Contact Form

Name

Email *

Message *

Wednesday, August 22, 2018

जग्गा अधिग्रहण हुँदैनः मन्त्री अधिकारी

दीननाथ बराल

पोखरा-पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पुनः थप जग्गा अधिग्रहण नहुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले निर्माणाधीन अबस्थामा रहेको पोखरा विमानस्थलको बुधबार अध्ययन अवलोकन गर्दै पोखरा विमानस्थलको लागि थप जग्गा अधिग्रहण नहुने बताएका हुन् ।
उनले भने, “पोखराको विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण भइसक्यो तर थप केही पूर्वाधार निर्माणका लागि जग्गा आवश्यक परेमा हामीसँग भएको जग्गाबाटै हामीले व्यास्थापन गर्नुपर्छ अन्यथा स्थानीय जनतासँगको सहकार्यमा विकल्पको जग्गा पनि उचित मुआब्जासहित लिन सकिन्छ ।” केही दिनअघि स्थानीयहरूलाई प्रभाव पार्ने गरी पोखरा विमानस्थलको जग्गा अधिग्रहण गर्ने कुरा केही सञ्चार माध्यमहरूमा बाहिर आए पनि आफूहरूले जनभावनाविपरीत अब अघि बढ्न नसक्ने अवस्था रहेकाले जग्गा अधिग्रहण गर्न नपर्ने उनको भनाइ थियो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले इन्दनको स्टोरेज र ह्याङगरको लागि भन्दै करिब ५ सय रोपनी जग्गा अधिग्रहणको तयारी गरेको भन्ने समाचार केही सञ्चार माध्यममा बाहिर आएसँगै स्थानीयहरू आन्दोलिन भएका थिए ।
पोखरा विमानस्थल तोकिएकै समय सन् २०२१ जुलाई भित्र सक्ने गरी हाल तीव्र गतिका साथ काम भइरहेको मन्त्री अधिकारीले बताए । उनले भने, “पोखरा विमानस्थल निर्माणको लागि अब कसैले शंका गर्नुपर्दैन, तोकिएकै मितिमा विमानस्थल निर्माण कार्य सम्पन्न हुनेछ, पोखरा विमानस्थल निर्माणको काममा धेरै प्रगति भएको छ ।” सन् २०१९ मा रनवे सकिएसँगै केही उढान सुरु गर्न सकिने मन्त्री अधिकारीको भनाइ छ ।
बोइङ जहाज, एयरबसको बारेमा अध्ययन भएको बताउँदै मन्त्री अधिकारीले पोखरामा ढुक्कसँग मझौला प्रकृतिका जहाज सञ्चालन गर्न सकिने दाबी गरे । उनले भने, “पोखरा उपत्यका काठमाठौंको तुलनामा साँघुरो भएको हुनाले आजसम्म ठूला जहाज पोखरामा आउन सक्दैनन्, पोखराको सबै क्षेत्रलाई विमानस्थलका लागि जग्गा उपलब्ध गराए पनि ठूला जहाज आउने सम्भावना छैन ।”
निजी तथा विदेशी केही एयरलाइन्स कम्पनीले पोखराको विमानस्थलका बारेमा चासो दिन थालेको उनले बताए । उनले भने, “संसारमा बढी चल्ने जहाज भनेकै मझौला जहाज हुन, पोखराबाट छिमेकी देशसहित सिंगापुर, बेल्जियमलगायतका देशमा जान सकिन्छ ।” सन् २०१९ मा भैरहवा विमानस्थल सञ्चालनमा ल्याएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनको तयारी गरेको उनको भनाइ थियो । पोखरा विमानस्थलको लागि रिट्टेपानीको डाँडा कटान गर्नुपर्र्ने भएकाले त्यसको अध्ययन भइरहेको मन्त्री अधिकारीको भनाइ छ ।
यसैबीच, पोखरा विमानस्थलको ५ लाख यात्रु क्षमताको टर्मिनल भवनको शिलन्यास गरिएको छ । मन्त्री अधिकारीले उक्त भवनको शिलन्यास गर्दै जतिसक्दो छिटो पोखरा विमानस्थल निर्माणको काममा जुट्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले सन् २०२० लाई पर्यटन वर्ष मनाउँदा प्रभावकारी रूपमा मनाउने तयारी भएको जनाउँदै सडक निर्माण र गुणस्तरका होटल तथा रेस्टुराँहरू स्थापना गर्न आव्हान गरे । आन्तरिक उडानको लागि ६ हजार वर्गमिटर र अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ हजार वर्गमिटरको टर्मिनल आवश्यक हुने जसमा वार्षिक ५ लाख यात्रुको क्षेमता भएको बताइन्छ ।
स्थानीयवासीहरूलाई थप आघात हुने गरी समन्वय बिना थप जग्गा अधिग्रहण गर्ने विषयमा क्यानले सोच्न पनि नसक्ने अधिकारीले बताए । पोखरा विमानस्थल निर्माणका लागि सन् २०२१ जुलाई ११ भित्र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने गरी नेपाल सरकारको विभिन्न विधि विधान तथा प्रक्रिया पूरा गरी चाइनिज सीएएमसी कम्पनीलाई सरकारले जिम्मा दिएको छ । पोखरा विमानस्थल करिब ३७ सय रोपनी क्षेत्रफलमा विमानस्थल निर्माण हुने भएको हो ।

0 Comment:

Post a Comment