Contact Form

Name

Email *

Message *

Z

Thursday, August 24, 2017

कथालोककी स्मिता


-- सिमाना अात्रेय

मैले लेनिन बञ्जाडेको ‘अफेयरगन्ज’ पढें । ‘अफेयरगन्ज’मा स्मितासँगको अफेयरले मलाई सुमनसँग रिस उठिरहेको थियो । म रिसले यत्ति धेरै थाकें कि शरीरमा बसिरहने ताकत पनि रहेन । बिस्तारामा पल्टिएँ । मलाई स्मिताको यत्ति धेरै माया किन लागिरहेछ ? आजसम्म मलाई कहिल्यै पनि कथाका पात्रहरूप्रति सहानुभूति पलाएको थिएन । आज वर्षौं नफुटेको सहानुभूतिको मूल फुटिरहेछ, त्यो पनि कथालोककी स्मितासँग ।
भर्खर आएको ‘पैताला’ उपन्यासमा गनेस पौडेलले लेखेका छन् कि कथा कानुनअनुसार हरेक मान्छे जीवनको एकपल्ट कुनै न कुनै कथाको पात्र बन्नैपर्ने हुन्छ । कथाअनुसार कति पात्र मानवलाई कथाकारले कथामै मार्दिन्छन् । त्यसरी मारिएकाहरू साँच्चैको लोकमा आफू को थिएँ भन्नेसमेत थाहा नपाई मर्छन् । यसरी मर्नेहरू साँच्चिकै मर्छन् । वास्तविक संसारमा उसको लाशमात्रै हुन्छ । अनि कथामा नमरेका मान्छेहरू जब साँच्चैको लोकमा फर्काइन्छन्, त्यसपछि पनि उनीहरू कथालोकका सबै कुरा बिर्सिन्छन् । संयोगले आफू नै पात्र भएको आख्यान पढ्न पुगे भने उनीहरूलाई त्यो आफ्नै कथा हो कि जस्तो लाग्छ ।
मलाई कताकता त्यो ‘अफेयरगन्ज’की स्मिता मै हुँ कि जस्तो लाग्छ तर म सुमनलाई चाहिँ चिन्दिनँ । के मलाई कथालोकको सब कुरा बिर्साएर वास्तविक संसारमा फर्काइएको हो ? के त्यो स्मिता भन्ने पात्र मै हुँ ? नभए किन लागिरहेछ मलाई आफ्नै कथाजस्तो ? कति वर्ष भौँतारिए होला कथालोकमा ? एक वर्ष, एक महिना, या कति दिन ? कति समय लगायो होला लेखकले ‘अफेयरगन्ज’ लेख्न ? म उसले कथा अन्त्य नगरिन्जेल कुन ठाउँमा भौँतारिइरहें हुँला ? नगरकोटको डाँडामा या अमेजन क्याफेभित्र ? या कतै गुमनाम सहरमा ?
मलाई आफैंले बाँचेको जिन्दगीदेखि डर लाग्यो । अझै बढी डर त कथाकार, आख्यानकारहरूसँग । मान्छेको जीवनको चाँबी नै उनीहरूसँग हुने रहेछ । भगवान् पनि तिनै आख्यानकार, कथाकारले रचेका त होलान् ! भगवान्हरू पनि कति लाचार रहेछन् आख्यानकारहरूसँग । उनीहरूले जे लेख्छन्, त्यही गर्न बाध्य । ढुंगाझैं सास रोकेर बसिरहेछन् अनन्तकालदेखि । कति निर्दयी आख्यानकारहरू, कथाकारहरू ! मनमा दया नभएकाहरूले धन्न मलाईचाहिँ कथालोकमै मारिदिएनछन् । लामो सास फेरें ।
सुमनको साथी प्रभात कथालोकमा मात्रै म¥यो कि वास्तविक संसारमै म¥यो ? ऊ उसको साँच्चैको लोकमा के थियो, थाहा पायो कि पाएन होला ? कि ऊ साँच्चैको लोकमा आएर ‘अफेयरगन्ज’ पढिरहेको छ कि ? यो त मलाई आफ्नै कथा हो कि जस्तोे लाग्यो पो भनेर बसिरा’छ कि ? प्रश्नहरू भूमरी जसरी मडारिएर आए ।
त्यति नै बेला ध्यान भंग ग¥यो मोबाइलको टुङटुङ आवाजले । मेसेज आएको रहेछ । हेरें । अपरिचित नम्बरबाट रहेछ, “सिमाना मलाई तुरुन्त फोन गर । म स्मिता ।”
मुटु थरर्र काँप्यो । के ऊ ‘अफेयरगन्ज’की अभागी स्मिता हो ? मेरा कुनै साथीको नाम पनि स्मिता छैन । भएजति सबैलाई सम्झिन खोजें– मामाघरतिरका साथी, घरतिरका, स्कुलका, कलेजका सबैलाई । तर, अहँ कोही आएनन् स्मिता बनेर । त्यही नम्बरमा डायल गरें । उताबाट भाउजु बोल्नुभयो, “तपाईंको ब्यालेन्स रकम कम भइसकेको छ, कृपया रिचार्ज गर्नुहोला ।”
फोन गर्दा पैसा सकिएर लागेन भने दाइले ‘तेरी भाउजू बोली’ भन्नुहुन्थ्यो । म मुसुक्क हाँसिदिन्थें । आज पनि एकसरो रेखा कोरियो अनुहारमा । आज मलाई तनाव थियो । पैसा थिएन तर फोन गरिहाल्नुपर्ने बाध्यता थियो । भाउजू मेरो तनाव बुझ्दिनन् । उनलाई चुप लगाउन मैले पचास रुपैयाँ थमाउनै पथ्र्यो । भाउजू चुप नभइन्जेल स्मितासँग कुरा हुन असम्भव थियो ।
म कोठाबाट बाहिर निस्किएँ । हामीले सधैँ रासन खाने साहूको पसलमा पुगें । मलाई थाहा थियो– उसले सब कुरा उधारो दिन्छ तर रिचार्ज कार्ड दिन्न । दाइले पनि रिचार्ज कार्ड र चकलेट उधारो नदिन भन्नुभाथ्यो । फेरि पसलेले आफैं पनि रिचार्ज कार्ड उधारो दिएको थाहा थिएन । ‘मैले रिचार्ज कार्ड उधारो पाउँदिन, तपाईंहरूलाई कसरी दिऊँ ?’ भनेपछि मान्छेहरू मन नलागी–नलागी गोजीबाट हजारको नोट थमाउँथे । ऊ रिचार्ज कार्डको साथमा पाँचसय र चारओटा सयका नोट दिन्थ्यो ।
“रिचार्ज कार्ड दिनुस् न साहुजी पचासको ।”
उसले क्याल्कुलेटरबाट आँखा हटाएर मलाई हे¥यो र हात तन्कायो । यसको मतलब उसले मसँग पचास रुपैयाँ मागेको हो ।
“साहुजी दिनुस् न, आजमात्रै । आज बेलुका तरकारी किन्न आउँदा दिन्छु, सत्ते । खातामा नचढाइदिनुस् ल,” रुँलाझैं गरेर भनें । खै उसले के सोच्यो कुन्नि, च्यावनप्राशको बट्टाभित्र हात हालेर रिचार्ज कार्ड निकाल्यो र भन्यो, “बेलुका सम्झेर दिनू ।” मैले टाउको हल्लाएँ ।
म बतास्सेर कोठामा आएँ र स्मितालाई डायल गरें ।
“हेल्लो ! म सिमाना । तिमी स्मिता हौ ?” 
उसले ‘हो’ भनी ।
“तिमी ‘अफेयरगन्ज’की स्मिता हौ कि कताकी हौ ?” मैले जिस्काएर सोधें ।
उसले बिस्तारै भनी, “म वीरगन्जकी स्मिता हुँ । तर, म अहिले अफेयरगन्जमा छु ।”
यति भनेर ऊ सुक्सुकाउन थाली ।
“तिमी किन रोएको भन त !”
शायद उसले टम्म भरिएको आँखा मिची र अलि कठोर भएर भनी, “तिमीले मलाई सहयोग गर्नुपर्छ । म तिम्री बालसखी प्रतिमा हुँ । मलाई तिमीले कथालोकबाट वास्तविक लोकमा झारिदेऊ पिलिज । म कथालोकमा अझै यही अमेजन क्याफेमा बसिराखेकी छु ।”
म थरर्र काँपें ।
“प्रतिमा, यो कसरी हुन सक्छ ? तिमी त बिरामी हजुरआमाको स्याहार गर्न दाङ पुगेकी थियौ । फेरि तिमी प्लस टुपछि पढ्न छाडेर किन गएकी त क्याफे ? आऊ बरु मेरै घर बस ।”
“सिमाना ! मलाई वास्तविक संसारको ज्ञान भयो । कतिलाई त यो पनि हुँदैन । तर, यो कथालोकको कानुनविपरीत हो । मैले चाहें भने मसँग सत्य थाहा पाउन सक्ने क्षमता छ । म सत्य कुरा सपनाबाट थाहा पाउँछु । कथाकानुनअनुसार त वास्तविक लोकको बारेमा ज्ञान नहुनुपर्ने हो तर भयो । थाहा पाएर पनि म आफैं साँच्चैको संसारमा आउन सक्दिनँ । तिमीले लेनिन बञ्जाडेलाई भेटेर मलाई साँच्चैको लोकमा फर्काऊ । जबसम्म म कथालोकमा बाँच्छु, त्यतिबेलासम्म म स्मिता नै हुँ । मलाई स्मिता नै भन है सिमाना ।”
अझै धेरै बोल्न मन थियो तर के गर्नु, पचासमा तीस रुपैयाँ नेपाल टेलिकमले लोन काट्दा बीस रुपैयाँ बाँकी थियो । धन्न यति कुरा थाहा भयो । हतारहतार मैले लोन लिएँ र फेरि डायल गरें । तर, यसपटक उताबाट भाउजू कराइन्, “तपाईंले डायल गर्नुभएको नम्बर मिलेन ।”
अघि गरेकै नम्बर हो र पनि भाउजूले रङ नम्बर भनेर स्मितासँग बेखबर बनाइदिइन् । मलाई भाउजूसँग रिस उठ्यो ।
अब कथाकारलाई कहाँ भेट्ने ? लोनको पैसाले नेट चल्यो । फेसबुक लगइन गरेर लेनिन बञ्जाडे सर्च गरें । भेटे पो ! शायद उनले डिएक्टिभेट गरे कि ? कि फेरि अर्को कथा लेखेर मेरा कुनै साथीलाई कथालोक पु¥याउन लागे कि ? मलाई नै पु¥याए भने ? डरले आँतमुख सुक्यो । हतारहतार गनेस पौडेल सर्च गरें । उनलाई फ्रेन्ड रिक्वेस्ट सेन्ड गरेर म्यासेज छोडें, “प्रिय आख्यानकार, तपाईंको पहिलो आख्यान ‘पैताला’ मलाई राम्रो लाग्यो । अझै राम्रो गर्दै जानुस् । म तपाईंसँग भेटेरै कुरा गर्न चाहन्छु र कथालोकको बारेमा जान्न चाहन्छु । तपाईको कल्पनामा र तपाईंको ‘पैताला’मा मात्रै कथालोक हुन्छ या साँच्चै कथालोक र यसको कानुन छ ? म सबै जान्न चाहन्छु । तपाईंले कृपा गरेर लेनिन बञ्जाडेको फोन नम्बर दिनुहोस् । कथाकार, आख्यानकार, साहित्यकारहरूको त भेटघाट, कुराकानी भइराख्छ होला । जसरी हुन्छ, मलाई उहाँको नम्बर दिनुहोस् । लेनिन बञ्जाडेले लेख्नुभएको ‘अफेयरगन्ज’की स्मिता मेरी साथी हुन् । उनी कथालोकमै भौतारिरहेकी छन् । म उनलाई यो वास्तविक लोकमा झार्न चाहन्छु ।”
मैले गनेस पौडेललाई म्यासेज छोडेको आज पाँच दिन भयो । उहाँले न त म्यासेज खोल्नुभयो, न त फ्रेन्ड रिक्वेस्ट एसेप्ट गर्नुभयो । मैले चाहिँ यो पाँच दिनमा सयौं पटक फेसबुक खोलें र बन्द गरें । उहाँले भने ‘पैताला’का प्रोग्रामहरू कहाँ–कहाँ भए र कहाँ–कहाँ हुँदैछन् भनेर मिनेट–मिनेटमा हालिरहनुहुन्थ्यो । पाठकको प्रतिक्रियामा ‘धन्यवाद’, ‘हस्’ भनेर कमेन्ट पनि गरिरहनुहुन्थ्यो तर उहाँले मेरो म्यासेजमा आँखा लगाउनुभएन ।
नयनराज पाण्डे, बुद्घिसागर, कृष्ण धरावासी, अमर न्यौपाने, अक्षर काका, नीलम कार्की निहारिका, नारायण वाग्ले, नारायण ढकाल, राजन मुकारुङ सबै दिमागमा सल्बलाए । सकेजति सबलाई सम्झिएँ । उनीहरूले लेखेका किताब सम्झिएँ तर मलाई अब आख्यानकारहरूको नाम सर्च गर्दै पाँच दिन कुर्दै फेरि म्यासेज पठाउँदै लेनिन बञ्जाडेको नम्बरका लागि भौँतारिहन मन लागेन फेसबुकमा । सबै उस्तै त होलान् यी आख्यानकारहरू । पाठकलाई त भाउ दिए पो ! उनीहरूको किताब भर्खर लन्च भएको छ भने र त्यसमा कमेन्ट गरेको छ भने मात्रै बोल्छन् नत्र त कहाँ बोल्न पाइन्छ र ! आख्यानकारका अक्षरले थिचिए पनि पढेर सक्नैपर्छ र कमेन्ट गर्नैपर्छ उनीहरूसँग नजिकिन । मलाई नजिकिरहने फुर्सद थिएन ।
फेसबुकमै आख्यान पढिरहने दुई–तीन जना साथीहरूलाई सोधे लेनिन बञ्जाडेको बारेमा तर उनीहरूले ‘अफेयरगन्ज’को बारेमा मात्रै भने । म निराश भएँ । अब के गर्ने ? मेरी साथी प्रतिमा उर्फ स्मितालाई कसरी यो लोकमा ल्याउने ?
आज ठ्याक्कै सात दिन भयो । मैले लेनिन बञ्जाडेलाई भेट्न सकिनँ । न त सकें मेरी साथी स्मितालाई फोन गरेर खबर गर्न । भाउजूले नम्बर मिलेन भने पनि मैले हजारौं पटक प्रयास गरें, सब विफल भयो ।
खाना खाएर विस्तारामा मात्रै के पल्टेकी थिएँ– म्यासेज आयो टुङटुङ । हेरें । नम्बर कतै देखे–देखे जस्तो लाग्यो । हो त मैले हजार पटक ट्राई गरेको नम्बर यही त हो । ‘अफेयरगन्ज’की स्मिताको ।
मेसेजमा लेखिएको थियो, “मलाई फोन गर सिमाना ।”
पहिलोचोटि स्मिताको म्यासेज आएदेखि नै मैले नियमित रिचार्ज गर्न थालेकी थिएँ । सात दिनसम्म मैले हरेक दिन पचास रुपैयाँ रिचार्ज गरेर फेसबुकमा कुरिराखें रिप्लाई तर आएन । म हैरान भइसकेकी थिएँ । मेरो रिचार्जको पैसा बालुवामा पानी हालेसरह भएको थियो । म दाइलाई भन्न सक्दिनथें । मलाई थाहा छ दाइले मलाई पागल भन्नुहुन्छ । दाइको अगाडि म चुपचाप बस्न बाध्य थिएँ । एक हप्तामा मुस्किलले एकदिन निदाउन सकें ।
मैले स्मितालाई डायल गरें । उताबाट उनले भनिन्, “सिमाना थाहा छ तिमीले लेनिन बञ्जाडेलाई भेटिनौ । तिमीले मेरो कारण धेरै दुख पायौ । कथाकार, आख्यानकार अरुको दुःख लेख्न सक्छन् मात्रै, देख्न सक्दैनन् । भित्री मनमा लागेको चोट पनि लेख्छन् तर कहाँ लाग्यो, कति पीडा भयो– उनीहरू देख्दैनन् । उनीहरूमा दुःख लेख्न सक्ने क्षमता हुन्छ । अक्षरमा पोख्न सक्ने क्षमता हुन्छ तर दुःख अनुभव गर्न सक्ने क्षमता हुँदैन । हुन्थ्यो भने म यसरी कथालोकमा भौँतारिरहन पर्दैनथ्यो सिमाना । स्मिता ! तिमी अझै एक–दुई महिना भौतारिरहनु पर्ने भयो । मलाई माफ गर । म जतिसक्दो प्रयास गर्छु भेट्ने ।”
म एकसुरले उसका कुरा सुन्दै थिएँ । यो सपना हो या विपना– मेरो दिमागले भेउ पाएन । 
उसले थपी, “सिमाना ! तिमीले पनि सक्छ्यौ मलाई कथालोकबाट निकाल्न ।”
म अचम्ममा परें ।
“मैले कसरी निकाल्न सक्छु र तिमीलाई ? तिमीलाई त जसले कथालोकमा पु¥यायो, उसले मात्रै निकाल्न सक्छ, हैन र ?”
“सिमाना अब उसले फेरि ‘अफेयरगन्ज’ लेख्दैन । लेखे पनि अरु कथा लेख्ला– ‘मकै’, ‘सेतोपाटी’जस्ता । उसले सके बिर्सिसक्यो होला मलाई । उसलाई ‘अफेयरगन्ज’ले कथाकार बनायो तर उसले कथाका पात्रहरूलाई भुल्यो । आफूलाई सफल बनाउने मजस्ता कथाका पात्रहरू भुल्यो । अब मेरो जीवन तिम्रो हातमा छ । तिमीले मलाई छिटो निकालिदेऊ सिमाना, नत्र म यही अमेजन कफीसपमा मर्छु । तिमीले अब मेरो बारेमा कथा लेख्नू । उसले मलाई ‘अफेयरगन्ज’मा जहाँ छोडेको छ, त्यहीँदेखि सुरु गरेर मलाई वास्तविक लोक फर्काऊ । मलाई तिमीले अमेजन कफीसपबाट निकालेर बरु वीरगन्जकै तिम्रो ठूलोबाबाको ब्राउन पिस कफीसपमा छाडिदेऊ । त्यसपछि म प्रतिमा बन्नेछु सिमाना । त्यसपछि मैले अहिलेको लोक बिर्सिन्छु । तिमीले मलाई याद गरायौ भने पनि याद हुँदैन मलाई । कथाकानुनमा यही कुरा छ तर सपनाले गर्दा मलाई वास्तविक लोकको बारेमा भने ज्ञान भयो । म यहाँबाट निस्किएपछि मैले कहिल्यै सपना देख्न सक्दिनँ । कथाकानुनअनुसार यदि कथालोकमै हुँदा कसैले सपनाबाट वास्तविक लोकको बारेमा थाहा पाउँछ भने उसले कथालोकबाट झरेपछि सपना कहिल्यै देख्न पाउँदैन । तिमीले सकेसम्म आजै कथा सक्यौ भने म भोलि बिहानै ६ बजे ब्राउन पिस कफीसपमा तिमीलाई कुरिरहन्छु ।”
फोन काटियो । मैले कसरी लेख्न सकुँला र कथा ? तैपनि मैले लेख्नैपर्छ । ज्ञानले, रहरले मात्रै मान्छेलाई कथाकार बनाउँदैन रहेछ । नजानेकै भए पनि मैले साथीको कर्तव्य निभाउन कथा लेख्नैपर्छ । बाध्यताभन्दा पनि यो नैतिक जिम्मेवारी हो मेरो । जानेको छैन भनेर सुख पाइँदैन । आँट गर्नैपर्छ । मैले पनि मेरी साथी स्मितालाई कथालोकबाट झार्न आँट गरें । 
उनलाई आजै झारे भोलि हामी वीरगन्जको कफीसपमा भेटिन्छौं । तर, मलाई थाहा छैन कथालोक कति माथि छ ! सगरमाथाको उचाइभन्दा पनि माथि छ कि ? आकाशभन्दा माथि छ ? कि ककनीको हाइटजति छ ? झार्दै गर्दा उसलाई म सेफ ल्यान्डिङ गराउन सकुँला मेरो ठूलोबुवाको कफीसपमा ?
घडीको मोटो र लामो सुई दुवैले दश ताकिरहेका थिए । अरुबेला हुन्थ्यो भने म ९ नबज्दै विस्तारामा पल्टिसक्थें । तर, आज गहन जिम्मेवारी निभाउनु छ । कथा सक्नु छ रातभरिमा । म उसलाई भौतारिरहन दिन्नँ । 
मैले कथा लेख्न सुरु गरें ।
“मलाई सुमनले धोका दियो । उसलाई मैले फोन गरें तर उसको फोन व्यस्त भन्यो । म पीडा खप्न नसकेर घोप्टिरहें । न्यापकिनले आँसु पुछें अनि फेरि सुमनको मोबाइलमा डायल गरें । उसको मोबाइल अफै थियो । फेसबुक खोलेर म्यासेज छोडें, “सुमन तिमीले मलाई धोका दियौ तर म तिमीलाई प्रेम गरिरहन्छु । म अब कसैलाई प्रेम गर्न सक्दिनँ सुमन । मेरो मन भाँच्चिएको छ । म जीवनभर अविवाहित रहन्छु । यति जाबो जिन्दगी बिताउन तिमीसँग बिताएका लामा रातका लामा यादहरू छँदै छन् । तिमी प्रमिलासँग खुसी रहनू । म तिम्रो खुसी खोस्न कहिल्यै आउनेछैन । तिमी ढुक्क हुनू । तर, प्रमिलालाई चाहिँ नरुवाउनू है । ऊ कति रोई फोनमा । हुन त मेरा पनि आँसु झरे । झरिरा’छन् । मेरो आँसुको झरी झरिराखे नि म अरुको आँखामा मरुभूमि देख्न चाहन्छु । सुख्खा ।”
म अमेजन कफीसपबाट निस्किएँ । मलाई अब सुमनको बारेमा केही जान्नु थिएन । म सरासर अमेजन रिभर गएँ अनि फोन फालिदिएँ । त्यही फोनले गर्दा त मलाई रुवायो ।
ममीसँग मोबाइल फोन चाहियो भनेर कति रोएँ । ममी पनि ‘पैसा छैन छोरी, रिन गरेर त के किन्नु’ भनेर रुनुभयो । त्यसको पर्सिपल्ट बुवाले लैनो भैंसी बेचेर मलाई मोबाइल किनिदिनुभयो । त्यसरी ममीसँग रुँदै किनेको मोबाइलले खुसी दिनुको सट्टा उल्टै रुवायो ।
अमेजन रिभरबाट म घर फर्किन चाहन्थें । म अफेयरगन्ज त सुमनलाई भेट्न त आएकी थिएँ । मलाई वीरगन्ज फर्किनु थियो । सुमनले हिजो राति भोलि अमेजन क्याफेमा हजार रुपैयाँ दिन्छु भनेको थियो, त्यसैले पनि घरबाट हिँड्दा थप पैसा बोकिनँ ।
अमेजन रिभरबाट पानीजहाज चढेर वीरगन्ज पुग्न २५० रुपैयाँ लाग्थ्यो भने अफेयरगन्जको रेल्वे स्टेसनबाट फर्किंदा २ सय रुपैयाँ । तर, म अमेजन रिभरमै थिएँ । मलाई अफेयरगन्जको रेल्वे स्टेसन जानै हिँडेर एक दिनभरि लाग्थ्यो भने गाडीमा ५० रुपैयाँ ।
म अमेजन रिभरअगाडि उभिरहें । दुइटा पानीजहाज गए, तीनवटा आए । साँझ पर्दै थियो । आँखाबाट आँसु पनि झर्दै थियो । मेरा सब सपनाहरू खरानी भएका थिए । खरानीले परानी जोगाउन सकिन्न । खरानी त घसेर हिँड्ने हो । म दुःखको खरानी लगाएर हेरिरहेकी थिएँ ।
कोही मलाई पछाडिबाट आएर आँखा छोप्यो र लगत्तै चिच्यायो ।
“अरे दिदी किन रोएकी ? के भो ? फेरि यतिबेलासम्म किन घर नआउनुभएको ? ममी–बुवा कुरिरहनुभा’छ । म त साथीकोमा आएको । भोलि उसको क्लबमा भलिबल रच बिहानै । त्यहीभर भोलि हिँड्दा गेम छुट्ला भनेर आइहालें ।”
उसको साथी मोटे रमाहिर रै’छ । ऊ अफेयरगन्जको हो । उसको मामाघर वीरगन्ज । हाम्रो घरको पल्लापट्टिको रातो रङ लगाएको घर ।
अरु बेला मोटु भनेर गाला निमोठ्दिन्थें । ऊ पनि मलाई तानेर भलिबल सिकाउन लैजान्थ्यो । आज म उसलाई हेर्न सकिरहेकी थिइनँ ।
“दिदी ऊ त्यो लास्ट पानीजहाज हो, गइहाल्नुस् । ममी चिन्तित हुनुहुन्छ । तपाईंको फोन पनि लाग्दैन रै’छ ।”
रमाहिरले बाई भन्यो । उनीहरू लगभग ५० मिटर पर पुगे । खै कताबाट बल आएछ कुन्नि ! म चिच्याएँ, “भाइ, मसँग घर फर्किने पैसा छैन । म यहीँ बस्छु ।” 
चर्कै भएछ आवाज । दुवैजना कानेखुसी गरे अनि फरक्क फर्किए । मलाई भाइले ५ सयको नोट थमाइदियो र पानीजहाजमा चढायो । मैले पानीजहाजबाट उनीहरूलाई हात हल्लाएँ ।
लगभग बिहानको ५ बजे पानीजहाजबाट वीरगन्ज उत्रिएँ । साथमा मसँग बचेको २ सय रुपैयाँ थियो । ५० रुपैयाँको मैले पानीजहाजमै खिर, पुरी र चटपट खाँदा सकें ।
२ सय रुपैयाँ लिएर ५ नै बजे घर गइहाल्न मन भएन । वीरगन्ज शहर पूरै डुलें । लगभग एक घण्टापछि ब्राउन पिस कफीसप अगाडि उभिएँ । चारैतिर बत्ती झलमल्ल थियो । मान्छेहरू घरी कफीसपभित्र कहिले बाहिर गरिराख्थे । यसको मतलब थियो कि कफीसप रातभर चल्छ । म त्यही कफीसपमा छिरेँ । मलाई कफीको चुस्कीसँगै सुमनको चुम्बनको चुस्की लिनु थियो र कफी रित्तिएसँगै उसका यादहरू रित्ताउनु थियो । म कफी खाने मान्छे त हैन, खाएँ भने त्यही लैनो भैंसीको दूध खान्थें । त्यो पनि आज मिल्काइदिएकी थिएँ । कफी खानेहरू भन्छन् दिनभर फ्रेस राख्छ कफीले । म पनि उसका यादहरूबाट रिफ्रेस हुन चाहन्थें । वेटर नजिकै आयो । मैले मिल्क कफी अर्डर गरें ।”
यहीँनेर स्मिताको कथा टुंग्याइदिएँ । मैले उसलाई अफेयरगन्जबाट वीरगन्ज ल्याएँ । ऊ आई कि आइन ! मलाई आफूले लेखेको कथाले स्मिता वीरगन्ज आई होली भन्ने लागेन तर पनि कफी खाने बहानाले म कोठाबाट निस्किएँ । दाइ पल्लो कोठाबाट कराउनुभयो, “यति बिहानै कताको साइत हो ? एकाबिहानै तेरो चुरीफुरी बढेको देख्छु त ! के हो ?”
“दाइ, म नोट दिन जान्छु के प्रतिमालाई,” दाइको थप कुरा नसुनी म बाहिरिएँ ।
ठूलोबाबाको कफीसप ब्राउन पिसमा ऊ नीलो रङको स्कर्ट र सेतो टिर्सटमा थिई । स्मिता उर्फ प्रतिमा । मलाई देखेर जुरुक्क उठी र अँगालो हाली । ऊ सधैं यसै गर्छे ।
“प्रतिमा तिमी कता थियौ ? नदेखेको थुप्रै भयो त ।”
उसले ‘दाङमा हजुरआमालाई स्याहार्न गएको’ भनी । 
कथालोकबाट अत्तालिएर हतारहतार आफ्नो कुरा सक्ने स्मिताबाट ऊ बेखबर थिई । ऊ प्लस टु पढ्दाताकाको जस्तै बिन्दास देखिन्थी । उसमा ‘अफेयरगन्ज’की स्मिताको स्मृतिको अलिकति लेप पनि थिएन ।

पाठककाे मन जित्न भिडियाे प्रचारमा उपन्यास ‘पैताला’


पोखरा १२ जेठ- चर्चित  लेखक गनेस पौडेलको  पहिलो उपन्यास ‘पैताला’  को भिडियो प्रचार सामग्री सार्वजनिक भएको छ । उपन्यासको मुख्य मर्म बोकेको गीतमार्फत  यसलाई सार्वजनिक गरिएकाे जनाएकाे छ । उपन्यास  प्रकाशक तथा वितरक बुक हिलले यसकाे  प्रचार तीव्र बनाएको हो ।
प्रकाशक संस्था ‘बुक हिल’ र ‘जक्सन टिभी’ले संयुक्त रुपमा भिडियोलाई सार्वजनिक गरेका हुन् । पुष्पन प्रधानको संगीत संयोजन र गायनमा तयार भएको गीतमा अभिनेता कपिल शर्मा छन् । भिडियोलाई अरुण गिरीले निर्देशन गरेका हुन् भने मिलन शंकरले खिचेका हुन् । नेत्र गुरुङ यो भिडियोको सम्पादक हुन् ।
निर्देशक गिरीले अभिनेता कपिल शर्मालाई भिडियोमा जोगीको भेषमा प्रस्तुत गरेका छन् । ‘किताबको थिम अनुसार नै हामीले भिडियो तयार पारेका हौं,’ निर्देशक गिरीले भने–‘दर्शकले भिडियो हेरसँगै किताब पढ्ने हुटहुटी जाग्ने हामीले विश्वास लिएका छौं ।’ भिडियोमा अभिनेता कपिल शर्मा तन्त्रमन्त्र जान्ने जोगीको रुपमा देखिएका छन् । यो गीत लेखक गनेस पौडेल आफैले लेखेका हुन् ।
उपन्यासको प्रकाशकले विशेष समारोहका बीच काठमाडौंको शिल्पी थियटरमा यो पुस्तकको विमोचन गर्ने कार्यक्रम छ । काठमाडौं बाहिरको बजारमा १५ गतेसम्म उपन्यास आइसक्ने लेखक पौडेलले जानकारी दिए ।
तन्त्रमन्त्रको बारेमा लेखिएको उपन्यास भएकाले यसले पाठकको ध्यान खिच्नेमा आफू ढुक्क रहेको लेखक बताउँछन् । ‘मैले जाने अनुसार नेपालमा तान्त्रिक उपन्यासकमै मात्र छन् ।
बजारमा आइरहने उपन्यासको तुलनामा यो पाठकको लागि फरक स्वाद हुन सक्छ,’ पौडेलले भने । लेखक आफैं चाहिँ यो उपन्यासलाई रहस्य विज्ञान (मिस्टिसिज्म)मा आधाारित कृति भन्न रुचाउँछन् ।

Published at: 

पैतालामा मुन्धुमदेखि ठकबक तन्त्र



पोखरा: ‘संसारको सबैभन्दा ठूलो प्रश्न के हो भनेर घोत्लिएँ’, उनले भने, ‘मृत्यु हो जस्तो लाग्यो, तर धेरै धर्महरुले शरीर मरे पनि आत्मा मर्दैन भनेका छन् । मलाई लाग्छ बरु आत्मा मर्छ शरीर मर्दैन।’ विज्ञानले मृत मानिसका शरीर जीवनमा प्रत्यारोपण गरेर अंगहरु जीवित राख्न सकिने बनाइसकेको तर्क उनले गरे । सोमबार उपन्यासकार गनेस पौडेल आफ्नो पहिलो कृति पैतालाबारे बताउँदै थिए।
‘जुन सीमाबाट धर्मको अन्त्य हुन्छ, त्यहींबाट विज्ञान सुरु हुन्छ, जुन सीमाबाट विज्ञानको अन्त्य हुन्छ, त्यहींबाट धर्म सुरु हुन्छ’, पौडेलले भने, ‘मान्छे अमर हुन सक्दैन बरु बाँचिरहन सक्छ भन्ने विज्ञानले देखाउँदैछ।’
धर्मग्रन्थहरुले उल्लेख गरेको सञ्जीवनीको कुनै तत्व हुन सक्छ र मान्छे दुर्घटनामा परेर बाहेक मर्न सक्दैन भन्ने तर्क पनि उनले गरे । तन्त्र खासमा विज्ञान भएको बताउँदै लेखक पौडेलले मन्त्र, यन्त्र र तन्त्रमा आधारित रहेर समाज चल्ने गरेको धारणा राखे । मुन्धुमका पुराण कथादेखि जनकपुरको ठकबक तन्त्र र हिन्दु, इस्लामका पुराण कथाहरुको प्रयोग उपन्यासमा गरेको जानकारी उनले दिए।
पराकल्पनाको उपन्यासको विधा भने खोजी अर्थात क्वेस्ट नोभेल रहेको उनले उल्लेख गरे। ‘यस्ता खालको उपन्यासमा पाठकले खोज्ने चिजमा पनि हुनुपर्छ मान्यता म राख्छु’, उनले प्रष्ट्याए। बुक हिल पब्लिकेसनले छापेको उपन्यास लेखककै गृहनगर पोखरामा सोमबार विमोचन गरिएको हो। र्यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठले उपन्यास विमोचन गरे।
साहित्यकार सरुभक्तले पछिल्लो समय विश्वभर नै आख्यान विधा लोकप्रिय हुँदै आएको बताए। ‘तै पनि हामीकहाँ काव्य नै बढी छ’, उनले भने, ‘आख्यानले हामीकहाँ पनि स्वाभाविक रुपमा बर्चश्व स्थापित गर्दैछ, । जति आख्यानले पाठकको मन स्पर्श गर्न सकिरहेको छ अरुले सकेका छैनन्।’
कवि तीर्थ श्रेष्ठले सधैं प्रयोगशालामा आफूलाई खार्ने र निखार्ने सर्जकका रुपमा गनेस पौडेललाई चित्रित गरे । लेखक कुमार नगरकोटीले एक्लै उभिन तयार हुने व्यक्तिमात्रै संसारकै सबैभन्दा शक्तिशाली व्यक्ति हुने विचार व्यक्त गरे।
अरुको विचारभन्दा आफ्नै विचारमा हिँड्ने लेखक बलवान हुने उनको भनाइ थियो । सोसाइटीका अध्यक्ष उपेन्द्र पौडेलले गनेस पौडेल सिर्जनशील चन्चलताले भरिएका लेखक भएको बताए। र्यान्डम गजलकार उदीपराज ढुंगाना र विद्यार्थी महेश शाक्यले पाठकीय दृष्टिकोण राखे।

१७ पुष २०२६, बिहीबार ००:०० मा प्रकाशित

'पैताला' उचाल्दै कठघरमा उभिए गनेस

--तुलमान गुरूङ

भरतपुर । आख्यानकार गनेस पौडेलको नवीनतम् कृति 'पैताला' उपन्यासबारे आइतबार भरतपुरमा बहस एवम् अन्तक्र्रिया गरिएको छ ।
अक्षर समूह चितवनको आयोजनामा भएको कार्यक्रममा उपन्यासबारे विभिन्न व्यक्तित्वहरूले चर्चा परिचर्चा गरेका थिए । नेपाली परिवेशका लागि लेखकले नयाँ शैलीबाट उपन्यास लेखिएको भन्दै डा केशव चालिसेले उपन्यासभित्र कतैकतै आख्यानकार आफैँ पनि उपस्थित भएको बताए । कार्यक्रमका लागि प्रमुख वक्ताको रूपमा प्रस्तुत भएका साहित्यकार चालिसेले नेपाली साहित्यको फरक पाटो 'पैताला'मा समेटिएको बताए ।
यस्तै अर्को प्रमुख वक्ता एवम् समालोचक उदय अधिकारीले लेखकले चुनौती मोलेरै उपन्यास लेखेको दाबी गरे । 'पैताला' यात्राका क्रममा खोजमूलक शैलीमा नयाँ प्रयोगको माध्यमबाट लेखिएकोले नेपाली आख्यानमा एउटा फरक र गहन खालको उपन्यास सिर्जना भएको बताए । उपन्यासका लागि प्रकाशकले पनि ठूलै चुनौती मोलेर प्रकाशन गरेको उनको भनाइ छ ।
यस्तै अक्षर समूह चितवनका अध्यक्ष एवम् कवि ईश्वर कँडेलले लेखकले आफ्नो सिर्जनाभित्र संगीतको समेत प्रयोग गरिएको हुँदा उपन्यास झनै सशक्त भएको बताए । पैतालामा संगीतको प्रयोग भएको छ, जुन नेपाली आख्यानका लागि नयाँ प्रयोग हो ।
कवि एवम् अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष भूपिन खड्काले भने प्रकाशकले चुनौती मोलेरै पुस्तक प्रकाशन गरेको टिप्पणी गरे । किनकी पाठकहरूले पढिसकेपछि सहज तरिकाले बुझ्न सक्ने उपन्यास होइन, उनले भने, ‘त्यसैले उपन्यास निकै जटिल खालको छ ।
'पैताला'मा नयाँ दुनियाँको प्रयोग गरिएकोले लेखकका लागि पनि चुनौती रहेको उनले औँल्याए । पाठकलाई नयाँ दुनियाँमा पु¥याउन सके लेखक सफल हुन सक्छ, उनले भने, नत्र भने लेखक सफल नहुन पनि सक्छ । तर, लेखनमा बौद्धिक सिर्जनाको बहसका लागि लेखक गनेस पौडेलले राम्रो सुरूवात गरेको उनको भनाइ छ ।
यस विषयमा लेखक पौडेलले पनि पाठकहरूको प्रतिक्रिया सकारात्मक भएको भन्दै उपन्यासको माध्यमबाट नेपाली साहित्यलाई फरक शैलीमा पस्कने प्रयास गरिएको बताए । पाठकका लागि नयाँ विषयवस्तुको प्रयोग गरेर लेख्ने प्रयास गरेको हँु, उनले भने, ‘किनकी सिर्जना भनेको आकाशबाट फुत्त आउने चिज होइन, हामी आफैँले सिर्जना गर्ने हो । पाठकहरूलाई मनोरञ्जनका लागि पनि बीचबीचमा संगीतको प्रयोग गरिएको उनले बताए ।
प्रकाशक भूपेन्द्र खड्काले भने पाठकहरू धेरै प्रकारका हुने भएकोले पाठकको रूचिअनुसारको पुस्तकलाई प्रकाशनमा ल्याउने काम बुकहिल प्रकाशनले गर्दै आएको बताए । सधैँ एउटै खालको पुस्तक मात्रै छाप्नु पर्छ भन्नु छैन, उनले भने, ‘किनकी कहिलेकाहीँ ठूलो चाहना राखेको पुस्तक पनि सोचेजस्तो सफल नहुन सक्छ । अर्को कुरा व्यवसायिक फाइदाको हिसाबले मात्रै पुस्तक प्रकाशन गर्ने होइन ।
कतिपय पाठकहरू हल्ला र चर्चाको आधारमा मात्रै पुस्तक किन्ने र पढ्ने खालको हुने उनको बुझाइ छ । तर, बुकहिल प्रकाशनको लक्ष्य भनेको सबै पाठकसामु सबैखालको पुस्तक पुगोस् भन्ने चाहना हो, उनले भने । पुस्तकको माध्यमबाट लेखकले केही नयाँ चिज दिने प्रयास गरिएकोले नेपाली साहित्य फरक तरिकाले पनि लेख्न सकिन्छ भन्ने सन्देश दिलाउनका लागि पनि चुनौती मोलेरै 'पैताला' उपन्यासलाई प्रकाशनमा ल्याइएको प्रकाशक खड्काले बताए ।
तर, आख्यानकार गनेस पौडेलले विभिन्न स्थानको यात्रा र अध्ययनबाट उपन्यास लेखेको भनिए पनि नेपालका सबै स्थानमा पुग्न नसकेको पाठकहरूले टिप्पणी गरेका छन् । विगत केही समयदेखि भरतपुर बस्दै आएका कञ्चनपुर महेन्द्रनगरका पाठक विजय विकले पुस्तकभित्र नेपालका सबै भूभागलाई समेट्न नसकिएको बताए । त्यति मात्रै होइन, उनले पुस्तक प्रकाशन भएको एकहप्तामै अक्षर समूह चितवनले पाठकको अदालतमा उभ्याएर लेखकमाथि अन्याय गरेको आरोप लगाए । एकहप्तामा सबै पाठकको हातहातमा पुस्तक पुगेको हुँदैन, उनले भने, ‘पुस्तक हात परे पनि पढेर भ्याएको हुँदैन । त्यसैले केही समयपछि कार्यक्रमको आयोजना गरेको भए राम्रो हुन्थ्यो ।

'पैताला'को बागलुङमा समीक्षा

--दिल शिरीष--

बागलुङ, १७ जेठ । पैताला कस्ता मानिसको पैताला हो ? जिल्लाको सुस्ताएको साहित्यिक माहोलका बिच आयोजना गरिएको लेखक पाठक संवाद कार्यक्रममा लेखक गनेस पौडेललाई पाठकले यस्तो प्रश्न गरे पछि उनले तन्त्र, मन्त्र र यन्त्र सहितको सत्यको कथा सुनाए । र भने, यो पैताला तिनीहरुको हो, जसले सत्यको खोजी गरिरहेका छन् । उनले थपे, यो उपन्यास मार्फत मेरो उद्धेश्य प्रश्नहरु सोध्नु हो, उत्तर दिनु होइन । लेखक पौडेलले आफ्नो उपन्यासमा कुमार नगरकोटीको प्रभाव भेटिएको भन्ने आरोपमा पनि गूरुप्रसाद मैनालीदेखी शुरु भएको आख्यान लेखन परम्पराको फेहरिस्त सुनाएर आफु फरक मिथकका साथ प्रस्तुत भएको दाबी गरे ।
बुक हिल प्रकाशनले नयाँ बिश्व अनलाइनको संयोजनमा बागलुङमा आयोजना गरेको कार्यक्रममा लेखक पौडेल सँगै उपस्थित भएका चर्चित लेखक कुमार नगरकोटीले पैताला उपन्यास मुलुककै पहिलो तान्त्रिक उपन्यास भएको बताए । यो देश कथै कथाको देश हो, जता गए पनि कथा देखिन्छ, नगरकोटीले भने, पैताला उपन्यास भित्र पनि अरु १०, १२ उपन्यासको आभा भेट्न सकिन्छ । लेखक पौडेलको जस्तो किताव नेपाली साहित्यमा आवश्यक छ, उनले थपे, लेखकले पुस्तक मात्र दिएका छैनन्, तपाई हामी लेखक पाठकलाई पनि चूनौति दिएका छन् । मैले लेख्नुपर्ने उपन्यास यिनले कसरी लेखे ?
कार्यक्रममा बुक हिलका भुपेन्द्र खड्काले छोटो समयमै पैताला उपन्यासको देशव्यापी रुपमा माग भएको बताए । लेखक पाठक बिचको संवाद कार्यक्रमकै अवसरमा १ सय भन्दा बढी पुस्तक बिक्री भएको स्थानीय आयोजक संस्था नयाँ बिश्व अनलाइनका सम्पादक मुकेशचन्द्र राजभण्डारीले जानकारी दिए ।

Published at:
http://dharatalonline.com/archives/18653

YouTube