Contact Form

Name

Email *

Message *

Tuesday, August 22, 2017

साहित्यको कुनै राजधानी हुँदैन

अष्ट्रेलियाबाट प्रकाशित हुने नेपालीपत्रका लागि निष्प्रभ सजीले लिनुभएको  'पैताला' उपन्यासबिशेष कुराकानी । 
*********************************************************************************


‘म’का बारेमा मेरा केही रिजर्बेशन छैनन् । मैले भन्दै आएको पनि छु, म अहिले जे छु, जस्तो छु त्यो हुनुमा मेरो समाजका सबै मान्छेको भूमिका छ । मैले भोगेको समाज मात्रै होइन लाखौँ बर्षदेखि विकसित हुँदै आएको जीव विकासको जिनेटिक प्रभाव पनि ममाँ रहेको हुन्छ ।







पैतालामा घुम्ने रहरले जोगी भएको पात्रको किस्सा छ । यो तपाईको निजी अनुभव त होइन नि ?


मैले पहिले पनि भनेको छु, मेरा हजुरबा जोगी भेषमा देश देशावरमा घुम्न निस्कँन्थे । मेरा बा पनि घुमक्कड थिए । मेरो तन–मनको पनि ठाम–ठेगान एकनास हुँदैन ।
म आफू नै जोगी भएर हिँडेको किस्सा एउटा अति गोप्य मामला हो । मैले अति छोटो समयको लागि मात्रै त्यसो गरेको थिएँ । धेरै कम साथीहरूलाई मात्र त्यसको जानकारी छ । यसको एउटा अगल अनुभव छ । अनुभूति छ । कुनै दिन पुस्ताकारमा ल्याउने छु । ‘पैताला’मा जोगी भएर डुलेको जोस्मणिको अनुभवसँग मेरो अनुभव मेल खाँदैन । अनुभूतिहरू त मिल्ने भैहाले ।

तपाईमा एकातिर सात्विक पूर्वीय मिथक र अर्कोतिर तात्विक माक्र्सवादको बाक्लो प्रभाव देखिन्छ । जीवन भोगाइमा पछाडिका विचार वा दर्शनका बारेमा सोच्नै नपाउँदै आम मान्छेको जीवन बगिरहेकै हुन्छ । र, त्यसैले इतिहास बनाउँछ । समाज बनाउँछ । सायद यही नै समाज विकासको नियम हो । एउटा साधारण मानिसका लागि उसको दैनिक संघर्ष नै दर्शन हो । हामी अलि बढी दर्शन र वादको पछि लागेको हो ? 


म विचारले माक्र्सवादी तर व्यवहारले वैयक्तिक छु । वैयक्तिक हुनु भनेको मिथककै प्रभावले गर्दा हुने हो । मिथक भनेका अवचतेन अवधारणाहरू हुन् । अव्यक्त वैयक्तिक अनुभूतिहरू हुन् । म अनुभवहरूमा माक्र्सवादी भए पनि अनुभूतिहरूमा आध्यात्मिक (धार्मिक होइन) छु ।
‘म हो हुँ ?’ भन्ने प्रश्न नै धर्म र दर्शनको खोज बिन्दू हो । (हुन त धर्म पनि एउटा दर्शन नै हो ।) त्यसैले पनि हामी ‘जीवन दर्शन’ भन्ने शब्दाबली बनाउँछौँ । हरेकको जीवनको सार ‘म’ को आविस्कार र खोज नै हो । अहिलेसम्मका धर्म र दर्शनले ‘म’ (जीवन) र ‘इतर म’ (जगत) का बारेमा विभिन्न धारणा बनाएका छन् । ‘म’लाई जगतबाट अगल हेर्ने या समष्टीमा हेर्ने वा यिनीहरूको अस्तित्वलाई नै ईन्कार गर्ने भन्ने तीन कुरा नै खासमा मुख्य विचार हुन् ।
‘म’का बारेमा मेरा केही रिजर्बेशन छैनन् । मैले भन्दै आएको पनि छु, म अहिले जे छु, जस्तो छु त्यो हुनुमा मेरो समाजका सबै मान्छेको भूमिका छ । मैले भोगेको समाज मात्रै होइन लाखौँ बर्षदेखि विकसित हुँदै आएको जीव विकासको जिनेटिक प्रभाव पनि ममाँ रहेको हुन्छ । म ‘म’जस्तो पनि छु । समकालिन मान्छे जस्तो पनि छु । आदियुगको बाँदर जस्तो पनि छु । बिरुवा जस्तो पनि छु । त्यो त अलग कुरा, म त पृथ्वीमा पहिलो पटक जन्मेको एककोषीय जीवजस्तो पनि छु । विज्ञान, विचार र विश्वासकै आधारमा पनि संसारको जो कोही मान्छे एकल ‘म’ हुनै सक्दैन ।
म भनेको खासमा म हुँदिन । म हुनुमा इतिहास र वर्तमानको समष्टि हुन्छ । ‘दैनिक संघर्ष’भित्र पनि मान्छेको इतिहास त लुकेकै हुन्छ । अनकन्टार विगतदेखि शादृष्य वर्तमान हुँदै अन्जान भविष्यसम्मका भोग्य अभोग्य सबैको समष्टि हो ‘म’ । यसैले म त कुनै मान्छे वा समाज दर्शन र वादको पछि लागेको भन्ने अवधारणालाई नै ईन्कार गर्छु ।

मूलधारको साहित्यमा उपस्थिति जनाउन मोफसल राजधानी धाइरहन्छ । हामी त धाएका छैनौ भन्नेले पनि अप्रत्यक्षरुपमा निकै कसरत गरिरहन्छन् । यसलाई कसरी लिनुहुन्छ ? 


राजधानी प्रशासनिक जिनिस हो । साहित्यीक होइन । तर हाम्रो साहित्य लामो समयसम्म विश्वविद्यालय, सरकारी छापाखाना (साझा लगायतका) र प्रज्ञा प्रतिष्ठानको चंगुलमा फँस्यो । हामीले विगतमा राजधानीलाई ईन्कार गर्न सकेका थिएनौँ । लोकतन्त्रको विकाससँगै खुलेका निजी प्रकाशन गृहको विकासले गर्दा अहिले राजनीति, विचार वा सम्बन्ध भन्दा पनि गुणस्तर र बजारको वजनले किताबहरू प्रकाशित हुन थालेका छन् ।
अहिले पनि कुनै प्रकाशन गृह राजधानी काठमान्डुमा हुन सक्छ, तर त्यो भौगोलिक सत्य मात्रै हो । सिर्जनात्मक सत्य होइन । बजारको सत्य होइन । कला, साहित्य र दर्शनको कुनै राजधानी हुँदैन । मोफसल हुँदैन । स्कुल मात्रै हुन्छ ।
जो जसले अझै पनि राजधानी देखिरहेका छन्, तिनलाई म लेखक होइन लेखनदास देख्छु ।

तन्त्र, मन्त्र र यन्त्र को जालोमा जेलिएको छ पैताला भन्दा हुन्छ ? तपाईँ आत्मा र पूनर्जीवनमा विश्वास गर्नुहुन्छ ?


अगाडिका तीन शब्द ‘तन्त्र, मन्त्र र यन्त्र’ सम्म ठिकै कुरा हो । तर पछाडिका ‘जालो’ र ‘जेलिएका’ भन्ने शब्द ठिक होइनन् । कुनै जालोमा जेलेर के कथा लेख्नू ? यसको कथा नै तान्त्रिक होइन, यसको कथा–विधान मात्रै तान्त्रिक हो । हामी कथा वाचनमा कति समृद्ध थियौ । महाभारतको कथा बिर्सेर न्यारेशन मात्रै हेर्नुस् त ! रामायण कसरी वाचन भएको थियो ? हाम्रा पुराणहरूको पनि कथा भुल्दिनुस्, वाचन शैली हेर्नुस् । स्वास्थानीमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ वाला किस्सा मात्र हेर्नुस् त ! ‘पैताला’को कथा नै तान्त्रिक होइन कि यसको वाचन मात्रै तान्त्रिक हो ।
विधिमा जोड दिँदा तान्त्रिक हुन्छ । शब्दमा र भावमा जोड दिँदा मान्त्रिक हुन्छ । शैलीमा जोड दिँदा यान्त्रिक हुन्छ । ‘पैताला’को जोडबल विधिमा छ । शब्द र शैलीलाई महत्व दिइएको छैन ।
रहस्य कथा लेखेको भएरै आत्मा र पूनर्जीवनको कुरा सोध्नु भएको होला । मलाई दुवैमा विश्वास छ । तर जसरी आम मान्छेले आत्मा वा पूनर्जीवन भनेर बुझ्छन् त्यसमा भने विश्वास छैन ।

गनेस पौडेल, गणेश पौडेल होइन । गनेस नाम को पृष्ठभूमि के हो ? 


मेरो खास कानुनी नाम खडक राज पौडेल हो । तर मेरो कानुनी नामले मलाई कसैले चिन्दैनथे । घरेलु नाम गणेश नै थियो । तर कसैले पनि शुद्ध ‘णे’ उच्चारण गर्दैनथे । अधिकाँशले ‘गँडेश’ भन्थे । मलाई साह्रै दिक्क लाग्थ्यो । कतिलाई त झपार्थेँ पनि । पछि आइएस्सी पढ्दा मेरा धेरै मधेसी साथीहरू भए । अति प्रितिकर मित्रहरू । उनीहरू मलाई बोलाउँदा ‘ण’ वा ‘ड’ उच्चारण गर्दैनथे । ‘न’ उच्चारण गर्थे । मलाई ‘न’को उच्चारण अधिक मधुर लाग्थ्यो । पछि साथीहरू बिछडिए । ‘गनेस’ भनेर बोलाउनेहरू कोही भएनन् ।
स्तानक पढ्दा पहिलो पटक रचना छपाएको थिएँ । एउटा निबन्ध थियो । आलेख लेखिसक्दा पनि मलाई खडकराज लेखुँ वा गणेश लेखुँ भन्ने दुबिधा रहिरह्यो । अनि तिनै साथीहरू सम्झनामा आए ः अनिमेष ठाकुर, अनुज झा, अतुल झा, श्यामकुमार साह ... । अनि मैले गनेश लेखेर पठाइदिएँ । त्यसपछि पाँच छ महिना गनेश नै लेखेँ । यसबिचमा मैले ध्वनी विज्ञान पढेँ । ध्वनी विज्ञानअनुसार ‘न’ ले तालब्य नभई दन्त्य स माग्दो रहेछ । अनि ‘गनेस’ गरेँ । उसमाथि गनेसको अर्थ पनि त बन्ने भयो । ‘गन्नु’ क्रियापदको आदेशात्मक रुप हुन्छ गनेस् । यसरी क्रियापदलाई नै नामयोगीको रुपमा प्रयोग गर्न थालेँ ।
गनेस : मलाई पनि गन्नु अर्थात काउन्ट मि टु ! यो त गज्जबको अस्तित्ववादी कुरा भयो ! यसरी मैले मेरो नाम मात्रै होइन, नामको अर्थ पनि आविष्कार गरेको हुँ । आजकाल सबैले बोलाउँदा पनि गनेस नै भन्छन् ।

नगरकोटीकोको शैली र गनेस पौडेलको लेखन शैलीलाई उस्तै मान्ने त होइनन् ? पैताला को पृथक पक्ष के हो ? 


नगरकोटी मेरा प्रिय सर्जकमध्ये एक हुनुहुन्छ । तर वहाँको र मेरो लेखनशैली, शब्द चयन, कथा–विधान आदि कुनै कुरामा पनि समानता छैन । वहाँले पनि मिस्टिसिज्ममा कलम चलाउनु भयो मैले पनि त्यसैमा डेब्युँ गरेँ । हामी दुबैका कथाहरू सर्रियल भएको हुनाले यस्तो कुरा आएको होला । तर मिस्टिसिज्म वा सर्रियालिज्म भनेको त स्कुल पो हो । व्यक्ति होइन । यसमा लामो अभ्यास छ सभ्यताको । मुर्तिकला, चित्रकला, साहित्य, सिनेमा, संगीत, नृत्य जताततै यसको अभ्यास र प्रयोग भएका छन् ।
अधिकाँश नेपालीहरू धेरै किताब पढ्दैनन् त्यसैले ‘पैताला’मा नगरकोटीको प्रभाव भएको देखे । नभए मलाई मिस्टिक यात्रीहरू रुमी, खलिज गिब्रान, हर्मन हेस्से, सिग्मन्ड फ्रायड आदि मात्रै होइन सर्रियल सर्जकहरू आन्द्रे ब्रेटोन, साल्भाडोर डाली, फ्रान्सिस्को गोया, पिना बाउश आदि हुँदै महर्षि वेदव्यास वा वाल्मीकीकै प्रभाव भएको देख्थे होलान् ।
मिस्टिसिज्म् र सर्रियालिज्म्को सुन्दरतम संयोजन कतै भएको छ भने त्यो मिथकहरूमा भएको छ । ‘पैताला’ उत्तरआधुनिक शैलीमा गरिएको मिथ मेकिङ हो । मिथ मेकिङ गर्नु भनेको भैरहेको मिथ भत्काउनु वा पुनर्संरचित गर्नु पनि हुँदो रहेछ । ‘पैताला’ कतै अलग उभिन सक्छ भने यही धरातलको पैतालामा उभिन्छ ।

Published at:
http://www.nepalipatra.com/news/trend/paitala-ganesh-paudel/21056

0 Comment:

Post a Comment