Sunday, November 8, 2020

कमरेड विकल्पको अन्तिम पत्र

कमरेड विकल्पको अन्तिम पत्र

लेखक — विकल्प

अक्टोबर ०२, २०२५

प्रिय मानिस, 

समय धेरै नै भैसकेको थियो, मैले तिमीलाई कतै भेट्न पाइकी थिइनँ । मरेजिम्दोको पनि पत्तो नहुने तरिकाले तिमी अचानकसँग गायब भएका थियौ । अधिकाँश समय तिम्रो मोबाइल फोनको ‘स्विच अफ्’ भएको हुन्थ्यो । तिनताकाको कुनै फोनवार्तामा तिमीले छिट्नै नै डिजिटल संसारबाट अलप हुने आफ्नो अखप योजना सुनाएका थियौ । 

सुनेर म उदास भएकी थिएँ । तर आफ्नो उदासीलाई आवाजमा आउनबाट रोक्दै मैले तिमीलाई सोधेकी थिएँ, “उसो भए अब कसरी होला त तिमीसँग भेट ? कसरी होला त तिमीसँग गफ ?”

तिमीले हौसिँदै भनेका थियौ, “हुलाकीहरू निकम्मा भएका छन् । तिनलाई काम देऊ । मेरो रैन बसेरा अझै जिमका तिम छ । मलाई हस्तलिखित पत्रहरु पठाऊ । मेरो पश्चुमस कृति मेरा पत्रहरूको संग्रह भैदियोस् भन्ने मेरो सतत् कामना छ ।”

तिम्रो कुरा सुनेर मलाई निक्कै रमाइलो लागेको थियो । मैले मनमनै सोचेकी थिएँ ः 

साँच्चै, चिठीहरूको संकलनको किताब छापिन छोडेको कति भयो होला हँ ? मैले पछिल्लो पटक पढेको पत्र–साहित्य सायद म्यान्डी किक्र्बीले संकलन गरिवरी निकालेको पुस्तक ‘महासमरका मधुपत्रहरू’ हो । प्रथम विश्वयुद्धमा हेलिएका सिपाहीहरूले आफ्नी प्रियतमालाई सम्झेर लेखेका ती प्रेमपत्रहरूले मलाई अझै पनि बेलाबेला सिरिङ्ग पार्छन् । त्यसो त फ्रान्सिस स्कट फिट्जराल्डको ‘खामभित्रको जिन्दगी’ पनि मलाई मन पर्ने पत्र–साहित्य हो । फ्रान्सिस मैले पढेकामध्ये सबैभन्दा नामूद चिठीवाज हुन् । उनकी श्रीमति जेल्डा उस्तै चिठीवाज थिइन् । प्रेम, नशा र पालगपनको उच्चाट संयोजनले बनाएका सम्बन्धका किस्सा छन् उनका पत्रपत्रमा ।

मैले तिमीलाई लेखेको पत्रले तिम्रो किताब त अवश्य बन्दैन थियो । बरु तिमीले मलाई वा अरु कसैलाई लेखेका चिठीबाट मात्रै त्यो किताब तिम्रो हुन सक्थ्यो । चिठी जसले लेख्यो त्यो उसैको सम्प्रत्ति हो । तर रचनाकारले आफ्नो पाण्डुलिपि नै अरुलाई सुम्पिनु पर्ने त्यो कस्तो सम्प्रत्ति हो ? 

कहिले म दशौँ बर्ष पहिलेको भुत कालमा पुग्छु त कहिले सूदुर भविष्यमा बतासिन्छु । जस्तो कि अहिले तिमीलाई यो चिठी लेखिरहँदा म तिमीभन्दा ठिक ५ बर्ष अगाडि अर्थात ईस्बी सम्बत २०२५ मा पुगेकी छु ।

तिमीलाई पहिल्यै भनिसकेकी थिएँ, म युद्धमा छँदा कैयन केटाहरूले मलाई प्रेमपत्रहरू पठाउँथे । पार्टीको कडा निर्देशन र अनुशासनका बावजुत पनि प्रेमपत्र पठाउने तिनको हिम्मतलाई मान्नै पथ्र्यो । तर मैले कति जनाका चिठीलाई हातमा पर्नेबित्तिकै च्यातेर फालिदिन्थैँ । कतिका चिठीलाई पढ्थेँ तर पढेपछि तुरुन्तै स्याँकिदिन्थेँ । कति चिठीलाई झोलामा नराख्ने पनि होइन, राख्थेँ । तर म आफैँलाई थाह नभईकन ती चिठीहरू झोलाबाटै हराएर कता जान्थे कता । त्यस्ता कैयन प्रेमीहरू थिए जसको अनुहार समेत मलाई अहिले सम्झना छैन । तर तीमध्ये एउटा मान्छे अलग थियो । पार्टीले दिएको उसको नाम थियो विकल्प । त्यो नवयुवकले चिठी पठाएको पठा्यै गरेर मलाई हत्तु हैरान पारेको थियो । उसले हरेक हप्ताजसो गरेर हाराहारी दुई दर्जनभन्दा धेरै चिठीहरू पठाएको थियो । तर मैले अन्तिमको बाहेक उसका कुनै पनि चिठीहरू पढ्दै नपढी फालिदिएकी दिएँ । त्यसो त उसको अन्तिम पत्र पनि पढ्दिनथेँ होला, तर संयोग त्यस्तै प¥यो र पढियो । भयो के भने, एक दिन अचानकसँग विकल्प बेपत्ता भयो । आमालाई भेट्न भनी घरमा गएको बेला बाटोबाटै ऊ गिरफ्तारीमा परेको सूचना आयो । तर त्यसपछि के भयो केही थाह भएन । एउटा बेपत्ता प्रेमीको अन्तिम पत्रलाई पढ्दा समेत नपढी बिसर्जन गरिदिन मनले मानेन । तन्मयका साथ पढेँ । सम्पूर्ण पत्र पढेपछि मात्रै मलाई थाह भयो त्यो खासमा प्रेमपत्र नभएर एउटा खास्साको कथा पो थियो । आफ्नो एकमात्र तर अत्यन्त लहडी छोराको भाग्यमा खिपिएको वहुविवाहको दोष मेटाउन संघर्षरत एउटी अधबैँसे एकल आमाको असफलताको कथा । लहडी छोराको भाग्य–दोष मेटाउन बुहारीसँग मिलेर उसकी आमाले गरेका आश्चर्यजनक प्रयासका किस्साले कथालाई रोमान्चक बनाएको थियो ।

कथा पढिरहँदा यस्तो पनि लाग्थ्यो कथाको लिखुरे सन्तान विकल्प आफैँ थियो जो नितान्त जोगी पाराको थियो । न तनको ठेगान भएको न त मनको । यायावरी उसको नशा नशामा व्याप्त थियो । उसलाई घरकी सुन्दर श्रीमति र ममतामयी आमासँग पनि कुनै अभिरुचि बाँकि थिएन । 

तर विकल्प त अविवाहित थियो, होइन र ? सायद त्यो एउटा नितान्त काल्पनिक कथा मात्रै थियो ।

मेरो मनमा खड्केको एउटै प्रश्न के थियो भने उसले प्रेमपत्रको शैलीमा मलाई आफ्ना कथाहरू खामबन्दी गरेर किन पठाउँथ्यो ? के उसले मलाई प्रभावित गर्ने उद्देश्यले यस्ता रोमाञ्चक कथाहरू पठाउँथ्यो ? वा उसले मबाट कुनै पाठकीय समीक्षा मात्रै सुन्न चाहन्थ्यो ? कतै फौजी दौडाहामा आफ्ना कथाहरू हराउलान् भन्ने डर पो थियो कि उसलाई ? चोरिन, खोसिन वा हराउन सक्ने भयकै कारणले मलाई उसले आफ्ना कथाहरू जतनपूर्वक राखिदिन आग्रह गरेको मात्रै पनि हुन सक्थ्यो । त्यस्तो कुनै आग्रह गरेकै भए त्यसको व्यहोरा पक्कै पनि उसको पहिलो पत्रमा लेखिएको हुनुपथ्र्यो । तर उसको पहिलो पत्रलाई त मैले पढ्दा पनि नपढी बेलुकाको खाना पकाउने बेला आगो सल्काउन प्रयोग गरिदिएकी थिएँ ।

के यस अघिका पत्रमा पनि उसले मलाई कथाहरू पठाउँथ्यो ? — सोचेर मात्रै पनि मलाई ठूलो अपराधबोध भएको थियो । एउटा अप्रकाशित तर होनहार लेखकका दर्जनौ कथाका पाण्डुलिपीहरू नष्ट गरिदिएको आत्मग्लानीको गाँठो अझै पनि मेरो हृदयमा कसिएर बसेको छ । 

कहिलेकाँही बाटोमा हिँड्दा म अचानकसँग बर्बराउने गर्छु —

विकल्प, बिचरा तपाईँ दुश्मनको घेरामा परेर बेपत्ता हुनुभो । सायद मारिनुभो । तर तपाईँले लेखेका दुई दर्जन कथाहरूलाई दुश्मनले होइन, मैले मारिदिएकी छु । मैले एउटा सिपालु लेखकलाई भुलबस सफाया गरिदिएकी छु । चिठी समेत नपढिकनै मैले तपाईँलाई प्रेमी प्रमाणित गर्नु हुँदैनथ्यो । शंकाकै भरमा कुनै निर्दोष लेखकको हत्या गर्नु हुँदैनथ्यो ।

६३ सालको जनआन्दोलनपछि आ–आफ्नो तर अलग अलग कार्यक्षेत्रमा फर्किनु अघि तिमी र म रुकुमको चौरजहारीमा अन्तिम पटक भेट भएका थियौँ । मैले त्यही साँझ तिमीलाई ‘कमरेड विकल्पको अन्तिम पत्र’को कथा सुनाएकी थिएँ । सुनेर तिमीले भनेका थियौ, “त्यो अन्तिम पत्रमा मात्रै उसले कथा लेखेर पठाएको हुन सक्थ्यो । बाँकि सबै खामभित्र अरु नै प्रकारका लेखोट हुन सक्थे । के थाह ती कतै कपाली तमशुक पो थिए कि ! भद्दा देह–आशक्तिले भिजेका प्रणय–पत्र पो थिए कि ! कसरी थाह पाउनु खामभित्र के थियो भन्ने कुरा ? त्यहाँ कुनै क्रान्तिकारी गीत वा रुमानी कविताहरू पो थिए कि ! खाम समेत नखोलीकन नष्ट गरिदिएपछि कागजमा के लेखिएको थियो भन्ने कुरा कसलाई के थाह ? सके पुरै कागज रित्तै पो थियो कि !”

तिम्रो प्रतिउत्तरले मलाई ढाढस दिन खोजेको थियो, त्यो मलाई थाह थियो । तर तिम्रो ढाढसमाथिको प्रतिप्रश्न स्वयम् विकल्प मार्फत नै मैले उहिल्यै पाइसकेकी थिएँ । त्यत्तिबेला ‘कमरेड विकल्पको अन्तिम पत्र’ अझै पनि मेरो झोलामैँ थियो । मैले उसको अन्तिम पत्रको एउटा अनुच्छेद पढेर तिमीलाई जवाफ फर्काएकी थिएँ —

खासमा यो कथा नभएर अरु कुनै प्रकारको लेखोट हुनुपथ्र्यो भन्ने तिम्रो मान्यता थियो । तर तिमीले एकदिन के सपना देख्यौ भने संसारका हरेक साहित्य वा कलाको मुख्य काम भनेकै कथा भन्नु हो । चाहे कविता होस् वा निबन्ध, रंग–चित्र होस् वा चलचित्र, नाटक, संगीत, नृत्य वा कुनै मूर्तिकला नै किन नहोस् संसारका सबै सर्जकले पाठक वा दर्शकलाई सुनाउने भनेकै कथा हो । कथा बिनाको कुनै सिर्जना हुँदैन । कथा बिनाको कुनै कला हुँदैन । किनकी तिमीले सपना देखेपछि मात्रै यो कथा घटित भएको थियो, यो लेखोट कदाचित कथा हुन सकेन भने तिम्रो सपनाको दोष हुनेछ । अर्थात तिम्रो स्वप्नदोष हुनेछ ।

***

पत्रको एउटा अंश थियो यो । कथाभित्र रहेकी अनौठी प्रेमिकाले आफ्नो निजी पुरुष पात्रलाई पठाएको पत्रको अंश । खासमा ‘कमरेड विकल्पको अन्तिम पत्र’ भित्रको कथाको बुनोट नै दुईवटा चिठीको अन्तरसंवादबाट बुनिएको थियो ।

चौरजहारीको अन्तिम रात्रीबास पछि हाम्रा रात्रीबसहरू अलग अलग स्थानका लागि छुटे । त्यसपछि तिमीसँग कहिल्यै भेट भएन । १९ बर्षपछि अचानकसँग तिमीलाई मैले आफ्नो जोखाना कक्षमा भेटेकी छु ।

म विशृंखलित भएर कता पुगेँ पुगेँ । खासमा मैले यहाँ हामीबिचको त्यो फोनवार्ताको कुरा गर्दै थिएँ, जो यो कथाको पहिलो अनुच्छेदबाटै प्रसंगमा आएको छ । म त्यतै फर्किन्छु ।

मैले तिमीलाई सोधेकी थिएँ, “तिमी संसारका सबै कुरादेखि बिरक्तिएका छौ । पत्रपत्रिकामा छापिने तिम्रा पछिल्ला आलेखहरूमा देखेकी छु — धर्म, विज्ञान, समाज, मानवता, राष्ट्रियता, लोकतन्त्र आदि जे सुकै कुरामा तिम्रो आपत्ति मात्रै देख्छु । आफैँले लडेको जनयुद्धकै महानायकहरू प्रति पनि तृक्ष्ण अनि अनवरत आक्रोश मात्रै देख्छु । र अहिले आएर तिमी ‘डिजिटल्टी डेड’ हुन खोज्दै छौ । किन लेखक, किन ?”

तिमीले भनेका थियौ, “हामी मानवजातीय सहअस्तित्वले घिच्याएर ल्याइपु¥याएको त्यस्तो घडीमा आइपुगेका छौँ जहाँ जीवनका विश्वास, जीवनका मान्यता, जीवनका सम्पूर्ण व्यवस्था, जीवनका तमाम अर्थहरूको मुलभूत अर्थ समाप्त भैसकेको छ । धर्म होस् या परम्परा, विचार होस् या विज्ञान, संस्कृति होस् या समाज, साहित्य होस् या दर्शन । मानवता, लोकतन्त्र, राष्ट्रियता वा विश्वबन्धुत्वकै कुरा किन नहोस् संसारमा त्यस्तो कुनै कुरा छैन जसलाई मान्छेले हतियारको रुपमा प्रयोग नगरेको होस् । कथित सभ्यता र सतगुणका यी सबै सर्जाम खासमा मान्छे मार्ने हतियार मात्रै हुन् । पसिना, आँसु, वीर्य, रगत सबका सब हतियार हुन् । दया होस् कि करुणा, नैतिकता होस् कि इमान्दारी हाम्रा सबै स्वभावहरू हतियार हुन् । भावहरू हतियार हुन् । संवेदनाहरू हतियार हुन् । मान्छेको जातले हतियारको रुपमा प्रयोग नगरेको कुनै जिनिस अस्तित्वमा छँदै छैन । तिमी नै भन त, संसारमा त्यस्तो कुन चाहीँ धर्म अस्तित्वमा छ जसको जग अमानवीय नरसंहारबाट नबसेको होओस् ? कुन चाहीँ राष्ट्रियता छ जो अनगिनत मान्छे नमारी संगठित भएको होओस् ? धर्म, स्वतन्त्रता, लोकतन्त्र, राष्ट्रियता आदिका नाममा इतिहासले जति मान्छे मारेको छ त्यति अरु कुनै कारणले मारेको छैन ।”

मसँग तिम्रो प्रश्नको उत्तर थिएन । तथापि मैले बोलेकी थिएँ , “प्रेम पनि त छ नि अस्तित्वमा । के प्रेम पनि युद्धको हतियार हो त ?”

मेरो प्रश्नले तिमी मुच्र्छै परुँला झैँ गरी हाँसेका थियौ । मलाई अरुखेर तिमी हाँसेको खुब मन पथ्र्यो तर त्यो बेलाको तिम्रो हाँसोले मलाई गिज्याई रहेको थियो । 

तिम्रो हाँसोको छेकलमा मैले हाम्रो पुरानो किस्सा सम्झेँ ः

कामरेड विकल्प बेपत्ता भएको करिब एक महिनापछि भएको थियो बेनी आक्रमण । आक्रमणको अघिल्लो रात तिमी र म कालीगण्डकी पश्चिमको पहरोमा अंगालोमा बाँधिएर बसेका थियौँ । त्यो प्रेम थियो वा आशक्ति न तिमीलाई थाह थियो न मलाई । दर्जनौ प्रेमीहरूको प्रेमपत्र च्यातेर फाल्दै आएकी मलाई त्यो रात के भयो भयो, थाहै भएन । तिम्रो र मेरो मनोभावना सायद एउटै थियो । तिमीलाई मैले एक्कासी अँगालो हाल्न पुगेकी थिएँ । बिना संवाद, बिना बिलम्ब हामीहरू एकाएक संभोगमा लीन भएका थियौ । त्यो मेरो पहिलो यौन अनुभव थियो । सायद तिम्रो पनि । न कुनै प्रेम प्रस्ताव, न कुनै कुराकानी, न कुनै गहिरो चिनजान हामी कसरी एकाएक यौन सम्पर्कका लागि तैयार भएका थियौँ ? अहिले आएर सोच्छु, सायद हामी दुबै जना मर्नु अघि आ–आफ्नो शरिरको स्वाद चाख्न चाहन्थ्यौँ । संसारले भन्ने गरेको त्यो चरम सुख कस्तो हुन्छ ? त्यसलाई अनुभूत गर्न चाहन्थ्यौँ । त्यो एउटा पशुवत ईच्छा थियो । प्राकृत चाहना थियो । जैविक मनोच्छा थियो ।

बेनी आक्रमण सकियो । न तिमी मर्यौ न म । न त हामीले बिताएको त्यस कामातुर रातको स्मृति नै मर्र्यो ।

“प्रेम, प्रेम, प्रेम ! यस्तो कुनै निःशर्त अनुभूति नै अस्तित्वमा छैन । प्रेम सबैभन्दा खतरनाक हतियार हो । संसारमा त्यस्तो कुन युद्ध देखेकी छ्यौ जहाँ प्रेमको उपस्थिति नभएको होस् ? प्रेम नै मान्छेको मुख्य अहम् हो, अहंकार हो । अनि युद्ध अहम्माथिको आक्रमण । त्यसैले प्रेम नै युद्धको मुख्य कारण हो ।”, तिम्रो प्रतिउत्तरले बेनीपारीको पहाडमा रल्लिएको मेरो स्मृतिको बय वर्तमानको दाद्रे ढुँगोमा आएर थेचारिएको थियो ।

“यसरी निराश भएर हुन्छ त ? के यो संसारलाई बदल्न हामीले केही गर्न सक्दैनौँ ? हामीले कुनै सामुहिक पहल गर्नु पर्दैन ? तिमी यस्तो ज्ञानज्ञुनका कुरा गर्ने मान्छे, बरु त्यसको नेतृत्व नै तिमीले लिए कसो हुन्छ ?”

मेरो कुरा सुनेर तिमी फेरि हाँसेका थियौ । अनि भनेका थियौ, “म निराश भएको होइन तर म आशावादी पनि छैन । निराशा र आशा अर्का ठुला हतियार हुन् । तिमीले भने झैँ हामीले संसार बदल्न सक्छौँ । अवश्य सक्छौँ । मैले त्यसको नेतृत्व लिनु वा नलिनु अर्कै कुरा हो । खास कुरा के हो भने तिमीले भनेजस्तो गरी संसार बदल्नका लागि हामीले एउटा निर्णायक युद्ध लड्नु पर्ने हुन्छ । त्यसमा कैयौँ मानिसको ज्यान जान सक्छ । हामी आफैँ मारिन सक्छौँ । बुझ्यौ नि मेरो कुरा ?”

“बुझेँ । संसार बदल्ने विचार पनि आफैँमा एउटा हतियार हो । झन् ठुलो हतियार । उसो भए संसारलाई होइन, आफैँलाई बदल्ने कुरा बल्ल ठिक हो, होइन त ? कुन्नी कुन चाँही नेपाली दाह्रीबाबाले यस्तै कुरा गर्छन् नि !”

तिमी फेरि हाँसेका थियौ, “आफूलाई किन बदल्ने ? म गलत छु त्यसैले मैले आफूलाई बदल्नु छ भनेर म किन स्विकार गरुँ ? म ठिक छु । मलाई न संसार बदल्नु छ न आफूलाई । ‘मैले नगरी केही हुँदैन’ भन्ने कर्ताभाव झन् ठुलो अहंकारपूर्ण बिडम्बना हो । तिमी जे छौ ठिक छौ । म जे छु ठिक छु ।”

तिमी खासमा अखण्ड्याहा मान्छे हौ । तिमी चाहिनेभन्दा बढि नै तार्किक थियौ । तर्क नै तिम्रो अस्तित्वको हतियार थियो ।

“संसारमा यत्रो परिवर्तन जुन भएको छ, त्यो के मान्छेले गरेको होइन त ? कर्ताभाव कसरी गलत हुन्छ ? उसो भए के मान्छेले अब कामै गर्न छोडिदिने ? विज्ञानले नयाँ नयाँ आविष्कार गर्न छोडिदिनेँ ? विचारले नयाँ नयाँ दर्शन जन्माउन छोडिदिने ?”

“तिमी भनेको को हौ ? म भनेको को हुँ ? हाम्रो परिचय के हो, पहिचान के हो ? जब हामी आफूलाई आफू बाहेक अरु कुनै तरिकाबाट परिचय गराउन खोज्छौँ अनि समस्या उत्पन्न हुन्छ । जस्तो कि तिमी एक दलित हौ । नेपाली नागरिक हौ । अहिले राजनीतिबाट अलग भएकी पूर्व माओवादी लडाकु हौ । शिक्षित युवा हौ । युनिभर्सिटीकी विद्यार्थी हौ । जन्मका हिसाबले हिन्दू हौ, विश्वासका हिसाबले नास्तिक । तर के खासमा तिमी यी सबै परिचय हौ त ? तिमीले आफूलाई जे ठानिबसेकी छौ वा संसारले तिमीलाई जे ठानिबसेको छ त्यो तिमी हुँदै होइनौ । जब तिमी आफूलाई ‘म यी मध्ये केही हुँ’ भनेर काम गर्छौ मलाई त्यो कर्ताभाव गलत लाग्छ ।”

सम्पत्ति र सम्बन्धको जञ्जाललाई वेवास्ता गरेको दिन ‘म’को आवश्यकता विलिन हुनेछ । त्यो दिन तपाईँले निर्धक्क भन्न सक्नुहुनेछ ः म छैन । आइ एम नट । मै नहीँ हुँ । आमी ना । वाताशि वा चिगाइमास । ङा महोत्बु । नाहम् अस्मी । . . . 


“उसो भए परिवर्तन गलत कुरा हो त ? परिवर्तन गर्न खोज्नु गलत हो ?”

“मैले त्यस्तो भनेको होइन । जब तिमी हिन्दू, ईसाई वा बौद्धमार्गी भएर परिवर्तन गर्न खोज्छौ त्यो गलत हो । जब तिमी नेपाली, चिनिया, अमेरिकी वा अरु कुनै देशको नागरिक भएर परिवर्तन गर्न खोज्छौ त्यो गलत हो । जब तिमी कुनै जातको भएर, भाषाको भएर, लिंगको भएर, वर्णको भएर, विचारको भएर परिवर्तन गर्न खोज्छौ त्यो गलत हो । यसरी परिवर्तन गर्न खोज्नु भनेको कुनै न कुनै हिसाबले कुनै कुनै इतर मानिसबिरुद्ध हतियार उठाउनु हो । युद्धको आह्वान गर्नु हो । जब तिमी जात, धर्म, भाषा, राष्ट्रियता आदिबाट रिक्त भएर परिवर्तन गर्न खोज्छौ त्यो बल्ल तिम्रो परिवर्तन हो । त्यो मान्छे बल्ल तिमी हौ । त्यो बल्ल प्राकृत र शान्तिगामी परिवर्तन हो ।”

“तिमी प¥यौ जन्मजात सभ्रान्त बाहुनको छोरो । तिमीलाई के खाऊँ छैन । के लाऊँ छैन । कहाँ बसुँ ? कसरी व्यवहार चलाऊँ भन्ने सुर्ता छैन । दिनभरी कुनै काम नगरी मस्त किताब पढेर, सिनेमा हेरेर, गीत सुनेर जिन्दगी गुजार्न पुगेको छ । त्यसैले तिमीले व्यक्तिवादी कुरा गरेका हौ । जबसम्म सबै जात, धर्म, राष्ट्र, लिंग, वर्ग समान हुँदैनन् तिमीले भनेको जस्तो जात–धर्म–राष्ट्र–लिंग–वर्ग विहिन भएर बाँच्न सम्भव हुँदैन । मान्छे भएर बाँच्न सम्भव हुँदैन ।”, मैले युद्धताका लिएको प्रशिक्षणको ह्याङओभरमा एकाध डोज आफ्नो पनि थपिदिएँ । त्यसो त तिमी पनि त्यही युद्धको विद्यार्थी थियौ, तिमीलाई त्यो डोजले छोयो वा छोएन थाह भएन ।

***

त्यो दिनदेखि आजसम्म धेरै समय बितेर गएको छ । समय आफैँ बितेर जान्छ वा अरुलाई बिताएर जान्छ त्यो कुरा मैले अहिलेसम्म हेक्का राखेकी छैन । त्यसो त ‘बित्नु र बिताउनु’ शब्दका अनेकन अर्थ छन् शब्दकोशमा । 

मनोत्ताल कुराकानी गरेको त्यो अनन्या दिन उपरान्त तिमी सम्पर्कविहिन भयौ । सामाजिक संजालका निजी खाताहरुको नामोनिशान मेटाइदियौ । आफ्नो कम्प्युटरको विद्युतीय पत्रमञ्जुषा उखेलेर रिसाइकल बिनमा फालिदियौ । बेतारे मोबाइल फोनको सिमकार्ड थुतेर डस्टबिनमा स्याँकिदियौ । तारे फोनको बिल भुक्तानी रोकिदियौ । बिजुली युगमा जन्मेको बिजुली समान चलाख मान्छे भएर पनि तिमीले बिजुली संसारबाट आफ्नो बैजुलिक उपस्थितिलाई खारेज गरिदियौँ । तिम्रो आफ्नै भाषामा भन्दा तिमी ‘डिजिटल्ली डेड’ भयौ । ‘सिमकार्ड’, ‘चिप्स’, ‘क्लाउड’ र ‘नेटवर्क’ले चारकुना बाँधेर बनाएको डिजिटल मुलुकको नागरिकता त्यागिदियौ । ‘रोवो स्यापियन्स’मा कायाकल्प हुने मायावी माहायात्राबाट एक्कासी बितर्किएर घर फर्कियौ । 

***

चौरजहारीबाट छुटेको बसले मलाई कतै पु¥याउन सकेन । युद्धको समाप्तिपछि म अवश्य पनि पूर्वयोजना अनुसार युनिभर्सिटी जान थालेँ । कीर्तिपूरको डाँडोको शिरानमा मेरो डेरा थियो । मेरो डेराको ठिक मुन्तिर एकजना अधबैसे कलाकार मूर्ति कुँदिरहेका हुन्थे । बिहान, दिउँसो, साँझ होस् या मध्यरात उनी अनवरत रुपमा मसिना मार्तोल र खिरिला छिनोहरू चलाएर मान्छे, पशु वा देवताका आकारलाई टुकुर टुकर खोपिरहेका हुन्थे ।

के उनी सुत्दै सुत्दैनथे ?

मलाई मूर्तिकारको कार्यशालाबाट निस्कने टुकुरटुकुरको आवाज निकै मन पथ्र्यो । म टुकुरटुकर सुनेर सुत्थेँ । टुकुर टुकुर सुनेर ब्युँझन्थेँ । टुकुर टुकुर सुन्दै भात पकाउँथेँ । टुकुर टुकुर सुन्दै खान्थेँ । टुकुर टुकुर पढ्थेँ । झ्यालबाट टुकुर टुकुर बाहिर टोलाउँथे ।

मूर्तिकारको टुकुर टुकुर बाहेक कीर्तिपुरको अरु कुनै सम्झना मसँग छैन । म कहिलेदेखि युनिभर्सिटी जान छोडेँ, किन छोडेँ त्यसको कुनै हेक्का छैन । काठमान्डुमा मेरो साथी को को थिए ? तिनको अनुहार पनि सम्झनामा छैन । म कहाँकहाँ जान्थेँ ती ठाउँको नाम र ठेगानाको हेक्का छैन । मेरो जिन्दगीको काठमान्डू–ग्रन्थबाट टुकुर टुकुर बाहेकका बाँकी सबै किस्सा च्यातेर निकालिदिएको जस्तो भएको छ ।

एक दिन मैले आफूलाई अचानकसँग आफ्नो घरमा पाएँ । बा र आमाको साथमा । भाइ त युद्धकालमै मारिएको थियो । घरमा आएपछि पनि मैले केही महिनासम्म मूर्तिकारको टुकुर टुकुर सुनिरहेँ । कीर्तिपुरको डाँडोबाट तनहुँको गाउँसम्म त्यो टुकुरटुकुरको मधुरो आवाज कसरी आइपुगेको होला ? 

एक बर्ष बित्यो । छिनो र मार्तोलको आवाज आइरह्यो । तर बर्षदिन पछिको एउटा कुनै बिहान टुकुर टुकुर गायब भयो । त्यसपछि के भयो भयो, म थरथरी काप्न थालेँ । अचानकसँग मलाई मेरो दिवंगत भाईको आत्मा चढेजस्तो भयो । म भाइकै लवज निकालेर बरोबर बक्न थालेँ — 

“म फलानो । मलाई फलानो दिन फलाना फलाना सिपाहीले फलानो ठाउँबाट पक्राऊ गरेर फलानो ब्यारेकमा लगे । त्यहाँ लगेर मलाई फलानो फलानो यातना दिए । त्यसपछि कुनै फलनो दिन मलाई फलानो जंगलमा पु¥याएर गोली ठोके । फलानो रुखको फेदमुनी मलाई गाडे । मेरो हाडखोर अझै फलानै रुखको फेदमा गाडिएको छ । मलाई त्यहाँबाट उत्खनन् गरी फलानो फलानो तरिकाले सतगत गरिदिए मेरो आत्माले शान्ति पाउनेछ ।”

नभन्दै मैले बकेअनुसारकै ठाउँमा हाडखोर देखियो । बके अनुसारै उसको सतगत गरियो । त्यसपछि मेरो कीर्ति अचानकसँग बढेर गयो । आजकाल अनेकौँ मान्छेहरू आ–आफ्ना दुख बोकेर मेरो जोखाना कक्षमा आउँछन् । उनीहरूको दुःख श्रवण गरेपछि म अचानकसँग काल योगिनी हुन्छु । कहिले म दशौँ बर्ष पहिलेको भुत कालमा पुग्छु त कहिले सूदुर भविष्यमा बतासिन्छु । जस्तो कि अहिले तिमीलाई यो चिठी लेखिरहँदा म तिमीभन्दा ठिक ५ बर्ष अगाडि अर्थात ईस्बी सम्बत २०२५ मा पुगेकी छु । 

आजकाल मेरो काया उही छ तर काल फेरिएको छ । अर्थात मेरो समय फेरिएको छ । त्यसो त मलाई कुनै हेक्का छैन खासमा समय फेरिन्छ वा समयले हामीलाई फेरिदिन्छ । हुन त न मैले समयलाई फेरकी छु, न समयले मलाई फेरिदिएको छु । बरु तेस्रो पक्ष कोही छ जसले मलाई कहिले भूतकालको अँध्यारो गुफामा लगेर मिल्काइदिन्छ त कहिले भविष्यत कालको मायावी ओच्छ्यानमा । ग्रेग्रोर साम्साले बिहान उठ्दा आफूलाई किरोमा परिणत भएको पाए झैँ हरेक बिहान ब्युँझदा मैले आफूलाई कहिले भूतकालको, कहिले वर्तमानको त कहिले भविष्यत कालको अलग अलग ओच्यानमा पल्टिरहेकी पाउँछु । म कुन कालमा, कुन युगमा ब्युँझेकी हुन्छु मलाई कहिल्यै पहिल्यै थाह हुँदैन ।

***

तिम्री नवदुलही मेरो जोखाना–कक्षमा आफ्नी सासु अर्थात तिमी आमासहित आएकी थिइन् । मलाई थाह छैन, विहे गरेको कति दिनसम्म लोग्नेस्वास्नीहरू नवदुलही वा नवदुलाहा भैरहन्छन्, तर तिम्रो विहे भएको बर्षदिन पनि पुरा नभएको सूचना तिम्री श्रीमतिले दिएकी थिइन् । उनी आफ्नो लोग्ने अर्थात तिमीबाट केही असन्तुष्ट थिइन्, केही असन्तोषी ।

“माता, मेरो पतिको मति ठिक छैन । विहेको बर्षदिन पनि पुरा भएको छैन तर उनको मन स्थिर छैन । उनी घरमा हुँदा पनि घरमा हुँदैनन् । एकसुरे देखिन्छन् । तथानाम डुलिहिँड्छन् । तथानाम लेखिफिर्छन् । तथानाम किताब पढ्छन् । तथानाम सिनेमा हेर्छन् । गर्नु नपर्ने काम तथानाम गर्छन् । गर्नै पर्ने काम यथानाम पनि गर्दैनन् । अरु त अरु, घर भित्रेर बर्षदिन नबिताएकी नवयौवना श्रीमति अर्थात मलाई समेत धित मर्ने गरी वास्ता गर्दैनन् । म अभागी, कस्तो जोगीसँग जोडिन पुगेछु ! हे माता, मलाई उद्दार गर्नुहोस् । मेरो भाग्यको दोष कहाँ छ, मेटाइदिनुहोस् । मलाई मेरो लोग्ने फिर्ता गरिदिनुहोस् ।”

तिम्री श्रीमतिको बिलौना सुनेपछि मैले आँखा चिम्म गरेँ । प्रसादमा चढाएको जलाग्नीलाई तनातन पिएँ । भावावेशमा धाराप्रवाह फुस्केका मन्त्रसमान शब्दहरूले जोखाना कक्ष पुरै गुञ्जमयमान भयो । मैले मुठ्ठीभरी चामल समाउँदै तिम्री श्रीमतिको केशराशीमा  फ्याक्दै गर्न थालेँ । मेरो पुरै शरिर बतासको बेग खेपेर बसेको केराको पात झैँ थर्थरी कामिरहेको थियो ।

“पर्सी बिहिवार लोग्नेलाई लिएर आऊ । उसलाई दोस्रो विहेको जोग छ । म उसको दोष मेटाइदिन्छु ।”, मैले यति भनिदिँदा तिम्री श्रीमतिको अनुहारमा केही डर र केही आशाको मिश्रित आभा कुर्कुराउन थालेको थियो ।

विश्वास गर, त्यो बेलासम्म मलाई थाह थिएन, त्यो महिलाको फिरन्ते श्रीमान् तिमी स्वयम् थियौ ।

छुट्छु । बाँकि कथा तिमीले प्रतिउत्तरमा पठाउला भन्ने आशा छ ।

उही तिम्री

मानुषि


अक्टोबर ०३, २०२०

प्रिय मानुषि,

तिम्रो पत्र हिजो मात्रै पाएँ । तिमी मभन्दा ठ्याक्कै ५ बर्ष पछिको भविष्यकालमा पुगेकी रहिछौ भनेर कल्पिदाँ पनि अद्भुत अचम्म लाग्यो । अरु त ठिकै छ, तिमीले ईस्बी सम्वत २०२५ मा लेखेको पत्र ईस्बी सम्बत २०२० मा कसरी आइपुग्यो म अझै अन्यौलमा छु । बुढोमा जन्मने, त्यसपछि उमेर घट्दै जाने र अन्त्यमा बालक भएर बित्ने फिट्जराल्डको पात्र बेन्जामिन बटनको कथाजस्तो अथवा भोली जन्मेर हिजो मर्ने नगरकोटीको कविता जस्तो गरी समयरेखाको उल्टो दिशामा दकुर्ने कुन चाहीँ हुलाकीले तिम्रो पत्र बोकेर ल्यायो म अचम्ममा छु ।

मैले लेखिरहेको यो पत्र पक्कै पनि ५ बर्षपछि मात्रै तिम्रो हातमा पर्ने होला, होइन ?

खैर ठिकै छ । म बाँकि कथा हाल्छु ।

श्रीमती र आमाको पछि लागेर म जोखाना गृहमा पुग्दा तिमी कसैले चिन्न सक्ने अवस्थामा थिँदै थिइनौँ । तिम्रो आँखामा गान्धारीका झैँ कालो पट्टी बाँधिएको थियो । अनुहार भरी हनुमानको मूर्तिमाझैँ अबिर पोतिएको थियो । निधारको मध्यभागमा कालो रंगले काली नागको टिका बनाइएको थियो । तिम्रो केशलाई अनेकौ भागमा लट्टा पारिएको थियो । हरेक लट्टाको टुप्पोमा रातोधागो बाँधिएको थियो । तिमी पहेँलो, रातो र कालो रंगले मिश्रित बस्त्रादीमा बेरिएर पुरापुर जोगीनी देखिएकी थियौ । रुद्राक्ष, चन्दन, तुलसी लगायतका अनेकौ वनस्पतिका दानाहरूले बनेका मालै मालाले तिमी पुरिएकी थियौ । त्यसो त तिम्रो अनुहार कदाचित साधारण स्वरुपमैँ देखिएको हुँदो हो ता पनि त्यो मान्छे तिमी नै हौ भनेर पहिचान गर्न सक्दिनथेँ होला । एउटी सुपठित क्रान्तिकारी योद्धा यसरी जोखाना कक्षकी ‘काल योगिनी माता’ भएर बाँचेकी छे भनेर म कसरी अनुमान लगाउन सक्थेँ ? हुन त आफूलाई सतप्रतिशत माक्र्सवादी ठानीबस्ने, तिमीजस्तै क्रान्तिकारी जिन्दगी बाँचेको म आफैँ तिम्रो जोखाना कक्षमा भाग्यदोष मेट्न आएको छु भने तिमीलाई मात्रै के दोष थोपर्नु ?

जोखाना गृहमा पुग्दा तिमी बिहानी सत्रको प्रवचनमा मग्न थियौ । अरु कुरा त मैले खासै याद गरिनँ तर तिमीले ‘म’को महिमामष्टी गर्दै थियौ । सराँश सायद यस्तो थियो ः

‘म’ को हुँ ? ‘म’ भनेको के हो ? यी प्रश्नको उत्तर आध्यात्म र दर्शनशास्त्रमा सर्वाधिक सोधिने प्रश्नहरू हुन् । यही प्रश्नकै कारणले आध्यात्म र दर्शनशास्त्रको उदय भएको हो । आध्यात्म र दर्शनलाई जन्माउने जननी प्रश्न हो ‘म’ । 

हुन पनि हामी घरलाई मेरो घर भन्छौँ । परिवारलाई मेरो परिवार भन्छौँ । देशलाई मेरो देश भन्छौँ । अरु त अरु भयो, आफ्नै शरिरलाई मेरो शरिर भन्छौँ । आफ्नै मनलाई मेरो मन भन्छौँ । आफ्नै प्राणलाई मेरो प्राण भन्छौँ । आफ्नै आत्मालाई मेरो आत्मा भन्छौँ । तर आफ्नै ‘म’लाई मेरो ‘म’ भन्दैनौँ । कि भन्छौँ ?

यसको सोझो अर्थ के हो भने ‘म’ भनेको घर, परिवार, देश, मन, प्राण, आत्मा वा शरिर केही पनि होइन । यी त ‘मेरा’ हुन् । अर्थात यिनीहरू र ‘म’ अगल कुरा हुन् । उसो भए ‘म’ के हो त ?

यी प्रश्नलाई अहिले भर्खरै मैले सोधेकी होइन । हजारौँ सालदेखि मान्छेले आफैँलाई सोध्दै आएका प्रश्न हुन् । सम्भवत मान्छेले तहिलेबाट आफूलाई यो प्रश्न सोध्न थालेको हुनु पर्छ जहिलेदेखि भाषाको अविष्कार भएको थियो । ‘म’ मानव सभ्यताको पहिलो अडबाङ्गे प्रश्न हो । 

के जनावरहरू, रुखहरू पनि यही प्रश्न गर्दछन् ? रुख र जनावरको ‘म’ हुन्छ कि हुँदैन ? घरमा पालेको कुकुरलाई तपाईँले ‘मेरो कुकुर’ भनेझैँ त्यो कुकुरले तपाईँलाई देखाएर ‘मेरो मानिस’ भन्छ कि भन्दैन होला ?

तपाईँलाई जस्तै मलाई पनि ‘म’को प्रश्नले सताएको थियो । लामै समय सताएको थियो । तर मैले जुन दिनबाट यो अगम्य प्रश्नलाई उब्जाउन छोडिदिएँ त्यही दिनबाट मलाई ‘म’को आदिसत्य थाहा भयो ।

कुनै कुरा मेरो हुनका लागि जे आवश्यक पर्छ त्यो म हो । मपछि मेरो आएको होइन, बरु मेरो पछि म आएको हो । जहिले देखि मान्छेले ‘स्वामित्व’ ग्रहण गर्न थाल्यो, त्यही दिनबाट ‘म’को आविष्कार भएको हो । सम्पत्ति र सम्बन्धको जञ्जाललाई वेवास्ता गरेको दिन ‘म’को आवश्यकता विलिन हुनेछ । त्यो दिन तपाईँले निर्धक्क भन्न सक्नुहुनेछ ः म छैन । आइ एम नट । मै नहीँ हुँ । आमी ना । वाताशि वा चिगाइमास । ङा महोत्बु । नाहम् अस्मी । . . . 

तिमीले ‘म’को मान मर्दनमा धेरै कुरा बोलेकी थियौ तर मलाई अहिले अरु कुराको खासै सम्झना छैन । सम्झेको कुरा यत्ति हो । उसै पनि मलाई धर्मभिरु महिला वा पुरुषले फलाक्ने अचाक्ली दर्शनमा खास अभिरुचि छैन तथापि तिम्रो सम्भाषणको अन्त्यमा सबैले झैँ मैले पनि ताली बजाएको थिएँ । 

त्यसपछि बिहानको आरती भयो । तिमी आरतीमा समावेश नभइकन भित्र पस्यौ । तिम्रा सेवक सेविकाहरू गायन र नृत्यमा रम्न थाले । मेरी श्रीमति र आमाले जोखाना कक्षमा प्रवेश गर्ने तयारी गर्न थाले ।

आरती सकिएको ठिक एक घण्टापछि मलाई जोखाना कक्षमा बोलाइयो । जोखाना कक्षमा प्रवेश गर्नेबित्तिकै सेवकहरूले बाहिरबाट चुकुल लगाइदिए र चुकुल माथि ताला ।

जोखना कक्ष अनपेक्षाकृत रुपमा विशाल थियो जसको मध्यभागका केराका थामहरू गाडेर झकिझकाउ विवाह मण्डप बनाइएको थियो । सजावट देखेरै थाह हुन्थ्यो, त्यो खास मेरा लागि मात्रै बनाइएको मण्डप थिएन । त्यसलाई मजस्ता धेरै पुरुषको बहुविवाहको दोष मेटाउन प्रयोग गरिएको थियो ।

जोखाना कक्षमा टाँसिएको अर्को कक्षबाट तिमी निस्कियौ । तिमी अघि झैँ माताको अवतारमा होइन बरु विशुद्ध बधुबस्त्रमा सजिएकी थियौ । तिम्रो आँखामा अद्यापि पट्टी बाँधिएको थियो । अनुहार पारदर्शक आँचलले ढाकिएको थियो । तिम्रो शरिर सुवर्ण अलंकारले आलोकित थियो ।

मलाई बरको आसनमा बसालेर तिमीले विवाह विधिका कर्महरू पुरा गर्न थाल्यौ । आफैँ दूलही, आफैँ पुजारी भएर तिमीले केके मन्त्रहरू फलाक्यौ । मलाई यो गर, उः गर भन्यौ । अनि अन्त्यमा मलाई आफूतिर बोलाएर भन्यौ, “विवाह कर्म सकिन लाग्यो । आऊ मलाई सिन्दूर हाल !”

म अकमकाएँ ।

तिमीले मेरो हातैमा सिन्दूरको बट्टा थमाइदियौ । मैले वरपर हेरेँ, कोही देखिएनन् । झ्याल खुला भए पनि बाहिर कोही थिएनन् । सेवकहरू सायद आ–आफ्ना आलयतिर फर्किसकेका थिए । जगह बिल्कुल सुनसान थियो ।

जे त होला भन्ने पौरुषीय अहंकारलाई अंगालो हाल्दै मैले सिन्दूरको बट्टा समाते । एक चिम्टी सिन्दूर तिम्रो सिउँदोमा लगाइदिएँ ।

मेरो दोस्रो विवाह सम्पन्न भयो । त्यसपछि जोखाना कक्षको ढोका खुल्यो । मेरी श्रीमती र आमा कक्षभित्र प्रवेश गरेर विवाह भोजको तयारी गर्न थाले । त्यसो त खानेकुराहरू यस अघि नै तयारी गरेर टेबुलमा राखिएका थिए । भोजमा अरु कुनै व्यक्ति सरिक भएनन् । तिमी, म, मेरी श्रीमती र आमा मात्रै ।

आमा र श्रीमती पूर्वयोजना अनुसारै भोजन ग्रहण गरेर घर फर्किए । मलाई त्यहीँ राखियो । उनीहरू बिदावारी भएर फर्किँदा साँझ पनै थालिसकेको थियो ।

“म आज तिम्री स्वास्नी भैदिएकी छु । आज विवाहको पहिलो रातमा राग–रिती, थात–थिति र नाथ–नीति अनुसार तिमी र म सँगै बस्नु पर्ने हुन्छ । त्यसपछि मात्रै तिम्रो बहुविवाहको दोष सम्पूर्णत मेटिनेछ । तिमी एकछिन बिश्राम गर । त्यहाँ किताबहरू छन्, मन लागेमा पढ । थकाइले निन्द्रा लागे झकाए पनि हुन्छ । म फर्केर आएपछि हामी रात्रीकक्षमा जानेछौँ र विवाह दोषको अन्तिम कश मेट्नेछौँ ।”

यति भनेर तिमी दाहिने भित्तामा जोडिएको अर्को शाखा कक्षमा प्रवेश ग¥यौ । म चाँही विवाह मण्डपकै वगलमा राखिएको सोफामा पल्टिएँ । आधि घण्टा बित्यो, तिमी फर्किइनौँ । अर्को आधि घण्टा पनि बित्यो, अहँ आइनौ । त्यसपछि भने मलाई झ्याऊ लाग्न थाल्यो । झ्याऊ मेटाउन पुस्तकहरू राखिएको टेबुलमा गएँ । त्यहाँ हाराहारी दश बाह्र वटा किताबहरू थिए होलान । तर ती सबै किताब नौला थिए, मैले अहिलेसम्म नामै नसुनेका । एउटा किताबको नामको मास्तिर लेखिएको थियो ः सन् २०२३ को बुकर विजेता । अर्कोमा लेखिएको थियो ः बि.सं. २०८० को मदन पुरस्कार विजेता । 

म त बल्ल सन् २०२० मा थिएँ, बिक्रम सम्बतले २०७७ साल । समयभन्दा अगावै समयको भोग गर्नु हुँदैन भनेर मैले किताबको नाम समेत नपढी फरक्क फर्केर सोफामा पल्टिएँ । भविष्य भोग र समय विचरणको एउटा सुवर्ण अवसरलाई मैले लात मारिदिएँ । मलाई आफ्नै त्यागमा गर्वानुभूति भयो ।

झम्के साँझ छिप्पिदै गएपछि जोखाना कक्ष अँध्यारो हुँदै गयो । झ्यालबाहिरबाट छिरेको जुनताराको छिपछिपे उज्यालोमा एउटा कदकाया जोखाना कक्षमा प्रवेश गरेको देखियो । त्यो कदकायामा तिमी फर्किएकी थियौ । कक्षमा बिजुली बत्तिको सुविधा थिएन त्यसैले तिम्रो रुप, श्रृंगार, बस्त्र र अलंकारको बोध मलाई भएन । मलाई थाह भएन तिम्रो आँखामा अद्यापि गान्धारीका झैँ पट्टी बाँधिएको थियो या थिएन । नजिक आएपछि तिमीले मेरो देब्रे नाडीमा समात्यौ र मलाई विश्राम कक्षमा लिएर गयौ ।

“हामी बहुविवाह दोषको अन्तिम कश निवारणको यत्न गर्दैछौँ । आज हामी समसाथमा रात्री बिश्राम गर्नेछौँ । कुनै हतारो छैन । तिमी पनि नआत्तिइकन बस । बरु मलाई अचाक्ली थकाई लागेको छ । अलिकति जलाग्नीले सिचिँत हुन मन लागेको छ, तिमीलाई कुनै आपत्ति त हुँदैन ?”

“किञ्चित हुँदैन । त्यसो त म स्वयम् पनि जलाग्नीबाट सिँचित भएर दिग्भ्रमबाट मुक्त हुन चाहन्छु ।”, त्यस दिन भएका सबै घटनाहरू उसै पनि मेरा लागि दिग्भ्रमित पार्ने खालका थिए । तर मेरो जवाफमा जोडिएको ‘दिग्भ्रम’ शब्दलाई तिमीले वास्तै गरिनौ ।

छिपछिपे अँध्यारोमा तिम्रो काया बिस्तारै बिश्राम कक्षको झ्यालतिर सर्दै गएको देखियो । झ्यालमा सेटिएको टेबुलमा पुगेपछि काया रोकियो । कायाले टेबुलको धर्रा तान्यो र एउटा जलाग्नीको बोत्तल निकाल्यो । गिलासमा खन्यायो र दुई थान गिलास दुइटा हातमा बोकेर मतिर आयो । तिम्रो काया अर्थात तिमीले सबै काम यति फटाफट, यति सजिलोसँग ग¥यौ मानौँ कोठामा कुनै अँध्यारो व्याप्तै छैन । अथवा मानौँ तिमी एक कुशल निशाचर हौ ।

म ओछ्यानको डिलमा खुट्टा तल झारेर बसेको थिएँ । तिमी देब्रे बगलमा आएर बस्यौ । हामीले ‘चियर्स’ नभनिकनै जलाग्नीको पहिलो घुट्को लियौँ ।

“के विवाहपूर्व तिमी कसैलाई प्रेम गथ्र्यौ ?”, तिमीले अचानकसँग सोधेकी थियौ ।

“तपाईँ माता । सबै कुराकी ज्ञाता । मलाई किन सोध्नुहुन्छ ?”, मैले कुरा टारेको थिएँ । त्यसपछि केही बेरसम्म हामी मौन बसेका थियौ । 

जलाग्नीले आँत तताउँदै ल्याएपछि तिमीले भनेकी थियौ, “अब तिमी आफ्नो कायालाई अनावृत्त गर । देहभोग बिनाको विवाह कर्म कहिल्यै पुरा हुँदैन । शरिर सुख बिनाको साधनाको कुनै मूल्य हुँदैन । आऊ, बिलम्ब बिना सम्भोग गरौँ ।” 

तिम्रो आवाज स्त्रैण कामुकताले लछप्पै भिजेको थियो ।

“मलाई किन किन तपाईँको आवाज सुनेसुने जस्तो लागिरहेको छ । तपाईँलाई चिनेचिने जस्तो भैरहेको छ ।”, मैले आफ्नो अन्तिम निजी बस्त्रलाई बिस्थापित गर्दै भनेको थिएँ, “माताजी, म तपाईँ सम्पूर्णत हेर्न चाहन्छु । कृपा गरेर एकैछिनको लागि बत्ति बालिदिनुस् ।”

“बहुविवाहको दोष मेटाउन आएका हे पुरुष, तिमीलाई यत्ति कुरा त पक्कै थाह छ दृष्टी सुख भन्दा देह सुख कैयन गुणा प्राकृत हुन्छ । प्रितिकर हुन्छ । त्यसैले आँखाको पछि नदौड । आँखाले हेरेर मलाई चिन्ने कोशिस नगर । आऊ मलाई स्पर्श गर । मेरो देह–बान्कीलाई महशुस गर ।” 

***

बिहान उठ्दा ओछ्यानमा तिमी थिइनौ । 

म एकलै घर फर्किएँ । घर फर्किँदाको यात्राभर मलाई लागिरह्यो ः त्यो काया तिमी नै हौ । त्यो देह तिमी नै हौ । त्यो स्वर तिमी नै हौ । ती कानका लोतीहरू तिमी आफैँ हौ । त्यो ओठको स्वाद तिमी हौ । त्यो दुई जाँघबिचको ताप पनि तिमी नै हौ ।

सोचाईले च्याप्दै गएपछि मैले बस रोक्न लगाएँ । ओर्लेँ । त्यहीँबाट अर्को बस समातेर फरक्क जोखाना गृहतिर फर्किँएँ । जोखाना गृह पुग्दा मध्यान्न भैसकेको थियो । जोखाना कक्षको ढोकामा ताला लगाइएको थियो । बाहिर कुनै भक्तजनहरू थिएनन् । 

कतै कक्षभित्र अरु कसैको वहुविवाह दोष निवारण त हुँदै छैन ? — मलाई शंका लागेर आयो । कक्षको कर्सातिर रहेको झ्यालतिर गएर भित्र चियाएँ । भित्रको दृष्य देखेर म हैरान भए । मण्डपमा तिमी थियौ र तिम्रो सम्मुखमा म आफैँ थिएँ । मैले तिम्रो सिउँदोमा सिन्दूर हालिरहेको थिएँ । 

सिन्दूर हालेर सकेपछि जोखाना कक्षको ढोका खुल्यो । मेरी श्रीमती र आमा कक्षभित्र प्रवेश गरेर विवाह भोजको तयारी गर्न थाले । यसपटक पनि खानेकुराहरू यस अघि नै तैयारी गरेर टेबुलमा राखिएका थिए । यस पटक पनि भोजमा अरु कुनै व्यक्ति सरिक भएनन् । तिमी, म, मेरी श्रीमती र आमा मात्रै ।

मैले झ्यालको चेपबाट सबै कुरा हुबहु पहिलेझैँ भैरहेको देखिरहेको थिएँ । 

आमा र श्रीमती भोज खाएर घर फर्किए । म त्यहीँ बसेँ । उनीहरू बिदावारी भएर फर्किँदा साँझ परिसकेको थियो ।

“म आज तिम्री स्वास्नी भैदिएकी छु । आज विवाहको पहिलो रातमा राग–रिती, थात–थिति र नाथ–नीति अनुसार तिमी र म सँगै बस्नु पर्ने हुन्छ । त्यसपछि मात्रै तिम्रो बहुविवाहको दोष मेटिनेछ । तिमी एकछिन बिश्राम गर । त्यहाँ किताबहरू छन्, मन लागेमा पढ । थकाइले निन्द्रा लागे झकाए पनि हुन्छ । म फर्केर आएपछि हामी रात्रीकक्षमा जानेछौँ र विवाह दोषको अन्तिम कश मेट्नेछौँ ।”

यति भनेर तिमी यस अघिका झैँ दाहिने भित्तामा जोडिएको अर्को शाखा कक्षमा प्रवेश ग¥यौ । म चाँही विवाह मण्डपकै वगलमा राखिएको सोफामा पल्टिएँ । आधि घण्टा बित्यो, तिमी फर्किइनौँ । अर्को आधि घण्टा पनि बित्यो, अहँ आइनौ । त्यसपछि भने मलाई झ्याऊ लाग्न थाल्यो । झ्याऊ मेटाउन पुस्तकहरू राखिएको टेबुलमा गएँ । त्यहाँ हाराहारी दश बाह्र वटा किताबहरू थिए होलान । तर ती सबै किताब नौला थिए, मैले अहिलेसम्म नामै नसुनेका । एउटा किताबको नामको मास्तिर लेखिएको थियो ः सन् २०३३ को बुकर विजेता । अर्कोमा लेखिएको थियो ः बि.सं. २०९० को मदन पुरस्कार विजेता । 

म त बल्ल सन् २०३० मा थिएँ, बिक्रम सम्बतले २०८८ साल । समयभन्दा अगावै समयको भोग गर्नु हुँदैन भनेर मैले किताबको नाम समेत नपढी फरक्क फर्केर सोफामा पल्टिएँ । भविष्य भोग र समय विचरणको एउटा सुवर्ण अवसरलाई मैले लात मारिदिएँ । मलाई आफ्नै त्यागमा गर्वानुभूति भयो ।

मैले आफैँले गर्वानुभूति गरिरहेको दृष्य झ्यालको चेपबाट हेरिरहेँ ।

***

जोखाना कक्षभित्र सबै कुरा बिल्कुल त्यही तरहले भैरहेको थियो जसलाई हिजोमात्रै भोगेर आज बिहान म बाहिर निस्केको थिएँ । यो के भैरहेको छ भन्ने कुराको मलाई कुनै भेऊ भएन । बोधहिनताले असैह्य भएपछि मैले झ्यालबाट चियाएर कक्षभित्र हेरिरहन सकिनँ । आँखा चिम्म गरेँ र फरक्क फर्किनका खातिर मुन्टो बटारेँ । आँखा खोलेँ ।

हेर आपत ! 

बाहिरको दृष्य जोखाना कक्षको भन्दा पनि झन् झन्झटिलो थियो । मेरो पछाडि मेरै कायाका थुप्रै मान्छेहरू पंक्तिबद्ध भएर उभिइरहेका थिए । अहो कति धेरै म ? कोठा भित्रको म तिमी फर्केर आउने प्रतीक्षा गरिरहेको थिएँ । अर्को म झ्यालमा आडेस लागेर आत्तिइरहेको थिएँ । मेरो पछाडि उभिएको अर्को म झ्यालबाट भित्र चियाउने आफ्नो पालो कुरिहेको थिएँ । उसको पछाडि अर्को म उसै गरी पालो कुरिरहेको थिएँ । सायद बाटोमा अर्को कुनै म श्रीमती र आमाको पछाडि लागेर जोखाना गृहतिर आउँदै गरेको हुँदो हुँ ।

मेरो दृष्टीमा जो जो थिए, जे जे थिए ती सबै मबाहेक कोही थिएनन् । मान्छे त मान्छे भैहाले उः पर जुन चौतारो थियो त्यो पनि म थिएँ । बारीमा चरिरहेको बाख्रा म थिएँ । आकाशामा उडिरहेको चरा पनि मैँ थिएँ । म हावा थिएँ । म पानी थिएँ । मैँ आकाश थिएँ । मैँ थिएँ धर्ती । कसैले भनेको “अहम् ब्रह्मास्मी !” सायद सत्य भनेको थियो । यो विश्व ब्रह्माण्डमा भएका सबका सब कुराहरू म आफैँ थिएँ । 

तर मानुषि, म चाहीँ यतिका धेरै कायामा कायाकल्प हुँदा तिमी चाहीँ किन एकलै थियौ ? तिमी किन अझै पनि तिमी नै थियौ ? तिमी किन आफू आफैँ थियौ ? तिमीलाई देखाएर मैले उः अर्को म भनेर किन भन्न सकिरहेको थिइनँ ? तिमी र म किन भिन्न थियौँ ? किन यस्तरी अगल अगल थियौँ ?

प्रश्नहरूको थाँती छ तर म निरुत्तर भएको छु ।

आशा छ बाँकि कथा हालेर तिमीले प्रतिउत्तर पठाउने छौ । 

उहि तिम्रो 

मानिस


(नोट ः समय रेखाका दुई अगल बिन्दूमा बसेका कारणले सम्पर्क र संवादविहिन हुन पुगेका प्रस्तुत कथाका दुई प्रेमीलाई पुनर्मिलन गराउने पूनित रहरले गाँजेको हुनाले उनीहरूका नामबाट प्रेषित माथि उदृत गरिएका दुबै चिठीहरूको लेखन तथा सम्पादन पोखरा महानगर पालिका, वडा नम्बर १४, मझेरी पाटन निवासी लेखनदास श्री गनेस पौडेलले गरिदिएका हुन् ।)

0 Comment:

Post a Comment