बोन्पो थलोको यादमा


सिरानमा फोक्सुन्डो थापेर बसेको रिग्मो गाउँमा निदाएर उठेको पहिलो बिहान म निकै चंगा थिएँ। चंगा हुनु भनेको स्वतन्त्र हुनु होइन। अदृश्य धागोले खैँचेको परिधिमा हावा काटेर बस्नु हो। त्यस्तो अदृश्य कुन धागो थियो जसले मलाई ताल किनारको न्यानो होटलमा चंगा बनाएर उडाइराखेको थियो?

त्यो बिहान हामीहरू फोक्सुन्डोको देब्रे गालामा अवस्थित थासुङछोलिङ गुम्बा जानेवाला थियौं। १२ औं शताब्दीमा निर्माण भएको भनिएको यो गुम्बा पुग्ने बाटोमा दुर्घटित घुँडाको ‘लिगामेन्ट’ खियाउँदै गर्दा अचानक मलाई यस्तो आभास भयो– ‘यो गुम्बाको कुनै गोप्य कक्षमा कैयौं हातहरू भएको एउटा कालो रङको मूर्ति हुनुपर्छ जसको काखमा निर्वस्त्र यौवना खप्टिएर बसेकी छे।’ मेरो आभास एउटा देजाभू असरजस्तो गहिरो थियो

गुम्बाभित्र त्यस्तो केही देखिएन। मैले लामालाई सोधेँ, ‘यो भवन खासै पुरानोजस्तो लागेन। यहाँको पुरानो गुम्बा अर्कै होला है? हामी जान मिल्दैन?’ मेरो जिज्ञासाले प्रमुख लामा सेम्डुक ङिमाका अनुहारमा उज्याला रेखाका मुना–मुजुराहरू उम्रिए, निमेषभरमा हुर्किए, पात र हाँगा हाले, गमक्क फुले अनि लटरम्म फले। रसिलो फलको एउटा दानालाई कर्याम्म टोक्दा मुखमा भरिने पानीले बोल्न असजिलो भएझैँ ओठको एक कापबाट र्‍यालको लर्को चुहाउँदै बगलमा उभिएका अर्का लामा लोडोइ घोछालाई भने, ‘उताको पनि खोल्दिनुस्। उहाँहरूले दर्शन गरे राम्रै हुन्छ।’

आगन्तुकका लागि लगभग अप्राप्य र दुर्लभ दर्शन हाम्रा लागि उपलब्ध हुने भयो। ध्वाँसोले खियाएको पुरानो भोटो ताल्चा खुलेपछि मोबाइलका बत्तीहरू सल्काउँदै अँध्यारो सुरुङजस्तो कोठामा हामी छिर्‍यौं। त्यो कोठाबाट होचो न होचो ढोका अर्को कोठाको लागि खुल्यो, त्यसपछि अर्को अर्थात् गुम्बाको मुल कक्ष। मेरा आँखाहरू सिसाको घरभित्र भुन्भुनिएको माहुरीजस्तो भएर चारै दिशा हानेर दौडिए। तर जता उडे पनि सिसामा मुन्टो बज्रियो अनि पछारियो। मैले खोजेको दृश्य कतै देखिएन। त्यसैबेला फोटोग्राफर गुरिल्लाले थिचेको क्यामेराको ‘फ्ल्यास’ ले अँध्यारो कक्षको एउटा छेउलाई भुलुर्क्क उज्यालो बनाइदियो। मेरो आभास सही निस्कियो। कालो मूर्ति मेरो अनुमानकै वय र बान्कीमा ध्यानस्थ थियो

कुनै कुनै ठाउँहरूमा पहिलोपटक पुग्दा मलाई यस्तो लाग्छ, म धेरै पहिल्यै यहाँ आइसकेको थिएँ। आएको मात्रै होइन, मैले एउटा पूरै जीवन यहीँ कतै काटिसकेको थिएँ। बाटो, जंगल र चौरस्तामा समयको कथा रुँगेर बसेका बूढा रूखहरू देख्दा मलाई यस्तो लाग्छ सयौँ वर्षपहिले मैले यसकै छहारीमा एक झमट दिवानिद्रा भोग गरेको थिएँ। पहाडी खोलाका किनार छलेर बसेका अजंगका पत्थरहरू देख्दा वा खोलामाथिका चट्टाने भीरमा प्रकृतिले खोपेका गहिरा गुफाहरूमा पस्ता मलाई लाग्छ, मैले यिनै अल्छी पहाड, भूत्याहा गुफा, अत्यासलाग्दा हिमाल र फुर्तिला नदीहरूको सम्पूर्ण सेरोफेरोलाई कालजमानामै नापिसकेको थिएँ। खोलामा पहिलो बखत हेलिएको कुकुरले कहिल्यै नसिकेको पौडी खेलेर जसरी किनार भेट्टाउँछ उसै गरी मलाई आफूले कहिल्यै नभोगेको यस्तो स्मृतिको हरक्क बास्ना हुबहु आउँछ। सायद मेरो ‘जिन’ भित्रको कुनै अम्लीय चोटाकोठामा त्यसका स्मृतिहरू बसेका होलान्। सायद मेरो मस्तिष्कको ‘केस’ भित्र कुनै ‘बायोटिक चिप्स’ सुषुप्त बसिरहेको छ जो स्थानविशेषको एक ‘क्लिक’ ले अचानक बौरिन्छ ः पुर्ख्यौली यादजस्तो भएर, पुस्तैनी ज्ञानजस्तो भएर

जब पहाडहरूमा हुन्छु, म आफूलाई झन्–झन् यस्तो अनुभवइतरको स्मृतिमा हराइरहेको पाउँछु। अभेद्य अतीतको अनकन्टार कुनामा एकलै सयर गरिरहेको पाउँछु। मैले आफूलाई जे ठान्दै आएको छु, खासमा म त्यो हुँदै होइन भनेजस्तो आफ्नै परिचय खिइँदै गएको पाउँछु। अहिलेसम्म मैले जे जति देखेँ, पढेँ, जानेँ, बुझेँ त्यो खासमा मेरो देखाइ, पढाइ, जानाइ वा बुझाइ होइन भन्ने अनुभूति झन्–झन् गाढा भएको पाउँछु। अरूले यात्रामा आफूलाई झन्–झन् आफ्नो नजिक भएको पाउँछु भन्छन्, तर मलाई भने यात्राले मैदेखि झन्–झन् टाढा–टाढा लग्दै गरेको पाउँछु। यात्राले हुत्याएदिएको बिरानो संसार र समयमा शनैशनै विलय भएको पाउँछु। तर पनि मलाई पहाडी पदयात्रा मन पर्छ। सायद म आफूलाई खोज्न होइन, आफूबाट हराउन यात्रा गर्छु
मलाई ईश्वरमा छेउकुनाको पनि विश्वास छैन त्यसैले पूर्वजन्मको अवधारणा नै बकम्फुसे लाग्छ। तर, मैलाई किन यस्तो आभास हुन्छ? आफू पुग्दै नपुगेको ठाउँमा पहिल्यै पुगिसकेको अनुभूति किन हुन्छ मलाई? मलाई लाग्छ, या त त्यो ठाउँको बारेमा ज्यादै नै पढे–सुनेको हुनाले मलाई त्यस्तो अभास हुन्छ या हुन सक्छ मेरा जैविक पुर्खाहरूले हजारौँ वर्ष पहिले भोगेका अनुभवहरू आनुवंशिक याद बनेर मेरा स्मरणग्रन्थिमा कैद छन्। कुकुरले जन्मजात पौडी खेल्न जानेजस्तै सायद केही स्मृति कुरबाट माछाका भुरा निस्केझैँ फुतुफुतु मेरो मस्तिष्कको अन्तरकुन्तरबाट बाहिर निस्कन्छन्। अथवा यो पनि हुन सक्छ कि संसारको कुनै व्यक्तिको ज्ञान, सीप वा भोगाइको केही अंश संसारको अर्को कुनाको कुनै व्यक्तिमा कुनै न कुनै रूपले आफैँ स्थान्तरण हुन्छ। जस्तो कि कोलम्बसले अमेरिकी भूभागमा टेक्दा कथित रेड इन्डियनहरूलाई डुंगा सयर गरिरहेको देखेका थिए। पहिलोपटक डुंगा बनाएको ‘पेटेन्ट’ दाबी गर्ने कुनै मनुवाले त्यो दृश्य देखेको भए मूर्च्छै पो पर्थ्यो कि ! मलाई थाहा छ, मेरो स्मृतिमा आउने किस्साहरू मेरा नभएर कुनै अनजान मनुष्यका भोगाइहरू हुन्। मान्छेको मस्तिष्क रहस्यका तहै तहले ढाकिएको समयको मौलो गाढिएको यस्तो पुरातन पोखरी हो जसको गहिराइ कति छ कसैलाई थाहा छैन। जस्तो कि सुन्नुस् न गुम्बाका लामा सेन्डुक ङिमाकै कुरा, जसलाई मैले पहिलोपटक त्यहीँ सुनेको थिएँ, तर जसको बारेमा मलाई पहिल्यै थाहा थियो :

‘नौ सय वर्षअगाडिको कुरा हो, रिग्मो गाउँको यो गुम्बा भएको कुनो सिकारीहरूको चुनिन्दा थलो थियो। फोक्सुन्डो खोलाको तिरैतिर खेदेर ल्याइएका नाउर, कस्तूरी वा अरू जनावरहरू जब यो तीनकुने ठाउँमा पुग्थे, तब रनभुल्लमा पर्थे। त्यो तीन कुना उनीहरूको लागि त्रिशूलझैँ मारक अवस्था भैदिन्थ्यो। अगाडि उभिएको अजंगको कुप्रे भीर चढ्न सक्ने कुरा थिएन, अर्को छेउमा गहिरो ताल थियो जसको चिसोमा पछारिएपछि ठाउँका ठाउँ ज्यानको पूरै रगत जम्थ्यो। पछाडितिर भाला र धनुषकाँड बोकेका सिकारीहरू हुन्थे। चेपुवामा परेका निरीह जनावरका आगाडि ती तीनैवटा विकल्प प्राणघातक थिए। मृत्युको यस्तो नजिक उभिँदा उनीहरूको डर र्‍याल, सिँगान र आँसुको भेल्कोमा मिसिएको भयानक आर्तनाद बनेर मुखबाट निस्कन्थ्यो। तर मान्छेले पशुको आवाज बुझ्ने भए पो ! बुझेकै भए पनि छोड्ने भए पो ! काँचो होस् या पाकेको, मासुको स्वादका अगाडि हाम्रो दया, करुणा, मानवता उहिल्यैदेखि हार्दै आएको हो
अनि विकल्पहीन बरा जनावरहरू भकाभक तालमा हामफाल्थे। गर्भिणीहरू खस्थे, भर्खरै जन्मेका नाबालक पाठापाठीहरू खस्थे, यौनवको प्रथम संसर्गको उत्सव मनाउन भर्खरै भेट भएका प्रेमातुर यौवनाहरू खस्थे, वयस्कहरू खस्थे। कति भीरका चुच्चा ढुंगामा घिच्रो बजारिएर हिक्क पनि गर्न नपाई मर्थे, कति सोझै तालमा हेलिएर प्राण विसर्जन गर्थे। जो खस्तैनथे उनीहरूको छातीमा तिखा भाला र बाण रोपिन्थे। मृत्युको यस्तो अवश्यंभावी कुनोबाट समस्त जनावरलाई जोगाउने कुनै जागरुक मनुष्य आउने समयसम्म पर्खिन उनीहरूलाई कैयन वर्ष लाग्यो। अनि आए लामा टेतन छेवाङ छुल्डिम जसले त्यही ठाउँ रोजेर बनाए बोन्पो गुम्बा र नाम राखिदिए थासुङछोलिङ। थासुङछोलिङ गुम्बा अर्थात् सिकारीहरूबाट जनावरलाई जोगाउन खोलिएको गुम्बा। त्यसउप्रान्त सिकारी कुनोमा जनावरको आर्तनाद सुनिएन। गाउँलेहरू विश्वास गर्छन्, जुन दिनदेखि थासुङछोलिङ गुम्बा स्थापना भयो, त्यसै दिनदेखि फोक्सुन्डो तालमा तालदेवी बस्छिन्। तालको पिँधमा भएको पत्थरमा उनका एकजोर पैतालाका छाप छन्।’ 

मलाई थाहा छ, मेरो ‘सेपियन्स’ मस्तिष्कको आनुवंशिक कुनामा लुकेको स्मृतिको यो कथामा न म लामा थिएँ न ती निरीह जनावर। बरु म कुनै दयाहीन सिकारी थिएँ। आफूले सजिलो गरीकन जनावरलाई फँसाउन प्रयोग गरिरहेको तालछेउको ‘बर्मुडा त्रिकोण’ मा गुम्बा बनेपछि म सायद अहमको हड्डी फुत्किएको दुर्योधनसरह रन्थनिएको थिएँ। हुन सक्छ, लामाको हत्या नै गर्ने योजना पनि बुनेको पो थिएँ कि !

अघिल्लो दिन फोक्सुन्डो तालको छेउमा पुग्दा कवि साथीहरू छेउकुनामा एकान्त खोज्दै आ–आफ्ना कविताहरू वाचेको भिडियोलाई क्यामेरामा कैद गर्दै थिए। फोटोग्राफरहरू तालको कुन कुनोबाट, कुन कोणबाट खिज्दा अरूभन्दा फरक छाया उतार्न सकिन्छ भनेर कोसिस गर्दै थिए। आर्टिस्ट कृष्ण परियार फुस्रिएका पहाडको रङलाई कसरी क्यानभासमा मिलान गर्न सकिएला भनेर रङहरूलाई घोलघोल पार्दै थिए। सिनेमाबाजहरू एरिक भालीले खेदेको ‘क्याराभान’ को ‘ह्याङओभर’ बाट कतै कुनै ‘फुटेज’ छुटेको पो छ कि भनेर सोधखोज गर्दै थिए। पत्रकारहरू गोजी पुस्तिकामा मसिना अक्षरले कर्‍याङमर्‍याङ कोरेर कथा–किस्साहरू समेल्दै थिए। म भने तालको किनारैकिनार भौँतारिएर तालदेवीका पैतालाका छाप खोज्दै थिएँ
वा हुन सक्छ सिकारी छँदा मैले गर्भिणी मृगको कोखमा रोपेको बिखालु भाला यतै कतै छुटेको छ कि भनेर खोज्दै थिएँ। वा खोज्दै थिएँ मैले लामा टेतन छेवाङ छुल्डिमले माने घुमाउँदै, मालाका दाना गन्दै पहिलोपटक मन्त्रोच्चारण गरेको ‘ओम मा ट्री मु ये सा ले दु’ को अवशेष। सायद कान्जिरोवा वा कानताकातुङ हिमालको कुनै गल्छेडाभित्र उनको मन्त्र पुरिएर बसेको हुनुपर्छ। त्यसलाई सुन्न वा बुझ्न भोटे भाषा जान्नुपर्छ। जो मलाई आउँदैन

भाषाको निर्माण, शब्द र ध्वनिको चयन पनि भूगोलको खेलो हो। नपत्याए भोटको भाषा नै सुन्नुस्। भोटको बोली पेटको जराबाट निस्कन्छ। फुस्रा पहाड, हिमाली खोँच, गड्गडाउँदो आँधी, तिखो चिसो बेतोड बतासको बीचमा कानमा माकल लगाएको मान्छेले पनि सुन्ने बुझ्ने किसिमका ध्वनि भएका शब्दहरूको संगठन भोटे भाषाको विशेषता हो। अरू भाषाका कतिपय शब्दहरू हिउँमा कप्कपाउँदा जिब्रोभित्रै छुट्छन्, कतिलाई बतासले उडाउँछ कतिलाई फुस्रो माटोले सोसिदिन्छ त कतिलाई पहाडले फर्कादिन्छ। कस्तै कठिन मौसममा पनि भोटेको बोली सित्तिमिति बिलाउँदैन। तर भनिहालेँ मलाई भोटे भाषा आउँदैन, त्यसैले हिउँमा पुरिएको लामाको आवाजलाई मैले रत्ति पनि सुन्न सकिनँ। सुन्दै नसुनेको हुनाले बुझ्ने कुरा पनि भएन

यसरी मैले छेकछन्द केही नबुझी, केही नदेखी फोक्सुन्डोबाट फर्केँ। ताल कस्तो थियो भनेर कसैले सोध्यो भने ‘गहिरो थियो, नीलो थियो, सफा थियो, वरपर फुस्रा पहाड र सेता हिमाल थिए’ भन्नु सिबाय अर्को उत्तर मसँग छैन। प्रकृतिलाई दिइने सुन्दरताको व्याख्या हाम्रा निजी धारणा मात्रै हुन्, मान्छेका अनुभूति मात्रै हुन्। बरा हिमाललाई त आफू हिमाल हुँ भन्ने पनि थाहा हुँदैन जसरी मन्दिरको मूर्तिलाई आफू ईश्वर हुँ भन्ने पनि थाहा हुँदैन। जसरी मलाई म को हुँ भन्ने थाहा हुँदैन। ज्ञान भनेको, परिचय भनेको मान्छेको चेतनाले जबर्जस्ती लादेको शब्दको मलखाद मात्रै हुन जसमा अहंकार सिबाय केही फस्टाउँदैन
मलाई ओरालोभन्दा उकालो मन पर्छ। उकालोमा गन्तव्य गौण हुन्छ, यात्रा केन्द्रमा हुन्छ। उकालोमा तपाईं कहिल्यै वरपर हेर्दै हिँड्न सक्नुहुन्न, खासगरी त्यो उकालोमा जो फोक्सुन्डो झरनाको काँधमा छ। आकाशमा उडिरहेको चरा, बेंसीमा बगिरहेको फोक्सुन्डो, हिमालमा रगडिँदै बाफिएको बादल केही हेर्न सक्नुहुन्न। हेर्नै परे सजिलो ठाउँ खोजेर रोकिनुपर्छ। जसरी जुकाले अर्को टेक्ने सुरक्षित ठाउँ नपाएसम्म मुन्टो ठड्याएर लिन्ठिङ लिन्ठिङ गरिरहन्छ उसैगरी अर्को पाइलो थमाउने ठाउँ खोज्दै धर्मराउँदो पाइला चालेर बढ्नुपर्छ उकालोमा। एउटा गलत चालले तपाईंलाई ५ सय मिटर मुन्तिरको गल्छीमा लगेर थेचारिदिन्छ। किनारमा उभिन जानेन भने मात्रै पनि तपाईंलाई थिन्ले लोन्डुपलाई झैँ खच्चडले धकेलिदिन्छ। त्यसैले उकालो चढ्दा तपाईंको आँखाको बास पैताला र त्यसले टेक्ने जमिनमा मात्रै केन्द्रित हुन्छ। सुने आफ्नै पैतालाको पदचाप, हेरे आफ्नै जुत्ताको डाम। सीमितताबीचको संघर्ष उकालोको उपहार हो। तर ओरालोको यात्रा अलिक फराकिलो हुन्छ। खुट्टाहरू फुक्काफाल हुन्छन्। चाल वेगवान हुन्छ। यात्राभन्दा पियारो गन्तव्य लाग्छ। आफू मुन्तिरको आकाशमा उडेको चरा पनि देखिन्छ, खोला देखिन्छ, बस्ती देखिन्छ। संसार देखिन्छ। तर हिजो उक्लेको उकालोभन्दा आज ओर्लने ओरालोमा मैले धेरै संघर्ष गरेँ। च्यातिएको घुँडाको ‘लिगामेन्ट’ ले घरीघरी रनाहा पारेर रोक्थ्यो। म दुखाइ मार्ने मल्हम दलेर उसलाई थुम्थुम्याउँथे। बरु उक्लँदा यार्चागुम्बु टिपेर फर्केका मान्छे र तिनका खच्चडको क्याराभान थियो, अहिले ओर्लंदा त बाटो सुनसान थियो। तैपनि मेरो नियति फरक थियो। मैले यसअघि बनाएका उकालो र ओरालोको अवधारणा भत्केको थियो। सजिलो र अफ्टेरोको मूल्यांकन फेल खाएको थियो। सोचेँ, सबै अनुकूलता सधैँभरि अनुकूल भै राख्दैनन्। सबै प्रतिकूलता सधैँ असजिला हुँदैनन्

फर्किँदा सुम्दुवाबाट दाहिने हानिएर पुग्मो गाउँको लाम्ग्याल लाखाङ गुम्बा पुग्ने धोको थियो, तर खुट्टाले धोका दियो। त्यसो त खुट्टा सद्दे हुने साथीहरूलाई पनि त्यो अवसर मिलेन। जाने ३ जनामध्येका मित्र अमृत भादगाउँलेलाई भनेँ, ‘कृपा गरेर मेरा आँखाहरू सापटी लैजानोस् र हेरेर आइदिनोस्।’ उनले त्यसै गरे तर सापटी लगेका आँखा अझै फिर्ता दिएका छैनन्। उनले आँखा फिर्ता गरे भने एकबार फेरि पुग्मो उक्लेर त्यहाँभन्दा ५ घण्टा माथिको कान्जिरोवा हिमालको फेदीसम्म पुग्ने इच्छा छ। त्यहाँका छो–ङोन्पो, छो–कारपो, छो–नाक्पो र छो–लुगाल तालमा सुन्निएका गोडा पैताला चोबलेर आराम गर्न मन छ। जीवनका नीला, सेता, काला र हरिया अनुभूतिलाई उतै विसर्जन गरेर फर्किन मन छ

प्रकाशित : असार २८, २०७६ १२:००
Published at: 
https://www.kantipurdaily.com/koseli/2019/07/13/15629985239126236.html 

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment