Contact Form

Name

Email *

Message *

Thursday, February 7, 2013

मान्छे ! तिमीसँग कुनै गुनासो छैन ।


हरेक दिन दौडेरै पुग्नु पर्छ मलाई
दूनियाले लुखुरलुखुर रल्लिँदै पुगेको ठाउँ
यसैले त हुन्छु म हरेक यात्रापछि
दूनियाभन्दा ज्यादा थकित ।

सपनाका काँचा बिस्कुन
सुकाउँछु मैले पनि दूनियाले झै
समाजको पुरानो गुन्द्रीमा ।
घाम त मेरो गुन्द्रीमा पनि उत्तिकै लाग्छ नि !
जत्तिको रापिन्छ ऊ बरोबरी दूनियाको मान्द्रोमा ।
तर साँझ नपर्दा नपर्दै
उठाइसकेका हुन्छ दूनियाले आफ्नो भागको अन्न
मेरा भटमासका दाना आलोको आलै रहन्छन् ।

हरेका साँझ सदाझैँ चकित चकित
थकित थकित
उघार्छु तगारो
खोल्छु दैलो
पल्टिन्छु खाटमा
हेर्छु दलिनका कापमा कापमा खुर्र खुर्र दौडेका
पुस्तैनी माउसुलीहरूलाई ।
बिहान निस्कँदा पनि यिनीहरु यहीँ थिए ।

छाम्छु आफ्नै शरिर
के हिजो जस्तै बराबर छन्
दूनियाले घोपेका घाउको गन्ती ?
छाम्छु सुतीसुती
पाइजामाको गोजी
गन्छु मनमनै, खल्तीभित्र छामेर औंलाहरुले
के हिजोकै संख्यामा छन्
मेरा सपनाका टुक्राहरु ?

न प्रश्नको कुनै छ उत्तर ।
न उत्तरमा छन् थप प्रतिप्रश्न ।
लम्पसार सुतेरै गन्न थाल्छु माउसुलीका छाउराछाउरी ।
जम्मा गर्न थाल्छु नयाँ सपना ।
बुन्न थाल्छु अर्को नयाँ गन्तव्य ।
देख्छु अर्को नयाँ भविष्य ।
अर्को नयाँ बाटो ।

भोली फेरि व्युँझनु छ
नयाँ सोच र योजनाका साथ
नयाँ बाटो र गन्तव्यका साथ
रातभर सुत्दै नसुती देखेका नयाँ सपनाका साथ

यसरी हरेक बिहान 
म उठ्छु र मनमनै सुनाउँछु आफैले आफैलाई, 
मलाई कुनै गुनासो छैन मान्छेसँग
दूनियासँग, 
समाज र सत्तासँग ।


माघ २५, ०६९
पोखरा


0 Comment:

Post a Comment