Contact Form

Name

Email *

Message *

Saturday, August 26, 2017

विमिथीकरणको योगफल


-- राजिन पनेरु

शास्त्रीय भौतिकवादीले मानेको टाउकोको सत्य अथवा ज्ञानेन्द्रिय सत्य, औद्योगिक क्रान्ति, औपनिवेशिक सन्दर्भ, विसंगतिवादी दृष्टिकोण, मानवीय त्रास, विश्वयुद्धहरू आदि सन्दर्भ पछि गर्धनबाट छाती वा हृदयमा ओर्लियो । माक्र्सवादी बहसले सत्यलाई हृदयबाट पेटमा झार्‍यो । भोकाएका र अघाएका बीचको द्वन्द्वात्मक स्थितिमा सत्यको खोजी भयो । यसपछि सिग्मन्ड फ्रायडले सिर्जनात्मक सत्य यौनांगमा अल्झेको हुन्छ भनिदिए । यसरी लिबिडो सत्यको अन्तिम अध्याय बन्यो ।
Rajin-Paneruत्यसपछि पूर्व तथा पश्चिम दुवैतिर मौन रह्यो । यौनांगभन्दा तल सत्य ओर्लिएन । त्यो सत्यताको 'भ्याकुम'लाई चिर्ने दुस्साहसको मुख्य योजनाकार बने- गनेस पौडेल । यो उनको दाबी हो । उनले फ्रायडलाई सोध्दै नसोधी सत्यलाई पैतालामा झारिदिए । मानव सभ्यताको जग टाउकोबाट होइन पैतालाबाट सुरु भएको हो भन्ने दाबीको 'साक्ष्य' बने । यसलाई स्थापित गर्न उनले ३६३ पृष्ठको उपन्यास तयार गरे । नाम रह्यो गनेस मेनोफेस्टो अर्थात् पैताला ।
'पैताला' अध्यात्म, ज्ञान र विज्ञानको अनेकन प्रयोगमा अल्झिएको रहस्यको पुञ्ज हो । पौराणिक सञ्जीवनी विद्यालाई व्रणतुकाका माध्यमबाट कच उर्फ सामसोनको सपनाबाट चोर्न लगाइनु मिथकीय पुनर्सिर्जन हो । शुक्राचार्य र वृहस्पतिको आ श्रमलाई चितवन र पोखराका तलैयामा इन्जिनियरिङ गरेर गनेसले कच-देवयानी प्रेमलाई विमिथिीकरण गरेका छन् । पूर्वीय र पश्चिमेली मिथकका अनेकन किस्सालाई लेखकले घरि भत्काएका छन्, घरि पुनर्निर्माण र पुनव्र्याख्या गरेका छन् । पैताला खसोखास विमिथीकरणको योगफल हो ।
कथाकारसँग सामसोन र डेलिलाह अथवा माक्सोती उर्फ समृद्धि र उत्किलन विकको प्रेम कहानीमात्र होइन फोटोसँग विवाह गर्दै फोटोलाई नै सुम्सुम्याउन विवश सुकलालका डायरीहरू पनि छन् जसका माध्यमबाट लाहुरे संस्कृति र त्यसले मान्छेको यौवनमा पारेको असरको सुन्दर वर्णन गरिएको छ । सुकलाल आफ्नो डायरीमा पोखिन्छ, 'लाहुरेहरूले समय, सीप र इमानदारी मात्रै कहाँ बेचेका हुन्छन् र ? रहरहरू पनि त बेचेका हुन्छन् । बैंस पनि त बेचेका हुन्छन् ।'
आख्यानमा सामान्य लाग्ने जीवन र जगत्का किस्साहरूलाई कल्पनाको उच्च उडानमा उचालेर कथा-लोकका आदिम क्यारेक्टरहरूमा छोडिएको छ । पात्रहरू परालौकिक भए पनि ती सबै कहीँ न कहीँ लौकिक धरातलकै नोस्टाल्जिक प्रतिविम्बहरू हुन् । जीवन र जगत्का ज्ञात-अज्ञात भ्रामिक सत्य हुन् । जादुमय यथार्थ हुन् । क्यारेक्टरले उभिएको भू-स्पेस 'मिस्टरियस' जरुर छ परन्तु उनीहरूले बाँचेको जीवन 'सिरियस' छ । जैविक र भौतिक आवश्यकतामा उनीहरू चल्मलाएका छन् । पहिचान र प्रभुत्वको खोजीमा दिन बिताएका छन् । यायावरिक बनेका छन् ।
जीवन-मृत्यु रहस्यको गर्भबाट शून्यतातर्फको चिन्तनमा पैताला केन्द्रित भएको छ । उच्च बौद्धिक पाठकको अपेक्षा उपन्यासले राखेको छ । साधारण पाठकलाई पाचन चूर्णको आवश्यकता देखिन्छ ।
न्यारेटरकृत ससाना किस्साहरूको सिंगो फटिक हो- पैताला । सृष्टिकै पहिलो खुड्किलो हो- पैताला । मानव सभ्यताको जन्मसँगै सबैभन्दा प्राचीन अपितु अर्वाचीनमा स्थापित दर्शन हो- पैताला । तन्त्र-मन्त्र-यन्त्रको चेन अफ कमान्डमा स्थापित कमान्डो हो पैताला । लेखक स्वयंको स्मृति र विस्मृतिको भण्डार हो- पैताला । अनेकौं सांस्कृतिक-तान्त्रिक विधिको एउटै स्तम्भ हो- पैताला । इतिहास, दर्शन र मिथकको फ्युजन हो- पैताला । मानव सभ्यताको इतिहास, पूर्वीय-पाश्चात्य दर्शन, ज्ञान-विज्ञान साथै सांस्कृतिक तथा पौराणिक मिथकमा पैताला बुनिएको छ । यसैमा क्यारेक्टर, प्लट र टाइमिङ सेट गराएको छ । फिक्सनको डिक्सन (भाषा) पनि उसैगरी तुनिएको छ ।
कथाको मुख्य खोज, (१) सञ्जीवनी विद्याको सिद्धि र (२) एनएचसिक्ससीवाई (चिस्याउने अणु) को सफल प्रयोग गर्नु हो । यसको लागि उसले तन्त्रको सिम्बोलिक प्रयोग गरेको छ र अल्जाइमरको सिकार बनेकी न्यारेटर स्त्रीकालाई उपस्थित गराएर आख्यानकारको छाया पात्र जोस्मणिलाई उपर्युक्त जिम्मा लगाइएको छ । सिंगो आख्यान अलेक्जेन्डर वालेटले जोस्मणिको नाउँमा लेखेको ६ वटा चिठीको केन्द्रियतामा विसर्जन भएको छ ।
यही चिठीको रहस्योद्घाटनमा सम्पूर्ण आख्यानिक जालो बुनिएको छ । जहाँजहाँ चिठी छोडिएको छ, तहाँतहाँ एउटा न एउटा विचित्र घटना जोडिएको छ । कसलाई कहाँ हुत्याउने, कसलाई कहाँ तन्काउने, कसलाई कहाँ भर्ती गराउने, कसलाई कहाँ दिवंगत गराउने आदि महान् षड्यन्त्र आख्यानकार र स्त्रीका न्यारेटर बसेर सेटिङ गरिएको छ । यसले गर्दा पाठकलाई रहस्य बुझ्न समस्या नपरिजाला । बाठो छ आख्यानकार । पाठकलाई फकाई-फकाई लैजान्छ र गुमनाम बनाइदिन्छ । अल्झाइदिन्छ घरिघरि अनि आपंैm भन्छ- मैले गलत गरेँ, माफ पाऊँ है । हामी प्रस्ट बुझ्न सक्छौं, आख्यानकार चिठीको खोजमा निस्कने एकमात्र उद्देश्य 'पैताला दर्शन'को सफल प्रयोग हो । जहाँ-जहाँ चिठी पुग्छ, तहाँ-तहाँ पैताला पुग्छ । जसकै बलमा कथाहरू बुनिएका छन् । कथाहरू सुनिएका छन् ।
सिंगो प्लटमा लाहुरे संस्कृति, जनकपुर धामको कुण्डीय बयानमात्र होइन हिमाल, पहाड र तराईका आदिम संस्कृति र मिथकीय पहिचानको खोजी पनि गरिएको छ । सुन्दरी प्रोडक्सनका बागी क्यारेक्टर लोथिराको भनाइ सौन्दर्यको सापेक्षित वकालत हो । लोथिरा भन्छे, 'आँखा चिम्लनोस् । आँखाले नै मान्छेले आफ्नो अवधारणा बनाउँछ । आँखाले नै मान्छेले सौन्दर्य चेतना निर्माण गर्छ । आँखाबाटै मान्छेले आधा विश्वास बनाउँछ । आँखाबाट प्राप्त विश्वास र सौन्दर्य चेतनाबाट मुक्त नभईकन मान्छे प्राकृत हुन सक्दैन ।' आजको कथित मिडिया सुन्दरीका अगाडि संसारकै कुरूप मानिएकी लोथिराको उपर्युक्त भनाइ आफैंमा गतिलो झापड हो ।
माथिका सन्दर्भ पैतालाका मूल सन्दर्भ हुन् । उठाइएका विषयवस्तु हुन् । पैतालासँग अनेकौं प्रश्न छन् । उत्तरहरू छन् । डेरिडाले मानेको टेक्स्ट सत्यभन्दा माथि मिचेल फुकोको टेक्स्ट बाहिरका छरपस्ट विचारहरू आख्यानमा पाइन्छन् । आख्यान क्यारेक्टर कामरेड प्रचण्ड भन्छ, 'जोस्मणि बाबु, संसारका सबै प्रश्नको उत्तर हुँदैन । वास्तवमा जीवनमा महत्वपूर्ण प्रश्नहरू तिनै हुन्, जसको उत्तर मान्छेलाई थाहा हुँदैछ ।' यो सत्य हो।
भनेर-जानेर सबै कुरा सकिँदैन । आज हामी असाध्यै विद्वान् भइटोपलेका छौं । हामीलाई थाहा नभएको केही पनि छैन । थाहा भएको केही पनि छैन । भर्चुअल प्रविधिले हामीलाई स्वयंमा महान् विद्वान् साबित गराइदिएको छ । यो पनि हामीलाई थाहा छ- पूर्वीय सभ्यता, दर्शन, ज्ञान-विज्ञानको मुख्य विधान वेदलाई केलाउँदा-केलाउँदै शंकाराचार्यले दाह्री फुलाए । मर्ने बेलामा घोषणा गरिदिए- ब्रह्म सत्य जगत् मिथ्या ।
'म दिनदिनै डिप्रेसनको सिकार हुँदै गएको छु । यस्तो लाग्न थालेको छ, म मेरै पात्रको वजनले थिचिएर मर्दै छु', बारम्बार आख्यानकारलाई यही डरले सताइरहेको छ । कतिपय ठाउँमा उपन्यासको पाना तन्किएको छ । दिवंगत श्रीमती सारिका, जुलुम लामा, माक्सोती बूढी, ठकवक भएर उभिएका मौनी बाबा, इडा र पिङ्ला, पागौलिया आदि क्यारेक्टरको किस्सामा भौतारिएको छ न्यारेटर । पात्रहरूको व्यवस्थापन गर्दागर्दै पात्रकै वजनले च्यापिएको छ । कतैकतै यिनले बनाएको रिसर्च डिजाइन फंक्सनलेस भएको छ । सामग्री थुपारिदिन्छन्, वर्गीकरण पनि गरिदिन्छन् तर भेरिफिकेसन (सत्यापन) को अभाव देखिन्छ । को कहाँ उत्रने ? को कहाँबाट चढ्ने ? अत्तोपत्तो केही हुँदैन । यति हुँदाहुँदै पनि आफ्ना पाठकहरू नबिच्कियून् भन्ने चेत यिनमा छ ।
एउटा बजारिया आरोप छ- नगरकोटीले निल्यो गनेसलाई । तर पैताला पढिसक्दा कतै कदाचित् त्यस्तो अनुभूति हुँदैन । तर 'नगरकोटी' र 'गनेस' एउटै स्कुलका विद्यार्थी भने देखिन्छन् । दुवैले परम्परागत नेपाली कथावाचनको शैलीलाई चुनौती दिएका छन् । रहस्य र स्वैरकल्पना दुवैको मिलनबिन्दु हो । यिनका गुरु एउटै छन् ः जस्तै गाब्रियल ग्रासिया मार्खेज । जसको छत्रछाहारीमा यिनीहरू बेलाबेला उफ्रिरहेका छन्, भारतवर्षको नेपालखण्डमा । एउटा घाटतिर गएर तपस्या गर्छ अर्को हिमालतिर । यी दुवै बडे मिया-छोटे मिया हुन् जसले उत्तरआधुनिकताको म्यानभित्र जादुमय-यथार्थको तरबार नचाइरहेका छन् । यी दुवै आदिम क्यारेक्टरका भुताहा स्वामी हुन् । स्वयंमा फकिर हुन् । गोत्रविहीन । गृहविहीन ।
समकालीन आख्यानमा पाइने प्रेम र यौनको बोलवालभन्दा माथि उठेको छ 'पैताला' । जीवन-मृत्यु रहस्यको गर्भबाट शून्यतातर्पmको चिन्तनमा यो केन्द्रित भएको छ । उच्च बौद्धिक पाठकको अपेक्षा उपन्यासले राखेको छ । साधारण पाठकलाई पाचन चूर्णको आवश्यकता देखिन्छ । यद्यपि नाटकीय संवाद र पूर्वदीप्तिमा वर्णित संस्मरणात्मक कहानीले उपन्यासको ओजलाई जीवन्त तुल्याएको छ । प्रचलित स्वादभन्दा भिन्न स्वाद उपन्यासका पाठकले चाख्न जरुर पाएका छन् ।
साना किस्साहरूको तन्तुबाट निर्मित पैतालाको पाठकीय धैर्य उस्तै हुनुपर्छ जस्तो धैर्य जोस्मणिको छ । पागौलिया चरित्र नबोकेसम्म उपन्यासको पठनले चरमोत्कर्षमा पुर्‍याउँदैन । बीचबीचमा पाठकको धैर्य टुट्न सक्छ, जसरी जोस्मणिको ध्यान टुटेको छ गुफामा पुगेपछि । यही भएर आख्यानकार बीचबीचमा पाठकलाई सम्झाउँछ, यसको पूर्वापर सम्बन्ध फलानो-फलानो हो... ।
'पैताला' दर्शन नयाँ आविष्कार भने होइन । यद्यपि दर्शनकै रूपमा स्थापना नगरिएको र अज्ञातप्रायः रहेको स्थितिमा यसलाई आख्यानकारको ब्रह्मले उत्खनन गरिदिएको जरुर हो । यसलाई उनले दर्शनको रूपमा स्थापित गर्न खोजेका छन् । पूर्वस्थापित दर्शनको खण्डन-मण्डन गर्दै आफूले पैताला दर्शन स्थापना गर्नुको औचित्य र महत्वको पुष्टि गर्ने चेष्टा गरेका छन् । उनले वालेटको प्रयोगशालामा बसेर सञ्जीवनी विद्याको सिद्धि र एनएचसिक्सिवाईको व्यावहारिक प्रयोग सफल तुल्याउन सके भने पैतालाले नयाँ उचाइ कायम जरुर गर्नेछ ।
यिनले प्रयोग गरेको स्वैरकाल्पनिक तथा उडन्ते टेक्निक आख्यानको क्षेत्रमा माध्यमिककालीन समयका आख्यानकार गिरीशवल्लभ जोशीको 'वीरचरित्र' अथवा आधुनिक आख्यानकार धु्रवचन्द्र गौतमका 'अलिखित', 'अग्निदत्त+अग्निदत्त' जस्ता उपन्यासमा पनि पाइन्छ । 'ठकवकतन्त्र'को खोजी यिनको मौलिक खोजी हो । यसले हामीसँग भएका प्राचीन संस्कृतिको उत्खनन गरेको छ÷गर्न आह्वान गराएको छ । बाँकी पाठकको अदालतले पनि सुझाउनेछ । लेखकको आगामी पुस्तकले पनि यिनको दर्शन दीर्घकालीन दर्शन हो÷होइन भन्ने पुष्टि जरुर गर्नेछ ।

शनिवार, असार ३, २०७४

Published at: 

0 Comment:

Post a Comment