Contact Form

Name

Email *

Message *

Saturday, August 26, 2017

अपरेसन थिएटरमा 'पैताला'





राम लोहनी

नेपाली आख्यान परम्परा अझै पनि सामाजिकयथार्थवादबाट मुक्त भइसकेको छैन । सामाजिक मुद्दाहरूलाई केन्द्रमा राखेर कल्पनाको पातलो जलप लगाइएका कथा, उपन्यासकै बाहुल्य छ अझै । सिद्धान्तकेन्द्रित र विशुद्ध काल्पनिक कथावस्तु भएका उपन्यास विरलै भेटिन्छन् । सरुभक्तको पागल बस्ती, सञ्जीव उप्रेतीको घनचक्कर केही यस्तै उदाहरण हुन् । कुमार नगरकोटीका आख्यानहरूले जादुई यथार्थ र अतियथार्थलाई औपन्यासिक विषयवस्तु बनाएका पाइन्छन् । नेपाली भाषाकै पहिलो उपन्यास वीर चरित्रको विषय यथार्थभन्दा बेग्लै जादुई र तिलस्मीले भरपूर थियो । पछिल्लो समय गनेस पौडेलको उपन्यास पैतालाले त्यही बाटो पछ्याएको छ ।

उपन्यासको कच्चा पदार्थ
अलेक्जेन्डर वालेट हिन्दु पौराणिक पात्र शुक्राचार्यले आविष्कार गरेको सञ्जीवनी बुटीको विद्या प्राप्त गर्न सफल हुन्छ । यद्यपि, प्राविधिक कारणले गर्दा यो विद्या जस्ताको तस्तै प्राप्त गर्न भने सक्तैन ऊ । तर पनि उसले जति प्राप्त गरेको छ, त्यो धेरै महत्त्वपूर्ण छ । उसले नेपालको हिमालयमा अनुसन्धान गर्ने क्रममा पेरिओडिक टेबुलमा नभएको तत्त्व पत्ता लगाएको छ । आजसम्मका कुनै वैज्ञानिकले पनि मेसो नपाएको र आजभन्दा छ करोड वर्षपहिले नै हिमालयमा उत्पत्ति भएको यो तत्त्वले असामान्य रूपमा चिसो पैदा गर्ने क्षमता राख्छ । ठूलो भूभागलाई एकै छिनमा चिसो पारेर जमाइदिन सक्छ यसले । यसलाई वालेटले एनएचसिक्ससीवाई नाम दिएको रहेछ । वालेट आफू मर्नुअगाडि यी दुई ज्ञान कुनै योग्य र विश्वासी व्यक्तिलाई सुम्पन चाहन्छ । एक्काइस वर्षअघि राराको पदयात्रामा भेटिएको किशोर जोस्मणि आरण्य उसको नजरमा आइपुग्छ । वालेट जोस्मणिलाई नै यो ज्ञान दिन चाहन्छ । यो ज्ञान दोस्रो व्यक्तिको हातमा नपरोस् भन्ने कुरामा पनि सजग छ वालेट । यही क्रममा जोस्मणिलाई एक पछि अर्को चिठी दिने, पुर्‍याउने समस्यामा मुख्य कथा केन्द्रित छ ।
उपन्यास सात अध्याय र पृष्ठभूमिसहित गरेर आठ खण्डमा विभाजित छ । उपन्यासको विकाससँगै पात्रहरू क्रमश: पारलौकिक हुँदै जान्छन् । रहस्य र अतियथार्थको पृष्ठभूमिमा कथालाई आरोपित गरिएको छ । प्रत्येक अध्यायको शीर्षकलाई खास प्रकारका चित्रहरूद्वारा प्रस्ट्याउन खोजिएको छ । तर ती चित्रको परिचय कतै पनि दिइएको छैन । ती चित्र लेखकका मौलिक हुन् कि होइनन् भन्ने पनि खुलाइएको छैन । चित्रको बारेमा जानकार नभएका पाठकहरूलाई ती चित्रहरू उद्देश्यप्रेरित पनि हुन सक्छन् भन्ने ख्याल नहुन पनि सक्छ । हरेक चित्रसँगै चर्चित व्यक्ति वा ग्रन्थका भनाइहरू पनि उद्धृत गरिएका छन् । यद्यपि सबै ठाउँमा ती अभिव्यक्ति र चित्रको बीचमा सामञ्जस्य भने देखिंदैन ।

तन्त्र र रहस्य
दोस्रोदेखि सातौं अध्यायलाई योग/तन्त्रका छ चक्रहरू मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्ध चक्र र आज्ञा चक्रद्वारा चिनाउन खोजिएको छ । तर ती चक्रहरूको प्रतीक चित्र अस्पष्ट र अपूर्ण छन् । चक्र भनेको बस्ज मन्त्र, कमल दलको संख्या र तिनका प्रतिनिधि वर्ण, रङ, देवता आदिको समग्र स्वरूप हो । तर यो पाटोमा लेखक/प्रकाशकको लापरबाही प्रकट भएको छ । साधकको नजरमा यो गम्भीर त्रुटि हो । खास चक्रको जागरणपछि जुन भावको सञ्चार हुनुपर्ने भनेर योग/तन्त्रशास्त्रमा चर्चा गरिएको पाइन्छ, चक्रसँग जोडिएको कथा अंश पढिसकेपछि पाठकमा त्यस्तै प्रकृतिको भाव सञ्चार उदय हुने अपेक्षा हुन्छ । पुस्तकको बाहिरी आवरणमा उल्लेखित तान्त्रिक कथाविधानपद्यांशले सम्भवत: उपन्यासको यही संरचनालाई दाबी गरेको हुन सक्छ । तर, त्यसमा कथा थोरै मात्र सफल देखिन्छ । मूलाधार चक्रको पाठमा वासनाप्रधान उपकथाले शक्तिको प्रवाह ऊध्र्वउन्मुख रहने तथ्यलाई त देखाएको छ । तर पनि यहाँ रहने मानिएको कुण्डलिनी शक्तिको महत्त्व र चरित्रको बारेमा केही खुल्दैन । खासमा कथा केन्द्रीयभन्दा पनि परिधीय वर्णनमा अलमलिएकाले त्यस्तो हुन गएको हो ।
पृष्ठभूमि खण्डको शीर्षक इजिप्टियन पुराकथाको चित्र हो । संसारका प्राय: पुराकथामा स्त्रीलाई धरती र पुरुषलाई आकाश मान्ने गरेको पाइन्छ । तर यो मिथमा स्त्री आकाश हो, र पुरुष धरती । नारीको प्रधानता र सक्रियताको तत्कालीन चिन्तनलाई यो चित्रले प्रस्तुत गर्न खोजेको व्याख्या गरिएको पाइन्छ । यो खण्डको कथामा स्त्रीका नामकी पात्रलाई न्यारेटरको रूपमा कथामा प्रवेश गराएर मुख्य भूमिका दिन खोजेकाले चित्रसँगको सामञ्जस्य अनुमान गर्न सकिन्छ । अन्तिम अध्याय उल्लुशीर्षकमा छ । अन्य अध्यायमा उल्लुको संकेतले कथामा आख्यानकारको प्रवेशलाई सूत्रधारको रूपमा प्रयोग गरिएकाले यो अध्यायमा आख्यानकार नै कथावाचक भएको बुझिन्छ ।
चित्रहरू अध्यायविभाजनमा मात्र केन्द्रित छैनन् । अध्यायको आन्तरिक विभाजनमा पनि विविध चित्रहरूको भूमिका छ । उदाहरणका लागि मूलाधार चक्रअध्यायभित्र दुइटा चित्र छन्आफ्नै पुच्छर खाँदै गरेको सर्प र कमण्डलु । सर्पलाई सृष्टि, स्थिति र संहार तीनै कुराको प्रतीक मान्ने गरिएका मिथहरू संसारका धेरै सभ्यतामा पाइन्छन् । वैश्व सर्प (कज्मिक सर्पेन्ट) को यो स्वरूप धेरै पुरानो हो । जन्म र मृत्युको शाश्वत चक्रलाई यसले संकेत गर्दछ । सर्पले पटकपटक काँचुली फेरेर नयाँ जुनीमात्र प्राप्त गर्दैन,
आफ्नो पुच्छर आफैं खाएको प्रतीकले सृष्टि र संहार, जन्म र मृत्यु, लय र प्रलय परिपूरक घटना हुन् भन्ने संकेत पनि दिन्छ । ताओ दर्शनको यिङ र याङसँग पनि यसको समभाव रहेको छ । सर्पको वृत्तभित्र महामृत्युञ्जयको मन्त्र र सम्बन्धित कथाभित्र वर्णित सञ्जीवनी विद्या, देवासुर शत्रुता र शुक्रपुत्री देवयानी तथा बृहस्पति पुत्र कचबीचको प्रेमको त्रिकोणात्मक सम्बन्ध आकर्षक र रोमाञ्चक छ । कथामा मिथकको सुन्दर विमिथकीकरण गरिएको छ । बाइबलको बुक अफ जजिजमा वर्णित स्याम्सन र डेलिलाह (दिलाइलह्) को अमर प्रेम पूर्वीय पुराणको कचदेवयानीको प्रेमकथाको बेग्लै संस्करण मात्र हो भन्ने अर्थ सम्प्रेषण भएको छ । साथै पौराणिक भूगोललाई पनि वर्तमान नेपालको परिचित भूगोल मुस्ताङ र चितवनको परिवेशमा खडा गरिएको छ ।
तन्त्रको गहिराइलाई कथामार्फत देखाउनभन्दा उपन्यासकारले विविध तन्त्र र रहस्यलाई समावेशी बनाउन जोड दिएका देखिन्छ । जनकपुरको संस्कृतिमा भिजेको विदेह तन्त्रदेखि नेपालगन्जको मुस्लिम समुदाय, किरातको मुन्धुमममा वर्णित मुजिङ्ना खायङ्नादेखि राजा सोलोमनको रउमको सिलसमेतलाई समावेश गराइएको छ । स्वाधिष्ठान चक्रको उन्मादलाई रुमीको पागलपन र जनकपुरको वीर्यकुण्डमार्फत दर्साइएको छ । तर ईडा र पिंगलाको मिलन किन अनाहत चक्रमै गराइयो प्रस्ट हुँदैन । उता आज्ञा चक्रभित्र सैतानी चरित्रको रउमको सिलर भूकम्पको वर्णन छ । जबकि आज्ञा चक्र ध्यानको प्रवेशमार्ग हो । यो खण्डमा विग्रह र विनाशको त्रासदी परेको छ । भावनाप्रधान अनाहत चक्रभित्र पनि वासना र कामनाले प्रधानता पाएको छ ।

प्राविधिक संरचना
उपन्यासमा अतियथार्थिक (सर्रियालिस्टिक) रङमा रङ्गिएको छ । सपना र यथार्थलाई मिसमास पारिएको छ । पात्रहरू यथार्थ भईकन पनि अयथार्थिक छन् । जोस्मणि केही समयअघि मृत भइसकेको व्यक्तिको औपन्यासिक अवतार हो । लोथिराको कुरूपतालाई भयानकता प्रदान गरिएको छ । भूगोल र समयमा संकुचन भएको छ । सपना र विपनाको सीमारेखा भत्काइएको छ । सपना चोर्ने र छाया अलग गर्नेजस्ता प्रसंग रोमाञ्चक लाग्छन् । सपना र विचारहरू पनि पारदर्शी छन् । जस्तो कि जोस्मणिकी पत्नी सारिकाले आत्महत्या गरेको कुरा आख्यानकारले देखेको सपना हो । तर न्यारेटर बूढी आख्यानकारको सपनासँग परिचित छे ।
उपन्यासमा मूल कथा भएर पनि त्यसभित्र प्रसंग, बेप्रसंगका उपकथा छन् । पूर्वज निकुञ्जको जीवनी, सुकारामको डायरी, माक्सोती बूढीको कथा आदि । लेखक/आख्यानकारलाई कथाकी न्यारेटर स्त्रीकाबाट कथा निर्माणको क्रममा निर्देशनहरू प्राप्त भइरहन्छन् । आख्यानकार र मूलपात्र जोस्मणिलाई भेटाइएका घटनाले आख्यानकार स्वयम् पात्र बन्न पुगेको छ । उपन्यास परम्परागत आख्यानको सीमा अतिक्रमण गरेर अधिआख्यान बनेको छ ।
उपन्यासलाई बाँध्न वालेटको चिठीहरूलाई साधनको रूपमा प्रस्तुत गरिएको छ । पहिलो चिठीमा उसले आफूले बताउन चाहेको जानकारी अर्को चिठीमार्फत दिन खोजेको उल्लेख गरिएको छ । तर प्रत्येक दोस्रो चिठी अर्को चिठी पाउने ठाउँ र व्यक्तिको चयनमा केन्द्रित हुन्छ । यसले पाठकको कौतूहललाई जोगाउन मद्दत गरेको छ । तर चिठी पाउने तरिका रहस्यमयी र स्वप्नसदृश छ । उपन्यासको अर्को रोचक पक्ष भनेको एउटा निश्चित मोबाइल फोनबाट आउने सन्देश हो । यसलाई लेखकले आकर्षक र रोचक पाराले पठन विश्रामको रूपमा उपयोगी तुल्याएका छन् ।
उपन्यास मूलत: रहस्यप्रधान छ । घटनालाई सशक्त ढंगले उठान गरिएको छ, तर त्यसको पटाक्षेप हुँदैन । वालेटले दिन खोजेको उसको अनुसन्धानको जानकारी जोस्मणिको हातमा आइपुग्दैन । वालेटले जोस्मणिलाई जुन ठाउँमा पुर्‍यायो, त्यहाँ रहस्यको पर्दा उघारिँदैन । कथाको यो अंशको शीर्षक क्यूआर कोडको चित्र दिइनु आफैंमा एउटा संकेत हो । जब जोस्मणि घनघोर अँध्यारो सुरुङ पार गरेर एउटा सुरम्य स्थानमा पुग्छ, त्यहाँ कार्ल माक्र्सको सालिक भेटिन्छ । माक्र्सको हातमा विज्ञान भैरवतन्त्रको किताब छ । त्यहीँ भेटिन्छन्, माक्र्सका एक्काइसौं शताब्दीका प्रखर अनुयायी पुष्पकमल दाहाल प्रचण्ड। प्रचण्डको देब्रे खुट्टा छैन । एक खुट्टाले, कहिले बैसाखीको सहायताले त कहिले दुई हातसहित मिलाएर तीनखुट्टे भएर हिँड्छन् उनी । यो परिदृश्य राजनीतिक दृष्टिले सटीक र व्यंग्यात्मक पनि छ । तर, विशुद्ध स्वैरकाल्पनिक कथावस्तु भएको उपन्यासमा प्रचण्डलाई, निजलाई आरोपित भूमिकाको पृष्ठभूमिमा, ‘नेपालको वर्तमान प्रधानमन्त्रीभनेर सार्वजनिक पदसमेत तोकेर चिनाउनु जरुरी थियो ? प्रश्न उठ्न सक्छ ।
यौनको स्वच्छन्द वर्णन उपन्यासमा मिहिन ढंगले घुलेर रहेको छ । त्यसो त यौन सृष्टिको कारण र रहस्य दुवै हो । तन्त्रसँग पनि अभिन्न रूपले जोडिएको छ यौन । अतियथार्थिक स्वप्नजगत्मा यौनको भूमिका प्रवल रहने कुरालाई स्विकारिएकै छ । तर पनि ठाउँठाउँमा यौनको वर्णन कथाले मागेभन्दा बढीरहेको भान पर्छ । समाजले पुरुषलाई यौनको चर्चा, परिचर्चा गर्न दिएको छुटलाई लेखकले स्वच्छन्द उपभोग गरेका छन् । शिवजीले जाँघेभित्रबाट दर्शन दिसकेका थिएजस्ता अभिव्यक्ति सामान्य अवस्थामा स्विकार्न गाह्रै पर्छ ।

समस्या र प्रश्न
स्त्रीकाको पति त्रुपकको भाइलाई भूतनाथ मन्दिरको पुजारीको भूमिका दिइएको छ । तर अर्को ठाउँमा उसलाई स्त्रीकाकै भाइको रूपमा सम्बोधन गरिएको छ । त्यस्तै, रारा यात्राको क्रममा वालेटलाई पन्ध्र दिन बाटोमा अलपत्र परेको भनिएको छ, जबकि यात्राको वृत्तान्तले त्यस्तो बताउँदैन । समयको यो फरक स्वप्नावस्थामा हुने स्थान/काल विलोप वा संकुचन नभएर प्राविधिक त्रुटि नै हो । यस्तै अन्य केही समस्याहरू छन्, जुन सुधार हुन सकेको भए राम्रो हुने थियो ।
सञ्जीवनी विद्याअनुसार शरीरको रासायनिक प्रक्रियालाई रोक्ने वा रोकिएको प्रक्रियालाई पुन: सक्रिय गराउने प्रविधि कम्तीमा तर्कसंगत ठहरिन सक्छ । तर अणुहरू डिफ्युजहुँदा चिसो उत्पन्न हुने कुरा विज्ञानको थर्मोडाइनामिक्सको सिद्धान्तको विरुद्ध देखिन्छ । भौतिक विज्ञानको परिभाषामा चिसो हुनु भनेको ताप शोषित हुनु हो । वस्तुबाट जति ताप शोषण गर्न सकियो, त्यति त्यसमा चिसोपन बढ्दै जान्छ । तर एनएचसिक्ससीवाई नाम दिइएको धातुको अणु डिफ्युजहँदा चिसो पैदा हुने भनेको के हो, त्यो स्पष्ट छैन । पेरियोडिक टेबुलमा नपरेको सही, यो तत्त्वलाई पेरिओडिक टेबुलका अन्य तत्त्वकै हाराहारीमा राखिसकेपछि अन्य तत्त्वमा लागू हुने प्रकृतिको नियम यसमा पनि लागू हुनुपर्छ । यो तत्त्वको थप प्रसंग अन्यत्र आएको छैन भने यसको कल्पना गरियो किन ?

उपन्यासको शीर्षक
पैतालाको प्रसंग उपन्यासभित्र मुख्य गरेर दुई ठाउँमा उठेको छ । नेपालगन्जको एउटा शयनकक्षमा सुतिरहेका ईडा र पिंगलाका दुई जोडी पैताला देखिएका छन् । अर्को, उपन्यासको अन्तमा जोस्मणि सुरुङ मार्गबाट जाँदै गर्दा उसले पैतालाको महत्त्व अनुभूत गरेको देखाइएको छ । एकपटक पैतालाले दिशासूचकको काम गरेको छ । अर्कोपटक, पैतालामा ठेस लागेर ऊ लड्छ । अर्को क्षण जोस्मणिलाई आफूलाई उभ्याउने पैताला नै मुख्य हो भन्ने दिव्यज्ञान बोध हुन्छ । त्यसो त सभ्यताको विकास भनेको मानिसको यात्राबाटै आरम्भ भएको हो । अफ्रिकाको कुनै स्थानमा विकास भएको मानिस पैतालाकै भरमा विश्वभरि छरिएका हुन् । पैतालामा उभिएर टाढाटाढा हेर्न सक्ने क्षमतासँगै मानिसमा बुद्धिको विकास हुन थालेको बताइन्छ । पैतालामा उभिन सक्ने भएपछि हात स्वतन्त्र भए । त्यसले औजार समात्यो । यसप्रकार सभ्यताको मूलमा पैताला नै थियो र छ भन्ने कुरा दार्शनिक रूपले सिद्ध गर्न सकिन्छ । उपन्यासको मूलपात्र जोस्मणिको यायावर स्वभाव पनि पैतालाकै देन हो । तथापि, उपन्यासमा वर्णित रहस्य र जादुई यथार्थका प्रत्येक घुम्तीमा पैतालाको भूमिका कति रह्यो भन्ने कुरामा चाहिँ बहस हुन सक्छ ।

प्रकाशित: श्रावण १४, २०७४
Published at :

0 Comment:

Post a Comment