Contact Form

Name

Email *

Message *

Tuesday, May 9, 2017

‘पैताला’ लेखन–परम्परामाथिको प्रश्न हो –गनेस पौडेल

समाधान दैनिकका लागि उपन्यास ‘पैताला’मा केन्द्रित रहँदै मन क्षेत्रीले गर्नुभएको संक्षिप्त वार्तालाप । 

१. तपाईको आउँदो उपन्यास ‘पैताला’ कस्ता मानिसको पैताला हो ? 


‘पैताला’ खासमा कुनै प्रकारका मान्छेको कथा होइन । यो मान्छे मात्रको कथा हो । मान्छे भनेको फगत सामाजिक यर्थाथ मात्र होइन । मान्छे आफैं एक मिथ हो, एक कल्पना हो, एक अवधारणा हो । यसैको फेरोमा लेखिएको छ ‘पैताला’ । त्यसो त समाज–व्यवहारका सामान्य घटना–परिघटना यथार्थजस्तो भएर उपन्यासमा आएका छन् । त्यो स्वभाविक पनि भइहाल्यो । तर यसको कथा विधान नै तान्त्रिक र पराभौतिक छ । उपन्यासको मुल कथा भनेकै ‘कथा वाचन’ हो । एकर्थ यो कथावाचन माथिको प्रयोग पनि हो ।

२. पछिल्लो समयका केहि उपन्यासलाई हेर्ने हो भने पाठकले चिनेको, सुनेको, भोगेको वा साक्षी बसेको कथानकमा केन्द्रित उपन्यासहरुको वाहुल्य छ । के ‘पैताला’ पनि त्यस्तै हो या भिन्न छ ?

उपन्यास लेखनमा ४ कुरा अत्यन्तै महत्वपूर्ण हुन्छन् । समय, स्थान, पात्र र घटना । यी ४ वटा आयामबाट नै तपाई संसारका सबै फिलोसोपीलाई हेर्न सक्नुहुन्छ । समय भनेको २ वटा घटनाबिचको दूरी न हो । तर घटना घट्नलाई स्थान चाहिन्छ । घटना घटाउने पात्र पनि चाहियो । यिनै चार आयामको संयोजनले कथा बग्छ । यिनै चार आयाममाथिको कल्पना नै खासमा सिर्जना हो ।
हाम्रो कथावाचनले घटना र पात्रमाथि मात्रै कल्पना थोपर्यो । स्पेस र टाइममा खास कल्पना हुन सकेन । के घडी र क्यालेन्डरले बदल्ने समय नै समय हो ? के सबैको समय एउटै गतिमा बग्छ ? जस्तो कि तपाईको र मेरो समय सँगसँगै त चल्दैन नि ! तपाईलाई कति धेरै काम गर्नु छ होला, मलाई रेस्ट नै रेस्ट छ । समयसँग जब चेतना मिसिन्छ, सबैको समय समान गतिमा चल्दैन् । एउटा कालखण्डबाट अर्को कालखण्डसम्म जब हामी पुग्न सक्दैनौ नि, एउटा घटनाबाट अर्को घटनामा जब हामी पुग्न सक्दैनौ नि ! त्यहाँ दुइवटा सामाजिक घटनाहरू घटेका हुँदैनन् । जब क्यालेन्डर बदलिन्छ तर अवस्था उस्तै हुन्छ  तब त्यहाँ कुनै सामाजिक घटना घटेको हुँदैन । त्यहाँ समय पग्लिन्छ । बिलाउँछ । हराइजान्छ । के राणाकालिन १०४ बर्षसम्म नेपालको समय डिजोल्भ भएन ? सात सालपछि ३० बर्षसम्मको समय कोल्याप्स भएन ?  समय भौतिक आयाम मात्रै होइन, यो एउटा चेतनाको आयाम पनि हो ।
समयको अवधारणामाथि पनि प्रयोग गरौँ न अब ।
समय मात्रै होइन घटनाहरूमाथी पनि तपाई खेल्न सक्नुहुन्छ । यस्तो कुन कथा तपाईले पढ्नुभएको छ जसलाई पढिरहँदा तपाईँको मनमा समाजकै अरु कसैको चित्र आउँदैन ? जब तपाईँ विधवाको कथा पढ्नुहुन्छ, गाउँकी कुनै एकल महिलाको चित्र मनमा आइहाल्छ । कुनै बोक्सीको, भ्रष्ट नेताको, मजदुरको कथा पढ्दा तपाईँको दिमागमा समाजकै कुनै कुनै यथार्थ पात्रको चित्र आउँछ । लेखकले बनाएको चरित्रभन्दा पनि तपाईँले पहिल्यै समाजमा देखेको पात्रको चित्र तपाईँको दिमागमा सबल भएर आउँछ । यो त कल्पना भएन नि ! यो त फोटो कपि पो भयो ।
विपिको सुम्निमा पढ्दा तपाईले कसलाई संझिनु भो ? महाभारतको कृष्ण वा अर्जुन पहिलोपटक पढ्दा तपाईँको दिमागमा को आयो ?  नगरकोटीको मिस्टिकाले तपाईलाई कसको याद दिलायो ? सरुभक्तको प्रशान्तको चित्र कोसँग मिल्छ ? यसरी घटना र पात्र रचनामा नयाँ कल्पना गर्न सकिँदो रहेछ नि त !
‘पैताला’मा समय, स्थान, घटना र पात्रको अवधारणामाथि कल्पना गरेको छु । यी चारै आयाममा पराकल्पना छ ।  म यसलाई स्वैरकल्पना भन्दिनँ, पराकल्पना भन्छु । त्यसकारण यो कुनै समयको कथा पनि होईन । कुनै भूगोलको कथा पनि होइन । कुनै पात्रको कथा पनि होईन र यो कुनै सामाजिक घटनाहरुको कथा पनि होइन ।

३. तपाईले गरेको पराकल्पनामा पैताला नै किन त ?

मलाई सदैव के लाग्थ्यो भने ‘पैताला’ कथावाचनको प्रमुख अंग–बिम्ब हो । त्यसो त शास्त्रीय भौतिकवादीहरूले टाउकोलाई सत्य माने । नाक, कान, आँखा, छाला र जिब्रोले जे भोग्छ, त्यही सत्य । जब औधोगिक क्रान्ती भयो, पुँजीवादको विकास भयो । बजारको खोजमा निस्केका देशले संसारभर उपनिवेश फैलाए । यसले युद्धहरू जन्मायो जसको क्रम अझै पनि छ । त्यो बेला सत्य टाउकोबाट खसेर गर्धनमा आयो । मान्छेको गर्धन काट्ने र उपनिवेश फैलाउने ।
उपनिवेशकालको उपज विश्वयुद्धको क्षतिपछि मान्छे निरास भयो । हतास भयो । अस्तित्वाद र विसंगतिवाद मौलायो । विभत्सता देखेर मानवता जाग्यो । संयुक्त राष्ट्र संघ बने । जेनेभा सन्धी भयो । मानव अधिकारका कुरा आए । त्यो बेला समाजको सत्य छातीमा अर्थात हृदयमा झरेर आयो । तर त्यो बेलासम्ममा माक्र्सवादको विकास भैसकेको थियो । उनले सत्य छातीमा होइन त्योभन्दा अझ तल पेटमा अन्तरनिहित हुन्छ भने । माक्र्सले भने कि, समाजमा २ थरिका अर्थात भोका र अघाएका मान्छे हुन्छन् र यिनैको द्वन्द्वबाटै सत्य पटाक्षेप हुन्छ । उता कार्ल माक्र्सकै छेकलमा सिग्मण्ड फ्राइडले सत्यलाई पेटभन्दा पनि अझै तल ओरालिसकेका थिए । उनी भन्थे, सिर्जनात्मक सत्य पेटमा होइन, यौनाङ्गमा हुन्छ ।
यसरी टाउकोबाट ओर्लिदैँ ओर्लिदै सत्य यौनाङ्गामा आयो तर त्यसपछि अझै तल कहिल्यै झरेन । एक्कासी उत्तरआधुनिकता पो आयो । जसले पहिले स्थापित सबै सत्यलाई जथाभावी भत्काइदियो । सत्यको लय नै भत्काइदियो । सत्यको खोजलाई नै अपहेलना गर्न थाल्यो । सभ्यताको योभन्दा ठुलो विडम्बना के हुन्छ ? उत्तरआधुनिकता खासमा विसंगतीवादकै पराकाष्ठा हो । निहिलिज्मकै एक्टेन्सन मात्रै हो ।
मलाई के लाग्थ्यो भन्दा, सभ्यता विकासको मुल सत्य बरु पैताला पो हो । मान्छेको पैताला र जमीन बिचको सम्वाद नै सृष्टिको आदिम कथा हो । मान्छेले जब नयाँ भूगोलमा पैताला टेक्छ, त्यसको कथा सुनाउने सक्सकी पलाइहाल्छ । कसलाई सुनाउँ कसलाई सुनाउँ हुन्छ । हेर्नुस त, लाहुरेबाट घर फर्केकाहरूले कस्तरी सुनाउँछन् कथा ? पैताला कथा वाचनको मुल स्रोत हो । मैले उपन्यासमा यही सत्यलाई बुन्ने प्रयास गरेको छु । जबसम्म कुनै नवीन जमिनसँग तपाईको पैतालाले संवाद गर्दैन नि, त्यो ठाउँको कथा निर्माण हुँदैन ।
मान्छेले गर्न जानेको सबैभन्दा महत्वपूर्ण काम भनेको कथा हाल्नु हो । गाईहरु कथा हाल्दैनन् नि त ! माहुरीहरु कथा हाल्दैनन् नि त ! संवाद मात्रै गर्न सक्छन् । तर, कथा हाल्दैनन् । मान्छेको जिनमा भएको पहिलो विकास कथा हाल्न सक्नु हो । कल्पना गर्न सक्नु हो । यो विकासको स्रोत नै पैताला हो । पैतालामा नै मानिस हुनुको सत्यको आदिम सत्य लुकेको छ ।
म चाहन्थे यस्तो उत्तरआधुनिक शैलीको किताब लेखुँ जसले उत्तरआधुनिकताकै अवधारणालाई भत्काउन सकोस् । ‘पैताला’ त्यसैको सानो प्रयास हो ।

४. तपाईको दर्शनको रुपान्तरण उपन्यासमा कसरी भएको छ ? 

यो सस्पेन्स नै राख्दा राम्रो हुन्छ होला । नत्र किताब बिक्दैन भनेर प्रकाशक रिसाउला । त्यसो भयो भने मलाई बोर हुन्छ ।
संसारका हरेक धर्ममा एउटा चिज छ ः तीर्थाटन् अर्थात तीर्थ यात्रा । मानिसहरू ४ धाम जान्छन् । मक्का–मदिना जान्छन् । लुम्बिनी जान्छन् । तीर्थाटनको अर्थ मानिसहरुका पैताला त्यहाँ पुगोस् भन्ने त हो नि ! पैतालाको मुलभुत चरित्र के हो भने नि यो कल्पनाशील हुन्छ । यो उक्साउने खालको पनि हुन्छ, हुटहुटी जगाइदिने खालको । नयाँ जमिनलाई कुल्चने उत्कण्ठा आत्मपरिचयको आदिम उत्कण्ठा पनि हो । नयाँ जमिन कुल्चँदै गर्दा मान्छेले आफ्नो परिचय पनि भेटिरहेको हुन्छ, आफुलाई पनि भेटिरहेको हुन्छ ।
पैताला यस्तो अङ्ग हो जसले (परा)भौतिक र (परा)अध्यात्मिक ४ वटै खोजलाई क्यारी गरेको छ । हामी त्यहाँसम्म किन नपुग्ने ? फ्रायडको यौनाङ्गमै अड्किएर हामीले किन सत्यको खोजलाई डिस्ट्रक्सन गर्ने ?
अर्को तर्फ पनि छ कुरा । पूर्विय दर्शनले तन्त्र, मन्त्र र यन्त्र भन्छ । तन्त्र भनेको विधि हो । मन्त्र भनेको शव्द वा ध्वनी हो । यन्त्र भनेको साधन हो, ज्यामिती हो । मानिसहरु मन्त्रमा विश्वास नगर्न सक्छन् । तर कोही कसैले गाली ग¥यो भने त रिस उठ्छ नि ! कसैलाई ‘आहा ! कति राम्रो ।’ भन्यो भने मख्ख पर्छ कि पर्दैन ? शव्दमा प्रभाव छ, शक्ती छ । तर मन्त्रलाई विधिपूर्वक भनियो भने मात्र त्यसले असर देखाउँछ । यी दुईको प्रयोग कसरी गर्ने भन्ने जुन तरिका खोजिन्छ नि त्यो तन्त्र हो ।  कथालेखन पनि एउटा विधि त हो नि ! तन्त्र त हो नि !
मैले पैतालाको दर्शनलाई तान्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको छु । यो तान्त्रिक उपन्यास हो ।
अर्को कुरा हामीले अहिले नेपाली आख्यानको एउटा युग सकिएको मान्नै पर्छ । युग सकिएको भएपनि हामीले यसलाई त्यसै जबरजस्ती लत्र्याई रहेका छौँ । मरिसकेको मान्छेलाई भ्यान्टिलेटरमा राखेर जोगाएजस्तो । जबसम्म हामीले यो सत्य स्विकार्न सक्दैनौ तबसम्म अर्को युग शुरु नै हुँदैन । जब हामी कुनै युग अन्त्य भएको घोषणा गर्छौँ, त्यो बेला नयाँ युग सुरु भएको घोषणा पनि सँगसँगै आउनै पर्छ । ईश्वर–मृत्युको घोषणापछि जुन क्याओस आयो, त्यसलाई पुर्न नै नित्सेले परामानवको परिकल्पना गर्यो । राजसंस्था हट्ने तर गणतन्त्र नआउने भयो भने के हुन्छ ?
बिपि कोइरालापछि हालसम्म लेखिएका उपन्यासलाई तीनको चरित्रगत दृष्टिकोणबाट हेर्ने हो भने हामीले नसुनेका कथा कहिल्यै पढ्नै पाइएन । म अधिकाँसको कुरा गर्दै छु । सबैको होइन । उस्तै टेक्निक, उस्तै पात्र, उस्तै समय, उस्तै भूगोल, उस्तै घटना ! यो दिनदिनै घिरौलाको तरकारी खाएजस्तो भयो । जब हामी घिरौला नखाने निर्णय गर्छौ तब लौकाको जोहो गर्ने सामथ्र्य पनि देखाउनु पर्छ । ‘पैताला’ घिरौलाको बिकल्पमा लौका उपन्यास हो ।
कम्तिमा एउटा लौका–प्रश्न हो । नेपाली कथा लेखन परम्परालाई अब प्रश्न चैं गर्नै पर्छ ।
..रोक्दै,
उसो भए पैताला अहिलेको लेखन परम्परामाथिको प्रश्न हो  ?
एड्ज्याक्ट्ली, प्रश्न हो । यो कुनै सामज र घटनामाथिको प्रश्न होईन । लेखन परम्परामाथिकै प्रश्न हो ।

५. पाठक तयार छन् त तपाईको यो प्रश्नसंग ? तपाईको यो प्रश्न ठिक छ भनेर कसले भनिदिने ?

म आफैं पाठक हुँ । म त तयार छु ।
खासमा मलाई उपन्यास लेख्ने कुनै रहर या मुडै थिएन । जब मेरा प्रश्नहरू लेखकले सोधिदिएनन्, अनि म प्रश्न बोकेर उभिएको हुँ । अरु कसैले उभिदिएको भए, म कहिल्यै लेख्दिनथेँ । लेख्नै पर्छ भन्ने के छ ?
हामीले यस्ता कथा लेख्यौँ जो तपाईलाई कथा पढ्नु पहिल्यै थाह हुन्छ । मान्नुस् कसैले छाउप्रथाको बारेमा लेख्यो । बादी महिलाको बारेमा लेख्यो । विधवाको बारेमा लेख्यो । बोक्सीको बारेमा लेख्यो । हामी के के न होला भनेर पढ्छौँ तर हामीले पहिल्यै समाजमा पढिसकेका कथालाई रिभिजिट मात्रै गर्छौँ । बचाउमा भन्छौँ साहित्य समाजको ऐना हो । तर साहित्य समाजको ऐना हो कि आफ्नै सेल्फको ऐना हो ? साहित्यमा समाज खोज्ने हो कि आफूलाई ? कि समाज र आफू दुबै कुराभन्दा परको अर्को सत्य खोज्ने हो ?
जब रिपिटेशनबाट झर्को लाग्छ, अनि सोच्छौँ हामी, फेरि अर्को किताब केका लागि पढ्ने ? पाठक आफैमा ठूलो लेखक हो । नलेखिदिएको पो हो त ! थाहै नभएको त होइन नि !
मैले उभ्याएका प्रश्न हुन वा अरु कसैका कुनै पनि प्रश्नलाई ठिक वेठिक भनिदिने को हो ? प्रश्नहरू खोजका खातिर जन्मन्छन् । ठिक र बेठिक छुट्टिनका लागि जन्मन्नन् । चन्द्रमामा मान्छे पुग्नु ठिक हो कि वेठिक ? सगरमाथामा पैताला टेक्नु के हो ? तपाईको प्रश्न बजारका लागि हो भने पनि यो वेक्कारको सवाल हो । लेखकले कहिल्यै पनि बजार हेरेर लेख्दैन, लेख्नु हुँदैन् । कल्पनाशिलहरुको अर्कै संसार छ । रिडरसिप भनेको यो वा त्यो लेबलबाट भन्ने हुँदैन् । साँचो पाठकले पठन हेर्छ, ठिक बेठिक हेर्दैन ।

स्रोत : समाधान दैनिक, बैशाख २७. २०७३

0 Comment:

Post a Comment