Contact Form

Name

Email *

Message *

Friday, August 10, 2018

फेरि जग्गा अधिग्रहण गर्दै विमानस्थल

author-image
पोखरा : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि फेरि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु भएको छ। विमानस्थल आयोजनाले पोखरा १४ वडा कार्यालयलाई पत्र लेखी उक्त जानकारी गराएको छ।
राष्ट्रिय गौरवको आयोजनाका लागि के कति जग्गा चाहिने हो भन्ने पहिल्यै यकिन नगरी चुबुरचुबुर जग्गा लिन लागिएको भन्दै स्थानीय बासिन्दाले चर्काे विरोध गरेका छन्। एकैचोटि लिँदा विरोध थेग्न गाह्रो हुने देखेर घर र जग्गाधनीहरूलाई फुटाउँदै जमिन खोसिराखिएको उनीहरूको भनाइ छ। एयरपोर्टले जग्गा लिने भन्ने सूचना थाहा पाएर आफूहरू भूमिहीन बन्ने डरले आतंकित भएको स्थानीय बताउँछन्।
विमानस्थल कार्यालयले साउन २१ गते वडालाई पत्र लेखी थप जमिन अधिग्रहणका लागि सहयोग गर्न भनेको हो। उसले ह्यांगर, आयल निगमको डिपो, ग्लाइड पाथ तथा अन्य पूर्वाधार निर्माण गर्न जग्गा चाहिने बताएको छ। कार्यालयले एयरपोर्टको अहिलेको जमिनभन्दा ४ सय मिटर पूर्वउत्तरसम्मको जमिन अधिग्रहण गर्ने सूचना दिएको छ। विमानस्थलका प्रमुख इन्जिनियर विनेश मुनकर्मीले बुद्ध एयरले पोखरामै बेस बनाएर अन्तर्राष्ट्रिय उडान गर्न चाहेको जानकारी दिए। ‘सर्भे गर्दै छौं, यति उति लिने भन्ने सर्भे सकिएपछि थाहा हुन्छ’, उनले भने, ‘अहिलेको स्टिमेट अनुसार एउटा ह्यांगर छ, त्यो नेपाल एयरलाइन्सले प्रयोग गर्ला, निजीलाई पनि ह्यांगर चाहिएला। आयल निगमको डिपोलाई भनेको जमिन पनि नपुग्ने देखियो।’
आयल निगमको डिपो अलिक टाढा राख्नुपर्ने र एयरपोर्टको टावरका लागि पनि थप जग्गा चाहिएको जानकारी मुनकर्मीले दिए। उनकै भनाइमा अहिलेको जमिनको उत्तरपूर्वी भागको जमिन लिन लागिएको हो। सर्भे सकेर यति उति जमिन लिने भनी सूचना निकाल्न ६ महिना लाग्ने जानकारी मुनकर्मीले दिए।
स्थानीयले भने पटकपटक जग्गा लिएको लियै गरी आफूहरूलाई राज्यले सुकुमबासी बनाउन लागेको बताएका छन्। स्थानीय राजु थापाले भने, ‘यहाँ दाजुभाइ छरछिमेक मिलेर बसेका छौं, एक रोपनीको मुआब्जाले एउटा घडेरी पनि आउँदैन, अनि कहाँ जाने ? ’
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न लागेको यो सातौं पटक भएको अर्का स्थानीय गनेस पौडेल बताउँछन्। ‘३१ सालमा पहिला गाउँभरिकै मान्छेको घरबारी, खेत, चौतारा, चौर र पोखरी सबै लियो, एयरपोर्ट बाहिर आएर बस्यौं, ४ वर्षअघि फेरि त्यही बसेको ठाउँ वरिपरिको जग्गा लियो, अहिले हुँदाहुँदा बाँकी सबै लिन लागेको छ’, उनले भने, ‘हामीलाई सुकुमबासी बनाएर कस्तो विकास गर्न लागिएको हो। यो राज्य आतंक हो ? ’

स्थानीयले पटकपटक जग्गा लिएको लियै गरी आफूहरूलाई राज्यले सुकुमबासी बनाउन लागेको बताएका छन्।







पौडेलले मुआब्जा नै उचित नदिने गरेको गुनासो गरे। ‘मान्छेहरू यहाँ एक किसिमले सेटल भएका छन्, एउटा एट्याचमेन्ट छ, त्यसको क्षतिपूर्ति पनि नदिने, अर्काे ठाउँमा जग्गा किन्न नपुग्ने मुआब्जाने दिने ? ’ उनले भने। उनकै भनाइमा यसअघि एयरपोर्टले एक रोपनीको न्यूनतम २० लाख रुपैयाँसम्म मुआब्जा दिएको छ। बढीमा ८० लाख रुपैयाँ दिएको छ। अहिले करोड रुपैयाँमा एउटा घडेरी नपाइने जमानामा रोपनीकै त्यति मुआब्जा दिँदा सबैको उठीबास लाग्ने उनी बताउँछन्।
गावै उठाउने गरी जमिन अधिग्रहण हुन थालेपछि स्थानीय बासिन्दाले पौडेलकै संयोजकत्वमा प्रतिकार समिति समेत बनाएका छन्। उनीहरूले सर्भे गर्नै नदिने बताएका छन्। ‘बुद्ध एयरलाई ह्यांगर चाहिन्छ भनेपछि उसैले किन्दा महँगो पर्ने भयो भनेर राज्यले हामीसँग सस्तोमा लिन खोजेको हो’, पौडेलले भने, ‘यति ठूलो आयोजना बनाउँदा कति जग्गा चाहिन्छ भन्ने पहिल्ये थाहा हुनुपथ्र्याे। जनतालाई विभाजित गर्दै जग्गा लिन खोज्नुको अर्थ के हो ? ’

0 Comment:

Post a Comment

YouTube