Contact Form

Name

Email *

Message *

Thursday, August 24, 2017

'पैताला' उचाल्दै कठघरमा उभिए गनेस

--तुलमान गुरूङ

भरतपुर । आख्यानकार गनेस पौडेलको नवीनतम् कृति 'पैताला' उपन्यासबारे आइतबार भरतपुरमा बहस एवम् अन्तक्र्रिया गरिएको छ ।
अक्षर समूह चितवनको आयोजनामा भएको कार्यक्रममा उपन्यासबारे विभिन्न व्यक्तित्वहरूले चर्चा परिचर्चा गरेका थिए । नेपाली परिवेशका लागि लेखकले नयाँ शैलीबाट उपन्यास लेखिएको भन्दै डा केशव चालिसेले उपन्यासभित्र कतैकतै आख्यानकार आफैँ पनि उपस्थित भएको बताए । कार्यक्रमका लागि प्रमुख वक्ताको रूपमा प्रस्तुत भएका साहित्यकार चालिसेले नेपाली साहित्यको फरक पाटो 'पैताला'मा समेटिएको बताए ।
यस्तै अर्को प्रमुख वक्ता एवम् समालोचक उदय अधिकारीले लेखकले चुनौती मोलेरै उपन्यास लेखेको दाबी गरे । 'पैताला' यात्राका क्रममा खोजमूलक शैलीमा नयाँ प्रयोगको माध्यमबाट लेखिएकोले नेपाली आख्यानमा एउटा फरक र गहन खालको उपन्यास सिर्जना भएको बताए । उपन्यासका लागि प्रकाशकले पनि ठूलै चुनौती मोलेर प्रकाशन गरेको उनको भनाइ छ ।
यस्तै अक्षर समूह चितवनका अध्यक्ष एवम् कवि ईश्वर कँडेलले लेखकले आफ्नो सिर्जनाभित्र संगीतको समेत प्रयोग गरिएको हुँदा उपन्यास झनै सशक्त भएको बताए । पैतालामा संगीतको प्रयोग भएको छ, जुन नेपाली आख्यानका लागि नयाँ प्रयोग हो ।
कवि एवम् अक्षर समूह चितवनका निवर्तमान अध्यक्ष भूपिन खड्काले भने प्रकाशकले चुनौती मोलेरै पुस्तक प्रकाशन गरेको टिप्पणी गरे । किनकी पाठकहरूले पढिसकेपछि सहज तरिकाले बुझ्न सक्ने उपन्यास होइन, उनले भने, ‘त्यसैले उपन्यास निकै जटिल खालको छ ।
'पैताला'मा नयाँ दुनियाँको प्रयोग गरिएकोले लेखकका लागि पनि चुनौती रहेको उनले औँल्याए । पाठकलाई नयाँ दुनियाँमा पु¥याउन सके लेखक सफल हुन सक्छ, उनले भने, नत्र भने लेखक सफल नहुन पनि सक्छ । तर, लेखनमा बौद्धिक सिर्जनाको बहसका लागि लेखक गनेस पौडेलले राम्रो सुरूवात गरेको उनको भनाइ छ ।
यस विषयमा लेखक पौडेलले पनि पाठकहरूको प्रतिक्रिया सकारात्मक भएको भन्दै उपन्यासको माध्यमबाट नेपाली साहित्यलाई फरक शैलीमा पस्कने प्रयास गरिएको बताए । पाठकका लागि नयाँ विषयवस्तुको प्रयोग गरेर लेख्ने प्रयास गरेको हँु, उनले भने, ‘किनकी सिर्जना भनेको आकाशबाट फुत्त आउने चिज होइन, हामी आफैँले सिर्जना गर्ने हो । पाठकहरूलाई मनोरञ्जनका लागि पनि बीचबीचमा संगीतको प्रयोग गरिएको उनले बताए ।
प्रकाशक भूपेन्द्र खड्काले भने पाठकहरू धेरै प्रकारका हुने भएकोले पाठकको रूचिअनुसारको पुस्तकलाई प्रकाशनमा ल्याउने काम बुकहिल प्रकाशनले गर्दै आएको बताए । सधैँ एउटै खालको पुस्तक मात्रै छाप्नु पर्छ भन्नु छैन, उनले भने, ‘किनकी कहिलेकाहीँ ठूलो चाहना राखेको पुस्तक पनि सोचेजस्तो सफल नहुन सक्छ । अर्को कुरा व्यवसायिक फाइदाको हिसाबले मात्रै पुस्तक प्रकाशन गर्ने होइन ।
कतिपय पाठकहरू हल्ला र चर्चाको आधारमा मात्रै पुस्तक किन्ने र पढ्ने खालको हुने उनको बुझाइ छ । तर, बुकहिल प्रकाशनको लक्ष्य भनेको सबै पाठकसामु सबैखालको पुस्तक पुगोस् भन्ने चाहना हो, उनले भने । पुस्तकको माध्यमबाट लेखकले केही नयाँ चिज दिने प्रयास गरिएकोले नेपाली साहित्य फरक तरिकाले पनि लेख्न सकिन्छ भन्ने सन्देश दिलाउनका लागि पनि चुनौती मोलेरै 'पैताला' उपन्यासलाई प्रकाशनमा ल्याइएको प्रकाशक खड्काले बताए ।
तर, आख्यानकार गनेस पौडेलले विभिन्न स्थानको यात्रा र अध्ययनबाट उपन्यास लेखेको भनिए पनि नेपालका सबै स्थानमा पुग्न नसकेको पाठकहरूले टिप्पणी गरेका छन् । विगत केही समयदेखि भरतपुर बस्दै आएका कञ्चनपुर महेन्द्रनगरका पाठक विजय विकले पुस्तकभित्र नेपालका सबै भूभागलाई समेट्न नसकिएको बताए । त्यति मात्रै होइन, उनले पुस्तक प्रकाशन भएको एकहप्तामै अक्षर समूह चितवनले पाठकको अदालतमा उभ्याएर लेखकमाथि अन्याय गरेको आरोप लगाए । एकहप्तामा सबै पाठकको हातहातमा पुस्तक पुगेको हुँदैन, उनले भने, ‘पुस्तक हात परे पनि पढेर भ्याएको हुँदैन । त्यसैले केही समयपछि कार्यक्रमको आयोजना गरेको भए राम्रो हुन्थ्यो ।

0 Comment:

Post a Comment