Contact Form

Name

Email *

Message *

Thursday, August 23, 2018

यस्तो हुनेछ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल


थप जग्गा अधिग्रहण गर्नु नपर्ने पर्यटनमन्त्रीको भनाइ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन सार्वजनिक गरिएको छ । बुधबार कामको प्रगति विवरण, भावी योजना र टर्मिनल भवन शिलान्यास गर्न आयोजित कार्यक्रममा डिजाइन सार्वजनिक गरिएको हो ।
निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले विमानस्थलको डिजाइन सार्वजनिक गरेको छ । चीन सरकारको सहुलियत ऋण सहयोगमा बन्ने विमानस्थल निर्माणका लागि ८ जेठ ०७१ मा सिएएमसीसँग ठेक्का सम्झौता भएको थियो ।
त्यस्तै, विमानस्थलबाहिरको मुख्य भाग, भित्री भाग, यात्रु कक्ष, लगेज लिने स्थान, विमान अवतरण र उडान भर्नेलगायत विषयमा जानकारी दिइएको थियो । सिएएमसीले बनाएको डिजाइनमा नागरिक उड्डयन प्राधिकरणले सामान्य सुधार गरी अन्तिम रूप दिएको हो ।
०७३ वैशाखमै विमानस्थलको शिलान्यास गरिएको भए पनि निर्माणको सुरुवात भने गत वर्षको १८ साउनबाट थालिएको हो ।
थप जग्गा अधिग्रहण नगरिने
निजी विमान कम्पनीका लागि ह्यांगर र पेट्रोलियम पदार्थ भण्डारणका लागि थप जग्गा अधिग्रहण गरिने चर्चा भइरहेका वेला मन्त्री अधिकारीले थप जग्गा अधिग्रहण नगरिने बताए । त्यही जग्गामा ह्यांगर र पेट्रोलियम पदार्थ भण्डारका लागि जग्गा व्यवस्थापन गरिने उनको भनाइ थियो । ‘हाललाई मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले जग्गा अधिग्रहण गर्ने कुनै निर्णय गरेको छैन,’ उनले भने ।
विमानस्थलका लागि ०३१ मा तीन हजार एक सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि ०७१ मा पनि ६ सय २९ रोपनी जग्गा अधिग्रहण गरिएको हो । पुनः ह्यांगर र पेट्रोलियम पदार्थ भण्डारणका लागि विमानस्थलको उत्तर–पूर्वी र दक्षिण भागको करिब दुई सय रोपनी जग्गा अधिग्रहण गर्ने विषय चर्चामा छ । अधिग्रहण गर्ने भनिएको जग्गामा १ सय ५० घरसमेत छन् । स्थानीय बासिन्दा संघर्ष समिति बनाएर विरोध जनाउँदै आएका छन् ।
अहिलेसम्म १५ प्रतिशत काम
अहिलेसम्म १५ प्रतिशत काम भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनाकर्मीले बताए । धावनमार्गको ‘सर्फेस’ निर्माण, जमिनको सतह पुर्ने र काट्ने कार्य भइरहेको छ । अहिलेसम्मको कामका लागि निर्माण कम्पनीलाई दुई अर्ब भुक्तानी गरिएको कार्यान्वयन इकाइले जनाएको छ ।
अबको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको विमानस्थलको धावनमार्ग ४५ मिटर चौडाइ र दुई हजार पाँच सय मिटर लामो हुनेछ । जसमा बोइङ ७५७ र एयरबस ३२० वा सोसरहका जहाज अवतरण र उडान भर्न सक्नेछन् ।
टर्मिनल भवनको शिलान्यास
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले टर्मिनल भवनको शिलान्यास गरेका हुन् । १४ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण हुने भवनमा आठ हजार वर्गमिटर अन्तर्राष्ट्रिय र ६ हजार वर्गमिटर आन्तरिक उडानका लागि छुट्याइने भएको छ ।
बुधबार शिलान्यास गरिएको टर्मिनल भवन दुई वर्षभित्र सम्पन्न हुनेछ । त्यस्तै, एक महिनापछि धावनमार्गको काम सुरु हुनेछ । अबको ११ महिनाभित्र धावनमार्गको काम सम्पन्न हुने जनाएको छ ।
यो विमानस्थल दैनिक १२ घन्टा सञ्चालनमा आउने जनाएको छ । त्यस्तै, वार्षिक पाँच लाख यात्रीले सेवा लिने अनुमान गरिएको छ ।
Published at: 

0 Comment:

Post a Comment