Contact Form

Name

Email *

Message *

Saturday, May 27, 2017

वामपन्थी पार्टीहरू तान्त्रिक हुन्छन्

गनेस पौडेल आफ्नो पहिलो उपन्यास 'पैताला' लिएर बजारमा आएका छन् । उनीसँग उपन्यासमा केन्द्रित भएर लक्ष्मण श्रेष्ठले गरेको कुराकानी :
क्याजुअल लेखनमा राम्रै जम्नुभा'थ्यो । उपन्यासकारको अवतारमा बजारमा झुल्किनुभयो । यो के हो- हाइजम्प कि लंगजम्प ?
 कस्तो निट पेगजस्तो प्रश्न ! क्याजुअल लेखनले धीतै मरेन । जब भन्नुपर्ने कुराहरू ज्यादै ठेलमठेल भएर आउँछन् अनि अकेजनल छापा-लेखनले नपुग्दोरैछ, त्यसपछि लेखेरै बाँच्न सकिन्छ कि भन्ने कोसिस गर्न उपन्यासतिर लागेँ ।
त्यस्तो भन्नैपर्ने कुरा के थियो र उपन्यास नै चाहियो ?
धेरै थियो यार ।
 जस्तै :
यतिका वर्ष पढेका साहित्य, दर्शन, कला र इतिहासका किताबको एउटा बाक्लो गुम्फन थियो मनभित्र । किताबले रन्थन्याएका कथार्सिस अनुभूतिहरू खाँदिएर बसेका थिए । मलाई लेखक बनुँला भन्ने कुनै रहर थिएन, तर बादल बाक्लो भएपछि बर्सनु स्वाभाविक हुँदोरहेछ । आधा शताब्दी पुरानो नेपाली कथावाचन परम्परा म्याचुरिटीको हिसाबले जहाँको त्यहीँ छ जस्तो लाग्छ । प्रयोगहरू त भए तर तिनले परम्परालाई भत्काउन सकेनन् । बीपी कोइरालापछि हालसम्म लेखिएका उपन्यासलाई तिनको चरित्रगत दृष्टिकोणबाट हेर्ने हो भने (केही प्रयोगात्मक पनि छन्) हामीले नसुनेका कथा कहिल्यै पढ्न पाएनौं । उस्तै टेक्निक, उस्तै पात्र, उस्तै समय, उस्तै भूगोल, उस्तै घटना ! दिनदिनै घिरौंलाको तरकारी खाएजस्तो । आज आमाले पकाएको, भोलि दिदीले, पर्सि श्रीमतीले, निकोर्सि आफैंले । भान्छेअनुसारले स्वादमा थोरै फरक त पर्‍यो तर घिरौंला त घिरौंलै हो नि !
 त्यसो भए यस उपन्यासमा केही नयाँ प्रयोग गरेको दाबी तपाईंको छ ?
 हो, मैले उपन्यासलाई तान्त्रिक हिसाबले वाचन गर्ने प्रयास गरेको छु ।
 तन्त्र ?
 यस माई फ्रेन्ड, तन्त्र ।
 तन्त्र !' यो त उपन्यासमा नयाँ प्रयोग भयो यार !
 मलाई के लाग्छ भने, तन्त्रले भनेका मूलाधार र स्वाधिष्ठान चक्रलाई सभ्यता विकासले नै मर्ज गरिदिएको छ । टाउकोमा रहने सहस्रार चक्र वैयक्तित चक्र हो, जसले कसैलाई बुद्ध, कसैलाई कृष्ण, कसैलाई क्राइष्ट, कसैलाई मोहम्मद, कसैलाई महावीर बनाउँछ । वैयक्तिक चक्रलाई रिजर्भ राख्ने हो भने पाँच चक्रमात्रै बाँकी रहन्छन् । मैले उपन्यासमा पनि यिनै पाँच केन्द्रको आभालाई पाँच धर्म र पाँच सहरमा बाँडेर चरित्र विकासको प्रयास गरेको छु । उपन्यासका अध्यायहरू तान्त्रिक बीजमन्त्रहरूले बाँधिएका छन् ।
तर, यी चक्र त 'पैताला'भन्दा माथि छन् !
यसलाई सभ्यताको विकाससँग जोडेर बुझ्नुपर्छ । शास्त्रीय भौतिकवादीहरूले ज्ञानेनिन्द्रयले जे भोग्छ, त्यही सत्य हो भने । त्यतिबेला सत्य शिरमा थियो । मेसिनको विकाससँगै बढेको अतिरिक्त उत्पादनको बजारका लािग उपनिवेशहरू बन्न थाले । बजारको निम्ति युद्धहरू भए । अनि टाउकाको युग तल ओर्लेर गर्धन, काँघ र पाखुराको भागमा आयो । प्रथम र दोस्रो विश्वयुद्धसहित यसले गरेको चरम मानवीय क्षतिले एब्सर्डिज्म, निहिलिज्मजस्ता संकीर्ण चिन्तनको निर्माण गर्‍यो । त्यसो त युद्धको विभिषिकासँगै जीवन र मानवताको महत्व दर्शाउँदै अस्तित्ववाद बहसमा आयो । करुणा प्रधान हुन थाल्यो । जेनेभा सन्धि, मानवअधिकारको बहस, संयुक्त राष्ट्रसंघको स्थापनासँगै गर्धनको युग छाती (हृदय)मा ओर्लियो । यसकै सेरोफेरोमा उता माक्र्सले छातीको सत्यलाई अझै तल पेटमा ओरालिसकेका थिए । माक्र्सले भने, भोको र अघाएको पेटको द्वन्द्वले सामाजिक सत्यको निरन्तर निर्माण हुन्छ । यसकै फेरोमा सिग्मन्ड फ्रायडले सिर्जनात्मक सत्यलाई यौनाङ्गमा झारिसकेका थिए । यसरी युग अर्थात् सामाजिक सत्य टाउकोबाट झर्दै यौनाङ्गसम्म पाँच भागमा बाँडियो । यी पाँच भाग, तान्त्रिक चक्रका भाग नै हुन् । तर, त्यसपछि युग-निर्माण र सत्यको खोजलाई टन्टोको रूपमा लिइन थाल्यो, कारण थियो उत्तरआधुनिकता । त्यसले सत्यको कुनै केन्द्रलाई अस्वीकारमात्रै गरेन, यसकै फलस्वरूप सत्यको खोजलाई नै निरुत्साहित पनि गर्‍यो । मलाई के लाग्छ भने, मानवीय सभ्यता र विकासको चुरो सत्य पैतालामा निहित छ । तन्त्रअनुसार पनि चक्रको समग्र योग पैतालामा निहित हुन्छ ।
म मार्क्सवादलाई संसारको पाँचौं धर्म भन्छु र कार्ल माक्र्सलाई भगवान् भन्छु ।
त्यसोभए उपन्यासमा तपाईंले सभ्यताले बिर्सिसकेको सत्यलाई उद्घाटन गर्न खोज्नुभएको हो ?
 हाम्रो सभ्यताले कहाँनेर गल्ती गर्‍यो भने यात्रा नसकिँदै गन्तव्यलाई नै गलत करार गरिदियो । बाटो नसकिँदै उपलब्धिको व्याख्या ठीक हो त ? उत्तरआधुनिकताको कमजोरी नै यही हो । सत्यको खोज गर्नुको साटो सत्य नै छैन भन्दियो । जसले जे भन्छ, त्यही सत्य मान्दिनुको अर्थ सत्य नै छैन भन्नु होइन त ? उत्तरआधुनिकताले सत्यको अवधारणा नै भत्काउन खोज्यो ।
उपन्यासमार्फत उत्तरआधुनिकताको आलोचना गर्न खोज्नुभएको हो ? लेखनशैली त उत्तरआधुनिकतावादी खाले छ त !
आलोचना गरेको होइन यार । तर, उत्तरआधुनिकताले 'नगर !' भनेको काममात्र गरेको हुँ । त्यसो त शैलीगत रूपमा 'पैताला'लाई उत्तरआधुनिक भन्न पनि सकिन्छ । तर, सारमा यो तान्त्रिक उपन्यास हो ।
कथा अलि मिस्टिक पनि देखिन्छ नि ?
 मृत्यु र ब्रह्माण्ड संसारका सबैभन्दा ठूला रहस्य हुन् । विज्ञानले मान्छेको आयु त बढाउँदै लगेको छ, तर मृत्युलाई रोक्न सकेको छैन । मान्छेको पैतालाले चन्द्रमा कुल्चेको छ, मंगल र अन्य आकाशीय पिण्डमा पनि आँखा लगाइरहेको छ, तर ब्रह्माण्डको विशालता र यसको उत्पत्ति रहस्य तत्काल छिनोफानो लगाउने ल्याकत देखाएको छैन । मैले यही रहस्यको संकेतस्वरूप सञ्जीवनी विद्या र एनएचसिक्ससिवाई नामक धातुको परिकल्पना गरेको छु । 'पैताला'को मूलपात्र जोस्मणिले यी दुवै रहस्यको खोजमा निस्केको छ ।
सञ्जीवनी किन नि ?
धर्मले देह मर्छ तर आत्मा मर्दैन भन्छ । तर, हामी मरे पनि हाम्रा अंगहरू जीवित मान्छेलाई ट्रान्सप्लान्ट गर्न मिल्छ त ! शरीर त मर्दो रहेनछ नि ! यसले मान्छेलाई सञ्जीवित गर्न सकिन्छ भन्ने आधार तयार गर्छ । सञ्जीवनी दैत्यगुरु शुक्रले पत्ता लगाएको औषधि हो । महाभारतमा यसको प्रसंग छ । भोलि यस्तो औषधि बन्दैन भन्ने के छ ? रामायणको पुष्पक विमानको कल्पना अहिले सकार भयो त ! विज्ञानको विकाससँगै मानिसको आयु बढ्दै गएको छ । वैज्ञानिकहरूका अनुसार मान्छेलाई अमोर्टल बनाउन सम्भव छ । इमोर्टल चाहिँ छैन ।
अनि एनएचसिक्ससीवाई ?
यो ब्रह्माण्ड उत्पत्तिको रहस्यसँग सम्बन्धित छ । वैज्ञानिकहरूले महाविस्फोटबाट ब्रह्माण्ड निर्माण भएको भन्छन् । नेबुलाहरूको संयोजनबाट बनेको सूर्य अझै तातो छ । तर, पृथ्वी भने किन चिसो भयो ? मैले सोचेँ, जसरी तातो हुन कुनै बलिरहेको बस्तु चाहिन्छ, चिसो हुन पनि त्यस्तै केही सर्त आवश्यक पर्छ । केही त्यस्तो तत्व हुनुपर्छ जसले एन्टिएलिमेन्टको गुण देखाउँछ । तापको साटो चिसोपना निर्माण गर्छ । एनएचसिक्ससीवाई त्यस्तै तत्व हो ।
 फेरि तपाईं त उपन्यासमा माक्र्सवादलाई पनि तन्त्रसँगै दाँज्नुहुन्छ !
 माक्र्सवादलाई भन्दा पनि वामपन्थी पार्टीहरू तान्त्रिक हुन्छन् भनेको हो । तन्त्रको कुरा गर्दा सँगसँगै मन्त्र र यन्त्र पनि सम्झनुपर्छ । मन्त्र भनेको शब्द, नारा, विचार हो । जस्तै, 'संसारका मजदुरहरू एक हौं' भन्ने मन्त्र हो । त्यसको आधारमा बन्ने संगठन, संरचना, ज्यामिति चाहिँ यन्त्र हो । अब जुन विधि लगाएर नाराले संगठन निर्माण र संगठनले क्रान्ति गरिन्छ, त्यो विधि भनेको तन्त्र हो । त्यसैले म माक्र्सवादलाई संसारको पाँचौं धर्म भन्छु र कार्ल माक्र्सलाई भगवान् भन्छु ।
अब, लेखनको कुरा गरौं । तपाईंले त विज्ञान-उपन्यास लेखेको भए जाति हुने ! तन्त्र नै किन ?
 तन्त्र भनेकै विज्ञान त हो नि ! 'विज्ञान भैरव तन्त्र' भन्ने त तन्त्रको मूल किताबै भयो ।
 कति समय लाग्यो लेख्न ?
 अन्तिम अध्याय लेखेको त १० वर्ष पहिला नै हो । त्यतिबेला छोटो कथाको रूपमा थियो । ठ्याक्कै उपन्यास लेख्न सुरु गरेको त यही असोजमा हो । फागुनको पहिलो हप्तामा सकेँ । सरजामको जोहो भने पहिले नै भएको थियो ।
 सरजाम जोहो गर्न कति समय लाग्यो ?
३७ वर्षको भएँ । ३७ वर्ष नै लाग्यो ।
जेहोस् नेपाली साहित्यमा नयाँ खालको उपन्यास आयो भन्न मिल्छ नि- तान्त्रिक उपन्यास ?
 यसरी विधा निर्माण भयो भने नयाँ भन्न मिल्ला । नेपालमा खोज-उपन्यास खासै लेखिएन । सिद्धार्थ, किम, आल्केमिस्ट जस्तै कुनै रहस्यको खोजमा निस्कने टाइपको उपन्यास हो 'पैताला' ।
 तपाईंको जस्तै मिस्टिक कुरा त कुमार नगरकोटी पनि गर्नुहुन्छ नि !
 कुमार दाइ मेरो प्रिय लेखक हो । नेपाली साहित्यमा उहाँले मिस्टिक स्कुल नै खडा गर्नुभयो । 'पैताला' पनि एउटा मिस्टिक उपन्यास नै हो । धर्म, दर्शन, र विज्ञानको समष्टि नै तन्त्र हो ! मिस्टिक नहुने कुरै भएन । तर, म मिस्टिक कुरालाई मिथक बनाउने प्रयास गर्छु र त्यसलाई अड्याउन मिथकहरूकै मनीखाँबोमा अढेस लाग्छु ।
 यो तहको कल्पनाशीलता र प्रयोग बुझ्ने रिडरसिप विकसित भइसकेको छ ?
छ नि । किन नहुने ? तर, सानो छ । 'पैताला'लाई बुझनीय र आम पाठकको पहुँचमा पुर्‍याउनका लागि मैले मेहनत निकै गरेको छु । बुझाइ र व्याख्या अलग हुन सक्ने सम्भावना भए पनि 'पैताला' पठनले सामान्य पाठकलाई पनि मज्जा दिनेछ भन्ने विश्वास छ । अलि गम्भीर पाठकले गम्भीरतापूर्वक नै पढिदेलान् भन्ने आशा पनि छ ।

0 Comment:

Post a Comment