Contact Form

Name

Email *

Message *

Saturday, May 9, 2015

भुईँफुलको कथा : रात फुलेको याम


कुनै बखत राजनीतिक चर्चाको शिखरमा रहेको वाइसियलका प्रवक्ता, त्यसअघि नेपालको पुर्वीमोर्चाका जनयुद्धकालिन सिपाही रामप्रसाद सापकोटा उर्फ दीपशिखाको उपन्यास ‘रात फुलेको याम’ बजारयात्रामा छ । यस अघि पत्रकारिता र कविको व्यक्तित्वमा खरो उत्रिएका दीपशिखाको यो पहिलो उपन्यास हो । राजनीतिक परिवर्तनका लागि बन्दुक उठाएका लडाकुको कलमप्रतिको सम्मान र विश्वास यो किताबमा छताछुल्ल देखिन्छ ।
पछिल्लो चरणमा प्रकाशित नेपाली उपन्यासहरूले माओवादी द्वन्द्वको थोर बहुत तरलतामा पात्रहरूलाई बगाएका छन्, सावाल्र्टन गतीमा । समाजमा रहेका तल्लो तहका बास्तविक पात्रलाई नै उपन्यासको नायक बनाउने यो शैलीले नेपाली आख्यानको युग नै बदलेको छ । ‘रात फुलेको याम’मा फुलेको कथा पनि यस्तै मान्छेको हो । यो एउटा गैर आख्यानिक उपन्यास हो ।
माया, प्रेम, करुणा, त्याग, समर्पण आदि जस्ता मानवीय सम्वेदनाको साँधमा विद्रोही चेतनाको रेखा कोर्नु नै प्रगतिशिल साहित्यको सम्प्रत्ति हो । अवचेतनको सुषुप्त विद्रोही चेतलाई जागृत गराउनु नै प्रगतिशिल साहित्यको मुल उद्देश्य हुन्छ । त्यो उद्देश्य तबमात्रै संभव हुनसक्छ जब घटना, पात्र र प्रस्तुति जिवन्त हुन्छन् । जतिसुकै प्रगतिशिल र विद्रोही कुरा गरे पनि प्रस्तुतिले तान्न सकेन भने कथाको चावीले सुषुप्त चेतको ढोका खोल्न सक्दैन । प्रगतिशिल साहित्यको सौन्दर्य यहीँ नेर हुन्छ । दीपशिखाको कलममा त्यो सुन्दरताको आभा प्रष्ट देखिन्छ ।
उपन्यासको कथा ६२÷६३ को जनआन्दोलनबाट सुरु हुन्छ । फ्यासब्याक शैलीमा दुई पुराना बालसखाहरू पवन र यामको संस्मरणसँगै पाठकलाई जनयुद्धकालीन विभिषिकाको साक्षात्कार गराइएको छ । कथावाचक पवनको डेरामा यामले जनयुद्धताकाका कहालिलाग्दा घटनाहरूलाई बिस्तार गर्छ । यसक्रमा पाठकमा उत्पन्न हुने जनयुद्धप्रतिको धारणा, पात्रप्रतिको करुणाभाव र अवचेतनमा प्रस्फुटिन हुने विद्रोही चेतनाले यो कृतिलाई सम्बृद्ध बनाएको छ । विसं. २०५२ सालबाट सुरु भएको जनयुद्धको विकाससँगै पात्रहरूको वैचारिक र चारित्रिक विकास हुँदै जान्छ । जनयुद्धको उत्कर्षका रुपमा जनआन्दोलन ६२÷६३ लाई देखाउन खोज्नु नै उपन्यास मुख्य योजना हो जस्तो देखिन्छ । कथाको पात्र याम पाकेको घाउ बोकेर महिनौं अत्यासलाग्दो एकाकीमा बस्छ । तर पनि उ एउटा अद्भुत चेतनाको जिजिविषाले उर्जाशिल भैरहन्छ । पतिलाई आफ्नै अगाडि हत्या गरिरहँदा एउटी महिला छापामार न त बेहोस भएर ढल्छे न प्रतिरोधमा उत्रन्छे । बरु भाग्छे, सहरबाट फर्कँदै गरेका साथीहरूलाई जोगाउन । कुन दर्शनले हृदयको खोकिला थुनेर ज्यान जोगाउन भागिरहन सक्छे एउटी महिला ? जनयुद्धका सिपाहीका यस्ता चरित्रले नै पाठकलाई एउटा अनौठो संसारको विचरण गराइरहन्छ ।
आजकाल जनयुद्धको उपादेयतामाथि नै विविध प्रश्नहरू उठ्न थालेका छन् । के हालसम्म संस्थागत भएका गणतन्त्र, धर्म निरपेक्षता र संस्थागत हुन बाँकी संघियताकै लागि मात्रै हो त २० हजारले रगत बगाएको ? १९ दिने जनआन्दोलन माओवादीको योजना थियो या आकस्मिक अवतरण ? के जनयुद्धहरू अवतरणका लागि  आकस्मिक घटनाहरूको प्रतिक्षामा रहन्छन् ?
६२÷६३ को जनआन्दोलन एउटा सामाजिक सिर्जना हो । जसरी एउटा सिर्जनामाथि प्रतिलिपि अधिकार लाग्छ त्यस्तै अधिकार लाग्छ सामाजिक परिवर्तन प्रति राजनीतिक दलको । यो किताबले ६२–६३ को जनआन्दोलनको प्रतिलिपि अधिकारमा माओवादीको हिस्सालाई सुरक्षित गर्न मद्दत गरेको छ । विशेषगरी माओवादी मुलधारको राजनीतिमा आएको हो या नेपालको तात्कालिन राजनीति माओवादीको कार्यदिशामा आएको थियो ? यो प्रश्नको उत्तरमा एउटा लडाकुको दृष्टिकोण यहाँ पोखिएको छ ।
अब अर्को दश बर्ष पुग्दैछ, नेपाली माओवादी जनसेनाले बन्दुक बिसाएको । उनीहरूका नाङ्गा खुट्टाले नापेको भूगोल र तिनले हिडेँको बाटोको सानो धर्को मेटिँदै गएको छ । त्यहाँ बाटो त छ, तर मान्छे हिँड्नै छोडेपछि बाटोमा झार पलाउन थाल्नु अनौठो हुने भएन । यो उपन्यासले छामामारहरूको मेटिँदै गएको पदचापको पुरानो तस्बिर देखाएको छ । तर यो तस्बिर मात्रै हो । बाटो मेटिएको कुरा साँचो हो ।
यो देशमा अझै १० बर्षे जनयुद्धलाई न्यायको युद्ध मान्ने पनि छन्, आतंकवाद मान्ने पनि छन् । बाटो बिराएका मान्छेको पगरी गुताउने पनि छन् । लेखक दीपशिखाले यसलाई भुँइफुलको कथा भनेका छन् । भुँइका साना झारहरूमा फुल्ने साना सपनाको फुल र ती फुल कुल्चने समाजका विरुद्दमा उम्रिएका साना काँडाहरूको सामूकि कथा छ यसमा । ती साना काँडा जसले साँच्चै नेपालको सत्ता हल्लाइदिएको हो ।
कथा पढिरहँदा चिनेका वा सुनेका जनयुद्धकालिन लडाकुहरूको चित्र पाठकको मनभरी आउँछन् । हिजो बन्दुक बोकेर जनताको लागि लडेकाहरू आज अरबको खाडीमा गैंची चलाउँदै छन् । नेपालकै कुनै कुनामा गाइ भैंसी पालेर बसेका छन् । हिजो हजारौं विद्रोहीको हत्या भएको थियो । आज तिनीहरूका हजारौं सपनाहरूको हत्या भएको छ । हिजो तिनले देखेको वा देखाइएको वर्गशत्रुहरूको स्वरुप भौतिक थियो, देखिन्थ्यो । ती कहिले शाही सेना, कहिले पुलिस, कहिले गाउँको मुखिया कहिले सुराकीको स्वरुपमा आउँथे । आजका सपनाहरूको हत्या गर्ने हत्यारा भने अभौतिक छ । देखिन्न । अभौतिक दुस्मनका विरुद्दमा बन्दुक होइन, काम लाग्ने भनेको कलम नै हो । ‘रात फुलेको याम’ले अर्को जनयुद्धको थालनी गरेको छ ।



0 Comment:

Post a Comment