Contact Form

Name

Email *

Message *

Z

Showing posts with label हिमाल खबर. Show all posts
Showing posts with label हिमाल खबर. Show all posts

Sunday, November 8, 2020

म आफैं जन्मेको हुँ: रोशन [वार्ता-कथा ]





मेरा तीन जना मानस–सन्तान छन् । मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री । जसमध्ये एउटा हो रोशन । हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं । कहिले सिनेमा हेर्छौं । कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं । कहिले बाक्ला थियटरतिर बरालिन्छौं ।

कहिले उच्चाल पहाडतिर हाइकिङ जान्छौं । केही नभएघरकै कोठामा चर्को चर्को गरी नृत्य–संगीत बजाएर झुमिन्छौं ।
यसरी हरेक दिनको तनलाई निद्राले छोडेको तर मनलाई नछोडेको बिहानको सरदर दुई घण्टा र तन मन दुइटैले निद्राभोग गर्न नसकेको साँझको एक घण्टा म मानस–सन्तानसँग मानस–जिन्दगी बाँच्छु ।

चन्द्रमा मनसो जात... !
बाँकी दुई जनाको कुरा पछि गरौंला । कुनै संस्मरण वा कथामा । अहिले म मेरो कान्छो मानस–पुत्र रोशनका बारेमा कुरा गर्छु ।

रोशन जन्मिंदै सात वर्षको भएर जन्मेको थियो । त्यसैले जन्मनेबित्तिकै मैले उसलाई स्थानीय अमरसिंह माध्यमिक विद्यालयको कक्षा–१ मा भर्ना गरिदिएको थिएँ । ऊ नियमित स्कूल त जान्थ्यो, पठनपाठनमा मिहिनेत पनि निकै गर्थ्यो तर खै किन हो उसको दिमागमा पढेको कुरा घुस्तै घुस्तैनथ्यो । साह्रै लद्दु भएर निस्कियो ऊ । खेलकुदमा पनि उसलाई खास रुचि थिएन । कुनै चित्र बनाउने, कविता लेख्ने, अभिनय गर्ने वा यस्तै कुनै सिर्जनात्मक गतिविधिमा पनि उसको रुचि वा सामर्थ्य देखिएन ।
उता वेदव्यास जन्मिने बित्तिकै मातापितालाई देशना दिएर जंगल हिंडेका थिए भनेर आफ्ना जैविक बाजेबाट सुन्दै हुर्केको मलाई जन्मँदै सात वर्षको लाठे भएको आफ्नो मानस–पुत्रको दिमाग देख्दा साह्रै दिक्दार लाग्थ्यो ।

रोशन जन्मेको बखत मलाई पनि रहर लागेको थियो, ऊ टुकुर टुकुर हिंड्दै मेरो नजिकै आओस् । मलाई धर्म, विज्ञान, इतिहास, न्याय आदिका बारेमा अविच्छिन्न प्रवचन देओस् । म ऊसँग तर्क गर्नै नसक्ने भएर शब्दको बुइँगलमा पछारिऊँ । मेरा दुवै हात समातेर उसले मलाई उठाओस् र भनोस् :

'पिताजी, तपाईंले मनमनै भए पनि मलाई जन्माएर असाध्य पुनित काम गर्नुभएको छ । म तपाईंको मानस–पुत्र भएर जन्मेको भए पनि यसरी सधैंभरि तपाईंको मनमा बसेर हुँदैन । दिनका दिन तपाईंसँग मनोगफमा भुलेर हुँदैन । यसो गरेमा मानिसहरूले तपाईंलाई बर्बराउँदै हिंड्ने बौलाहा भन्न पनि बेर लगाउँदैनन् । त्यसैले मलाई तपाईंले आफ्नो मनबाट बिदा दिनुहोस् । म तपाईंको मनोलोकबाट निस्केर सर्वप्रथम ब्रह्माण्डको विचरण गर्न चाहन्छु । त्यसपछि ब्ल्याकहोल जस्तै ब्रह्माण्डकै कुनै अघोर अन्धकारमा ऐकान्तिक तपस्यामा लीन हुन चाहन्छु ।'

तर उसले त्यस्तो भनेन । बुद्धि भए पो भनोस् । १७ वर्षदेखि उसले मेरो दिमाग खाएर बसेको थियो, हरेक बिहान दुई घण्टा । बेलुका एक घण्टा ।

ऊ यतिसम्मको लद्दु थियो कि ७ कक्षा पुग्दासम्म उसलाई पूरै बाह्रखरी समेत आउँदैनथ्यो । अंग्रेजी वर्णमालामा ‘एप्पल’ देखि ‘जेब्रा’सम्म पूरै भन्न सक्दैनथ्यो । कहिले ‘एच’को ‘हेन’मा अड्किन्थ्यो । कहिले ‘आइ’को ‘इन्क’मा । गणितको त झन् कुरै नगरे हुन्छ । भन्थ्यो, ‘बाबा, मलाई हिसाब देखेपछि पिसाब आउँछ । सूत्र घोक्दा घोक्दा मूत्रले सताउँछ ।’
उसको एउटै कुरा ठीक थियो । मान्छे इमानदार थियो । मेरो पैसा चोर्दैनथ्यो । किचकिच गर्दैनथ्यो । भनेको मान्थ्यो । त्यसो त मानस–सन्तानहरू पैसा चोर्न वा पैतृक सम्पत्ति खानका लागि जन्मेका हुँदैनन् ।

त्यही साल हो कि अर्को साल हो, अहिले ठ्याक्कै बिर्सें । उसले स्कूल जान चटक्कै छोडिदियो । छोड्नुअघिको एकदिन उसले मसँग लठारिंदै भन्यो, ‘बाबा, म आजबाट स्कूल जान्नँ । पढेर काम छैन ।’
“अनि के गर्छस् त ? के गरेर खान्छस् ?”, मैले सोधें ।
“म बिजुलीकर्मी हुन्छु । घरको वाइरिङ गर्छु । खम्बामा तार टाँग्छु । एउटा छोटो जिन्दगी बाँच्न धेरै कुरा जान्नु पर्दैन । एउटा मात्रै सीप काफी हुन्छ ।”

छोटो जिन्दगी ? उसले यस्तो शब्दावली कसरी सिक्यो ? कसका लागि सिक्यो ? मेरा लागि अथवा आफ्नै लागि ? के मानस सन्तानको पनि आयु हुन्छ ? के बह्माजीका चार कुमार, नारद, दक्ष, मरिची सबै मरिसके ?
***
यसरी मेरो छोरो बिजुलीकर्मी अर्थात् इलेक्ट्रिसियन बन्यो । खै कसरी हो, रोशनले बिजुलीका रंगीविरंगी तारको जंजाललाई सजिलोसँग उधिन्न सजिलो गरी सिक्यो । मन परेको कुरा सिक्नलाई दिमाग नचाहिने रहेछ ।
पहाडमा छाँगो खस्ता झैं फटाफट दिन बिते । खहरेकै वेगमा महीना सोहोरिए । नदीको रफ्तारमा वर्षहरू ओरालो लागे । अनि अस्ति बिहीबारको दिनदेखि ऊ २४ वर्षको भयो । मैले तन्मयका साथ उसको जन्मोत्सव मनाउने तयारी गरेको थिएँ । ‘२४औं जन्मदिवसको शुभकामना’ देखिएको केक घरमा आइसकेको थियो । उसकी दिदी नर्मदा र दाजु प्रकाशले सम्पूर्ण मानस–गृह सजाएर चिरिच्याट्ट पारेका थिए । उत्सवको उत्कर्ष हुनै लागेको थियो, अचानकसँग बत्ती गयो । मेरो मानस गृहमा चूक अँध्यारो छायो ।
“बर्थ–डे–बोय हुँदैमा त्यसै आराम गर्न कहाँ पाइन्थ्यो !”, मलाई आँखा झिम्क्याउँदै ऊ टुल बक्स बोकेर बाहिर निस्क्यो । बिजुलीको खाँबोमा भर्‌याङ अड्यायो अनि फटाफट माथि चढ्न थाल्यो ।
मैले ‘माथिबाटै बिजुली गएको होला’ भन्ठानेको थिएँ तर छिमेकीका घरहरू पूरै उज्याला थिए । शायद हाम्रो घरमा तार तानेकै बिजुली—खाँबोमा कुनै कैफियत भएर होला । नत्र, रोशन किन माथि चढ्थ्यो र ?
यति सोच्दा कति समय पो लागेको थियो होला र ? तर मैले सोचेर नभ्याउँदै रोशनले सम्पर्कविच्छेद भएका दुई तारलाई जोडिसकेको थियो । बिजुली–खाँबोको टुप्पोमै बसेर उसले मतिर हेर्यो र फिस्स हाँस्यो । मैले पनि हाँसेरै जवाफ दिएँ ।
काम फच्चे गरेर पेन्चिस, स्क्रुड्राइबर वा प्लास कुन्नि के–के समान थन्क्याउँदै थियो, ऊ अचानकसँग बद्रयाम्म भुईंमा पछारियो । म सहयोगको लागि चिच्याउँदै उसको नजिकै पुगें । नर्मदाले ग्यारेजबाट मोटर निकाली हाली ।
रोशनको टाउकोमा अत्यन्त गहिरो चोट थियो । रगतको मूल फुटिरहेको थियो । मैले गलबन्दी फुकालेर घाउ बाँधिदिएँ । बर्थडेका सारा इन्तजाम थन्क्याएर हामीले उसलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अस्पताल पुर्‍यायौं।
***
सात हप्तापछिको एक बिहान म ३ बजे ब्यूँझें । फेरि निदाउन गरेको प्रयत्न सफल भएन । यत्तिकै ओछ्यानमा पल्टेर के गर्नु ? मैले आफ्ना मानस–पुत्रपुत्रीहरूलाई आह्वान गरें । सबैभन्दा पहिले ज्येष्ठ सुपुत्री नर्मदा सामुन्ने आई र प्रफुल्ल मुद्रामा शुभसमाचार सुनाई — उसको प्रिय कान्छो भाइलाई भर्खरै होश आएको छ ।
पूरै उनन्चास दिनपछि ।
यतिन्जेल पढ्दा तपाईंलाई लागेको हुनुपर्छ — करेन्ट लाग्नु भनेको सामान्य घटना हो । आम मान्छेहरूलाई करेन्ट लाग्छ । बिजुलीको झट्काले धकेलेपछि कति जना भर्‌याङबाट पनि खस्छन् । त्यसमा कति अंगभंग हुन्छन् । कति मर्छन् । कति लामै समय बेहोश भएर कुँजिन्छन् । बिजुलीकर्मीको जिन्दगीमा आउन सक्ने आम दुर्घटना हुन यी । यस्तो विवरण पनि कतै कथा हुन्छ ?
तपाईं पक्कै गलत सोचिरहनुभएको छैन भनेर जो कसैले ठोकुवा गर्न सक्छ । तर मेरो कुरा पनि सुन्नुस् — रोशनको किस्सा कथा हुन योग्य कसरी भयो भने बेहोश हुँदासम्म साह्रै लोद्दर भनिएको बोधे मान्छे ब्यूँझँदा अचानकसँग सर्वज्ञानी भएर निस्केको थियो । उसले नजानेको लगभग कुनै विषय थिएन ।
४९ दिनको बेहोशीमा उसको दिमाग अचानकसँग ज्ञानै ज्ञानले कसरी भरियो ? उसलाई अचानकसँग पढ्दै नपढेको गणित र विज्ञानका कठिन साध्य र सूत्रहरू कसरी खर्लप्पै हुन सके ? कहिल्यै नबोलेका संस्कृत, उर्दू वा ग्रीक भाषा फरर्रैका फरर्रै कसरी आउँदो भयो ?
यस्तो लाग्थ्यो उसले नजानेको कुनै विषय धर्तीमा छँदै छैन ।
उसको बोधो दिमागमा विश्वको सम्पूर्ण ज्ञान कहाँबाट घुस्यो ? बिजुलीको एउटा झड्काले कसरी कुनै व्यक्ति अचानकसँग महाज्ञानी हुनसक्छ ? यो त ठूलो चुनौती भयो विज्ञानलाई । शायद एउटा नयाँ आविष्कारको अवसर पनि । अस्पतालकै अगुवाईमा चिकित्सा वैज्ञानिकहरूको एउटा झुण्डले रोशनलाई लामो अध्ययनको लागि लिएर गए । कता लिएर गए भन्ने सूचना पनि हामीलाई दिइएन ।
४९ दिनपछि बल्ल–बल्ल घर फर्किएको छोरोको संगत फेरि छुट्यो ।
करिबन सात महीनासम्मको अनुगमन र अध्ययनपछि वैज्ञानिक र डाक्टरहरूको निष्कर्ष निस्क्यो । कोरोनाको महामारी भएकोले भर्चुअल पत्रकार सम्मेलनको आयोजना भयो । अध्ययन टोलीका प्रमुख डा. कुन्नि के मुकारुङले अध्ययन पत्रको निष्कर्ष वाचन गरेर सुनाए :
“बिजुलीको झड्काका कारण रोशनको मस्तिष्कभित्रको अनुवांशिक ज्ञान भण्डारण गर्ने कोषिकाहरू अचानकसँग उत्तेजित हुन पुगेका थिए । अनुवांशिक–स्मृति–कोष भनिने यस्ता कोषहरू मात्रै हुने उसको मस्तिष्कभित्रको एक विशेष कक्ष अहिले शतप्रतिशत सक्रिय भएको छ । यसका कारणले ऊ आफ्नो जीवनकालको मात्रै होइन आफ्ना बाबु–हजुरबाबु, आमा–हजुरआमालगायत आफूलाई जन्माएका तमाम पुर्खाहरूको समेत ज्ञान, सीप, अनुभवलाई हुबहु सम्झन सक्ने भएको हो । . . . ”
पत्रकार सम्मेलनमा बाँडिएको अध्ययन–पत्रले संसारलाई एकसाथ हल्लायो । सामाजिक संजालका खाता–खातामा विश्वास, अविश्वास र अन्धविश्वासले भरिएका प्रतिक्रियाहरू आउन थाले । आफ्नो कनिष्ठ मानस–पुत्रको यो प्रख्यातिले मलाई हुनुसम्मको आनन्द दियो ।
गत शुक्रबार अर्थात् अक्टोबर २ तारिखमा मेरो आफ्नै जन्मदिन परेको थियो । वैज्ञानिकहरूको अध्ययन–अपहरणमा परेको छोरोसँगै जन्मदिन मनाउन पाइने भयो भनेर म प्रफुल्ल थिएँ । नभन्दै जन्मदिनको बिहान पनि आइपुग्यो । सधैं चाँडै उठ्ने म, त्यस दिन भने आँखा खोल्दा ७ बजिसकेको थियो । मानस–पुत्रपुत्रीबाट शुभकामना लिनुपर्ला भनेर विचार मात्रै के गरेको थिएँ टेलिफोनको घण्टी बज्यो । एकाबिहानै फोन गर्ने कसैलाई टार्नुहुँदैन । उठाएँ । हिमाल खबरपत्रिकाका मित्र रविन गिरी रहेछन् ।
“स्वामीजी कोरोनाको कारण हाम्रो प्रिन्ट इडिसन त स्थगित नै छ । तथापि यो पटकको दशैं अङ्क निस्कने भयो, शायद अनलाइनमा । यो हाम्रो अन्तिम दशैं अंक पनि हुनसक्छ । मलाई तपाईंको कुनै सामग्री चाहियो । स्वामीजीलाई नछापिकन हामी कसरी ‘हिमाल’ भैरहने ?”
“हो हुन त । थाप्लामा हिउँ भए न हिमाल । हिउँ पग्लिए त पहाड भैगो नि !”, मैले तुलसी दिवसको कुनै कविताको भाव गुथेर भनें, “चाहिएको खास के हो गिरीजी ?”
“पोखरामा एकजना रोशन नामका युवा छन् । उनलाई अचानकसँग अनुवांशिक स्मृति हुन थालेको चर्चा त स्वामीजीले पनि सुन्नुभएकै होला . . .।”
गिरीजीको कुरा सुनेर म झसङ्ग भएँ । मेरो निजी मानस–पुत्रको जानकारी बाँकी संसारलाई कसरी भयो ? भएकै भए पनि किन हुने ? मान्छेको सोचाइलाई, मान्छेको गोपनीयतालाई यसरी भौतिकीकरण गर्न पाइन्छ ? के मान्छेको मनको निजी संसार सार्वजनिक मैदान भैसक्यो ? मेरो मानस–जिन्दगी, मेरो मानस–पुत्र रोशन कसरी दुनियाँगिरीका विषय हुन पुगे ? सम्पूर्ण समाजवादमा पनि संभव नहुने कुरा यहाँ कसरी सावित भैदियो ?
“हजुर के भन्नुभयो रे गिरीजी ?”, रविन गिरी बोल्दै गरेको आवाज अझै पनि स्पिकरमा आइरहेको हेक्का भएपछि मैले अक्मकिंदै सोधें । म आफ्नै सुरमा सोचमग्न भएकोले उनले यसबीचमा अरू के–के भनेका थिए, मैले सुन्दै सुनेको थिइनँ ।
“ती भाइसँग एउटा अन्तर्वार्ता गर्नु प‌‌‌‌‌र्‌‌‌यो भनेर भनेको नि ! तपाईंले । मैले सुनेको छु, ती भाइलाई आफू एक कोषीय जीव भएर पृथ्वीमा पहिलोपटक उत्पत्ति हुँदादेखिको सम्झना छ रे ! तपाईं ‘जिनेटिक मेमोरी’ त बुझ्नुहुन्छ नि स्वामीजी ?”
“ज्यू ज्यू, बुझ्छु अलिअलि । आफ्ना पुर्खाहरूको ज्ञान, सीप वा अनुभव जीनमार्फत सन्तानमा सर्ने प्रक्रिया होइन त गिरीजी ?”
“हजुर त्यस्तै । ती रोशन भाइसँग एउटा बिशेष अन्तरर्वार्ता लिनुप¥यो । स्वामीजी आफैँले ।”
“त्यो त ठिक छ, गरुँला । तर ती युवकलाई म कसरी भेट्न सक्छु त ? उनको कुनै सम्पर्क छ ?”, मैले डराई डराई सोधेँ । कतै गिरीजीले ‘ऊ त तपाईँकै मानस सन्तान हो । थाह नपाएको स्वाङ पारेर मलाई उल्लु बनाउन खोज्ने ?’ भनेर झपार्छन् कि भन्ने डर आफैँ आफैँ गहिरो भएर आयो ।
तर उनले त्यसो भनेनन्, “रोशनको बाँकि डिटेल स्वामीजीको इन्बक्समा आइसकेको होला । उनी माथिको ‘रिसर्च पेपर’ पनि पठाइदिएको छु । उनी पोखराको मझेरी–पाटनस्थित लामे पोखरीको नजिकै बस्छन् । उनको आफ्नै मोबाइल नम्बर रहेनछ । तर उनकी दिदीको भने छ, टिप्नुस त ।”
“भन्नुस् !”, म प्रतीक्षारत भएँ ।
“९—८—१—६—६—८—७—७—१—३ ।”, उनले एक एक अंक गर्दै १० वटा अंक वाचे ।
अंक टिपेर सकेपछि म फेरि झस्केँ । यो त त्यही नम्बर थियो जसबाट मेरो एकजना दिवंगत मानस–पुत्र जोस्मणिलाई रहस्मयी तर प्रेमिल म्यासेज आउने गथ्र्यो । त्यो पनि तारन्तार । उसको नायकत्वमा लेखिएको यात्रोपन्यास ‘पैताला’मा मैले यसका रमाइला प्रसंग टिपोट गरिगरी पढेको थिएँ ।
त्यही नम्बर हो कि होइन भन्ने थाह पाउन मैले हतार हतार मोबाइलको ‘कन्ट्याक्ट लिष्ट’ चहारेँ । नभन्दै ‘मिस्टिक लेडी’को नाममा त्यो ‘सेभ’ भएको रहेछ ।
फोन नम्बर ठ्याक्कै मिलेको थाह पाएपछि मलाई भाउन्ना छुट्यो । केही बेर घाइते माहुरी झैँ भुन्भुनिएँ । यस्तो कसरी हुनसक्छ ? मेरी मानस–पुत्री नर्मदा कसरी त्यो रहस्मयी स्त्री हुनसक्छे ? मेरा पुत्र–पुत्रीहरू कसरी एक आपसमा प्रेम गर्न सक्छन् ? यसरी आफ्नै सन्तानहरू बिचमा हातनाता सम्बन्ध हुन थाल्यो भने मान्छे–जातको अनुबांशिक सामथ्र्य पुरै खस्केर जानेछ । सोचेर म बिसारै चिन्तित भएँ । आफ्नो सोचाईको वाक्यभित्र पसेको ‘अनुबांशिक’ शब्दले मलाई पुन गिरीजीसँग कुराकानी भैरहेको सम्झना भयो । सोचाईबाट सम्हालिँदै मैले उनलाई भनेँ, “हस् म केही न केही अवश्य गर्छु ।”
***
रोशनलाई भेट्न भनी भोलिपल्ट बिहानै म मझेरी पाटन हानिएँ । पोखरा भनेकै पाटन, चौर र खर्कहरूको सहर हो । मझेरी पाटन पोखराको सबैभन्दा पुरानोमध्येको एक मानव बस्ती हो भन्ने पनि मलाई थाह थियो । पोखराकै बासिन्दा भएर पनि म पहिलो पटक मझेरी पाटन जाँदै थिएँ । त्यो पनि आफ्नै मानस–पुत्रलाई भेट्न । उसको अन्तरवार्ता लिन । 
प्राप्त नक्शाको ‘जिपिएस’लाई पछ्याउँदै म रोशनको निवास पुगेँ । तर गिरीजीले भनेकोजस्तो छेउछाउमा कुनै लामे पोखरी देखिएन । बरु घरको छेउमा एउटा विकासे पार्क थियो जसलाई पूर्णतया झाडीले कब्जा जमाएको थियो । ‘पोखरी पुरेर पार्क बनाएछन् ।’, सोचेर खिन्न भएँ । तर अर्काको घरछिर्नु अघि खिन्न हुुनु हुँदैन भनेर खिन्नतालाई दबाएँ ।
अर्काको गृहपरिधिमा सवारी बोकेर के छिर्नु ? साइकललाई घर बाहिरको बिजुलीको खम्बामा चाबीले बाँधे । त्यो त्यही खम्बा थियो जसबाट ऊ बिजुलीको झट्का खाएर भुईँमा बजारिएको थियो ।
तगारोको गरालाबिचबाट ज्यान छिराएर म उसको घरको परिधिभित्र दाखिला भएँ । रोशन आँगनमा घाम ताप्दै आगन्तुक माहुरीहरूलाई चास्नी हालिरहेको थियो । हरेक बिहान माहुरीलाई चास्नी–भोज दिने उसको बाल्यकालिन शोख रहेछ । आफ्नै मानस पुत्र भए पनि मलाई उसको यो बानीको बारेमा कल्पना समेत थिएन ।
पाठकवृन्द, 
मलाई लाग्दैन अरु कुनै थप भूमिका यहाँ राख्नु पर्छ । अब म तपाईँलाई सोझै रोशन र म बीचकमा भएको कथित अन्तर्वातामा प्रवेश गराउँछु । पढेर प्रतिक्रिया दिनुहोला ।