Contact Form

Name

Email *

Message *

Sunday, August 25, 2019

थाह छैन

झरी पर्छ —
झरझर, छमछम र तपतपको तालमा ।
कुत्कुत्याउँछे मायावी गीत गाउँदै यौवना बर्षाले
उसको थोपा थोपा प्रेमको स्पर्श अनुभूत गर्न अनुहारभरि
म साइकल लिएर कुद्छु ।

झरी पर्छ —
दरदर, स्वारस्वार, ख्यारख्यारको कर्कश आवाजमा ।
टिनका पातामाथिको फुस्रो बालुवालाई साबेलले कोतार्दा
निस्कन्छ नि जस्तो कान टन्टनाउने किरिङकिरिङ
म त्यस्तै झिझ्याटलाग्दो कोलाहलमा फस्छुँ ।
न सम्झने मन हुन्छ न बिर्सने चासो
बन्दी बनाएर बस्छु आफैँलाई एकलै एकलै, उदास उदास ।

प्रिय तिमी झरी हौ
मलाई थाह छैन
मलाई झरी मन पर्छ या पर्दैन ।

* * *

निदाउँछु ब्युँझदा ब्युँझदै
ब्युँझन्छु निदाउँदा निदाउँदै
खासमा
कहिले वारीको निन्द्राबाट पारीको ब्युँझाईतिर
कहिले वारीको ब्युँझाईबाट पारीको निन्द्रातिर
वारपार गर्दागर्दै सकेको छु मैले माझी जिन्दगी ।
यसरी न म वारीको भएको हुन्छु न पारीको ।

सोच्छु,
वारी र पारी बिचको खोलाजस्तै
पक्कै कुनै बिन्दू छ होला अस्तित्वमा
जो खुसुक्क आउँछ निन्द्रा र ब्युँझाईको बिचमा र पलायन हुन्छ ।

तर त्यो बिन्दू कस्तो छ ? निन्द्राजस्तो छ या ब्युँझाईजस्तो ?
वा अर्कै केहीजस्तो छ जस्को अनुभव कसैसँग छैन ?
जिन्दगीको २४ घण्टामा
निन्द्रा र ब्युँझाईका रेखा छोट्याएर त्यो बिन्दूलाई तन्काइदिन पाए
कस्तो हुन्थ्यो होला ?
त्यो तन्काई सपनाजस्तो रंगीन हुन्थ्यो कि विपनाजस्तो सपाट ?
त्यो बिन्दू हुन त होला नि है अस्तित्वमा ?

प्रिय तिमी त्यही बिन्दू हौ
मलाई थाह छैन
मलाई त्यो बिन्दू मन पर्छ या पर्दैन ।

* * *

कहिले घाम डुबिसक्दा पनि तिमी आउँदिनौँ
अनि म घुप्लुक्क निदाइदिन्छु ।
कहिले घाम उदाइसक्दा पनि तिमी जाँदिनौँ
म जाग्राम-जाग्राम अग्राख पलाइदिन्छु ।

याद बनेर यसरी रातबिरात
कहिले तिमी नआइदिए हुन्थ्यो झैँ लाग्छ
कहिले नगइदिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले रात नपर्दिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले जून नसर्दिए हुन्थ्यो झैँ लाग्छ ।

तिम्रो यादमा म जति मुस्काउँछु
उत्तिकै उदास किन हुन्छु ?

प्रिय तिमी याद हौ
मलाई थाह छैन
मलाई याद मन पर्छ या पर्दैन ।

___________________
पोखरा
भदौ १, २०६१

0 Comment:

Post a Comment