Contact Form

Name

Email *

Message *

Z

Saturday, August 26, 2017

अपरेसन थिएटरमा 'पैताला'





राम लोहनी

नेपाली आख्यान परम्परा अझै पनि सामाजिकयथार्थवादबाट मुक्त भइसकेको छैन । सामाजिक मुद्दाहरूलाई केन्द्रमा राखेर कल्पनाको पातलो जलप लगाइएका कथा, उपन्यासकै बाहुल्य छ अझै । सिद्धान्तकेन्द्रित र विशुद्ध काल्पनिक कथावस्तु भएका उपन्यास विरलै भेटिन्छन् । सरुभक्तको पागल बस्ती, सञ्जीव उप्रेतीको घनचक्कर केही यस्तै उदाहरण हुन् । कुमार नगरकोटीका आख्यानहरूले जादुई यथार्थ र अतियथार्थलाई औपन्यासिक विषयवस्तु बनाएका पाइन्छन् । नेपाली भाषाकै पहिलो उपन्यास वीर चरित्रको विषय यथार्थभन्दा बेग्लै जादुई र तिलस्मीले भरपूर थियो । पछिल्लो समय गनेस पौडेलको उपन्यास पैतालाले त्यही बाटो पछ्याएको छ ।

उपन्यासको कच्चा पदार्थ
अलेक्जेन्डर वालेट हिन्दु पौराणिक पात्र शुक्राचार्यले आविष्कार गरेको सञ्जीवनी बुटीको विद्या प्राप्त गर्न सफल हुन्छ । यद्यपि, प्राविधिक कारणले गर्दा यो विद्या जस्ताको तस्तै प्राप्त गर्न भने सक्तैन ऊ । तर पनि उसले जति प्राप्त गरेको छ, त्यो धेरै महत्त्वपूर्ण छ । उसले नेपालको हिमालयमा अनुसन्धान गर्ने क्रममा पेरिओडिक टेबुलमा नभएको तत्त्व पत्ता लगाएको छ । आजसम्मका कुनै वैज्ञानिकले पनि मेसो नपाएको र आजभन्दा छ करोड वर्षपहिले नै हिमालयमा उत्पत्ति भएको यो तत्त्वले असामान्य रूपमा चिसो पैदा गर्ने क्षमता राख्छ । ठूलो भूभागलाई एकै छिनमा चिसो पारेर जमाइदिन सक्छ यसले । यसलाई वालेटले एनएचसिक्ससीवाई नाम दिएको रहेछ । वालेट आफू मर्नुअगाडि यी दुई ज्ञान कुनै योग्य र विश्वासी व्यक्तिलाई सुम्पन चाहन्छ । एक्काइस वर्षअघि राराको पदयात्रामा भेटिएको किशोर जोस्मणि आरण्य उसको नजरमा आइपुग्छ । वालेट जोस्मणिलाई नै यो ज्ञान दिन चाहन्छ । यो ज्ञान दोस्रो व्यक्तिको हातमा नपरोस् भन्ने कुरामा पनि सजग छ वालेट । यही क्रममा जोस्मणिलाई एक पछि अर्को चिठी दिने, पुर्‍याउने समस्यामा मुख्य कथा केन्द्रित छ ।
उपन्यास सात अध्याय र पृष्ठभूमिसहित गरेर आठ खण्डमा विभाजित छ । उपन्यासको विकाससँगै पात्रहरू क्रमश: पारलौकिक हुँदै जान्छन् । रहस्य र अतियथार्थको पृष्ठभूमिमा कथालाई आरोपित गरिएको छ । प्रत्येक अध्यायको शीर्षकलाई खास प्रकारका चित्रहरूद्वारा प्रस्ट्याउन खोजिएको छ । तर ती चित्रको परिचय कतै पनि दिइएको छैन । ती चित्र लेखकका मौलिक हुन् कि होइनन् भन्ने पनि खुलाइएको छैन । चित्रको बारेमा जानकार नभएका पाठकहरूलाई ती चित्रहरू उद्देश्यप्रेरित पनि हुन सक्छन् भन्ने ख्याल नहुन पनि सक्छ । हरेक चित्रसँगै चर्चित व्यक्ति वा ग्रन्थका भनाइहरू पनि उद्धृत गरिएका छन् । यद्यपि सबै ठाउँमा ती अभिव्यक्ति र चित्रको बीचमा सामञ्जस्य भने देखिंदैन ।

तन्त्र र रहस्य
दोस्रोदेखि सातौं अध्यायलाई योग/तन्त्रका छ चक्रहरू मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्ध चक्र र आज्ञा चक्रद्वारा चिनाउन खोजिएको छ । तर ती चक्रहरूको प्रतीक चित्र अस्पष्ट र अपूर्ण छन् । चक्र भनेको बस्ज मन्त्र, कमल दलको संख्या र तिनका प्रतिनिधि वर्ण, रङ, देवता आदिको समग्र स्वरूप हो । तर यो पाटोमा लेखक/प्रकाशकको लापरबाही प्रकट भएको छ । साधकको नजरमा यो गम्भीर त्रुटि हो । खास चक्रको जागरणपछि जुन भावको सञ्चार हुनुपर्ने भनेर योग/तन्त्रशास्त्रमा चर्चा गरिएको पाइन्छ, चक्रसँग जोडिएको कथा अंश पढिसकेपछि पाठकमा त्यस्तै प्रकृतिको भाव सञ्चार उदय हुने अपेक्षा हुन्छ । पुस्तकको बाहिरी आवरणमा उल्लेखित तान्त्रिक कथाविधानपद्यांशले सम्भवत: उपन्यासको यही संरचनालाई दाबी गरेको हुन सक्छ । तर, त्यसमा कथा थोरै मात्र सफल देखिन्छ । मूलाधार चक्रको पाठमा वासनाप्रधान उपकथाले शक्तिको प्रवाह ऊध्र्वउन्मुख रहने तथ्यलाई त देखाएको छ । तर पनि यहाँ रहने मानिएको कुण्डलिनी शक्तिको महत्त्व र चरित्रको बारेमा केही खुल्दैन । खासमा कथा केन्द्रीयभन्दा पनि परिधीय वर्णनमा अलमलिएकाले त्यस्तो हुन गएको हो ।
पृष्ठभूमि खण्डको शीर्षक इजिप्टियन पुराकथाको चित्र हो । संसारका प्राय: पुराकथामा स्त्रीलाई धरती र पुरुषलाई आकाश मान्ने गरेको पाइन्छ । तर यो मिथमा स्त्री आकाश हो, र पुरुष धरती । नारीको प्रधानता र सक्रियताको तत्कालीन चिन्तनलाई यो चित्रले प्रस्तुत गर्न खोजेको व्याख्या गरिएको पाइन्छ । यो खण्डको कथामा स्त्रीका नामकी पात्रलाई न्यारेटरको रूपमा कथामा प्रवेश गराएर मुख्य भूमिका दिन खोजेकाले चित्रसँगको सामञ्जस्य अनुमान गर्न सकिन्छ । अन्तिम अध्याय उल्लुशीर्षकमा छ । अन्य अध्यायमा उल्लुको संकेतले कथामा आख्यानकारको प्रवेशलाई सूत्रधारको रूपमा प्रयोग गरिएकाले यो अध्यायमा आख्यानकार नै कथावाचक भएको बुझिन्छ ।
चित्रहरू अध्यायविभाजनमा मात्र केन्द्रित छैनन् । अध्यायको आन्तरिक विभाजनमा पनि विविध चित्रहरूको भूमिका छ । उदाहरणका लागि मूलाधार चक्रअध्यायभित्र दुइटा चित्र छन्आफ्नै पुच्छर खाँदै गरेको सर्प र कमण्डलु । सर्पलाई सृष्टि, स्थिति र संहार तीनै कुराको प्रतीक मान्ने गरिएका मिथहरू संसारका धेरै सभ्यतामा पाइन्छन् । वैश्व सर्प (कज्मिक सर्पेन्ट) को यो स्वरूप धेरै पुरानो हो । जन्म र मृत्युको शाश्वत चक्रलाई यसले संकेत गर्दछ । सर्पले पटकपटक काँचुली फेरेर नयाँ जुनीमात्र प्राप्त गर्दैन,
आफ्नो पुच्छर आफैं खाएको प्रतीकले सृष्टि र संहार, जन्म र मृत्यु, लय र प्रलय परिपूरक घटना हुन् भन्ने संकेत पनि दिन्छ । ताओ दर्शनको यिङ र याङसँग पनि यसको समभाव रहेको छ । सर्पको वृत्तभित्र महामृत्युञ्जयको मन्त्र र सम्बन्धित कथाभित्र वर्णित सञ्जीवनी विद्या, देवासुर शत्रुता र शुक्रपुत्री देवयानी तथा बृहस्पति पुत्र कचबीचको प्रेमको त्रिकोणात्मक सम्बन्ध आकर्षक र रोमाञ्चक छ । कथामा मिथकको सुन्दर विमिथकीकरण गरिएको छ । बाइबलको बुक अफ जजिजमा वर्णित स्याम्सन र डेलिलाह (दिलाइलह्) को अमर प्रेम पूर्वीय पुराणको कचदेवयानीको प्रेमकथाको बेग्लै संस्करण मात्र हो भन्ने अर्थ सम्प्रेषण भएको छ । साथै पौराणिक भूगोललाई पनि वर्तमान नेपालको परिचित भूगोल मुस्ताङ र चितवनको परिवेशमा खडा गरिएको छ ।
तन्त्रको गहिराइलाई कथामार्फत देखाउनभन्दा उपन्यासकारले विविध तन्त्र र रहस्यलाई समावेशी बनाउन जोड दिएका देखिन्छ । जनकपुरको संस्कृतिमा भिजेको विदेह तन्त्रदेखि नेपालगन्जको मुस्लिम समुदाय, किरातको मुन्धुमममा वर्णित मुजिङ्ना खायङ्नादेखि राजा सोलोमनको रउमको सिलसमेतलाई समावेश गराइएको छ । स्वाधिष्ठान चक्रको उन्मादलाई रुमीको पागलपन र जनकपुरको वीर्यकुण्डमार्फत दर्साइएको छ । तर ईडा र पिंगलाको मिलन किन अनाहत चक्रमै गराइयो प्रस्ट हुँदैन । उता आज्ञा चक्रभित्र सैतानी चरित्रको रउमको सिलर भूकम्पको वर्णन छ । जबकि आज्ञा चक्र ध्यानको प्रवेशमार्ग हो । यो खण्डमा विग्रह र विनाशको त्रासदी परेको छ । भावनाप्रधान अनाहत चक्रभित्र पनि वासना र कामनाले प्रधानता पाएको छ ।

प्राविधिक संरचना
उपन्यासमा अतियथार्थिक (सर्रियालिस्टिक) रङमा रङ्गिएको छ । सपना र यथार्थलाई मिसमास पारिएको छ । पात्रहरू यथार्थ भईकन पनि अयथार्थिक छन् । जोस्मणि केही समयअघि मृत भइसकेको व्यक्तिको औपन्यासिक अवतार हो । लोथिराको कुरूपतालाई भयानकता प्रदान गरिएको छ । भूगोल र समयमा संकुचन भएको छ । सपना र विपनाको सीमारेखा भत्काइएको छ । सपना चोर्ने र छाया अलग गर्नेजस्ता प्रसंग रोमाञ्चक लाग्छन् । सपना र विचारहरू पनि पारदर्शी छन् । जस्तो कि जोस्मणिकी पत्नी सारिकाले आत्महत्या गरेको कुरा आख्यानकारले देखेको सपना हो । तर न्यारेटर बूढी आख्यानकारको सपनासँग परिचित छे ।
उपन्यासमा मूल कथा भएर पनि त्यसभित्र प्रसंग, बेप्रसंगका उपकथा छन् । पूर्वज निकुञ्जको जीवनी, सुकारामको डायरी, माक्सोती बूढीको कथा आदि । लेखक/आख्यानकारलाई कथाकी न्यारेटर स्त्रीकाबाट कथा निर्माणको क्रममा निर्देशनहरू प्राप्त भइरहन्छन् । आख्यानकार र मूलपात्र जोस्मणिलाई भेटाइएका घटनाले आख्यानकार स्वयम् पात्र बन्न पुगेको छ । उपन्यास परम्परागत आख्यानको सीमा अतिक्रमण गरेर अधिआख्यान बनेको छ ।
उपन्यासलाई बाँध्न वालेटको चिठीहरूलाई साधनको रूपमा प्रस्तुत गरिएको छ । पहिलो चिठीमा उसले आफूले बताउन चाहेको जानकारी अर्को चिठीमार्फत दिन खोजेको उल्लेख गरिएको छ । तर प्रत्येक दोस्रो चिठी अर्को चिठी पाउने ठाउँ र व्यक्तिको चयनमा केन्द्रित हुन्छ । यसले पाठकको कौतूहललाई जोगाउन मद्दत गरेको छ । तर चिठी पाउने तरिका रहस्यमयी र स्वप्नसदृश छ । उपन्यासको अर्को रोचक पक्ष भनेको एउटा निश्चित मोबाइल फोनबाट आउने सन्देश हो । यसलाई लेखकले आकर्षक र रोचक पाराले पठन विश्रामको रूपमा उपयोगी तुल्याएका छन् ।
उपन्यास मूलत: रहस्यप्रधान छ । घटनालाई सशक्त ढंगले उठान गरिएको छ, तर त्यसको पटाक्षेप हुँदैन । वालेटले दिन खोजेको उसको अनुसन्धानको जानकारी जोस्मणिको हातमा आइपुग्दैन । वालेटले जोस्मणिलाई जुन ठाउँमा पुर्‍यायो, त्यहाँ रहस्यको पर्दा उघारिँदैन । कथाको यो अंशको शीर्षक क्यूआर कोडको चित्र दिइनु आफैंमा एउटा संकेत हो । जब जोस्मणि घनघोर अँध्यारो सुरुङ पार गरेर एउटा सुरम्य स्थानमा पुग्छ, त्यहाँ कार्ल माक्र्सको सालिक भेटिन्छ । माक्र्सको हातमा विज्ञान भैरवतन्त्रको किताब छ । त्यहीँ भेटिन्छन्, माक्र्सका एक्काइसौं शताब्दीका प्रखर अनुयायी पुष्पकमल दाहाल प्रचण्ड। प्रचण्डको देब्रे खुट्टा छैन । एक खुट्टाले, कहिले बैसाखीको सहायताले त कहिले दुई हातसहित मिलाएर तीनखुट्टे भएर हिँड्छन् उनी । यो परिदृश्य राजनीतिक दृष्टिले सटीक र व्यंग्यात्मक पनि छ । तर, विशुद्ध स्वैरकाल्पनिक कथावस्तु भएको उपन्यासमा प्रचण्डलाई, निजलाई आरोपित भूमिकाको पृष्ठभूमिमा, ‘नेपालको वर्तमान प्रधानमन्त्रीभनेर सार्वजनिक पदसमेत तोकेर चिनाउनु जरुरी थियो ? प्रश्न उठ्न सक्छ ।
यौनको स्वच्छन्द वर्णन उपन्यासमा मिहिन ढंगले घुलेर रहेको छ । त्यसो त यौन सृष्टिको कारण र रहस्य दुवै हो । तन्त्रसँग पनि अभिन्न रूपले जोडिएको छ यौन । अतियथार्थिक स्वप्नजगत्मा यौनको भूमिका प्रवल रहने कुरालाई स्विकारिएकै छ । तर पनि ठाउँठाउँमा यौनको वर्णन कथाले मागेभन्दा बढीरहेको भान पर्छ । समाजले पुरुषलाई यौनको चर्चा, परिचर्चा गर्न दिएको छुटलाई लेखकले स्वच्छन्द उपभोग गरेका छन् । शिवजीले जाँघेभित्रबाट दर्शन दिसकेका थिएजस्ता अभिव्यक्ति सामान्य अवस्थामा स्विकार्न गाह्रै पर्छ ।

समस्या र प्रश्न
स्त्रीकाको पति त्रुपकको भाइलाई भूतनाथ मन्दिरको पुजारीको भूमिका दिइएको छ । तर अर्को ठाउँमा उसलाई स्त्रीकाकै भाइको रूपमा सम्बोधन गरिएको छ । त्यस्तै, रारा यात्राको क्रममा वालेटलाई पन्ध्र दिन बाटोमा अलपत्र परेको भनिएको छ, जबकि यात्राको वृत्तान्तले त्यस्तो बताउँदैन । समयको यो फरक स्वप्नावस्थामा हुने स्थान/काल विलोप वा संकुचन नभएर प्राविधिक त्रुटि नै हो । यस्तै अन्य केही समस्याहरू छन्, जुन सुधार हुन सकेको भए राम्रो हुने थियो ।
सञ्जीवनी विद्याअनुसार शरीरको रासायनिक प्रक्रियालाई रोक्ने वा रोकिएको प्रक्रियालाई पुन: सक्रिय गराउने प्रविधि कम्तीमा तर्कसंगत ठहरिन सक्छ । तर अणुहरू डिफ्युजहुँदा चिसो उत्पन्न हुने कुरा विज्ञानको थर्मोडाइनामिक्सको सिद्धान्तको विरुद्ध देखिन्छ । भौतिक विज्ञानको परिभाषामा चिसो हुनु भनेको ताप शोषित हुनु हो । वस्तुबाट जति ताप शोषण गर्न सकियो, त्यति त्यसमा चिसोपन बढ्दै जान्छ । तर एनएचसिक्ससीवाई नाम दिइएको धातुको अणु डिफ्युजहँदा चिसो पैदा हुने भनेको के हो, त्यो स्पष्ट छैन । पेरियोडिक टेबुलमा नपरेको सही, यो तत्त्वलाई पेरिओडिक टेबुलका अन्य तत्त्वकै हाराहारीमा राखिसकेपछि अन्य तत्त्वमा लागू हुने प्रकृतिको नियम यसमा पनि लागू हुनुपर्छ । यो तत्त्वको थप प्रसंग अन्यत्र आएको छैन भने यसको कल्पना गरियो किन ?

उपन्यासको शीर्षक
पैतालाको प्रसंग उपन्यासभित्र मुख्य गरेर दुई ठाउँमा उठेको छ । नेपालगन्जको एउटा शयनकक्षमा सुतिरहेका ईडा र पिंगलाका दुई जोडी पैताला देखिएका छन् । अर्को, उपन्यासको अन्तमा जोस्मणि सुरुङ मार्गबाट जाँदै गर्दा उसले पैतालाको महत्त्व अनुभूत गरेको देखाइएको छ । एकपटक पैतालाले दिशासूचकको काम गरेको छ । अर्कोपटक, पैतालामा ठेस लागेर ऊ लड्छ । अर्को क्षण जोस्मणिलाई आफूलाई उभ्याउने पैताला नै मुख्य हो भन्ने दिव्यज्ञान बोध हुन्छ । त्यसो त सभ्यताको विकास भनेको मानिसको यात्राबाटै आरम्भ भएको हो । अफ्रिकाको कुनै स्थानमा विकास भएको मानिस पैतालाकै भरमा विश्वभरि छरिएका हुन् । पैतालामा उभिएर टाढाटाढा हेर्न सक्ने क्षमतासँगै मानिसमा बुद्धिको विकास हुन थालेको बताइन्छ । पैतालामा उभिन सक्ने भएपछि हात स्वतन्त्र भए । त्यसले औजार समात्यो । यसप्रकार सभ्यताको मूलमा पैताला नै थियो र छ भन्ने कुरा दार्शनिक रूपले सिद्ध गर्न सकिन्छ । उपन्यासको मूलपात्र जोस्मणिको यायावर स्वभाव पनि पैतालाकै देन हो । तथापि, उपन्यासमा वर्णित रहस्य र जादुई यथार्थका प्रत्येक घुम्तीमा पैतालाको भूमिका कति रह्यो भन्ने कुरामा चाहिँ बहस हुन सक्छ ।

प्रकाशित: श्रावण १४, २०७४
Published at :

विमिथीकरणको योगफल


-- राजिन पनेरु

शास्त्रीय भौतिकवादीले मानेको टाउकोको सत्य अथवा ज्ञानेन्द्रिय सत्य, औद्योगिक क्रान्ति, औपनिवेशिक सन्दर्भ, विसंगतिवादी दृष्टिकोण, मानवीय त्रास, विश्वयुद्धहरू आदि सन्दर्भ पछि गर्धनबाट छाती वा हृदयमा ओर्लियो । माक्र्सवादी बहसले सत्यलाई हृदयबाट पेटमा झार्‍यो । भोकाएका र अघाएका बीचको द्वन्द्वात्मक स्थितिमा सत्यको खोजी भयो । यसपछि सिग्मन्ड फ्रायडले सिर्जनात्मक सत्य यौनांगमा अल्झेको हुन्छ भनिदिए । यसरी लिबिडो सत्यको अन्तिम अध्याय बन्यो ।
Rajin-Paneruत्यसपछि पूर्व तथा पश्चिम दुवैतिर मौन रह्यो । यौनांगभन्दा तल सत्य ओर्लिएन । त्यो सत्यताको 'भ्याकुम'लाई चिर्ने दुस्साहसको मुख्य योजनाकार बने- गनेस पौडेल । यो उनको दाबी हो । उनले फ्रायडलाई सोध्दै नसोधी सत्यलाई पैतालामा झारिदिए । मानव सभ्यताको जग टाउकोबाट होइन पैतालाबाट सुरु भएको हो भन्ने दाबीको 'साक्ष्य' बने । यसलाई स्थापित गर्न उनले ३६३ पृष्ठको उपन्यास तयार गरे । नाम रह्यो गनेस मेनोफेस्टो अर्थात् पैताला ।
'पैताला' अध्यात्म, ज्ञान र विज्ञानको अनेकन प्रयोगमा अल्झिएको रहस्यको पुञ्ज हो । पौराणिक सञ्जीवनी विद्यालाई व्रणतुकाका माध्यमबाट कच उर्फ सामसोनको सपनाबाट चोर्न लगाइनु मिथकीय पुनर्सिर्जन हो । शुक्राचार्य र वृहस्पतिको आ श्रमलाई चितवन र पोखराका तलैयामा इन्जिनियरिङ गरेर गनेसले कच-देवयानी प्रेमलाई विमिथिीकरण गरेका छन् । पूर्वीय र पश्चिमेली मिथकका अनेकन किस्सालाई लेखकले घरि भत्काएका छन्, घरि पुनर्निर्माण र पुनव्र्याख्या गरेका छन् । पैताला खसोखास विमिथीकरणको योगफल हो ।
कथाकारसँग सामसोन र डेलिलाह अथवा माक्सोती उर्फ समृद्धि र उत्किलन विकको प्रेम कहानीमात्र होइन फोटोसँग विवाह गर्दै फोटोलाई नै सुम्सुम्याउन विवश सुकलालका डायरीहरू पनि छन् जसका माध्यमबाट लाहुरे संस्कृति र त्यसले मान्छेको यौवनमा पारेको असरको सुन्दर वर्णन गरिएको छ । सुकलाल आफ्नो डायरीमा पोखिन्छ, 'लाहुरेहरूले समय, सीप र इमानदारी मात्रै कहाँ बेचेका हुन्छन् र ? रहरहरू पनि त बेचेका हुन्छन् । बैंस पनि त बेचेका हुन्छन् ।'
आख्यानमा सामान्य लाग्ने जीवन र जगत्का किस्साहरूलाई कल्पनाको उच्च उडानमा उचालेर कथा-लोकका आदिम क्यारेक्टरहरूमा छोडिएको छ । पात्रहरू परालौकिक भए पनि ती सबै कहीँ न कहीँ लौकिक धरातलकै नोस्टाल्जिक प्रतिविम्बहरू हुन् । जीवन र जगत्का ज्ञात-अज्ञात भ्रामिक सत्य हुन् । जादुमय यथार्थ हुन् । क्यारेक्टरले उभिएको भू-स्पेस 'मिस्टरियस' जरुर छ परन्तु उनीहरूले बाँचेको जीवन 'सिरियस' छ । जैविक र भौतिक आवश्यकतामा उनीहरू चल्मलाएका छन् । पहिचान र प्रभुत्वको खोजीमा दिन बिताएका छन् । यायावरिक बनेका छन् ।
जीवन-मृत्यु रहस्यको गर्भबाट शून्यतातर्फको चिन्तनमा पैताला केन्द्रित भएको छ । उच्च बौद्धिक पाठकको अपेक्षा उपन्यासले राखेको छ । साधारण पाठकलाई पाचन चूर्णको आवश्यकता देखिन्छ ।
न्यारेटरकृत ससाना किस्साहरूको सिंगो फटिक हो- पैताला । सृष्टिकै पहिलो खुड्किलो हो- पैताला । मानव सभ्यताको जन्मसँगै सबैभन्दा प्राचीन अपितु अर्वाचीनमा स्थापित दर्शन हो- पैताला । तन्त्र-मन्त्र-यन्त्रको चेन अफ कमान्डमा स्थापित कमान्डो हो पैताला । लेखक स्वयंको स्मृति र विस्मृतिको भण्डार हो- पैताला । अनेकौं सांस्कृतिक-तान्त्रिक विधिको एउटै स्तम्भ हो- पैताला । इतिहास, दर्शन र मिथकको फ्युजन हो- पैताला । मानव सभ्यताको इतिहास, पूर्वीय-पाश्चात्य दर्शन, ज्ञान-विज्ञान साथै सांस्कृतिक तथा पौराणिक मिथकमा पैताला बुनिएको छ । यसैमा क्यारेक्टर, प्लट र टाइमिङ सेट गराएको छ । फिक्सनको डिक्सन (भाषा) पनि उसैगरी तुनिएको छ ।
कथाको मुख्य खोज, (१) सञ्जीवनी विद्याको सिद्धि र (२) एनएचसिक्ससीवाई (चिस्याउने अणु) को सफल प्रयोग गर्नु हो । यसको लागि उसले तन्त्रको सिम्बोलिक प्रयोग गरेको छ र अल्जाइमरको सिकार बनेकी न्यारेटर स्त्रीकालाई उपस्थित गराएर आख्यानकारको छाया पात्र जोस्मणिलाई उपर्युक्त जिम्मा लगाइएको छ । सिंगो आख्यान अलेक्जेन्डर वालेटले जोस्मणिको नाउँमा लेखेको ६ वटा चिठीको केन्द्रियतामा विसर्जन भएको छ ।
यही चिठीको रहस्योद्घाटनमा सम्पूर्ण आख्यानिक जालो बुनिएको छ । जहाँजहाँ चिठी छोडिएको छ, तहाँतहाँ एउटा न एउटा विचित्र घटना जोडिएको छ । कसलाई कहाँ हुत्याउने, कसलाई कहाँ तन्काउने, कसलाई कहाँ भर्ती गराउने, कसलाई कहाँ दिवंगत गराउने आदि महान् षड्यन्त्र आख्यानकार र स्त्रीका न्यारेटर बसेर सेटिङ गरिएको छ । यसले गर्दा पाठकलाई रहस्य बुझ्न समस्या नपरिजाला । बाठो छ आख्यानकार । पाठकलाई फकाई-फकाई लैजान्छ र गुमनाम बनाइदिन्छ । अल्झाइदिन्छ घरिघरि अनि आपंैm भन्छ- मैले गलत गरेँ, माफ पाऊँ है । हामी प्रस्ट बुझ्न सक्छौं, आख्यानकार चिठीको खोजमा निस्कने एकमात्र उद्देश्य 'पैताला दर्शन'को सफल प्रयोग हो । जहाँ-जहाँ चिठी पुग्छ, तहाँ-तहाँ पैताला पुग्छ । जसकै बलमा कथाहरू बुनिएका छन् । कथाहरू सुनिएका छन् ।
सिंगो प्लटमा लाहुरे संस्कृति, जनकपुर धामको कुण्डीय बयानमात्र होइन हिमाल, पहाड र तराईका आदिम संस्कृति र मिथकीय पहिचानको खोजी पनि गरिएको छ । सुन्दरी प्रोडक्सनका बागी क्यारेक्टर लोथिराको भनाइ सौन्दर्यको सापेक्षित वकालत हो । लोथिरा भन्छे, 'आँखा चिम्लनोस् । आँखाले नै मान्छेले आफ्नो अवधारणा बनाउँछ । आँखाले नै मान्छेले सौन्दर्य चेतना निर्माण गर्छ । आँखाबाटै मान्छेले आधा विश्वास बनाउँछ । आँखाबाट प्राप्त विश्वास र सौन्दर्य चेतनाबाट मुक्त नभईकन मान्छे प्राकृत हुन सक्दैन ।' आजको कथित मिडिया सुन्दरीका अगाडि संसारकै कुरूप मानिएकी लोथिराको उपर्युक्त भनाइ आफैंमा गतिलो झापड हो ।
माथिका सन्दर्भ पैतालाका मूल सन्दर्भ हुन् । उठाइएका विषयवस्तु हुन् । पैतालासँग अनेकौं प्रश्न छन् । उत्तरहरू छन् । डेरिडाले मानेको टेक्स्ट सत्यभन्दा माथि मिचेल फुकोको टेक्स्ट बाहिरका छरपस्ट विचारहरू आख्यानमा पाइन्छन् । आख्यान क्यारेक्टर कामरेड प्रचण्ड भन्छ, 'जोस्मणि बाबु, संसारका सबै प्रश्नको उत्तर हुँदैन । वास्तवमा जीवनमा महत्वपूर्ण प्रश्नहरू तिनै हुन्, जसको उत्तर मान्छेलाई थाहा हुँदैछ ।' यो सत्य हो।
भनेर-जानेर सबै कुरा सकिँदैन । आज हामी असाध्यै विद्वान् भइटोपलेका छौं । हामीलाई थाहा नभएको केही पनि छैन । थाहा भएको केही पनि छैन । भर्चुअल प्रविधिले हामीलाई स्वयंमा महान् विद्वान् साबित गराइदिएको छ । यो पनि हामीलाई थाहा छ- पूर्वीय सभ्यता, दर्शन, ज्ञान-विज्ञानको मुख्य विधान वेदलाई केलाउँदा-केलाउँदै शंकाराचार्यले दाह्री फुलाए । मर्ने बेलामा घोषणा गरिदिए- ब्रह्म सत्य जगत् मिथ्या ।
'म दिनदिनै डिप्रेसनको सिकार हुँदै गएको छु । यस्तो लाग्न थालेको छ, म मेरै पात्रको वजनले थिचिएर मर्दै छु', बारम्बार आख्यानकारलाई यही डरले सताइरहेको छ । कतिपय ठाउँमा उपन्यासको पाना तन्किएको छ । दिवंगत श्रीमती सारिका, जुलुम लामा, माक्सोती बूढी, ठकवक भएर उभिएका मौनी बाबा, इडा र पिङ्ला, पागौलिया आदि क्यारेक्टरको किस्सामा भौतारिएको छ न्यारेटर । पात्रहरूको व्यवस्थापन गर्दागर्दै पात्रकै वजनले च्यापिएको छ । कतैकतै यिनले बनाएको रिसर्च डिजाइन फंक्सनलेस भएको छ । सामग्री थुपारिदिन्छन्, वर्गीकरण पनि गरिदिन्छन् तर भेरिफिकेसन (सत्यापन) को अभाव देखिन्छ । को कहाँ उत्रने ? को कहाँबाट चढ्ने ? अत्तोपत्तो केही हुँदैन । यति हुँदाहुँदै पनि आफ्ना पाठकहरू नबिच्कियून् भन्ने चेत यिनमा छ ।
एउटा बजारिया आरोप छ- नगरकोटीले निल्यो गनेसलाई । तर पैताला पढिसक्दा कतै कदाचित् त्यस्तो अनुभूति हुँदैन । तर 'नगरकोटी' र 'गनेस' एउटै स्कुलका विद्यार्थी भने देखिन्छन् । दुवैले परम्परागत नेपाली कथावाचनको शैलीलाई चुनौती दिएका छन् । रहस्य र स्वैरकल्पना दुवैको मिलनबिन्दु हो । यिनका गुरु एउटै छन् ः जस्तै गाब्रियल ग्रासिया मार्खेज । जसको छत्रछाहारीमा यिनीहरू बेलाबेला उफ्रिरहेका छन्, भारतवर्षको नेपालखण्डमा । एउटा घाटतिर गएर तपस्या गर्छ अर्को हिमालतिर । यी दुवै बडे मिया-छोटे मिया हुन् जसले उत्तरआधुनिकताको म्यानभित्र जादुमय-यथार्थको तरबार नचाइरहेका छन् । यी दुवै आदिम क्यारेक्टरका भुताहा स्वामी हुन् । स्वयंमा फकिर हुन् । गोत्रविहीन । गृहविहीन ।
समकालीन आख्यानमा पाइने प्रेम र यौनको बोलवालभन्दा माथि उठेको छ 'पैताला' । जीवन-मृत्यु रहस्यको गर्भबाट शून्यतातर्पmको चिन्तनमा यो केन्द्रित भएको छ । उच्च बौद्धिक पाठकको अपेक्षा उपन्यासले राखेको छ । साधारण पाठकलाई पाचन चूर्णको आवश्यकता देखिन्छ । यद्यपि नाटकीय संवाद र पूर्वदीप्तिमा वर्णित संस्मरणात्मक कहानीले उपन्यासको ओजलाई जीवन्त तुल्याएको छ । प्रचलित स्वादभन्दा भिन्न स्वाद उपन्यासका पाठकले चाख्न जरुर पाएका छन् ।
साना किस्साहरूको तन्तुबाट निर्मित पैतालाको पाठकीय धैर्य उस्तै हुनुपर्छ जस्तो धैर्य जोस्मणिको छ । पागौलिया चरित्र नबोकेसम्म उपन्यासको पठनले चरमोत्कर्षमा पुर्‍याउँदैन । बीचबीचमा पाठकको धैर्य टुट्न सक्छ, जसरी जोस्मणिको ध्यान टुटेको छ गुफामा पुगेपछि । यही भएर आख्यानकार बीचबीचमा पाठकलाई सम्झाउँछ, यसको पूर्वापर सम्बन्ध फलानो-फलानो हो... ।
'पैताला' दर्शन नयाँ आविष्कार भने होइन । यद्यपि दर्शनकै रूपमा स्थापना नगरिएको र अज्ञातप्रायः रहेको स्थितिमा यसलाई आख्यानकारको ब्रह्मले उत्खनन गरिदिएको जरुर हो । यसलाई उनले दर्शनको रूपमा स्थापित गर्न खोजेका छन् । पूर्वस्थापित दर्शनको खण्डन-मण्डन गर्दै आफूले पैताला दर्शन स्थापना गर्नुको औचित्य र महत्वको पुष्टि गर्ने चेष्टा गरेका छन् । उनले वालेटको प्रयोगशालामा बसेर सञ्जीवनी विद्याको सिद्धि र एनएचसिक्सिवाईको व्यावहारिक प्रयोग सफल तुल्याउन सके भने पैतालाले नयाँ उचाइ कायम जरुर गर्नेछ ।
यिनले प्रयोग गरेको स्वैरकाल्पनिक तथा उडन्ते टेक्निक आख्यानको क्षेत्रमा माध्यमिककालीन समयका आख्यानकार गिरीशवल्लभ जोशीको 'वीरचरित्र' अथवा आधुनिक आख्यानकार धु्रवचन्द्र गौतमका 'अलिखित', 'अग्निदत्त+अग्निदत्त' जस्ता उपन्यासमा पनि पाइन्छ । 'ठकवकतन्त्र'को खोजी यिनको मौलिक खोजी हो । यसले हामीसँग भएका प्राचीन संस्कृतिको उत्खनन गरेको छ÷गर्न आह्वान गराएको छ । बाँकी पाठकको अदालतले पनि सुझाउनेछ । लेखकको आगामी पुस्तकले पनि यिनको दर्शन दीर्घकालीन दर्शन हो÷होइन भन्ने पुष्टि जरुर गर्नेछ ।

शनिवार, असार ३, २०७४

Published at: 

मिलान कुन्देराको 'ठट्टा'

-- अभय श्रेष्ठ


तपाईंले असाध्यै प्रेम गरेकी केटी १५ वर्षपछि एक्कासि भेटिई भने कस्तो होला? त्यो पनि सैलुनमा तपाईंकै सेवा गरिरहेको स्थितिमा? मिलान कुन्देराको उपन्यास 'जोक' यस्तै पे्रममय हार्दिक वर्णनबाट अगाडि बढ्छ। यो, त्यस्तो मनमोहक उपन्यास हो जुन पढ्दा नयाँ प्रेमिकासँग लामो सहयात्रा गर्न पाएझैँ लाग्छ। आरोन असरले अंग्रेजी अनुवाद गरेको ३१७ पृष्ठको उपन्यास जति पढ्यो त्यति रहस्य र हार्दिकताको पोयो फुक्दै जान्छ। (उपन्यासको पहिलो भाग पढिसकेपछि म कति डुबेँ भने अगाडि अक्सफोर्ड एड्भान्स्ड लर्नर्स डिक्सनरी राखेर लगातार १६ घन्टा पढिरहेँ)।
लुसीको उदास कथा

१५ वर्षपछि लुडभिक जान प्रागबाट कुनै कार्यक्रमका लागि मातृसहर मोराभिया आउँछ। ऊ दाह्री काट्न नाउकहाँ जान्छ। एउटी केटी उसको दाह्री काट्न थाल्छे। केटीलाई ऐनाबाट देख्दा झसंग हुन्छ। के यो उसकै प्रेमिका हो? त्यसो त त्यसको अनुहारमा पहिलेजस्तो झरिलो बहार थिएन। केही मोटी भएकी थिई र अनुहार फुस्रो भएको थियो। तर, त्यसको सातो गएजस्तो लाग्ने जुन अनुहार थियो, त्यो पनि एउटा प्रमाण थियो। त्यसले ऊसँग फेरि आँखा जुधाइन। सबै कुराबाट उदास भएर टोलाउन थाली। पैसा लिँदा पनि ऊतिर हेरिन जसका कारण लुडभिकले बोल्ने मौका पाएन। साथी कोस्तकालाई सोध्यो, 'मेरो दाह्री काट्ने केटीको नाम लुसी सेबेत्का हो?'

'त्यो यस सहरमा अर्कै नामले चिनिन्छे,' कोस्तकाले भन्यो, 'तर उसको खास नाम त्यही हो। कसरी चिन्यौ?'

अस्ट्रभा सहरमा भेटिएकी लुसी कति दुःखी, उदास तर प्यारी थिई! ऊ एक्कासि त्यहाँबाट गायब भएकी थिई। त्यसबेला रुसमा अत्यन्तै प्रसिद्ध फिल्म 'कोर्ट अफ अनर' हेर्ने क्रममा सिनेमा हलमा भेटिएकी थिई। लुडभिक त्यससँग एकतर्फी प्रेम गर्न थाल्यो। सानैमा बाबु गुमाएको लुडभिक धनी व्यापारीकी पत्नी बनेकी फुपुका कारण बुर्जुवाविरोधी बन्यो। ऊ कम्युनिस्ट पार्टीको सदस्य बन्यो। आफ्नी सहपाठी मार्केटालाई पोस्टकार्डमा अनेक दर्शन छाँटेर दिन थाल्यो। एकपल्ट उसले लेखेको थियो, 'आदर्श जनताको अफिम हो। स्वस्थ वातावरण आफै दुर्गन्धित छ। ट्रात्स्की जिन्दावाद!' मार्क्सले त धर्मलाई अफिम भनेका थिए। के लुडभिकको अभिव्यक्ति पार्टीविरुद्ध छैन? किन छैन? विचरा उसले त केटीलाई आकर्षित गर्न ठट्टास्वरूप यस्तो लेखेको थियो। पार्टीबाट मात्र होइन, ऊ विश्वविद्यालयबाटै अपमानपूर्वक निकालियो। उसलाई सुधार्न सेनामा भर्ती गरियो र अस्ट्रभाको खानीमा कडा काम लगाइयो। आमा मर्दा पनि घर जान पाएन। यसै क्रममा मरुभूमिमा मरुद्यानजस्तै भेटिएकी थिई लुसी। कुनै कारखानामा काम गर्ने त्यो केटी गरिब, दुःखी, मायालाग्दी, राम्री र इमानदार थिई।

सेनाको कमान्डर असाध्यै कडा थियो। ऊ लुडभिकलाई बिनादोष बारम्बार सजाय दिन्थ्यो। दुई महिनापछि बल्ल छुट्टी पाएको लुडभिकले लुसीलाई उसकै कोठामा भेट्यो। कोठा निकै सजाइएको थियो। उसलाई लाग्यो, लुसी भव्य समारोहबीच आफ्नो कुमारित्वलाई बाईबाई गर्न चाहन्छे। उसले लुसीलाई खाटतिर तान्यो। अचम्म, लुसी आफूलाई जोगाउन भिडन्त गर्न थाली! समर्पणका बेला केटीले गर्ने त्यो, सामान्य नाटकमात्र थिएन, साँच्चिकै भिडन्त थियो। उसले फकायो, केही सफल पनि भयो। लुसी फेरि संघर्षमा उत्रिई। तेस्रो प्रयासमा शान्त भई। 'मैले उसको स्कर्ट फर्काइदिएँ र घुँडाभन्दा आठ वा नौ इन्च माथि किस पनि गरेँ', लुडभिक भन्छ, 'त्यसपछि उसले एक लाइन पनि माथि उक्लिन दिइनँ।' केटीले अर्को कुनै दिनको भाका राखी। लुडभिकले एउटा मजदुरको घरमा व्यवस्था मिलायो। नभन्दै लुसी आई । लुडभिक भागेर त्यहाँ पुग्यो। केटी थरथर काँप्न थाली। लुडभिक यसपालि पनि सफल भएन। केटीले रुँदै भनी, 'तिमी मलाई माया गर्दैनौ, मात्र भोग्न चाहन्छौ।' वाक्क भएर लुडभिकले उसलाई बाहिर जाने अनुमति दियो।

केही दिनपछि उसलाई आफ्नो गल्ती महसुस भयो र लुसीलाई भेट्न गयो। लुसी सहर छाडेर हिँडिसकेकी थिई। कता गई? कसैलाई थाहा भएन।

लोककथाकी नायिका

पश्चिमी बोहेमियाको एउटा फार्म हाउसमा अचम्मको कथा सुनियो। एकपल्ट युवकहरूले परालको कुन्युबाट अन्दाजी २० वर्षे युवती निस्केर जंगलतिर दौडँदै गएकी देखे। हेर्दाहेर्दै त्यो अलप भई। अर्कोपल्ट एक महिलासँग त्यसले रोटी मागी। महिलाले सोधिन्, 'कहाँ जाँदैछ्यौ नानी?' केटीले भनी, 'मेरो बाटो लामो छ। मैले आफूसँग भएको सबै पैसा हराएँ।' एउटा गोठालो माथि पहाडमा रोटी, नौनी र दूधको जग रुखमुनि राखेर भेडाको बथान धपाउन गयो, फर्कंदा ती सब गायब थिए। केटाकेटीका लागि त्यो अब किंवदन्तीकी नायिका भई। उनीहरूले त्यसको नामै राखिदिए, भ्यागाबन्डेला। घरबारविहीन केटी। उनीहरू पोलेको आलु र अरु खानेकुरा एक भाग त्यसका लागि छुट्याउँथे र हरेक पल्ट बेग्लाबेग्लै ठाउँमा राख्थे। भोलिपल्ट सधैँ त्यो खानेकुरा त्यहाँ हुँदैनथ्यो।

यो जादुमय कथा धेरै लम्बिन पाएन। फार्म हाउसका निर्देशक र जिल्ला राष्ट्रिय समितिका अध्यक्षले निरीक्षणका क्रममा एक दिन एउटा कोठामा पुरानो ब्याग, त्यसभित्र थोत्रा केही कपडा र चिठी भेटे। चिठी कसको नाममा थिए? ढिलोसम्म उनीहरू चियो गरेर बसे। केटी फेला परी। हरे त्यो दुःखी त हाम्रै प्यारी लुसी पो थिई! फार्महाउसको प्रबन्धक बनेको धर्मभीरु कोस्तकालाई उसले सबै बताइ। उसको घर चेबमा थियो। बाबु सानैमा बिते। आमाले अर्को बिहे गरिन्। सौतेलो बाबु र आमा उसलाई सधैँ कुट्न थाले। ऊ घर छाडेर केही आवाराको समूहमा पुगी। १६ वर्ष पुगी। केटाहरू २० देखि १६ सम्मका थिए। एक दिन रक्सी खाएर समूहको नाइकेले उसलाई लुगा फुकाल्न आदेश दियो। ऊ रुन थाली। ऊ त यिनीहरूलाई नै आफ्नो संरक्षक ठान्थी। त्यसले बलात्कार गर्योो। त्यसपछि उमेरअनुसार पालैपालो तिनीहरू ऊमाथि खनिए। कान्छोको पालामा प्रतिकार गरी। त्यसले उसलाई मुखमा जथाभावी मुक्का हान्यो र अझ बढी क्रूरतापूर्वक बलात्कार गर्यो । यो क्रम नियमित चल्न थाल्यो। यसै क्रममा चोरीका सामानसहित तिनीहरू प्रहरी फन्दामा परे। केटाहरू जेल परे। केटीलाई सुधारालय राखियो। ऊ इमानदार थिई, यसकारण चाँडै नै मुक्त भई। इमानदारी पनि कस्तो अभिशाप! अब ऊ कहाँ जाओस्? त्यसपछि ऊ ओस्ट्रभा पुगी र कारखानामा काम गर्न थाली।

ऊप्रति एउटा सिपाही आकर्षित भयो जसले उसलाई बलात्कारको प्रयास गरेको थियो। त्यसो त ऊ पनि त्योसँग एक्लै कोठामा ढोका बन्द गरेर बसेकी थिई नि! के ऊ त्यसलाई प्रेम गर्थी? अँहँ, आफ्नो जीवनको शून्यताबाट वाक्क भएरमात्र उसले त्यसको संगत स्वीकारेकी थिई।

लुसीबारे फार्म हाउसमा धेरै प्रश्न उठ्छन्। सुधारालयमा, ओस्ट्रभामा कारखाना र डर्मिटरीमा पनि उसको रेकर्ड राम्रो थियो। ओस्ट्रभामा केबल एकपल्ट चिहानबाट फूल चोर्दै गर्दा समातिएकी थिई। फार्म हाउस उसलाई सुरक्षामात्र दिँदैन, काम र माम पनि दिन्छ। कारखानामा सबैजना ऊप्रति असल व्यवहार गर्छन्। खालि कहिलेकाहीँ जिस्कँदा उसको विगत कोट्याइदिन्छन्। लुसी आफूलाई दोषी महसुस गर्र्छे।

कुनै दिन उसले आवारा समूहलाई विश्वास गरेकी थिई। ती अत्यन्तै क्रूर साबित भए। तिनीहरूको पनि साथ छाडेपछि कहाँ जाने? यस कारण तिनीहरूका लागि 'स्कर्ट खोलिदिएकी' थिई। पछि केटाहरूलाई बानी लाग्यो। तिनीहरू उसलाई निलडाम हुनेगरी कुट्न पनि थाले। प्रहरीसामु उल्टै उसलाई चेबकै कलंक भन्न थाले। यस कारण उसलाई सुधारालय पठाइएको थियो। व्यवस्थाद्वारा सताइएको दुःखी लुडभिक पनि तिनै चोरजस्तै क्रूर थियो। हरेकपल्ट ऊ लुसीको 'कुमारी बैँस' भंग गर्न चाहन्थ्यो। दुःखी मनको शून्यताबाट थाकेर संगत स्वीकार्नु बेग्लै कुरा हो, नत्र लुसी त्यसलाई पनि प्रेम गर्दिनथी।

पादरीको छोरा कोस्तका प्रागको एउटा विश्वविद्यालयमा प्राध्यापक थियो। ईश्वरमाथि उसको आस्था थियो। आन्दोलनका क्रममा उसले कम्युनिस्ट विद्यार्थीलाई साथ दिएको थियो। कम्युनिस्ट सत्तामा आएपछि उसको आस्थाबारे प्रश्न उठाउन थालियो। लुडभिक उसको पक्षमा उभियो। कोस्तकाले त्यहाँ राजीनामा गरेर पश्चिमी बोहेमियाको फार्म हाउसमा प्रबन्धकका रूपमा काम थाल्यो। लुसीलाई उसले ठूलो सहयोग गर्योा। नैतिक बल दिएर उसैले जीवनप्रति आशा जगाइदियो। आइमाईहरू सदैव प्रेम चाहन्छन्। त्यसको बदला उनीहरू कैयौँ गुणा बढी पे्रम दिन्छन्। अनन्त दुःख र त्रास भोगेकी एउटी केटीलाई यस्तो आत्मीयता पाएपछि के चाहियो? ऊ कोस्तकालाई प्रेम गर्न थाली। उसैसँग समर्पित पनि भई। कोस्तकाका एक छोरा र ऊभन्दा छ वर्ष जेठी स्वास्नी प्रागमा थिए। यसैबीच सरकारले फार्म हाउसको डाइरेक्टरमाथि अनेक अभियोग लगायो, जसको प्रमुख तारो थियो धर्मभीरु कोस्तका। निर्देशकले उसको बचाउ गर्योो। तर, यी सब सहन कोस्तका तयार भएन। राजीनामा गरेर ऊ मोराभिया पुग्यो जहाँ लुडभिकको सहयोगले एउटा अस्पतालमा काम गर्न थाल्यो।

लुसीले बिहे गरी। लोग्ने सहरमा कुनै व्यवसाय गर्न चाहन्थ्यो। यस कारण उसले फार्म हाउसको काम छाड्नुपर्योो। उनीहरू मोराभिया आए जहाँ लुसीले हेयरड्रेसिङको काम थाली। लोग्ने दुष्ट पर्योल। लुसीमाथि त्यो अत्यन्तै क्रूर व्यवहार गर्थ्यो। अभागी लुसीले कहिल्यै सुख पाइन। तर, अब ऊ कोस्तकालाई आफ्नो दुःख सुनाउँदिनथी किनभने कोस्तका दुःखी भएको ऊ हेर्न सक्दिनथी। साँच्ची ऊ किन मोराभिया आएकी थिई? बिहे अरुसँगै गरेकी थिई, तथापि ऊ कोस्तकालाई नियमित सुन्न, भेट्न र हेर्न चाहन्थी। कठै लुसीको प्रेम!
लुडभिक, हेलेना र जेरोस्लाभ
सेनामा सजाय सकिएपछि लुडभिकले विज्ञानमा डिप्लोमा गर्योक र अनुसन्धानमूलक संस्थामा वैज्ञानिकको राम्रो जागिर भेट्यो। लुडभिकको सहपाठी पाभेल जेमानिककी स्वास्नी हेलेना प्राग रेडियोमा रिपोर्टर थिई। लुडभिकसँग उसको हिमचिम बढ्यो। मोराभियाको एउटा समारोहमा रिपोर्टिङका लागि पुगेकी हेलेनाको शरीरसँग लुडभिकले खुब खेल्यो। पाभेलले हेलेनालाई छाडिसकेको थियो। उसले भर्खरकी केटीलाई कान्छी बनाएको थियो। लुडभिकसँगको सम्बन्धले हेलेना खुसी भई। तर, लुडभिकले यो सबै बिर्सिदिन आग्रह गरेपछि ऊ ज्यादै निराश भई। उसले बिष पिई। खबर पाउनेबित्तिकै लुडभिक हेलेनाकहाँ पुग्यो। हेलेनाले बिष भनेर पिएको अर्कै औषधि परेछ। उसले लुडभिकलाई घृणा गरी। सायद अब ऊ अनुहारभरि चायाँ परेको आफ्नै प्राविधिक सहयोगी जिन्द्रासँग समर्पित हुन्छे, जो ऊप्रति एकतर्फी आकर्षित भएको थियो।
जेरोस्लाभ मोराभियामा स्थानीय संगीत टोलीको नाइके थियो जसमा कुनै दिन लुडभिक पनि सदस्य थियो। ऊ त्यहाँको राजा चुनिएको थियो। हंगेरीका राजाले त्यो ठाउँ छाडेपछि जिल्ला समितिको सिफारिसमा मोराभियामा नयाँ राजाको राज्याभिषेक गर्ने चलन थियो। लुडभिकको जिन्दगीमा एक्कासि आँधीबेरी आयो जसले पछि उसलाई अराजकतावादी बनाइदियो। वर्षौंपछि मातृसहर आएको लुडभिकले आफूलाई नदेखेझैँ गर्दा जेरोस्लाभ निकै दुःखी भएको थियो। जेरोस्लाभले नोकर्नी केटी भ्लास्तासँग बिहे गरेको थियो। तिनीहरूका छोरा भ्लादिमिरलाई पछि राजा चुनियो। राज्याभिषेक समारोह भव्य भयो। यही कार्यक्रमको रिपोर्टिङका लागि हेलेना मोराभिया आएकी थिई जहाँ ऊ लुडभिकसँग फसी। भ्लादिमिरले राजा हुन अस्वीकार गरेको रहेछ। ऊ त आफ्नै साथीको मोटरसाइकलमा बसेर कतै भागिसकेको रहेछ। राजा सजाउने बेला भ्लास्ताले जेरोस्लाभलाई कोठाभित्र छिर्न दिएकी थिइन। आफ्नै छोरा र स्वास्नीले आफूलाई धोका दिएकोमा ऊ अत्यन्तै दुःखी भयो। स्थानीय होटलमा बेलुकी उसको टोलीले संगीत दिनु थियो। लुडभिकले पनि उसलाई साथ दियो। संगीत दिँदादिँदै जेरोस्लाभ ढल्यो। उसलाई हृदयाघात भएको थियो। मानिसहरू रक्सीले मातेर संगीतको तालमा नाचिरहेका थिए, तर त्यही संगीत टोलीको नाइके हृदयाघात भएर मृत्युको मुखमा पुगेको घटनाबारे तिनीहरूलाई चासो थिएन।
कुन्देराको शक्ति
कुन्देराको लेखनमा त्यो शक्ति छ, जसले हरेक वर्गका पाठकको मर्मलाई छुन्छ। 'जोक'का सात भागमा प्रत्येक पात्र आआफ्ना दृष्टिबाट कथा भन्दै जान्छन्। पहिलो भागमा लुडभिक, दोस्रोमा हेलेना, तेस्रोमा लुडभिक, चौथोमा जेरोस्लाभ, पाँचौँमा लुडभिक, छैठौँमा कोस्तका, सातौँमा लुडभिक, जेरोस्लाभ, हेलेनाको माध्यमबाट आत्मगतरूपमा कथा अघि बढ्दै जान्छ। खट्कने कुरा के छ भने उपन्यासकी सबैभन्दा शक्तिशाली चरित्र लुसीको माध्यमबाट भने कथा अगाडि बढ्दैन। उसबारे सारा कथा लुडभिक र कोस्तकाले मात्र भन्छन्। हेलेनाको सट्टा लुसीलाई उभ्याउनु जरुरी थियो।
सन् १९२९ मा जन्मेका कुन्देरा किशोरवयमै चेक कम्युनिस्ट पार्टीका सदस्य भए। पार्टीविरोधी गतिविधि गरेको आरोपमा १९५० मा अर्का प्रसिद्ध स्रष्टा जान ट्रेफुल्कासँगै निकालिए। ट्रेफुल्काले ह्यापिनेस रेन्ड अन देम (१९६२) तथा कुन्देराले द जोक (१९६७) मा यही घटनालाई मूल विषय बनाए। सन् १९५६ मा कुन्देराले फेरि पार्टीमा प्रवेश पाए। सन् १९७० मा फेरि निकालिए। सन् १९७५ देखि उनी पेरिसमा छन्। विडम्बना, समाजवादको पतनसँगै चेकोस्लोभाकिया दुई टुक्रा भएको छ। धन्न रुसजस्तो १५ टुक्रा भएन।
समाजवाद र महिलाप्रति असहिष्णुताका कारण कुन्देराको लेखन सधैँ विवादास्पद रह्यो। उनका धेरैजसो आख्यानमा चेकोस्लोभाकियाको तत्कालीन समाजवादमा व्याप्त 'जडता'को खिल्ली उडाइएको छ। त्यसबाट प्रभावित जीवनका यावत तरंग उनका सिर्जनामा छताछुल्ल छन्। उनका उपन्यासलाई कम्युनिस्टविरोधी भन्दा फरक पर्दैन। विवाद आफ्नो ठाउँमा छ, तथापि उनको लेखनको 'इपिक्यालिटी' अनुपम छ। उनको लेखनमा बेजोड वर्णन क्षमता, मनमोहक भाषाशैली, तीक्ष्ण व्यंग्यात्मक मार र हास्यरस छ। त्यसकै लागि पनि उनलाई सबै वर्गका पाठक र लेखकले पढ्नु जरुरी छ। समीक्षकहरूले उनलाई संसारकै सबैभन्दा रमाइला र सबैभन्दा उदास लेखक भनेका छन्। धेरैपल्ट मनोनित भए पनि अन्ततः पन्छाइएका उनी आउँदा कुनै पनि वर्ष नोबेल विजेता हुन सक्छन्।


Thursday, August 24, 2017

पैताला गाथा

पोखरा, ११ जेठ । 
लेखक गनेस पौडेलको बजारमा आउन लागेको उपन्यास ‘पैताला’को भिडियो प्रचार सामाग्री सार्वजनिक भएको छ । उपन्यासको ‘थिम’ बोकेको गीतमार्फत यसको प्रकाशक तथा वितरक संस्था बुक हिलले प्रचारलाई तिव्र बनाएको हो । 
प्रकाशक संस्था ‘बुक हिल’ र ‘जक्शन टिभी’ले सँयुक्त रुपमा यो भिडियोलाई सार्वजनिक गरेका हुन् । पुष्पन प्रधानको संगीत सँयोजन र गायनमा तयार भएको गीतमा अभिनेता कपिल शर्मा फिचर छन् । भिडियोलाई अरुण गिरीले निर्देशन गरेका हुन् भने मिलन शंकरले खिचेका हुन् । नेत्र गुरुङ यो भिडियोको सम्पादक हुन् । 


निर्देशक गिरीले अभिनेता कपिल शर्मालाई भिडियोमा जोगीको भेषमा प्रस्तुत गरेका छन् । ‘किताबको थिम अनुसार नै हामीले भिडियो तयार पारेका हौँ ।’ निर्देशक गिरीले भने–‘दर्शकले भिडियो हेरसँगै किताब पढ्ने हुटहुटी जाग्ने हामीले विश्वास लिएका छौँ ।’ भिडियोमा अभिनेता कपिल शर्मा तन्त्रमन्त्र जान्ने जोगीको रुपमा देखिएका छन् । यो गीत लेखक गनेस पौडेल आफैले लेखेका हुन् । 
गनेस पौडेलको पहिलो उपन्यास ‘पैताला’ जेठको १३ गतेदेखि बजारमा आउँदैछ । उपन्यासको प्रकाशकले विशेष समारोहका बीच काठमाण्डौको शिल्पी थियटरमा यो पुस्तकको विमोचन गर्ने कार्यक्रम राखेको छ । काठमाण्डौ बाहिरको बजारमा १५ गतेसम्म उपन्यास आईसक्ने लेखक पौडेलले जानकारी दिए । 
तन्त्रमन्त्रको बारेमा लेखिएको उपन्यास भएकोले यसले पाठकको ध्यान खिच्नेमा आफु ढुक्क रहेको लेखक बताउँछन् । ‘मैले जानेअनुसार नेपालमा तान्त्रिक उपन्यास कमै मात्र छन् । बजारमा आईरहने उपन्यासको तुलनामा यो पाठकको लागि फरक स्वाद हुन सक्छ ।’ पौडेलले भने । लेखक आफैँ चाँहि यो उपन्यासलाई रहस्य विज्ञान (मिस्टिसिज्म)मा आधाारित कृति भन्न रुचाउँछन् । 
गनेस पौडेल पोखरामा राम्रो लेखक सँगै कवि तथा गीतकारको रुपमा चिनिन्छन् । लेखकको लामो समय यता विभिन्न पत्रपत्रिकाहरुमा फुटकर रचनाहरु प्रकाशित हुँदै आएका छन् । कृतिको रुपमा पहिलो कृति भएपनि यो उपन्यासको प्रकाशक संस्था ‘बुक हिल’ले कृति पढिसकेपछि पाठकहरुलाई लेखकप्रति कुनै गुनासो नहुने दाबी गरेको छ । लेखक गनेस पौडेल ¥याण्डम रिडर्स सोसाइटीका पुर्व अध्यक्ष समेत हुन् । उनी शैक्षिक क्षेत्रसँग पनि आबद्ध छन् । लेखक पौडेलले पोखरामा देउराली एग्रो रिसोर्ट समेत संचालन गर्दै आएका छन् । 
Published at: 

दौडाहामा गनेस

बुटवलको अन्तरक्रियामा बोल्दै 

स्वभावले अस्थिर र अराजक मानिने गनेस पौडेल छिटपुट लेखहरूमा उदाउँथे । उनले आख्यान लेखनको सुरुवातमा पहिलो कृति 'पैताला' निकाले ।
हालै राजधानीमा विमोचनपछि पोखरा र बागलुङ हान्निएका उनी त्यही दौडाहामा छन् । 'पहिले लेख्ने विषय जुटाउन प्रसंग खोज्दै हिँडियो, लेखेर मात्रै नहुने, 'उनले भने, 'अब लेखोटमाथि उठ्ने प्रश्नको उत्तर दिँदै हिँड्नुपरेको छ ।'
जीवन दर्शनसँग जोडिएको तन्त्र, मन्त्र र यन्त्रमाथिको प्रयोग नै आफ्नो कृतिको विशेषता रहेको भनिरहेका उनलाई लेखक कुमार नगरकोटीको प्रभाव परेको प्रश्न बराबर आउँछ । 'मलाई प्रभावित भन्न मिल्दैन, नगरकोटी दाइ एक्लै हिँडेको बाटोको अर्को यात्री भने हुन्छ,' उनले भने, 'पैताला' विशुद्ध तान्त्रिक उपन्यास हो ।'
पोखरामा आयोजित कार्यक्रममा सरुभक्तले पौडेलको कृतिलाई लामो समयपछि पोखरेली माटोमा हुर्किएको अर्को आख्यानकारको उदय मान्नुपर्ने बताएका थिए । उनको भनाइ थियो, 'आख्यान लोकप्रिय विधा त हो, तर गहन विषय दिन नसक्ने हो भने आख्यानकार भनाउनकै लागि आफ्नो क्षमता रहेको क्षेत्रबाट फड्को मार्न खोज्नु लेखकका लागि जोखिम हो ।'
बागलुङमा आयोजित कार्यक्रममा यी फिरन्ता लेखकले प्रष्टीकरण दिन खोजे । 'पूर्वीय दर्शनमा तन्त्र, मन्त्र र यन्त्र छ । तन्त्र भनेको विधि, मन्त्र भनेको शब्द वा ध्वनि र यन्त्र भनेको साधन वा ज्यामिति हो,' उनले भने, 'मन्त्रलाई विधिपूर्वक भनियो भने मात्र त्यसले असर देखाउँछ । यी दुईको प्रयोग कसरी गर्ने भनेर खोजिएको तरिका तन्त्र हो । मैले पैतालाको दर्शनमा यसको प्रयोग गरेको छु ।' लेख्नकै लागि पोखराबाट निस्केर सुदूरपश्चिम र सुदूरपूर्वका विभिन्न स्थान भौंतारिएको बताएका उनले मुन्धुमका व्याख्याबारेका प्रसंग पनि उपन्यासमा पाइने बताए ।
राजधानीपछि पोखरा र बागलुङ भएर यात्रा बुटवल र चितवन सोझिने बताएका उनले आख्यानमाथि उठ्ने प्रश्नको उत्तर तयार राखेर हिँडेको बताएका छन् ।
जेष्ठ २०,२०७४- 

YouTube