Contact Form

Name

Email *

Message *

Z

Showing posts with label समीक्षा. Show all posts
Showing posts with label समीक्षा. Show all posts

Saturday, August 26, 2017

विमिथीकरणको योगफल


-- राजिन पनेरु

शास्त्रीय भौतिकवादीले मानेको टाउकोको सत्य अथवा ज्ञानेन्द्रिय सत्य, औद्योगिक क्रान्ति, औपनिवेशिक सन्दर्भ, विसंगतिवादी दृष्टिकोण, मानवीय त्रास, विश्वयुद्धहरू आदि सन्दर्भ पछि गर्धनबाट छाती वा हृदयमा ओर्लियो । माक्र्सवादी बहसले सत्यलाई हृदयबाट पेटमा झार्‍यो । भोकाएका र अघाएका बीचको द्वन्द्वात्मक स्थितिमा सत्यको खोजी भयो । यसपछि सिग्मन्ड फ्रायडले सिर्जनात्मक सत्य यौनांगमा अल्झेको हुन्छ भनिदिए । यसरी लिबिडो सत्यको अन्तिम अध्याय बन्यो ।
Rajin-Paneruत्यसपछि पूर्व तथा पश्चिम दुवैतिर मौन रह्यो । यौनांगभन्दा तल सत्य ओर्लिएन । त्यो सत्यताको 'भ्याकुम'लाई चिर्ने दुस्साहसको मुख्य योजनाकार बने- गनेस पौडेल । यो उनको दाबी हो । उनले फ्रायडलाई सोध्दै नसोधी सत्यलाई पैतालामा झारिदिए । मानव सभ्यताको जग टाउकोबाट होइन पैतालाबाट सुरु भएको हो भन्ने दाबीको 'साक्ष्य' बने । यसलाई स्थापित गर्न उनले ३६३ पृष्ठको उपन्यास तयार गरे । नाम रह्यो गनेस मेनोफेस्टो अर्थात् पैताला ।
'पैताला' अध्यात्म, ज्ञान र विज्ञानको अनेकन प्रयोगमा अल्झिएको रहस्यको पुञ्ज हो । पौराणिक सञ्जीवनी विद्यालाई व्रणतुकाका माध्यमबाट कच उर्फ सामसोनको सपनाबाट चोर्न लगाइनु मिथकीय पुनर्सिर्जन हो । शुक्राचार्य र वृहस्पतिको आ श्रमलाई चितवन र पोखराका तलैयामा इन्जिनियरिङ गरेर गनेसले कच-देवयानी प्रेमलाई विमिथिीकरण गरेका छन् । पूर्वीय र पश्चिमेली मिथकका अनेकन किस्सालाई लेखकले घरि भत्काएका छन्, घरि पुनर्निर्माण र पुनव्र्याख्या गरेका छन् । पैताला खसोखास विमिथीकरणको योगफल हो ।
कथाकारसँग सामसोन र डेलिलाह अथवा माक्सोती उर्फ समृद्धि र उत्किलन विकको प्रेम कहानीमात्र होइन फोटोसँग विवाह गर्दै फोटोलाई नै सुम्सुम्याउन विवश सुकलालका डायरीहरू पनि छन् जसका माध्यमबाट लाहुरे संस्कृति र त्यसले मान्छेको यौवनमा पारेको असरको सुन्दर वर्णन गरिएको छ । सुकलाल आफ्नो डायरीमा पोखिन्छ, 'लाहुरेहरूले समय, सीप र इमानदारी मात्रै कहाँ बेचेका हुन्छन् र ? रहरहरू पनि त बेचेका हुन्छन् । बैंस पनि त बेचेका हुन्छन् ।'
आख्यानमा सामान्य लाग्ने जीवन र जगत्का किस्साहरूलाई कल्पनाको उच्च उडानमा उचालेर कथा-लोकका आदिम क्यारेक्टरहरूमा छोडिएको छ । पात्रहरू परालौकिक भए पनि ती सबै कहीँ न कहीँ लौकिक धरातलकै नोस्टाल्जिक प्रतिविम्बहरू हुन् । जीवन र जगत्का ज्ञात-अज्ञात भ्रामिक सत्य हुन् । जादुमय यथार्थ हुन् । क्यारेक्टरले उभिएको भू-स्पेस 'मिस्टरियस' जरुर छ परन्तु उनीहरूले बाँचेको जीवन 'सिरियस' छ । जैविक र भौतिक आवश्यकतामा उनीहरू चल्मलाएका छन् । पहिचान र प्रभुत्वको खोजीमा दिन बिताएका छन् । यायावरिक बनेका छन् ।
जीवन-मृत्यु रहस्यको गर्भबाट शून्यतातर्फको चिन्तनमा पैताला केन्द्रित भएको छ । उच्च बौद्धिक पाठकको अपेक्षा उपन्यासले राखेको छ । साधारण पाठकलाई पाचन चूर्णको आवश्यकता देखिन्छ ।
न्यारेटरकृत ससाना किस्साहरूको सिंगो फटिक हो- पैताला । सृष्टिकै पहिलो खुड्किलो हो- पैताला । मानव सभ्यताको जन्मसँगै सबैभन्दा प्राचीन अपितु अर्वाचीनमा स्थापित दर्शन हो- पैताला । तन्त्र-मन्त्र-यन्त्रको चेन अफ कमान्डमा स्थापित कमान्डो हो पैताला । लेखक स्वयंको स्मृति र विस्मृतिको भण्डार हो- पैताला । अनेकौं सांस्कृतिक-तान्त्रिक विधिको एउटै स्तम्भ हो- पैताला । इतिहास, दर्शन र मिथकको फ्युजन हो- पैताला । मानव सभ्यताको इतिहास, पूर्वीय-पाश्चात्य दर्शन, ज्ञान-विज्ञान साथै सांस्कृतिक तथा पौराणिक मिथकमा पैताला बुनिएको छ । यसैमा क्यारेक्टर, प्लट र टाइमिङ सेट गराएको छ । फिक्सनको डिक्सन (भाषा) पनि उसैगरी तुनिएको छ ।
कथाको मुख्य खोज, (१) सञ्जीवनी विद्याको सिद्धि र (२) एनएचसिक्ससीवाई (चिस्याउने अणु) को सफल प्रयोग गर्नु हो । यसको लागि उसले तन्त्रको सिम्बोलिक प्रयोग गरेको छ र अल्जाइमरको सिकार बनेकी न्यारेटर स्त्रीकालाई उपस्थित गराएर आख्यानकारको छाया पात्र जोस्मणिलाई उपर्युक्त जिम्मा लगाइएको छ । सिंगो आख्यान अलेक्जेन्डर वालेटले जोस्मणिको नाउँमा लेखेको ६ वटा चिठीको केन्द्रियतामा विसर्जन भएको छ ।
यही चिठीको रहस्योद्घाटनमा सम्पूर्ण आख्यानिक जालो बुनिएको छ । जहाँजहाँ चिठी छोडिएको छ, तहाँतहाँ एउटा न एउटा विचित्र घटना जोडिएको छ । कसलाई कहाँ हुत्याउने, कसलाई कहाँ तन्काउने, कसलाई कहाँ भर्ती गराउने, कसलाई कहाँ दिवंगत गराउने आदि महान् षड्यन्त्र आख्यानकार र स्त्रीका न्यारेटर बसेर सेटिङ गरिएको छ । यसले गर्दा पाठकलाई रहस्य बुझ्न समस्या नपरिजाला । बाठो छ आख्यानकार । पाठकलाई फकाई-फकाई लैजान्छ र गुमनाम बनाइदिन्छ । अल्झाइदिन्छ घरिघरि अनि आपंैm भन्छ- मैले गलत गरेँ, माफ पाऊँ है । हामी प्रस्ट बुझ्न सक्छौं, आख्यानकार चिठीको खोजमा निस्कने एकमात्र उद्देश्य 'पैताला दर्शन'को सफल प्रयोग हो । जहाँ-जहाँ चिठी पुग्छ, तहाँ-तहाँ पैताला पुग्छ । जसकै बलमा कथाहरू बुनिएका छन् । कथाहरू सुनिएका छन् ।
सिंगो प्लटमा लाहुरे संस्कृति, जनकपुर धामको कुण्डीय बयानमात्र होइन हिमाल, पहाड र तराईका आदिम संस्कृति र मिथकीय पहिचानको खोजी पनि गरिएको छ । सुन्दरी प्रोडक्सनका बागी क्यारेक्टर लोथिराको भनाइ सौन्दर्यको सापेक्षित वकालत हो । लोथिरा भन्छे, 'आँखा चिम्लनोस् । आँखाले नै मान्छेले आफ्नो अवधारणा बनाउँछ । आँखाले नै मान्छेले सौन्दर्य चेतना निर्माण गर्छ । आँखाबाटै मान्छेले आधा विश्वास बनाउँछ । आँखाबाट प्राप्त विश्वास र सौन्दर्य चेतनाबाट मुक्त नभईकन मान्छे प्राकृत हुन सक्दैन ।' आजको कथित मिडिया सुन्दरीका अगाडि संसारकै कुरूप मानिएकी लोथिराको उपर्युक्त भनाइ आफैंमा गतिलो झापड हो ।
माथिका सन्दर्भ पैतालाका मूल सन्दर्भ हुन् । उठाइएका विषयवस्तु हुन् । पैतालासँग अनेकौं प्रश्न छन् । उत्तरहरू छन् । डेरिडाले मानेको टेक्स्ट सत्यभन्दा माथि मिचेल फुकोको टेक्स्ट बाहिरका छरपस्ट विचारहरू आख्यानमा पाइन्छन् । आख्यान क्यारेक्टर कामरेड प्रचण्ड भन्छ, 'जोस्मणि बाबु, संसारका सबै प्रश्नको उत्तर हुँदैन । वास्तवमा जीवनमा महत्वपूर्ण प्रश्नहरू तिनै हुन्, जसको उत्तर मान्छेलाई थाहा हुँदैछ ।' यो सत्य हो।
भनेर-जानेर सबै कुरा सकिँदैन । आज हामी असाध्यै विद्वान् भइटोपलेका छौं । हामीलाई थाहा नभएको केही पनि छैन । थाहा भएको केही पनि छैन । भर्चुअल प्रविधिले हामीलाई स्वयंमा महान् विद्वान् साबित गराइदिएको छ । यो पनि हामीलाई थाहा छ- पूर्वीय सभ्यता, दर्शन, ज्ञान-विज्ञानको मुख्य विधान वेदलाई केलाउँदा-केलाउँदै शंकाराचार्यले दाह्री फुलाए । मर्ने बेलामा घोषणा गरिदिए- ब्रह्म सत्य जगत् मिथ्या ।
'म दिनदिनै डिप्रेसनको सिकार हुँदै गएको छु । यस्तो लाग्न थालेको छ, म मेरै पात्रको वजनले थिचिएर मर्दै छु', बारम्बार आख्यानकारलाई यही डरले सताइरहेको छ । कतिपय ठाउँमा उपन्यासको पाना तन्किएको छ । दिवंगत श्रीमती सारिका, जुलुम लामा, माक्सोती बूढी, ठकवक भएर उभिएका मौनी बाबा, इडा र पिङ्ला, पागौलिया आदि क्यारेक्टरको किस्सामा भौतारिएको छ न्यारेटर । पात्रहरूको व्यवस्थापन गर्दागर्दै पात्रकै वजनले च्यापिएको छ । कतैकतै यिनले बनाएको रिसर्च डिजाइन फंक्सनलेस भएको छ । सामग्री थुपारिदिन्छन्, वर्गीकरण पनि गरिदिन्छन् तर भेरिफिकेसन (सत्यापन) को अभाव देखिन्छ । को कहाँ उत्रने ? को कहाँबाट चढ्ने ? अत्तोपत्तो केही हुँदैन । यति हुँदाहुँदै पनि आफ्ना पाठकहरू नबिच्कियून् भन्ने चेत यिनमा छ ।
एउटा बजारिया आरोप छ- नगरकोटीले निल्यो गनेसलाई । तर पैताला पढिसक्दा कतै कदाचित् त्यस्तो अनुभूति हुँदैन । तर 'नगरकोटी' र 'गनेस' एउटै स्कुलका विद्यार्थी भने देखिन्छन् । दुवैले परम्परागत नेपाली कथावाचनको शैलीलाई चुनौती दिएका छन् । रहस्य र स्वैरकल्पना दुवैको मिलनबिन्दु हो । यिनका गुरु एउटै छन् ः जस्तै गाब्रियल ग्रासिया मार्खेज । जसको छत्रछाहारीमा यिनीहरू बेलाबेला उफ्रिरहेका छन्, भारतवर्षको नेपालखण्डमा । एउटा घाटतिर गएर तपस्या गर्छ अर्को हिमालतिर । यी दुवै बडे मिया-छोटे मिया हुन् जसले उत्तरआधुनिकताको म्यानभित्र जादुमय-यथार्थको तरबार नचाइरहेका छन् । यी दुवै आदिम क्यारेक्टरका भुताहा स्वामी हुन् । स्वयंमा फकिर हुन् । गोत्रविहीन । गृहविहीन ।
समकालीन आख्यानमा पाइने प्रेम र यौनको बोलवालभन्दा माथि उठेको छ 'पैताला' । जीवन-मृत्यु रहस्यको गर्भबाट शून्यतातर्पmको चिन्तनमा यो केन्द्रित भएको छ । उच्च बौद्धिक पाठकको अपेक्षा उपन्यासले राखेको छ । साधारण पाठकलाई पाचन चूर्णको आवश्यकता देखिन्छ । यद्यपि नाटकीय संवाद र पूर्वदीप्तिमा वर्णित संस्मरणात्मक कहानीले उपन्यासको ओजलाई जीवन्त तुल्याएको छ । प्रचलित स्वादभन्दा भिन्न स्वाद उपन्यासका पाठकले चाख्न जरुर पाएका छन् ।
साना किस्साहरूको तन्तुबाट निर्मित पैतालाको पाठकीय धैर्य उस्तै हुनुपर्छ जस्तो धैर्य जोस्मणिको छ । पागौलिया चरित्र नबोकेसम्म उपन्यासको पठनले चरमोत्कर्षमा पुर्‍याउँदैन । बीचबीचमा पाठकको धैर्य टुट्न सक्छ, जसरी जोस्मणिको ध्यान टुटेको छ गुफामा पुगेपछि । यही भएर आख्यानकार बीचबीचमा पाठकलाई सम्झाउँछ, यसको पूर्वापर सम्बन्ध फलानो-फलानो हो... ।
'पैताला' दर्शन नयाँ आविष्कार भने होइन । यद्यपि दर्शनकै रूपमा स्थापना नगरिएको र अज्ञातप्रायः रहेको स्थितिमा यसलाई आख्यानकारको ब्रह्मले उत्खनन गरिदिएको जरुर हो । यसलाई उनले दर्शनको रूपमा स्थापित गर्न खोजेका छन् । पूर्वस्थापित दर्शनको खण्डन-मण्डन गर्दै आफूले पैताला दर्शन स्थापना गर्नुको औचित्य र महत्वको पुष्टि गर्ने चेष्टा गरेका छन् । उनले वालेटको प्रयोगशालामा बसेर सञ्जीवनी विद्याको सिद्धि र एनएचसिक्सिवाईको व्यावहारिक प्रयोग सफल तुल्याउन सके भने पैतालाले नयाँ उचाइ कायम जरुर गर्नेछ ।
यिनले प्रयोग गरेको स्वैरकाल्पनिक तथा उडन्ते टेक्निक आख्यानको क्षेत्रमा माध्यमिककालीन समयका आख्यानकार गिरीशवल्लभ जोशीको 'वीरचरित्र' अथवा आधुनिक आख्यानकार धु्रवचन्द्र गौतमका 'अलिखित', 'अग्निदत्त+अग्निदत्त' जस्ता उपन्यासमा पनि पाइन्छ । 'ठकवकतन्त्र'को खोजी यिनको मौलिक खोजी हो । यसले हामीसँग भएका प्राचीन संस्कृतिको उत्खनन गरेको छ÷गर्न आह्वान गराएको छ । बाँकी पाठकको अदालतले पनि सुझाउनेछ । लेखकको आगामी पुस्तकले पनि यिनको दर्शन दीर्घकालीन दर्शन हो÷होइन भन्ने पुष्टि जरुर गर्नेछ ।

शनिवार, असार ३, २०७४

Published at: 

Thursday, June 8, 2017

धरती नटेकी उभिएको 'पैताला'

-- सरोनर

प्रस्तावना: 
धेरै-धेरै वर्षपहिले एउटा घना अरण्यको माझमा एउटा ऋषिको आश्रम थियो । आश्रमको अलिक पर केही ओरालोनेर एउटा खोल्सो थियो । दिउँसै मुटु नै चिस्याउने खालको अन्धकारको साम्राज्य फैलिएको देखा पर्ने खोल्सो । खोल्सोको एक सय मिटरको दूरीमा ऋषिका चेलाहरूको आश्रम अवस्थित थियो । नित्य निर्धारित समयावधिमा गुरुचेलाको अध्ययन-अध्यापन सुचारु हुन्थ्यो । गुरुको प्रभातकालीन एवं सन्ध्याकालीन भोजन तम्तयार पारिदिन एउटा सुनिश्चित चेला सदा सेवामा हाजिर हुन्थ्यो । समय सुमधुर पवनजस्तै बहँदै गइरहेको थियो । 
एकदिनको कुरा हो । सन्ध्या बेला । आफ्ना गुरुलाई सन्ध्याकालीन भोजन तम्तयार पारिदिएर उक्त सुनिश्चित चेला सदाझैँ आफ्नो आश्रमतिर चाँडो-चाँडो फर्किरहेको थियो । किनकि, उसलाई त्यो खोल्सोनेर बहुत डर लाग्थ्यो । खोल्सोनेर आइपुग्दा उसको मुटुको धड्कन एक्कासी बढ्न थाल्थ्यो । दिवा बेलामा दिवाकरकै उपस्थितिमा भयावह देखिने खोल्सो सन्ध्या बेलामा झन् कस्तो देखिन्थ्यो ? उसको हरेक दिनको शुभारम्भ खोल्सोको अतिबिघ्न सन्नाटामा सन्निकट डरबाट भइरहेको थियो । तर, त्यो दिन त झन् अजिबोगरिब पो भइदियो । ऊ खोल्सोमा आइपुगेको थियो, भूतसित पो उसको जम्काभेट भइगयो । उसको डरले सर्वोच्च शिखरको चुम्बन गर्यो । ऊ गर्न नै के सक्थ्यो ? ऊ स्थिर भयो । 
"म तँलाई खाऊँ ?," भूतले भूतको आवाजमा सोध्यो । 
ऊ बोल्न नै के सक्थ्यो ? 
"ओइ मनुवा सुनिनस् ? म तँलाई खाऊँ ?," भूतले पुन: भूतकै आवाजमा सोध्यो । 
"हजुर ... ! म ... भो...लि य...सै बेलामा यहाँ आइपुग्छु । अ...नि खानुहोला ।," भूतको प्रश्नमा निकै भयग्रस्त भुत्ते आवाजमा उसले यत्ति बोल्न सक्यो । 
"पक्का हो ? भोलि पक्का आउँछस् नि, तँ ?" 
"हजुर ! पक्का आउँछु ।" 
"ल, जा आजलाई उसोभए ।" भूतले चेलालाई बाटो छोडिदियो । 
के चेला त्यो रात राम्ररी निदाउन सक्यो ? 
भोलिपल्ट । भूतले उसको बाटो पुन: छेक्यो र तिनै प्रश्न गर्यो । अनि, उसले पनि तिनै जवाफ झनै डराईडराई दियो । अन्त्यमा, भूतले बाटो छाडिदियो । डरले उसको बोल्ती बन्द थियो । 'ल, आजलाई चाहिँ जा । दुईपटक भइसकेको छ । अबको तेस्रो पालिमा त म तँलाई खान्छु ,खान्छु ।' त्यो रातभर भूतको चेतावनी उसले सम्झिरह्यो । 
तेस्रो दिन । गुरुको प्रभातकालीन भोजनको बेला । आज पनि चेलाको अवस्था 'हरेक दिन रामसाइँला चिहानतिर ~ हरेक दिन एक पाइला चिहानतिर'कै थियो । मात्र त्यसमा आज पूरा मात्रा थपिएको थियो । आजभोलि उसको ध्यान न अध्ययनमा थियो, न अन्यमा । गुरुले उसको क्रियाकलाप नियालिरहेका थिए । 
"के भएको छ तँलाई, आजभोलि ? तेरो मन आजभोलि धेरै भड्किरहेको देख्दैछु । मलाई भन् ।," गुरुले सोधे । 
जसै गुरुले यो प्रश्न सोधे, चेला भक्कानियो र सम्पूर्ण घटना बेलिविस्तार लगायो । 
"तँ चिन्ता नले । यसो गर्, तेरो अनुहारभरि कालो मोसो दल् । हात चाहिँ सफा नै राख्नू । त्यो भूतले जसै 'म तँलाई खाऊँ' भन्छ, तैंले पनि 'ल ल, मलाई खा खा' भनेर त्यसको देब्रे गालामा दाहिने हातले एक थप्पड जमाएर दिनू । अनि, आश्रममा गएर आफ्नो अनुहार ऐनामा हेर्नू ।," सबै कुरा सुनिसकेपश्चात् गुरुले सुझ्याए । चेलाको बल्ल प्राण जागृत भयो । 
त्यही दिनको साँझ चेलाले आफ्नो गुरुले भनेबमोजिम गर्यो । चेला कालो मोसो पोतिएको उसको अनुहार लिएर भूतसमक्ष पुग्यो । भूतले 'म तँलाई खाऊँ' भन्दा 'ल ल, मलाई खा खा' भन्दै भूतको देब्रे गालामा दाहिने हातले एक थप्पड जमाएर कस्यो । र, ऊ आश्रममा गएर आफ्नो अनुहार हेर्यो । उसको आफ्नो देब्रे गालामा उसकै दाहिने हातको पाँच औंलाको छाप थियो । 

~ ~ ~ 

नेपाली साहित्य ! अब तैँले गनेस पौडेलको 'पैताला'लाई पनि गनेस । तथाकथित तान्त्रिक उपन्यास 'पैताला'ले तँलाई भन्दैछ, 'काउन्ट मी अल्सो । मलाई पनि गनेस ।' तर, बडो विडम्बनापूर्ण कुरो, यो 'पैताला'लाई लिएर लेखकको दाबी कस्तो छ, जुन 'यो नेपाली साहित्यको 'पैताला' हो' जस्तो छ । गौतम बुद्धले भने, 'सन्देह नै ज्ञानको जननी हो ।' लेनिनले पनि त्यही भने, 'हरेक कुरामा शंका गर ।' 'पैताला'को दाबी शतप्रतिशत सन्देहास्पद, शंकास्पद र समग्रमा हास्यास्पद छ । 'पैताला'को दर्शन 'तन्त्र : विधि, मन्त्र : शब्द अथवा ध्वनि र यन्त्र : साधन अथवा ज्यामिति' को लेखनी-त्रिवेणी भनिएको छ । व्यापक रूपमा भन्नुपर्दा, 'पैताला' भन्दा पूर्वका रचनामा देखा पर्ने दर्शनहरू चाहिँ उसोभए तन्त्र, मन्त्र र यन्त्रले सुसज्जित थिएनन्, छैनन् ? ती रचनाहरूमा मन्त्रलाई विधिपूर्वक भनिएको नै छैन र तिनको गतिलो प्रभाव नै छैन त ? मन्त्र र यन्त्रको सहीसाँचो प्रयोग गर्ने तकनिकी तन्त्र हो । 'पैताला' मात्रै उसोभए 'तान्त्रिक' उपन्यास हो ? 

'काठमाडौंको खास परिचय त पसलका सोकेसमा पो कैद हुँदो रहेछ । व्यापारीको सन्दुसमा पो काठमान्डुको मुटु लुकाइएको हुँदो रहेछ ।' 
(पेज २१५, माक्सोती भन्छे : माक्सोतीको काठमान्डु यात्रा : पैताला) 

नेपाली राजनीति र नेपाली साहित्यमा एउटा समानता छ । दुवैमा व्यापारी घुसेका छन् । 'पैताला' नेपाली साहित्यको बजारमा अलिकति बढी हल्ला आएको हो, व्यापार आएको हो । हल्लाकै स्वीकृति हो, 'पैताला' । कुमार नगरकोटीले 'मिस्टिका'लाई 'ब्ल्याक' फ्यान्टासीको उपमा दिएजस्तै । माथिको कथाअनुसार भनौँ, 'पैताला' कुनै 'गुरु' उपन्यास होइन, बरु त्यही 'गुरु'को त्यही सुनिश्चित चेला हो, जसले अनुहारभरि कालो मोसो दलेर भूतको देब्रे गालामा आफ्नो दाहिने हाते थप्पड प्रहार गरेको छ, तर आफ्नो अनुहार ऐनामा गएर हेरिसकेको छैन । पाठकहरू भयभीत नहुँदा हुन्छ, 'पैताला' 'भूत' हैन, 'पैताला'मा कुनै भूत छैन, बरू यो भुत्ते छ । अझ यसले त उक्त गुरुले जस्तो सही उपाय प्रदान-वरदान पनि दिँदैन । यो पुस्तकले 'मृत्युु एवं ब्रह्माण्ड सिद्धान्त'को बडो डिङ हाँक्छ, हिङ नभए तापनि हिङ बाँधेको टालो राख्छ । ढुक्क हुनुस्, 'जोस्मणि आरण्य'ले शुक्राचार्यको, कमसेकम उपन्यासभरि नै, 'सञ्जीवनी बुटी' र सो-कल्ड आख्यानकारको आकाश प्रेमको उपज 'एन्टी इलेमेन्ट : एनएचसिक्ससिवाई' पत्ता लगाउनेछैन, किनकि तर्कले मात्रै आविष्कार सम्भव छैन । 
एकजना विद्यार्थी छ । शिक्षकले एकदिन उसलाई सोध्छन् । 
'खोज र आविष्कार'को वाक्य बना त ।' 
विद्यार्थीले 'खोज र आविष्कार'को वाक्य के बनाएछ, थाहा छ, 'मेरा बाबाले मेरी आमालाई 'खोज' गर्नुभयो र मलाई 'आविष्कार' गर्नुभयो' । 

१ 
नारायण वाग्लेको 'पल्पसा क्याफे'ले नेपाली साहित्यलाई 'प्रोफेसन' दियो ? 'पल्पसा क्याफे'को 'प्रोफेसनल डिमान्ड एवं भ्यालु' गुलजार भयो ? अब प्रश्न आउनेछ, लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन', लीलबहादुर क्षेत्रीको 'बसाइँ', पारिजातको 'शिरीषको फूल', डायमनशमशेरको 'सेतो बाघ' लगायतले चाहिँ यसभन्दा अगाडि नेपाली साहित्यलाई 'प्रोफेसन' नदिएकै हुन् त ? यदि सकारात्मक जवाफी मुन्टो हल्लन्छ भने भनिदिनुपर्नेछ, 'पल्पसा क्याफे'ले नेपाली साहित्यलाई 'प्रोफेसन' दिएको हो, खलिल जिब्रानको 'प्रोफेट' दिएको होइन । 
बुद्धिसागरको 'कर्नाली ब्लुज'मा जाऔँ । नेपाली साहित्यमा 'कर्नाली ब्लुज'को सफलता भनेको 'सिचुएसनल र भाषाशैलीगत' हुन् । जुन बेला, नेपाली साहित्यमा सिमान्तकृत भाषा एवं साहित्यको कुरा हुँदै थियो । नयनराज पाण्डेको 'उलार'लाई ब्युताइँदै गरेको समयावधि थियो । तर, अराउन्ड टेक्स्ट जाने हो भने 'कर्नाली ब्लुज' वास्तविक रूपमा कर्णालीको ब्लुज होइन, बरू यो 'बा'को भरिभराउ प्रस्तुति 'बा ब्लुज' हो । अमर न्यौपानेको 'पानीको घाम'को सफलताले पनि यस्तै देखाउँछ । 
एकजना अनपढ नेपाली र उसको बिरालो अङ्ग्रेजको घरमा पुग्छन् । अङ्ग्रेजको एउटा गाई छ । अङ्ग्रेज बिहानै उठ्छ, गाई दुहुन्छ, गाईको दूध आगोमा उमालेर चुल्होनजिकै राख्छ र कतै निस्कन्छ । त्यसैबेला नेपालीको बिरालो झ्यालबाट फुत्त छिर्छ, कराईको आधा दूध पिउँछ र आधा दूध घोप्ट्याइदिन्छ, दूध चिर्लिम्मै पारिदिन्छ । जब अङ्ग्रेज उसको घरमा आएर यो सब चर्तीकला देख्यो, ऊ रिसले आगो भयो र नेपालीलाई बोलाएर सोध्यो । 
'ह्वाट इज अल दिस ? ह्वाट इज गोइङ हियर ?' 
जवाफमा नेपालीले भनेछ, 'टु कान ठाडा, वान पुच्छर थिरलिङ, झ्यालबाट छिरलिङ, दूधभरि चिरलिम ।' 
'मोक्षान्त : काठमान्डू फिभर', 'फोसिल', 'कोमा : अ पोलिटिकल सेक्स', 'अक्षरगञ्ज', 'घाटमान्डु', 'मिस्टिका' लगायतमा नगरकोटीले भाषाको 'ड्याम केयर' गरे, उनलाई त्यसले पनि सफल देखाइदियो । गनेस पौडेलले आफ्नो 'पैताला'मा भलै त्यो गरेका छैनन्, तर पात्रछनौट र शैलीतिर नजरअन्दाज गरौँ, उनको पुस्तकीय 'बुकिस फेलो' एक्सप्रेसन 'नगरकोटीएन इम्प्रेसन' नै हो । 
नगरकोटीको ब्ल्याक फ्यान्टासीको ब्ल्याक बिरालो तान्त्रिक 'पैताला' भएर देखा परेको छ । नगरकोटीको लेखन बढी 'एलुसिभ' छ । नगरकोटीको लेखनमा 'दर्शन-घर्षण-आकर्षण' ज्यादा छ । 'पैताला'को लेखन कुनै नयाँ/नौलो/नवीन होइन । नयनराज पाण्डेको 'घामकिरी'मा ' भर्तृहरि र पिङ्गलाको मायावी अमृत फल'को प्रसङ्ग आएजस्तै 'पैताला'मा 'शुक्राचार्यको सञ्जीवनी र एन्टी इलेमेन्ट' आउने हो, बाँकी केही होइन । सतही रूपमा नै सही, 'पैताला'लाई एउटा अर्को 'घामकिरी' भन्दा केही फरक पर्दैन । 
नगरकोटी आफूलाई 'फिक्सन डिजाइनर' भन्दछन् । के हो यो भनेको ? नेपाली साहित्यमा पाठकले भनोस्, नभनोस्, लेखक आफूले आफैँलाइ र आफ्ना सिर्जनालाई एउटा अजिबोगरिब उपमा र नाम दिन थालेका छन् । परिणामस्वरूप, पाठक रनभुल्लमा परेका छन् । लेखनाथ पौड्यालले पनि 'तरुण तपसी'लाई 'नव्यकाव्य'को नाम नदिएका त होइनन् ! कस्तो रमाइलो कुरा, लेखक स्वयंले स्वयंलाई सम्मान गर्न थालेका छन्, उपाधि दिन थालेका छन् । देवकोटाले आफूले प्राप्त गरेको 'कविशिरोमणि'को उपाधि 'लेखनाथ पौड्याल'लाई सम्मानपूर्वक दिन अह्राए । शंकर लामिछानेले 'लेखक भनेको देवता हो, देवकोटा हो' भने । तर, अब त्यो वातावरण कहाँ बाँकी रह्यो ? यही हराएको सेरोफेरोमा लेखकको स्वघोषणासहित तान्त्रिक 'पैताला' आइपुगेको छ । 

२ 
नेपाल पठनप्रवृत्तिको सम्बन्धमा एउटा सुन्दर भनाइ आइपुगेको छ : 'कुनै नयाँ लेखकको नयाँ कृति आउँदा हामी उसको ओरिजिनालिटी खोज्दैनौँ, अरूसँग उसको सिमिलारिटी खोज्छौँ ।' अब यहाँ अर्को गज्जबको प्रश्न खडा भइजानेछ । कुनै पनि लेखकको ओरिजिनालिटीको निर्धारण फेरि अन्य लेखकका कृतिसँगको दाँजो एवं तुलनाबाट नै हुने होला, कि हैन ? 
नगरकोटी आफ्नो कुनै कथामा 'हरेक मोर्टल मानिसको जीवनमा इम्मोर्टल डिस्टर्वेन्सको आवश्यकता पर्दछ' भनेर लेख्दछन् । गनेस पौडेल त्यसरी नै आफ्नो पुस्तकमा भन्दछन् : 
'सञ्जीवनी विद्याजस्तो अलौकिक सम्पदालाई हासिल गर्नुपूर्व जोस्मणि यस्तै अलौकिक घटनाबाट गुज्रनु जरूरी हुन्छ । एनएचसिक्ससिवाईजस्तो लौकिक पदार्थ प्राप्त गर्न लौकिक घटनाबाट गुज्रनुपर्छ ।' 
(पेज १५५, आख्यानकार भन्छ : भूतनाथ मन्दिरमा अघिल्लो दिन : पैताला) 

नगरकोटी आफ्नो पुस्तकमा फ्रेडरिक नित्सेको भनाइ कोट गर्दछन्: 'इफ यु वान्ट टु लिभ, लिभ डेन्जरस्ली ।' गनेस पौडेल आफ्नो पुस्तकको शुभारम्भमै रुमीको भनाइलाई 'रुमाल फरर' गर्छन्: 'लिभ ह्वेर यु फियर टु लिभ ।' 'माई लभ, लभ डज नट डाई, यु ह्याभ टु किल इट ।' 'ईश्वरको मृत्युको घोषणा' गर्ने फ्रेडरिक नित्से आफ्नो मास्टरपिस 'दस स्पेक जराथुस्त्र'को एक स्थानमा लेख्दछन् : 'ओ लाइफ ! आई फियर दी नियर, आई लभ दी फार ।' 

"दया देखाउने मान्छे पनि कतै कथाकार बन्छ ? मान्छेलाई दु:ख नदिई कस्तो कथा रचना गर्छौ तिमी ?" 
(पेज ८०, आख्यानकार भन्छ : लिलाम : पैताला) 

'पैताला' उत्तरआधुनिकताको ह्याङओभर, लीलालेखनको धङधङी हो । उत्तरआधुनिकता भन्छ, प्रत्येक सत्य इरेजरमुन्तिर स्थापित हुन्छन् । सत्यको खोज प्याजको पत्रपत्र खोल्स्याएर त्यसको केन्द्र पत्ता लगाउनुजस्तै हो । शंकर लामिछानेको 'एब्स्ट्रयाक्ट चिन्तन : प्याज' मा जस्तै ? 'पैताला'की अल्जाइमर्सग्रस्त न्यारेटर बुढिया 'स्त्रीका' कथा सुनाउन आख्यानकारको कोठामा आइपुग्छिन् । आख्यानको प्रमुख चरित्र जोस्मणि आरण्यले अलेक्जेन्डर वालेटको पत्र प्राप्त गरेपश्चात् थालनी हुने उसको 'शुक्राचार्यको सञ्जीवनी बुटी र एनएचसिक्ससिवाई'को खोजमूलक यात्रावृतान्त हो, यो उपन्यास । सम्पूर्ण उपन्यास, उपन्यास कम र संस्मरण अथवा नियात्रा ज्याद्रो लाग्छ । सायद 'पैताला' यात्रा गर्ने हुनाले यसो भएको होला । रारा ताल, जनकपुर, ल्होमान्थाङ लगायतको यात्रा-वर्णनले भरिपूर्ण यसलाई नियात्रा-उपन्यास भनिदिँदा केही फरक पर्नेवाला छैन । जस्तो, इन्द्रबहादुर राईको 'कठपुतलीको मन' पढ्दा हामीलाई कथा कम बेसी निबन्ध पढेको भान भइदिन्छ । 


३ 
'हरेक मान्छेका कथा निजात्मक छन् । हरेकका कथा आफ्ना लागि मूलकथा हुन् । अरूका कथा सहायक । पूर्वजको कथा तिम्रा लागि सहायक कथा भएजस्तै तिम्रो कथा पनि उसका लागि सहायक मात्रै हो । उसको जिन्दगीको हिरो ऊ आफैँ हो । तिम्रो जिन्दगीको तिमी भइहाल्यौ ।' 
(पेज ९९, आख्यानकारको पत्र : पैताला) 

'संसारका सबै प्रश्नको उत्तर हुँदैन । वास्तवमा सृष्टिका महत्त्वपूर्ण प्रश्नहरू तिनै हुन्, जसको उत्तर हुँदैन । ... सबैको समय समान गतिमा चल्दैन । शायद तपाईंको भन्दा चाँडै चलिरहेको छ मेरो समय ।' 
(पेज २४३, माक्सोतीसँग भेट : पैताला) 

'तन्यते विस्तारयते ज्ञानं अनेन् इति तन्त्रम्' (शैव सिद्धान्त) 
(ज्ञानलाई यसद्वारा तानेर विस्तार गरिन्छ, यही तन्त्र हो ।) 
भारतीय उपमहाद्विपको एक वैविधतापूर्ण एवं सम्पन्न परिपाटी, विविध रूपमा भारत, नेपाल, चीन, तिब्बत, जापान, कोरिया, कम्बोडिया, म्यान्मार, इण्डोनेशिया र मंगोलियामा विद्यमान तन्त्रको बहुत आदिम इतिहास छ, व्यापक परिभाषा छ, जुन गतिशील छ, परिवर्तनशील छ, जसअन्तर्गत हाल विविध प्रकारका अन्त्यन्त कट्टरवादी विचारहरूदेखि लिएर धेरै उदारवादी विचारहरू आउँदछन् । 
भारतीय परम्परामा कुनै व्यवस्थित ग्रन्थ, सिद्धान्त, विधि, उपकरण, तकनिकी अथवा कार्यप्रणालीलाई पनि तन्त्र भनिन्छ । 
शब्दशास्त्रअनुसार, 'तन्' र 'त्रै' धातुको सम्मिलनबाट 'तन्त्र' बनेको हो, जसको अर्थ क्रमश: 'विस्तार' र 'रक्षा गर्नु' भन्ने हुन्छ । तन्त्रले ज्ञानको विस्तार साथसाथै यसको आचरण एवं मार्गअवलम्बन गर्नेको त्राण अथवा सुरक्षा पनि गर्दछ । 'तनोति त्रायति तन्त्र' । 
'आगमात् शिववक्त्रात् गतं च गिरिजा मुखम् । 
सम्मतं वासुदेवेन आगम: इति कथ्यते ।।' 
तन्त्रशास्त्रको एउटा नाम 'अगम शास्त्र' पनि हो । वाचस्पति मिश्रका अनुसार, जुनबाट अभ्युदय (लौकिक कल्याण) र मोक्षको उपाय बुद्धिमा उत्पन्न हुन्छ, आगमन हुन्छ, त्यही 'आगम' हो, जुनमा व्यवहार पक्ष प्रमुख हुन्छ । तन्त्रका सात लक्षणहरू सृष्टि, प्रत्यय, देवार्चन, सर्वसाधन, पुरश्चरण, षट्कर्म र ध्यानलाई मानिन्छ । शास्त्रको अन्य स्वरूप 'निगम' अन्तर्गत 'वेदशास्त्र' (वेद, पुराण, उपनिषद् आदि) पर्दछ, जसमा ज्ञान, कर्म र उपासना आदिको विषयमा बताइएको छ । 
'पैताला'को सुन्दर पक्ष भनेको यसको 'सेल्फी' न्यारेसन अथवा कथावाचन हो । नगरकोटी पढेकाहरूका लागि जुन नयाँ भने होइन । तन्त्रको तात्पर्य 'तन्' को माध्यमबाट आत्माको 'त्राण' अथवा आफूबाट आफ्नै उद्वार भन्ने पनि हुन्छ । आगम शास्त्रअनुसार, गर्नु नै जान्नु हो र केही जान्नु ज्ञानको परिभाषामा आउँदैन, अटाउँदैन; जबसम्म केही गरिँदैन, साधनामा प्रवेश हुँदैन तबसम्म कुनै उत्तर या समाधान आउँदैन । सायद यसैलाई 'हार्ट इज द सिक्रेट इन्साइड द सिक्रेट' भनिन्छ ? जस्तो कतै भनिएको छ, 'सर्प विषालु हुन्छ भनेर पत्तो पाउनु सूचना हो । त्यो विषले मानिस मर्न सक्छ भनेर थाहा पाउनु ज्ञान हो । उक्त विषलाई निस्तेज पार्ने औषधीको आविष्कार गर्न सक्नु बुद्धि हो । यति सब भएर पनि सर्पसँग कहिल्यै नजिस्कनुचाहिँ विवेक हो ।' 

'यी हेर, इडाको दाहिने हात छैन। मेरो देब्रे हात छैन । खासमा इडा मेरो देब्रे हात हो । म उसको दाहिने हात हुँ । ... वीर्यकुण्डमा । ठकवक भएर उभिएका मौनी बाबाको आधा हर जो सेतो थियो, त्यो इडा थिई । आधा हर जो रातो थियो, त्यो म थिएँ ।', पिङ्गलाले रहस्य उद्घाटन गर्दै भनी ।' 
(पेज १९६, २०१, इडा र पिङ्गला : पैताला) 

'पैताला'का चरित्रहरू समय-स्थानमा 'मल्टिपल पर्सनालिटी' बाँचेका छन् । पागौलिया उर्फ सुफी दर्विश, पूर्वज निकुञ्ज (सुरेन्द्र नेपाली), माक्सोती उर्फ समृद्धि राई, गंगाजमुना उर्फ चन्द्रकला, सूर्यकला उर्फ इडा र पिङ्गला (एउटै लोथिराका जुम्ल्याहा छोरीहरू) लगायत ती प्रत्येकसँग प्रत्येक जोडिएका छन् । रहस्यमय नम्बर '९८१६६८७७१३' समेत । जेट ली अभिनीत फिल्म 'द वन'मा जस्तै । हामी केही हदसम्म स्कार्लेट जोहान्सन अभिनीत 'लुसी'लाई पनि सम्झन सक्नेछौँ । अाइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त, हकिङको 'समयको संक्षिप्त इतिहास' लगायतसँग यहाँ हामी साक्षात्कार हुन सक्नेछौँ । आख्यानकार ती पात्रहरूलाई एक-आपसमा जोड्न 'माइनोटरको मेज'जस्तो यस्तो भुलभुलैयाको निर्माण गर्दछन्, जस्तो हामी सञ्जीव उप्रेतीको 'घनचक्कर'मा देख्न पाउँछौँ । पाठक क्षणिक रूपमा आनन्दको सिकार त पक्कै हुन्छ । तर, जस्तो फिलिप सिड्नीका अनुसार, कविता (कला) का दुई मूलभूत कार्य : 'टु डिलाइट/इन्टरटेन' (परम)आनन्द, मनोरञ्जन) र 'टु मुभ/कन्भिन्स' । पाठक 'पैताला'देखि कन्भिन्स हुन सक्दैन । 

४ 
'आँखा चिम्लनुहोस् । आँखाले नै मान्छेले आफ्नो अवधारणा बनाउँछ । आँखाले नै मान्छेले सौन्दर्य चेतना निर्माण गर्छ । आँखाबाटै मान्छेले आधा विश्वास बनाउँछ । आँखाबाट प्राप्त विश्वास र सौन्दर्य चेतनाबाट मुक्त नभईकन मान्छे प्राकृत हुन सक्दैन । आँखा नचिम्लीकनै गरिने कुनै ध्यान देख्नुभएको छ ?' 
(पेज १६८, लोथिरा : पैताला) 

'पैताला' क्षणिक आनन्दको सस्पेन्सिभ शब्दजाल मात्रै हो । तन्त्रजस्तो गहन कुरालाई लिएर गरिएको एउटा मजाक । 
'तिमीलाई लागेको होला, सञ्जीवनी सेवन गरेको व्रणतुका कसरी मर्यो ? व्रणतुकालाई जुन सञ्जीवनीको सेवन गराइएको थियो, त्यो पूर्ण डोजको थिएन । त्यसैले ऊ कहिल्यै नमर्ने त भयो, तर अजम्बरी भएन । चिरञ्जीवी भएन । ऊ इमोर्टल भएन । अमोर्टल मात्रै भयो । कालगतिले कहिल्यै नमर्ने तर दुर्घटनाबाट भने सञ्जीवनीले पनि उसलाई जोगाउन सक्ने थिएन । आखिर ठीकै भयो । बाँच्दा-बाँच्दा व्रणतुका वाक्क भएको थियो ।' 
(पेज ११५, न्यारेटर बूढी भन्छे : पैताला) 

'पैताला' नेपाली साहित्यमा अष्टचिरञ्जीवी होइन । यो दुर्घटनाद्वारा मर्ने व्रणतुका नै हो र यसले सञ्जीवनी सेवन गरेको पनि छैन । यसले बोकेको दर्शन 'अर्ध ज्ञानम् भयङ्कारी' साबित हुनेछ । बालकृष्ण समले आफ्नो एक वियोगान्त नाटक 'अन्धवेग'मा आफ्नो एक पात्रलाई बोल्न लगाउँदछन्, 'पाप डरलाग्दो हुन्थ्यो भने कसले गर्ने थियो र, यो रहरलाग्दो पनि हुन्छ र पो !' आख्यानकारले अनावश्यक रूपमा कोहलपुरको होटल सेन्ट्रल प्लाजाको सडकनेर भेटिएकी लोथिरा र अलेक्जेन्डर वालेटको संसर्ग लगायतको बेस्कन वर्णन गरेका छन् । व्रणतुकालाई बाँच्दा-बाँच्दा वाक्क लागेजस्तै आख्यानकारलाई पनि लेख्दा-लेख्दा वाक्क लागेर हो कि, उपन्यासको अन्त्य जबर्जस्ती टुङ्गो लगाइएजस्तो छ । उपन्यासले कुनै निचोडमा पुर्‍याउने छैन । उपन्यासमा वाक्यहरू काम न काज लम्बेतान तुल्याइएका छन् । यो पुस्तक बनिबनाउ किसिमको छ । यो भन्दा त बरू गिरीशवल्लभ जोशीको 'वीरचरित्र', 'वीरसिक्का', 'अरेबियन नाइट्स : वान थाउजन्ड एण्ड वान नाइट्स' मै पाठकले इन्जोय गर्न सक्नेछन् । 
प्रथम पुस्तक 'पैताला' लेखकको 'सेफ ल्यान्डिङ' हैन, एक्सिडेन्टमा परिणत भइदिएको छ । लेख्नका लागि केही नयाँ चाहिन्छ । तर, यो पुस्तक पढ्दाखेरि के पत्ता लगाउन सकिन्छ भने, उनी पाठकका रूपमा धेरै कुराबाट, पुस्तकबाट, सिनेमाबाट प्रभावित छन् र उनी यो पुस्तक एउटा 'डायरी'जस्तो लेखेर बौद्धिक विलास गरेका छन् । 'बुद्ध र हिँडेरै नदी तर्ने भिक्षु' को प्रसङ्ग आएको छ, 'सुजाताको खीर'को सन्दर्भ आएको छ । अब्बास किरोस्तामीको सिनेमा 'टेस्ट अफ चेरी' पनि देखा परेको छ । 'लोमान्थाङ' अध्यायअन्तर्गतका वाक्यांशहरू, 'छपनी ढुङ्गाको माथिल्लो भाग ठ्याक्कै स्त्री यौनाङ्गजस्तो थियो । यही छपनीको यौनाङ्ग स्वरूपबाट भोटेपीपलको विशाल रूख पलाएको छ । प्रथम रजस्वलापछि सर्वाङ्ग नाङ्गो शरीर उत्तानो परेर घाम तापिरहेकी कुनै वृक्ष पलाएको कल्पना गर त !', पढिरहँदा किम कि दुकको 'दि आइजल' सिनेमाको लेडी-फिगर हाम्रो मानसमा आउन सक्छ । 'इडा र पिङ्गला' अन्तर्गत 'धर्महरू ~ विचारहरू ~ समाजहरू ~ देशहरू घाँस हुन्' पढ्दा जोन लेननको 'इम्याजिन'को कुरो । र, यो पुस्तक पढिरहँदा भन्न मन लागिजान्छ, 'यो पुस्तक पनि घाँस हो ।' गतिलो पाठकले गतिलो पुस्तक सिर्जना गर्न सक्ने भन्ने रहेनछ, पाठककै बौद्धिकता त्यसमा खतराको रूपमा उपस्थित हुँदो रहेछ । प्रस्तुत पुस्तक लेखकको बिल्कुल ऐकान्तिक रोमान्सजस्तो देखा पर्दछ । तान्त्रिक हैन, बरू यो तार्किकजस्तो पो देखा परिजान्छ बरिलै । लेखकलाई शिवपुरी बाबाको 'अनन्तको यात्रा र स्वधर्म'को विषयमा त पक्कै त्ज्ञान थियो नै होला ? त्यसैले यो रोबर्ट एम पिरसिगको 'झेन एण्ड दि आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स' जस्तो छँदै छैन । निकोस काजान्तजाकिसको 'जोर्बा द ग्रीक', अथवा भनौँ, सरूभक्तको 'पागल बस्ती' जस्तो पनि हैन । कृष्ण धराबासीको 'शरणार्थी', अथवा, जगदीश घिमिरेको 'लिलाम, साबिती र अन्तर्मनको यात्रा' सँग जुधाएर पनि न कुरा अरम । घनश्याम खड्काको 'निर्वाण'लाई हर्मन हेस्सेको 'सिद्धार्थ'सँग तुलना गर्दा जति हास्यास्पद हुन जान्छ, त्यस्तै हुन जान्छ 'पैताला'लाई परमहंस योगानन्दको 'योगीको आत्मकथा'सँग तुलना गर्दा । 

'बिल्कुल मेरो कल्पनाको घर थियो त्यो । तर अलि ज्यादै ठूलो भयो यो घर । ज्यादै सुविधायुक्त भयो । धेरै सुविधा भयो भने सुविधाले नै किचिएर मरिन्छ ।' 
(पेज ३४८, इबे तिङतिङ : पैताला) 

कोही लेखकले भनेका छन्, 'धेरै पुस्तक पढ्दैमा कोही लेखक हुँदैन । तीनवटा पुस्तक पढ । तीसजना मानिससँग संगत गर । किनकि मानिसजस्तो गहिरो अर्को पुस्तक हुँदैन ।' 


उपसंहार: 
'हामी पाइताला हौं 
केवल पाइताला 
र फगत पाइताला 
... 
हामी दौडमा प्रथम हुन्छौं 
र हाम्रो निधारले टीका थाप्छ 
हामी दौडमा प्रथम हुन्छौं 
र हाम्रो घाँटीले माला लाउँछ 
हामी दौडमा प्रथम हुन्छौं 
र हाम्रो छातीले तक्मा टाँस्छ 
हाम्रो टीका थाप्ने निधार अर्कै छ 
हाम्रो माला लाउने घाँटी अर्कै छ 
हाम्रो तक्मा टाँस्ने छाती अर्कै छ 
हामी त फगत कसैको इशारामा 
टेक्ने, हिँड्ने र दगुर्ने पाइताला हौं 
केवल पाइताला 
र फगत पाइताला । 
(पेज १६, १७, हामी : घुम्ने मेचमाथि अन्धो मान्छे : भूपी शेरचन) 

गनेस पौडेलभन्दा अगाडि नै कसैले 'पैताला : कथा उत्खननको आदि अङ्ग' भनेर कसैले पत्ता लगाइसकेको छ । प्रगतिशील लेखकहरू 'भुइँ छोएर सिर्जना गर्नुपर्ने' तर्क गर्छन् । 

'देखाउँदै मेरो शिरतिर 
पुनः मेरो पैतालातिर देखाउँदै 
र देखाउँदै मेरो जम्मै शरीरतिर 
भन्दैछ मलाई मेरो एकजना साथीले, 
"तिम्रो टाउको र पैताला जोडिएको छ 
तर देखाऊ कहाँ जोडिएको छ ?" 
"पेटमा," मैले जवाफमा भन्छु; 
जबसम्म पेट अघाउँदैन, भोको रहन्छ 
तबसम्म शिर निहुरिरहन्छ 
र पैताला अघि बढ्न सक्दैन ।' 

के कलामा जीवन आउनैपर्छ, देखिनैपर्छ ? कलामा जीवन आउनैपर्छ, देखिनैपर्छ होइन, कलामा जीवन आउँछ नै, देखिन्छ नै । 'पैताला' जस्तो पुस्तकमा जीवन कहाँ छ ? के जीवन छैन ? हैन, 'पैताला'मा पनि जीवन छ, तर छोपिएको छ । रूखै नपाइने वन - जीवनको रूखो चित्रणको प्रस्तुति 'पैताला' लेखकको आग्रहले भरिएको छ । 'जग ठड्याउन भुलिएको छ तलबाट, गल्ती भएको छैन महल बनाएर हावामा ।' 'पैताला'को पैतालामा जीवन कुल्चिइएको छ । त्यसैले अब यो कसरी उभिन्छ, कतिञ्जेल उभिन सक्छ ? 

'शोभाको लोग्ने सुकलाल गुरुङ सिङ्गापुरबाट काठमान्डु आउने भयो । सुकलाल सिङ्गापुरे लाहुरे थियो । गत साल उसको फोटोसँग शोभाको बिहे भएको थियो । गुरुङ गाउँतिर यस्तो भइरहने कुरो रहेछ । शोभा आफ्नो लाहुरे पतिबाट छुटकारा चाहन्थी । पतिदेव एयरपोर्ट नओर्लंदै ऊ आफ्नो प्रेमी (हरिश्चन्द्र उर्फ ओशोको पुस्तक 'सम्भोगबाट समाधितिर'को भक्त) सम्भोग अधिकारीसँग भाग्न चाहन्थी ।' 
(पेज २१६, अनि त्यो एक दिन : माक्सोतीको काठमान्डु यात्रा : पैताला) 

नेपाली पाठक आजभोलि 'शोभा' भएका छन् । जसले मर्नु न बाँच्नुको ठरठेगाना नभएका सुकलालरूपी पुस्तकको फोटोसँग विवाह गरिरहन्छन् । पछि आफ्नै प्रेमी पुस्तकसँग जान्छन् । 
भन्छन्, चरणको पूजा गर । चरणको अर्थ हुन्छ, आचरण । त्यसैले, आचरणको पूजा गर । 
सबैभन्दा सुन्दर चाल, ब्युटीफूल मुभमेन्ट केको हुन्छ, कसको हुन्छ ? बाघ । सबैभन्दा सुन्दर चाल, बाघचाल । 'पैताला' बाघ-पुस्तक होइन, जसले नेपाली साहित्यको जङ्गलमा मंगलमय राज गर्न सकोस् । बालकृष्ण समलाई कोट गरेर भनौं, यो पनि एउटा 'नियमित आकस्मिकता' हो । जुन दिन दुईगुणा रात चौगुणा हुँदैन, बरू नौ दिनमा नौलो हुनेछ र बीस दिनमा बिर्सिइनेछ । किनकि, 'पैताला'को पेट छैन । 

जेठ २५, २०७४

Published at: 

Thursday, April 27, 2017

सरुभक्तियन शून्यवादी अहमवाद

त्य यदि प्रमाणित गर्नै पर्ने जिनिस हो भने, यो दुई रेखाको समानान्तर वार्तालाप हो । पदार्थ, ऊर्जा र शून्य पहिलो रेखा हुन् । हाम्रो स्थान र समय भर्ने कुरामा पदार्थ छ, कि ऊर्जा छ, कि दुवै छैनन् अर्थात् शून्य छ । समानान्तर अर्को रेखामा जैविकता, चेतना र अहम् पर्दछन् ।
जैविकता पदार्थ र ऊर्जाको निरन्तर प्रतिक्रिया हो । सबै जीवमा समान चेतना हुँदैन । चेतना जीवमा सन्निहित इन्द्रियहरूको ग्रहणशीलता हो । पदार्थ, ऊर्जा, जैविकता र चेतना सबैलाई हामी मेरो' भनेर स्वामित्व लिन सक्छौं । भागवत गीता भन्छ, ‘जुन कुरा मेरो होइन त्यही अहम् हो ।' जुन कुरालाई हामी मेरो भन्न सक्दैनौं त्यही '' हो ।
यसरी शून्य' पदार्थ र ऊर्जाको अनुपस्थिति हो भने अहम् मेरो' अनुपस्थिति हो । यो सनातन पूर्वीय डिस्कोर्स हो । शून्य र अहम्को सरुभक्तीय डिस्कोर्स अलिक फरक छ । उनी दुवैलाई मिसाएर शून्यवादी अहमवाद' को कुरा गर्छन् । सरुभक्तले बोक्सीको आह्वान र घोषणापत्र' नामक आफ्नो तेस्रो कृतिमा शून्यवादी अहम्वादको अवधारणा पहिलोपटक सार्वजनिक गरेका थिए भने त्यसको संशोधन/व्याख्या आफ्नो चौथो कृति इतिहासभित्रको इतिहास' मा गरेका छन् । यही दर्शनको टेकोमा अडिएको प्रसिद्ध कृति पागल बस्ती' तिनताका प्रकाशोन्मुख थियो । आजको यो आलेखमा म सरुभक्तको शून्यवादी अहम्वाद' को सतही व्याख्या गर्छु ।
सरुभक्त आफ्नो दर्शनलाई कुनै चामत्कारिक आविस्कार मान्दैनन् । भन्छन्, मानव जीवन ऐतिहासिक विकासको परिप्रेक्ष्यमा जति सामान्य छ, सम्पूर्ण मानवीय दर्शन र कलागत सत्य अन्वेषण त्यति नै सामान्य हुन्छ । मानवीय वास्तविकता अन्तरिक्षबाट अवतरित हुने नितान्त मौलिक चमत्कार होइन । जस्तो कि बुद्धले जीवन दु:खपूर्ण छ भन्नु अति सामान्य कुरा हो र यही सामान्य कुरामा तथागत बुद्धत्व' अर्थपूर्ण हुन्छ । अनि यौन फ्रायडको मौलिक सिर्जना होइन, वैज्ञानिक विश्लेषण हो । फ्रायड पूर्वको यौन साहित्य फ्रायडपछिको यौन साहित्यभन्दा सुन्दर छन् । पूर्वका रसवाद, ध्वनिवाद, अलङ्कारवाद, रीतिवाद, वक्तौक्तिवाद, औचित्यवाद हुन् या पश्चिमका शास्त्रीयतावाद, स्वच्छन्दतावाद, यथार्थवाद, प्रगतिवाद, विम्बवाद, अस्तित्ववाद तथा विसंगतिवाद आदि कुनै पनि वादहरू सर्वाङ्ग मौलिक नवीनताको दाबी गर्न सक्षम छैनन् ।
उनी शून्यवादलाई अहम्केन्द्रित मानवतावाद मान्छन् र भन्छन्, अहम् केन्द्रित मानवतावादअनुसार असन्तुष्ट मानवीय अहम््ले मानव सभ्यताको स्थापना र विकास गरेको हो । पशुजगत्बाट पृथक् उत्पादनमुखी अहम् चेतना विकास सभ्यताको आधारशिला हो । निम्नतम अहम्बाट विशिष्टतम् अहम्तर्फ उन्मुख हुनु' लाई यथासम्भव अत्यधिक सन्तुष्टि प्राप्तिप्रति लक्षित हुनु भनी व्याख्या गर्दै यही प्राप्ति उन्मुख प्रक्रिया' लाई सभ्यता निर्माण प्रक्रियाको रूपमा अध्ययन गर्दछन् । 'अहम्' बारेको आम बुझाइ तमसो मा ज्योर्तिगमय' सूत्र वाक्यको तमस' समानान्तर स्थिति हो जसमा सम्भाव्य अर्थमा ज्योर्तिगमयतापूर्ण विस्तृतिको सन्धान सुरक्षित हुन्छ । मानवजाति आदिम, बर्बरतापूर्ण युगमा तमस' समस्तर अहम् स्तर सापेक्ष थियो, र आदिम पूर्वजहरू पशुवत् अहम्पूर्वक जीवनयापन गर्दथे । आदिम मानव पशुवत् यौन, भोक, आक्रमण र सुरक्षाको प्रक्रियाहरूमा बर्बरतापूर्वक सापेक्ष हुनु अहम् चेतनाको सबभन्दा तल्लो स्तर हो ।
अहम्को निम्नतम पशुजन्य स्तर स्वीकार्य नभएको कारणले मानिसले अहम्का अभिव्यञ्जना प्रणालीमा विविधता ल्याउन थाल्यो । यसैको फलस्वरूप अहिलेको मानव सभ्यता अवस्था स्थापित छ । सरुभक्तका अनुसार प्रेम, घृणा, भोक र यौन मानव सभ्यता विकासमा प्रमुख अभिव्यञ्जनाहरू रहिआएका छन् । यिनमा परिवर्तन नआएसम्म कुनै पनि साहित्यकार सिर्जनशीलताको पराकाष्टामा पुगेर होमर, व्यास, शेक्सपियर, तोल्सतय हुन सक्छ तर तीभन्दा महान्' हुन सक्दैन । मानवीय अहम् कदापि पनि अहम्मुक्त हुन सक्दैन तर त्यसका अभिव्यञ्जनामा परिवर्तन हुन सकेमा मानवीय अहम्मा आशाजनक परिवर्तन सम्भव छ, स्थापित महानताभन्दा पनि महान हुन पनि सम्भव छ, जसलाई सरुभक्त मानवीय अहम्को परिवर्तन सम्भावना सिद्धान्त' भन्दछन् ।
उनी अहम्लाई प्रभु अहम्, सहिष्णु अहम् र सिर्जनात्मक अहम्मा विभाजन गर्दछन् । सरुभक्त भन्छन् : अहम् चेतनाको विभाजनपछि वर्गीय सामाजिकताको जन्म हुन्छ । त्यसको संघर्षको इतिहास मानव सभ्यताको इतिहास हो । उनका अनुसार कार्ल माक्र्सको वर्ग संघर्षको इतिहास मूलभूत रूपमा अहम् संघर्षको इतिहास हो । वर्ग संघर्षका क्रममा सिर्जनात्मक अहम्ले सहिष्णु अहम्को पक्षमा आफ्नो सिर्जनशीलता उत्सर्गित गर्दछ । क्रान्ति उपासना' सिर्जनात्मक अहम्को प्रमुख विशेषता हो । यो कदापि विद्रोहात्मक वैशिष्ट्यरहित हुन सक्दैन ।
सरुभक्तले अहम् चुम्बकत्वको नियम' को व्याख्या गर्दै भन्छन् भौतिक चुम्बकत्वको नियमविपरीत मानव इतिहासमा समान अहम्हरू आकर्षित हुन्छन् भने असमान अहम्हरू विकर्षित हुन्छन् । मानव इतिहासको विकासक्रममा समान अहमाणु/इगोट्रोनहरू आकर्षित हुन्छन् तर अहम् चुम्बकत्वको नियमानुसार आकर्षण र विकर्षण प्रक्रिया शाश्वत प्रक्रिया होइनन् । इगोट्रोनहरू तबसम्म मात्र आकर्षित रहन्छन् जबसम्म यिनीहरूका अहम् चेतना समान रहन्छन् ।
यिनका विचारमा इतिहासमा प्रत्येक क्रियाका प्रतिक्रिया हुन्छन्, अनुकूल वा प्रतिकूल र इतिहास तबसम्म स्थिर गतिमा रहन्छ जबसम्म प्रतिक्रियाजन्य सन्तुलन हुन्छ । प्रतिक्रियाजन्य असन्तुलनले इतिहासलाई क्रान्तिउन्मुख पार्दछ । न्युटनको नियममा जस्तै अहम् क्रान्तिको नियममा पनि हरेक क्रियाको प्रतिक्रिया हुन्छ तर चालको नियममा जस्तो बराबर तर विपरीत' हुँदैन । इतिहासमा प्रत्येक क्रियाको अनुकूल वा प्रतिकूल प्रतिक्रिया हुन्छ ।
महात्मा बुद्ध, सुकरात, प्लेटो, हिगेल, फेरवाख र कार्ल माक्र्स आदि सबैले गरेजस्तै द्वन्द्वात्मक विधिको प्रयोग सरुभक्त पनि गर्छन् । सरुभक्त आफ्नो द्वन्द्वात्मक खेलवाद' माक्र्सको द्वन्द्वात्मक भौतिकवाद नभएको बताउँछन् । हिगेल द्वन्द्व न्यायका हिसाबले परम सत्य' प्राप्त गर्न चाहन्छन् । निषेधको निषेध मार्फत उनी दार्शनिक स्पिनोजाको निष्कर्ष नै निषेध हो' लाई उल्टाउँदै भन्छन्, ‘निषेध नै निष्कर्ष' हो । त्यस्तै निषेधको निषेध, विरोधी समागम र गुणात्मक परिवर्तन माक्र्सका विश्लेषण शैलीका आधार हुन् । हिगेल र माक्र्सको वाद' प्रतिवाद' का द्वन्द्वात्मकतामा जुन संवाद' को विकास हुन्छ त्यो ‘+संवाद' नभएर ‘–संवाद' पनि हुन सक्छ । त्यस्तै इतिहासमा निषेधको निषेध गर्दा अथवा वाद' प्रतिवाद' ले संघर्ष गर्दा संवाद' स्थापना हुन्छ भन्नु आंशिक (५० प्रतिशत) प्रायिकताको कुरा हो, अर्को पचास प्रतिशत प्रायिकताअनुरूप संवाद नहुन पनि सक्छ । कार्ल माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद आर्थिक धु्रवीकरणसापेक्ष रहेको छ ।
अर्थ' मानवजातिको आविस्कार भएको हुनाले मानवीय चेतनामा अर्थ द्वन्द्व' त हुन्छ, तर अर्थ' बाहेक मानवीय द्वन्द्वका अन्य प्रचुर भूमि छन् । सरुभक्तको द्वन्द्वात्मक खेल प्रणालीले सामान्यता विजय पराजय' को निरपेक्ष भविष्यवाणी गर्दैन तर पनि सिर्जनात्मक अहम्को भूमिका पक्षधरता' को हुन्छ र यही सापेक्षमा साहित्य लेखिन्छ, चित्र कोरिन्छ, मूर्ति कुँदिन्छ र शून्यवादी आदर्श स्थापित हुन्छ । साहित्यिक क्षेत्रमा सिर्जनात्मक अहम््वादिताको सोझो अर्थ साहित्यिक अहम्वादिता हो र साहित्यिक अहम्वादिताको प्राप्ति शून्यता' हो ।
सरुभक्त भन्छन्, ‘म कार्ल माक्र्ससित झन्डै आधा बाटो हिँडेको छु भने फ्रायडसित एक तिहाई बाटो ।' बाँकी आधी बढी बाटो उनको आफ्नो बाटो हो । सिगमन्ड फ्रायडको मानवीय व्यक्तित्वको विश्लेषणअनुसार इद, इगो र सुपरइगोको संगठित सामञ्जस्यतामा मान्छेको वातावरणीय अभियोजन सम्भव हुन्छ । उनी मानवीय मानसिकताको तीन पत्रचेतन, पूर्वचेतन र अचेतन मनमा अवधारणा प्रस्तुत गर्छन् । साहित्यकार र कलाकारलाई दिवास्प्नद्रष्टा र मनोरोगी सम्झने फ्रायडको विचारमा कलाको स्रोत दमित अवचेतन' हो । दमित, निषिद्ध र कुण्ठित अनुभूतिहरूका उदात्तीकरण, रूपान्तरण र स्वप्निल परिपूर्तिफ्रायडियन कलाकारिता र सिर्जनशीलताको विश्लेषण-व्याख्या हो । फ्रायडको मानवतावाद यौन केन्द्रित मानवतावाद' हो ।
सरुभक्त भने अहम् केन्द्रित मानवतावाद' को कुरा गर्छन् । फ्रायड यौन ऊर्जा' लाई सभ्यता निर्माणको प्रेरक तत्त्व मान्छन् भने सरुभक्त अहम् ऊर्जा' लाई महत्त्व दिने गर्छन् । फ्रायडको विचारमा सिर्जनात्मक कलाकारिता यौनको उदात्तीकरण हो । सरुभक्तका दृष्टिकोणमा भने, ‘मानवीय अहम्को उदात्तीकरण ।' फ्रायडियन कलाको मूल स्रोत दमित अवचेतन' हो । सरुभक्तको सिर्जनात्मक अहम्वादी कलाकारिताको सुरु असन्तुष्ट अहम् चेतना' हो । सरुभक्त फ्रायडभन्दा ज्यादा एड्लरको क्रियटिभ सेल्फ र जुङ्को कलेक्टिभ इगोको नजिक छन् । जुङ फ्रायडभन्दा व्यापक दृष्टिमा कलागत मूल्य स्थापित गर्दछन् तथापि उनको व्यापकता' संस्कार प्राप्तिमा वा आदिमताको खोजमा सीमाङ्कित भएको छ ।
सरुभक्त आफूलाई दार्शनिक फिक्टेभन्दा फरक दाबी गर्छन् । फिक्टेको विचारमा परमतत्त्व भौतिक नभएर विशुद्ध आध्यात्मिक हुन्छ जुन वास्तवमा 'आत्मा' वा 'चित्शक्ति' हो । यो आत्मा ज्ञानरूप हुन्छ, त्यसैले ज्ञाता र ज्ञेय दुवैको सत्ता सिद्ध हुन्छ । उनको विचारमा आत्मा र अनात्मा परमात्माका दुई स्वरूप हुन् र विश्वको तत्त्व नै 'परमात्मा' हो । फिक्टेको परमतत्त्व' का तीन रूप छन् : परमात्मा, जीवात्मा र अनात्मा । आत्माको द्वन्द्वात्मक गति स्वीकार गर्दै फिक्टे अद्वेत आत्मालाई 'पक्ष' र अनात्मा वस्तुलाई 'प्रतिपक्ष' र परमात्मालाई समन्वय' स्वीकार गर्छन् । फिक्टेको दार्शनिकता परम तत्त्व' निरुपित गर्ने अथवा द्वेत र अद्वेतको समन्वय विशिष्टाद्वेत स्वरूप परमात्मा' प्राप्तिमा लक्षित छ । तर सरुभक्तको 'इगो' फिक्टेको जस्तो आध्यात्मिक नभएर विशुद्ध भौतिक हुन्छ ।
सरुभक्तले आफूलाई सात्रसापेक्षमा पनि व्याख्या गरेका छन् । अस्तित्ववादी दार्शनिकहरूको प्रस्थान बिन्दु 'अस्तित्व सारको पूर्ववर्ती हुन्छ' मा सात्र्रको दर्शन पनि स्थापित छ । हिगेलको तर्क नै सत्य हो, सत्य नै तर्क हो' तथा किर्केगार्डको विश्लेषण जीवोमुखी यथार्थ' परिलक्षित भए पनि अस्तित्ववादीहरूले नै अस्तित्वको अस्तित्व' बुझ्न नसकेको दाबी सरुभक्त गर्दछन् । उनी भन्छन् : वस्तुत सात्र्रको 'विइङ' नै अस्तित्व' हो र यही अस्तित्व विइङ (भविता/हुनु) को 'सार' हो । यसर्थमा अस्तित्व नै सार हो, सार नै अस्तित्व हो ।
सरुभक्तका अनुसार सात्र्रको भनाइ 'मान्छे जे होइन त्यो हो, जे हो त्यो होइन' वाक्यमा अस्तित्व 'भएको' मा स्थापित नभएर 'हुनुपर्ने' मा स्थापित छ । यस्तो 'हुनुपर्ने' मानवीयताको 'आदर्श' हो, 'अस्तित्व' होइन । मान्छे 'हुनु' का रूपमा अस्तिगत हुन्छ, त्यसैले अस्तित्वले अस्तित्वको खोजी गर्नुको कुनै तात्त्विक र दार्शनिक अर्थ हुँदैन । सरुभक्त भन्छन्, 'सात्रको 'भविता' ले जीव जगत्को 'नथिङनेस्' बोध गर्छ, तद्पश्चात् 'जड' 'चित्' मा रूपान्तरित हुन्छ । तर मान्छेले सात्र्रद्वारा विश्लेषित अर्थमा 'नहुनु' बोध गर्दैन । ... मानवीय अहम् असन्तुष्टिको निम्नस्तर बिन्दुहरूमा 'नहुनु' झैं भ्रमित हुन सम्भव हुन्छ, तर 'नहुनु' हुन सक्दैन ।'
असन्तुष्ट अहम्चेतनाले सन्तुष्टिको पथयात्रा नगरेसम्मको अवस्थालाई सरुभक्त 'संक्रमणकालीन अहम्-स्थिति' भन्दछन् । यस्तो अवस्थामा नहुनु' को भ्रम हुन्छ, तर तात्त्विक अर्थमा त्यो 'सन्तुष्टिको वरण' स्थिति हो । सरुभक्त भन्छन् : अहम् (भविता) ले 'सन्तुष्टि पथयात्रा' गरेपछि त्यो नहुनु' जस्तो भ्रम स्वत: हराउँछ । दोस्रो विश्वयुद्धपछिको युरोप (फ्रान्स) मा सात्र्रलाई नथिङ' को भ्रम परेको थियो ।
सात्र्रको विश्लेषण छ : रेने डेकार्टको आई थिङ्क, देयरफर, आई एम' मा जुन चेतनाले 'थिङ्क' गर्छ त्यो र 'एम' (भविता) एउटै होइन । सरुभक्तका विचारमा सात्र्रको तार्किक विश्लेषण यथार्थपरक सुनिए पनि सूक्ष्म दार्शनिक दृष्टिमा सात्र्र 'अनुत्तीर्ण' छन् । भविता अहम्को प्राथमिक स्व: घोषणा हो, र अस्तित्व अहम्घोषणाको व्यञ्जना हो । यस अर्थमा 'अहम्' 'चेतना' बीच विभाजन रेखा खिच्न सकिँदैन । अहम नै चेतना हो, चेतना नै अहम् हो । मनुष्य नै मनुष्यता हो, मनुष्यता नै मनुष्य हो । त्यसैले 'कन्ससनेस अफ् इगो' खोज्नुको औचित्य हुँदैन । डेकार्टको आई थिङ्क' मा ' अथवा 'अहम्' ले विचार' गर्छ भनी सोच्नु सात्र्रको दार्शनिक अज्ञानता हो । वास्तवमा ' ‘हुनु' नै 'सोच्नु' हो, ‘सोच्नु' नै ' हुनु हो । अर्थात म सोच्छु' एकाकार रूपमा 'अहम् चेतना' हो जसको व्यञ्जना 'म छु' हो । 'आई थिङ्क, देयरफर, आई एम' मा आई' एम' का बीचमा जति पनि शब्दावली प्रयुक्त छन् (थिङ्क, देअरफर, आई) तिनको भाषिक संरचनागत महत्त्व भए पनि दार्शनिक महत्त्व छैन ।
ब्रह्माण्डशास्त्री वेलिमेत्रेको महा विस्फोट सिद्धान्त' सापटी लिंदै सरुभक्त भन्छन्, मानवीय अहम्को सिर्जनात्मक विस्फोटको सर्वोत्तम अभिव्यक्ति साहित्य हो । ...मानवीय अहम् इतिहासको कुनै सापेक्षमा असन्तुष्ट हुँदा क्रमिक रूपमा विस्फोटको प्रक्रम आरम्भ हुन्छ । अहम्को विस्फोट जति व्यापक हुन्छ, त्यति मूल्यवान हुन्छ । अहम्-गाथाको खोजमा ब्रह्मसूत्रदेखि लिएर उपनिषद्सम्मविशेषगरी केनोपनिषद्, कठोपनिषद्, मुण्डकोपनिषद्, तैत्तिरीयोपनिषद् र श्वेताश्वतरापनिषद्मा उनी पुगेका छन् । श्रमिद्भागवद गीतामा उल्लेख अहम्' गाथालाई उप्काएका छन् । बाइबलको पुरानो जिनेसिसमा उल्लिखित गड मेड म्यान लाइक हिज मेकर' लाई अहम नै ब्रह्म हो भन्ने अर्थमा सरुभक्त बुझ्छन् र निष्कर्षित हुन्छन् '...प्राचीन कवि मनीषीहरू मानवीय अहम्को सर्वतोमुखी, सर्वव्यापक, यथार्थप्रति सचेत थिए ।'
सरुभक्तको विचारमा शून्यताको दुई धार छन्व्याप्त र सीमित । पश्चिममा चलेको रिक्तता (रहितता) को शून्य हो, उनले भनेको व्यापकताको शून्यता हो । शून्यजस्तो अतिसामान्य सत्यलाई मान्छेले नबुझ्ने शैलीमा वा बुझ्नै नसकिने पराभौतिक अध्यात्मको रूपमा व्याख्या गरिनु मान्छेलाई ज्ञान र स्वतन्त्रताको शौभाग्यबाट विमुख गरिनु हो । शून्यवादी अहमवादको उत्सर्ग उपन्यास पागल बस्ती' को नायक भन्छ : 'म नागार्जुनले झैं तार्किक शून्य हुनु पनि भन्दिनँ, निहिलिष्टहरूले झैं ध्वंसात्मक शून्य हुनू पनि भन्दिनँ, अस्तित्ववादीहरूले झैं विसंगत शून्य हुनू पनि भन्दिनँ । म अहम्ले शून्य हुनू भन्छु । यो शून्यावस्था तब उपलब्ध हुन्छ, जब मानिस अहम्ले सम्पूर्ण हुन्छ, परिपूर्ण हुन्छ ।'