Contact Form

Name

Email *

Message *

Saturday, July 19, 2014

गुडबाई गोर्डिमर


साहित्य केका लागि? यस्तो बेतुकको प्रश्नबाहेक अर्को कुनै सुनिन्न आजकाल। तर यही प्रश्नको सपाट र अविचल जवाफका खातिर चिनिन्छिन्, नादिन गोर्डिमर। जब साहित्यलाई समाज र देशका लागि, मानवता र न्यायका लागि, स्वतन्त्रता र समानताका लागि भनेर कुरा थालिन्छ, नादिनको नाम सिरानका कुनै ठाउँमा अवश्य हुन्छ।
साहित्यलाई समाजको ऐना भनियोस् या समाजलाई साहित्यको; यी दुवै कुरा सकुशल प्रमाणित हुन्छन् गोर्डिमारको लेखनीमा। उनका रचनामा द्वन्द्वोत्तर दक्षिण अफ्रिकाको नश्लवादी समाजको बर्बर तर यथार्थ चित्रण पाइन्छ, यसैले ती रचना समाजका ऐना भएका छन्। अनि लेखकले संघर्ष गरेर स्थापना गरेको नश्लवादहीन समतामूलक समाज बनेर आजको दक्षिण अफ्रिका उभिएको छ। यसैले समाज साहित्यको ऐना बनेर पनि देखिएको छ। कमै भाग्यमानी लेखकले आफ्नो समाजलाई साहित्यको ऐना बताउन सक्छन्।
मूलतः श्वेत भईकन पनि अश्वेतहरूको पक्षमा निरन्तर लागिरहेका कारण गोर्डिमरलाई विश्वले सदा सम्झन्छ। तथापि उनका रचनाले श्वेत–अश्वेतको द्वन्द्वभन्दा माथि उक्लेर राजनीतिले आक्रान्त पारिएका मान्छेहरूको सम्बन्ध र जीवनको द्वन्द्वलाई देखाएका छन्। उनका चार उपन्यास नश्लभेदी कानुनअन्तर्गत प्रतिबन्धित भए। तीमध्ये सर्वाधिक चर्चित हो, 'बर्गर्स डटर'।
सन् १९७४ देखि सन् १९७७ सम्मको राजनीतिक संघर्षको चित्रण यसमा छ। सोवाटोको विद्यार्थी आन्दोलन नै यसको केन्द्रीय विषय हो। जेलमै बितेका कम्युनिस्ट बाबुआमाकी छोरी रोजा अनि तिनीहरूको अश्वेत धर्मछोरा बासेइको बिछोड र दुःखद पुनर्मिलनको किस्सा पढ्दा पाठकले सत्तरीको दशकको दक्षिण अफ्रिकी इतिहास थाहा पाउँछन्।

कथाको उत्तरार्द्धमा पेरिसको प्राज्ञिक बर्नाडसँग पिरतीमा परेकी रोजा उसैसँग बस्न चाहन्थी। तर धर्मभाइ बासेइसँगको भेटले अर्कै मोड लिइदिन्छ। लन्डनको एक राजनीतिक सभामा भेट हुँदा उसले भन्छ, 'तिम्रो बाबु जेलमा मर्नु कुनै खास कुरा होइन किनकि कैंयौ अश्वेत मरेका छन्, त्यहाँ। हामीलाई तिम्रो सहयोगको खाँचो छैन।' बासेइले यसो भन्दा रोजाको चित्त कुँडिन्छ र ऊ देश फर्किन्छे। यो एक पहिचानमाथिको प्रश्न थियो, जसले रोजालाई अवसर र पिरतीको पेरिस छोडेर चुनौतीको मातृभूमितर्फ आकर्षित गर्छ।

सन् १९७६ मा विद्यार्थीहरूको आन्दोलनले फेरि उग्र रूप लिन्छ। केही गोराहरू मारिन्छन्। प्रतिकारमा उत्रेको सरकारले सयौंको हत्या गर्छ। १९७७ अक्टोबरमा सरकारविरोधी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लाग्छ। त्यसको एक महिनामा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टी, अफ्रिकन नेसनल कंग्रेस तथा विद्यार्थी आन्दोलनलाई सहयोग गरेको आरोपमा रोजा गिरफ्तार हुन्छे।

सन् १९७९ मा प्रकाशन भई एक महिनामै प्रतिबन्धमा परेको उनको सर्वाधिक चर्चित उपन्यास हो यो। कथाभरि रोजामा एकप्रकारको उच्चाटलाग्दो एकाकीपन देखिन्छ। आखिर एकाकीपन भनेको के हो? राजनीतिक घटनाहरूको गर्मिलो देशमा रोजाले एउटा चेतनाको साक्षात्कार गर्छे– एकाकीपनको वास्तविक परिचय भनेको 'सामाजिक उत्तरदायित्वविना बाँच्नु' हो।

सन् १९७० ताका दक्षिण अफ्रिकी नश्लभेद विरोधी आन्दोलनमा अनौठो प्रवृत्ति देखा पर्योक। अश्वेतहरूले उनकै लागि लडिरहेका गोराहरूलाई समेत आलोचनासहित इन्कार गर्न थाले। गोर्डिमर पनि यसको सिकार भइन्। उनलाई अश्वेत बौद्धिक जमान र सर्जकबाट नमिठो आलोचना आउन थाल्यो। 'श्वेत लेखकले कहिल्यै पनि आधिकारिक रूपमा अश्वेतको दृष्टिकोणबाट कथा भन्न सक्दैन' भन्ने उनीहरूको आरोप थियो। आफैंले समर्थन गरेका मान्छेका विरुद्ध लड्नु कम्ता चुनौतीपूर्ण हुँदैन। उनी अश्वेतहरूको अधिकार चाहन्थिन् तर अश्वेतहरू नै उनलाई आन्दोलनमा समावेश गर्न चाहँदैनथे। 'बर्गर्स डटर' यसैको आधारभूमिमा लेखिएको उपन्यास हो। यो सोवाटो विद्रोहको तीन वर्षपछि छापिएको थियो।
राजनीति र लेखनलाई सकुशल समानान्तर लैजान सक्नु गोर्डिमरको विशेषता हो। राजनीति र साहित्यको सम्बन्धबारे उनले भनेकी छन्, 'खुलमखुला सहभागी हुने वा छेउमा उभिएर हेर्ने? यही बीचको तनावले नै मान्छेलाई लेखक बनाउँछ। यहीबाट लेखकको जन्म हुन्छ।' सन् १९६० मार्च २१ मा सार्पेभाइलमा भएको नरसंहार तथा सोही वर्ष आफ्ना प्रिय मित्र बेट्टी डु टोइटको गिरफ्तारीपछि गोर्डिमरले रंगभेद विरोधी मोर्चामा सामेल भएकी थिइन्, कलमसहित।

उनका कथा पढ्दा लाग्छ जीवनका दुई रङमात्रै छन्– कालो र सेतो। यही कालो–सेतो द्वन्द्वको कथामा कतै अश्वेत सेता भएर देखा पर्छन् त कतै श्वेत पनि काला भएर अघि आउँछन्। 'मेरा कथामा गोराहरूको उपस्थिति ठिक त्यसैगरी हुन्छ, जसरी 'मान्छेहरू जंगलमा रूखहरूमाझ' रहन्छन्। रूखहरूको अस्तित्व त हुन्छ तर तिनीहरू मात्रै उपयोगका लागि हुन्छन्। प्रतिक्रियाहीन उभिनु अनि मान्छेहरूबाट काटिने प्रतीक्षा गर्नु नै सायद तिनको नियति हुन्छ।

उनका कथाहरू आतंकले भरिएका छन्। मध्यरातमा सुरक्षाकर्मीले घरको ढोका ढकढक्याउँदा पाठकको मुटुको धड्कन बढ्न सक्छ– त्यस्तो अद्भूत प्राकृतिक चित्रण। मानव अधिकार, नैतिकता, न्याय र स्वतन्त्रताजस्ता कुराको गन्धसमेत कतै पाइँदैन। जेलबाट भर्खर छुटेको राजनीतिक बन्दी क्षणमै पुनः गिरफ्तार हुन्छ। उन्मुक्ति एउटा छोटो भ्रमजस्तो भएर आउँछ। उनका कथा यसै कारण पनि विश्वव्यापी छन्। उनका कथा पढ्दा हामीलाई राणा, पञ्चायत वा १० वर्षे माओवादी विद्रोहकालीन अवस्थाको स्मरण हुन्छ। शासक, सुरक्षाकर्मी र जनताबीचको द्वन्द्वलाई वैयक्तिक छनक दिएर चरित्र निर्माण गर्न सक्नु गोर्डिमरको अर्को खुबी हो। समालोचकहरूले उनका समग्र कृतिलाई 'कुशलतापूर्वक चित्रित जीवन्त पात्रहरूको माध्यमबाट निर्मित सामाजिक इतिहास' भनेका छन्। 'म स्वभावत राजनीतिक व्यक्ति होइन। म दक्षिण अफ्रिकाबाहेक अन्त कतै बसेको भए मेरो लेखनीले राजनीतिलाई सायद विषयबस्तु बनाउँदैनथ्यो,' गोर्डिमरको भनाइ भने अलग प्रकारको छ।

'दया र सहानुभूतिले शासन परिवर्तन हुँदैन। यसका लागि कडा र ठोस हुनुपर्छ' भन्ने गोर्डिमर आफैं अफ्रिकन नेसनल कंग्रेसकी गोप्य सदस्य थिइन्। यसको खुलासा १९९० मा नेल्सन मन्डेला जेलमुक्त भएपछि मात्रै भयो। मन्डेलाका वकिलहरूसँग गोर्डिमरको सामीप्य थियो। उनले मन्डेलाको १९६१ को चर्चित भाषणको सम्पादनसमेत गरेकी थिइन्। उनी एकमात्र श्वेत महिला थिइन्, जसलाई मण्डेलाले जेलमुक्त हुनेबित्तिकै भेट्ने चाहना राखेका थिए।

मन्डेलाले जेलमा उनका धेरै किताब पढेका थिए। तिनताका अश्वेत लेखकका पूरैजसो किताब प्रतिबन्धित थिए। गोर्डिमरका केही किताबमात्रै प्रतिबन्धमा परेका थिए। एउटी श्वेत नागरिक भएको फाइदा उठाएर उनले विद्रोहीलाई धेरै सहयोग गरेकी थिइन्। सुरक्षाकर्मीको नजरबाट कार्यकर्तालाई लुकाउने, सूचना पुर्याैउने र अप्ठ्यारोमा उनीहरूलाई सीमापार पुर्याकउने काम गरेकी थिइन्, उनले। उनका उपन्यासमा यी सबै राजनीतिक घटना पाइन्छन्।

समालोचकहरू गोर्डिमरका कथामा उनको बाल्यकाल बगेको देख्छन्। उनका हरेक कथामा निस्पि्कक्री उड्न चाहने छोरीहरूको व्यथा पाइन्छ। जो तिनीहरूमाथि निजत्व जताउने अप्ठ्यारा आमाहरूबाट मुक्ति चाहन्छन्। छोरीहरूले अन्त्यमा यो अनुभव गर्छन् कि, वास्तवमै 'आमाको घर छोड्नु' भनेको 'श्वेत जातिको घर छोड्नु' हो। उनका हरेक कथामा उनकै जीवनको कुनै न कुनै प्रसंग हुबहु उतारिएको पाइन्छ। हरेक कथामा धेरथोर मिलाएर गोर्डिमरले आफ्नै कथा लेखेकी छन्। यसैले पनि उनले कहिल्यै आत्मकथा लेख्न जरुरी ठानिनन्। तथापि उनको पहिलो उपन्यास 'द लाइङ डेजु'लाई उनको आत्मकथात्मक उपन्यास भनिन्छ। एउटा ननफिक्सन नोवल। 'मैले बोलेका वा लेखेका कुनै पनि तथ्य कुरा त्यति सत्य छैनन् जति मेरा कथाहरू छन्,' एक अन्तर्वार्तामा उनले भनेकी छिन्।

यहुदी आप्रवासी बाआमाकी छोरी गोर्डिमरको जन्म दक्षिण अफ्रिकाको गाउतेङमा सन् १९२३ नोभेम्बर २० मा भएको थियो। बाबु इसिडोर गोर्डिमर लिथुआनियाबाट आएका थिए भने आमा बेलायतबाट। गोर्डिमरको बाल्यकाल चरम एकाकीपनमा बित्यो। उनका बाबुआमाको विवाह एक दुःखद सम्बन्ध थियो। बाबु लाचार थिए र छुट्टै बस्थे।

केटाकेटीमा गोर्डिमरको मुटुको धड्कन अलि चाँडो थियो। यसैले उनलाई नाच्न, पौडी खेल्न, दौडन मनाही थियो। यी तिनै काम गोर्डिमरका बालककालीन सोख थिए। रुचिहरूमाथिको सेन्सरसिपको अनुभव उनले बाल्यकालमै गरिन्। बिरामी भएकै कारण उनकी आमाले गोर्डिमरलाई स्कुल पठाउन छोडिन्। दिनभरि एक्लै घरमा बस्दा उनका साथी भनेकै किताब थिए। बिरामी भएका कारण गोर्डिमरलाई जाँच्न सधैंजसो डाक्टर बोलाइन्थ्यो। त्यो डाक्टर घन्टौं उनकी आमासँग लहसिएर बस्थ्यो। गोर्डिमरले पछि भनेकी छन्, 'मेरो रोग आमाको रोमान्सका लागि वरदान भएको थियो।'

उनका प्रतिबन्धित उपन्यास थिए, द वर्ल्ड अफ स्टेन्जरर्स, द लेट बुर्जुवा वर्ल्ड, बर्गर्स डटर र जुलिज पिपल। उनका केही रचना अति जातिवादी भएको आरोपमा लोकतन्त्रको उदयपछि पनि सेन्सरमा परेका थिए। सेन्सरसिपको अंकुशबाट धेरैपटक कोपिएकी उनले भनेकी छिन्, 'सेन्सरसिप तिनीहरूका लागि कहिल्यै खत्तम हुँदैन, जसले यसको अनुभव गरेको हुन्छ। यो कल्पनाशक्तिमा एउटा दाग हो जसको असर मान्छेमा सधैंको लागि जीवित हुन्छ।'

गेराल्ड ग्याभ्रोनसँग उनले २६ वर्षको उमेरमा बिहे गरिन् र एक छोरी जन्माइन्। तीन वर्षमै वैवाहिक सम्बन्ध टुंगिएपछि १९५२ मा दार्शनिक अन्र्स्ट क्यासिरेरका काकाको छोरा रेनहोल्ड एच. क्यासिरेरसँग गोर्डिमरले बिहे गरिन्। उनीहरूको एउटा छोरा भयो। क्यासिरेर सन् २००१ मा बिते।
१५ वर्षको उमेरमै अश्वेतहरूमाथिको विभेदले मन पोलेर कथा लेखेको बताउने गोर्डेमरलाई जोहानेसवर्गको एउटा किस्साले पहिलोपटक छोएको थियो। त्यहाँ कपडा पसलमा अश्वेतहरूलाई खरिद गर्नुपहिले छुनसमेत दिँइदैनथ्यो। कपडा आफूलाई मिले पनि नमिले पनि टाढाबाट हेरेरै खरिद गर्नुपर्थ्यो। उनकै घरकी नोकर्नीको कोठामा पनि पुलिसले छापा मारिरहन्थ्यो, कारण के भने अश्वेतहरूलाई घरमा मदिरा राख्न मनाही थियो।
गोर्डिमरका कथामा मान्छेका सम्बन्धहरूलाई कसरी राजनीतिले असर पारिरहेको हुन्छ भन्ने सूक्ष्म विश्लेषण पाइन्छ। सम्मान, समझ र सहकार्यबाट बाँचिरहेका जनताको जीवनमा राजनीति प्रवेश हुनेबित्तिकै सम्बन्धहरूको पुनर्व्याख्या हुन थाल्छ। नेपालको परिवेशका उनका कथाहरूको अर्थ गतिलो गरी खुल्छ। जातीयता, पहिचान र भूगोलको परिधिमा राजनीतिको लेपन लागेपछि हिजोसम्मको छिमेकी चाँडै दुस्मन भइसकेको हुन्छ। आखिर मान्छेको जीवन र त्यसले दिने मानवीय अर्थ राजनीतिकै सेरोफेरोबाट निर्देशित भएको हुन्छ। गोर्डिमरलाई थाहा थियो, उनको देशको चरित्रमा 'राजनीति नै चरित्र हो'। उनका कथाका पात्रको चरित्र बुझ्नका लागि हरेक व्यक्तिमा छिरेको राजनीतिलाई बुझ्नुपर्ने हुन्छ।
'जसरी एउटा माझीको जिन्दगी समुद्रको शक्तिमा निर्भर रहेको हुन्छ, ठिक त्यस्तै हुन्छन् लेखकका पात्रहरूको प्रस्तुति। समाजको दबाब र अवरोधको छालसँग जुधेर आफ्नो समयको घिनलाग्दा गोप्यताहरूलाई प्रस्ट बाहिर ल्याउनु नै कथाकारले गर्न सक्ने विद्रोह हो,' गोर्डिमरले नोबेल पुस्कार थाप्दा बोलेका पंक्ति हुन् यी, 'लेख्नु भनेको जीवन बुझ्नु हो। तर हामी जीवनभर काम गरेर एउटा सानो हिस्सामात्रै बुझ्न समर्थ हुन्छौं जीवनको।'

गोर्डिमार एउटा पूरापूर अनि चलायमान जीवन बाँच्ने महिला हुन्। दक्षिण अफ्रिका, जहाँ १० जनाले त नब्बेको दशकमा मात्रै नोबेल पुरस्कार पाएका थिए, त्यसमा ‘महिला लरेट' गोर्डिमरमात्रै हुन्। उनी हरेक जाति, धर्म, लिंग र रङका हजारौं दक्षिण अफ्रिकीहरूकी प्रतिनिधि पात्र हुन्; जसले आफ्नै ढंगले नश्लवादी कानुनको विरोध गरेकी थिइन्। उनका शब्दहरू सुन्दर छन्। उनका कथाहरूमा सामान्य तर मन छुने मानवताका किस्साले भरिएका छन्। उनले हरेक कथामा आफ्नो प्रतिबिम्ब छोडकी छन्– एउटी दयालु, केन्द्रिकृत, लयबद्ध अनि दृढ महिलाको प्रतिविम्ब।
न्युयोर्क टाइम्सको शोक आलेखमा प्रतिक्रिया जनाउँदै इटालीकी अनिता गुयेरा लेख्छिन्, 'यो छोटो समयमा हामीले माया एन्जेलो, नादिन गोर्डिमरलाई गुमायौं। जुलाई १३, आइतबारका दिन ९० वर्षको उमेरमा गोर्डिमरले संसार छोडिन्। दुवै उस्तै र एकै समयका लेखिका। एउटी अग्ली र फुस्रीकाली, अर्की होची अनि गोरी। तर तिनीहरू दुवैले समान संघर्षका खातिर बुलन्द आवाजमा बोले। म आशा गर्छु, जीवनपछि पनि उनीहरू स्वर्गको कुनै रेस्टुरेन्टमा कफी खाँदै गफ गरिरहून!' 

गुयेराको लिस्टमा एन्जेलो र गोर्डिमरमात्रै भए पनि मेरो लिस्टमा भने मार्खेज र खुसवन्त सिंह पनि छन्। यो वर्ष मेरा प्रिय लेखकहरू गुमाउने वर्ष भएर देखा पर्दै छ। गुडबाई गोर्डिमर!

Published at: 
http://archive.nagariknews.com/2016/nagarik-sanibar/story/21488.html

1 comment:

  1. The finest on-line Casino Game is a product of properly known|a extensively known} firm. To remove this problem and 퍼스트카지노 lengthy waits, on-line mobile casinos provide stay casino experiences to gamers. So, gamers can take pleasure in every kind of card and desk games in a stay environment without dressing up or waiting in traces. Poker is a globally popular family of card desk games you’ll find at most in-person and on-line casinos.

    ReplyDelete