Contact Form

Name

Email *

Message *

Z

Tuesday, November 17, 2020

चाडबाडको संग्राम शृंखला

संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो ।


 पहिलो प्रसंग तिहारको बारेमा होइन ।

तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो । बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ । त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो । तर, बिल्कुल नेपाली लय र बान्कीमा ।

भनेपछि यताका लोकगीतमा पनि मादल घन्किदोरहेछ, होइन ? आत्मप्रश्नको जवाफ एउटा सांगीतिक संग्रहालयमा मिल्यो, जहाँ पुराना साजहरू सजाइएका थिए । हाम्रो मादललाई त्यता मृदंगम भन्दा रहेछन् । कुरा संगीतकै मात्रै थिएन । त्यहाँका कतिपय परम्परागत नाच पनि हाम्रैजस्ता चालढालका थिए । नृत्यको चाल मात्रै होइन दक्षिण भारतको भात पनि बिल्कुल नेपाली स्वादकै थियो । खाने पनि हातैले मुछेर, (हामीतिर किरियापुत्रीले मात्रै खाने भए पनि) त्यो पनि केराको पातमा ।

होटलमा फर्केपछि मानवशास्त्री सुरेश ढकाललाई फोनमा सोधेँ, ‘के हामी पहाडी नेपाली र दक्षिण भारतीयका बीचमा कुनै ऐतिहासिक सम्बन्ध छ, भन्नाले पुर्ख्यौली सम्बन्ध छ ?’ उनले त्यसको सम्भावना नभएको बताउँदै स्वाद र संगीत अथवा कुनै सांस्कृतिक सम्पदाको समानता अरू धेरै कारणले पनि देखिन सक्छ भनिदिए । संस्कृतिको समकालीन उत्पत्ति, विकास र प्रसारणका अनेक सम्भावना पो हुँदा रहेछन् ।

घर फर्केपछि पनि मलाई दक्षिण भारतीयसँगको हाम्रो सांस्कृतिक (स्वाद र सांगीतको) समानताको चक्करले छोडेन । यसका बारे लेखिएका सामग्री खोज्न थालेँ । अनलाइन पुस्तकालय चहारेँ । र फेला पारेँ, कहिलेकाहीँ भौगोलिक, जातीय वा भाषिक रूपमा भिन्न समाजमा पनि एकै समयमा एउटै सांस्कृतिक सम्पदा उत्पन्न हुन सक्दारहेछन् । सांस्कृतिक मात्रै नभएर वैज्ञानिक आविष्कारै पनि हुन सक्दा रहेछन् । जस्तो कि हेर्नुस्, कोलम्बस अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनहरूले डुंगा चलाइरहेको देखेका थिए । अब आफैँ भन्नुस्, डुंगाको आविष्कारक कसलाई भन्ने ? कुन जाति वा व्यक्तिले पहिलो डुंगा बनायो भनेर तथ्य राख्ने ? यस्ता समकालीन र समतुल्य आविष्कार र उत्पादनको प्रतिलिपि अधिकार कसलाई हस्ते गर्ने ?

अझ कुरा अर्कै छ । म गीत, संगीत र नृत्यकै कुरामा फर्किन्छु । तपाईं–हामीले वास्तै नगरेको एउटा तथ्यमा एक छिन गम्नुस् । संसारभरका हिमप्रदेश (अल्पाइन रिजन) का गीत, बाजागाजा र नृत्यलाई ध्यानपूर्वक हेर्नुस् (सजिलोका लागि हाम्रै हिमाली क्षेत्रका जनजातिका नृत्य सम्झिनुस्) । उनीहरू कहिल्यै एक्लै नाच्दैनन् । समूहमा नाच्छन् । त्यो पनि एकअर्काको हात वा कम्मर पक्रेर । नाचमा हात होइन बढी खुट्टा चलाउँछन् । नृत्यको ताल पनि एकनासको र धीमा गतिको हुन्छ । सबैले एकसाथ दाहिने खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । त्यसपछि देब्रे खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । सकेसम्म गोलाकार भएर हलुका चालले फन्को मार्दै नृत्य सम्पन्न गर्‍यो ।

संसारभरका शीतक्षेत्रमा एकसमानको चालढालमा किन नाचिन्छ होला ? त्यस्तो संगीत र नृत्यको आविष्कार कुनै जाति, भाषा वा धर्मविशेषको कारणले नभएर भौगोलिक र प्राकृतिक कारणले भएको हो । हावाहुरी चलिरहने, हिउँ परिरहने यस्ता क्षेत्रमा एक्लै हिँड्न प्रायः सम्भव हुँदैन । हिँडिहाले ज्यान जाने खतरा रहन्छ । बाक्लो कपडा लगाएर एकले अर्काको साथ दिँदै सुस्तसुस्त चालमा हिँड्नु यहाँको भौगोलिक आवश्यकता हो । प्रकृतिले सुम्पेको यही आवश्यकताले नै यहाँको नृत्यको आविष्कार भएको हो ।

अब हिमालबाट अलिक तल पहाडमा ओर्लिनुस् । यहाँ एकल, दोकल वा सामूहिक सबै खाले नाच हुन्छन् । तर, संगीतको गति हिमालमा जस्तो धीमा हुँदैन । एकअर्कालाई (पूरै समय) नछोडीकन च्याप्प समातेर वा सम्हालेर नाच्ने पनि हुँदैन । मादलको घन्काइसँगै फन्फनी घुम्ने, बुरुक्क उफ्रिने, खुरुर्र कुद्ने नेपालका सबैखाले पहाडी नाचको समान विशेषता हो । नेपाल मात्रै नभएर संसारभरका पहाडी नाचमा उस्तै चालढालले फुर्तीसाथ किन नाचिन्छ ? कारण उही प्राकृतिक र भौगोलिक अवस्थाले हो । हाम्रैमा हेर्नुस् । पहाडका छरिता खोला तर्न होस् वा उच्चाल भीर उक्लिन होस् । वा कुनै टारीको एउटा आलीबाट बाख्रा खेद्दै अर्कोमा हाम्फालेर कुद्न नै किन नहोस् कसैको हात वा कम्मर समातेर फत्ते गर्न सम्भवै हुँदैन । पहाडले एउटा छरितो गति माग्छ । त्यो पनि एकल प्रयासको ।

अब तराईमा ओर्लिनुस् र त्यहाँका परम्परागत नाचलाई हेर्नुस् । पहाडमा जस्तो एकल नृत्य छैन । तर, हात वा कम्मर समातेर पनि नाचिन्नँ । संगीतको आवाज पनि चर्को चर्को छ । भाला, लाठीको प्रयोग छ । नाचमा आगोसमेत मिसिएको छ । त्यस्तो कसरी भयो ? कारण उस्तै छ । घना जंगलका बीचमा झुप्पा–झुप्पा गाउँमा बसोबास गर्ने जनजातिलाई जहिल्यै जंगली जनावरबाट आफू जोगिने अनि आफ्ना वस्तुभाउ तथा खेती जोगाउने सुर्ता भइरहने भयो । जंगली जनावरलाई तर्साएर खेद्न यस्ता ठूल्ठूला, तिखा र कर्कश आवाज निकाल्ने वाद्ययन्त्र चाहिए । लाठा–भाला चाहिए । आगोको प्रयोग अनिवार्यजस्तै भयो ।

गीत, संगीत र नृत्य मात्रै नभएर हाम्रा अन्य सांस्कृतिक सम्पदाको निर्माण र विकासमा पनि खासमा प्रकृतिले प्रभाव पारेको हुन्छ । खाने कुराको स्वाद, लगाउने पोसाक, बनाउने घर, चिन्ने चोक र चौतारामा पनि यसैको प्रभाव हुन्छ ।

दोस्रो प्रसंग तिहारको बारेमा हो ।

नेपालमा लामो समयदेखि ‘तिहार कसरी सुरु भयो ?’ भन्ने विषयमा लामो बहस चलेको छ । जातीय पहिचानको बहसको छेकोमा दसैँ र तिहारजस्ता चाडबाडहरू कतिले मनाउनै छोडेका छन् भने कतिले यस (तिहार) लाई हिन्दुकरण गरिएको निश्चित जनजातिको चाडबाड भएको अर्थमा व्याख्या पनि गरेका छन् । तिनको छिनोफानो गर्ने विज्ञता र सक्यता ममा छैन । इतिहास, संस्कृति र मानवशास्त्रका विज्ञहरूले यसका बारेमा बढी सामर्थ्य राख्लान् ।

इतिहासले ठूला राज्य भनेर बढाइँ गरेको भए पनि खासमा हाम्रा पहाडी राज्यहरू त्यस्ता ठूला थिएनन् । प्रशासनिक केन्द्र रहने दरबारदेखि एक दिनको पैदलयात्रा वा घोड–सवारीमा छिचोलिने क्षेत्रभित्रै हिजोका पहाडी राज्यहरू फैलिएका थिए । हाराहारीमा भन्दा अहिलेका एक जिल्ला बराबर एक राज्य थिए । राज्यका सीमाहरू वैज्ञानिक थिएनन् र स्थायी पनि थिएनन् ।

जति धेरै राज्य उति धेरै अन्तरद्वन्द्व, उति धेरै असुरक्षा, उति धेरै युद्ध ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशारण र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशासन र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । त्यसैले ‘बलि राजाले पठाएको’ भनिएकाे हो । उहिले हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो ।तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

विशेष कारण र अपवादलाई बेवास्ता गर्ने हो भने तिनताकाका अधिकांश युद्धहरू हिउँदमा हुन्थे । आउँदो हिउँदमा हुने वा हुन सक्ने युद्धको छायामा हाम्रा अधिकांश ठूला चाडबाडहरू मनाइएका हुन् । त्यसको सुरुआत तीजबाट हुन्थ्यो । ऋषिपञ्चमी अन्यत्र पनि मनाइएला तर तीज मनाइने नेपालमा मात्रै हो । मुख्य बाली धान रोपिसकी थकाई मारेर बसेको बेला पर्छ तीज । हिउँदको सम्भावित युद्धमा मरिने वा बाँचिने पक्को नभएपछि पुरुष सदस्यहरूले विवाहपछि परिवारबाट छुटेका महिला सदस्यलाई बोलाएर भेटघाट गर्ने र दुःखसुख साट्ने काम तीजमा हुन्छ । उता जन्मघर आएका विवाहित महिला सदस्यले कर्मघरमा छोडिआएको लोग्नेको दीर्घायुका लागि व्रत बस्नाको कारण पनि त्यही हो । (महिनावारी सुरु नहुँदै बिहे गरिने तत्कालीन चलनलाई मध्यनजर गर्दा) महिनाबारी भएका महिलाले मात्रै तीजको व्रत लिनुपर्ने भन्नुको अर्थ बिहे गरेका महिलाले मात्रै तीजको व्रत लिन्थे भनेर बुझ्नुपर्छ । पछि व्रतको अर्थ फेरियो र अविवाहित महिलाका लागि पनि त्यसलाई अनिवार्य गर्न थालियो । यस्तै महिनाबारी बन्द भएपछि पतिको दीर्घायु–व्रत लिनु पर्दैन भन्नुको अर्थ त्यो बेलासम्म महिलाको लोग्ने बूढो भइसक्ने र बृद्ध सदस्यहरूलाई युद्ध नलाग्ने कारणबाट बुझ्न सकिन्छ ।

तीजपछि लाग्छ १६ श्राद्ध, जसमा युद्धमा दिवंगत भएका आफ्ना पुर्खाहरूलाई सम्झिइन्थ्यो । श्राद्ध भनेको श्रद्धा न हो । त्यो १६ दिनमा उनीहरूलाई श्रद्धाञ्जली दिइन्थ्यो । कालगतिले बितेका पुर्खालाई सामान्य तिथिमा श्रद्धाञ्जली दिइन्थ्यो भने युद्धमा वा अकालमा बितेकालाई १६ श्राद्धमा । अहिले सबैखाले पुर्खालाई दुइटै श्राद्ध गर्ने चलन बसेको छ ।

१६ श्राद्ध लगत्तै शक्तिपूजा अर्थात् बडा दसैँ सुरु हुन्छ । व्याख्यामा युद्ध विजयको पर्व भनिए पनि खासमा बडादसैँ युद्ध तयारीको चाड हो । त्यसका लागि हातहतियारको जोहो गर्ने, तिनमा सान लगाउने, तिनको पूजा गर्ने आदि काम हुन्थ्यो । राज्यका सैनिक र प्रशासनिक सेवामा पजनी गर्ने काम यसै बेला हुन्थ्यो । युद्धको तालिम गर्ने, पौष्टिक आहार खाएर हृष्टपुष्ट हुने बेला पनि त्यही थियो । वृद्ध सदस्यसँग विजयको आशीर्वाद त्यसै मागिएको होइन ।

घटस्थापनादेखि तिहारको अघिल्लो दिनसम्म युद्धका अधिकांश तालिमहरू सकिन्थेँ । मुख्य बाली धान भित्र्याउन योग्य हुने तरखरमा रहन्थ्यो तर अघिल्लो वर्षको जगेडा अन्नपात अझै भकारीमै हुन्थ्यो । बारीको काट्नयोग्य अन्न र भकारीमा जगेडा अन्नको मूल्याङ्कनका आधारमा परिवारले आउने वर्ष खर्चिने खान्कीको हिसाबकिताब हुन्थ्यो । अर्को वर्षका लागि यतिसम्म चाहिएला भनी अनुमान गरी जगेडा देखिने सम्पत्तिलाई प्रयोग गरिने चाड भएको हुनाले नै तिहारलाई धनलक्ष्मीको चाड भनिएको हो । यही अतिरिक्त बच्ने मूल्याङ्कन गरिएको अन्नपातलाई दुई भाग लगाइन्थ्यो— जुवा तास खेल्ने र देउसी–भैलोमा दान गर्ने । देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । ‘बलि राजाले पठाएको’ भनेको त्यही हो । हामी सानो छँदासम्म काग तिहार र कुकुर तिहारको दिनमा भैली खेल्ने चलन थिएन । अन्तिमका तीन दिनमध्ये तेस्रो दिन भैली खेलिन्थ्यो भने चौथो र पाँचौं दिन देउसी । आजकाल गाउँका सबै घरमा खेल्न नभ्याएपछि तिहारका पाँचै दिनले समेत नपुगेर छैटौँ, सातौँ वा अझै बढी दिनसम्म पनि (सामाजिक कामको लागि आँटिएका) देउसी खेल्ने गरिन्छ । कतिपयले तिहारपछि किन भैलो खेलेको भनेर आलोचना पनि गर्छन् । तर, उहिले त झन् हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो । तिहारका ५ दिनभित्रको भैलीदान अघिल्लो वर्षको अन्नबाट दिइन्थ्यो भने तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

हरिबोधिनी एकादशीलाई फुल तार्ने एकादशी पनि भनिन्छ । फुल तार्नु भनेको खोला तर्न योग्य भयो भनेर निर्क्योल गर्नु हो । हेलिएर तर्नयोग्य नभएको खोलालाई डोरी (अहिलेको तुइनझैँ) को माध्यमबाट तर्न योग्य बनाउनु हो । त्यसपछि खोला तरेर पराई देशमा आक्रमण गर्न जाने साइत आउने भयो ।

तिहारको बेलामा आफ्ना दाजुभाइलाई झट्टै नसड्ने सुख्खा फलफूल, तेलमा तारिएका सेलरोटीलगायतका पोषिला परिकार त्यसै दिइएको होइन । तिहारमा दाजुभाइको पूजा गरेमा उनीहरूको दीर्घायु हुन्छ भन्ने अर्थ यहीँ निहित हुन्छ । दाजुभाइलाई यस्ता मिष्ठान्न उपहार त्यही दिनमै खान भनेर दिइएका होइनन् । भोलि युद्धमा छँदा भाइ भोकै पर्ला भनेर जगेडा राख्न दिइएका हुन् ।

हिउँदभरिको युद्ध सकिएपछि सिपाहीहरू चैतमा घर फर्किन्थे । हार्नेहरू या त मारिन्थे या त दासदासी बनाइन्थे । घर फर्किने भनेको जित्ने सिपाही नै हो । यसरी विजय उल्लासमा घर फर्केको सिपाहीको स्वागतार्थ चैतेदसैं अर्थात् रामनवमी मनाइएको हो । खासमा भन्ने हो भने चैतेदसैं मात्रै विजयादशमी हो । बडादसैँ भनेको युद्ध तयारीको चाड हो ।

तेस्रो प्रसंग नेपालका पहाडमा हिन्दुहरूले मनाउने चाडबाड किन भारत वा अन्य ठाउँका हिन्दुहरूले मनाउने चाडभन्दा फरक भए वा फरक तरिकाले मनाइए भन्नेबारेमा छ ।

नेपालका धेरै इतिहासकार र संस्कृतिविद्हरूले चाडबाड, मेला, जात्रा आदिलाई कुनै अमुक राजाले चलाएको चलनका रूपमा व्याख्या गर्छन् । जनश्रुति पनि त्यसरी नै बनेका वा बनाइएका हुन्छन् । यो हास्यास्पद र अल्छे व्याख्या हो, जसका लागि कुनै अनुसन्धानको आवश्यकतै पर्दैन । सयौँ वा हजारौँ वर्षदेखि चलेका यस्ता चाडबाड–जात्रा–पर्वहरू कुनै सानो देशको एउटा शासकको उर्दीका भरमा चलेका हुन् भन्ने कुरामा कम्तीमा म त विश्वास गर्दिनँ । चल्थ्यो भने आफूलाई सर्वशक्तिमान् सम्झने संसारका हरेका शासकले त्यसो गर्दा हुन् । हाम्रा प्रधानमन्त्री केपी ओली त झन् आफ्नो नामको जात्रा चलाउन उहिल्यै कम्मर कस्दा हुन् ।

कुनै राजाले दिएको उर्दीका भरमा त्यो देश मात्रै नभएर सारा छिमेकी (सम्भवतः शत्रु) मुलुकभर कुनै चाड मनाउने चलन चल्यो भन्नु कदाचित वैज्ञानिक व्याख्या होइन । त्यस्तो हुन्थ्यो भने शासकले चलाउने यस्ता चलन शासकको राजनीतिक सीमाबाहिरका क्षेत्रमा पनि किन स्थापित हुन्थ्यो ? हामीले चाडबाडहरूको उत्पत्ति र विकासका बारेमा नयाँ वैज्ञानिक विधिबाट सोच्ने सकेनौँ भने यो गल्ती गरिरहनेछौँ । मलाई के लाग्छ भने यस्ता सांस्कृतिक सम्पदाको सामाजिक, आर्थिक, लैङ्गिक, मानवशास्त्रीय व्याख्या हुनु जरुरी छ । अझ जरुरी छ त्यस्ता सम्पदा चलनकै रूपमा स्थापित गरिन आवश्यक ठानिनुको भौगोलिक र प्राकृतिक कारण खोज्न ।

मैले पहिलो प्रसंगमा हिमाल, पहाड र तपाईंका नाचको ताल–चाल–ढालमाथि प्राकृतिक व्याख्या यसैले गरेको हुँ ।

चाडबाड मनाउन चाहिने यस्तै भौगोलिक र प्राकृतिक कारणले गर्दा नै एउटै धर्मका एउटै चाड पनि सबै ठाउँमा मनाइँदैनन् । कम्तीमा उही तरिका र अर्थले मनाइँदैनन् । मुम्बईमा ‘दिवाली’ का दिन एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ‘ह्याप्पी दिवाली’ भन्दै प्रेम प्रस्ताव राख्न सक्छ । तर, के हामीले ‘तिहारको शुभकामना’ भनेर आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेमपत्र थमाउन सक्छौं त ? यस्तो फरक कसरी भयो त ?

किनभने हाम्रा सांस्कृतिक पर्वले धर्म अर्थात् मिथक (कथा) को आडेस लागेको मात्रै हो । खासमा संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो (किनकि संस्कृतिको निर्धारण प्रकृतिले गरेको हुन्छ ।)

जंगली खाद्यान्नले नपुगेपछि, जंगली जनावरको सिकारले नधानेपछि कृषि संस्कृति सुरु भयो । यसरी संस्कृतिका अनेकन आयाम बने । भाषा, वेशभूषा, आहार, निवास, जीवनशैली, कला, गीत, संगीत, नृत्य, साहित्य, धर्म, चाडबाड, जात्रा, मेला, पर्व... ।

हिन्दुइतरका नेपालका पहाडी जनजातिहरू कृषि संस्कृतिका उपकास हुन् । उनीहरूका चाडबाड, पर्व, जात्रा, मेला, गीत–संगीत, नृत्य आदि सबै कृषिसापेक्ष उत्सव हुन् । कृषि उत्पादनमा फरक पार्ने ऋतु परिवर्तन, मौसम, वर्षा, खडेरी आदिको प्रभावका आधारमा उनीहरूका धार्मिक विश्वास र अन्धविश्वासको निर्माण भएको छ । जीवनशैली बनेको छ ।

तर हिन्दुहरूको संस्कृति युद्ध संस्कृति हो । हिन्दुका सबै चाडबाडहरू मनाउन पर्नुका कारण स्वरूप सदैव एउटा युद्ध, लडाइँ वा संग्रामको पृष्ठमूमि छ । राम, कृष्ण, वामनलगायत विष्णुका अनेक अवतार, महादेव वा दुर्गा आदिले जितेका लडाइँको स्मृतिमा हिन्दुका चाडबाडहरू मनाइएका छन् ।

नेपालका खसहरूको हिन्दुकरण भएपछि (यसो भन्नेहरू पनि भएकाले) होस् अथवा नेपालमा हिन्दुहरूको प्रवेश भएपछि होस् (यसो भन्नेहरू पनि भएकाले) वा नेपालमा हिन्दु र प्रकृतिपूजक गैरहिन्दुले एकैसाथ बास बसेपछि (यसो भन्नेहरू पनि हुन सक्ने भएकाले) युद्ध संस्कृतिका उपासक हिन्दुहरूको घुलमिल यहाँका आदिवासी प्रकृतिपूजकहरूसँग भयो । युद्ध संस्कृति र कृषि संस्कृतिको अन्तरद्वन्द्व, संवाद र सहमतिका आधारमा नेपाली पहाडमा नयाँ संस्कृतिको निर्माण भएको हो । किनकि प्रकृतिलाई अपहेलना गर्ने हिम्मत कसैलाई हुँदैन । यहाँका हिन्दुका चाडबाडहरू आदिवासीका प्राकृतिक चाडबाडसँग मिसिए, घुले । यसरी घुल्दा दुवैतर्फ केही नयाँ चाडबाड निस्किए वा भनौँ चाडबाड मनाउने नयाँ तरिका निस्किए । नभए भारतीय हिन्दुले ‘दिवाली’ मा नखेल्ने भैलो नेपाली हिन्दुले किन खेल्थे ? दसैँमा अक्षता र जमरा किन लगाउँथे ? गोठ र खर्कपूजा किन चल्थ्यो ? लुतो किन फालिन्थ्यो ? धानको पहिलो पुला हिमाललाई किन चढ्थ्यो ? गाउँको पुछारमा झाँक्रीको थान किन बसालिन्थ्यो ? हरेलो किन हालिन्थ्यो ? साउने–पुसे–माघे संक्रान्ति, असार १५, किन मनाइन्थ्यो ?

जसरी नेपालका गैरहिन्दु प्रकृतिपूजकमाथि हिन्दु धर्मको प्रभाव पर्‍यो, उसै गरी यहाँका हिन्दुमा प्रकृति पूजकहरूको पनि प्रभाव परेको छ । नेपालका (त्यसमा पनि पहाडी) हिन्दुहरू प्रकृतिपूजक हिन्दु भएका छन् । प्रकृतिपूजकहरू भने हिन्दु प्रकृतिपूजक भएका छन् । यसको अनुपात र विस्तृतिमा भने अवश्य फरक छ । यहाँ यतिखेर संस्कृतिलाई धर्मसँग जोड्ने शासकीय यत्न, हिन्दु धार्मिक शासकहरूको ऐतिहासिक वर्चस्व र तिनले लादेको धार्मिक एकलौटीपनका कारणले हाम्रो सांस्कृतिक अन्तरघुलनमा परेको/पारिएको अप्राकृतिक प्रभाव र त्यसले जन्माएको अल्पसंख्यक जातिको सांस्कृतिक र धार्मिक पहिचानमाथिको अपमानको जालोलाई बिर्सनु भने अवश्य हुँदैन ।

त्यसो त अहिले संस्कृति कम विकृति ज्यादा चल्तीमा छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ०९:४५प्रकाशन : कान्तिपुर


Sunday, November 8, 2020

कमरेड विकल्पको अन्तिम पत्र

कमरेड विकल्पको अन्तिम पत्र

लेखक — विकल्प

म आफैं जन्मेको हुँ: रोशन [वार्ता-कथा ]





मेरा तीन जना मानस–सन्तान छन् । मैले मनमनै जन्माएका । दुई पुत्र, एक पुत्री । जसमध्ये एउटा हो रोशन । हरेक बिहान निद्राबाट ब्यूँझेपछि म मेरा मानस–सन्तानहरूलाई दुई घण्टा जति समय दिन्छु । बेलुका सुत्नुअघि एक घण्टा । यसरी दिनको करिबन तीन घण्टा म उनीहरूसँग हुन्छु । कहिले हामी सँगसँगै गीत सुन्छौं । कहिले सिनेमा हेर्छौं । कहिले शहरका पातला कला प्रदर्शनीमा छिर्छौं । कहिले बाक्ला थियटरतिर बरालिन्छौं ।

कहिले उच्चाल पहाडतिर हाइकिङ जान्छौं । केही नभएघरकै कोठामा चर्को चर्को गरी नृत्य–संगीत बजाएर झुमिन्छौं ।
यसरी हरेक दिनको तनलाई निद्राले छोडेको तर मनलाई नछोडेको बिहानको सरदर दुई घण्टा र तन मन दुइटैले निद्राभोग गर्न नसकेको साँझको एक घण्टा म मानस–सन्तानसँग मानस–जिन्दगी बाँच्छु ।

चन्द्रमा मनसो जात... !
बाँकी दुई जनाको कुरा पछि गरौंला । कुनै संस्मरण वा कथामा । अहिले म मेरो कान्छो मानस–पुत्र रोशनका बारेमा कुरा गर्छु ।

रोशन जन्मिंदै सात वर्षको भएर जन्मेको थियो । त्यसैले जन्मनेबित्तिकै मैले उसलाई स्थानीय अमरसिंह माध्यमिक विद्यालयको कक्षा–१ मा भर्ना गरिदिएको थिएँ । ऊ नियमित स्कूल त जान्थ्यो, पठनपाठनमा मिहिनेत पनि निकै गर्थ्यो तर खै किन हो उसको दिमागमा पढेको कुरा घुस्तै घुस्तैनथ्यो । साह्रै लद्दु भएर निस्कियो ऊ । खेलकुदमा पनि उसलाई खास रुचि थिएन । कुनै चित्र बनाउने, कविता लेख्ने, अभिनय गर्ने वा यस्तै कुनै सिर्जनात्मक गतिविधिमा पनि उसको रुचि वा सामर्थ्य देखिएन ।
उता वेदव्यास जन्मिने बित्तिकै मातापितालाई देशना दिएर जंगल हिंडेका थिए भनेर आफ्ना जैविक बाजेबाट सुन्दै हुर्केको मलाई जन्मँदै सात वर्षको लाठे भएको आफ्नो मानस–पुत्रको दिमाग देख्दा साह्रै दिक्दार लाग्थ्यो ।

रोशन जन्मेको बखत मलाई पनि रहर लागेको थियो, ऊ टुकुर टुकुर हिंड्दै मेरो नजिकै आओस् । मलाई धर्म, विज्ञान, इतिहास, न्याय आदिका बारेमा अविच्छिन्न प्रवचन देओस् । म ऊसँग तर्क गर्नै नसक्ने भएर शब्दको बुइँगलमा पछारिऊँ । मेरा दुवै हात समातेर उसले मलाई उठाओस् र भनोस् :

'पिताजी, तपाईंले मनमनै भए पनि मलाई जन्माएर असाध्य पुनित काम गर्नुभएको छ । म तपाईंको मानस–पुत्र भएर जन्मेको भए पनि यसरी सधैंभरि तपाईंको मनमा बसेर हुँदैन । दिनका दिन तपाईंसँग मनोगफमा भुलेर हुँदैन । यसो गरेमा मानिसहरूले तपाईंलाई बर्बराउँदै हिंड्ने बौलाहा भन्न पनि बेर लगाउँदैनन् । त्यसैले मलाई तपाईंले आफ्नो मनबाट बिदा दिनुहोस् । म तपाईंको मनोलोकबाट निस्केर सर्वप्रथम ब्रह्माण्डको विचरण गर्न चाहन्छु । त्यसपछि ब्ल्याकहोल जस्तै ब्रह्माण्डकै कुनै अघोर अन्धकारमा ऐकान्तिक तपस्यामा लीन हुन चाहन्छु ।'

तर उसले त्यस्तो भनेन । बुद्धि भए पो भनोस् । १७ वर्षदेखि उसले मेरो दिमाग खाएर बसेको थियो, हरेक बिहान दुई घण्टा । बेलुका एक घण्टा ।

ऊ यतिसम्मको लद्दु थियो कि ७ कक्षा पुग्दासम्म उसलाई पूरै बाह्रखरी समेत आउँदैनथ्यो । अंग्रेजी वर्णमालामा ‘एप्पल’ देखि ‘जेब्रा’सम्म पूरै भन्न सक्दैनथ्यो । कहिले ‘एच’को ‘हेन’मा अड्किन्थ्यो । कहिले ‘आइ’को ‘इन्क’मा । गणितको त झन् कुरै नगरे हुन्छ । भन्थ्यो, ‘बाबा, मलाई हिसाब देखेपछि पिसाब आउँछ । सूत्र घोक्दा घोक्दा मूत्रले सताउँछ ।’
उसको एउटै कुरा ठीक थियो । मान्छे इमानदार थियो । मेरो पैसा चोर्दैनथ्यो । किचकिच गर्दैनथ्यो । भनेको मान्थ्यो । त्यसो त मानस–सन्तानहरू पैसा चोर्न वा पैतृक सम्पत्ति खानका लागि जन्मेका हुँदैनन् ।

त्यही साल हो कि अर्को साल हो, अहिले ठ्याक्कै बिर्सें । उसले स्कूल जान चटक्कै छोडिदियो । छोड्नुअघिको एकदिन उसले मसँग लठारिंदै भन्यो, ‘बाबा, म आजबाट स्कूल जान्नँ । पढेर काम छैन ।’
“अनि के गर्छस् त ? के गरेर खान्छस् ?”, मैले सोधें ।
“म बिजुलीकर्मी हुन्छु । घरको वाइरिङ गर्छु । खम्बामा तार टाँग्छु । एउटा छोटो जिन्दगी बाँच्न धेरै कुरा जान्नु पर्दैन । एउटा मात्रै सीप काफी हुन्छ ।”

छोटो जिन्दगी ? उसले यस्तो शब्दावली कसरी सिक्यो ? कसका लागि सिक्यो ? मेरा लागि अथवा आफ्नै लागि ? के मानस सन्तानको पनि आयु हुन्छ ? के बह्माजीका चार कुमार, नारद, दक्ष, मरिची सबै मरिसके ?
***
यसरी मेरो छोरो बिजुलीकर्मी अर्थात् इलेक्ट्रिसियन बन्यो । खै कसरी हो, रोशनले बिजुलीका रंगीविरंगी तारको जंजाललाई सजिलोसँग उधिन्न सजिलो गरी सिक्यो । मन परेको कुरा सिक्नलाई दिमाग नचाहिने रहेछ ।
पहाडमा छाँगो खस्ता झैं फटाफट दिन बिते । खहरेकै वेगमा महीना सोहोरिए । नदीको रफ्तारमा वर्षहरू ओरालो लागे । अनि अस्ति बिहीबारको दिनदेखि ऊ २४ वर्षको भयो । मैले तन्मयका साथ उसको जन्मोत्सव मनाउने तयारी गरेको थिएँ । ‘२४औं जन्मदिवसको शुभकामना’ देखिएको केक घरमा आइसकेको थियो । उसकी दिदी नर्मदा र दाजु प्रकाशले सम्पूर्ण मानस–गृह सजाएर चिरिच्याट्ट पारेका थिए । उत्सवको उत्कर्ष हुनै लागेको थियो, अचानकसँग बत्ती गयो । मेरो मानस गृहमा चूक अँध्यारो छायो ।
“बर्थ–डे–बोय हुँदैमा त्यसै आराम गर्न कहाँ पाइन्थ्यो !”, मलाई आँखा झिम्क्याउँदै ऊ टुल बक्स बोकेर बाहिर निस्क्यो । बिजुलीको खाँबोमा भर्‌याङ अड्यायो अनि फटाफट माथि चढ्न थाल्यो ।
मैले ‘माथिबाटै बिजुली गएको होला’ भन्ठानेको थिएँ तर छिमेकीका घरहरू पूरै उज्याला थिए । शायद हाम्रो घरमा तार तानेकै बिजुली—खाँबोमा कुनै कैफियत भएर होला । नत्र, रोशन किन माथि चढ्थ्यो र ?
यति सोच्दा कति समय पो लागेको थियो होला र ? तर मैले सोचेर नभ्याउँदै रोशनले सम्पर्कविच्छेद भएका दुई तारलाई जोडिसकेको थियो । बिजुली–खाँबोको टुप्पोमै बसेर उसले मतिर हेर्यो र फिस्स हाँस्यो । मैले पनि हाँसेरै जवाफ दिएँ ।
काम फच्चे गरेर पेन्चिस, स्क्रुड्राइबर वा प्लास कुन्नि के–के समान थन्क्याउँदै थियो, ऊ अचानकसँग बद्रयाम्म भुईंमा पछारियो । म सहयोगको लागि चिच्याउँदै उसको नजिकै पुगें । नर्मदाले ग्यारेजबाट मोटर निकाली हाली ।
रोशनको टाउकोमा अत्यन्त गहिरो चोट थियो । रगतको मूल फुटिरहेको थियो । मैले गलबन्दी फुकालेर घाउ बाँधिदिएँ । बर्थडेका सारा इन्तजाम थन्क्याएर हामीले उसलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय अस्पताल पुर्‍यायौं।
***
सात हप्तापछिको एक बिहान म ३ बजे ब्यूँझें । फेरि निदाउन गरेको प्रयत्न सफल भएन । यत्तिकै ओछ्यानमा पल्टेर के गर्नु ? मैले आफ्ना मानस–पुत्रपुत्रीहरूलाई आह्वान गरें । सबैभन्दा पहिले ज्येष्ठ सुपुत्री नर्मदा सामुन्ने आई र प्रफुल्ल मुद्रामा शुभसमाचार सुनाई — उसको प्रिय कान्छो भाइलाई भर्खरै होश आएको छ ।
पूरै उनन्चास दिनपछि ।
यतिन्जेल पढ्दा तपाईंलाई लागेको हुनुपर्छ — करेन्ट लाग्नु भनेको सामान्य घटना हो । आम मान्छेहरूलाई करेन्ट लाग्छ । बिजुलीको झट्काले धकेलेपछि कति जना भर्‌याङबाट पनि खस्छन् । त्यसमा कति अंगभंग हुन्छन् । कति मर्छन् । कति लामै समय बेहोश भएर कुँजिन्छन् । बिजुलीकर्मीको जिन्दगीमा आउन सक्ने आम दुर्घटना हुन यी । यस्तो विवरण पनि कतै कथा हुन्छ ?
तपाईं पक्कै गलत सोचिरहनुभएको छैन भनेर जो कसैले ठोकुवा गर्न सक्छ । तर मेरो कुरा पनि सुन्नुस् — रोशनको किस्सा कथा हुन योग्य कसरी भयो भने बेहोश हुँदासम्म साह्रै लोद्दर भनिएको बोधे मान्छे ब्यूँझँदा अचानकसँग सर्वज्ञानी भएर निस्केको थियो । उसले नजानेको लगभग कुनै विषय थिएन ।
४९ दिनको बेहोशीमा उसको दिमाग अचानकसँग ज्ञानै ज्ञानले कसरी भरियो ? उसलाई अचानकसँग पढ्दै नपढेको गणित र विज्ञानका कठिन साध्य र सूत्रहरू कसरी खर्लप्पै हुन सके ? कहिल्यै नबोलेका संस्कृत, उर्दू वा ग्रीक भाषा फरर्रैका फरर्रै कसरी आउँदो भयो ?
यस्तो लाग्थ्यो उसले नजानेको कुनै विषय धर्तीमा छँदै छैन ।
उसको बोधो दिमागमा विश्वको सम्पूर्ण ज्ञान कहाँबाट घुस्यो ? बिजुलीको एउटा झड्काले कसरी कुनै व्यक्ति अचानकसँग महाज्ञानी हुनसक्छ ? यो त ठूलो चुनौती भयो विज्ञानलाई । शायद एउटा नयाँ आविष्कारको अवसर पनि । अस्पतालकै अगुवाईमा चिकित्सा वैज्ञानिकहरूको एउटा झुण्डले रोशनलाई लामो अध्ययनको लागि लिएर गए । कता लिएर गए भन्ने सूचना पनि हामीलाई दिइएन ।
४९ दिनपछि बल्ल–बल्ल घर फर्किएको छोरोको संगत फेरि छुट्यो ।
करिबन सात महीनासम्मको अनुगमन र अध्ययनपछि वैज्ञानिक र डाक्टरहरूको निष्कर्ष निस्क्यो । कोरोनाको महामारी भएकोले भर्चुअल पत्रकार सम्मेलनको आयोजना भयो । अध्ययन टोलीका प्रमुख डा. कुन्नि के मुकारुङले अध्ययन पत्रको निष्कर्ष वाचन गरेर सुनाए :
“बिजुलीको झड्काका कारण रोशनको मस्तिष्कभित्रको अनुवांशिक ज्ञान भण्डारण गर्ने कोषिकाहरू अचानकसँग उत्तेजित हुन पुगेका थिए । अनुवांशिक–स्मृति–कोष भनिने यस्ता कोषहरू मात्रै हुने उसको मस्तिष्कभित्रको एक विशेष कक्ष अहिले शतप्रतिशत सक्रिय भएको छ । यसका कारणले ऊ आफ्नो जीवनकालको मात्रै होइन आफ्ना बाबु–हजुरबाबु, आमा–हजुरआमालगायत आफूलाई जन्माएका तमाम पुर्खाहरूको समेत ज्ञान, सीप, अनुभवलाई हुबहु सम्झन सक्ने भएको हो । . . . ”
पत्रकार सम्मेलनमा बाँडिएको अध्ययन–पत्रले संसारलाई एकसाथ हल्लायो । सामाजिक संजालका खाता–खातामा विश्वास, अविश्वास र अन्धविश्वासले भरिएका प्रतिक्रियाहरू आउन थाले । आफ्नो कनिष्ठ मानस–पुत्रको यो प्रख्यातिले मलाई हुनुसम्मको आनन्द दियो ।
गत शुक्रबार अर्थात् अक्टोबर २ तारिखमा मेरो आफ्नै जन्मदिन परेको थियो । वैज्ञानिकहरूको अध्ययन–अपहरणमा परेको छोरोसँगै जन्मदिन मनाउन पाइने भयो भनेर म प्रफुल्ल थिएँ । नभन्दै जन्मदिनको बिहान पनि आइपुग्यो । सधैं चाँडै उठ्ने म, त्यस दिन भने आँखा खोल्दा ७ बजिसकेको थियो । मानस–पुत्रपुत्रीबाट शुभकामना लिनुपर्ला भनेर विचार मात्रै के गरेको थिएँ टेलिफोनको घण्टी बज्यो । एकाबिहानै फोन गर्ने कसैलाई टार्नुहुँदैन । उठाएँ । हिमाल खबरपत्रिकाका मित्र रविन गिरी रहेछन् ।
“स्वामीजी कोरोनाको कारण हाम्रो प्रिन्ट इडिसन त स्थगित नै छ । तथापि यो पटकको दशैं अङ्क निस्कने भयो, शायद अनलाइनमा । यो हाम्रो अन्तिम दशैं अंक पनि हुनसक्छ । मलाई तपाईंको कुनै सामग्री चाहियो । स्वामीजीलाई नछापिकन हामी कसरी ‘हिमाल’ भैरहने ?”
“हो हुन त । थाप्लामा हिउँ भए न हिमाल । हिउँ पग्लिए त पहाड भैगो नि !”, मैले तुलसी दिवसको कुनै कविताको भाव गुथेर भनें, “चाहिएको खास के हो गिरीजी ?”
“पोखरामा एकजना रोशन नामका युवा छन् । उनलाई अचानकसँग अनुवांशिक स्मृति हुन थालेको चर्चा त स्वामीजीले पनि सुन्नुभएकै होला . . .।”
गिरीजीको कुरा सुनेर म झसङ्ग भएँ । मेरो निजी मानस–पुत्रको जानकारी बाँकी संसारलाई कसरी भयो ? भएकै भए पनि किन हुने ? मान्छेको सोचाइलाई, मान्छेको गोपनीयतालाई यसरी भौतिकीकरण गर्न पाइन्छ ? के मान्छेको मनको निजी संसार सार्वजनिक मैदान भैसक्यो ? मेरो मानस–जिन्दगी, मेरो मानस–पुत्र रोशन कसरी दुनियाँगिरीका विषय हुन पुगे ? सम्पूर्ण समाजवादमा पनि संभव नहुने कुरा यहाँ कसरी सावित भैदियो ?
“हजुर के भन्नुभयो रे गिरीजी ?”, रविन गिरी बोल्दै गरेको आवाज अझै पनि स्पिकरमा आइरहेको हेक्का भएपछि मैले अक्मकिंदै सोधें । म आफ्नै सुरमा सोचमग्न भएकोले उनले यसबीचमा अरू के–के भनेका थिए, मैले सुन्दै सुनेको थिइनँ ।
“ती भाइसँग एउटा अन्तर्वार्ता गर्नु प‌‌‌‌‌र्‌‌‌यो भनेर भनेको नि ! तपाईंले । मैले सुनेको छु, ती भाइलाई आफू एक कोषीय जीव भएर पृथ्वीमा पहिलोपटक उत्पत्ति हुँदादेखिको सम्झना छ रे ! तपाईं ‘जिनेटिक मेमोरी’ त बुझ्नुहुन्छ नि स्वामीजी ?”
“ज्यू ज्यू, बुझ्छु अलिअलि । आफ्ना पुर्खाहरूको ज्ञान, सीप वा अनुभव जीनमार्फत सन्तानमा सर्ने प्रक्रिया होइन त गिरीजी ?”
“हजुर त्यस्तै । ती रोशन भाइसँग एउटा बिशेष अन्तरर्वार्ता लिनुप¥यो । स्वामीजी आफैँले ।”
“त्यो त ठिक छ, गरुँला । तर ती युवकलाई म कसरी भेट्न सक्छु त ? उनको कुनै सम्पर्क छ ?”, मैले डराई डराई सोधेँ । कतै गिरीजीले ‘ऊ त तपाईँकै मानस सन्तान हो । थाह नपाएको स्वाङ पारेर मलाई उल्लु बनाउन खोज्ने ?’ भनेर झपार्छन् कि भन्ने डर आफैँ आफैँ गहिरो भएर आयो ।
तर उनले त्यसो भनेनन्, “रोशनको बाँकि डिटेल स्वामीजीको इन्बक्समा आइसकेको होला । उनी माथिको ‘रिसर्च पेपर’ पनि पठाइदिएको छु । उनी पोखराको मझेरी–पाटनस्थित लामे पोखरीको नजिकै बस्छन् । उनको आफ्नै मोबाइल नम्बर रहेनछ । तर उनकी दिदीको भने छ, टिप्नुस त ।”
“भन्नुस् !”, म प्रतीक्षारत भएँ ।
“९—८—१—६—६—८—७—७—१—३ ।”, उनले एक एक अंक गर्दै १० वटा अंक वाचे ।
अंक टिपेर सकेपछि म फेरि झस्केँ । यो त त्यही नम्बर थियो जसबाट मेरो एकजना दिवंगत मानस–पुत्र जोस्मणिलाई रहस्मयी तर प्रेमिल म्यासेज आउने गथ्र्यो । त्यो पनि तारन्तार । उसको नायकत्वमा लेखिएको यात्रोपन्यास ‘पैताला’मा मैले यसका रमाइला प्रसंग टिपोट गरिगरी पढेको थिएँ ।
त्यही नम्बर हो कि होइन भन्ने थाह पाउन मैले हतार हतार मोबाइलको ‘कन्ट्याक्ट लिष्ट’ चहारेँ । नभन्दै ‘मिस्टिक लेडी’को नाममा त्यो ‘सेभ’ भएको रहेछ ।
फोन नम्बर ठ्याक्कै मिलेको थाह पाएपछि मलाई भाउन्ना छुट्यो । केही बेर घाइते माहुरी झैँ भुन्भुनिएँ । यस्तो कसरी हुनसक्छ ? मेरी मानस–पुत्री नर्मदा कसरी त्यो रहस्मयी स्त्री हुनसक्छे ? मेरा पुत्र–पुत्रीहरू कसरी एक आपसमा प्रेम गर्न सक्छन् ? यसरी आफ्नै सन्तानहरू बिचमा हातनाता सम्बन्ध हुन थाल्यो भने मान्छे–जातको अनुबांशिक सामथ्र्य पुरै खस्केर जानेछ । सोचेर म बिसारै चिन्तित भएँ । आफ्नो सोचाईको वाक्यभित्र पसेको ‘अनुबांशिक’ शब्दले मलाई पुन गिरीजीसँग कुराकानी भैरहेको सम्झना भयो । सोचाईबाट सम्हालिँदै मैले उनलाई भनेँ, “हस् म केही न केही अवश्य गर्छु ।”
***
रोशनलाई भेट्न भनी भोलिपल्ट बिहानै म मझेरी पाटन हानिएँ । पोखरा भनेकै पाटन, चौर र खर्कहरूको सहर हो । मझेरी पाटन पोखराको सबैभन्दा पुरानोमध्येको एक मानव बस्ती हो भन्ने पनि मलाई थाह थियो । पोखराकै बासिन्दा भएर पनि म पहिलो पटक मझेरी पाटन जाँदै थिएँ । त्यो पनि आफ्नै मानस–पुत्रलाई भेट्न । उसको अन्तरवार्ता लिन । 
प्राप्त नक्शाको ‘जिपिएस’लाई पछ्याउँदै म रोशनको निवास पुगेँ । तर गिरीजीले भनेकोजस्तो छेउछाउमा कुनै लामे पोखरी देखिएन । बरु घरको छेउमा एउटा विकासे पार्क थियो जसलाई पूर्णतया झाडीले कब्जा जमाएको थियो । ‘पोखरी पुरेर पार्क बनाएछन् ।’, सोचेर खिन्न भएँ । तर अर्काको घरछिर्नु अघि खिन्न हुुनु हुँदैन भनेर खिन्नतालाई दबाएँ ।
अर्काको गृहपरिधिमा सवारी बोकेर के छिर्नु ? साइकललाई घर बाहिरको बिजुलीको खम्बामा चाबीले बाँधे । त्यो त्यही खम्बा थियो जसबाट ऊ बिजुलीको झट्का खाएर भुईँमा बजारिएको थियो ।
तगारोको गरालाबिचबाट ज्यान छिराएर म उसको घरको परिधिभित्र दाखिला भएँ । रोशन आँगनमा घाम ताप्दै आगन्तुक माहुरीहरूलाई चास्नी हालिरहेको थियो । हरेक बिहान माहुरीलाई चास्नी–भोज दिने उसको बाल्यकालिन शोख रहेछ । आफ्नै मानस पुत्र भए पनि मलाई उसको यो बानीको बारेमा कल्पना समेत थिएन ।
पाठकवृन्द, 
मलाई लाग्दैन अरु कुनै थप भूमिका यहाँ राख्नु पर्छ । अब म तपाईँलाई सोझै रोशन र म बीचकमा भएको कथित अन्तर्वातामा प्रवेश गराउँछु । पढेर प्रतिक्रिया दिनुहोला । 

अनुवाद किन ?

मेरा असली मित्र छन् । एक साधु पत्रकार । उनले मलाई उर्दी गरी पठाएका प्रश्नका उत्तर हुन् यी । यो अन्तरवार्ता होइन । 




महाराजजी,

प्रश्नको उत्तर भरेसम्म पाम है । अनुवादबारे केही लेख्दैछु ।


यो अनुवाद किन गर्या हो ? केले प्रभावित गर्यो ?

मैले किशोरवयमा पढेका थोरै किताबमध्ये हो यो, त्यसैले आत्मैसँग बसेको थियो । पूँजीवादी समाजमा टुसाउने सपनाको अंकुरण त्यसको त्रासदिका छेकलमा बुनिएको मित्रताको कथा छ यसमा । कृषि मजदुरको कथा भएकोले पनि मलाई छोएको होला । बस्तुपरक कथावाचन शैली पनि गजबको छ । 

एक दिन पोखराको पढक्कु युवा समुह ह्वाट द बुक क्लबले यो किताबको बारेमा बोलिदिन निम्तो गरेपछि उपन्यास नै अनुवाद गर्ने हुटहुटी भयो । अमेरिकाका स्कुले विद्यार्थीका बिचमा अत्यधिक पढिने किताब हो यो । (तथापि अमेरिकाका धेरै विद्यालयमा अझै पनि प्रतिबन्धित छ यो किताब ) । 

अनुवाद किन चाहिन्छ ?

जापानका हारुकी मुराकामी हुन कि ब्राजिलका पाउलो कोहेलो, कोरियाका हाङ काङ हुन कि रसियाका तोल्सतोय मैले उनीहरूलाई पढेको अंग्रेजीमा हो । अनुवाद हुँदनथ्यो भने मैले छिमेका रविन्द्रनाथ ठाकुरलाई पनि नचिन्दो हुँ । गीता, महाभारत वा रामायण पनि नकुथ्दो हुँ । 

किनकी साहित्य लेख्न भाषा चाहिन्छ तर साहित्यको कुनै भाषा हुँदैन । अनुवाद जरुरी छ । सौन्दर्य त भाषातित हुन्छ नि । विचार भाषातित हुन्छ । कला भाषातित हुन्छ । भाषा त बरा थैली मात्रै हो । खजाना त थैली भित्र पो हुन्छ त ।

किनकी संसारमा अनेकन भाषा बोलिन्छन् र सबै भाषाको ज्ञाता हुन एक जुनी काफि हुँदैन, अनुवाद जरुरी छ ।

पहिलो अनुवाद हो या थुप्रै अनुवाद गरिसकिया छ ? 

बिहान दैनिक ३ घण्टा नियमित लेख्ने बानी छ । तर आफ्नो सिर्जनात्मक लेखन नफुर्दाको बेला मन चोरेका रचनालाई अनुवाद गर्ने गर्छु । मैले प्रायः कविता र छोटा कथा मात्रै अनुवाद गर्थेँ । लामो रचना अनुवाद गरेको भने पहिलो पटक हो । 

राम्रा लेखकले अनुवादमा हात हाल्नुमा जोखिम छ कि प्लस प्वाइन्ट ? 

दुबै छैन । यो एउटा सात्विक समाजसेवा (साहित्य सेवा) हो । पैसा पनि आउने समाजसेवा भन्दा अझ आनन्द होला । 

त्यसो त अनुवाद पनि यौटा सिर्जनात्मक अभ्यास हो । अनुवाद गर्दाका बखत थाह हुन्छ, कतिपय यस्ता शब्द र प्रसंग आउँछन् जसलाई अुनवाद गरिसाध्य नै हुँदैन । हरेक भाषामा आ–आफ्ना सवलता र सीमितता हुन्छन् । यस्ता प्रसंग आउँदा तपाईँले सबै कुरा बुझ्नुभएको हुन्छ तर त्यसलाई व्यक्त गर्न सक्नुहुन्न । आफूले बुझेर पनि अरुलाई बुझाउन नसकिने त्यो अनुभूति दिव्य हुन्छ, आध्यात्मिक पाराको हुन्छ । त्यसलाई छिचोल्दा मलाई निर्वाणै पाएजस्तो हुन्छ । 

अनुवाद गर्दा मलाई आफ्नो मातृ–भाषिक अल्पज्ञानको वोध हुन्छ । भाषिक सीमितताको त्यो अनुभूतिले म निक्कै खिन्न पनि हुन्छु । मलाई त्यो खिन्नता पनि मन पर्छ ।

अंग्रेजी भाषाबाट नेपालीमा आएका अनुवाद कस्ता छन् ? तिनको स्तर कस्तो छ ? ती कृतिमाथि कत्तिको न्याय भएको छ ? पाठक कत्तिको लाभान्वित हुने स्थिति छ ? 

मैले अँग्रेजीबाट नेपालीमा अनुवाद गरिएका धेरै किताब पढेको छैन । (अँग्रेजीमै पढ्ने हुनाले) । पढेका मध्येमा, अनुवादक अनुसारले कुनै निक्कै सुन्दर छन् कुनै काम चलाउ । कतिपय किताबमा गुगलले गरेकोजस्तो हास्यास्पद अनुवाद पनि भेटिन्छ । तै पनि त्यसलाई अन्यथा लिनु छैन । केही नहुनुभन्दा भएकै बेस होला नि ! पाठकले लाभान्वित भैदिदाँ हुन्छ ।

Saturday, October 17, 2020

'मुसा मानुष' : अनुसिर्जनात्मक अनुभूति

जोन स्टेबेकको यो उपन्यास ‘अफ् माइस एन्ड मेन’लाई सन् १९९६ को कुनै गर्मी महिनामा पढेको थिएँ मैले, पिएन क्याम्पसभित्रको क्षेत्रीय पुस्तकालयमा । प्राध्यापकले सूचना समेत नदिइकन कक्षा हापिँदिँदा होस् या राजनीतिक दलका विद्यार्थी संगठनले कक्षा भित्र पसेर ‘आज पढाई नहुने’ सूचना दिएपछि होस्, जगेडा बचेको मेरो समय प्रायः पुस्तकालयमा बित्थ्यो । यस्तै कुनै करकापले प्राप्त समयको एक बसाईमा सकेको थिएँ स्टेनबेकको यो मायालु पुस्तिका । तिनताका मैले अमेरिकी शास्त्रीय आख्यानका केही उत्कृष्ट किताब पढ्ने मौका पाएको थिएँ । एफ. स्कट फिट्जराल्डको ‘द ग्रेट ग्याट्स्बी’, जेडी स्यान्जिरको ‘द क्याचर इन द राय’,  केन केसीको ‘वन फ्ल्यू ओभर द कुक्कुज नेस्ट’, मार्क ट्वेनको ‘एडभेन्चर अफ् हकलबेरी फिन’, विलियम गोल्डिङको ‘लर्ड अफ् फ्लाइज’ आदि जस्ता आख्यानले मेरो किशोरवयका क्याम्पसी दिनलाई निरास–निरास, उदास–उदास हुनबाट जोगाएका थिए । तीमध्ये पनि अमेरिकी सपनाको सतहमा कोरिएका दुइ किताबले मलाई आनन्दित गरेका थिए ः ‘द ग्रेट ग्याट्स्बी’ र ‘अफ् माइस एन्ड मेन’ । ‘द ग्रेट ग्याट्स्बी’ले महामन्दी ठीक अगाडिको समयमा अमेरिकी समाजले देखाउने सपनाको उन्माद र तुजुकलाई देखाउँछ भने ‘अफ् माइस एन्ड मेन’ले महामन्दीको चेपमा दापिएको सपना–विघटनको कारुणता । 

तिनताका मलाई लाग्थ्यो कुनै दिन मैले यी किताबहरुको नेपालीमा अनुवाद गर्नेछु र मजस्तै तमाम नेपालीभाषि किशोरहरुलाई उमेरजन्य उन्मादबाट जोगाएर विरेचित आनन्द दिनेछु ।

कसैलाई ‘जोगाउने’जस्तो बोझिलो भ्रम उमेरसँगै मेटिँदै गयो । जोगाउने धोको जोगिने वाध्यतामा परिणत भयो । उपन्यासलाई अनुवाद गर्ने मेरो किशोरकालीन रहर बिस्तारै बिर्सिइदैँ गयो । यसरी कैयन बर्ष कटे । सिनेमाको एक झिल्को सिन फेरिएजस्तो गरिकन झिलिक्कसँग सकिए २ दशक । यतिका बर्षपछि अचानक एकदिन पोखरामा क्रियाशिल युवाहरूको पढक्कु समूह ‘ह्वाट द बुक क्लब’ले यसका बारेमा बोलिदिन मलाई निम्तो पो ग¥यो ! अनि मैले उपन्यासलाई फेरि पढेँ । दोस्रो पटक पढ्दा मलाई किशोरकालीन पठनको पूर्वस्मरणले यति गाँज्यो कि किताब बोकेर म पिएन क्याम्पस भित्रै छिरैँ र पुस्तकालयको त्यही कुनो (संभवत त्यही टेबल पनि) मा बसेर पढेको पढ्यैँ गरेँ । दिनभरीमा पाना फड्की फड्की कति पटक पढेँ, पढेँ । र, त्यही दिन घर फर्केर मैले पहिलो पृष्ठको अनुवाद गरेँ । त्यसउप्रान्त आफ्नै सिर्जनात्मक लेखन नफुर्दाको हरेक बिहान मैले यसका केही न केही पृष्ठलाई अनुवाद गरिरहेँ । यसरी पुरै अनुवाद सक्न मलाई पुरै २ बर्ष पो लाग्यो । अनुवाद सक्नेबित्तिकै त्यसलाई पुनर्लेखन त परै जाओस् पुनर्पठन समेत नगरिकन प्रकाशक भूपेन्द्र खड्कालाई पठाएपछि अन्ततः यो किताब तपाईँको हातमा छ । लामो समय लगाएर अनुवाद गरेको हुनाले यसको अनुसिर्जनात्मक लय तलमाथि परेको हुनुपर्छ भन्ने मलाई अनुमान छ । नभएको पनि हुनसक्छ । लय उछिट्टिएकै भए यसपटक मिलाएर पढ्नुहोला, ठाउँ हेरेर पछिल्ला संस्करणमा सच्याउँदै जाउँला ।

‘अफ् माइस एन्ड मेन’ अमेरिकी शास्त्रीय उपन्यासको अब्बल नमूना हो । १९३० को महामन्दी पछिको समयको नैराश्यका बीचमा यदाकदा टुसाउने ‘अमेरिकी सपना’को मुना र त्यसको तिब्रताको फेहरिस्त हो यो उपन्यास । त्यसो त ‘सपना’ अमेरिकी समाज र संस्कृतिको मात्रै पेवा होइन । जहाँ कहिँको नागरिक होस्, मान्छेको जात सपना देख्न अभिसप्त छ । सपनाको तारो (ओरियन्टेशन) फरक हुनसक्ला तर सपनाको अंकुरण, त्यसको विस्तृति अनि अचानकसँग हुने त्यसको विखण्डिकरण हरेक पुँजीवादी समाजका आम नागरिकको साझा नियति हो ।

‘¥यान्च‘ भनिने अमेरिकी कृषि फारममा काम गर्न गएका दुई पात्रहरु लेनी स्मल र जर्ज मिल्टनको अविचलित मित्रता, तिनको साझा सपना, तिनका सपनामा जोडिन आएका अरु कामदार र सपना प्राप्तिको संघर्षमा असंलग्न तर अफ्ट्यारो बनेर उभिएका अनेकन चरित्रहरूको मिहिन चित्रणले यो उपन्यासलाई चलायमान बनाएका छन् । लेनी शरीरले बयष्क छ तर बुद्धिले बालक । उसलाई आफ्नै हत्केलामा लुकेको तागत र त्यसले अरुलाई पार्नसक्ने क्षतिको रत्तिभर आभाष हुँदैन । पूर्ण मानसिक विकास नभएको त्यो अजंगको लाठेप्रतिको सानो कदकाठीँको तर चतुर बुद्धीको जर्ज मिल्टनले देखाउने निशर्त प्रेम र अभिभावकत्वले हाम्रो हृदयलाई छताछुल्ल छामेर जान्छ । अन्तिम अध्यायको फेरमा मित्रतालाई दिइने बलिदानको कठोर संगठना यो उपन्यासको सर्वाधिक कठिन प्रसंग हो जसले हाम्रो आँखालाई सधैँको लागि भिजाइरहन्छ ।

लम्बेतान विवरण र व्याख्याले होइन घटना र संवादकै माध्यमबाट पात्रहरुको बुनोट र चरित्रको मिहिन पोट्रेट बनाउन सक्ने स्टेनबेक आख्यान लेखनमा बस्तुवादी कथावाचन शैली भित्र्याउने साहित्यीक अन्वेशक हुन् । ‘अफ् माइस एन्ड मेन’को यही शैलीको कथावाचनका खातिर पनि उनलाई धेरैले तारिफ गर्छन् । भनिन्छ यो उपन्यासको प्रकाशनकै कारणले सिनेमा लेखनले नयाँ गोरेटो पाएको थियो । ‘वस्तुपरक कथावाचन’ भनिने यो शैलीमा भौतिक विवरण, घटना र संवादबाट चरित्रको निर्माण गरिन्छ न कि पात्रको व्याख्याबाट । कथा वाचनको यही प्रयोगका कारण यस उपन्यासका हरेक पात्र हाम्रो मस्तिष्कमा गहिरो छापसहित स्थापित हुन्छन् । उपन्यासमा त्यस्ता कुनै पात्र छैनन् जसलाई पढेपछि पाठकले बिर्सियोस् । हरेक पात्रको सम्झना लामो समयसम्म रहिरहन्छ । मुल चरित्र लेनी र जर्ज मात्रै होइनन् साधारण भूमिकामा आउने पात्रहरु समेतको हेक्का हामीलाई भैरहन्छ । एउटा हात ठुन्किएको बुढो क्यान्डी, कहिले जोरी खोज्दै त कहिले हराएकी जोई खोज्दै हिँड्ने साहुपुत्र कर्ली, उपन्यासमा नामै समेत नदिइएकी स्वतन्त्र जीवनको खोजमा भौँतारिइरहने कर्लीकी चञ्चले श्रीमती, कालो जातीको भएकै कारणले कामदार गृहबाट पर्तिर एकलो बसेरा गर्ने क्रुक्स, ‘¥यान्च’को राजकुमार भनिने स्लिम, क्यान्डीले प्रेमपूर्वक पालेको रोगाहा कुकुरलाई गोली ठोक्ने काल्र्सन मात्रै होइनन् एक पटक मात्रै प्रसंगका आउने कृषि फारमको साहु, लेनीकी काकी क्लारा अनि बजारकी वेश्या समेतको चरित्र हरेक पाठकको आँखामा सचित्र नाच्छ । मानवीय वयवान्की र प्रवृत्ति दुवैलाई एकसाथ चरित्रमा घुसाउन सक्ने स्टेनबेकको बस्तुपरक कथावाचन कला साँच्चिकै लोभलाग्दो लाग्छ । विषयपरक वा भनौँ आत्मपरक कथावाचनबाट आजित भएको नेपाली आख्यान लेखनका लागि यो उपन्यास प्रेरणा हुनसक्छ । 

जोन स्टेनबेकले कतै भनेका छन्, यो कथा वास्तविक जीवनका पात्रहरूबाट बुनिएको हो तर बास्तविक कथामा लेनीको हातबाट भुलबस हत्या भएकी पात्र स्त्री नभएर पुरुष थियो । तीसको दशकको महामन्दीका बेला लेखक आफैँले पनि लामो समयसम्म सहरदेखि निक्कै परको ‘¥यान्च हाउस’मा कृषि श्रमिक भएर काम गरेका थिए । जीवनको नितान्त नीजि अनुभवलाई समेत यसरी गैरवैयक्तिक वान्कीका उतार्ने कला कसैले सिकोस् त स्टेनबेकसँग सिकोस् ! यसैका कारणले पनि ‘अफ् माइस एन्ड मेन’लाई महामन्दीपछिको समाजको चित्रण, तात्कालिन जनजिब्रोको भाषाको जीवन्त प्रयोग आदिका हिसाबले सर्वाधिक सफल कृतिमध्ये एक मानिन्छ । बिशेष गरी सो समयमा विद्यमान जातीय र लैङ्गिक विभेदको असामाजिक व्यवहार र त्यसलाई नमान्ने वा बेवास्ता गर्ने उपन्यासका मुल पात्रहरुको प्रगतिशील चरित्रका कारणले पनि यो उपन्यासलाई धेरैले स्मरण गर्दछन् ।

जोन स्टेनबेकले यो उपन्यासको शीर्षक प्रख्यात स्कटिस कवि रोवर्ट बन्र्सले सन् १७८५ मा लेखेको कविता ‘टु अ माउस’ (मुसालाई) बाट लिएका हुन् । यो कवितामा एउटा पङ्ति छ ः बेस्ट–लेइड स्किम्स अफ् माइस एण्ड मेन, अफ्टन गो अःवरी (‘मुसा र मान्छेले सजाउने सुठगित सपना प्रायः सखाप हुन्छन् ।) खेतमा हलो जोतिरहँदा फालीले उधिनिएको मुसोको गुँड देखेर भावुक भएका कवि रोवर्ट बन्र्सले रचेको यो कविताबाट शीर्षक सापटी लिनुभन्दा पहिले स्टेनबेकले यो कथाको लेख्दै गर्दाको शीर्षक (वर्किङ टाइटल) ‘समथिङ द्याट ह्यापेन्ड’ अर्थात ‘त्यो एक परिघटना’ राखेका थिए । ‘त्यो एक परिघटना’ एउटा शुष्क र सन्दर्भविहिन शीर्षक हुनसक्थ्यो तर रोवर्ट बन्र्सको कविताँशले यो उपन्यासको शास्त्रीय सन्दर्भ र कालातीत सान्दर्भिकतालाई सार्थक पारेको छ । ‘त्यो एक परिघटना’ले एउटा भैपरी हुन आउने अवस्थालाई ईकित गथ्र्यो जसले .मान्छेका सुख र दुःख कर्मले नभई नियतीले बाँधेको हुन्छ भन्ने सन्देश दिनसक्थ्यो । तर यो कथाका पात्रहरूको दुःखान्त नियतीले होइन सामाजिक परिपाठीले पो कोरेको छ त !

नेपालीमा अनुवाद गरिसकेपछि यसको शीर्षक के राख्ने भन्ने बिषयमा निक्कै सोचेँ, सायद यतिविघ्न त मुल शीर्षक राख्नु अघि स्वयम् स्टेनबेकले पनि सोचेनन् होला । प्रारम्भमा मैले यसको शीर्षक हुवहु अनुवाद गरेर ‘मुसा र मान्छे’ नै राखेको थिएँ । तर नेपालीको यो शीर्षकले न रोवर्ट बन्र्सको काव्यिक विरासतलाई यता घिसारेर नेपालमा ल्याउँथ्यो न यो आर्फैँ नयाँ अर्थको आकर्षक शीर्षक हुनसक्थ्यो । अनिर्णयको यही सेरोफेरोमा रोवर्ट बन्र्सकै हाराहारी भावुकताले कोरिएको हाम्रा कवि शिरोमणि लेखनाथ पौडयालको ‘गौँथलीको चिरबिर’ पनि स्मरणमा आएको थियो । त्यही कविताबाट थुतेर ‘चिरिबिरी च्यार्र’लाई पनि केही दिनसम्म शीर्षक राखेर विचार गरिबसेको थिएँ । बन्र्सको कवितामा मुसाको गुँड भत्किएपछिको भावुकता छ, पौडयालको कवितामा चराको गुँड भत्काउन आएको घरधनीमाथि गौँथलीको प्राकृत देशना छ । त्यसो त पूर्व र पश्चिमका कथा–किस्सा उस्तै भए पनि त्यसको तारो (ओरियन्टेशन) फरक थिए र अझै पनि छन् । आफैँ हेर्नुस् न, उता पिता लायस र पुत्र एडिपसको द्वन्द्वमा पुत्रले पिताको हत्या गर्छ । यता पिता यायातीले आफ्नो पाचौँ पुत्र पुरुको पुंषत्व हडप्छ । पिता र पुत्रको अचेतन द्वन्द्व शास्वत भए पनि द्वन्द्वको सुई कताबाट कता सोझिएको हुन्छ भन्ने कुराले सांस्कृतिक मूल्य राखेको हुन्छ ।

लामै समयसम्म शीर्षकले डेरा जमाउन नसकेपछि प्रकाशक तथा मित्र भूपेन्द्र खड्कालाई त्यसको छिनोफानो गर्ने अधिकार दिएर म आफ्नै सिर्जनात्मक लेखतिर लागेँ । एक दिन मिस्टर खड्काले फोन गरेर आधि दर्जन शीर्षकहरू टिपाए । मलाई अहिलेको शीर्षक ‘मुसा– मानुष’ मन पर्न गयो ।

त्यसो त तपाईँले यो किताबलाई ‘अफ् माइस एण्ड मेन’ भनेरै पढेमा म अझ खुसी हुनेछु । म त ठान्छु, शीर्षक भनेको किताबको बोलाउने नाम हो । बोलाउने नामको अनुवाद किन गर्ने ? के कसैले कृष्ण बहादुर पण्डितलाई अंग्रेजीमा ‘ब्ल्याक ब्रेभ स्कलर’ भनेर बोलाउला र ?

किताबको काया कम्प्युटरमा तयार गर्दै गर्दा प्रकाशकको अनुरोधमा यसभित्रका ६ वटा अध्यायलाई छुट्टाछुट्टै उपशीर्षक दिएको छु । मुल ग्रन्थमा यस्तो शीर्षक नभए पनि पठनलाई रोचक बनाउनका खातिर मात्रै यसो गरिएको अर्थमा बुझिदिन प्रबुद्ध पाठकहरूलाई अनुरोध गर्छु । 

‘अफ् माइस एन्ड मेन’ बाहेक ‘टर्टिल्ला फ्ल्याट’, ‘क्यानबेरी रो’, ‘इस्ट अफ एडेन’ लगायतका १६ उपन्यास सहित ३३ वटा विश्व प्रसिद्ध कृतिका रचनाकार जोन स्टेनबेकले सन् १९६२ मा साहित्यका लागि नोबेल पुरस्कार प्राप्त गरेका थिए । ओक्लोहमा डस्ट बोउलदेखि क्यालिफोर्नियासम्मको बसाईँसराईको कथा उनिएको उनको उपन्यास ‘द ग्रेप्स अफ् ह्व्राथ’ले सन् १९३९ मा पुलित्जर पुरस्कार तथा नेशनल बुक अवार्ड प्राप्त गरेको थियो ।  

एउटा नोवेल पुरस्कार विजेता देखकको सुप्रसिद्ध किताबको स्वाद नेपाली पाठकलाई त्यो पनि आफ्नै बोलीबान्कीमा चखाउन पाउँदा म निक्कै प्रफुल्ल छु । यो मेरो पहिलो अनुसिर्जना हो । तपाईँको सिर्जनात्मक आलोचना र प्रेमको पर्खाइ रहनेछ । 

सबैको जय होस् !

— गनेस पौडेल, 

पोखरा–१४, मझेरी पाटन