कविता अर्थात् हलो

एक : नेपाली कविताको स्वाद

जिब्रो बडो मापाले टाठो छ नेपालीको। ट्वाक्क–टुक्क मन पराउँछ। पिरो, अमिलो, नुनिलो, टर्रो, तितोजस्ता गढालु स्वाद सम्झँदैमा मुख भरिदिन्छ। माटोको कराहीमा मस्त पकाएको मासको दाल होस् या कर्कलाको कलिलो सुइरा, अन्तिममा खाँटी घिउले झानेर खाने बानी छ। हिङ, जिम्मु, मरटी, लसुनको फ्लेवर नेपाली स्वादकलाको निखार बास्ना हो। टिमुर, भोटे खुर्सानी र गोलभेडाको आफ्नै महिमा छ। नेपालमा ‘लोकल' शब्दको शान ‘घरको कुकुर'भन्दा बलियो छ। हालाकि ‘लोकल' आफैं लोकल शब्द होइन। तर यसले बिल्कुल नेपाली फ्लेवर बोकेको छ— चेपिलो, चाम्रो र आँतिलो खानेकुराको। त्यो पनि भर्भराउँदो दाउराको आगोमा पकाएको हो भने कुरै बेग्लै।
मकै खाँदाजस्तो कुरुमकुरुम वा दूधभात खाँदाजस्तो सुरुपसुरुप वा बारीको मुला उखेलेर खाँदाको मर्याममर्याम, हाम्रो स्वादमा संगीतको आभा पनि उस्तै छ। झ्वाइँय घिउमा ‘बिखय' ओइरेर परपरी भुट्ने परिपाठीमा पनि त्यो ओनोम्याटोपोइक संगीत सर्सराउँछ। स्वादमा संगीतको मिश्रण यस्तरी विलय भएको छ कि यहाँ गुन्द्रक पनि भुर्लुक्क उम्लन्छ। रोटी भुक्क फुक्छ। ढिँडो हुस्स पाक्छ। 
समकालीन नेपाली कविता बिल्कुल हाम्रो जिब्रोको बान्कीमा लेखिएका छन्। एउटा उभारको टोन टिन्टिनाउँछ, कविता पढ्दा। भूपि शेरचनको ‘हामी', पारिजातको ‘एक लाहुरेलाई रोगी प्रेमिकाको पत्र', वैरागी काइँलाको ‘मातेको मान्छेको भाषण', उपेन्द्र सुब्बाको ‘अपराध', तीर्थ श्रेष्ठको ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु', श्रवण मुकारुङको ‘बिसे नगर्चीको बयान', विप्लव ढकालको ‘फूलमतीको तकियामुनि', स्वप्निल स्मृतिको ‘एक्काइसौं शताब्दीमा यलम्बर', राबतको ‘राजधानी मास्तिरको राजधानी', विनोदविक्रम केसीको ‘भोकको क्षेत्रफल' आदि कविताको स्वाद जिब्रोको टुप्पोमै बोकिहिँड्न मन पराइराख्छु म। यिनीहरू मलाई भर्भराउँदो आगोमा परपरी भुटेका बिखयजस्ता लाग्छन्। ट्वाक्क–टुक्क स्वादका। चेपिला र चाम्रा। त्यही ‘लोकल' मार्काको मरटीवाला फ्लेवर। ‘लोकल'कै दामलमा उभिएको ‘अर्ग्यानिक' स्वादमा लेखिरहने सरस्वती प्रतीक्षा, सरिता तिवारी र भूपिनजस्ता कविका कविताहरूमा पनि उस्तै हलक्क बास्ना आउँछ— लेकाली काँक्राको चिराबाट आउने चोपको सुवासजस्तो।
स्वादको परखअनुसार गरिएको समीक्षा कहिले सौन्दर्य हुन्छ, कहिले दुर्घटना। दुःखको कुरा, कविताले निर्माण गरेको स्वादअनुसार मुस्किलले समीक्षा हुन्छन्। भतेर चाखेजत्तिको पनि जिम्मेदारी कविताको समीक्षा वा समालोचनामा पाउन मुस्किल छ। समीक्षक यस्ता छन्, मानौं समीक्षा गर्नुअघि उसले कविताको झोललाई डाडुले उबाएर थोरै हत्केलामा राख्छ। अनि तीनपटक चाख्छ। पहिलोपटक नुन आए/नआएको हेर्छ। दोस्रोपटक मसला पुगे/नपुगेको हेर्छ। तेस्रोपटक खुर्सानीको पिरो कस्तो भयो हेर्छ। अब स्वादको समीक्षा सकियो। कविता मिठो भयो। कविता पाक्यो कि पाकेन भनेर एक चोक्टा कविता मुखमा हाल्छ। पाकेको भए आगोको भुङ्ग्रो निभाए भयो। उखानै छ ‘भात पाक्यो कि पाकेन भनेर थाहा पाउन एक सिता काफी हुन्छ'। नपाकेको भए दाउरा ठोस्नुपर्छ। दाउरा ठोस्ने सल्लाह कुनै सल्लाह नै होइन भान्छेका लागि।
हाम्रा कविताका समीक्षक त्यस्तै ‘भतेर चखुवा' मार्काका बढी छन्। कवितामा निर्धारित स्वाद पुगेको छ र त्यसको विषय अर्थात् तरकारीको बिखय रोज्जा छ भने कविता मिठो भइहाल्यो। त्यसको विधिमा कुनै विविधताको आवश्यकता नै हुँदैन। त्यसो त हाम्रा भान्छामा सबै खालका तरकारी एउटै विधिले जो पाक्छन्। तेल वा घिउ ततायो, मेथी वा खुर्सानीले खार्योर, बिखय ओइरियो, केहीबेर भुट्यो। नुन, मसला र खुर्सानीको स्वाद मिलायो। भुङ्ग्रोको राप जोख्यो। पकायो। बस्, तरकारी पाक्यो। कविता तयार भयो। कविताको रेसिपि बिल्कुल उस्तै छ, धेरैको कवितामा।
चखन्तेहरूमध्ये केही केही यस्ता पनि भतेरमा देख्छु म। ‘फलाना (नी) को त हातै मिठो' भनेर सार्वजनिक सिफारिस गर्ने कविताका साहुपारखीहरूको बिगबिगी उस्तै छ। ‘मुखियाको भान्छामा पाक्ने सबै मिठो' भनेर केही चल्तीका छापामा छापिने कवि र कवितालाई त्यसै मिठो मान्ने दुबुद्धे रैती पाठक पनि उस्तै छन्। गुनगानको सहअस्तित्वमा विश्वास गर्ने लुठो टोली पनि उस्तै छन्, जो दैनिक जस्तो एकल वाचनको नाममा रत्यौली आयोजना गर्छन्।
नेपाली कविताले लसुन, प्याज र छ्यापीसमेत नखाने साकाहारी कवितालाई उहिल्यै छोडिसकेको हो। तथापि कुलीन कविहरूले जडिबुटी आदर्श लेख्नै छोडेका भने छैनन्। नारी देह र कोरा प्रकृतिकोे सुन्दरता वर्णन गरेर होस् या धर्म, ईश्वर र रहस्य दर्शनको रनभुल पस्केर अथवा आदर्शको असाध्य उपदेश लादेर होस्; यी साकाहारीहरूको कलम पनि चलिरहेकै छ। उता अर्कोतिर भारत पाकिस्तान, अफगानिस्तानदेखि अरबसम्मका मसला मुछेर च्याउको तरकारी पकाउने गजलकार काव्यिकहरू पनि चलेकै छन्।
कवि हुनकै लागिमात्र पश्चिमा शैलीका केकजस्ता कविता लेख्ने पनि छन्। ‘ह्याप्पी बर्थ डे टु यु' मार्काका कविता। ती गुलिया छन्। मुलायम छन्। मख्खनदार छन्। चिप्लिने–चाप्लिने छन्। तर हाम्रो नेपाली पाराले तिख्खर छैनन्, चाम्रा छैनन्, चेपिला छैनन्। केहीअघि प्रकाशित पत्रकार रवीन्द्र मिश्रका कविता बिल्कुल केकजस्ता लागेका थिए, मलाई। लेखनको ‘ग्याप फिल' गर्नकै लागि छापेजस्तो देखिने ‘बुद्धिसागरका कविता' नामको किताब पनि उस्तै केक लागेको थियो। केक मिठो लाग्नेलाई ठिक पनि लाग्लान् ती!

दुई : कविता क्रिया कि प्रतिक्रिया 

गुगलका अनुसार कविताको लोकप्रियताबारे विश्वभर हुने छलफलको निष्कर्ष यस्तो देखिन्छ।
एक— यो समयमा इतिहासकै सबैभन्दा धेरै कविले सबैभन्दा धेरै कविता लेखिरहेका छन्। दुई— अन्य विधाको तुलनामा कविता बिक्दैनन्। तीन— अन्तर्राष्ट्रिय पहिचान बोकेका संसारका जीवित १० साहित्यिक सेलिब्रिटीमा कवि पर्दैनन्। चार— कविता लेखन एउटा ‘सेल्फ पब्लिसिङ जब' भएको छ। कारण, व्यावसायिक प्रकाशकले कविता झट्टै छाप्दैनन्। पाँच— आख्यान ताजा बिक्छन्। कविता बासी बिक्छन्।
कविता जहिले पनि हलो हो, जुगअनुसारको ट्र्याक्टर। त्यसले जोतेको ठाउँमा मात्रै साहित्यका अरू विधाको फसल लाग्छ। अवश्य पनि संसारमा धान बिक्छ, गहुँ बिक्छ। हलो बिक्दैन। हलो किन्ने भनेको खासमा किसानले हो। अरूलाई यसको महŒव हुँदैन। यसैले अंग्रेजीमा भनाइ छ— वन्ली पोयट्स रिड पोयट्री अर्थात् कविले मात्रै कविता पढ्छ। यो वाक्यलाई ‘सिर्जनशील व्यक्तिले मात्रै कविता पढ्छ' भन्दिएर अलिक थोरै फराकिने बनाउन सकिने ठाउँ भने छ। सायद यही सत्य हो। यसै कारण ‘कविता बिक्दैन' भन्नु भनेको ‘कविता बिक्रीका लागि हुँदैन' भन्नुबाहेक केही होइन।
‘कविले मात्रै कविता पढ्छन्' भन्ने कुरा अपत्यारिलो सत्य हो। कोर्स बुकमा परेको कविता परीक्षाका लागि पढ्ने भिन्दै कुरा हो, तर जसले कवितालाई रोजेर पढेको हुन्छ उसले कविताको गणित बुझेको हुन्छ, नियम बुझेको हुन्छ, व्याकरण बुझेको हुन्छ। त्यो गणित, नियम र व्याकरण कवितैपिच्छे फरक हुन्छ। त्यसैले कविता लेख्नु जति सिर्जनात्मक कार्य हो, कविता बुझ्नु पनि उत्तिकै सिर्जनात्मक कार्य हो। कवि त्यो मान्छे हो जसले कविता बुझ्दछ। जसलाई कविताको परख हुन्छ।
हामीकहाँ आधाभन्दा बढी कविता ‘रहर कविता' हुन्। ‘म पनि लेख्छु है' भन्ने सूचनाको लागिमात्रै लेखिन्छन् यी। रहरले कविता लेख्नु नराम्रो कदापि होइन। तर, साहित्यमा संघर्षसाथ लाग्नेभन्दा पनि संघर्षसाथ लाग्नेको बगलमा उभिएर ‘समान महŒव र अस्तित्व दाबी' गर्ने अवसरवादी अक्रम कवितालाई यस्तो सुविधा दिन सकिन्न। आधाजसो ‘रहरे' कविता यस्तै कविका छन्, जसका कविता जलाइदिए पनि नेपाली साहित्यलाई कुनै बित्यास पर्दैन। बरु भलै हुन्छ।
नेपालमा मात्रै नभएर संसारभर अहिले जति संख्यामा कविता लेखिएका/छापिएका/प्रकाशन/प्रसारण भएका छन्। त्यसरी सायद कहिल्यै भएन। आलुजस्ता कविता पनि सामाजिक सञ्जालमा हुल्दिएपछि एकाध दर्जन प्रतिक्रिया पाउन कसैलाई मुस्किल छैन । कविताको औसत किताब पाँच सय प्रतिजति छाप्न ४०/५० हजार रुपैयाँ काफी हुने भएपछि खहरेजस्ता ‘रहरे' कविको बिगबिगी नहुने कुरा भएन। त्यसो त रहरको खेतीमा पैसाको के लेखाजोखा?
रहरेबाट बाँकीमध्ये आधा कविता ‘प्रतिक्रिया कविता' हुन्। सामाजिक घटना र मुद्दा विशेषप्रति प्रतिक्रियास्वरूप यस्ता कविता आएका छन्।
जस्तो कि अस्ति भूकम्प गयो। अब भूकम्पलाई सिर्जनामा हुल्न ठेलमठेल गर्दै कविता कनेर बसेका छन्, केही कवि। केहीले त भूकम्प–कविताको एकाध बेत ब्याई पनि सके। थाहा छैन यो जबरजस्तीले कविताको सौन्दर्य वा भूकम्पको दुःखमध्ये केको बलात्कार गर्छ। ‘गुन्द्रुकलाई उमाल्न पर्दैन' मार्काको सजिलो संवेदना पनि त होइन भूकम्प। पाँचपाने खसीको छालाजस्तो अररो पो छ यो!
कुनै गाउँमा महिलालाई बोक्सीको आरोपमा दिसा खुवाइयो, वा देशको सीमा मिचियो, वा कतै प्राकृतिक विपत्ति भयो वा त्यस्तै केही दुःखद समाचार छापामा आयो। यता देशभर दर्जनौंको संख्यामा कविता जन्मिहाल्छन्। तिनको तात्तातोपन पनि मापाकै हुन्छ। मुद्दा सेलाउन नपाउँदै कविताको आयु समाप्त भइसक्छ। कविताले पत्रकारिताको बान्की लिन थालेको छ। ‘जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन्' भन्ने वाक्यलाई सच्याएर ‘जहाँ पत्रकार पुग्छन्, त्यहाँ त्यसपछि कवि पुग्छन्' भन्दिए हुने भएको छ। कविता क्रियात्मक कम, प्रतिक्रियात्मक ज्यादा हुँदै गएको छ।

तीन : सामाजिक काव्यिकता

कुनै देशको कुनै कालखण्डका महान् भनिएका कविहरूलाई हेरौं, तिनीहरू कहिल्यै एक्लो वृहस्पतिका रूपमा रहेका हुँदैनन्। कविताको गुणस्तर निजी साधनाको उपजमात्रै कहिल्यै हुँदैन र होइन पनि। कविको गुणस्तर गुच्चाको थुप्रोजस्तै हो। हामी गुच्चाहरूको थुप्रोलाई जति अग्लो बनाउन चाहन्छौं, त्यत्तिकै फराकिलो गरी आधार बनाउनुपर्छ। एक्लो गुच्चाले उचाइ प्राप्त गर्न सक्दैन र सबै गुच्चा चुचुरोमा रहन पनि सक्दैनन्। तर, चुचुराको गुच्चाले ‘म एक्लै चुचुरोमा छु' भन्ने दाबी राख्न पाउँदैन। कुनै व्यक्तिले एक्लै साधना वा तपस्या गरेर मोक्ष पाउन सक्ला, बुद्ध हुन सक्ला तर कालातीत कवि हुन सक्दैन। कालातीत कवित्व निर्माण सामाजिक अभ्यास हो, निजी अभ्यास होइन। कविताको गुणस्तर सांस्कृतिक आधारबाट बनेको हुन्छ। सामूहिक अभ्यासबाट निर्मित हुन्छ। यसर्थ सानो ठूलो साधना गरिरहने, राम्रा वा औसत कविता लेखिरहने, पढिरहने, अग्लाहोचा, दुब्ला–पातला कविहरूको तादात्म्यले नै सामाजिक काव्यिकताको मापन गर्छ। सामाजिक संवेदनाको श्रेस्ता खुलाउँछ। कुनै देशको कविताको बान्कीमा त्यो देशको भावुकता कोरिएको हुन्छ।
हाम्रा समकालीन कविहरूले इतिहासका कुनै कविहरूले लेख्न नपाएका विषयवस्तु सतहमै पाएका छन्। पहिचान, भौगोलिक विकटता, गरिबी, उत्पीडन, हिंसाजस्ता अमानवीय किस्साहरूले फरक काव्यिक र मानवीय संवेदनाको मूल्यांकन पर्खेर बसेका छन्। दलित, जनजाति र महिलाका अनेक विभेदकारी मुद्दा काव्यिक न्यायको पर्खाइमा अझै छन्। प्राकृतिक विपत्ति, सरकारी निरीहता, भ्रष्टाचार, राजनीतिक अस्थिरता, कर्पोरेट समाजको एकलकाँटेपन, उपभोक्तावाद, भूमण्डलीकरण, आमसञ्चारको विकासको प्रभाव, अमेरिकी प्रभुत्व, भारत–चीनको उदयले ल्याएको विश्वजनीन परिवर्तनजस्ता विषय अहिले समाजिक बहसमा यसरी आएका छन्, कविताको उच्चताको बारेमा अब फरक प्रश्न गर्नुपर्ने भएको छ। तर, यी मुद्दाहरू तरकारीका सर्दाम हुन्। यिनलाई पकाउने शैलीमा नेपालीपन आउन सक्नुपर्छ। यिनको फ्लेवरमा स्ट्रबेरी होइन, जिम्मु र मरटी बसाउनुपर्छ। यति हुँदाहुँदै पनि भान्छेको विशेष हातजस्तो भएर कवि स्वयंको बास्ना कवितामा भरिनुपर्छ। यसका लागि अबको कवि संवेदनशील र शब्दप्रेमी मात्रै होइन, व्यापक रूपले अध्ययनशील पनि हुनुपर्छ।
समकालीन मुद्दामाथिका प्रतिनिधि कविताले अहिलेको कविताको विषय छोइनसक्नु बनाइदिएका छन्। विषय, कविताले ती मुद्दाको प्रतिनिधित्व गर्योि या गरेन भन्ने होइन, तिनलाई प्रतिनिधित्व गर्न चाहिने मानक विशेषता र कला कवितामा छ/छैन भन्ने हो। कविताले सांस्कृतिक स्वाद पहिल्यायो/पहिल्याएन भन्ने हो। कविता स्वयंको पहिचानको कुरा गर्दा सांस्कृतिक र भाषिक स्वाद सदैव माथिल्लो दर्जामा रहन्छ। कवितालाई अनुवाद गर्न नसकिने विधा त्यसै भनिएको होइन।
कविताको गुणस्तरको चुरो कविताको विषय वा मुद्दा नभएर, मुद्दा उठानको वैयक्तिक शैली र मुद्दाप्रतिको निजात्मक दृष्टि हुन्छ। यस्तो होस् कि चार हरफ पढ्नेबित्तिकै ‘यो फलानोको कविता हो' भन्दिन सकियोस्! यस्तो पहिचान शब्द, शैली र विषयबाट बनाउन उद्यत कवि नै वास्तविक कवि हो। ‘फलानो कविको यो कविता मन पर्छ' भनेर कुनै खास कविता बताउन सकिन्न भने खासमा त्यो रहर कुमार वा रहर कुमारी कवि हो।
‘मेरो काम कविता लेख्ने हो, बाँकी काम समालोचकको' भनेर तर्किने कुरा छैन। अरूभन्दा म कुन मानेमा कसरी फरक छु भन्ने प्रमाण तयार गर्ने काम पहिला कविको हो। आफ्नो कविताको व्याख्या र बचाऊ आफैंले गर्नुपर्छ। तर त्यो व्याख्या र बचाऊ कवितामार्फत नै गर्ने हो। लेख्दै र बोल्दै हिँडेर साध्य हुँदैन। विषयबस्तु, विचार र शिल्पका पक्षमा कविले निजतालाई सकुशल अभिव्यक्त गर्न सक्ने भएमात्रै ऊ कवि हो। यसका बाबजुत पनि कसैको चर्चा सहरमा छ भने बुझे हुन्छ— ऊ भजनमण्डलीको चालु सदस्य हो। यस्तो भजनमण्डली जसले आफ्ना सबै मुजुरे, मादले, खैंजडे र भाखाका छोपुवाको पक्षमा रटानको तारिफ समीक्षा गर्छ।
फरक मानवीय दृष्टिका कारण कविले पालन गर्ने कानुन पनि फरक हुन्छ। त्यो ज्यादातर प्राकृत र मानवीय हुन्छ। यसैले पनि परिवर्तनका खातिर सामाजिक मनोभावना निर्माण गराउनमा कविहरूको योगदान हुने हो। कानुन र संविधानका बुँदाले समाज परिवर्तन गर्ने थियो भने उहिल्यै गाउँको एउटै पधेँरोमा दलितको पनि घैंटो भरिन्थ्यो। बोक्सीको आरोपमा बूढीआमाले गुहुमूत खानु पर्थेन।
उपन्यास र साहित्यका अरू विधाले परिवर्तनका ‘उदाहरण' खोजेर तीमार्फत आदर्शको निर्माण गर्छन् र समाजलाई परिवर्तन हुन उक्साउँछन्। कविताले त्यस्ता उदाहरण खोज्दैन। उदाहरणको सोच गर्छ, निर्माण गर्छ। यसैमा ‘शास्त्र झुठो हुँदैन' भनिनु र ‘शास्त्र'लाई काव्यमा लेख्नुको मिथकीय मनोविज्ञान लुकेको हुन्छ।
- See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/40531.html#sthash.6HlXqqvk.dpuf - See more at: http://www.nagariknews.com/nagarik-sanibar/story/40531.html#sthash.6HlXqqvk.dpuf

प्रतिक्रिया:

0 प्रतिक्रिया दिनुहोस्:

Post a Comment