Contact Form

Name

Email *

Message *

Wednesday, August 22, 2018

पोखरा विमानस्थलका लागि थप जग्गा अधिग्रहण हुँदैन– पर्यटनमन्त्री अधिकारी, विमानस्थल टर्मिनल भवनको शिलान्यास

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप जग्गा अधिग्रहण नगर्ने स्पष्ट पार्नुभएको छ । बुधबार निर्माणाधीन विमानस्थलमा टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले विमानस्थलका लागि थप जग्गा आवश्यक नपर्ने भएकाले ढुक्क हुन पोखराबासीलाई आग्रह गर्नुभयो ।
विमानस्थल निर्माणका लागि अव जग्गा अधिग्रहण नगरिने उल्लेख गर्दै मन्त्री अधिकारीले अनावश्यकरुपमा हल्ला नफिजाउन उहाँले सरोकारवालाहरुलाई आग्रह गर्नुभएको हो । मन्त्री अधिकारीले रन वे का लागि थप जग्गा आवश्यक नभएको समेत वताउनुभएको छ । पोखराको भौगोलिक अवस्था अनुसार १९२ देखि २०० सिट क्षमताको जहाज मात्र उड्ने र त्यसका लागि अहिलेको २ हजार ५ सय मिटरको रन वे नै पर्याप्त हुने मन्त्री अधिकारीको भनाइ थियो । रन वे बढाउँदैमा विमानस्थलको क्षमता नबढ्ने अधिकारीले स्पष्ट पार्नुभयो । विज्ञले भन्दैमा आत्तिइहाल्न नपर्ने बताउँदै उहाँले रन वे बढाउने कुनै योजना नभएको उल्लेख गर्नुभयो ।
विमानस्थलका लागि पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा अधिग्रहण गर्ने हल्ला चलिरहँदा मन्त्री अधिकारीले अब कुनै पनि कामका लागि तत्काल जग्गा अधिग्रहण गर्न आवश्यक नरहेको वताउनुभएको हो । उहाँले पेट्रोल भण्डारण र हृयांगरका लागि जग्गा चाहिए अहिले विमानस्थलभित्रै बनाउन सकिने र थप जग्गा चाहिए स्थानीयलाई चित्त बुझाएर खरिद गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिनुभएको छ ।
यसैवीच, निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निर्माण कार्यको शिलान्यास गरिएको छ । टर्मिनल भवनको पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बुधबार शिलान्यास गर्नुभएको हो । शिलान्यास गरिएको सो टर्मिनल भवन मिड जुलाई २०२० सम्ममा निर्माण सक्ने विमानस्थल निर्माण कम्पनी सिएएमसीले जनाएको छ । कम्पनीका अनुसार कुल १४ हजार वर्ग मिटरको टर्मिनल भवन बन्नेछ । टर्मिनल भवन अन्तर्राष्ट्रिय उडानका लागि ८ हजार र आन्तरिक उडानका लागि ६ हजार वर्गमिटरकोे क्षेत्रफलमा निर्माण गरिने जनाईएको छ ।
आगामी असोज महिनादेखि विमानस्थलको रन वे को निर्माण कार्य शुरु गरिने भएको छ । सन् २०१९ को जुन वा जुलाई सम्ममा रन वे निर्माण सम्पन्न हुने मन्त्री अधिकारीले वताउनुभयो । सन् २०१९ बाटै उक्त रन वे लाई आकस्मिक अवतरणको लागि सञ्चालनमा ल्याईने जनाईएको छ । मन्त्री अधिकारीले पोखरा विमानस्थलको काम अत्यन्तै तीब्र गतिमा संचालन भइरहेको भन्दै सम्झौता अनुसार सन् २०२१ सम्ममा पूर्ण रुपमा सञ्चालनमा आउने दाबी गर्नुभयो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक ५ लाखले हवाई यात्रा गर्नसक्ने छन् । तर, यो दैनिक १२ घण्टाको दरले मात्र हो । चौबिसै घण्टा खुल्ला गर्ने हो भने यो ठ्याक्कै दोब्बर क्षमताको हुनेछ ।
Published at: 

0 Comment:

Post a Comment