Saturday, May 9, 2015
पैंताला दर्शन
प्रिय विपश्वी,
अघिल्लो चिठी लामो भएर रिसाएछौ । यो छोटो चिठीमा म समग्र दर्शन इतिहास भन्छु । योचाँहि छोटो हुने पक्का छ किन कि हाम्रो सभ्यताको पूरा कथा हाम्रो ज्यानभन्दा पनि ठूलो छैन । हाम्रो शरीर जत्रै मात्रै छ ।
टाउको दर्शन
एक जमानामा मान्छेलाई जीवनका र जगतका कुराहरु देखेर, सुनेर, सुँघेर, चाखेर र छामेर अचम्म लाग्थ्यो । आँखा, कान, नाक, जिब्रो र छालाबाट पाएको ज्ञानलाई मान्छेले विवेचना, तर्क र चिन्तनको माध्यमबाट बुझ्ने काम गथ्र्याे । बुद्ध, कृष्ण, महावीर, जैन, क्राइस्ट जस्ता मान्छेहरु यसैका परिणति थिए । हेराक्लिटस, प्लेटो, अरस्तु आदि सब तर्कले चलेका थिए । यो जमानमा टाउकोको जमाना थियो । मानव सभ्यतालाई टाउकोले लामो समय शासन ग¥यो ।
गर्धन दर्शन
त्यसपछि जेम्सवाटले पत्ता लगाएको वाष्पयन्त्रसँगै औद्योगिक क्रान्ति आयो । अति उत्पादनले बजार खोज्यो र बजार कब्जा गर्ने काममा उपनिवेशको निर्माण भयो । युरोपका शासक देशले संसारभर उपनिवेश फैलाए । जसले गर्दा कयौं युद्धहरु भए । गर्धन छिनालिए । नरसंहार भयो । मान्छे त्यो युगमा गर्धन र पाखुराले बाँच्यो । त्यो गर्धन र पाखुराको जमाना थियो ।
छाती दर्शन
पहिलो र दोस्रो विश्वयुद्धको त्रासदीपछि मान्छेलाई नैराश्यले छोप्यो । भावनाले गाँज्यो । मनावता, दया र करुणाले पागल बनायो । शून्यताको यो चरमवोधले मान्छेको जीवनलाई यसरी छोयो कि मान्छेको हृदय छियाछिया भयो । छाती चर्कियो । त्यो युग मुटुको युग थियो । छातीको युग थियो । हृदयको युग थियो ।
पेट दर्शन
शून्यबोधको सन्नाटाले ईश्वरमाथिको विश्वास हट्यो । उद्योगमा काम गर्ने मजदुर र खेतका काम गर्ने किसान भोकै थिए त्यो जमानामा । गरिबी र अभावको पीडालाई वैज्ञानिक अर्थ दिएर कार्ल माक्र्स भन्ने मान्छे जन्म्यो र उसैले सुरु ग¥यो भोकको राजनीति । खाली पेट र भरी पेटबीचको वर्गीय द्वन्द्वबाट जन्मिएको त्यो युग पेटको युग थियो ।
यौनाङ्ग दर्शन
पेटबाट होइन, संसार र मान्छेको चिन्तन यौनबाट सुरु हुन्छ भन्दै अर्काे महाशय जन्म्यो फ्रायड । उसको बिँडो थाम्यो कार्ल जुङले । यसले पृथ्वीको कला, साहित्य सिर्जनाको पूरै संरचना भत्काइदियो । मान्छेको अवचेतनतः यौनबाट निर्देशित हुन्छ । त्यो जमाना थियो यौनाङ्गको ।
खिचडी दर्शन
यसरी मान्छेले टाउकोबाट जीवनको अर्थ लगाउँदै तल ओर्लदै आयो र अन्तिममा यौनाङ्गमा रोकियो । अहिले मान्छेले उत्तर आधुनिक युगको फुइँ लगाउँछ । त्यो उत्तरआधुनिकता भनेको टाउको, गर्धन, छाती, पेट र यौनाङ्गको एकमुष्ठ रुपबाहेक केही होइन । म त्यसलाई युग नै मान्दिन ।
पैंताला दर्शन
प्रिय विपश्वी,
मलाई लाग्छ तिमी र म अहिले जुन युगमा छौं त्यो पैंतालाको युग हो । हाम्रो युगको दर्शन पैंताला दर्शन हो । पैंतालाको अर्थ यात्रा हुन्छ । संवाद, सञ्चार, सम्पर्क र सहभागिता हुन्छ । मान्छेमान्छे बीचको दूरी कम गर्नु हुन्छ । मान्छे निजातीय हुँदै गएको छ । जाति, भूगोल, धर्म, संस्कृति, परम्पराका कट्टरताहरु भत्किएका छन् । पृथ्वीको एक कुनोको मान्छे अर्को कुनोमा पुगेर करियर बनाएर बसेको छ । म नेपालमा बसेर अमेरिकाकी तिमीलाई यो पत्र लेख्दै छु ।
मान्छेले महासागर, मरुभूमि, महाजङ्गल वा वरफजमेको ध्रवीय क्षेत्र मात्रैमा आफ्नो पैंतालाको छाप छोडेन अन्तरिक्षका पिण्डहरुमा पनि छोड्यो । कोलम्बस पुग्नु पहिल्यै मान्छेको जाति अमेरिका पुगेको थियो । जेम्स कुक पुग्नु पहिल्यै मान्छेको अंश अष्टे«लिया पुगेको थियो । मान्छे मात्रै किन, समस्त चराचर त्यहाँ थिए ।
अहिलेका युग पर्टयन र सञ्चारको युग हो । आम सञ्चारमा आएको परिवर्तनले मान्छेको विभेदलाई स्वाट्टै हटाइदिएको छ । विज्ञान, विचार, व्यापार र राजनीतिलाई एक ठाउँमा उभ्याउने संचारको यो युग खासमा पैंतालाको युग हो ।
माफ गर प्रेममा म दर्शनको रनभुल्ल कुरा गर्दैछु । मान्छे जन्मजात स्यापियो सेक्सुअल हुन्छ । हेडोफिल हुन्छ ।
मान्छेको सम्यताको कथा कति छोटो भयो । वास्तवमा मान्छेको हजारौं वर्षको विचार, दर्शन र सभ्यताको कथा त उसकै शरीरको कथा पो रहेछ ।
तर पैंताला पछि मान्छे कहाँ जाला ?
आजलाई छुटेँ ।
http://www.nepalayanews.com/2015/04/%E0%A4%AA%E0%A5%88%E0%A4%82%E0%A4%A4%E0%A4%BE%E0%A4%B2%E0%A4%BE-%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%B6%E0%A4%A8/
परिवर्तन असत्य हो (नथिङ चेन्जेज, एभ्रिथिङ इज कन्स्ट्यान्ट)
परिवर्तन के हो ? उफ् ! आज एकाबिहानै बिस्ताराबाट नउठ्दै मेरो दिमागका आयो । साँच्चै परिवर्तन के हो ? ‘नो म्यान इभर स्टेप्स् इन त सेम रिभर ट्वाइस्,’ हेराक्लिटसले भनेको पुरानो वाक्य सम्झिएँ । थपेर सम्झेँ उसैको फेमस वाक्य— नोथिङ इज पर्मानेन्ट एक्सेप्ट चेन्ज ।
परिवर्तनलाई सत्य मान्ने काम हाम्रैतिरको बुद्धले पनि गरेकै हुन् । ध्यानको मुख्य सार नै वर्तमानमा अवस्थित हुनु हो । हामीभन्दा एक मिलिसेकेन्ड वा त्योभन्दा पनि कम समय अगाडिको समय भूतकाल हो । पछाडिको भविष्यकाल । अर्थात वर्तमान भनेको वास्तवमा समय नै होइन । यो त एउटा लकिर मात्रै हो । सानो धर्को अर्थात रेखा जसले भूत र भविष्यलाई विभाजन मात्रै गरेको हुन्छ ।
बुद्ध भन्छन् ः वर्तमानमा बाँच ।
अब यो हुँदै नहुने, हुँदै नभएको समयमा कसरी बाँच्ने ? तर यसको सारभूत कुरा के हो भने वर्तमान मात्रै यस्तो ठाउँ हो जहाँ संसारका सबकुरा रोकिन्छन् । स्थिर हुन्छन् । किन कि परिवर्तनले ‘समयको अवधि’ डिमान्ड गर्छ । एक अवस्थाबाट अर्को अवस्थामा गुज्रने अवधि । वर्तमानमा त्यस्तो अवधिको सुविधा हुँदैन । ‘ध्यानीहरु ध्यानमुद्रामैं हजारौं वर्ष बाँचिरहन सक्छन्’ भन्ने पूर्वीय मान्यताको जड यही हो । त्यहाँ ध्यानीका लागि समय रोकिन्छ ।
त्यही बुद्धले भने ः संसार दुःखपूर्ण छ । खै ! यो वाक्य मैले कहिल्यै पचाउन सकिन । मैले सदैव घोरिएर सोच्ने विषय नै यही हो ः संसार दुःखपूर्ण कसरी छ ? दुःख हुनु भनेको के हुनु हो ? अथवा के नहुनु हो ?
तर पनि दुःख त छ । दुख्ने काम नै दुःख हो । चाहे त्यो मन होस् या तन । तर मान्छेको शरिरका अरु आयाम पनि छन् । मन र तन जस्तै मस्तिष्क छ, चेतना छ, ऊर्जा छ । के ती पनि दुख्छन् ?
‘दुःख वा सुख भन्ने कुरा मान्छेका क्रियात्मक अवस्था हुन् ।’ मेरै दिमाग भित्रबाट एउटा बोल्यो । क्रियात्मक अवस्था अर्थात काम । अनि सोच्छु हामीले रमाइलो भन्ने गरेका कुराहरु साँच्चै सुख हुन् त ? खेल्नु, पढ्नु, खानु, पिउनु, घुम्नु, सेक्स गर्नु यस्ता कुरा सुख हुन्थे भने नखेल्नु, नपढ्नु, नपिउनु, सेक्स नगर्नु सब दुःख हुनुपर्ने ।
तर हामी जे कारणले दुःखी भइराखेका छौं त्यो सब नखेल्नु, नपिउनु, नखेल्नु होइन । सायद अर्कै छ । मान्छेको सभ्यताले दुःखलाई बिर्सनको लागि यति धेरै प्रपञ्चको र आविश्कार ग¥यो कि मान्छेले दुःखको कारणै बिर्सन थालिसक्यो । तर कारण नहुँदैमा दुःख नहुने होइन । जस्तो कि मृत्युको कारण थाहा नहुँदैनमा मृत्यु रोकिने गर्दैन ।
एउटा भन्छ, दुःख नै सत्य हो । अर्को भन्छ परिवर्तन नै सत्य हो । बिजगणितको समान्य फर्मुला हुन्थ्यो भने बराबरी तथ्य लगाएर भन्न सकिन्थ्यो दुःख नै परिवर्तन हो । परिवर्तन नै दुःख हो ।
उसो भए मान्छे किन परिवर्तन चाहन्छ ? थप दुःख पाउन ?
हेर्छु संसारका हरेक कुराहरु चलिरहेका छन् । हावा, पानी चलेका छन् । आकाशमा पिण्ड पिण्डहरु तमासले दौडिरहेका छन् । सबैकुरा दौडिएका छन् । यो परिवर्तन अर्थात चेन्ज हो या स्थान्तरण अर्थात डिस्प्लेस्मन्ट हो भन्न सकिन्न । परिवर्तन आन्तरिक बदलाव हो । स्थान्तरण पोजिसनल बदलाब ।
हेराक्लिटसले दिएको खोलाको उपमा डिस्प्लेसमन्ट हो कि चेन्ज ?
गौर गरेर हेर्छु पदार्थको सानो अंश परमाणुदेखि ठुलो अंश आकाशिय पिण्डहरु गोल गोल छन् । पृथ्वी पनि घुमिरहेकै छ । एउटा वृत्तमा दौडिरहेको खेलौना ट्रेनजस्तै । संसारका हरेक कुरा दौडेको देख्छु म, गोलाकार घेरोमा । के यो परिवर्तन हो ?
गौर गरेर हेरौं, परिवर्तन समय र वस्तुको सापेक्ष हुन्छ । तर सारा विश्व बह्माण्डलाई नै एक मानेर सोचौं त ! संसारमा जब एउटा मात्रै कुरा हुन्छ के त्यहाँ परिवर्तन हुन्छ ?
Twitter@ganesspaduel
http://www.nepalayanews.com/2015/04/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%A8-%E0%A4%85%E0%A4%B8%E0%A4%A4%E0%A5%8D%E0%A4%AF-%E0%A4%B9%E0%A5%8B/
साइवर अर्गाजम !
प्रिय विपश्वी,
तिम्रो नाम कसैसँग मिल्न गएमा यो फोनेटिक रिजेम्ब्लेन्स मात्रै हो । यो कुरा तिमीलाई पनि थाहा छ । वास्तवमा विपश्वी भन्ने नामको मिथिकल रिजेम्ब्लेन्स के हुन्छ पनि अत्तोपत्तो छैन मलाई । त्यो कुरा पनि तिमीलाई थाहा छ ।
काल जमानामा चित्तौढगढबाट उठिबास भएको बुद्धको जन्मथलोलाई फन्को मारेर म धुलाम्य हावाको सहर बटौलीमा छु । बुटवल आउँदा मलाई धेरै कुराको एकसाथ याद आउँछ । सुगौली सन्धिको कथा पढ्दा आजै पुगूँपुगूँ लाग्ने सहर थियो यो । तर आज यतिखेर कतिबेला भागूँ भागूँ भएको छ । दुई वर्ष पहिले आउँदा पनि यो सहरको सडक निर्माणकै क्रममा थियो । अहिले पनि उस्तै रहेछ ।
आजको बास यतै हुन्छ । झ्यालका अक्केराबाट पसेका केही फुर्का धुलोको गन्ध छ कोठामा पनि । एसी छ । चलाएर फेर्न सक्छु केही सुर्का धुलोविहीन स्वास । आजको रात रिसस्सिटेसन जस्तो कृत्रिम स्वासप्रस्वासमा सुत्छु ।
जिन्दगीलाई यात्रा मानेर गन्तव्यतर्फ डोर्याउने रहर मलाई कहिल्यै लागेन । तर यसलाई भगाएर कहाँसम्म पु¥याउन सकिन्छ भन्ने उत्सुकता भने मलाई सधँै रह्यो । मैले जिन्दगीका केही आयाम भागेर यो मणिमुकुन्दको इतिहासभूमि बुटवलमा आएको छु । मान्छे आफू भाग्छ, अरुलाई भगाउँछ । मेरो हकमा उल्टो हुँदै आएको छ । आफूलाई सधैं भगाइराख्छु म । अरुलाई भाग्छु ।
जिन्दगीलाई यात्रा मान्ने तर कहीँ नपुग्नेमध्येको मान्छे हुँ म । ठाममा पुग्नेहरु पनि मैले देखेको छु । तिमीजस्तै मैले भन्दा पहिले समुद्रमाथि उड्ने पनि देखेको छु । मैलेभन्दा पहिले मरुभूमिको बालुवा लमतन्न सुत्ने पनि देखेको छु । मैले तमाम मान्छे देखेको छु जसले मैले भन्दा पहिल्यै सब काम गरिसहेका छन् ।
सायद पहिलोपटक गर्ने गरी मेरो हकमा गतिला कामहरु छैनन् । वा ती कामहरु हुनै पर्ने गतिला कारणहरु छैनन् । मसँग सब कुरा छन् तर कुनै प्रतीक्षा छैनन् । जीवनमा जब प्रतीक्षाकै प्रतीक्षा हुन्छ, त्योभन्दा अत्यासको अवस्थामा कोही हुँदैन रहेछ । प्रतीक्षाको अन्त्य हुनु वा प्रतीक्षाविहीन हुनु भनेको तृप्त हुनु होइन रहेछ । शान्त हुनु होइन रहेछ । बुद्ध हुनु होइन रहेछ । म बुद्धभूमिबाट भर्खरै झन दुर्बुद्धे भएर फर्केको छु ।
प्रिया विपश्वी,
तिमी विदेश लाग्यौ भन्ने सुनेका दिन मेरो मन खुर्खुरे भएको थियो । सोच्न सकेको थिइनँ कि तिमी मात्र मेरो सपनाको पात्र हौ । त्यस दिन सपनामा तिमी आएनौ । बोइङ नाम गरेको बडेमानको जहाज आयो । त्यसैमामा हुइँकिएर जाँदैछांै भन्ने आभास भएथ्यो मलाई । सपनामा मैले रामायणको हनुमान पनि देखेका थिए । हनुमान तिमी जस्तै थियो । तिमीले जीवनको लामो यात्रालाई यसरी फिडिक्क फिड्किदियौं तिमीलाई हनुमानको स्वरुपमा देख्नु स्वभाविक जस्तै थियो ।
प्रिय विपश्वी, किन किन तिमीलाई पटके सम्बोधन गरेर लेख्न मन लागिरहेछ । म तिमीलाई पहिलो पत्र देख्दैछु । हुलाक घरकै ठेगाना हराइसकेको यो बेलामा तिमीसम्म चिठी पुग्ला नपुग्ला म यकिन छैन । हुलाकीकै पनि ठामठेगान गुमनाम छ । हुन त सबै चिठीको ठेगान पनि त हुँदैन । मान्छैकै ठेगान नहुने जमानामा चिठीको ठेगान हुनै पर्ने भन्ने पनि त छैन । मान्छे पनि भर्चुअल छ अचेल । भर्चुअल ठेगानामा बस्छ, भर्चुअल ठेगाना दिन्छ ः सेन नम्बर, फेसबुक आइडी, ट्विटर ह्यान्डल वा जिमेल एकाउन्ट । तिम्रो त मलाई भर्चुअल ठेगानाको पनि अत्तो पत्तो छैन ।
एउटा कुरा भन्छु । कुनै जमाना म पढाउँथे । एकजना नानी थिइन । मैले बिहे नगर्दैको कुरा हो त्यो । अलिक लजालु थिइन । कसैसँग बोल्दिनथिन् । धेरै पछि उनलाई भेटेँ । उनको अनिबानी उस्ताको उस्तै रहेछ । मान्छेको आनिबानी, स्वभाव वा शरीर परिवर्तन नभएको पाउँदा त्यत्तिकै अचम्म लाग्दो रहेछ जति ती सब कुरा परिवर्तन भएको पाउँदा । ‘तिमी त जस्ताको जस्तै छौ बा !’ भन्नु र ‘तिमी त पूरै चेन्ज भएछौ !’ भन्नुका बिच खासको भिन्नता छैन ।
आश्चर्यको अर्थ परिवर्तन होइन । आश्चर्यको अर्थ जस्ताको तस्तै हुनु पनि होइन । मान्छेले आश्यर्च शब्दलाई पूरै आश्चर्यजनक रुपमा निकम्मा बनाइदिएको छ ।
हो, ती नानी जस्ताको तस्तै थिइन । सर नमस्ते भनेर तिनी टाप कसिन् । केही बोलिनन् । बरु छुट्ने बेलामा ‘फेसबुकमा एड गर्नु है !’ भन्न भ्याइन । बेलुका रिक्वेस्ट पठाइन । मैले एसेप्ट गरेँ ।
बेलुका अनलाइनमा आइन र पूरै बोलेको बोल्यै गरिन । आजकाल पनि उनको रुप त्यस्तै छ ।
बाटोमा भेट्दा नबोल्नेहरु फेसबुकमा झ्याम्मिएर कुरा गर्छन मसँग । मान्छेलाई अभिव्यक्तिको डिजिटल लत यस्तो अबस्थामा लागेको छ कि यिनीहरु जीवनमा कम स्क्रिनमा ज्यादा सग्ला खुलेका देखिन्छन् ।
भेट हुनु भनेको अनलाइन हुनु भएको छ । अनलाइन भेटमै ऊ पार्टनरलाई स्क्रिनमा सुताउँछ र साइबर सेक्समा इलेक्ट्रोनिक अर्गाजम प्राप्त गर्छ । बबुरोलाई पत्तो समेत हुँदैन, उसको सेक्स पार्टनर फेक आइडीवाला सेम सेक्स हो वा अपोजिट ।
साइबर सेक्सको सौन्दर्य नै यही हो । फेसबुका भित्तामा गरेका शब्दको संवेदना महसुस गरेर अर्गाजम प्राप्त गर्छ अचेलको पुस्ता ।
फेसबुक र ट्विटरजस्ता साइटहरु मलाई एन्टिसोसल साइट लाग्छन् । मान्छेले बनाएका अभिव्यक्तिका तमाम पर्खालहरु त्यहाँ भत्किन्छन् ।
प्रिय विपश्वी, फेरि पनि मेरो केही गुनासो छैन…। मलाई त तिम्रो सोसल साइटको एड्रेस पनि थाहा छैन । तथापि म यो चिठी लेख्दैछु ।
मलाई त यो पनि थाहा छैन विपश्वी नाम गरेको वा गरेकी तिमी अस्तित्वमा पनि छौ या छैनौं ।
नाथे अस्तित्व भन्ने कुरा एउटा एकाउन्ट त हो नि । एक क्लिकमा कसैले खोलिदिन सक्छ ।
म त यस्तै छु । बोरिङ बोरिङ कुरा गर्छु । बहकिन्छु । नरिसाऊ म प्रसंग चेन्ज गर्छु ।
एकदिन तिमीले मलाई सपना सोधेका÷सोधेकी थियौ ः तपाईले कहिल्यै गोप्य काम गर्नु भा’छ ?
गोप्य ? यस्तो त नगर्ने पनि कोही हुन्छ र ?
यस्तो गोप्य कि कसैले त्यसको बारेमा थाहा पायो भने तपाईको पुरै परिचय नष्ट होस् । त्यस्तो गोप्य काम गर्नुभा’छ ?
म चुप बसेँ । मौनता स्वीकृतिको लक्षण हो नै भने पनि यस्ता प्रश्नको उत्तर दिँदा वा नदिँदा बराबर आश्चर्य बोध हुन्छ । वा आश्चर्य नै हुँदैन ।
सपनामा तिमी खित्का छोडेर हाँस्यौ । ‘तिमीले उत्तर दिनु पर्दैन नदेऊ । डराउनु पर्दैन । तर म घोषणा गर्छु मैले गरेको छु । मैले यस्ता धेरै काम गरेको छु । मान्छे बास्तबमा परिचय निर्माण गर्नमा होइन परिचय लुकाउनमा बढी समय खर्चने प्राणी हो ।’
प्रिय विपश्वी,
यही सपनाको इम्रेसनका आधारमा तिम्रो इमेज बनाएको हुँ मैले । तिम्रो इमेज तलमाथि परेको भए माफ गर । जापानी कवि बाशोको एक हाइकुका साथ म छुट्टिन्छु ः
थोत्रो पोखरी
भ्यागुतो उफ्रन्छ नै
आदिम शान्ति
Twitter@ganesspaudel
http://www.nepalayanews.com/2015/03/%E0%A4%8F%E0%A4%A8%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%B8%E0%A5%8B%E0%A4%B8%E0%A4%B2-%E0%A4%AE%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%AC%E0%A4%B0/
तिम्रो एउटा गीत
सन्नाटा भन्दा शान्त आँखा,
आँधिभन्दा अशान्त मौनता
वा यस्तै केही अमिल्दा सत्यहरूले घेरिएर
जंगलको कुनै मध्यभागतिर
मान्छेहरूले कुल्चँदा कुच्चँदा
घाँस मरेर बनेको धर्के बाटोमा
गीत गाउँदै हिडिरहेको बेला एकलै एकलै
अकस्मात रोकिछ कुनै
युवतीले आफ्नोे गीत भने
बुझ्नू
म त्यही गीत हुँ ।
त्यो गीत
उदास उदास भौंतारिएको
लास्ज्लो ज्याभोरको ग्लुमी सन्डे हुनसक्थ्यो ।
वा कुहिरोले धप्प ढाकिएको बार्दलीबाट
तप्किएर खसेको अरुणा लामाको
‘पोहोर साल खुसी फाट्दा’ पनि हुन सक्थ्यो ।
वा हुन सक्थ्यो निक केभको
वन्स देयर केम अ स्टोर्म इन द फर्म अफ् अ गर्ल ।
म त एउटा गीत न हुँ प्रिय
उदास भएकै हुनाले मलाई मीठो मान्छन् मान्छे ।
पहाडको कुनै घनघोर अक्केराबाट
बर्षौ अड्किएर बसेको पथ्थरको पिँधबाट
चिहान भन्दा गहिरो पिडाको गीत
गाएछ कसैले भने बुझ्नू
त्यो आवाज म नै हुँ प्रिय,
जो अझै प्रतिक्षामा छ
एउटा उत्खननको ।
आखिर ज्यूँदो मान्छेलाई कतिन्जेल पुरिरहन्छ्यौ प्रिय ?
म निक्कै चिसो परिसकेको छु प्रिय,
कालापथ्थरको सिरेटोभन्दा पनि चिसो ।
प्रेमको सघन शैय्यामा
मृत्यु र जीवनमध्ये केमा छु भन्ने स्पष्ट दोधारमा
सास धानिरहेको रहेको बखत जेनतेन जेनतेन
मेरा कानका लोतीमा केही सल्बलायो भने
वा मेरा फुस्रिएका कपालमा,
घामका दानाजस्तै पोखियो भने कुनै प्रयास
मलाई थाह हुन्छ तत्काल
ती तिम्रा औँलाहरू हुन् ।
त्यती बेला तिमीले सुन्नु पर्छ
मेरो धड्कनको डिलबाट तप्किरहेको हुनेछ
बतासको आँसु झैँ एउटा धुन
मात्र तिम्रा लागि --
द स्ट्रीट आर गेटिङ कोल्डर
एन्ड आइ एम ग्रोइङ वोल्डर
टुमरो सिम्स सो फार अवे ...