक थर लेख्ने बारेमा पनि सोचेको थिएँ । त्यताबाट लेख्दा धेरै शुद्ध हुने संभावना हुन्थ्यो । तर सोचेजस्तो नहुने रहेछ । 
अब हेर्नुस्, मेरी आमा माइतमा छँदासम्म अधिकारी हुनुहुन्थ्यो । तर आमाकी आमा अर्थात् मेरी हजुरआमा भने गुरुङ्सेनी हुनुहुन्थ्यो उनकी पनि आमा भण्डारी हुनुहुन्थ्यो । भण्डारीकी आमा कार्की हुनुहुन्थ्यो । अनि ती कार्की जुन थिइन्, तिनकी आमा चाहीँ थपिनी हुनुहुन्थ्यो । त्यो पनि कुन भन्नु न ? हाम्रै थापा खलकी अर्थात मेरै बाबुको कुलकी । आमाहरूलाई बाबु वा लोग्नेको थर थोपरिने भएपछि यस्तो हुने त भैहाल्यो ।
मै के बुझेँ भने बाबुतिरको होस् कि आमातिरको, यो थर र जात जनाउने अनुबाँशिक अहम् पुरै वकबास मात्रै हो । त्यसपछि मैले थर लेख्न छोडिदिएँ । जात जनाउन पनि छोडिदिएँ । म त भन्छु, तपाईँले पनि लेख्न छोडिदिनुस् । आफ्ना सन्तानलाई पनि लेख्न नलगाउनुस् ।
गनेस ः— तपाईँलाई आफू सबैभन्दा पहिलोपटक जन्मँदाको पनि सम्झना छ ?
रोशन ः— त्यस्तो मिहिन सम्झना छैन । त्यो बेला मेरो शरिरमा अहिलेको जस्तो इन्द्रियहरू थिएनन् । स्पर्शको लागि छाला पनि थिएन । हेर्नलाई आँखा र सुन्नलाई कान थिएन । त्यसैले तपाईँले बुझ्ने तरिकाले म पहिलो पटक उत्पत्ति हुँदाको अनुभूति बताउन सक्दिनँ ।
खासमा के भने पहिला म छँदै थिइनँ । तर एकदिन अचानक मैले आफूलाई समुन्द्र किनारका चट्टाने छिद«मा जन्मिसकेको अवस्थामा पाएँ । मेरो आडमा मजस्ता अनगिन्ती अरु पनि जन्मेका थिए । तर अरुहरू पनि त्यहाँ जन्मेका थिए भनेर म तलाईँलाई बुझ्ने तरिकाले बताउन सक्दिनँ । मैले भनिहालेँ त्यो बेला ईन्द्रियहरूको विकास भएकै थिएन । 
गनेस ः— अलिक प्रष्ट पारिदिनुस न तपाईँ कसरी जन्मिनु भयो ? त्यो बेलाको पृथ्वी कस्तो थियो ?
रोशन ः— त्यो मेरो पहिलो जन्माई थियो । त्योभन्दा अगाडि म जन्मेकै थिइन । मैले गनेको पनि छैन त्यसपछि म कति पटक जन्मेँ । गनिसाध्य पनि छैन । 
त्यो बेला मैले पृथ्वी पुरै घुमेकै थिइन । घुमेकै भए पनि त्यसलाई हेर्ने आँखा मसँग थिएन ।
गनेस ः— तपाईँलाई के लाग्छ, धर्मग्रन्थमा भनेझैँ तपाईँको पहिलो जन्म ईश्वरले गराएको हो ? 
रोशन ः— मैले भनिहालेँ मेरो पहिलो जन्मका लागि मेरा बाबु–आमा कोही थिएनन् । भए त मैले सम्झँदो हूँ नि ! सबै अनुबँशको स्मृति फर्किदा त्यो पनि फर्किदो हो । म आफैँ जन्मेको हुँ । अचानकसँग जन्मेको हुँ । 
गनेस ः— तपाईँले “आफैँ जन्मेको हुँ” भन्नु भयो । मैले अल्लि बुझिनँ । के तपाईँ आत्मनिर्णयले जन्मिनु भयो ? 
रोशन ः— यो मेरो आत्मनिर्णय थियो भनुँ भने जन्मनुभन्दा पहिल्यै जन्मने “विचार” कताबाट आयो भनेर आत्मप्रश्न उब्जिन्छ, त्यसको जवाफ मसँग छैन । तर म त जन्मेँ नि त । यी हेर्नुस्, म हुनुको प्रमाण तपाईँको अगाडि उभिएकै छु ।
म एउटा जीव मात्रै होइन दूनियाका सारा अजीव कुरा पनि आफैँ उत्पन्न भएका हुन् । जीव भए जन्मिन्थे । अजीव भएको हुनाले उत्पन्न भए । ‘विग ब्याङ्ग’ भनेको के हो त ? पहिला केही पनि थिएन, शून्य थियो । अचानकसँग महाविष्फोट भयो र ब्रह्माण्ड जन्म्यो भनेको होइन ? जसरी पदार्थ आफैँ जन्म्यो, उर्जा आफैँ जन्म्यो, जीवको आदिस्वरुपमा छँदा म पनि आफैँ जन्मेको हुँ । 
यो ब्रह्माण्डमा जन्मन बाँकि अझै कति कुरा छन् । आकाशका अनेकन ग्रह, उपग्रहमा भएका कैयन अवयवहरू अझै जन्मेका छैनन् । एकदिन पालो आउला र ती पनि जन्मलान् । तिनलाई ईश्वर वा अरु कसैले जन्माइदिने होइन । खुबी भए, वातावरण भए आफैँ जन्मिन्छन नत्र त्यत्तिकै बस्छन् ।
गनेस ः— खुबी र वातावरण ? अल्लि बुझिनँ ।
रोशन ः— तपाईँसँग खुबी भएर मात्रै हुँदैन त्यो खुबी निखारिने वातावरण पनि हुुनुपर्छ । तपाईँ भन्नुस् त, माथिल्लो डोल्पाको विकट गाउँमा जन्मे हुर्केको मान्छे कहिल्यै फुटबल खेलाडी हुन सक्ला त ? स्कुलको मुखै नदेखेको मान्छे प्रोफेसर हुन सक्ला ? वातावरण भनेको अवसर हो, वाह्य शक्ति हो । खुबी भनेको आन्तरिक शक्ति हो, आत्मनिर्णय हो ।
गनेस ः— तपाईँले अघि ‘आफैँ जन्मिन्छन्’ ? पनि भन्नु भएको थियो । त्यसको अर्थ, जन्मिनु भनेको आत्मनिर्णयले हो ? माफ गर्नु होला मैले एउटै प्रश्न दोहोर्याएर सोधेँ ।
रोशन ः— सोधेर केही बिग्रेको छैन । माफि माग्नै पर्दैन । जति पटक सोधे पनि खासै फरक पर्दैन किनकी मैले यो प्रश्नको उत्तर अघि भर्खरै दिइसकेको छु । 
गनेस ः— तै पनि एक पटक फेरि भनिदिनुस् न ? 
रोशन ः— मोबाइमा रेकर्ड गर्नु भएको छ त । त्यसैमा सुन्नुस् ।
गनेस ः— खैर ठिकै छ । कुरो मोडौँ । क्लिनिकल्ली स्पिकिङ, शरीर त फगत एक भौतिक पदार्थ मात्रै हो । शरीरको आदि छ र अन्त्य पनि छ । किन छ भन्देखिन, शरीरको पोष्टमार्टम रिपोर्ट तयार गर्न सकिन्छ । . . .
रोशन ः— (कुरालाई समर्थन जनाउन तर बिचैमा रोक्दै) ज्यू ज्यू ! शरीर जैवीक पदार्थ भएकोले यसको पोष्टमार्टम रिपोर्ट तयार पार्न सकिन्छ । जन्म शरीरको आदि हो र मृत्यु त्यसको अन्त्य । तर जहाँसम्म चेतनाको कुरा छ त्यसको न आदि छ न त अन्त्य नै ।
स्पिरिचुअल्ली स्पिकिङ, चेतना अनन्त छ । र, मलाई त कहिलेकाहीँ के लाग्छ भने म फगत चेतना मात्रै हुँ । भन्नाले आत्मा मात्रै हुँ । अब तपाईँ नै भन्नुस्, चेतनाको पोष्टमार्टम रिपोर्ट तपाईँ कसरी तयार पार्न सक्नुहुन्छ ? 
गनेस ः— भनेसी, तपाईँको विचारमा आत्मा र चेतना भनेको एउटै कुरा हो ? 
रोशन ः— म पहिलो पटक जन्मनुभन्दा पहिला, अर्थात पृथ्वीमा पहिलो जीवको उत्पत्ति हुनुभन्दा पहिला यहाँ पदार्थ र उर्जा मात्रै थियो । त्यसैबाट म अचानकसँग जन्मेँ । किन कि मलाई कसैले जन्माएन, आफैँ जन्मेँ, त्यो जन्माई मेरो आत्मनिर्णयको बिषय थियो । आत्मनिर्णय भनेकै चेतना हो । चेतनशील हुनु भनेकै आत्मनिर्णय गर्न सक्ने हुनु भनेको हो । 
गनेस ः— यसो गरौँ, एकछिन शरीर र चेतनामैँ अल्झौँ, ल ? आदि र अन्त्य अर्थात जन्म र मृत्युकै कुरा गरौँ । त्यसपछि अनन्त अथवा अनादि बारे चर्चा गरौँला । भनिन्छ जन्म एक संयोग हो . . .
रोशन ः— (बिचमा रोक्दै ) कसले भन्यो जन्म एक संयोग हो ? यस्तो अश्लिल, अनैतिक तथा अनर्गल घोषणा जारी गर्ने स्वाँठ को हो ? तपाईँको निम्ति जन्म एक संयोग होला, मेरो निम्ति भने जन्म एक छनौट हो । रोजाई हो । बर्थ इज माइ च्वाइस ।
मेरो जन्म मेरो आत्मनिर्णय थियो भनेर भनिसकेँ त ।
म कहाँ जन्मने ? म कहिले जन्मने ? म किन जन्मने ? या जन्मदै नजन्मने ? यो मेरो छनौटको बिषय हो । 
गनेस ः— भनेपछि पोखरामा जन्मनु तपाईँको नितान्त व्यक्तिगत छनौट हो रहेछ भनी मैले बुझ्नु पर्यो, होइन ?
रोशन ः— घुमाएर सोध्नुस् कि सोझै, जैवीक भाषामा बोल्दा जन्म आत्मनिर्णयको बिषय हो । व्यक्तिगत छनौटको बिषय हो । यसमा पोखरा जस्तो कुनै ठाउँ जोड्नुस कि बिसं. २०५३ जस्तो समय । केही फरक पर्दैन ।
गनेस ः— भनेसी तपाईँ त ब्रह्माजी जस्तै पो हुनुभयो त । स्वयम्भू भन्छन् नि । आफैँ जन्मेको, कसैले नजन्माएको ?
रोशन ः— ‘अहम् ब्रह्मास्मी !’ भनेकै छन् त । तर जुन बेला पहिलो पटक म जन्मेँ, म मात्रै जन्मेको थिइनँ । मजस्तै असंख्या धेरै एककोषीय जीवहरू एकसाथ जन्मेका थिएँ । ती मध्ये कति अहिले घाँस भएर बाँचिरहेका छन् । कति माछा भएर पौडिदै छन् । कति चरा भएर उड्दै छन् । म मान्छे भएर बसेको छु । 
गनेस ः— यसको अर्थ ब्रह्मा एउटा मात्रै रहेनछन् । अनेक रहेछन् ?
रोशन ः— तपाईँ लेखक भैटोल्ने तर यस्तो सामान्य कुराको पनि हेक्का नराख्ने ? कस्तो अपठित लेखक हो तपाईँ ? पुराणमा भनिएकै छ त, संसारमा अनेकन ब्रह्माण्ड छन् । हरेक ब्रह्माण्डमा एक—एक ब्रह्मा छन् ।
गनेस ः— कुन पुराणमा ? पुराणै १८ वटा छन् ? 
रोशन ः— तपाईँ साँच्चैको लुतुरे लेखक हो । ब्रह्माण्ड उत्पत्तिको कुरा भविष्य–पुराणमा हुन्छ त ? ब्रह्मा–पुराणमै हुन्छ नि । 
गनेस ः— है न ठिकै छ । नरिसाउनुस न । ब्रह्माजीको कुरा आइहाल्यो । बिषय पनि हलुका गरी फरिहालौँ न । यी धर्महरू जुन छन् संसारमा, ती कसरी उत्पत्ति भए भनेर बताइदिन सक्नुहुन्छ ?
रोशन ः— आजलाई सक्दिनँ । धेरै व्याख्या गर्नुपर्छ । पछि कुनै दिन । तर तपाईँलाई आजको कुराकानी सक्नुअघि एउटा उपहार दिन्छु । भौतिक उपहार होइन नि फेरि । सूचनाको उपहार । त्यो के भन्देखिन मैले तपाईँले पुज्ने गरेको जुन गौतम बुद्ध छन्, तिनलाई भेटेको छु ।
गनेस ः— तपाईँको कतियौँ जन्ममा ? 
रोशन ः— गनेको छैन । गन्नुपर्छ । गनौँ ? 
गनेस ः— नाईँ पर्दैन । उनको जन्म ईपू ५६३ मा भएको हो भन्ने हामी सबैलाई थाह छ । बुद्धका बाँकि कुरा भन्नुस् न बरु ।
रोशन ः— त ठिकै छ । गौतम बुद्ध जो छन् ती अहिले चित्रमा वा मूर्तिमा देखाएजस्तो थिएनन् । उनी पहेँलो वर्णका थिए । मलाई उनी साह्रै मन पथ्र्ये । तर मलाई उनको अनुयायी भएर हिँड्न मिल्दैनथ्यो किनकी त्यो बेला म एक स्त्री थिएँ । त्यसमाथि विवाहित र गर्भवती । तर मेरो लोग्ने उनको पछि लागेर हिँडे । दुईटा बालबच्चालाई मैले स्याहारेँ ।
गनेस ः— एक छिन रोक्छु ल । तपाई ती स्त्रीबाट मात्रै जन्मेको त पक्कै होइन । उनको लोग्नेको पनि योगदान होला । त्यो लोग्ने पनि तपाईँकै जन्म हुनु पर्ने होइन ? 
रोशन ः— हो । अवश्य हो । ती स्त्री र पुरुषको दुबैको म दोस्रो सन्तान थिएँ । तर जिनेटिकल्ली स्पिकिङ, ती दुबै स्त्री पुरुष पनि म नै थिएँ । फरक के मात्रै हो भने उनीहरूको जीनबाट मेरो मस्तिष्कमा त्यतिबेलासम्मको मात्रै स्मृति पुस्तान्तरण भएको छ, जतिबेला मेरो भ्रुण विजारोपण भएको थियो ।
कुरो कसरी बुझ्नुस् भने, अनुबाँशिक हिसाबले भन्दाखेरी, तपाईँले सन्तान नजान्माउँदासम्म संगालेको स्मृति मात्रै सन्तानमा पुस्तान्तर हुन्छ । सन्तान जन्मिसकेपछि तपाईँले मोक्ष नै भेट्टाए पनि त्यो पुस्तान्तरण हुँदैन ।
गनेस ः— त्यतिविघ्नै व्याख्या पनि गर्नुपर्दैन । यति कुरा त बुझ्छु म पनि । मलाई गौतम बुद्धको बारेमा कुनै रोचक कुरा भन्दिनुस् न । जो कुनै धर्मग्रन्थमा नभेटिओस् ।
रोशन ः— धर्मग्रन्थमैँ नभेटिने जिम्मा लिन त सक्दिनँ किनकी मलाई बौद्धमार्गीका सबै ग्रन्थ कण्ठै छैन । तर एउटा कुरा भन्छु । बडो रमाइलो कुरा छ, बुद्ध जो थिए उनी पनि मैले जस्तै आफ्ना अनेकन पूर्वजन्मका कथा सुनाउँथे । 
गनेस ः— के ती सत्य कुरा थिए ? तपाईँ त जैवीक अस्तित्वदेखिकै सम्झना राख्नुहुन्छ । तपाईँको कुनै जन्ममा बुद्धका कुनै पूर्वजन्मसँग तपाईँको भेट भयो ?
रोशन ः— सबैसँग भएन । तर एकजनासँग झुलुक्क भेट भयो । 
गनेस ः— यसको अर्थ गौतम बुद्धले सत्य कुरा भनिरहेका थिए । उनलाई पनि जिनेटिक मेमेरी हुन्थ्यो ?
रोशन ः— हुन सक्छ । आखिरमा ध्यान गर्ने भनेकै अस्तित्वको आदिरुपको खोज गर्नु न हो । अन्तरआत्माको अनन्तयात्रामा निस्कनु त हो ।
गनेस ः— हामी आजको कुराकानीको अन्त्यमा पनि छौँ । म्याजेनको लागि हुनाले धेरै लामो लेख्ने कुरा पनि भएन । अरु कुरा पछिका अन्तरवार्तामा राखुँला । एउटा रमाइलो प्रश्न मनमा आइहाल्यो । यी रुख बिरुवा, जनावर पंक्षी जुन तपाईँले अहिले खानुहुन्छ तिनलाई खाँदा तपाईँलाई आफैलाई खाएजस्तो वा आफ्नै बंशजलाई खाएजस्तो लाग्छ होला हैन ? 
रोशन ः— म त कहिल्यै त्यसरी सोच्दिनँ । मलाई कहिल्यै धान भएको, स्याऊ भएको, कुखुरा वा बाख्रा भएको सम्झना छैन । म कहिल्यै बाँदर भएर, कुकुर भएर, सर्प भएर आदि भएर जन्मदैँ जन्मिइनँ । मेरा अघिल्ला जन्म हुँदा यिनीहरूको ‘इभोलुशन’ भएकै थिएन । भलै यीमध्ये कतिका पुर्खा र मेरा पूर्खा एउटै थिए होलान्, अर्थात यी र म कुनै बेला एउटै थियौ पनि होला ।
जहिले म पहिलो पटक जन्मेँ । त्यो बेला म मात्रै जन्मेको थिइनँ । मजस्ता अनेकन जन्मेका थिए भनेर मैले अघिनै भनिसकेँ । तर मजस्तै गरी तिनीहरू पनि अचानकसँग जन्मेका थिए । ती मध्ये कति अहिले बाँस भएर गाँजिएका छन् कति गाइ वा भैसी भएर घाँस खाइरहेका छन् । कति फुल भएर फुलेका छन् कति पुतली भएर उडेका छन् । तिनको निक्र्यौल म गर्न सक्दिनँ । म वैज्ञानिक होइन । अनुबाँशिक स्मृति खुलेको भए पनि म तपाईँजस्तै आम मान्छे हुँ ।
गनेस ः— लास्ट फर द रोड भन्छन् ? यो माहुरीलाई चास्नी किन खुवाएको नि ? यस्तो अचम्मको शौख हुने तपाईँ पहिलो मान्छे देखेँ । 
रोशन ः— मैले हरेक मानवीय जन्ममा माहुरीलाई चास्नी–भोज दिँदै आएको छु । करिबन १४ करोड बर्ष पहिले पृथ्वीमा फुलेका अनेकन फुलको पहिलो पारखी माहुरी थियो । तपाईँका वैज्ञानिकहरू त्यसलाई क्रेटासियस पिरियड भन्छन् । 
माहुरी देख्दामा तपाईँ एकलै देख्नुहुन्छ तर खासमा माहुरीको पुरै घार एउटा सग्लो जीव हो । तपाईँले देख्ने माहुरी त त्यसको एउटा अंग मात्रै हो । माहुरी एक सुपर अर्गानिजम हो । हुन त माहुरीजस्तै हामी पनि सुपर अर्गानिजम नै हौँ । तर हामीले त्यो सामुहिक अस्तित्वलाई बिर्सियौँ । हामी एकलकाटे भयौँ, आफैँलाई सम्पूर्ण ठान्ने भयौँ । यो हाम्रो भ्रम सिवाय केही होइन । 
मलाई पनि के अनुभूति हुन्छ भने माहुरीलाई भोज खुवाउनुजस्तो निमग्न अस्तित्वको आराधना अर्को छैन । 

पाठकवृन्द, 
सुखी हुन मान्छेलाई कति नै पो स्मृति चाहिन्छ र ? आखिरी अवस्थामा सम्झनका लागि एकाध प्रियजन भए पुग्छ । स्मृतिले सूचना दिन्छ विवेक दिदैन । विवेकको अनुबाँशिक पुस्तान्तर हुँदैन ।
त्यसो त अनुबाँशिक तरबले मात्रै पनि हाम्रा सबै ज्ञान, सीप र अनुभव पुस्तान्तण नहुने रहेछ । रोशनले भनी सक्यो कि सन्तानको विजारोपण हुनुपुर्वको ज्ञान, सीप र अनुभव मात्रै हो पुस्तान्तरण हुने । त्यसो भए सन्तानको जन्मपछिको हामी को ? हाम्रो अनुबाँशिक मुल्य के ? हाम्रो अस्तित्वको अर्थ के ? के माकुरासरी हामीले पनि अनुबाँशिक मृत्यु भोगिरहेका हुन्छौँ ?
हामी आफ्ना सन्तानहरू मार्फत पटक पटक जन्मिरहने अवश्य रहेछौँ तर सम्पूर्णतया होइन । हामी पहिलेभन्दा फेरिएर जन्मिने रहेछौँ । नपत्याए मेरै मानस–पुत्र रोशनलाई हेर्नुस् । ऊ मेरो मानस पुत्र हो तर उसको अनुबाँशिक स्मृतिमा मेरो स्थान कतै छैन । जसलाई मैले जन्माएको छु, उसको अघिल्तिर म एउटा अबुझ लेखक सिवाय केही होइन । रोलाँ बार्तले ‘अथर इज डेड’ अर्कै विवेचनाको प्रसंगमा भने होलान तर यसको आवश्यकता र सान्दर्भिकता मलाई अचेल हुन थालेको छ ।
रोशनसँगका बाँकि वार्तालापलाई म क्रमैसँग प्रकाशित गरिरहनेछु । उसलाई सोध्न सकिने कुनै प्रश्न तपाईँसँग छन् भने मलाई ‘म्यासेज’ गर्नुहोला । 

0 Comment:

Post a Comment