Contact Form

Name

Email *

Message *

Z

Sunday, August 25, 2019

घोडा, प्रेम र बिम्बहरू



प्रिय विपश्वी,
तिम्रो कविता पढेपछि यो लेख्दैछु ।
नेपालका राणाहरुकै जस्तो अवस्था थियाे युरोपका धेरै राजपरिवारको । एलिनोर हर्मनको एउटा किताब छ, सेक्स विद द क्विन । राजकीय यौन जीवनको दारुणिक कथा छ यसमा । पुरुष शासकहरुलाई एउटै समस्या हुन्थ्यो  वंश कायम गर्ने । काँचै उमेरदेखि दिनहुँ अनेकथरी महिलासँग सम्बन्ध राख्ने उनीहरु आफ्नै रानीसँग तयार हुन सक्दैनथे । उनीहरु बरन्डामा बस्थे र तल घोडाघोडीलाई क्रिडा गर्न लगाउँथे । सायद एडल्ट चलचित्रको प्रारम्भिक पात्र नै घोडा हुनुपर्छ । दर्शक थिए महाराजहरु । प्राणीहरुमध्येमा सर्वाधिक कामुक लाग्ने खाले यौन क्रियाकलाप गर्ने जनावर हो घोडा । त्यसैको प्रभाव हो बिपीको ‘कर्णेलको घोडा’ । घोडाको क्रिडा हेरेर मात्तिएपछि हतारहतार खोपीमा छिर्थे । पहिल्यै तयारी राखिएकी रानीसँग सहबास गर्थे, सायद बलात्कार हुन्थ्यो त्यो ।
राजारानीको सेक्स प्रेमका लागि कम वंश विस्तारका लागि ज्यादा हुन्थ्यो । रानीहरुबाट तलमाथि भएर वंश बिग्रन सक्ने भयमा उनीहरुलाई खोपीमा राखिन्थ्यो । महिला सुसारेसँगै सुताइन्थ्यो । लाचार रानीहरु लेस्बियानिटीको अभ्यास गर्थे ।
घोडा प्रेमको मात्रै होइन बलात्कारको पनि बिम्ब हो ।
घोडाका बारेमा जति कुरा पश्चिममा छ, अरबमा छ, त्यत्ति पूर्वमा छैन । घोडाका बारेमा बनाइएका बिम्बहरु घोडाको मान्छेसँगको सम्बन्धका कारण बनेका हुन् । घोडीसँगका सम्बन्धले होइनन् ।
घोडाको शरीर, यसको सुडौलता, लामो समयसम्म चल्ने यौन क्रिडा, अरु जनावरको भन्दा सफा र आकर्षक यौनाङग ।… जनावरहरुम सबैभन्दा सेक्सी जनावर हो यो । भनिन्छ, अरबियन घोडीको यौनाङ्ग मान्छे पुरुषलाई समेत लोभ्याउने खालको हुन्छ । घोडापुरुषको कुरै भएन ।
घोडाको प्रेमको किस्सा घोडीकै करामत हो । घोडा कर्ता हो, कारक होइन ।
कृष्णलाई केशव पनि भनिन्छ । किन कि उनले केशी नाम गरेको घोडा राक्षसलाई मारेका थिए । मिथिकल साइकोलोजीले भन्छ  केशी नामको घोडा कृष्णभन्दा पनि सेक्सी थियो । कृष्णले ईश्र्याले मारेका हुन् ।
घोडाको कुरा गर्दा याद आउँछ स्टपिङ बाइ द वुड अन स्नोई इभिनिङको पात्र घोडा । कवि रोबर्ट फ्रस्टको यो कविताको अन्तिम लाइन धेरैले सम्झन्छन् । तर मलाई सम्झनामा आउने चाँहि बिचको लाइन हो ।
थ ष्तितभि जयचकभ mष्नजत तजष्लप ष्त त्रगभभच
त्य कतयउ धष्तजयगत ब ाबचचजयगकभ लभबच ।
यो सानो घोडाको अर्थ यहाँ मान्छेको अन्तरचक्षु हो । जंगललाई पहिला सुन्दर तर पछि डार्क एन्ड डिप देख्ने कविको घोडाले भने त्यो हिउँले ढाकिएको जंगल र जमेको ताललाई सुन्दर देख्न सक्दैन । ग्रिकहरु सोच्छन्, हामी सब एउटा अदृश्य घोडामा सवार छौं— कालको घोडा ।
पूर्वीय दर्शनमा कृष्ण सारथि भएको चारघोडे रथ, सूर्यदेव चढ्ने घोडा, बुद्धको कन्थक, आदिको प्रसंग सम्झनामा आउँछ । अश्वमेध यज्ञमा घोडाको तागत अनुमान गर्न सकिने गरी छ । यो यज्ञहरुको पनि यज्ञ जो हो । सम्झनामा डिएच लरेन्सको रकिङ हर्स विनर पनि आउँछ । घोडालाई पागलपन, वस्तुवादिता र द्रव्यतागतको विसंगत विम्बको रुपमा राखिएको छ त्यहाँ ।
टाढा कतैबाट यतिखेर ग्रिसहरुको ग्रे पोनी वा एउटा फरक युनिकोर्न हिन्हिनाएको सुन्दैछु म यतिबेला । लास्ट अफ् द मोहिकन्सको कोरस जस्तो ।
मलाई मन पर्ने जनावरमा घोडा नै हो । चरामा काग । जलचरमा जेली फिस् ।
घोडाको किस्सा नभएको संसारमा कुनै धर्म नै छैन । घोडा संसारका हरेक भाषामा पाइने शब्द पनि हो । सबै संस्कार र संस्कृतिमा यसको महिमा छ । घोडाको बिम्ब प्रयोग नभएको कुनै साहित्य छैन संसारमा । घोडाको नामबाट कहिल्यै कुनै लामो रेस प्राय हुँदैन । तर पनि लामो रेसको घोडा भन्ने शब्दावली चल्तीमा छ ।
जे एम सिन्जेको नाटक छ एउटा  राइडर्स टु द सी । आफ्नो वंश धान्ने अन्तिम छोरालाई मेलामा पठाउनु अघि एउटी बुढी आमाले सपनामा देखेको घोडा आउँछ मेरो मनमा । सोही घोडाले पछारिदिएर समुद्रमा खसेर मर्छ त्यो बुढीको अन्तिम जीवित छोरो । घोडा मृत्युको विम्ब पनि हो । हाम्रोतिर खाटका चार खुट्टा समातेर लैजान यमराजका चार दूत आउँछन् भनिन्छ । आयरल्यान्डको त्यो टापुमा मृत्युको बिम्ब भनेकै घोडा हुँदोरहेछ । जब पानीमैं डुबेर मर्ने पक्का हुन्छ, पौडन जानेको भन्दा नजानेकै बेस हुन्छ । समुद्र किनारको रैथाने त्यो केटोका पूरै वंशजले पौडन सिकेनन् तर घोडचढी सिके । पौडन जान्ने मान्छेको मृत्यु झन् डरलाग्दो हुन्छ, जब समुद्रको कुरा आउँछ । यही इम्प्रेसनमा द वेस्ट ल्यान्डका सर्जक टी एस इलियटले लेखेका छन् कतै  ‘मलाई पानी यति मन पर्छ कि म डुबेर मर्न चाहन्छु । यसैले मैले पौडी खेल्न सिकिन ।’ पानीमा डुबेरै मरेको हो कवि शेली ।
पानीमा डुबेर मर्न चाहने र मरेका सर्जकहरूको नाम गुगलले पनि बताउला । लिस्ट लामो छ । म गुगलमा नआउँला तर छु । मैले ‘पानी’ शीर्षकको कविता लेखेको थिएँ ।
वरिपरि खेलाएर सतत् माछाहरु
अर्को जन्म छ भने कतै
मलाई पानी भएर जन्मने ईच्छा छ
मेरो ईश्वर,
म तँलाई मैंभित्र डुबेर मरेको हेर्न चाहन्छु ।

Published at:
http://www.nepalayanews.com/archives/category/%e0%a4%9c%e0%a5%8b%e0%a4%a1-%e0%a4%b0-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%8a%e0%a4%b9%e0%a4%b0%e0%a5%81

थाह छैन

झरी पर्छ —
झरझर, छमछम र तपतपको तालमा ।
कुत्कुत्याउँछे मायावी गीत गाउँदै यौवना बर्षाले
उसको थोपा थोपा प्रेमको स्पर्श अनुभूत गर्न अनुहारभरि
म साइकल लिएर कुद्छु ।

झरी पर्छ —
दरदर, स्वारस्वार, ख्यारख्यारको कर्कश आवाजमा ।
टिनका पातामाथिको फुस्रो बालुवालाई साबेलले कोतार्दा
निस्कन्छ नि जस्तो कान टन्टनाउने किरिङकिरिङ
म त्यस्तै झिझ्याटलाग्दो कोलाहलमा फस्छुँ ।
न सम्झने मन हुन्छ न बिर्सने चासो
बन्दी बनाएर बस्छु आफैँलाई एकलै एकलै, उदास उदास ।

प्रिय तिमी झरी हौ
मलाई थाह छैन
मलाई झरी मन पर्छ या पर्दैन ।

* * *

निदाउँछु ब्युँझदा ब्युँझदै
ब्युँझन्छु निदाउँदा निदाउँदै
खासमा
कहिले वारीको निन्द्राबाट पारीको ब्युँझाईतिर
कहिले वारीको ब्युँझाईबाट पारीको निन्द्रातिर
वारपार गर्दागर्दै सकेको छु मैले माझी जिन्दगी ।
यसरी न म वारीको भएको हुन्छु न पारीको ।

सोच्छु,
वारी र पारी बिचको खोलाजस्तै
पक्कै कुनै बिन्दू छ होला अस्तित्वमा
जो खुसुक्क आउँछ निन्द्रा र ब्युँझाईको बिचमा र पलायन हुन्छ ।

तर त्यो बिन्दू कस्तो छ ? निन्द्राजस्तो छ या ब्युँझाईजस्तो ?
वा अर्कै केहीजस्तो छ जस्को अनुभव कसैसँग छैन ?
जिन्दगीको २४ घण्टामा
निन्द्रा र ब्युँझाईका रेखा छोट्याएर त्यो बिन्दूलाई तन्काइदिन पाए
कस्तो हुन्थ्यो होला ?
त्यो तन्काई सपनाजस्तो रंगीन हुन्थ्यो कि विपनाजस्तो सपाट ?
त्यो बिन्दू हुन त होला नि है अस्तित्वमा ?

प्रिय तिमी त्यही बिन्दू हौ
मलाई थाह छैन
मलाई त्यो बिन्दू मन पर्छ या पर्दैन ।

* * *

कहिले घाम डुबिसक्दा पनि तिमी आउँदिनौँ
अनि म घुप्लुक्क निदाइदिन्छु ।
कहिले घाम उदाइसक्दा पनि तिमी जाँदिनौँ
म जाग्राम-जाग्राम अग्राख पलाइदिन्छु ।

याद बनेर यसरी रातबिरात
कहिले तिमी नआइदिए हुन्थ्यो झैँ लाग्छ
कहिले नगइदिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले रात नपर्दिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले जून नसर्दिए हुन्थ्यो झैँ लाग्छ ।

तिम्रो यादमा म जति मुस्काउँछु
उत्तिकै उदास किन हुन्छु ?

प्रिय तिमी याद हौ
मलाई थाह छैन
मलाई याद मन पर्छ या पर्दैन ।

___________________
पोखरा
भदौ १, २०६१

Sunday, July 28, 2019

पठन वार्ता

पठन वार्ता

‘पैताला’ पुस्तकका लेखक गनेस पौडेलसितको फुर्सद-गफ यहाँ प्रस्तुत छ 
कत्तिको फुर्सद हुन्छ ?
जत्तिको जनावर, चराचुरुंगी, जलचर वा रूखहरूलाई हुन्छ।
के गर्नुहुन्छ फुर्सदमा ?
अहिले मेरो कामै पढ्ने, लेख्ने, सिनेमा हेर्ने मात्रै छ। त्यसबाट छोटो फुर्सद निस्क्यो भने छोरीसँग खेल्छु, लामै निस्क्यो भने घुम्न निस्कन्छु।
 कस्ता किताब, संगीत, सिनेमा रुचाउनुहुन्छ ?
यस्तै भन्ने छैन, सबै खाले किताब मन पर्छन्। दिउँसो एक झमट नाच्ने बानी छ। त्यसका लागि नेपाली पुराना लोकगीत वा अमेरिकी कन्ट्री संग्स् बजाउँछु। बेलुका हरिप्रसाद चौरसिया, रवि शंकर, ल्याङ्ल्याङ, जाकिर हुसैन आदिका वाद्यवादन सुन्दै सुत्छु। सिनेमा त झन् सबै खाले मन पर्छन्।
 पछिल्लो पटक पढेको किताब ?
फ्रस्फ्वा वोर्गिनियनको ‘द ग्लोबलाइजेसन अफ् इनइक्वलटी’।
पछिल्लो पटक हेरेको सिनेमा ?
प्रशान्त बर्माको ‘अ’।
‘अ’ कस्तो सिनेमा हो ? किन मन पर्‍यो ?
मनोवैज्ञानिक थ्रिलर हो। बहुव्यक्तित्वको द्वन्द्व प्रस्तुति गज्जब छ।
सिरानीमा किताब ?
रोबट्र्सद्वय जोन वि. र एलिजाबेथ ए. लिखित ‘फ्रिइङ् टिबट ः फिफ्टी इअर्स अफ् स्ट्रगल, रिजिलियन्स एन्ड होप’। तिब्बती शरणार्थीबारे उपन्यास लेखिरहेको हुनाले सन्दर्भका लागि पढ्दै छु।
हातमा भएको किताब ?
रवीन्द्र समीरको ‘मृत्युको आयु’।
थाती राखेको किताब ?
जर्ज सौन्डर्स्को ‘लिंकन इन द बार्डो’।
धेरै पल्ट पढेको किताब ?
महाभारत।
 पहिलो (बच्चाको) किताब ?
‘कृष्ण चरित्र’। हजुरआमा र काकीका लागि पढियो। आफ्नै लागि पढेको गोर्कीको ‘आमा’।
 धेरैपल्ट उपहार दिएको किताब ?
युभल नोह हरारीको ‘स्यापियन्स : अ ब्रिफ् हिस्ट्री अफ् ह्युमनकाइन्ड’। बुद्धिसागरको ‘कर्णाली ब्लुज’, नगरकोटीको ‘मिस्टिका’, नयनराज पाण्डेको ‘घामकीरी’, अमर न्यौपानेको ‘पानीको घाम’।
धेरैपल्ट उपहार पाएको किताब ?
रुमीको ‘लभ पोअम्स्’, खुसवन्त सिंहको ‘द कम्पनी अफ् विमिन’।
 पढ्न मन लागेर नपाएको किताब ?
सल्मान रुस्दीको ‘द सटानिक भर्सेस्’। साथी सर्कलमाझ कुरा हुँदा अहिलेसम्म पढेको छैन भन्दा लाजै लाग्छ।
कहाँ किन्नुहुन्छ ?
प्रायः पोखराको हिमालयन रिडर्स कर्नरमा। काठमान्डु जाँदा एड्युकेसनल बुक हाउसमा।
कसरी किन्नुहुन्छ ?
पसल गएर। अनलाइनबाट त उपहार मात्रै पठाउँछु।
समीक्षाहरूमा विश्वास छ ?
पढेका किताबका समीक्षा मात्रै पढ्छु र फिस्स हाँस्छु।
पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् लाग्छ कि सकेसम्म नभेटून् ?
राम्रा किताब राम्रा मान्छेलाई पढाउन मन लाग्छ। उपहार दिन्छु वा फोन गरेर पढ्न सुझाउँछु।
पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?
लाग्छ तर आफैं पनि लेखक भैटोपलेको हुनाले थोरै डर, धेरै दया जाग्छ र लेख्दिनँ।
पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?
मैले पढेको किताब ‘सेकेन्ड ह्यान्ड’ पसलले पनि किन्दैन होला। केरकारले ध्वस्तै हुन्छ।
किताब धेरै मन परे के गर्ने बानी छ ?
नेपाली रहेछ भने टाइप गर्थें। अरू भाषाको रहेछ भने अनुवाद गर्थें। तर यो मजस्तै अनियमित छ।
अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
घरमा। मुड चले पढ्छु, नत्र सिनेमा हेर्छु।
यहाँसँग भएको दुर्लभ पुस्तक ?
छैनन्। केही समय अघिसम्म सेल्डन वी. कोपको ‘इफ् यु मिट द बुद्ध अन द रोड, किल हिम !’ लाई दुर्लभ ठानी बसेको थिएँ। अचेल जतासुकै पाइँदो रहेछ।
 राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
राष्ट्रपतिलाई फिट्जराल्डको ‘द ग्रेट ग्याट्स्बी’। प्रधानमन्त्रीलाई खुशवन्त सिंहको ‘द बिग फ्याट जोक बुक’। पुष्पकमल दाहाललाई मेरै किताब ‘पैताला’। शेरबहादुर देउवाले दैनिक पत्रिकासम्म पढिदिए हुन्थ्यो।
किनेको सबैभन्दा महँगो पुस्तक ?
भागवत गीता। विशेष प्रकाशन भएको हुनाले महँगो पर्‍यो।
बढ्ता होहल्ला भएको औसत पुस्तक ?
फ्वाँक्कैमा अपजस किन खेप्नु ?
कम होहल्ला भएको गज्जबको पुस्तक ?
फर्नान्डो पेसोआको ‘द बुक अफ् डिस्क्वाइट’। उनका कविताहरू पनि शानदार छन् तर कमै चर्चामा छन्।
रोजाइमा साहित्य कि गैरसाहित्य ?
लेख्नमा साहित्य, पढ्नमा गैरसाहित्य।
आख्यान कि गैरआख्यान ?
लेख्नमा आख्यान, पढ्नमा गैरआख्यान।
 कुन लेखक पढ्न चाहनुहुन्छ ?
भेटेजति भ्याएजति सबै। पुरानाभन्दा समकालीन लेखकमा रुचि छ। प्रायः सबै नेपाली लेखकका नयाँ रचना पढ्छु। युभल नोह हरारी, जरेड डायमन्ड, स्टेफन हकिन्स्, टमस पिकेटीका किताब रिडिङ टेबलमा सधैं हुन्छन्।
Published at:
http://annapurnapost.com/news/133142

Sunday, July 21, 2019

बोन्पो थलोको यादमा


सिरानमा फोक्सुन्डो थापेर बसेको रिग्मो गाउँमा निदाएर उठेको पहिलो बिहान म निकै चंगा थिएँ। चंगा हुनु भनेको स्वतन्त्र हुनु होइन। अदृश्य धागोले खैँचेको परिधिमा हावा काटेर बस्नु हो। त्यस्तो अदृश्य कुन धागो थियो जसले मलाई ताल किनारको न्यानो होटलमा चंगा बनाएर उडाइराखेको थियो?

त्यो बिहान हामीहरू फोक्सुन्डोको देब्रे गालामा अवस्थित थासुङछोलिङ गुम्बा जानेवाला थियौं। १२ औं शताब्दीमा निर्माण भएको भनिएको यो गुम्बा पुग्ने बाटोमा दुर्घटित घुँडाको ‘लिगामेन्ट’ खियाउँदै गर्दा अचानक मलाई यस्तो आभास भयो– ‘यो गुम्बाको कुनै गोप्य कक्षमा कैयौं हातहरू भएको एउटा कालो रङको मूर्ति हुनुपर्छ जसको काखमा निर्वस्त्र यौवना खप्टिएर बसेकी छे।’ मेरो आभास एउटा देजाभू असरजस्तो गहिरो थियो

गुम्बाभित्र त्यस्तो केही देखिएन। मैले लामालाई सोधेँ, ‘यो भवन खासै पुरानोजस्तो लागेन। यहाँको पुरानो गुम्बा अर्कै होला है? हामी जान मिल्दैन?’ मेरो जिज्ञासाले प्रमुख लामा सेम्डुक ङिमाका अनुहारमा उज्याला रेखाका मुना–मुजुराहरू उम्रिए, निमेषभरमा हुर्किए, पात र हाँगा हाले, गमक्क फुले अनि लटरम्म फले। रसिलो फलको एउटा दानालाई कर्याम्म टोक्दा मुखमा भरिने पानीले बोल्न असजिलो भएझैँ ओठको एक कापबाट र्‍यालको लर्को चुहाउँदै बगलमा उभिएका अर्का लामा लोडोइ घोछालाई भने, ‘उताको पनि खोल्दिनुस्। उहाँहरूले दर्शन गरे राम्रै हुन्छ।’

आगन्तुकका लागि लगभग अप्राप्य र दुर्लभ दर्शन हाम्रा लागि उपलब्ध हुने भयो। ध्वाँसोले खियाएको पुरानो भोटो ताल्चा खुलेपछि मोबाइलका बत्तीहरू सल्काउँदै अँध्यारो सुरुङजस्तो कोठामा हामी छिर्‍यौं। त्यो कोठाबाट होचो न होचो ढोका अर्को कोठाको लागि खुल्यो, त्यसपछि अर्को अर्थात् गुम्बाको मुल कक्ष। मेरा आँखाहरू सिसाको घरभित्र भुन्भुनिएको माहुरीजस्तो भएर चारै दिशा हानेर दौडिए। तर जता उडे पनि सिसामा मुन्टो बज्रियो अनि पछारियो। मैले खोजेको दृश्य कतै देखिएन। त्यसैबेला फोटोग्राफर गुरिल्लाले थिचेको क्यामेराको ‘फ्ल्यास’ ले अँध्यारो कक्षको एउटा छेउलाई भुलुर्क्क उज्यालो बनाइदियो। मेरो आभास सही निस्कियो। कालो मूर्ति मेरो अनुमानकै वय र बान्कीमा ध्यानस्थ थियो

कुनै कुनै ठाउँहरूमा पहिलोपटक पुग्दा मलाई यस्तो लाग्छ, म धेरै पहिल्यै यहाँ आइसकेको थिएँ। आएको मात्रै होइन, मैले एउटा पूरै जीवन यहीँ कतै काटिसकेको थिएँ। बाटो, जंगल र चौरस्तामा समयको कथा रुँगेर बसेका बूढा रूखहरू देख्दा मलाई यस्तो लाग्छ सयौँ वर्षपहिले मैले यसकै छहारीमा एक झमट दिवानिद्रा भोग गरेको थिएँ। पहाडी खोलाका किनार छलेर बसेका अजंगका पत्थरहरू देख्दा वा खोलामाथिका चट्टाने भीरमा प्रकृतिले खोपेका गहिरा गुफाहरूमा पस्ता मलाई लाग्छ, मैले यिनै अल्छी पहाड, भूत्याहा गुफा, अत्यासलाग्दा हिमाल र फुर्तिला नदीहरूको सम्पूर्ण सेरोफेरोलाई कालजमानामै नापिसकेको थिएँ। खोलामा पहिलो बखत हेलिएको कुकुरले कहिल्यै नसिकेको पौडी खेलेर जसरी किनार भेट्टाउँछ उसै गरी मलाई आफूले कहिल्यै नभोगेको यस्तो स्मृतिको हरक्क बास्ना हुबहु आउँछ। सायद मेरो ‘जिन’ भित्रको कुनै अम्लीय चोटाकोठामा त्यसका स्मृतिहरू बसेका होलान्। सायद मेरो मस्तिष्कको ‘केस’ भित्र कुनै ‘बायोटिक चिप्स’ सुषुप्त बसिरहेको छ जो स्थानविशेषको एक ‘क्लिक’ ले अचानक बौरिन्छ ः पुर्ख्यौली यादजस्तो भएर, पुस्तैनी ज्ञानजस्तो भएर

जब पहाडहरूमा हुन्छु, म आफूलाई झन्–झन् यस्तो अनुभवइतरको स्मृतिमा हराइरहेको पाउँछु। अभेद्य अतीतको अनकन्टार कुनामा एकलै सयर गरिरहेको पाउँछु। मैले आफूलाई जे ठान्दै आएको छु, खासमा म त्यो हुँदै होइन भनेजस्तो आफ्नै परिचय खिइँदै गएको पाउँछु। अहिलेसम्म मैले जे जति देखेँ, पढेँ, जानेँ, बुझेँ त्यो खासमा मेरो देखाइ, पढाइ, जानाइ वा बुझाइ होइन भन्ने अनुभूति झन्–झन् गाढा भएको पाउँछु। अरूले यात्रामा आफूलाई झन्–झन् आफ्नो नजिक भएको पाउँछु भन्छन्, तर मलाई भने यात्राले मैदेखि झन्–झन् टाढा–टाढा लग्दै गरेको पाउँछु। यात्राले हुत्याएदिएको बिरानो संसार र समयमा शनैशनै विलय भएको पाउँछु। तर पनि मलाई पहाडी पदयात्रा मन पर्छ। सायद म आफूलाई खोज्न होइन, आफूबाट हराउन यात्रा गर्छु
मलाई ईश्वरमा छेउकुनाको पनि विश्वास छैन त्यसैले पूर्वजन्मको अवधारणा नै बकम्फुसे लाग्छ। तर, मैलाई किन यस्तो आभास हुन्छ? आफू पुग्दै नपुगेको ठाउँमा पहिल्यै पुगिसकेको अनुभूति किन हुन्छ मलाई? मलाई लाग्छ, या त त्यो ठाउँको बारेमा ज्यादै नै पढे–सुनेको हुनाले मलाई त्यस्तो अभास हुन्छ या हुन सक्छ मेरा जैविक पुर्खाहरूले हजारौँ वर्ष पहिले भोगेका अनुभवहरू आनुवंशिक याद बनेर मेरा स्मरणग्रन्थिमा कैद छन्। कुकुरले जन्मजात पौडी खेल्न जानेजस्तै सायद केही स्मृति कुरबाट माछाका भुरा निस्केझैँ फुतुफुतु मेरो मस्तिष्कको अन्तरकुन्तरबाट बाहिर निस्कन्छन्। अथवा यो पनि हुन सक्छ कि संसारको कुनै व्यक्तिको ज्ञान, सीप वा भोगाइको केही अंश संसारको अर्को कुनाको कुनै व्यक्तिमा कुनै न कुनै रूपले आफैँ स्थान्तरण हुन्छ। जस्तो कि कोलम्बसले अमेरिकी भूभागमा टेक्दा कथित रेड इन्डियनहरूलाई डुंगा सयर गरिरहेको देखेका थिए। पहिलोपटक डुंगा बनाएको ‘पेटेन्ट’ दाबी गर्ने कुनै मनुवाले त्यो दृश्य देखेको भए मूर्च्छै पो पर्थ्यो कि ! मलाई थाहा छ, मेरो स्मृतिमा आउने किस्साहरू मेरा नभएर कुनै अनजान मनुष्यका भोगाइहरू हुन्। मान्छेको मस्तिष्क रहस्यका तहै तहले ढाकिएको समयको मौलो गाढिएको यस्तो पुरातन पोखरी हो जसको गहिराइ कति छ कसैलाई थाहा छैन। जस्तो कि सुन्नुस् न गुम्बाका लामा सेन्डुक ङिमाकै कुरा, जसलाई मैले पहिलोपटक त्यहीँ सुनेको थिएँ, तर जसको बारेमा मलाई पहिल्यै थाहा थियो :

‘नौ सय वर्षअगाडिको कुरा हो, रिग्मो गाउँको यो गुम्बा भएको कुनो सिकारीहरूको चुनिन्दा थलो थियो। फोक्सुन्डो खोलाको तिरैतिर खेदेर ल्याइएका नाउर, कस्तूरी वा अरू जनावरहरू जब यो तीनकुने ठाउँमा पुग्थे, तब रनभुल्लमा पर्थे। त्यो तीन कुना उनीहरूको लागि त्रिशूलझैँ मारक अवस्था भैदिन्थ्यो। अगाडि उभिएको अजंगको कुप्रे भीर चढ्न सक्ने कुरा थिएन, अर्को छेउमा गहिरो ताल थियो जसको चिसोमा पछारिएपछि ठाउँका ठाउँ ज्यानको पूरै रगत जम्थ्यो। पछाडितिर भाला र धनुषकाँड बोकेका सिकारीहरू हुन्थे। चेपुवामा परेका निरीह जनावरका आगाडि ती तीनैवटा विकल्प प्राणघातक थिए। मृत्युको यस्तो नजिक उभिँदा उनीहरूको डर र्‍याल, सिँगान र आँसुको भेल्कोमा मिसिएको भयानक आर्तनाद बनेर मुखबाट निस्कन्थ्यो। तर मान्छेले पशुको आवाज बुझ्ने भए पो ! बुझेकै भए पनि छोड्ने भए पो ! काँचो होस् या पाकेको, मासुको स्वादका अगाडि हाम्रो दया, करुणा, मानवता उहिल्यैदेखि हार्दै आएको हो
अनि विकल्पहीन बरा जनावरहरू भकाभक तालमा हामफाल्थे। गर्भिणीहरू खस्थे, भर्खरै जन्मेका नाबालक पाठापाठीहरू खस्थे, यौनवको प्रथम संसर्गको उत्सव मनाउन भर्खरै भेट भएका प्रेमातुर यौवनाहरू खस्थे, वयस्कहरू खस्थे। कति भीरका चुच्चा ढुंगामा घिच्रो बजारिएर हिक्क पनि गर्न नपाई मर्थे, कति सोझै तालमा हेलिएर प्राण विसर्जन गर्थे। जो खस्तैनथे उनीहरूको छातीमा तिखा भाला र बाण रोपिन्थे। मृत्युको यस्तो अवश्यंभावी कुनोबाट समस्त जनावरलाई जोगाउने कुनै जागरुक मनुष्य आउने समयसम्म पर्खिन उनीहरूलाई कैयन वर्ष लाग्यो। अनि आए लामा टेतन छेवाङ छुल्डिम जसले त्यही ठाउँ रोजेर बनाए बोन्पो गुम्बा र नाम राखिदिए थासुङछोलिङ। थासुङछोलिङ गुम्बा अर्थात् सिकारीहरूबाट जनावरलाई जोगाउन खोलिएको गुम्बा। त्यसउप्रान्त सिकारी कुनोमा जनावरको आर्तनाद सुनिएन। गाउँलेहरू विश्वास गर्छन्, जुन दिनदेखि थासुङछोलिङ गुम्बा स्थापना भयो, त्यसै दिनदेखि फोक्सुन्डो तालमा तालदेवी बस्छिन्। तालको पिँधमा भएको पत्थरमा उनका एकजोर पैतालाका छाप छन्।’ 

मलाई थाहा छ, मेरो ‘सेपियन्स’ मस्तिष्कको आनुवंशिक कुनामा लुकेको स्मृतिको यो कथामा न म लामा थिएँ न ती निरीह जनावर। बरु म कुनै दयाहीन सिकारी थिएँ। आफूले सजिलो गरीकन जनावरलाई फँसाउन प्रयोग गरिरहेको तालछेउको ‘बर्मुडा त्रिकोण’ मा गुम्बा बनेपछि म सायद अहमको हड्डी फुत्किएको दुर्योधनसरह रन्थनिएको थिएँ। हुन सक्छ, लामाको हत्या नै गर्ने योजना पनि बुनेको पो थिएँ कि !

अघिल्लो दिन फोक्सुन्डो तालको छेउमा पुग्दा कवि साथीहरू छेउकुनामा एकान्त खोज्दै आ–आफ्ना कविताहरू वाचेको भिडियोलाई क्यामेरामा कैद गर्दै थिए। फोटोग्राफरहरू तालको कुन कुनोबाट, कुन कोणबाट खिज्दा अरूभन्दा फरक छाया उतार्न सकिन्छ भनेर कोसिस गर्दै थिए। आर्टिस्ट कृष्ण परियार फुस्रिएका पहाडको रङलाई कसरी क्यानभासमा मिलान गर्न सकिएला भनेर रङहरूलाई घोलघोल पार्दै थिए। सिनेमाबाजहरू एरिक भालीले खेदेको ‘क्याराभान’ को ‘ह्याङओभर’ बाट कतै कुनै ‘फुटेज’ छुटेको पो छ कि भनेर सोधखोज गर्दै थिए। पत्रकारहरू गोजी पुस्तिकामा मसिना अक्षरले कर्‍याङमर्‍याङ कोरेर कथा–किस्साहरू समेल्दै थिए। म भने तालको किनारैकिनार भौँतारिएर तालदेवीका पैतालाका छाप खोज्दै थिएँ
वा हुन सक्छ सिकारी छँदा मैले गर्भिणी मृगको कोखमा रोपेको बिखालु भाला यतै कतै छुटेको छ कि भनेर खोज्दै थिएँ। वा खोज्दै थिएँ मैले लामा टेतन छेवाङ छुल्डिमले माने घुमाउँदै, मालाका दाना गन्दै पहिलोपटक मन्त्रोच्चारण गरेको ‘ओम मा ट्री मु ये सा ले दु’ को अवशेष। सायद कान्जिरोवा वा कानताकातुङ हिमालको कुनै गल्छेडाभित्र उनको मन्त्र पुरिएर बसेको हुनुपर्छ। त्यसलाई सुन्न वा बुझ्न भोटे भाषा जान्नुपर्छ। जो मलाई आउँदैन

भाषाको निर्माण, शब्द र ध्वनिको चयन पनि भूगोलको खेलो हो। नपत्याए भोटको भाषा नै सुन्नुस्। भोटको बोली पेटको जराबाट निस्कन्छ। फुस्रा पहाड, हिमाली खोँच, गड्गडाउँदो आँधी, तिखो चिसो बेतोड बतासको बीचमा कानमा माकल लगाएको मान्छेले पनि सुन्ने बुझ्ने किसिमका ध्वनि भएका शब्दहरूको संगठन भोटे भाषाको विशेषता हो। अरू भाषाका कतिपय शब्दहरू हिउँमा कप्कपाउँदा जिब्रोभित्रै छुट्छन्, कतिलाई बतासले उडाउँछ कतिलाई फुस्रो माटोले सोसिदिन्छ त कतिलाई पहाडले फर्कादिन्छ। कस्तै कठिन मौसममा पनि भोटेको बोली सित्तिमिति बिलाउँदैन। तर भनिहालेँ मलाई भोटे भाषा आउँदैन, त्यसैले हिउँमा पुरिएको लामाको आवाजलाई मैले रत्ति पनि सुन्न सकिनँ। सुन्दै नसुनेको हुनाले बुझ्ने कुरा पनि भएन

यसरी मैले छेकछन्द केही नबुझी, केही नदेखी फोक्सुन्डोबाट फर्केँ। ताल कस्तो थियो भनेर कसैले सोध्यो भने ‘गहिरो थियो, नीलो थियो, सफा थियो, वरपर फुस्रा पहाड र सेता हिमाल थिए’ भन्नु सिबाय अर्को उत्तर मसँग छैन। प्रकृतिलाई दिइने सुन्दरताको व्याख्या हाम्रा निजी धारणा मात्रै हुन्, मान्छेका अनुभूति मात्रै हुन्। बरा हिमाललाई त आफू हिमाल हुँ भन्ने पनि थाहा हुँदैन जसरी मन्दिरको मूर्तिलाई आफू ईश्वर हुँ भन्ने पनि थाहा हुँदैन। जसरी मलाई म को हुँ भन्ने थाहा हुँदैन। ज्ञान भनेको, परिचय भनेको मान्छेको चेतनाले जबर्जस्ती लादेको शब्दको मलखाद मात्रै हुन जसमा अहंकार सिबाय केही फस्टाउँदैन
मलाई ओरालोभन्दा उकालो मन पर्छ। उकालोमा गन्तव्य गौण हुन्छ, यात्रा केन्द्रमा हुन्छ। उकालोमा तपाईं कहिल्यै वरपर हेर्दै हिँड्न सक्नुहुन्न, खासगरी त्यो उकालोमा जो फोक्सुन्डो झरनाको काँधमा छ। आकाशमा उडिरहेको चरा, बेंसीमा बगिरहेको फोक्सुन्डो, हिमालमा रगडिँदै बाफिएको बादल केही हेर्न सक्नुहुन्न। हेर्नै परे सजिलो ठाउँ खोजेर रोकिनुपर्छ। जसरी जुकाले अर्को टेक्ने सुरक्षित ठाउँ नपाएसम्म मुन्टो ठड्याएर लिन्ठिङ लिन्ठिङ गरिरहन्छ उसैगरी अर्को पाइलो थमाउने ठाउँ खोज्दै धर्मराउँदो पाइला चालेर बढ्नुपर्छ उकालोमा। एउटा गलत चालले तपाईंलाई ५ सय मिटर मुन्तिरको गल्छीमा लगेर थेचारिदिन्छ। किनारमा उभिन जानेन भने मात्रै पनि तपाईंलाई थिन्ले लोन्डुपलाई झैँ खच्चडले धकेलिदिन्छ। त्यसैले उकालो चढ्दा तपाईंको आँखाको बास पैताला र त्यसले टेक्ने जमिनमा मात्रै केन्द्रित हुन्छ। सुने आफ्नै पैतालाको पदचाप, हेरे आफ्नै जुत्ताको डाम। सीमितताबीचको संघर्ष उकालोको उपहार हो। तर ओरालोको यात्रा अलिक फराकिलो हुन्छ। खुट्टाहरू फुक्काफाल हुन्छन्। चाल वेगवान हुन्छ। यात्राभन्दा पियारो गन्तव्य लाग्छ। आफू मुन्तिरको आकाशमा उडेको चरा पनि देखिन्छ, खोला देखिन्छ, बस्ती देखिन्छ। संसार देखिन्छ। तर हिजो उक्लेको उकालोभन्दा आज ओर्लने ओरालोमा मैले धेरै संघर्ष गरेँ। च्यातिएको घुँडाको ‘लिगामेन्ट’ ले घरीघरी रनाहा पारेर रोक्थ्यो। म दुखाइ मार्ने मल्हम दलेर उसलाई थुम्थुम्याउँथे। बरु उक्लँदा यार्चागुम्बु टिपेर फर्केका मान्छे र तिनका खच्चडको क्याराभान थियो, अहिले ओर्लंदा त बाटो सुनसान थियो। तैपनि मेरो नियति फरक थियो। मैले यसअघि बनाएका उकालो र ओरालोको अवधारणा भत्केको थियो। सजिलो र अफ्टेरोको मूल्यांकन फेल खाएको थियो। सोचेँ, सबै अनुकूलता सधैँभरि अनुकूल भै राख्दैनन्। सबै प्रतिकूलता सधैँ असजिला हुँदैनन्

फर्किँदा सुम्दुवाबाट दाहिने हानिएर पुग्मो गाउँको लाम्ग्याल लाखाङ गुम्बा पुग्ने धोको थियो, तर खुट्टाले धोका दियो। त्यसो त खुट्टा सद्दे हुने साथीहरूलाई पनि त्यो अवसर मिलेन। जाने ३ जनामध्येका मित्र अमृत भादगाउँलेलाई भनेँ, ‘कृपा गरेर मेरा आँखाहरू सापटी लैजानोस् र हेरेर आइदिनोस्।’ उनले त्यसै गरे तर सापटी लगेका आँखा अझै फिर्ता दिएका छैनन्। उनले आँखा फिर्ता गरे भने एकबार फेरि पुग्मो उक्लेर त्यहाँभन्दा ५ घण्टा माथिको कान्जिरोवा हिमालको फेदीसम्म पुग्ने इच्छा छ। त्यहाँका छो–ङोन्पो, छो–कारपो, छो–नाक्पो र छो–लुगाल तालमा सुन्निएका गोडा पैताला चोबलेर आराम गर्न मन छ। जीवनका नीला, सेता, काला र हरिया अनुभूतिलाई उतै विसर्जन गरेर फर्किन मन छ

प्रकाशित : असार २८, २०७६ १२:००
Published at: 
https://www.kantipurdaily.com/koseli/2019/07/13/15629985239126236.html 

Sunday, July 7, 2019

जीगिषा पछ्याऊ


आफ्नो जीगिषा पछ्याऊ
सिँच बारीका बिरुवालाई
प्रेमले मुस्कुराऊ गुलाफसँग
बाँकी त अन्जान रुखहरूका
फगत छाया मात्र हुन् ।
यथार्थ भन्नु जहिल्यै
हाम्रो चाहानाभन्दा कि बढी भैदिन्छ कि कम ।
हामीसँग बराबरी हुने भनेको
हामी मात्रै न हौं ।
एकलै बस्नु बरु जाती
सुसभ्य र उन्नत । सिधा, सादा, सम्पुर्ण ।
दु:खका पथ्थरहरूलाई चढाइदेऊ देउरालीमा
र हलुका भएर घर फर्क ।
जीवनलाई अलिक दूरीबाट हेर ।
प्रश्न नगर जीवनसँग ।
जीवनसँग तिमीलाई बताउने कुनै जवाफ हुँदैन ।
अस्तित्वका उत्तर ईश्वरभन्दा पनि प‍‌र छन ।
गुरु थापेर हिमाल (ईश्वर)लाई हृदयमा
हिँड चुपचाप चुपचाप ।
ईश्वर भनेका ईश्वर हुन्
किनकि ईश्वरलाई आफैँ को हुँ भन्ने पनि
खास्सै थाह हुँदैन ।
~फर्नान्डो पोसोआ
(अनुवाद: गपौ)

YouTube