Contact Form

Name

Email *

Message *

Saturday, May 9, 2015

साइवर अर्गाजम !


प्रिय विपश्वी,
तिम्रो नाम कसैसँग मिल्न गएमा यो फोनेटिक रिजेम्ब्लेन्स मात्रै हो । यो कुरा तिमीलाई पनि थाहा छ । वास्तवमा विपश्वी भन्ने नामको मिथिकल रिजेम्ब्लेन्स के हुन्छ पनि अत्तोपत्तो छैन मलाई । त्यो कुरा पनि तिमीलाई थाहा छ ।
काल जमानामा चित्तौढगढबाट उठिबास भएको बुद्धको जन्मथलोलाई फन्को मारेर म धुलाम्य हावाको सहर बटौलीमा छु । बुटवल आउँदा मलाई धेरै कुराको एकसाथ याद आउँछ । सुगौली सन्धिको कथा पढ्दा आजै पुगूँपुगूँ लाग्ने सहर थियो यो । तर आज यतिखेर कतिबेला भागूँ भागूँ भएको छ । दुई वर्ष पहिले आउँदा पनि यो सहरको सडक निर्माणकै क्रममा थियो । अहिले पनि उस्तै रहेछ ।
आजको बास यतै हुन्छ । झ्यालका अक्केराबाट पसेका केही फुर्का धुलोको गन्ध छ कोठामा पनि । एसी छ । चलाएर फेर्न सक्छु केही सुर्का धुलोविहीन स्वास । आजको रात रिसस्सिटेसन जस्तो कृत्रिम स्वासप्रस्वासमा सुत्छु ।
जिन्दगीलाई यात्रा मानेर गन्तव्यतर्फ डोर्याउने रहर मलाई कहिल्यै लागेन । तर यसलाई भगाएर कहाँसम्म पु¥याउन सकिन्छ भन्ने उत्सुकता भने मलाई सधँै रह्यो । मैले जिन्दगीका केही आयाम भागेर यो मणिमुकुन्दको इतिहासभूमि बुटवलमा आएको छु । मान्छे आफू भाग्छ, अरुलाई भगाउँछ । मेरो हकमा उल्टो हुँदै आएको छ । आफूलाई सधैं भगाइराख्छु म । अरुलाई भाग्छु ।
जिन्दगीलाई यात्रा मान्ने तर कहीँ नपुग्नेमध्येको मान्छे हुँ म । ठाममा पुग्नेहरु पनि मैले देखेको छु । तिमीजस्तै मैले भन्दा पहिले समुद्रमाथि उड्ने पनि देखेको छु । मैलेभन्दा पहिले मरुभूमिको बालुवा लमतन्न सुत्ने पनि देखेको छु । मैले तमाम मान्छे देखेको छु जसले मैले भन्दा पहिल्यै सब काम गरिसहेका छन् ।
सायद पहिलोपटक गर्ने गरी मेरो हकमा गतिला कामहरु छैनन् । वा ती कामहरु हुनै पर्ने गतिला कारणहरु छैनन् । मसँग सब कुरा छन् तर कुनै प्रतीक्षा छैनन् । जीवनमा जब प्रतीक्षाकै प्रतीक्षा हुन्छ, त्योभन्दा अत्यासको अवस्थामा कोही हुँदैन रहेछ । प्रतीक्षाको अन्त्य हुनु वा प्रतीक्षाविहीन हुनु भनेको तृप्त हुनु होइन रहेछ । शान्त हुनु होइन रहेछ । बुद्ध हुनु होइन रहेछ । म बुद्धभूमिबाट भर्खरै झन दुर्बुद्धे भएर फर्केको छु ।
प्रिया विपश्वी,
तिमी विदेश लाग्यौ भन्ने सुनेका दिन मेरो मन खुर्खुरे भएको थियो । सोच्न सकेको थिइनँ कि तिमी मात्र मेरो सपनाको पात्र हौ । त्यस दिन सपनामा तिमी आएनौ । बोइङ नाम गरेको बडेमानको जहाज आयो । त्यसैमामा हुइँकिएर जाँदैछांै भन्ने आभास भएथ्यो मलाई । सपनामा मैले रामायणको हनुमान पनि देखेका थिए । हनुमान तिमी जस्तै थियो । तिमीले जीवनको लामो यात्रालाई यसरी फिडिक्क फिड्किदियौं तिमीलाई हनुमानको स्वरुपमा देख्नु स्वभाविक जस्तै थियो ।
प्रिय विपश्वी, किन किन तिमीलाई पटके सम्बोधन गरेर लेख्न मन लागिरहेछ । म तिमीलाई पहिलो पत्र देख्दैछु । हुलाक घरकै ठेगाना हराइसकेको यो बेलामा तिमीसम्म चिठी पुग्ला नपुग्ला म यकिन छैन । हुलाकीकै पनि ठामठेगान गुमनाम छ । हुन त सबै चिठीको ठेगान पनि त हुँदैन । मान्छैकै ठेगान नहुने जमानामा चिठीको ठेगान हुनै पर्ने भन्ने पनि त छैन । मान्छे पनि भर्चुअल छ अचेल । भर्चुअल ठेगानामा बस्छ, भर्चुअल ठेगाना दिन्छ ः सेन नम्बर, फेसबुक आइडी, ट्विटर ह्यान्डल वा जिमेल एकाउन्ट । तिम्रो त मलाई भर्चुअल ठेगानाको पनि अत्तो पत्तो छैन ।
एउटा कुरा भन्छु । कुनै जमाना म पढाउँथे । एकजना नानी थिइन । मैले बिहे नगर्दैको कुरा हो त्यो । अलिक लजालु थिइन । कसैसँग बोल्दिनथिन् । धेरै पछि उनलाई भेटेँ । उनको अनिबानी उस्ताको उस्तै रहेछ । मान्छेको आनिबानी, स्वभाव वा शरीर परिवर्तन नभएको पाउँदा त्यत्तिकै अचम्म लाग्दो रहेछ जति ती सब कुरा परिवर्तन भएको पाउँदा । ‘तिमी त जस्ताको जस्तै छौ बा !’ भन्नु र ‘तिमी त पूरै चेन्ज भएछौ !’ भन्नुका बिच खासको भिन्नता छैन ।
आश्चर्यको अर्थ परिवर्तन होइन । आश्चर्यको अर्थ जस्ताको तस्तै हुनु पनि होइन । मान्छेले आश्यर्च शब्दलाई पूरै आश्चर्यजनक रुपमा निकम्मा बनाइदिएको छ ।
हो, ती नानी जस्ताको तस्तै थिइन । सर नमस्ते भनेर तिनी टाप कसिन् । केही बोलिनन् । बरु छुट्ने बेलामा ‘फेसबुकमा एड गर्नु है !’ भन्न भ्याइन । बेलुका रिक्वेस्ट पठाइन । मैले एसेप्ट गरेँ ।
बेलुका अनलाइनमा आइन र पूरै बोलेको बोल्यै गरिन । आजकाल पनि उनको रुप त्यस्तै छ ।
बाटोमा भेट्दा नबोल्नेहरु फेसबुकमा झ्याम्मिएर कुरा गर्छन मसँग । मान्छेलाई अभिव्यक्तिको डिजिटल लत यस्तो अबस्थामा लागेको छ कि यिनीहरु जीवनमा कम स्क्रिनमा ज्यादा सग्ला खुलेका देखिन्छन् ।
भेट हुनु भनेको अनलाइन हुनु भएको छ । अनलाइन भेटमै ऊ पार्टनरलाई स्क्रिनमा सुताउँछ र साइबर सेक्समा इलेक्ट्रोनिक अर्गाजम प्राप्त गर्छ । बबुरोलाई पत्तो समेत हुँदैन, उसको सेक्स पार्टनर फेक आइडीवाला सेम सेक्स हो वा अपोजिट ।
साइबर सेक्सको सौन्दर्य नै यही हो । फेसबुका भित्तामा गरेका शब्दको संवेदना महसुस गरेर अर्गाजम प्राप्त गर्छ अचेलको पुस्ता ।
फेसबुक र ट्विटरजस्ता साइटहरु मलाई एन्टिसोसल साइट लाग्छन् । मान्छेले बनाएका अभिव्यक्तिका तमाम पर्खालहरु त्यहाँ भत्किन्छन् ।
प्रिय विपश्वी, फेरि पनि मेरो केही गुनासो छैन…। मलाई त तिम्रो सोसल साइटको एड्रेस पनि थाहा छैन । तथापि म यो चिठी लेख्दैछु ।
मलाई त यो पनि थाहा छैन विपश्वी नाम गरेको वा गरेकी तिमी अस्तित्वमा पनि छौ या छैनौं ।
नाथे अस्तित्व भन्ने कुरा एउटा एकाउन्ट त हो नि । एक क्लिकमा कसैले खोलिदिन सक्छ ।
म त यस्तै छु । बोरिङ बोरिङ कुरा गर्छु । बहकिन्छु । नरिसाऊ म प्रसंग चेन्ज गर्छु ।
एकदिन तिमीले मलाई सपना सोधेका÷सोधेकी थियौ ः तपाईले कहिल्यै गोप्य काम गर्नु भा’छ ?
गोप्य ? यस्तो त नगर्ने पनि कोही हुन्छ र ?
यस्तो गोप्य कि कसैले त्यसको बारेमा थाहा पायो भने तपाईको पुरै परिचय नष्ट होस् । त्यस्तो गोप्य काम गर्नुभा’छ ?
म चुप बसेँ । मौनता स्वीकृतिको लक्षण हो नै भने पनि यस्ता प्रश्नको उत्तर दिँदा वा नदिँदा बराबर आश्चर्य बोध हुन्छ । वा आश्चर्य नै हुँदैन ।
सपनामा तिमी खित्का छोडेर हाँस्यौ । ‘तिमीले उत्तर दिनु पर्दैन नदेऊ । डराउनु पर्दैन । तर म घोषणा गर्छु मैले गरेको छु । मैले यस्ता धेरै काम गरेको छु । मान्छे बास्तबमा परिचय निर्माण गर्नमा होइन परिचय लुकाउनमा बढी समय खर्चने प्राणी हो ।’
प्रिय विपश्वी,
यही सपनाको इम्रेसनका आधारमा तिम्रो इमेज बनाएको हुँ मैले । तिम्रो इमेज तलमाथि परेको भए माफ गर । जापानी कवि बाशोको एक हाइकुका साथ म छुट्टिन्छु ः
थोत्रो पोखरी
भ्यागुतो उफ्रन्छ नै
आदिम शान्ति
Twitter@ganesspaudel
http://www.nepalayanews.com/2015/03/%E0%A4%8F%E0%A4%A8%E0%A5%8D%E0%A4%9F%E0%A4%BF%E0%A4%B8%E0%A5%8B%E0%A4%B8%E0%A4%B2-%E0%A4%AE%E0%A4%BF%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%B8%E0%A4%BE%E0%A4%87%E0%A4%AC%E0%A4%B0/ 

0 Comment:

Post a Comment