Contact Form

Name

Email *

Message *

Z

Wednesday, December 11, 2019

पोखरा विमानस्थलः राष्ट्रको गौरव, जनताको अपमान


यसकै कारण हरेक वर्ष विमानस्थलमा नयाँ पुर्वाधार थप्ने योजना बनाइन्छ र वर्षैपिच्छे नयाँ क्षेत्रफल अधिग्रहण गर्ने सूचना निकालिन्छ । हचुवाको भरमा निर्माण भइरहेको भनेर सजिलै बुझिने यो परियोजनाले अहिलेसम्म आधा दर्जनभन्दा बेसी पटक गाउँलेलाई विस्तापित गरेको छ । घटना यतिसम्म अमानवीय र संवेदनासून्य छन् कि यो एउटै परियोजनाले कुनै कुनै एउटै परिवारलाई ५ पटकसम्म विस्थापित गरिदिएको छ । शिकारी कुकुरले तित्रा खेदेझैं गरिएको यो लखेट्याई किन भैरहेको छ ?
२ हप्ता अघि मात्रै गरिएको १ सय ४८ रोपनी थप जग्गा अधिग्रहण गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन भए मेरो आफ्नै परिवार तस्रो पटक विस्थापित हुनेछ । ‘कहिले तेल डिपोको लागि भनेको छ, कहिले ह्यांगरको लागि भनेको छ, कहिले ट्याक्सी वेको लागि भनेको छ, कहिले सिग्नल उपकरण राख्न भनेको छ । यो कस्तो केटाकेटी खेला भैरहेको छ ? के यिनीहरु एअरपोर्टका न्युनतम पूर्वाधार होइनन् ? न्यूनतम पूर्वाधारको लागि यति नै जग्गा यहाँ–यहाँ चाहिन्छ भनेर किन यकिन हुँदैन ? किन पटके अधिग्रहण गरेर जनताको बास उखेल्ने काम हुन्छ ?’ मैले विभागीय मन्त्री योगेश भट्टराईलाई परियोजनाकै सभाकक्षमा सोधेको थिएँ । तर उनको उत्तर थियो, ‘विमानस्थलको क्षेत्रफल जहिल्यै पनि बढ्न सक्छ । विमानस्थलको निर्माण कहिल्यै पुरा हुँदैन ।’
मन्त्री भट्टराईको कुरा झट्ट सुन्दा अति स्वाभाविक लागे पनि खासमा उनको अभिव्यक्तिले दीर्घकालीन समयलाई मात्र इंकित गर्नुपथ्र्यो । तर वातावरणबश त्यसो हुन सकेन । आखिरमा उनको अभिव्यक्तिबाट कम्तिमा समुद्घाटनसम्मको लागि यति नै क्षेत्रफल चाहिन्छ भनेर यकिन गर्न नसक्ने अदूरदर्शी योजनाकारको बचाऊ मात्रै हुन पुग्यो । योजना अदूरदर्शी थिएन भने २०७५ सालमा ‘योभन्दा बढी जग्गा चाहिन्न’ भनेर ‘आउटर पेरिफेरल रोड’को लागि अन्तिम पटक अधिग्रहण गरेको परियोजनाले वर्ष दिन नबित्दै १ सय ४८ रोपनी थप जग्गा चाहिने योजना कसरी निकाल्छ ? अझ अक्रान्त पार्ने कुरा त के भने १ सय ४८ रोपनी जग्गाको अधिग्रहणको स्विकृती दिएको हप्ता दिन पनि नबित्दै परियोजनाका केही चुल्बुले प्राविधिकले अझै ५ सय ८४ रोपनी थप जग्गा चाहिन्छ भनेर हल्ला फैलाउन थालेका छन् । यो भन्दा केटौले योजना के हुन्छ ? २÷३ दशकको लागि चाहिने न्युनतम पूर्वाधार र त्यसको लागि हुुनुपर्ने न्युनतम क्षेत्रफलको समेत पूर्वानुमान गर्न नसक्ने, अल्पकालीन दूरदर्शीता समेत नभएको अल्पज्ञानी मान्छेको हातमा के राज्यले राष्ट्रिय गौरवको आयोजनाको खाका कोर्ने तालाचाबी सुम्पेको हो ? नभए व्र्षैपिच्छे नयाँ नयाँ बहानामा किन जग्गा अधिग्रहण गरिन्छ ? किन पटक–पटक जनताको बास उखेल्न हुँदैन भन्ने न्युनतम संवेदना पनि प्रदर्शन हुँदैन ? यो निरंकुश र हेपाहा प्रवृत्तिको मुल खलनायक को हो ?
परियोजनाले आवश्यक क्षेत्रफलको स्पष्ट खाका सार्वजनिक नगरेको हुनाले ५ व्र्षयता एअरपोर्ट आसपासका कुनै पनि जग्गाको सुक्री बिक्री बन्द भएको छ । एअरपोर्ट प्रशासनले दिनहुँ जसो सम्भावित विमानस्थल विस्तारको बेमैसमी हल्ला फिजाएर बस्ने गरेको छ । जसका कारणले बैंक तथा वित्तीय संस्थाले यहाँको जग्गामा लगानी गर्न इन्कार गरिरहेका छन् । न कसैले खरिद गर्ने, न बैंकले ऋण लगानी गर्ने अबस्थामा महानगरभित्रको महंगो जग्गा पुगेको छ । कतिपय सीमानाका जग्गालाई एअरपोर्टले नै जबरजस्ती रोक्का राखेको छ ।
यसरी यहाँका बासिन्दाको भएको सम्पत्ति एक ढंगले ‘फ्रिज’ भएको छ । आफ्नै सम्पत्ति समेत परिचालन गर्न नपाइने यो बिडम्बनापूर्ण अवस्थाको सिर्जना किन गरिन्छ ? जग्गाको भाऊ घटाउन ? दिनुसम्म दुख दिने र अन्त्यमा आजित बनाएर कौडीको भाउमा जग्गा सुम्पेर भाग्ने मानसिक अवस्थामा जनतालाई पुर्‍याउने यो घिन लाग्दो योजना कसको हो ? यदि यस्तो योजना होइन भने मुआब्जा निर्धारण गर्दा एअरपोर्टदेखि उत्तरको र दक्षिणको जग्गा भनेर हिजो पञ्चायतले समेत नगरेको विभेद किन भयो ? बाटो र कुलोले छोएको र नछोएको भनेर किन फरक फरक दररेट राखियो ? एअरपोर्टलाई चाहिएको क्षेत्रफल हो कि घडेरी वा खेतबारी हो ?
सबैलाई थाहा छ, यहाँको जग्गाको मुल्य एअरपोर्टकै कारणले घटेको हो । एअरपोर्ट नहुँदो हो त यसको बजार भाउ निक्कै माथि हुने थियो । आफ्नै कारण घटेको मुल्यमा उल्टो ‘बार्गेनिङ’ गर्ने अनैतिकता परियोजनाले देखाउनु कत्तिको मनासिब हो ? यो त टेस्ट ड्राइभमा आफैले मोटरलाई पल्टाएर कुच्याउने अनि पछि ‘कुच्चिएको मोटर कम मूल्यमा दे’ भनेर बखेडा गरेजस्तो भयो कि भएन ? के राज्य सोझासाझालाई चेपुवामा पारेर जग्गा हडप्न पल्केको दलाल हो ? होइन भने हिजो २०३२ सालमा जेजस्तो मापदण्ड बनाएर जग्गा अधिग्रहण गरिएको थियो सोही अनुकुलको व्यवहार हुनबाट अहिले कसले रोकेको छ ? एअरपोर्टले गरेको गल्तीको मूल्य हामी जनताले किन चुकाउनु पर्छ ?
२०६९ देखि २०७५ को समयमा भएका अधिग्रहणका बेला विस्तापित नागरिकका बारेमा राज्यले उठाउनुपर्ने न्युनतम दायित्वको पनि पर्वाह भएन । बाजे बराजुका पालादेखि खेतीपातीबाट जीविका चलाइआएका इन्द्रबहादुर केसीको घर र हाराहारी ५ रोपनी जग्गा अधिग्रहणमा पर्दा उनले बुझेको मुआब्जाले छरछिमेकका एउटा घडेरी किनेर घरमात्रै बनाउन पुग्यो । जग्गाको प्रतिइकाई स्वामित्व त गुम्यो गुम्यो, उनले गरिआएको परम्परागत किसानी पेसा पनि सकियो । यसरी रातारात एउटा स्वावलम्बी किसान ज्यालादारी मजदुरमा परिणत भयो । उता जग्गाको सट्टामा जग्गा दिन्छौ भनेर झुलाइएका ७ परिवारको बिचल्लीको कथा झन् भयावह छ ।
प्रश्न गर्दा जग्गा प्राप्ति ऐनका कारण पुग्दो मुआब्जा दिन नसकिने प्रकारको जवाफ जिल्ला प्रशासन कार्यालयले दियो । तर बुझ्नुपर्ने कुरा के हो भने, कुनै ऐनले नागरिकलाई आफ्नो संविधान प्रदत्त मौलिक हक उपभोग गर्नबाट बन्चित गर्छ भने त्यो ऐन नभएर अंकुश हो । त्यो न्यायको खातिर नभएर निरंकुशताको खातिर जोडिएका अक्षरको पुञ्ज मात्रै हो । अबका दिनमा कि त यस्तो ऐन सुधार गरेर होस् कि विकल्पको खोजी गरेरै भए पनि हामीलाई न्याय दिइयोस् ।
उता विस्तापित नागरिकको अधिकारका बारेमा नेपालले समेत हस्ताक्षर गरेको संयुक्त राष्ट्र संघको अभिसन्धिमा स्पष्ट भनिएको छ, विगतको भन्दा उन्नत जीवनको प्रत्याभूति नगर्दासम्म सकैको सम्पत्ति अधिग्रहण गर्नु हुँदैन । यसरी अधिग्रहण गर्दा मानिसको प्रति इकाई जमिनको स्वामित्व घट्नु हुँदैन बरु बढ्नु पर्छ ।
तर के अन्तर्राष्ट्रिय व्यापार र लगानीको विश्वव्यापी प्रावधानमा टेकेर चिनियाँ ऋण लगानीमा बनिरहेको विमानस्थलले त्यो अन्तर्राष्ट्रिय अभ्यास पुरा गरेको छ ? भोलि विस्तापितको न्युनतम अधिकार पनि हनन गरिएको प्रमाण सहित ठेकेदार कम्पनीलाई समेत मुछेर संयुक्त राष्ट्र संघमा मुद्दा दिने हो भने हाम्रो राष्ट्रिय गौरव कता पुग्छ ? चीनसँगको हाम्रो सम्बन्ध कहाँ जान्छ ?
विमानस्थल निर्माणको थालनी हुनुपूर्व अहिलेको रनवेकै छेदकमा परेर सेती सिँचाइ आयोजनाका ३ वटा नहरले दक्षिणी भूभागको करिबन ६ हजार रोपनी उर्बर जमिनलाई सिँचेका थिए । अहिले ती नहर सबै भत्काइएका छन् र रनवेभित्र पुरिएका छन् । पर्याप्त पानी नपुगेको गुनासो लिएर सिँचाइको अफिसमा जाँदा अफिसले एअरपोर्टलाई देखाउँछ भने एअरपोर्टमा जाँदा सिँचाइलाई देखाएर तर्किन्छ । गत वर्ष जनतालाई झुलाउने मनसायले बाटो छेउको नालाबाट वैकल्पिक पानी दिइयो, जसले सामान्य भाषामा भन्दा २० हल गोरुको रोपाइ चल्न पनि सम्भव हुँदैनथ्यो । यति थोरै मात्राको पानीले ६ हजार रोपनीको रोपाइ कसरी अन्मियो होला ? त्यहाँको धानबाली उब्जनीमा कति ह्रास भयो होला ?
अघिल्लो बर्खे बाली त भलबाढीको भरमा जेनतेन रोपियो । तर अहिले हिउँदमा लगाइने तरकारी बाली सिँचाइको अभावमा कसरी सम्भव होला ? फेरि अर्को बर्खा लाग्दासम्म पनि पर्याप्य सिँचाइको व्यवस्था गर्ने योजना न एअरपोर्ट परियोजनासँग छ न सेती सिँचाइ कार्यालयसँग । जनताको जीविकोपार्जनसँग जोडिएको सार्वजनिक सरोकारका पूर्वाधार भत्काउनुअघि त्यसको उचित विकल्पको व्यवस्था हुनु पथ्र्यो कि पर्दैनथ्यो ? यसले गर्दा हजारौं रोपनी जग्गामा आश्रित गरिब किसानलाई पर्ने नकरात्मक आर्थिक प्रभावको बारेमा परियोजनाले के योजना ल्याएको छ ? उनीहरुलाई कि बैकल्पिक सिँचाइको व्यवस्था कि अनुमानित उब्जनीमाथि क्षतिपूर्ति दिनु पर्छ कि पर्दैन ? यो भनेको राज्यले जनतालाई न्युनतम सामाजिक न्याय प्रत्याभूति गर्नुपर्ने अवस्था हो कि होइन ? समाजवाद उन्मुख संविधानलाई शिरानी हालेर सुतेको सरकारले यस्तो कुरामा ध्यान किन दिँदैन ? अब पनि अधिकार खोसेरै लिनुपर्ने अवस्थामा छौं कि नमागिकनै राज्यले दिनुपर्ने राजनीतिक व्यवस्थामा छौं हामी ?
सिँचाइ त परको कुरा भयो, २ हप्ता अघि परियोजनाले स्थानीयको सामुदायिक पहलमा निर्मित खानेपानीको पाइप धरि उधिनिदियो । निक्कै रस्साकस्सीपछि अस्थाई रुपमा पाइप जोडिएको भए पनि २ हप्ताको अवधिमा करिब १ हजार घरधुरीले ट्यांकरको पानी किनेर खानुपर्ने अवस्था आइलाग्यो । १ हजार घरधुरीले न्युनतम २ हजारको दरले पानी किनेर खाँदा समग्रमा समुदायले कति खर्च गर्‍यो ? एअरपोर्ट परियोजनाले गरेको गल्तीको सजायँ हामीले किन भुक्तानी गर्ने ? हाम्रो समुदायले खानेपानीका लागि खर्चेको न्युनतम २० लाख रुपैयाँको क्षतिपूर्ति परियोजनाले व्यहोर्नु पर्छ कि पदैन ?
पर्वत धाइरिङबाट पोखरा बसाई सरेकी गंगाकुमारी शर्माले वैदेशिक रोजगारीमा रहेका श्रीमानको पसिनाको कमाइबाट २०६४ सालको अन्तखेर हवेली मार्गमा साढे ३ आना जग्गाको घडेरी किनिन्, १६ लाख रुपैयाँमा । त्यसको ६ वर्षमा उनको जग्गामध्ये ३ आना काटिएर अधिग्रहणमा प¥यो । जसको मुआब्जा २०७३ सालमा मात्रै पाइन १० लाख ४६ हजार रुपैयाँ । तारबारको सिधारेखा बाहिर पर्ने हुनाले उनलाई आधि आनाको मुआब्जा दिइएन । अब बाँकी आधि आना जग्गा कोरिएको लालपूर्जा बोकेर उनले के गरुन् ? न त्यसमा घर बनाउनु, न त्यसलाई उखेलेर गाउँ लैजानु, न आधि आना जग्गा रुँघेर पोखरा बस्नु ? अझ त्यसमा पनि २५ मिटरको मापदण्ड त ज्युँकातिऊँ छ । जसले गर्दा परियोजना बाहिरको थप २५ मिटर जग्गामा कसैले केही निर्माण गर्नै पाउँदैन । राज्यले बिना कारण गरिब जनतालाई यसरी बिल्लिबाँठ बनाउन पाउँछ ?
उनको जस्तै कथा छ कुस्माबाट बसाई सरेका नारायण श्रेष्ठको । श्रेष्ठका अनुसार यस्तै कथा हुने पीडितको संख्या ४० भन्दा बढी छ । सोचनीय कुरा के हो भने, सर्वसाधारणको हकमा कित्ताकाट नै गर्न नमिल्ने भनिएको यति सानो क्षेत्रफलको जग्गा नापीले कसरी छुट्याएर परियोजनालाई दियो ? अर्काको जग्गालाई टुक्र्याएर लिएपछि घर निर्माणको लागि महानगरले तोकेको न्युनतम क्षेत्रफलभन्दा कम बँचेको जग्गा परियोजनाले लिइदिनु पर्ने हो कि होइन ? अर्काको सम्पत्तिलाई जबरजस्ती उपयोगविहीन अवस्थामा पुर्‍याइदिनु भनेको पनि अधिग्रहण गर्नु बराबर नै हो । नागरिकले व्यहोरेको यति प्रष्ट क्षतिप्रति पनि राज्य संवेदनशील छैन भने लोकतन्त्र आउनु र निरंकुशता रहनुबीचमा के भिन्नता भयो ? स्मरणीय कुरा के छ भने हिजो पञ्चायत कालमा अधिग्रहण हुँदा यस्तो रहेलपहेल जग्गाको समेत मुआब्जा दिइएको थियो । तर अहिलेको लोकतान्त्रिक परिपाठीमा पनि सर्वसाधारणले झन् ठुलो सास्ती किन खेप्नु परेको छ ? यसको मतियार को हो ?
यसरी सबै नेपालीका लागि राष्ट्रिय गौरवको आयोजना भए पनि यता हामी स्थानीयको अनुभवमा भने सामुदायिक अपमान र अमानवीयताको उदाहरण भएको छ, पोखरा विमानस्थल । जसलाई देखेर तपाईं गर्वले शीर उचाल्नु हुन्छ । त्यसैलाई देखेर हामी स्थानीय अपमान र आवेगले आगो हुन्छौं । यहाँको प्राकृतिक र पर्यावरणीय प्रभावको मूल्यांकन र त्यसको क्षतिपूर्ति हुने कुराको भर्सेला परोस्, यहाँ त जनजीविका र बासोबासकै बिल्लिबाँठ भएको छ । बिस्तापितको अधिकारबारेमा अन्तर्राष्ट्रिय मान्यताको धज्जी उडाइएको छ । पोखरा उपत्यकामा सबैभन्दा पहिला ओर्लेर यहाँको औलो खेप्दै कुँडहर फाँट लगायतका ठाउँलाई आवाद गर्ने मध्येका १ हाम्रा पितापूर्खादेखि चलिआएको सांस्कृतिक सम्पदा र सामाजिक सम्बन्ध ध्वस्त पारिएको छ ।
अहिले आएर १ सय ४८ रोपनी थप जग्गा अधिग्रहण गरी बचेखुचेको पुरानो गाउँ र त्यसको ऐतिहासिक पहिचान निमिट्यान्न पार्ने गरी लिइएको नेपाल सरकारको निर्णयले हामीलाई थप प्रताडित पारेको छ । कौडीको दरभाऊमा जग्गा दिएर सहयोग गरेका हामी स्थानीयलाई गरिएको संवेदनाविहीन र अमानवीय व्यवहारले हामी अत्यन्त विक्षिप्त भएका छौं । यस अघिका तमाम अन्यायपूर्ण समस्याको समाधान नगरिकन एकतर्फी रुपमा लादिएको थप अधिग्रहणको निर्णय हामीलाई मान्य छैन । आफैंले लडेर ल्याएको लोकतान्त्रिक व्यवस्थामा यो विघ्नको निरिहता अनुभूति गरेर कोही नागरिक बाँच्नु नपरोस् ! यो विघ्नको निरंकुश शैलीको संवेदनाहीन परियोजना कहिल्यै नआओस् ! राज्य जनताको अभिभावक हो भन्ने प्रमाणित होस् ! मानवता नहारोस्, जनताको जीत होस् !

Published at:
https://samadhannews.com/news/2019/12/11/12017/

Monday, December 2, 2019

एउटा अध्ययनशील मजदुरको प्रश्न


Bertolt Brecht को कविता Questions from a Worker Who Reads को सरोनरकृत नेपाली अनुसिर्जना वाचन : कवि सुदर्शन पौडेल

Wednesday, November 27, 2019

पैताला गाथा



Book-Hill Presents Paitala - A Novel By Ganess Paudel
Singer / Music : Pushpan Pradhan Lyrics : Ganess Paudel Production : www.Jukson.com Artist : Kapil Sharma Ass. Cinematographer : Nicholas Gurung Cinematographer : Milan Shankar Editor / Colorist : Netra Gurung Director : Arun Giri
All Rights @GanessPaudel

Tuesday, November 5, 2019

छोयला खाँदै ‘सोताला’, अयला खाँदै ‘पैताला’


कुमार नगरकोटीलाई लेखनभन्दा पठन प्यारो छ । उनी विश्वसाहित्य र नेपाली साहित्यका नयाँनयाँ पुस्तक पढ्न सधैं लालायित हुन्छन् ।
यस्ता अध्ययनशील फिक्सन डिजाइनर नगरकोटीलाई मनपर्ने नेपाली पुस्तक कुनकुन होलान् ? जिज्ञासा स्वाभाविक छ ।
यही जिज्ञासा मेट्न नगरकोटीसँग भेट्ने सहमति भयो, पाटनढोकास्थित ‘पाटन बुक हाउस’मा ।
केही हिन्दी कविताका किताब छान्दै गरेका नगरकोटीले भेट्नेबित्तिकै सुनाइहाले– ‘जहाँ पुगे पनि पाटनका गल्ली र यो पाटन बुक हाउसमा नफर्की बस्नै सक्दिनँ ।’
हो, जहाँ पुगे पनि आफ्नो डेरा (उनी डेरालाई गुफा भन्न मन पराउँछन्) बालकुमारी फर्केपछि नगरकोटी एकचोटि ‘पाटन बुक हाउस’ पुगिहाल्छन् । दसैं मानेर गाउँबाट फर्कनेबित्तिकै पनि उनी बुक हाउस नै पुगेका रहेछन् ।
केही छिनपछि हामी किताबका कुरा गर्न नजिकैको क्याफेमा गयौं । उनले कडा रङको बाक्लो दूध चिया मगाए । कालो कमिजको बगलीबाट चुरोट निकालेर सल्काए । अनि सुरु भयो, किताबका कुरा ।
धेरै लामो कुराकानी गर्ने अनुकूलता मिलेन । छोटो बसाइमा उनले आफूलाई मनपर्ने पुस्तकका बारे भनेका कुराः
मलाई पछिल्लो समय मन परेका दुई किताब हुन्– ‘सोताला’ एण्ड ‘पैताला’ (सोताला डोरबहादुर विष्टको उपन्यास हो, पैताला गनेस पौडेलको ।) कुरा गरौं सोतालाबाट ।

सोतालाः छोयला खाँदै पढ्ने किताब

चर्चा कम भए पनि उम्दा आख्यान हो सोताला । समाजशास्त्री डोरबहादुर विष्ट बडो मज्जाका कथा लेख्छन् । यो उपन्यासचाहिँ अदृश्य (इनभिजिबल) जस्तो भयो । तर, तपाईंले प्राचीन काठमाडौं खोज्न सक्नुहुनेछ यसमा । काठमाडौंको आत्मा भेट्नुहुन्छ । अनि तिब्बती (भोट) इलाकामा भ्रमण गर्न सक्नुहुनेछ । अलौकिक भौगोलिक परिभ्रमण गर्न सक्नुहुनेछ ।
डोरबहादुर विष्टले लेख्नु नै सोतालाको दुर्भाग्य भयो । तर, तपाईं यसमा नेपाली व्यापारी र तिब्बती युवतीको प्रेम पाउनुहुन्छ । यसरी नेपाली र तिब्बतीबाट जन्मेको बच्चालाई सोताला भनिँदोरहेछ । रियलिस्टिक उपन्यास सोताला ओभर स्याडोड भयो । अर्थात् डोरबहादुर विष्टको समाजशास्त्री, मानवशास्त्रीको परिचयले यसलाई थिच्यो ।
इतिहास पढ्नेलाई यो किताब उपयोगी हुन सक्छ । राणाकालीन जनजीवन बुझ्न पनि सोताला उपयुक्त हुन सक्छ । मलाईचाहिँ पुरानो काठमाडौंको झल्को दिने उपन्यास भएकाले यो मन परेको हो । सुन्दर उपन्यास सोतालालाई तिख्खर छोयला खाँदै पढ्न रुचाउँछु ।
(समाजशास्त्री डोरबहादुर विष्टद्वारा लिखित उपन्यास सोताला साझा प्रकाशनले २०३३ सालमा छापेको थियो । यसको दोस्रो संस्करण हिमाल बुक्स प्रालिले २०६७ सालमा प्रकाशन गरेको छ ।)

पैतालाः अयला खाँदै पढ्ने किताब

अयला वा जुनसुकै मात दिने पेयको पेग लिँदै तपाईं पैताला पढ्न सक्नुहुनेछ । स्टोरी टेलिङको मनोटोनस शैलीलाई यसले भत्काएको छ । अर्थात् एकनासको दिक्क लाग्ने गरी कथा भनिएको छैन । परम्परागत कथा वाचन यसमा छैन । यसमा जो कल्पनाशिलता छ, त्यसलाई आफ्नो शैलीमा ढाल्न सक्ने सामथ्र्य गनेस पौडेलमा छ । क्राफ्टम्यानसिप छ ।
पछिल्लो दशकको सुन्दरतम साहित्यिक प्राप्ति हो ‘पैताला’ । उपन्यासमा गरिने प्रयोग पनि सुन्दर हुन्छ भन्ने उदाहरण हो पैताला । गनेस स्वयम् पनि एकल–यात्रीजस्तो लाग्छ मलाई । उपन्यास लेख्ने मान्छे यस्तै हुन्छ शायद । आफ्नै लयमा हिँड्न रुचाउने । यसर्थ ऊ दुर्लभ मान्छे हो ।

केही रहस्य, केही खोज ‘पैताला’मा पाउनुहुनेछ । मैले धेरै मानिसलाई प्रेमपूर्वक उपहार दिएको किताब पैताला नै हो । यसर्थ म अयला खाँदै ‘पैताला’ पढ्न रुचाउँछु ।
(बुक हिलले प्रकाशन गरेको उपन्यास पैताला २०७४ सालमा बजारमा आएको थियो । आख्यानकार गनेस पौडेलको यो पहिलो उपन्यास हो ।)
प्रकाशित https://shilapatra.com/detail/13263

Monday, September 23, 2019

लेखकको टोन नै ‘जिनी’



साहित्यमा हामी शैलीको कुरालाई निकै महत्व दिन्छौं । भन्छौँ– हरेक लेखकको आफ्नै शैली हुन्छ । आफ्नो हरेक लेखनमार्फत उसले आफ्नो शैली निर्माण गर्न खोजिरहेको हुन्छ । र, शैली निर्माण भइसकेको अवस्थामा लेखक आफ्नो शैलीबाट धेरै विचलित हुन पनि चाहँदैन ।
साहित्यमा हामी भाषा र त्यसको लालित्यको पनि धेरै चर्चा गर्छौं । भन्छौँ– विषयवस्तुको उठान र शैली ठीक छ । तर, भाषामा लालित्य भएन ! तर, साहित्यमा एउटा अर्को पहलु पनि छ, जसको हामी उति चर्चा गर्दैनौँ या भनौँ उति महत्व दिँदैनौँ या महत्व दिनुपर्छ भन्ने ठान्दैनौँ । साहित्यमा जति शैली, भाषा अनि त्यसको लालित्य, विषयवस्तु उठानको अर्थ हुन्छ त्यति नै अर्थ हुन्छ लेखकले लेख्न खोजिरहेको ‘टोन’को । र, यो टोन हरेक लेखकको हकमा मौलिक हुन्छ । आफ्नो टोन पत्ता नलाइसकेका लेखकका लागि भने यो एउटा निरन्तर खोजको विषय हुन्छ ।
रहरै रहरमा सुरु गरेको कान्तिपुर कोसेलीको ‘कफी गफ’ समयक्रममा गएर नारायण वाग्लेको लेखनशैली बन्यो । केही वर्षपछि त्यही शैलीले ‘पल्पसा क्याफे’को आकार लियो । आजको दिनसम्म पनि वाग्ले त्यही शैली पछ्याइरहेका छन् । नपछ्याउन् पनि किन ? ‘कफी गफ’ उनी आफैँले निर्माण गरेको शैली हो । त्यसमा पाठकको रजामन्दी त छँदै छ । 
उसो भए वाग्लेको लेखनको ‘टोन’ के हो त ? स्मरण रहोस्, शैली र टोन कतिपय अवस्थामा उस्तै उस्तै लागे पनि एउटै कुरा भने होइनन् । गम्भीर अर्थ राख्ने कुरालाई पनि अनौपचारिक अन्दाजमा चिया खाँदै बात मारेजस्तो शैलीमा जसरी वाग्ले लेख्छन्, त्यो उनको लेखनको ‘टोन’ हो । पाठकहरूलाई वाग्लेको शैली मात्र मन परेको होइन, उनको टोन पनि उत्तिकै मन परेको हो ।
०००
केही वर्षपहिले जब गायक फत्तेमान राजभण्डारीको देहान्त भयो, त्यसको भोलिपल्ट धेरै पत्रपत्रिकामा गायक फत्तेमानमाथि ‘ओबिच्युरी’ लेखहरू आए । सायद नागरिक दैनिक थियो, त्यसको प्रथम पृष्ठमा फत्तेमानमाथि एउटा ‘ओबिच्युरी’ लेख छापिएको थियो । लेखक थिए बुद्धिसागर । उक्त लेखमार्फत बुद्धिसागरले आफ्ना दिवंगत पिता तथा हिजो मात्र संसार छाडेका फत्तेमानलाई एकैचोटि ‘ट्रिबिउट’ दिए । पढ्दा निकै भावुक बनाउने लेख थियो त्यो ।
बुद्धिसागरको ‘कर्नाली ब्लुज’ आइसकेको वेला थियो त्यो । पुस्तकले चर्चा बटुल्ने क्रम पनि जारी थियो । यसबीच उनको दोस्रो उपन्यास ‘फिरफिरे’ पनि बजारमा आइसकेको छ र हामीले दुवै पुस्तकको विभिन्न तह र कोणबाट चर्चा–परिचर्चा गरिसकेका छौँ । पाठकहरूको मन जित्न सफल उनको लेखनशैलीको पनि यथेष्ट चर्चा भइसकेको छ । बुद्धिसागरका दुवै उपन्यास र उनका हरेकजसो लेखनमा भेटिने एउटा साझा तत्व छ– उनको ‘टोन’, जुन फत्तेमानमाथिको ‘ओबिच्युरी’ लेखमा पनि मजाले पोखिएको थियो– नोस्टाल्जिया !पाठकहरूले बुद्धिसागरको शैली मात्र मन पराएका होइनन्, उनको लेखनको नोस्टाल्जिक टोन पनि उति नै मन पराएका हुन् ।
०००
हामीले साहित्यिक लेखनको ‘टोन’लाई उति महत्वको दृष्टिले नहेरे पनि विश्व साहित्यमा यसको आफ्नै मौलिक महत्ता छ । धेरै लेखकले आफ्नो लेखनको सही टोन निर्माण गर्न वर्षौं खर्च गरेका छन् । अफ्रिकी मूलका लेखक बेन ओक्रीले आफ्नो पुस्तक ‘द फ्यामिस्ड रोड’ को २५औँ वार्षिकी संस्करणमा आफ्नो लेखनको टोनका बारेमा लामै चर्चा गरेका छन् । 
ओक्री लेख्छन्, ‘यस पुस्तकलाई उपयुक्त हुने टोनको खोजीमा मैले करिब एक दशक बिताएँ । त्यस दौरान मैले दुईवटा संग्रहको लागि बेग्लै कथा लेखेँ । साथै, अनगिन्ती कविता पनि लेखेँ । त्यो खोजमा बिताएका वर्षहरू मलाई अझै पनि याद छन् ।’उनी थप्छन्, ‘केही पुस्तक स्वप्न पुस्तकजस्ता हुन्छन् । यो संसारमा ती सपनाको मध्यमबाट आइपुग्छन् । घरमा लामो समयदेखि भएको एउटा पुरानो बोतलबाट अकस्मात ‘जिनी’ निस्किँदा मान्छे जसरी चकित हुन्छ, त्यसरी नै लेखक चकित पर्छन् जब उनीहरू त्यो स्वप्न पुस्तकबारे जानकार हुन्छन् । केही पुस्तकको हकमा टोन नै सबै थोक हुन्छ । टोन नै ‘जिनी’ हुन्छ । कथाको अनेक रूपान्तरण यसकै कारण सम्भव हुन्छ ।’
‘द फ्यामिस्ड रोड’ ले सन् १९९१ को बुकर पुरस्कार जित्दा ओक्री मात्र ३१ वर्षका थिए, बुकर पाउने अहिलेसम्मकै सबैभन्दा कम उमेरका लेखक । त्यसकै ट्रिलोजीका रूपमा उनले दुई अरू पुस्तक लेखे । तर, आफ्नो आख्यानलाई सुहाउने सर्वाधिक उपयुक्त ‘टोन’ उनले ‘द फ्यामिस्ड रोड’ लेख्दा फेला पारे । ‘द फ्रिडम आर्टिस्ट’ सम्म आइपुग्दा पनि ओक्रीको त्यो टोन अझै कायमै छ ।
०००
आफ्नो पहिलो उपन्यास ‘पैताला’को अन्तिम च्याप्टर ‘बाटो खर्च’मा गनेस पौडेलले आफ्नो लेखन यात्राबारे केही चर्चा गरेका छन् । ख्यालख्यालमै उपन्यास लेख्न बसेपछिको आफ्नो लेखन यात्रालाई सुन्दा सरल लाग्ने, तर अलि गहिरो अर्थ राख्ने दुई वाक्यमा गनेस लेख्छन्, ‘गर्भाधारण प्रक्रिया ख्यालख्यालको भए पनि जन्मिने बच्चा ख्यालख्यालको हुँदो रहेनछ । भावातुर यौनक्रीडाजस्तो ख्यालख्यालको हुँदो रहेनछ, सुत्केरी व्यथा ।’
उपन्यास ‘पैताला’ पढिसक्दा भने यो लाग्दैन कि लेखक ख्यालख्यालमै उपन्यास लेख्न बसेका हुन् । समग्र उपन्यासले लेखकको पूर्वतयारीको संकेत दिन्छ । रहस्यमयी र क्रमबद्ध तरिकाले अगाडि बढ्ने कथाले उपन्यासकारको प्रस्तुतिप्रति संकेत गर्छ भने उपन्यासमा प्रयोग गरिएको ‘मल्टिलेयर्ड’ न्यारेसनले लेखकको प्रयोगात्मक चेतप्रति इसारा गर्छ ।
पात्रहरूको अनौठो लाग्ने नाम, कथाको रहस्यमयी अनि ‘सर्रियल’ प्लटका साथै केही हदसम्म कथावाचनको शैली हेर्दा पाठकहरूलाई सायद कुमार नगरकोटीको सम्झना पनि आउँदो हो । यी सतहबाट देखिने सतही समानता हुन् । झट्ट हेर्दा नगरकोटी र गनेस एकै ‘स्कुल’का लाग्न सक्छन् । तर, यथार्थमा नगरकोटी र गनेस दुवै फरक–फरक साहित्यिक स्कुलका विद्यार्थी हुन् । आ–आफ्नो स्कुलमा उनीहरूको आ–आफ्नै स्वामित्व छ । र, फेरि पनि कुरा ‘टोन’कै आउँछ । 
०००
‘मोक्षान्त काठमान्डु फिभर’ देखि ‘ज्ञ’ सम्म आइपुग्दा नगरकोटीको ‘म्याटर अफ फ्याक्ट’ टोन पाठकहरूमाझ परिचित भइसकेको छ । आफ्ना आख्यानहरूमा नगरकोटी भावनात्मक हुन रुचाउँदैनन् । तर, संस्मरण लेखनमा उनी केही भावनात्मक देखिन्छन् । यस हिसाबले साहित्यको विधाअनुसार नगरकोटीका फरक–फरक टोन छन् ।
अखबारी लेखनमा एउटा नाम बनाइसकेर उपन्यास लेखनमा आएका गनेस पौडेलको पनि आफ्नो मौलिक टोन छ जुन उनको फुटकर लेखनदेखि आख्यानसम्म झल्किन्छ । ओक्रीले एक दशक लगाएर आफ्नो टोन पत्ता लगाए, कुनै वैज्ञानिकले आफ्नो प्रयोगशालामा अनेकन् धातु मिसाएर एउटा नयाँ धातु पत्ता लगाएजस्तो ! गनेसको टोनमा भने दुई कुराहरूको मिश्रण देखिन्छ । एउटा ‘ह्युमर’ अनि अर्को दर्शन । साहित्य लेखनमा गनेसको टोन ‘ह्युमर’ र दर्शनको ककटेल हो । यो उनको मौलिक पेय हो ।
केही पुस्तकको हकमा टोन नै सबै थोक हुन्छ, टोन नै ‘जिनी’ हुन्छ, कथाको अनेक रूपान्तरण यसकै कारण सम्भव हुन्छ 
आफ्नो पहिलो उपन्यास ‘पैताला’मा गनेस शैली र टोनमा मात्र सीमित छैनन् । उनी एक कदम अगाडि बढेका छन् । न्यारेसनमा उनले जुन किसिमको प्रयोग गरेका छन् त्यो बिल्कुलै नयाँ छ । यस प्रकारको ‘मल्टिलेयर्ड’ न्यारेसन नेपाली साहित्यमा सम्भवतः यसघिसम्म प्रयोग भएको छैन । विभिन्न तहबाट कथा भनिएको छ । कथाभित्रबाट पनि कथा भनिएको छ । र, कथाबाहिरबाट पनि कथा भनिएको छ ।
उपन्यास पढ्ने क्रममा एक किसिमको ‘थ्रि–डी’ अनुभव हुन्छ । यस अर्थमा कि पाठक आफ्नो पठन यात्रामा कथाको जुन भागसम्म पुगेका छन्, लेखकले पाठकलाई यस्तो भान दिन्छन् कि त्यसभन्दा अघिको बारेमा त उनले सोचेकै छैनन् ।
लेखकले बाँकी कथाको बारेमा सोचेकै छैनन् भने त त्यो पाठकको लागि निश्चय पनि अप्ठ्यारोको विषय हुने नै भयो ! र, कुनै समय यस्तो लाग्छ कि लेखकले हतार हतार ‘इम्प्रोभाइज’ गरेर लेख्दै छन् अनि पाठकहरू सँगसँगै त्यो पढ्दै छन् ! लेखकले लेख्ने काम सकिसकेपछि पाठकको हातमा पुस्तक परुन्जेलको जुन समय हुन्छ, त्यो कतै गायब भएजस्तो लाग्छ । यस्तो लाग्छ, पाठकको आँखा अगाडि, यही अहिलेको वर्तमान घडीमा गनेस उपन्यासको कथा लेखिरहेछन् ! साथसाथै कसैबाट कथा न्यारेट गराइरहेछन् ! 
०००
कथावाचनको माध्यमबाट कथाले तपाईंको दिमागमा प्रवेश गर्छ र तपाईंको मस्तिष्कसँग खेल्न थाल्छ । स्त्रीका नाम गरेकी पात्र, जो उपन्यासको मूल न्यारेटर पनि हो, बाट सुरु भएको उपन्यासको कथन पछि गएर एउटा यस्तो मोडमा पुग्छ जहाँबाट को लेखक, को पात्र, को न्यारेटर भन्ने कुरामै पाठक केही अन्योलमा हुन्छन् । र, एउटा समय यस्तो पनि आउँछ जब तपाईं हरेक च्याप्टरपिच्छे रोकिनुहुन्छ र मनमनै कथाको प्लट फेरि याद गर्नुहुन्छ !
तपाईंलाई चिन्ता हुन्छ– कतै कथा मभन्दा अगाडि नजाओस् । म कथाभन्दा कतै पछाडि नछोडिऊँ ! पुस्तक पढ्दै गर्दा तपाईंलाई एक किसिमको चुनौती महसुस हुन्छ । पाठकको सम्झना र कल्पना गर्ने शक्ति दुवैको लेखकले परीक्षा गर्छन् । प्रायः पुस्तकको हकमा पाठकले लेखकको जाँच पडताल गरिरहेका हुन्छन् । ‘पैताला’मा भने गनेसले पाठकको नियमित जाँच पडताल गर्छन् । बाटो बिराएर पाठक अलमलिन थालेपछि गनेस फिस्स हाँस्छन् र सही बाटो जाने दिशातिर इसारा गर्छन् । र, आफू त्यहीँबाट कतै अलप हुन्छन् ! एक हिसाबले लेखक पाठकहरूसँग निरन्तर संवादमा हुन्छन्, अन्त्यसम्मै । कहिले देखिएर, उपन्यासकै पात्रजस्तो भएर त कहिले पर्दापछाडि, अदृश्य भएर ।
न्यारेसन टेक्निकको हिसाबले ‘पैताला’ एउटा बिल्कुलै अलग अनुभव हो । हामीले प्रायः चर्चा गर्ने लेखन शैली, टोन, विषयवस्तुभन्दा एक कदम अगाडि बढेर लेखकले न्यारेसनलाई मुख्य औजार बनाएका छन् । र, प्रमाणित गरेर पनि देखाएका छन् कि न्यारेसन टेक्निकमा अलिकति पनि खेल्ने, फरक अभ्यास गर्ने हो भने त्यसले समग्र पुस्तकको ‘आउटलुक’ मै फरक पार्न सक्छ ।
०००
लेखकलाई अक्सर आरोप लाग्ने गर्छः
– एकै ढर्राका कथा, उपन्यास लेखिए
– आख्यानमा कुनै नवीनता भएन
– लेखकहरू ‘प्रयोग’ गर्नबाट डराए
– लेखकहरू आफ्नो ‘कम्फर्ट जोन’भन्दा बाहिर निस्कन चाँहदैनन्
– जोखिम मोल्न चाहँदैनन्– आदि इत्यादि ।
हाम्रो साहित्यिक समाज तथा हामी पाठकहरू लेखकलाई नवीन प्रयास गर्न प्रोत्साहित त गर्छौं, तर कुनै लेखकले जोखिम मोलेर चलिआएको ‘टेम्प्लेट’भन्दा बाहिर गएर लेख्यो भने त्यसको अनुमोदन गर्नबाट भने तत्काल हिचकिचाउँछौँ । लेखकको ‘प्रयोग’लाई सजिलै ग्रहण गर्नबाट खुट्टा कमाउँछौँ । हामी सजिलै दोहोरो चरित्र देखाउँछौँ !
‘उलार’ र ‘लू’ बजारमा आइसकेपीछ एउटा धारणा बन्यो कि नयनराज पाण्डेले तराईकै विषयमा लेख्नुपर्छ । त्यो बढी आधिकारिक हुन्छ । यो लेखक पाण्डेले आफ्ना बारेमा बनाएको धारणा होइन । हामीले उनको लागि बनाइदिएको धारणा हो । र, जब उनले त्यसपछिको उपन्यास ‘घामकिरी’मा केही नौलो प्रयोग गरे, कल्पनाको बेजोड उडान भरे, साहित्यिक समाजको एउटा तप्काले भन्यो– अलि कल्पना धेरै भयो । मधेसकै बारेमा लेखेको भए हुन्थ्यो बरु ! यस्तो लाग्छ, यथास्थितिवाद हाम्रो समग्र समाजको तह–तहमा लुकिबसेको छ । अलिकति कोट्याउन मात्र पर्छ, आफ्नो चरित्र देखाउन सुरु गरिहाल्छ !
गनेस पौडेलको ‘पैताला’को हकमा भने मलाई लाग्छ, हामी सतहमै अल्झियौँ । अनौठा पात्र, अपत्यारिलो लाग्ने कथा र प्रमुख पात्र जोस्मणिको खोज–यात्रामै कतै अलमलियौँ । क्रमशः पाठकको दिमागसँग खेल्ने ‘न्यारेसन टेक्निक’को गहिराइमा पस्न सकेनौँ । कथा ‘भित्र’ र ’बाहिर’को प्रस्तुतिलाई सोही रूपमा ग्रहण गर्न सकेनौँ । या भनौँ ग्रहण गर्ने क्षमता राख्न सकेनौँ ।
या हुनसक्छ लेखकको ‘टेक्निक’ हामीलाई ‘टु टेक्निकल’ लाग्यो ! सायद हामीले सोचेजति हामी प्रविधिमैत्री पो छैनौँ कि ?यस्तो लाग्छ, गनेस पौडेलको ‘पैताला’को डोब कतै हिमालको कुनै कुनामा पुरिइबसेको छ । हिउँ जमेको छ । खसी पनि रहेको छ हिउँ । पैतालालाई सायद सन्देह छ, कतै डोब हिउँले पुरिएर मेटिई पो सक्यो कि ! डोब पुरिएको जरुर छ, तर मेटिएको भने छैन । र, जसै पाठकीय नजरको घाम डाँडामा फेरि देखापर्छ, हिउँ पग्लनेछ र पैतालाको डोब एकचोटि फेरि देखिनेछ । सायद पहिलेभन्दा अरू गाढा । अरू प्रष्ट ।
हिउँ पग्लिसकेको खण्डमा, सायद पैतालाले भविष्यमा अरू नयाँ डोबहरू पनि त बनाउनेछ । र, जमिनको स्पर्शसँगै एउटा नयाँ संवाद सुरु हुनेछ । यसै पनि लेखकले पुस्तकको पहिलो पृष्ठमा लेखेका छन्, ‘पैताला र जमिनको आदिम संवाद नै मान्छेको पहिलो कथा हो ।’

Published on: 
२०७६ असोज ४ शनिबार ०७:१६:००

Published at: 
https://jhannaya.nayapatrikadaily.com/news-details/512/2019-09-21#

Sunday, August 25, 2019

घोडा, प्रेम र बिम्बहरू



प्रिय विपश्वी,
तिम्रो कविता पढेपछि यो लेख्दैछु ।
नेपालका राणाहरुकै जस्तो अवस्था थियाे युरोपका धेरै राजपरिवारको । एलिनोर हर्मनको एउटा किताब छ, सेक्स विद द क्विन । राजकीय यौन जीवनको दारुणिक कथा छ यसमा । पुरुष शासकहरुलाई एउटै समस्या हुन्थ्यो  वंश कायम गर्ने । काँचै उमेरदेखि दिनहुँ अनेकथरी महिलासँग सम्बन्ध राख्ने उनीहरु आफ्नै रानीसँग तयार हुन सक्दैनथे । उनीहरु बरन्डामा बस्थे र तल घोडाघोडीलाई क्रिडा गर्न लगाउँथे । सायद एडल्ट चलचित्रको प्रारम्भिक पात्र नै घोडा हुनुपर्छ । दर्शक थिए महाराजहरु । प्राणीहरुमध्येमा सर्वाधिक कामुक लाग्ने खाले यौन क्रियाकलाप गर्ने जनावर हो घोडा । त्यसैको प्रभाव हो बिपीको ‘कर्णेलको घोडा’ । घोडाको क्रिडा हेरेर मात्तिएपछि हतारहतार खोपीमा छिर्थे । पहिल्यै तयारी राखिएकी रानीसँग सहबास गर्थे, सायद बलात्कार हुन्थ्यो त्यो ।
राजारानीको सेक्स प्रेमका लागि कम वंश विस्तारका लागि ज्यादा हुन्थ्यो । रानीहरुबाट तलमाथि भएर वंश बिग्रन सक्ने भयमा उनीहरुलाई खोपीमा राखिन्थ्यो । महिला सुसारेसँगै सुताइन्थ्यो । लाचार रानीहरु लेस्बियानिटीको अभ्यास गर्थे ।
घोडा प्रेमको मात्रै होइन बलात्कारको पनि बिम्ब हो ।
घोडाका बारेमा जति कुरा पश्चिममा छ, अरबमा छ, त्यत्ति पूर्वमा छैन । घोडाका बारेमा बनाइएका बिम्बहरु घोडाको मान्छेसँगको सम्बन्धका कारण बनेका हुन् । घोडीसँगका सम्बन्धले होइनन् ।
घोडाको शरीर, यसको सुडौलता, लामो समयसम्म चल्ने यौन क्रिडा, अरु जनावरको भन्दा सफा र आकर्षक यौनाङग ।… जनावरहरुम सबैभन्दा सेक्सी जनावर हो यो । भनिन्छ, अरबियन घोडीको यौनाङ्ग मान्छे पुरुषलाई समेत लोभ्याउने खालको हुन्छ । घोडापुरुषको कुरै भएन ।
घोडाको प्रेमको किस्सा घोडीकै करामत हो । घोडा कर्ता हो, कारक होइन ।
कृष्णलाई केशव पनि भनिन्छ । किन कि उनले केशी नाम गरेको घोडा राक्षसलाई मारेका थिए । मिथिकल साइकोलोजीले भन्छ  केशी नामको घोडा कृष्णभन्दा पनि सेक्सी थियो । कृष्णले ईश्र्याले मारेका हुन् ।
घोडाको कुरा गर्दा याद आउँछ स्टपिङ बाइ द वुड अन स्नोई इभिनिङको पात्र घोडा । कवि रोबर्ट फ्रस्टको यो कविताको अन्तिम लाइन धेरैले सम्झन्छन् । तर मलाई सम्झनामा आउने चाँहि बिचको लाइन हो ।
थ ष्तितभि जयचकभ mष्नजत तजष्लप ष्त त्रगभभच
त्य कतयउ धष्तजयगत ब ाबचचजयगकभ लभबच ।
यो सानो घोडाको अर्थ यहाँ मान्छेको अन्तरचक्षु हो । जंगललाई पहिला सुन्दर तर पछि डार्क एन्ड डिप देख्ने कविको घोडाले भने त्यो हिउँले ढाकिएको जंगल र जमेको ताललाई सुन्दर देख्न सक्दैन । ग्रिकहरु सोच्छन्, हामी सब एउटा अदृश्य घोडामा सवार छौं— कालको घोडा ।
पूर्वीय दर्शनमा कृष्ण सारथि भएको चारघोडे रथ, सूर्यदेव चढ्ने घोडा, बुद्धको कन्थक, आदिको प्रसंग सम्झनामा आउँछ । अश्वमेध यज्ञमा घोडाको तागत अनुमान गर्न सकिने गरी छ । यो यज्ञहरुको पनि यज्ञ जो हो । सम्झनामा डिएच लरेन्सको रकिङ हर्स विनर पनि आउँछ । घोडालाई पागलपन, वस्तुवादिता र द्रव्यतागतको विसंगत विम्बको रुपमा राखिएको छ त्यहाँ ।
टाढा कतैबाट यतिखेर ग्रिसहरुको ग्रे पोनी वा एउटा फरक युनिकोर्न हिन्हिनाएको सुन्दैछु म यतिबेला । लास्ट अफ् द मोहिकन्सको कोरस जस्तो ।
मलाई मन पर्ने जनावरमा घोडा नै हो । चरामा काग । जलचरमा जेली फिस् ।
घोडाको किस्सा नभएको संसारमा कुनै धर्म नै छैन । घोडा संसारका हरेक भाषामा पाइने शब्द पनि हो । सबै संस्कार र संस्कृतिमा यसको महिमा छ । घोडाको बिम्ब प्रयोग नभएको कुनै साहित्य छैन संसारमा । घोडाको नामबाट कहिल्यै कुनै लामो रेस प्राय हुँदैन । तर पनि लामो रेसको घोडा भन्ने शब्दावली चल्तीमा छ ।
जे एम सिन्जेको नाटक छ एउटा  राइडर्स टु द सी । आफ्नो वंश धान्ने अन्तिम छोरालाई मेलामा पठाउनु अघि एउटी बुढी आमाले सपनामा देखेको घोडा आउँछ मेरो मनमा । सोही घोडाले पछारिदिएर समुद्रमा खसेर मर्छ त्यो बुढीको अन्तिम जीवित छोरो । घोडा मृत्युको विम्ब पनि हो । हाम्रोतिर खाटका चार खुट्टा समातेर लैजान यमराजका चार दूत आउँछन् भनिन्छ । आयरल्यान्डको त्यो टापुमा मृत्युको बिम्ब भनेकै घोडा हुँदोरहेछ । जब पानीमैं डुबेर मर्ने पक्का हुन्छ, पौडन जानेको भन्दा नजानेकै बेस हुन्छ । समुद्र किनारको रैथाने त्यो केटोका पूरै वंशजले पौडन सिकेनन् तर घोडचढी सिके । पौडन जान्ने मान्छेको मृत्यु झन् डरलाग्दो हुन्छ, जब समुद्रको कुरा आउँछ । यही इम्प्रेसनमा द वेस्ट ल्यान्डका सर्जक टी एस इलियटले लेखेका छन् कतै  ‘मलाई पानी यति मन पर्छ कि म डुबेर मर्न चाहन्छु । यसैले मैले पौडी खेल्न सिकिन ।’ पानीमा डुबेरै मरेको हो कवि शेली ।
पानीमा डुबेर मर्न चाहने र मरेका सर्जकहरूको नाम गुगलले पनि बताउला । लिस्ट लामो छ । म गुगलमा नआउँला तर छु । मैले ‘पानी’ शीर्षकको कविता लेखेको थिएँ ।
वरिपरि खेलाएर सतत् माछाहरु
अर्को जन्म छ भने कतै
मलाई पानी भएर जन्मने ईच्छा छ
मेरो ईश्वर,
म तँलाई मैंभित्र डुबेर मरेको हेर्न चाहन्छु ।

Published at:
http://www.nepalayanews.com/archives/category/%e0%a4%9c%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%8a%e0%a4%b9%e0%a4%b0%e0%a5%81

थाह छैन

झरी पर्छ —
झरझर, छमछम र तपतपको तालमा ।
कुत्कुत्याउँछे मायावी गीत गाउँदै यौवना बर्षाले
उसको थोपा थोपा प्रेमको स्पर्श अनुभूत गर्न अनुहारभरि
म साइकल लिएर कुद्छु ।

झरी पर्छ —
दरदर, स्वारस्वार, ख्यारख्यारको कर्कश आवाजमा ।
टिनका पातामाथिको फुस्रो बालुवालाई साबेलले कोतार्दा
निस्कन्छ नि जस्तो कान टन्टनाउने किरिङकिरिङ
म त्यस्तै झिझ्याटलाग्दो कोलाहलमा फस्छुँ ।
न सम्झने मन हुन्छ न बिर्सने चासो
बन्दी बनाएर बस्छु आफैँलाई एकलै एकलै, उदास उदास ।

प्रिय तिमी झरी हौ
मलाई थाह छैन
मलाई झरी मन पर्छ या पर्दैन ।

* * *

निदाउँछु ब्युँझदा ब्युँझदै
ब्युँझन्छु निदाउँदा निदाउँदै
खासमा
कहिले वारीको निन्द्राबाट पारीको ब्युँझाईतिर
कहिले वारीको ब्युँझाईबाट पारीको निन्द्रातिर
वारपार गर्दागर्दै सकेको छु मैले माझी जिन्दगी ।
यसरी न म वारीको भएको हुन्छु न पारीको ।

सोच्छु,
वारी र पारी बिचको खोलाजस्तै
पक्कै कुनै बिन्दू छ होला अस्तित्वमा
जो खुसुक्क आउँछ निन्द्रा र ब्युँझाईको बिचमा र पलायन हुन्छ ।

तर त्यो बिन्दू कस्तो छ ? निन्द्राजस्तो छ या ब्युँझाईजस्तो ?
वा अर्कै केहीजस्तो छ जस्को अनुभव कसैसँग छैन ?
जिन्दगीको २४ घण्टामा
निन्द्रा र ब्युँझाईका रेखा छोट्याएर त्यो बिन्दूलाई तन्काइदिन पाए
कस्तो हुन्थ्यो होला ?
त्यो तन्काई सपनाजस्तो रंगीन हुन्थ्यो कि विपनाजस्तो सपाट ?
त्यो बिन्दू हुन त होला नि है अस्तित्वमा ?

प्रिय तिमी त्यही बिन्दू हौ
मलाई थाह छैन
मलाई त्यो बिन्दू मन पर्छ या पर्दैन ।

* * *

कहिले घाम डुबिसक्दा पनि तिमी आउँदिनौँ
अनि म घुप्लुक्क निदाइदिन्छु ।
कहिले घाम उदाइसक्दा पनि तिमी जाँदिनौँ
म जाग्राम-जाग्राम अग्राख पलाइदिन्छु ।

याद बनेर यसरी रातबिरात
कहिले तिमी नआइदिए हुन्थ्यो झैँ लाग्छ
कहिले नगइदिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले रात नपर्दिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले जून नसर्दिए हुन्थ्यो झैँ लाग्छ ।

तिम्रो यादमा म जति मुस्काउँछु
उत्तिकै उदास किन हुन्छु ?

प्रिय तिमी याद हौ
मलाई थाह छैन
मलाई याद मन पर्छ या पर्दैन ।

___________________
पोखरा
भदौ १, २०६१