Saturday, May 9, 2015

पात्र, पाठक र पात्रता


गत हप्ताको एक चिसो बिहान मलाई केही कथाका पात्रहरूले लखेटे। लखेट्नेमा कोही नेपाली बोल्ने थिए, कोही हिन्दी र अंग्रेजी। त्यो बिहान कुमार नगरकोटीको ‘अक्षरगन्ज' पढेर ब्युँझेको बिहान थियो। उनलाई पनि कथाका पात्रहरूले खेदेरै सिध्याउने रहेछन्।
लन्च आवरपछि फेसबुक खोलेँ। प्रज्वल पराजुलीको ड्रप म्यासेज थियो, ‘मिस्टर पौडेल द गोर्खाज् डटर नेपालीमा पनि आएको छ है।'
‘हो मैले थाहा पाएँ, बधाई छ।'
म्यासेज बक्समा ‘सिन' देखियो। मलाई किनकिन सोध्न मन लाग्यो— प्रज्वल तिम्रो मन छुने पात्र को हो? तिमीलाई लखेट्ने पात्र?
स्विटजरल्यान्डको कुनै होटलको बिस्तराबाट भर्खरै उठ्दै गरेका रहेछन् उनी। भने, ‘गोर्खाज डटरकी पात्र गीता।'
‘तिम्रो आफ्नै भनेको होइन, अरूको,' मैले भनेँ।
‘काबुलीवाला छ नि टैगोरको? त्यसकी मिनी।'
‘किन नि!'
‘खै थाहा छैन। त्यसले काबुलीवालाको मानवीयतालाई बाहिर निकालेकी छे।'
प्रज्वल एउटा चल्तीको सर्जक र पाठक पनि हुन्। उनको उत्तरमा मैले एउटा सम्भावित आलेखको छाया देखेँ। सोचेँ हाम्रा सर्जकको पात्रताको आकार कस्तो छ? कुमार नगरकोटी बाहेक (अक्षरगन्जमै उत्तर भेटेकाले) केही मनखाँदा सर्जक र पाठकलाई म्यासेज पठाएँ— तिनको मन छुने पात्र को हो? किन? ती कस्ता छन्?
थाहा छ, हरेक मान्छे आफैंमा एक पात्र हो, चरित्र हो। कहिले ऊ सर्जक बनेर आफ्नो वास्तविक वा इच्छित छायालाई कथाको चरित्रमा उतार्छ। कहिले ऊ पाठक बनेर आफ्नो छायाँचित्र कथाको चरित्रमा खोज्छ। सबै चरित्रले सबै पाठकलाई लखेट्दैनन्। छुँदैनन्। चरित्रलाई ग्रहण गर्ने पाठकको एउटा क्षमता हुन्छ, लखेटिइन सक्ने एउटा अन्तरशक्ति हुन्छ पाठकमा। पूर्वीय परम्पराले त्यसैलाई हो पात्रता भनेको। पात्रता अर्थात् पात्रलाई ग्रहण गर्न सक्ने क्षमता।
पात्रताको एक उच्चतम तहविना एउटा पाठक त असल पाठक हुन सक्दैन भने सर्जक गतिलो हुने कुरा हुँदैन। सर्जकको कुनै आकाशे कल्पनाले होइन कथा जन्मने। सर्जक स्वयं पाठक भएर समाजलाई हेर्छ, आफ्नो ग्रहण क्षमताअनुसार त्यसको केही प्रतिशत बुझ्छ अनि त्यसको पनि केही प्रतिशतमात्रै अभिव्यक्त गर्छ साहित्यमा। यो प्रतिशत जति बढी हुन्छ, चरित्र त्यति नै शक्तिशाली हुन्छ। त्यसैले पात्रताको अर्थ सिर्जनशीलता नै हो। पाठक हुनु सर्जक हुनुभन्दा कम शक्तिशाली हुनु वा कम कल्पनाशील हुनु होइन। मेरा हजुरबुबा भन्नुहुन्थ्यो— गीता लेख्नेलाई के दुःख भयो होला र? पढ्नेलाई पो दुःख छ।
मैले निमिट्यान्न पढेका शून्यचिन्तक सरुभक्तलाई छुन महाभारतको श्रीकृष्ण आउँदो रहेछ। किन होला? रिप्लाई आयो— उनको चरित्र एकैपल्ट भगवानको र श्रापित सैतानको छ। चितौने कवि भूपिनलाई मन पर्ने ‘वल्ड म्यान एन्ड सी' को स्यानटियागोलाई हिमाल उकालेर उनले निकालेको ‘चुली'को सर्वनाम पात्र ‘ऊ'ले लखेट्दो रहेछ कवि शरण आँसुलाई। कथाकै पात्रभन्दा भन्दा शक्तिशाली छाप दिने कवि तीर्थ श्रेष्ठलाई छाप हान्न आउँदो रहेछ महाभारतको भीष्म। किन? उत्तर थियो— मन एकातिर र उपस्थिति अर्कोतिरको विडम्बनापूर्ण जीवनको जीवन्त अभिव्यक्ति हो भीष्म।
आखिर पात्रता भनेको पात्रलाई बुझ्ने र पात्रको जीवन पक्रने शक्ति जो हो। शक्तिशाली सर्जकको पहिचान उसले अरूका पात्रलाई समातेको ‘ग्रिप'बाट पत्तो लाग्छ। अरूका चरित्रलाई अनुभूत गरेको ‘डेप्थ'बाट पत्तो लाग्छ।
कहिलेकाहीँ सोच्छु, मेरो पात्रता नै मेरो निजी चरित्र हो। मैले भेटेका चरित्रहरूबाटै मेरो चरित्र बनेको छ। एकलै भौतारिँदा वा साइकल लिएर सेतीदोभान, दोबिल्ला, कन्धनीडाँडातिर उक्लँदा मैले आफूलाई किप्लिङको किम भएको पाउँछु। देख्छु मेरो अगाडिको मेरो छाया नै त्यो तिब्बती लामा हो जोसँग मैले ग्रान्ड ट्रंक रोड कट्दैछु। कहिलेकाहीँ म आफूलाई किरिलोभिच भ्रोन्स्कीको रूपमा देख्छु। सायद उसलाई नपढेको भए मेरो जीवनमा आएका अन्ना कैरेनिनाहरूभन्दा पहिल्यै मैले आत्महत्या गरिसक्ने थिएँ। मैले जति तोल्सतोयलाई धन्यवाद कसले दिएको होला?
अमर न्यौपानेको कथामा घाँस बेच्ने केटी होस् या तीर्थ श्रेष्ठको कवितामा घाँस काट्ने केटी, मान्छेका खुसी र सपनाहरु घाँसका त्यान्द्राभन्दा पनि मसिना र चलायमान छन्। जस्तो छ नि स्टेला गिब्बोन्सको ‘कोल्ड कम्फोर्ट फार्म'की फ्लोरा पोस्टी। सामान्य अर्डर कुरेर बस्ने यो महिलालाई आफूले रोजेको बाटो नै सही हो भन्ने कस्तो विश्वास छ! तर रोजाइ कतिपय ठाउँमा कति विडम्बनापूर्ण हुन्छ! जस्तो कि अर्चना थापाको सुपर्णखा प्रतिको सोच छ— ‘रामायणकी सुपर्णखालाई बोल्न दिइने हो भने आफ्नो नाक काटिने प्रकरणलाई कसरी सुनाउँथिन् होला? मलाई अन्याय भयो भन्थिन् वा मर्यादा पुरुषले गरेको ठिक भयो भन्थिन्? के उसलाई राम अझै पनि मन पर्छ? उसको रोजाइमा मर्यादा पुरुषोत्तम अझै चित्ताकर्षक लाग्छन्?'
मन सनन्न भएर आयो। कस्तो कल्पनाशील पात्रता! मान्छेका आफ्नै रोजाइ निरपेक्ष छैनन्। स्वयं प्रेम निरपेक्ष छैन। युग बदलिएर के भयो? अनकन्टार इतिहासमै सही, सत्ययुगमै घुसेर कति सजिलै सुपर्णखाको नसाको रगत अनुभूत गर्न सक्दा रहेछौं हामी पाठक! सायद पाठक हुनु भनेको लेखकभन्दा पनि शक्तिशाली रूपमा कल्पनाशील हुनु हो। हाम्रो कल्पनाशक्तिका कारण नै हामीमाथि पात्रहरूले शासन गर्छन्। सुपर्णखाहरूले शासन गर्छन्। तनाव दिन्छन्।
मान्छेहरूको बेचबिखन हुँदैन अचेल। वा बेचबिखन हुने तरिका फेरिएको छ। तर जब आफ्नी स्वास्नी र छोरी बेचेको पीडाले रन्थनिएको माइकल हेन्चार्ड भेट्छु। म मेरो युग बिर्सन्छु। ‘मेयर अफ क्यास्टरब्रिज' पढ्ने र मनभित्र कतै हुरी चलेको पत्तो नपाउने कोही हुन्छ? मान्छेको सभ्यता रहुन्जेल यस्ता फिक्सनल पात्रहरूले हाम्रो मस्तिष्कमाथि शासन गरिरहने छन्। हाम्रा सयौं पिँढी पछाडिका सन्तानका सोचको निर्माण गर्नेछन् तिनले। तिनको कल्पनाको फराकिलोपनालाई आकार दिनेछन्।
छोइने भएर आउन कुनै धुरन्धर पात्र हुनु पर्दैन। जस्तो कि रोशन शेरचनको दिलमा बस्ने मोदिआइन। ‘ठूलो मान्छेभन्दा असल मान्छे ठिक भन्ने मोदिआइनको भुजा, चना, गहुँको सातु र गुण बेच्ने साधारण काया र भेषभूषाभित्र असाधारण महिला बस्छिन्।'
सायद साधारण हुनुभन्दा असाधारण कुरा अरू छैन। सम्झन्छु, कवि अमित रिजाल मर्सोको कुरा गर्थ्यो। ‘आफ्नो क्रियाकलापले संसारलाई असर नगर्ने विश्वासमा भद्र उदासिनता जताउने अल्बेयर कामुको यो परचक्री पात्र न नैतिक छ न अनैतिक। न सही न गलत।' समाजप्रतिको यो न्युट्रल इमोसन भन्ने कुराको प्राक्टिस गर्नु पनि कति हो कति खतरानक हुँदो रहेछ!
अबको सयौं या हजारौं वर्षपछिको मान्छेको समाज कस्तो होला? हामीले असल ठानेका मान्छे असल नै भइराख्लान्? मान्छेको आयु कति होला? भाषा के अहिलेकै अवस्थामा होला? त्यो समाजको मान्छेले मान्ने धर्म कुन होला? पुज्ने ईश्वर कस्तो होला? देशहरूको विभाजन यस्तै होला? मान्छेको शारीरिक बुनोट यसरी नै रहला वा कुनै अर्को हाइब्रिड शरीर बनिसक्ला? मान्छेहरू अहिलेकै चल्तीका रोगले मर्लान्? त्यो युगका मान्छेको प्रेम, यौन, विवाह, सम्बन्ध र समाजको मोडल कस्तो होला? जस्तो होला पात्रताको कल्पनाशक्तिका कारण हाम्रा हरेक पुस्ताले हामीलाई बुझिराख्नेछन्।
पात्रता भनेको कहिलेकाहीँ नोस्टाल्जिया जस्तो पनि हुन्छ। कुनै चरित्र सर्वमान्य छ भने, बुझिन्छ त्यो आमपात्र हो। सेतो कपडा लगाएर फिर्केखोलाको किनारमा खेल्न आउने आफ्नी बालसखालाई किन सम्भि्कन्थिन् कवि उषा शेरचनले? ‘सेतो धरती'की ताराले उनलाई नोस्टाल्जिक जो बनाएकी थिई। एउटा सर्जक स्वयं कति भावुक हुँदो रहेछ अर्को लेखकको पात्रले ल्याइदिने नोस्टाल्जियाबाट? अमर स्वयंलाई भने बिपीको सुम्निमाले सताउँदी रहिछ। यो कुनै नोस्टाल्जिया हुने कुरा भएन। जीवनवादी र भोगवादी सुम्निमाले जीवन र प्रेमलाई गरेको परिभाषाबाट घत खाएका बसेका छन्, न्यौपाने।
सुम्निमाझैं वस्त्रविहीन समाज पनि त अहिले छैन। सयौं वर्षपछिका हाम्रा सन्ततिको आँखामा हाम्रा यथार्थ फिक्सनजस्ता लाग्लान्, हाम्रा फिक्सनहरू मेटाफिक्सन लाग्लान्। तर हामी रोएकै घटनामा तिनका परेला भिज्नेछन्। हामी हाँसेकै ठाउँमा तिनीहरूका ओठ सलबलाउने छन्। हामी जस्तरी नै कथा सक्नेबित्तिकै आउने हुन्डरी शान्त गर्न वा उच्चाट क्याथर्सिसको कुँजाइ मेट्न तिनीहरू साइकल लिएर कुद्नेछन्। एक्लैएक्लै। मैलेजस्तै तिनले पनि सोच्नेछन्— जेन अस्टिनको ‘सेन्स एन्ड सेन्सिबिलिटी'को पात्र एलिनोर ड्यासवुडभित्र के छ जसले उसलाई सधैं सही निर्णय लिन सघाउँछ? भ्लादिमिर नोवोकोभले बनाएको कुख्यात उपन्यास ‘लोलिता'को हमबर्टभित्र चाहिँ के छ जसले उसलाई उखुमउखुम योजना बनाउन उक्साउँछ। योभन्दा मनोरोगी राक्षस को छ?
सयौं वर्षपछिका हाम्रा सन्तानको पात्रता कस्तो होला। के तिनीहरूले नयनराज पाण्डे वा अभय श्रेष्ठले झैं म्याक्सि गोर्कीको ‘आमा'का हरेक पात्रलाई सलाम गर्लान्? कि ती अलिअलि जर्ज इलियटको ड्यानियर डेरोन्डा वा शेक्सपियरको ह्याम्लेटजस्ता होलान्? त्यस्ता रहरलाग्दा पात्र जो विद्वता, चिन्तन र निडरताले निखारिँदा निखारिँदै पनि अन्त्यमा आफैंले हुर्काएको शंकाको डोरीमा झुन्डिएर मर्छन्। के तिनीहरू सरुभक्तको प्रशान्तजस्तै बाँच्न अभिशप्त होलान्? जसको सनक र अहंकारको सम्झना बोकेर तिनका कथा सुनाउनकै लागि मार्थाहरू बस्नेछन् नीरस बुढ्यौली रुँगेर। के अबको सयौं वर्षपछिका हाम्रा सन्तान प्रेमकै खातिर जीवनभर अविवाहित बस्लान्? कुमार, कुमारी रहलान्?
के हाम्रो आउँदो पिँढीले कवि पुष्प आचार्यलाई छोएको हर्मन हेसेको ‘सिद्धार्थ' सिरानीमा राखेर सुत्नेछन्? के उनीहरूले पनि सोच्नेछन् कि जीवन रहस्यको खोज नितान्त वैयक्तिक छ? के कवि सरस्वती प्रतीक्षाका इन्द्रियलाई झैं उनीहरूका हाडछालासँग पनि संवाद गर्न सक्ली जेम्स जोयसको ‘युलाइसिल'की पात्र मोली ब्लुमले? यो आइमाइको ‘स्ट्रिम अफ कन्सस्नेस' युक्त अद्भूत वर्णनकलाबाट के प्रतीक्षाझैं मुग्ध हुनेछन् हाम्रा खनाती पुस्ता? सायद केही छुवाइ सार्वभौम हुन्छन्, कालातीत हुन्छन्, अजम्बरी हुन्छन्। ‘ब्रिजेज अफ म्याडिसन काउन्टी'की फ्रान्सेस्का जोन्सनसँग संवाद गरेर बाँच्छु भन्छिन् बुकाहोलिक्सकी सगुना शाह। जोन्सनसँग सगुना किन अझै कुराकानी गर्न सक्छिन्? एउटै भेटको सम्झनामा जीवनलाई सुन्दरतापूर्वक बाँचिदिने जोन्सनले सायद भोलिको पिँढीसँग पनि यही संवाद गर्ली : ‘जिन्दगी एउटा सानो भेटको सानो सम्झनाभन्दा पनि सानो छ।'
अमेरिकाबाट लेख्ने बंगलादेशी लेखक मोहमद रहमानको ‘किलिङ द वाटर'का पढ्दापढ्दै म उछिट्टिएर भागेँको थिएँ, अत्यासले। उनले लेखे— ‘मिस्टर पौडेल, मलाई हुन्डरी मच्चाउने पात्रहरू ईश्वर र ओम हुन्। रोहिन्टन मिस्त्रीको आख्यान ‘अ फाइन ब्यालेन्स'का यी दुइटा पात्रले दुई हप्तासम्म मेरो मित्रको सपनामा आएर हैरान गरेछन्। के रहमानलाई झैं भारतीय संकटकालको तनावको छाया बोकेर यी दुई जना हाम्रा खनाती पुस्तका सपनामा आउलान्?'
सायद त्यो पात्रताको पराकाष्ठा हुन्छ होला जब कोही पाठक हजारौं शब्द र वाक्यले कुँदिएको कथानक चरित्रबाटभन्दा ज्यादा दस–बाह्र वाक्यले समेटिएको एउटा कविताको पात्रबाट लखेटिन्छ। कवि मनोज बोगटी बग्दादका कवि सिनान अन्तनुको ‘युद्ध' शीर्षकको कविताकी पात्र ‘आमा'बाट यस्तरी हुँडलिएछन् कि उनी एकसाथ स्तब्ध र आक्रोशित भएछन्।
मान्छे मर्छ तर चरित्र मर्दैन। यसैले हाम्रा पुस्ताले बाँच्ने भनेको हाम्रो चरित्र हो। सर्जक मर्छ तर तिनले सिर्जना गरेका पात्रहरू आत्माझैं हन्टिङ गर्न आइराख्नेछन् मान्छेका टाउकामा। हो हन्टिङ गर्ने तिनको तरिका बदलिएको छ। बदलिएको छ अहिलेको पाठकीयता। पहिलेपहिले कथा सुनिन्थ्यो। आजकाल देखिन्छ। स्टोरी टेलिङ बदलिएर स्टोरी सोइङ भएको छ। कल्पना कम शोध ज्यादा भएका फिक्सनल बायोग्राफीको युग छ अहिले। तीमध्ये कति कथाहरूलाई छालाले पढ्नुपर्छ। जिब्रो र नाक पनि सक्रिय हुन्छन् आजकालका कथा पढ्दा। हाड–नसा एक गरेर पठ्नुपर्ने बडो होलिस्टिक हुन्छ अध्ययन। पाठकबाट समेत एउटा सम्पूर्णताको आकांक्षा राख्छ अक्षरले। पात्रता फेरिएको छ। तर हजारौं वर्षपछि पढिने आजको कथाले भोलिका पाठकको ज्ञानेन्द्रियलाई पनि यसरी नै अपिल गर्नेछन् या छैनन्?
हामी मर्नेछौं। पात्रका सर्जकहरू पनि मर्नेछन् तर मान्छेको सभ्यता रहुन्जेल कल्पनाशक्तिले बुनिएका हाम्रा चरित्रहरू मर्नेछैनन्। हाम्रा आँखाले नदेख्ने जमानामा, हामीले कल्पना पनि नगरेको प्रविधि चलाइरहेका हाम्रा सन्ततिहरूले हाम्रा नाम बिर्सनेछन्। हामीले जतनले प्रेम गरेका कथालाई बिर्सन सक्नेछैनन्। हामी मरेपछि पनि बाँचिरहने, हाम्रो युगलाई प्रतिनिधित्व गर्ने, हाम्रो समाजको जीवनलाई बोकेर बाँच्ने त्यस्ता चरित्रहरूको शक्ति अपरिमित छ। कथा पढ्नेबित्तिकै ती हाम्रो शरीरमा यसरी प्रवेश गर्छन्, तिनले जीवनमात्रै होइन जीवनान्तर पनि लखेटिरहनेछन्। र, हामी तिनै प्रितम पात्रसँग भाग्नेछौं, प्रेम–विवाहपछि भागेका जोडीझैं।
 
http://www.nagariknews.com/nagarik-sanibar/story/32347.html#sthash.fVedJfmy.dpuf - 

0 Comment:

Post a Comment