Contact Form

Name

Email *

Message *

Thursday, April 27, 2017

प्यारो पोखरा : सिर्जनात्मक सहर

नेपाल नामको टीकी पैरिन्छिन् जो वसुन्धरात्यै टीकीको पनि टीकी हो यो सुन्दर पोखरा।--मुकुन्दशरण उपाध्याय, 'प्राकृत पोखरा
पृथ्वीको कुनै कुनो सौन्दर्यविहीन छैन। हिमाल अन्त पनि छन्। ताल पनि छन्। पहाड छन्, खोलानाला छन्। फाँट छन्। अनेकन संस्कृतिले झपक्क बलेका गाउँबस्ती छन्। तर जसरी पोखरामा सबथोक 'जक्स्टोपोज्डछन्, अन्यत्र छैनन्। त्यसैले त पोखरा, पोखरा भएको हो। 
उसो त पोखरा भनेको भूगोल हुँदै होइन। प्रशासनिक हिसाबले 'पोखरापरिभाषित हुनै सक्दैन। एउटा नगरका रूपमा कहलाइनुअघि पनि पोखरा थियो। तर त्यो पोखरामा अहिलेको लेकसाइड पर्दैनथ्यो न सराङकोट पथ्र्यो। न पथ्र्यो ढुंगेसाँघु र कुँडहर फाँट। प्रशासनिक परिभाषाले न बेगनास र रूपा ताल पोखराका हुन्छन् न कविशिरोमणि पोखेरेली दरिन्छन्। जुन बेला 'प्राकृत पोखराका लागि मदन पुरस्कार पाए त्यस बेलासम्म स्वयम् मुकुन्दशरण पनि प्रशासनिक हिसाबले पोखरेली थिएनन्। पोखराले भौगोलिक परिभाषालाई खारेज गर्छ र गरिरहेको छ। 
उसो भए पोखरा के हो? पोखरेली को हुन्? खासमा पोखरा भनेको सहर होइन, सौन्दर्य हो। भूगोल होइन, संस्कृति हो। संस्कार हो। सिर्जनात्मकता हो। पश्चिमको नीलगिरिदेखि पूर्वको मनासलुसम्म फैलिएको हिमालले सिँचेको कृषिसंस्कृतिका उपासक प्राय: एउटै लबजमा बोल्छन्, उस्तै अन्न उमार्छन् र खान्छन्, उस्तै गीत गाउँछन्, उस्तै नाच्छन्। उस्तै हाँस्छन्, उस्तै रुन्छन्। यो उस्तै जो गर्छन् ती पोखरेली हुन्। 
आदिकालदेखि अहिलेसम्म पोखराले महानतम सर्जक जन्माएको छ। यहाँ आएका महानतम सर्जकलाई प्रेरणा दिएको छ। पोखराकै सुन्दरताबाट मोहित भएर ऋषि वात्सायनले जीवनको अन्तिम समय यतै बिताएको योगी नरहरिनाथले बताएका छन्। प्रेमर्षि वात्सायनले बसोबास गरेको तपोभूमिलाई आजकल 'वात्सायन घाटभनिन्छ जहाँ दुर्घटनावश पोखराको फोहोर विसर्जन गरिन्छ। चिसाखोलामा कश्यप ऋषिको आश्रम रहेको र उनकै नामबाट 'कास्कीभएको विश्वास गर्नेहरू पनि छन्। यस्तै रजनीश ओशोका प्रथम संन्यासीमध्ये एक योग चिनमयले नेपालमा 'कम्युनखोल्न पोखरा नै रोजे। यस्तै जापानी भिक्षु इकाई कावोगोजीले शतकअगाडि पोखरा आएर यसको सौन्दर्य वर्णन गरेका छन्। 
प्रख्यात अध्यात्मिक नियात्रा पुस्तक 'द स्नो लियोपर्डलेखक पिटर म्याथिसन, कवि तथा नियात्राकार विलफ्रिड नोयर; कर्णेल जिमी रोवोर्टस, एडी कोक्सजस्ता प्रसिद्ध लेखकका मुख्य कृतिमा पोखरेली सौन्दर्यको प्रभाव पाइन्छ। विलफ्रिड नोयर तिनै नियात्राकार हुन् जसले 'भर्जिनहिमाल माछापुच्छ्रेको १५० मिटर मुन्तिरसम्म आरोहण गरेका थिए। टोनी हेगन, ओलेग पोलुनिन, बिल टिलमन आदिको पैताला र चेतनाले पोखराको सौन्दर्य नापेको पनि उहिल्यै हो। क्रिस बोनिङटनको 'अन्नपूर्ण साउथ फेसपनि पोखरेली सौन्दर्यकै एउटा दस्ताबेज हो। लेफ्टिनेन्ट कर्णेल जेम्स ओवेन मेरिओन रोबटर््सलाई नेपाली ट्ेरकिङका पिता मानिन्छ। ब्रिटिस म्युजियमका लागि चरा संकलनहेतु पचासकै दशकमा पोखराको सेरोफेरो नापेका उनी यसकै मोहिनीमा यतै बसे। जीवनको अन्तिम श्वास फेवा किनारमा फेरे। उसो त अन्नपूर्णमा पहिलो पाइला टेक्ने मोरिस हर्जोगबिना पोखरेली सौन्दर्यको पश्चिमेली वर्णन अपूरो हुन्छ। पोहोर साल नेपाल लिटरेचर फेस्टिबल उद्घाटन गरेका युद्धसंस्मरण लेखक जेपी क्रस पोखराको सुन्दरताले यति तानिए कि चालीस वर्षदेखि यतै बसिरहेका छन्। 
डा. केआई सिंहको संयुक्त प्रजातान्त्रिक पार्टीको पोखरा महाधिवेशनमा शिक्षामन्त्रीका नाताले महाकवि लक्ष्मीप्रसाद देवकोटा आएका थिए। बूढापाका साहित्य अनुरागी सम्झन्छन्, साँझको सांस्कृतिक कार्यक्रममा उनले 'नीलकाँडाशीर्षकको कविता वाचन गरेका थिए। सम्भवत: पोखरा बसेर लेखिएको महाकविको कविता त्यही मात्रै हो। संयोग वा प्रभाव जे होस्, पोखराबाट फर्केपछि देवकोटाको सौन्दर्य चिन्तन र आध्यात्मिक जीवनमा ठूलो परिवर्तन आएको देखिन्छ।

वामपन्थी लेखक गोकुल पोखरेलदेखि कलाकार चन्द्रमानसिंह मास्केसम्मलाई पोखराको सौन्दर्यले छोएको थियो। मास्केले पोखरामा तीनवटा चित्र बनाए। १९८२ सालमा आएका उनले ताल बाराही र बिन्ध्यवासिनीसहित एक पोखरेली व्यापारीको पोट्रेट पनि बनाएका थिए। 
कवि तीर्थ श्रेष्ठका अनुसार ईश्वर बल्लभ, बालकृष्ण सम, माधव घिमिरे तारन्तार पोखरा आइरहन्थे। भीम दर्शन रोक्का र भैरव अर्याल त लगभग आधी पोखरेली भएरै बाँचे। नन्दलाल पाण्डे, आईबी मल्ल, ललित शाही, भगतसिंह बक्दास, मनोरञ्जन जोशी, शैलेन्द्र साकार, हरि अधिकारी, नगेन्द्रराज पौडेल, केन्द्र माझी, जैनेन्द्र जीवन आदि सर्जक पनि जागिर सिलसिलामा पोखरा आएका थिए। पोखराको सिर्जनशीलतामा यिनीहरूको संलग्नता स्मरणीय ठान्छन् कवि श्रेष्ठ। जागिरकै सिलसिलामा पोखरा आएका मोहन घिमिरेले लेखनाथ पौडेलको नाममा तात्कालीन अर्घौं अर्चलेलाई 'लेखनाथ गाउँ पञ्चायतबनाइदिए जसको जगमा पछि लेखनाथ नगरपालिका नै स्थापित भयो।

जब हामी पोखरालाई 'नगरभन्दा फराकिलो पार्छौं, त्यसले समेट्ने सेरोफेरो मस्र्याङ्दीदेखि कालीगण्डकीसम्म हुन्छ। यो क्षेत्रलाई 'बृहत् पोखराअवधारणामा आजकल 'डिस्कोर्स' गरिन्छ। यसैले स्थापित गर्छ, नेपाली कलासाहित्यमा पोखराको प्रभाव। आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, राष्ट्रकवि माधव घिमिरे, भूपी शेरचन, लोककवि अली मिया, मुकुन्दशरण उपाध्याय, जनकविकेशरी धर्मराज थापा, झलकमान गन्धर्व, विजय बजिमय, सरुभक्त, तीर्थ श्रेष्ठ, दुर्गा बराल वात्सायन, क्षेत्रप्रताप अधिकारी, चेतन कार्की, नारायण वाग्ले, मञ्जुश्री थापा, नवराज कार्की, उषा शेरचन, सरिता तिवारी, प्रकट पगेनी, हरिदेवी कोइराला, अमृत गुरुङ, विवेक श्रेष्ठ, कर्ण दास, विनोद बानिया, रोशन शेरचन, अमर न्यौपाने, सरस्वती प्रतीक्षा, भूपिन, माधव वियोगी, ईश्वरमणि अधिकारी, दीपक समीप, शरण आँसु र सुरेश प्राञ्जलीसम्म फैलिएको पुस्तान्तरमा पोखरेली सौन्दर्यसंस्कृतिको उच्च प्रतिफल छ। यो फेहरिस्तमा जति गर्दा पनि छुट्ने कति छन्छन्। पोखरेली सर्जकहरू जुनजुन कुनामा जुनजुन समयमा बसेर सिर्जनामा लागेका भए पनि तिनले पोखराको प्रभावलाई देशभर पुर्‍याउन योगदान गरेका छन्। पोखरेली सौन्दर्यले शब्द, रङ्ग र संगीतका सबै क्षेत्रका राष्ट्रव्यापी प्रभाव पारेको छ। नेतृत्व गरेको छ। गन्तीमा राख्दा 'मोनोटोनसहुने गरी सर्जक जन्माएको छ पोखराले। यी सबै सर्जकलाई तुलामा राखेर हेर्दा पोखराको वास्तविक वजन देख्न सकिन्छ, पूरा देशको सापेक्षमा। यस्तो भार जसलाई पन्छाएर हेर्दा चौथाइ खण्ड पनि बाँकी रहन्न। त्यसैले पोखरा कला, साहित्य र संगीतको मोफसल होइन, केन्द्र हो।
कला, साहित्य र संगीतको क्षेत्रमा करियर खोज्न ठूला सहर पस्ने परम्परा नयाँ होइन। पोखरा इतिहासमा र अहिले पनि काठमाडौं पसेको छ, नपसेको होइन। तर पोखरा काठमाडौं मात्रै होइन, देशदेशावर जहाँजहाँ पसेको छ, रङ फेरेर पसेको छैन। त्यहाँको रङलाई पनि बदल्ने सामथ्र्य बोकेर पसेको छ। पछिल्लो समय पोखराले काठमाडौं पस्नमा होइन, पोखरामै बसेर सिर्जना गर्न रुचाएको छ। पोखराले कहिल्यै 'स्पेस' खोजेन बरु 'स्पेस' निर्माण गर्‍यो। आफ्ना लागि पनि अरूका लागि पनि। यो पोखरेली वाङ्मयिक संस्कारको एक विशेषता हो।
कास्की जिल्लामा मात्रै तीन दर्जनभन्दा बढी वाङ्मयिक संस्था क्रियाशील छन्। सेरोफेरोका जिल्लामा यस्तै क्रियाशीलता उच्चकोटिको छ। वाङ्मयिक संस्थामा जेठोमध्येको पोखरेली युवा सांस्कृतिक परिवार होस् या कान्छोमध्येको र्‍यान्डम रिडर्स सोसाइटी, देशका कुनै पनि कुनाका सर्जकले चिनेका र सुनेका नाम हुन्। गुणस्तरीय र इमानदार क्रियाशीलताबिना यस्तो वाङ्मयिक 'ब्रान्डिङसम्भव हुन्थेन। कला, साहित्य, संगीत, नृत्य, गायन, नाटक, सिनेमा आदि सिर्जनविधालाई शिरमा थापेर स्थापित यस्ता संस्थाकै कारण पोखराबाट यतिका सर्जक विकसित हुन सकेका हुन्। हिजो साहित्यको अँध्यारो युग छँदै रुद्रराज पाण्डे जागिरे भएर भएर पोखरा आउँछन्, यतैका विष्णुहरि पौडेलसँग मित लाउँछन् र भन्छन्, 'पोखरा मेरो पनि घर हो।प्रख्यात गायक अरुण थापा पोखरा आउँछन्। यहाँ आएपछि मात्रै आफू गायक भएको पत्तो पाउँछन् र भन्छन्, 'मबाट गायक जन्माउने आमा हो पोखरा।' स्वरसम्राट् नारायण गोपाल पनि प्रेमिका पेमला बोकेर यतै आएका हुन्, अपनत्वको खोजीमा। यस्ता उदाहरण थपे उपन्यासै बन्छ।
पोखरा आउने जोकोही सर्जक अतिथि हुँदैनन्, पारिवारिक सदस्य हुन्छन्। आखिरकार पोखरा 
भनेको सहर पनि त होइन। एउटा संस्कार, संस्कृति र सभ्यता जो हो।
Published Originally at: 

0 Comment:

Post a Comment