Contact Form

Name

Email *

Message *

Z

Sunday, January 17, 2021

१३ स्वैरसम्झना : 'तपाईं त पूरै फेरिनुभएछ !'

 


कुरा १ः पानी

आज पानी पर्लाजस्तो छ । मन फुरफुर गर्दै छ ।

मलाई पानीले बोल्ने हरेक शब्द मन पर्छन् । मेघको गर्जन होस् या शीतको सिरसिर, नदीको सुसाइ होस् या छहराको छङछङ, कुलाेको कलकल होस् या बलेनीको तपतप मलाई यिनको सिम्फोनी अस्तित्वको आराध्यगीतझैँ लाग्छ । युनिभर्सिटीपछि काठमाण्डू छोड्नुको एउटै कारण थियो, पानी । पानीको आवाज सुन्न पनि तड्पिनुपर्ने शहरमा कुनचाहिँ जीवित मानिस बस्छ ?

किनकि, म उहिल्यै आत्महत्या नगर्ने निष्कर्षमा पुगिसकेँ, कालगति रोजेर पाइने भए म पानीमा डुबेर मर्थें ।

पानी त दिनहुँ छोइन्छ तर आकाश चाखेर आएको पानीको बुँद मात्रको स्पर्श बडो स्वादिलो लाग्छ मलाई । लामो खडेरीपछिको वर्षाको पहिलो बुँद खसेपछि बुरबुरिएको माटोमा ठीक त्यसैगरी लुटपुटिन्छ, जसरी चुलबुले छाउराहरू कुकुर्नीको काखमा गर्छन् ।

आज पर्लाजस्तो छ पानी । मन फुरफुर गर्दै छ ।

कुरा २ः मिलान कुंदेरा

कुनै स्त्रीसँग एउटै बिस्तारामा सुत्नु र सम्भोग गर्नु फरक रुचि र अनुभूतिका विषय हुन् । सह–बास, सम–भोग, सह-निन्द्रा । सह अर्थात् सँगसँगै तर फरक । सम अर्थात् सँगसँगै र उस्तै । तर, भोग भन्दा निद्रा साझेदारीको अनुभूति सुन्दर र प्रेमिल हुन्छ ।

Liberty College
NCell

प्रकृतिगत वा भनौँ पशुवत् पुरुष–प्रवृत्ति वीर्यको वितरण हो । यसको आकाङ्क्षा हो वंश विस्तार, रक्त फैलावट । सम्भोग वंश विस्तारको निहितिच्छाबाट सञ्चालित छ । तर, सहनिद्रा ? कुनै स्त्रीको (वा पुरुषको पनि) काखमा, बगलमा वा अँगालोमा निर्धक्क निदाउनु प्रेमको सबैभन्दा उच्चाल अनुभूति हो । बिहेपछि सँगसँगै सुत्नुपर्ने संस्कृति नत्र संसारभर सरोबर किन बस्थ्यो ?

जसरी मोनोगमस हुन नखोज्नु मान्छेको अवचेतन इच्छा हो, उस्तै इच्छा हो मोनो–सोम्नस हुन खोज्नु । सभ्यताले हामीलाई न खोजेको कुरा दिन खोज्छ, न नखोजेको कुरा दिन छोड्छ । रोजाइ आ–आफ्ना हुन् : दिएको लिने कि खोजेको लिने वा खोसेर लिने ? सभ्य हुने कि शान्त ?

कुरा ३ः दु:ख

आम मान्छेलाई आफ्ना दुःखहरू संसारका सबैभन्दा ठूला दुःख लाग्छन् । अरुका दुःख फगत सान्त्वनाका विषय लाग्छन् ।

कला र साहित्यको संसारमा सबैभन्दा बिक्री हुने कुरै दुःख हो । यस्तो लाग्छ, दुःखभन्दा अन्तिम अर्को सौन्दर्य छँदै छैन । ‘सत्यम्, शिवम्, सुन्दरम्’ भनेकै दुःख होजस्ताे लाग्छ । बुद्धले भनेकै हुन् नि, दुःखै सत्य हो । सत्य र सौन्दर्य एकैसाथ दुःखको पछि लागेपछि शिव पनि लुखुरलुखुर दुःखकै पछि नलागी धरै छैन । उसो त, शिवको स्वरूपै दुख्या'छ । वर्षौं ननुहाएको जटा छ । हिमालको चिसोमा बस्नु छ, त्यो पनि हरमा एकसरो बाघको छाला मात्रै लगाएर । बौलाहा भएर मृतक प्रेमिकालाई काँधमा बोकी हिँडेको छ । हास्यकवि सुरेन्द्र शर्माले सही फर्माएका छन्– ऐसे में शिव ताण्डव नहीं करेगा तो खाक बांसुरी बजाएगा ?

सिद्धार्थ गौतमलाई ज्ञान फुरेझैँ एक दिन अचानकसँग मलाई यस्तो सोचाइ आयो कि सुख खासमा एउटा रोजाइ हो । मलाई थाहा भयो कि सुख र दुःख खासमा आत्मनिर्णयका विषय हुन् । सुखी हुने निर्णय लिएको मान्छेलाई दुनियाँले दुखाउन सक्छ तर दु:खी बनाउन सक्दैन । यस्तो सोचाइ फुरेकै दिनदेखि मेरो दुःख गायव भयो ।

यसरी दुःख मेरो इतिहास भयो । वर्तमान भएन । आत्मनिर्णयपछि म मन्त्रमुग्धभन्दा पनि मनमुग्ध भएर बसेँ । तर, बिस्तारै मैले ती मान्छेलाई देख्न सुरु गरेँ, जसले सुखी भएर बाँच्ने आत्मनिर्णय लिएकै थिएनन् । कतिलाई यस्तो निर्णय लिने अधिकारै थिएन । कतिलाई लिने अधिकार त थियो तर लिने सामर्थ्य नै थिएन ।

अनि म फेरि दुख्न थालेँ । त्यसै दिनदेखि मलाई थाहा भयो, आफू मात्रै खुसी हुँदैमा खुसी नभइने रहेछ । आफूलाई नदुख्दैमा दु:खी नभइने पनि नहुने रहेछ । खासमा आफ्ना दुःखभन्दा पनि फराकिला र गहिरा हुँदा रहेछन् अर्काको दुःखबाट दुखिने अनुभूति ।

आफ्ना दुःख त जति छन्, त्यत्ति मात्रै अनुभूत भएर आँउछन् । जत्रा छन्, जति गहिरा र फराकिला छन् उत्रै क्षेत्रफल र आयतनमा मात्रै दुख्छन् । तर, अरुका पीडालाई बुझ्न कल्पनाशक्ति चाहिने रहेछ । कल्पनाशक्तिको माइक्रोस्कोपमा ती सायद वास्तविकभन्दा धेरै विशाल भएर आउँछन् ।

आफ्नो दुःख कथा रहेछ । अर्काको दुःख कविता । त्यसयता म फेरि दुख्न थालेको छु । आफ्नै दुःखका कथाहरूमा पनि म त्यत्ति उखुम भएर छट्पटिएको छैन जति म अरुका दु:खका कविताहरूमा रन्थनिएको छु ।

कुरा ४ : अँध्यारो

संसार की हर शाय का इतना ही फसाना है
एक धुन्ध से आना है, एक धुन्ध मे जाना है ।

अचाक्ली गीत सुन्न थालेको छु अचेल । गीत सुन्दै खाने, गीत सुन्दै काम गर्ने, गीत सुन्दै पढ्ने । गीतकै तालमा खेतबारीमा काम गर्ने । जिन्दगी यतिविघ्न साङ्गीतिक कहिल्यै थिएन । कहिलेकाहीँ त मोबाइल फोन बोकेरै बाथरुम छिर्छु गीतकै तालमा निवृत्त हुन्छु ।

तर, यतिका समय बितिसक्दा पनि यो गीत कसरी बजेनछ कसरी ! आज गीत बजाउँदै पढ्दै थिएँ- भारतीय विवादित लेखिका कमला दासको आत्मकथा, यो गीत अचानकसँग बज्यो । कहाँ शाहिर लुधियानवीको यो निस्सार गीत, कहाँ कमला दासको विद्रोही जिन्दगी ! ‘कथककली नृत्यको प्रसंग’को छेउछाउ पढिपुगेको थिएँ, पठनको लयसँग गीत कत्ति सुहाएजस्तो लागेन । पढेका शब्द र सुनेका शब्द बाझिएपछि मेरो एकाग्रता नष्ट भयो । किताबलाई दराजमा थन्क्याएर पाँच/सात पटक दोहोर्‍याउँदै महेन्द्र कपुरलाई भरमार सुनेँ ।

किताब र संगीत बाझिए भने बन्द हुने सदैव किताब हुन्छन् । बज्ने सधैँ गीत ।

अस्तित्वका आयामहरू, हाम्रा कथित् परिचयहरू अँध्यारोबाट बन्छन् र अँध्यारोमै सकिन्छन् ।

विज्ञान भन्छ, केही करोड वर्षपछि यो पृथ्वीको पनि अन्त्य हुनेछ । ‘मरेर बाँच्नेहरू’ पनि त्यसपछि मर्नेछन् । त्यसपछि न हिटलरलाई गाली गर्नेहरू हुनेछन् न शेक्सपियरलाई तारिफ गर्नेहरू । समग्र मान्छेका रचनाहरू, विज्ञानका चमत्कारहरू विराट अँध्यारोमा विलिन हुनेछन् ।

अँध्यारो अन्तिम सत्य थियो । महाविस्फोटभन्दा पहिले, ब्रह्माण्ड उत्पत्ति हुनु पहिले अस्तित्वमा केही थियो भने त्यो पक्कै अँध्यारो थियो ।

कुरा ५ : आश्चर्य

कुनै जमानामा म मास्टरी गर्थें । कक्षा ६ हो कि ७ मा पढ्ने एक जना नानी थिइन् । साह्रै हाँस्ने । मैले त नामै हसन्ती राख्दिएको थिएँ । खित्का छोडेर हाँस्नमा मलाई उछिन्ने एक मात्र पात्र उनै होलिन् । एक त म हँसाएर पढाउने मान्छे, उसमाथि कक्षामा नामुद हाँसोवाज विद्यार्थी । कहिलेकाहीँ त कक्षा चलाउनै मुस्किल हुन्थ्यो ।

निक्कै वर्षपछि उनलाई अचानक भरतपुरको पुल्चोकमा भेटेँ । अचम्मैसँग उनको आनीबानी विल्कुल उस्तै थियो । वाक्य फुर्‍याे कि हाँसो फुत्क्यो ।

उनका तीन जना सन्तान रहेछन् । दुई छोरी एक छोरा । हामीलाई खित्का छोडेर गफ गरेको देखेर परिचय माग्दै उनका श्रीमान् पनि आइपुगे । सन्तानको दलबलसहित ।

'तिमी त जस्ताको तस्तै रैछ्यौ त ?', मैले आश्चर्यचकित भएर सोधेँ ।

'अनि तपाईं त पूरै फेरिनुभएछ त !', उनले मेरोभन्दा ठूलो आश्चर्य देखाउँदै भनिन् ।

मान्छेको आनीबानी, स्वभाव  वा शरीर परिवर्तन नभएको पाउँदा त्यत्तिकै अचम्म लाग्दो रहेछ, जति ती सब कुरा परिवर्तन भएको देख्दा लाग्छ । आश्चर्यशास्त्रमा ‘तिमी त जस्ताको जस्तै रहेछौ !’ भन्नु र ‘तिमी त पूरै बदलिएछौ !’ भन्नुका बीचमा खास भिन्नता छैन ।

आश्चर्यको अर्थ परिवर्तन होइन । आश्चर्यको अर्थ जस्ताको तस्तै रहनु पनि होइन । मान्छेले आश्चर्य शब्दलाई आश्चर्यजनक रूपमा निकम्मा बनाइदिएको छ ।

कुरा ६ : अपरिग्रह

सबैलाई थाहा छ, जिन्दगी भनेकै स्मृतिको सँगालो हो । स्मृतिको निर्माण हो । तर, स्मृतिलाई कसरी सँगाल्ने वा यसलाई कसरी निर्माण गर्ने भन्ने कुरा जिन्दगीको अर्थभन्दा पनि अर्थपूर्ण कुरा हो ।

जिन्दगी र जीवन फरक कुरा न हुन् ।

पहिलेपहिले मेरो खुबै संग्रह गरिराख्ने बानी थियो । अरु अंग सबै बिग्रिसके पनि जिपर त सद्दे छ भनेर पाइन्ट राख्यो, टाँक मात्रै मन परेको हुनाले थोत्रिएको कमिज राख्यो । प्रेयसीसँग पहिलो पटक अँगालो हाल्दाको सुवास मेटिन्छ कि भनेर टि-सर्टलाई नधोईकन प्लास्टिकले मोरेर राख्यो । यो त थोरङ–ला पार गराएको जुत्ता हो भनेर जुत्ता राख्यो । यो त गोबामा किनेको विशेष चिनो भनेर टोपी राख्यो ।

राख्दाराख्दै यस्तो हुन थाल्यो कि आफैँलाई कहिलेकाहीँ सोध्नुपर्ने भयो, ‘यो टि-सर्ट चाहिँ मैले किन राखेको रे ?’

म सोच्थेँ, यस्ता चिनोहरू सपना नामक जीवनग्रन्धका बुकमार्कहरू हुन् । सपनाहरूको मूल्य तिनलाई गुमाउनुको पीडापछि मात्रै अनुभूत हुन्छ । म सोच्थेँ, कुनै वस्तु वा परिवेशको उत्प्रेरणबिना विगतको विचरण सम्भव छैन । यस्ता चिनोहरू यादका उत्प्रेरक हुन्, जिन्दगीका सम्पदाहरू हुन् ।

जब स्मृतिभन्दा स्मारक धेरै हुन थाल्छन् तर जिन्दगी ठीक लयमा छैन भनेर बुझ्दा हुन्छ । देशका सहिदको सूचीजस्तो । हामीसँग सहिदको पूरै सूची त छ । तर, न तिनको नाम कण्ठ छ, न ती किन सहिद भए भन्ने कारण थाहा छ । सहिदसमेत गुमनाम हुने समयमा हाम्रा वस्तुले दिने सम्झनाको मूल्य कसरी रहला ?

मलाई महसुस हुन थाल्यो, वस्तुले दिने स्मृतिको वस्तुगत मूल्य त होला तर आत्मगत मूल्य हुँदैन । वस्तुहरू उपभोगका लागि हुन्, स्मृतिका लागि होइनन् ।

जस्तो कि मैले धेरै मित्रले ‘अटोग्राफ’ सहित दिएका अनेकन उपहार–किताबलाई पनि घरमा नराखी उपहार दिएको छु । मित्रले उपहारमा किताब दिएका होइनन्, कथा दिएका हुन्, कविता वा उपन्यास वा निबन्ध दिएका हुन् । स्मृतिबाट वस्तुलाई अलग्याउने सोच आएको दिनबाट म शनैशनै मिनिमालिस्ट हुन थालेँ । मसँग कुनै त्यस्ता ‘मेमेन्टो’ बाँकी छैनन् । म सम्झनाका लागि कसैलाई पनि वस्तु दिँदिनँ । बरु गीतहरू पठाउँछु ।

एसएलसी दिँदा लगाएको सेतो कोट, ६३ को जनआन्दोलनमा उन्नाइसै दिन लगाएको जुत्ता, नयाँ वर्षका दिनमा शुभकामना दिन उनले पठाएका २१ थान पोस्टकार्ड, गोदावरी पिक्निकमा झुक्किएर पोखिएको तरकारीको दाग लागेको जिन्स, पुस्तकालयबाट झ्याप हानेरै भए पनि मित्र सुशीलले उपहार दिएको पाथेर पाञ्चाली,... अहँ मसँग अहिले केही पनि छैनन् । सबैको बिसर्जन गरिदिएँ । यसो गरेर मैले स्मृतिको अपमान गरेको होइन । न त स्मृतिसँग जोडिएका पात्रहरूको अपमान गरेको हुँ ।

उपभोग नगर्ने सामानको संग्रह नगर्ने आफ्नो बानीलाई उकेरा लगाएको मात्रै हुँ । जुन चिजलाई म स्व:स्फूर्त सम्झिन सक्दिनँ । त्यसलाई कुनै वस्तुले सम्झाइदिन्छ भन्नु मेरो हकमा कम्तीमा बेकार तर्क हो ।

उसो त जिन्दगीको व्यस्ततम वर्तमानबाट स्मृतिका लागि समय छुट्याउने समय कमैसँग हुन्छ ।

कुरा ७ : डायरी

जिन्दगीका धेरै रुचि छैनन् । मन परेको ठाउँ घुम्न पाइयोस् । मन परेको कुरा लेख्न पाइयोस् । मन परेका किताब पढ्न पाइयोस् । तर, यति तीन थान रुचि पनि कहिले अभावले, कहिले व्यस्तताले, कहिले कोरोनाजस्तै बाह्य कारणले सकुशल पूरा हुन पाएनन् ।

जब रहरहरू वास्तविक जिन्दगीमा पूरा हुन पाउँदैनन्, म तिनलाई कल्पनामा पूरा गर्ने गर्छु । कहिलेकाहीँ डायरी लेखेर पूरा गर्छु ।

मेरा तीन प्रकारका अद्यावधिक डायरी छन् । पहिलो डायरी ३३ जना मित्रहरूका बारेमा छ । त्यो ३३ को संख्यामा फेरबदल भइरहन्छ तर त्याे विरलै घटबढ हुन्छ । तर, विरलै हुनु भनेको नबढ्नु नघट्नु त होइन नि । जस्तो कि कोरोनाकालअघिसम्म डायरीमा ३१ जना थिए । अहिले त्यसमा १ जना नवयौवना लेखक थपिएका छन् ।

दोस्रो स्वप्न डायरी हो । म अचाक्ली सपना देख्छु । अनौठाअनौठा सपना देख्छु । ब्युँझनेबित्तिकै सम्झेजति सपना लेखेर राख्छु । यसरी लेखेर राख्ने बानीका कारण मलाई थाहा भयो- केही सपनाहरू दोहोरिएर आउने रहेछन् । कुनै दुई वर्षमा दोहोरिने, कुनै पाँच वर्षमा दोहोरिने । कतिपय सपना त ‘सिरिज’मा आउने रहेछन्, कुनै टेलिसिरियलजस्तो अघिल्लो पटक ब्युँझेकै बिन्दुबाट कथा सुरु हुने गरी ।

तेस्रो डायरी मेरो दैनिकीका लागि हो, जसमा मेरा दैनन्दिनी लेख्छु (?) । आफूले भोगेका मात्रै होइन, रहर हुँदाहुँदै भोग्न नपाएका किस्सालाई समेत कल्पभोग गरेर लेख्छु । मेरो डायरी कदाचित कुनै नजिकको मान्छेको हातमा पर्‍याे भने उसले मलाई पक्कै मगज खुस्केको ठान्नेछ । मलाई नजिकबाट नचिनेको मान्छेको हातमा पर्‍याे भने मेरो भोगाहा जिन्दगी देखेर छक्कै पर्नेछ । जस्तो कि हेर्नुस्, सन् २०१७ को अप्रिल १३ मा मैले सगरमाथाको टाकुरा पुगेको दैनिकी लेखेको रहेछु । यसरी मेरो डायरीमा आफूले नघुमेका ठाउँ घुमेका, नभेटेका मान्छे भेटेका, नपढेका किताब पढेका, नहेरेका सिनेमा हेरेका अनेकन दैनिकीहरू लेखिएका छन् । नभोगेको व्यवहार भोगेका, नबाँचेका जिन्दगी बाँचेका अनेकन फेहरिस्त छन् ।

म तिनलाई स्वैरसम्झना भन्छु । तपाईं यसलाई परास्मृति पनि भन्न सक्नुहुन्छ ।

अबदेखि मेरा स्वैरसम्झना डायरीबाट उप्केर ‘शिलापत्र’मा खोपिनेछन् ।

कुरा ८.०, क्यान आई मिस यु ?

यस्तो अक्करे प्रश्नको अनुमान मलाई थिएन । एक जना स्त्री मित्रबाट केही समयअगाडि मलाई आएको प्रश्नात्मक म्यासेज थियो यो– क्यान आई मिस यु ?

प्रश्नलाई नेपालीमा बुझ्न खोज्दा झन् व्यापक समस्या भयो । भरिसक्य अङ्ग्रेजी शब्द वा वाक्य नमिसाउन सचेत हुन खोज्छु, आजकाल । तर, यो वाक्यले धरै दिएन ।

कसैलाई ‘मिस’ गर्नु भनेको कुनै व्यक्ति, भूगोल, समय र घटनाबाट टाढा हुनुपर्दा मनमा छाउने एक सर्को एकाङ्कीपन हो । एकाङ्कीपनमा मान्छे बग्ने भनेकै यादको नदीमा होे, पुग्ने भनेकै सम्झनाको सागरमा हो । सम्झनाको कुरा उसै पनि अघि भर्खरै ‘कुरा ६’मा आइहालेको छ ।

त्यसै दिन मैले एउटा ट्वीट गरेँ । जब हामी कसैलाई ‘मिस’ गरिरहेका हुन्छौँ हामीले खासमा उनीहरूलाई ‘मिस’ गरेका हुँदैनौँ । त्यसबखत हामी आफैँले आफैँलाई ‘मिस’ गरिरहेका हुन्छौँ । आफ्नो आत्मपहिचानलाई बिर्सिएका हुन्छौँ । ‘म को हुँ ?’ भन्ने  आत्मपरिचयलाई भुलिरहेका हुन्छौँ ।

सम्झिनुस् त, आफूलाई सम्झिएको बेला तपाईंले कसलाई ‘मिस’ गर्नुहुन्छ ?

कुरा ८.१ : पटबोइलर

आजकाल पटबोइलर पुस्तकको रजगज छ । उसो त मेरा आफ्नै सबै रचना पनि पटबोइलर नै हुन् भनेर स्वघोषणा गरिदिएपछि मात्रै पहिलो वाक्य भनेको भए मलाई सुरक्षित हुन सजिलो हुन्थ्यो ।

भनिन्छ, पटबाेइलर त्यसरी नै पढिन्छन् जसरी कुनै सिनेमा हेर्दाहेर्दै हामी ‘पपकर्न’ खान्छौँ । सिनेमामा जीवन्त सिन आयो भने वा सिनेमाले तान्यो भने हामी कि त पपकर्न बिस्तारैबिस्तारै टोक्छौँ वा खानै बन्द गरिदिन्छौँ । सिल्ली सिनेमा परेछ भने भकाभक मकैफुला कर्मर्‍याउन थाल्छौँ । तर, सत्य कुरा के हो भने हामी पपकर्न खानकै लागि सिनेमा हल जाँदैनौँ । सिनेमा घरमा नजाने खालकै दर्शकले पनि घरको टेलिभिजन स्क्रिनमा सिनेमा हेर्नुपूर्व चुल्होमा हाँडी बसाल्दैन ।

कुरा ९ : स्वेटर

१४ पुस अर्थात् तमु ल्होसारको अघिल्लो दिन अनदु डाँडामा ‘हाइकिङ’ गइयो । भर्खरै ‘आपा क्हार्प’ छापेर मख्ख परिरहेका ‘पाठाशाला’का सर्जक तीर्थ गुरुङलाई अर्पण गरिएको प्रेमिल ‘ट्रिब्युट हाइकिङ’ थियो त्यो । हिँडाइका ‘डिजाइनर’ थिए पढक्कु–घुमक्कु निबन्धकार रोशन शेरचन । साथमा थिए मुखचित्रकार कृष्ण मर्सानी र नवलेखक त्रिवेणी ।

एउटै शहरका बासिन्दा भए पनि तीर्थ गुरुङसँगको मेरो चिनजान निकै पछिल्लो हो । खासमा उनको ‘पाठशाला’ छापिएपछि भनिदिए पनि हुन्छ । ‘पाठशाला’ हातमा नपर्दासम्म मलाई यस्तो किताब छापिँदै छ भन्ने सुइँकोसम्म थिएन । एउटै शहरमा बस्ने, ताक परे हरेक दिनजसो ‘रिडर्स कर्नर’मा भेटिने एउटा पढक्कुको किताब मेरो आफ्नै किताब छापेको प्रकाशकबाट छापिँदै छ भन्नेसमेत थाहा नहुनु अनौठै रहस्यको विषय थियो ।

सदा गुपचुप रहने मौन लेखकले कथेको डब्बु र गगनको कथा मनभित्र भने मौन रहन सकेन । होहल्ला गरिरह्यो । मैले सामाजिक सञ्जालकाे आफ्नै खाताबाट मात्रै नभएर नक्कली खातासमेत खोलेर ‘पाठशाला’प्रतिको आफ्नो प्रेम दर्शाइरहेँ । सामाजिक सञ्जालमा अझै पनि ती खाता जीवितै होलान् जसका ‘ह्याण्डल’ र ‘पासवर्ड’ मलाई अहिले यादै छैन । कुनै एउटा ‘ह्याण्डल’बाट मैले यस्तै केही लेखेको थिएँ- ‘एउटा निजी विद्यालयको ओलिगोरीमा सिजोफ्रेनिक किशोरलाई हुलेर रचिएको राजनीतिक व्यङ्ग्य हो पाठशाला, जसलाई धेरैले आफ्नो स्कुले जीवनलाई स्मरण गराइदिने ‘मेमेन्टो’ मान्ने भुल पनि गर्न सक्छन् । यत्तिका उम्दा किताब नेपाली साहित्यमा निस्कन्थे भने मैले अंग्रेजी किताबै पढ्न छोडिदिन्थेँ ।’

अतिशय लहडी भएको हुनाले मैले निजी ह्याण्डलबाट तारिफ या गाली गर्दिनथेँ । लहडीपनलाई कस्न नसकेकै कारणले मैले सामाजिक सञ्जालका निजी खातालाई धेरै पटक डिएक्टिभेट वा डिलिटैसमेत गरेको छु । गरिरहन्छु ।

पैदलयात्राले गलाएका बखत बाटोका विश्राम बिन्दुहरूमा विमल निभा, भूपिन र सिर्जना पोखरेलका रचनाहरू वाच्यौँ । देश/देशावरका सिनेमाका बातचित मार्‍याैँ । फेवातालपारिको डाँडा सराङकोटमा नेपाल साहित्य महोत्सव चल्दै थियो, महोत्सवको सम्मानमा ‘मेक सिफ्ट’ सेसनहरू चलायौँ ।

मैले पहिलो पटक पढेको रोशन शेरचनको रचना ‘सरुभक्तहरू’ थियो । कुनै सर्जकको सम्मानमा कथिएको काव्यिक समालोचनाजस्तो थियो त्यो ।  यो किताबबाट प्रभावित भएर मैले ‘हिमकण’ नामक लामो कथा लखेको थिएँ । गद्य कविताको खण्डकाव्य भने पनि हुन्थ्यो त्यसलाई । अन्नपूर्णको फेदीबाट पग्लिएको हिउँको एउटा कणले बग्दै, थुनिँदै बंगालको खाडीसम्म पुग्दा देखेभोगेको यात्रा–कथा थियो त्यो । त्यो ‘हिमकण’ कहिले सेप्टिकट्याङ्कमा थुनिन्थ्यो, कहिले नालामा दुर्गन्ध सहँदै निसास्सिन्थ्यो । कहिले नहरमा सुइँकिन्थ्यो र केराको जराबाट चुसिएर कमलो काण्डमा कैद हुन्थ्यो । कहिले कोकाकोला झोलसँग बोत्तलबन्द हुन्थ्यो र बजारतन्त्रको विकास गर्न गाउँ पस्थ्यो । कहिले कच्ची बाटोको खाल्टोबाटै वाफिन्थ्यो र सुदूर सन्नाटाको बस्तीमा पुगेर गुलाबका पत्रमाथि बर्सिन्थ्यो ।

स्कुले जीवनमा लेखेको त्यो काव्यकथा अहिले कता छ, पता छैन ।

किशोरवय कटेपछि रोशन शेरचनले मसँग निबन्धहरूमार्फत संवाद गरेँ । उनको ‘चम्पारन ब्लुज’ पढेपछि डायरीमा टिपेको रहेछु, 'जीवनका स–साना किस्साबाट अनुभूतिका रेशा झिकेर विचारको धागो कात्ने अनि त्यसबाट शिल्पको स्वेटर तयार गर्ने निबन्धकारका रूपमा रोशन शेरचनलाई पाएँ । स्वेटर बुन्ने कुरुशहरू तिखा हुँदैनन् तर विचारको तानमा शिल्पका घाट छिराउन सक्ने हैसियतको धार तिनमा हुन्छ । स्वेटरको मूल मर्म जाडो भगाउनु हो, सुन्दर हुनु होइन । स्वेटरहरू जाडोमा भेट्टाइयो भने लगाउँदा प्रिय लाग्छन् । गर्मीमा फेला परे भने त्यसको कलात्मक मूल्य मात्रै सार्थक हुन्छ, उपयोगिताको अर्थ रहन्न । राम्रा छन् भन्दैमा गर्मीमा स्वेटरहरू लगाइँदैनन्, नराम्रा भए पनि जाडोमा छोडिन्नन् । उनका निबन्ध पढ्दा मलाई कतै उखुम जाडो भयो भने कतै अखप गर्मी । यिनका फरक-फरक निबन्धलाई फरक-फरक मौसममा मिलाएर पढ्दा आनन्द हुँदो हो ।'

कुरा १० : भाग्य

विद्वान्‌हरू भन्छन्, 'संयोगहरूको शृंखलाको गठजोडले संसार यहाँसम्म आइपुगेको हो । अस्ति भर्खरै मित्र विकास बस्नेतले एउटा छापा–लेखनमार्फत भन्दै थियो- उल्का पिण्डले डायनोसरलाई सोत्तर नपारेको भए स्तनधारी वंशज मुसाबाट मनुष्य बन्ने मौका हामीले पाउने थिएनौँ । मुसाबाट मनुष्य बनेको आनुंवाशिक कथा मनमनै पढिरहँदा ‘फेरि मुसै भएस्’ भन्ने नीतिकथा अवश्य पनि मेरो अवचेतनमा सलबलाउँदै थियो । चेतनमा त आफैँले अनुवाद गरेको ‘मुसा मानुष’ हुने भइहाल्यो ।

विकासलाई पढिरहँदा सामाजिक सञ्जालको कुनै चित्रमा माछापुच्छ्रे थियो, जसको मुन्तिर ‘हाम्रा हिमाल हिउँ निखारिएर कालो पत्थरमा परिणत हुने भए’ खालका चिन्ताका प्रतिक्रिया जाहेर भएका थिए । विकासलाई पढेर सकेको दिन मित्र मण्डलीको एउटा समूह रूपातालमा मत्स्यभोज गर्न गएका थियौँ ।

कुरैकुरामा गाउँले दाइ दीपक कुँवरले भनेका थिए, 'मेरो भाग्य सधैँ त्यस्तो भयो । सधैँको हरुवा । जित्ने कहिल्यै होइन । जब स्कुलमा कुनै वादविवाद प्रतियोगिता हुन्थ्यो, मलाई सदैव शीर्षकको विपक्ष पर्थ्याे । ‘तरबारभन्दा कलम बलियो’ भन्ने शीर्षकको प्रतियोगितामा मलाई सधैँ तरबारको पक्षमा बोल्न पर्ने हुन्थ्यो । ‘धनभन्दा विद्या ठूलाे’को शीर्षकमा मलाई धनको गोला पर्थ्यो । यसै कारणले पनि म यस्ता प्रतियोगितामा सधैँ दोस्रो बनाइन्थेँ ।

म तर्क र प्रस्तुतिले होइन, गोला थुत्दाको भाग्यले गर्दा दोस्रो बनाइने प्रतियोगी थिएँ । सयौँ विद्यार्थी दर्शक भएको प्रत्यक्ष कार्यक्रममा धनको पक्षमा वा तरबारको पक्षमा बोलेको मान्छेलाई ‘प्रथम’ बनाउने साहस निर्णायकहरूले देखाउँदैनथे । मास्टरहरू सायद सोच्दा हुन्- विपक्षी भनेको सधैँ दोस्रो हुन्छ । विपक्षीलाई प्रथम बनाउँदा विद्यार्थीले गलत सन्देश पाउँछन् ।

कुरा ११ : किलाकाँटी

‘बुल्भ्स् अफ वालस्ट्रिट’ मध्ये एक चार्ल्स टमस मंगर ‘शेयर संसारमा’ नसुनिने नाम होइन । उनको एउटा प्रसिद्ध भनाइ छ, ‘तपाईंको हातमा हथौडा छ भने संसार किलाकाँटीले भरिएको देखिन्छ ।’

उनलाई सुनेपछि मनमा एउटा ट्विट फुरेको थियो– 'तपाईंसँग जे छ संसार उस्तै देखिन्छ । तपाईंको हातमा हँसिया छ भने संसार घाँसजस्तो देखिन्छ । तपाईंको हातमा हथौडा छ भने संसार किलाकाँटीजस्तो देखिन्छ । तपाईंको हातमा हँसिया र हथौडा दुइटै छ भने के देखिन्छ, त्यो तपाईंलाई थाहै छ ।'

श्याम तमोटको शब्द र रामेशको स्वरमा बनेको ‘गाउँगाउँबाट उठ’ गीत नसुन्ने कमै नेपाली होलान् । यो गीतका अन्तराहरू सुन्दा मलाई हथौडा र किलाकाँटीवाला माथिको भनाइ खुब याद आउँछ । ‘हातमा कलम हुनेहरू कलम लिएर उठ’ लगायतका सबै पंक्तिको भाव के हो भने आफूसँग जे छ त्यही लिएर उठ भनिएकाे हाे ।

भावार्थ र उद्देश्य फरक भए पनि सारमा मंगर र तमोटका अभिव्यक्तिले उस्तै अर्थ राख्छन् ।

अन्नपूर्ण बेसक्याम्प जाँदा ‘क्या गजबका ढुंगा हेर त !’ भनेर मेरो एक जना ट्रक व्यवसायी मित्रले भनेको सम्झन्छु । नदीजन्य पदार्थ ढुवानी गर्ने उनको आँखाले पदयात्राको स्मरण लेखिहाले भने अवश्य पनि मर्दी किनारका ढुंगा र बालुवाको छ्यालब्याललाई बिर्सने छैनन् । उसो त ‘फूलको आँखामा फूलै संसार’ पनि चलेकै छ । यात्रामा कतै बिरानो ठाउँमा पुगेको किसानले खेतबारी देख्छ, जग्गा दलालले चोकका मोहोडाहरू देख्छ । व्यापारीले बजारका पसलहरूमा झुम्मिएका ग्राहक देखेर मुख मिठ्याउँछ । हुन पनि आफूसँग जे छ, संसार विल्कुल उस्तै देखिन्छ ।

लेख्दालेख्दै भावहरू अक्षरमा रूपान्तरित हुन मानेनन् भने म उभिएर ऐना हेर्छु र मुस्कुराउँछु । सिसाभित्र लेखक नभएर गनेस पौडल उभिएको हुन्छ । काया र छाया आमनेसामने हुँदा छायाभित्रको गनेसले लेखकलाई सोध्छ, ‘तँलाई पक्कै लाग्छ होला कि म लेखेरै संसारसँग संवाद गर्न सक्छु । हातको कलम फालेर हिँडेकै दिन तँलाई थाहा हुनेछ, संसारमा सबै शिक्षित छैनन् ।’

बीचमा धेरै समय म भूपू लेखक सरह बाँचेँ । लेख्दै लेखिनँ । साँच्चै नै हातको कलम फालेर बसेँ । कलमबाहेक पनि त्यसबखत मेरो हातमा केही थिएन । न हँसिया, न हथौडा ।

तपाईंलाई थाहा छ, हातमा केही नहुनेहरूले संसार कस्तो देख्छन् ?

कुरा १२ : प्रतिस्पर्धा

बाठाहरू भन्छन्, मेरो प्रतिस्पर्धा मैसँग छ ।

मभन्दा पनि मीठो गरी मिहिन पाराले लेख्नेहरू धेरै जना छन् । तर, त्यसकै कारणले मैले लेख्न छोड्ने कुरा हुँदैन । जति नै मीठो गरी लेख्ने भए पनि तिनले मेरो कथा लेख्नै सक्दैनन् । संसारका को–को धावक आफूभन्दा कति सेकेण्ड चाँडै कुद्न सक्छन् भन्ने कुरा आजकाल सबै खेलाडीलाई थाहा हुन्छ । आफ्नो ‘पोजिसन’ लगभग पहिल्यै थाहा हुन्छ । अन्तिममै पर्ने सम्भावना हुँदाहुँदै पनि एउटा खेलाडी किन ओलम्पिकको मैदानमा उत्रिन्छ ?

किनकि उसलाई थाहा हुन्छ, अरुले उसको पैतालामा कुद्दैनन् । अरुले उसको देशको झण्डा बोक्दैनन् । यसैले पनि कतिले भन्छन्– म आफ्नै रेकर्ड ब्रेक गर्न चाहन्छु ।

जिन्दगी खेल त हो, तर जितका लागि अरुसँग खेल्नैपर्छ भन्ने हुँदैन ।

कुरा १३.० : सिर्जना

सिर्जनाका बारेमा कहिलेकाँही ठट्यौला मार्क ट्वेनका कुराले पनि गम्भीर अर्थ दिन्छ । हुन त सबै (?) अक्षर शब्दकोशमा पढिएका नै हुन्छन् ।

भनिन्छ- सर्जकले मात्रै सिर्जना पढ्छन् जसरी कविले मात्रै कविता पढ्छन् ।

व्यवहारत: सिर्जना भन्ने काम निम्नानुसार गरिन्छ:

१) यथार्थमा केही थपेर

२) यथार्थबाट केही घटाएर

३) यथार्थलाई उल्ट्याएर

४) यथार्थहरूलाई संयोजन गरेर

५) यथार्थहरूको वियोजन गरेर

६) यथार्थलाई इन्कार गरेर 

अर्थात् हरेक सिर्जनाको स्राेत भनेको यथार्थ नै हुन आउँछ । अंग्रेजीमा क्रियसन र इनोभेसन भनेर जति फरक औँल्याए पनि वास्तविकतामा तिनीहरू अवस्थित सत्य अर्थात् यथार्थको ‘जोड र घटाउ’ मात्रै हुन् ।

मान्छेले ग्रहण गर्ने यथार्थको स्राेत भनेका ज्ञानेन्द्रिय न हुन् । यिनैले ग्रहण गर्ने अनुभूतिमाथिको ‘प्रतिक्रिया’ नै भावना वा संवेदना हुन् । आमालाई देख्नेबित्तिकै उत्पन्न हुने श्रद्धाभाव मानवीय संवेदना हो । सर्प देख्दा लाग्ने डर, पैसा देख्दा लाग्ने लोभ, प्रेमिका देख्दा उत्पन्न हुने कुतकुती जे भने पनि तिनीहरू ज्ञानेन्द्रियले जे ग्रहण गर्छन्, तीमाथिको ‘प्रतिक्रिया’ अर्थात् संवेदना नै हुन् । यिनै प्रतिक्रियाको ‘ग्लोरिफिकेसन’ नै साहित्य भइआएको छ, आजका मितिसम्म ।

हाम्रा आँखाले सम्पूर्ण संसारलाई एकमुस्ट देख्न सक्दैन । न कानले एकै पटकमा पूरै गीत सुन्न सक्छ । न छालाले पूरा ‘हात्ती’लाई एकसाथ छाम्न सक्छ । हाम्रा ज्ञानेन्द्रियबाट प्राप्त सूचनालाई मस्तिष्कले ‘एसेम्बल’ गर्छ र हामी यथार्थको बोध गर्छौं । जसरी इमेल पठाएको फोटो पहिला विभिन्न वाइटमा टुक्राटुक्रा हुन्छ र जान्छ, अनि प्रापककोमा पुगेर एक/एक गर्दै जम्मा हुन्छ र पूर्ण बन्छ । तर, ज्ञानेन्द्रियको ग्रहण गर्ने क्षमता र मस्तिष्कको ‘एसेम्बिङ’ क्षमता कम्प्युटरको जस्तो शतप्रतिशत हुँदैन । जस्तो कि मैले तपाईंलाई पठाएको मान्छेको फोटो तपाईंको कम्प्युटरमा ‘एसेम्बल’ हुँदा फोटोको आँखा कहिल्यै निधारमाथि वा अन्यत्र पर्दैन । आँखा भएकै ठाउँमा आँखाका वाइटहरू ‘एसेम्बल’ हुन्छन् ।

यसैले कम्प्युटरले कविता लेख्न सक्दैन । यहीँनेर वैयक्तितताको अर्थ साहित्यमा देखिने हो । वैयक्तिकता दुई चरणमा प्रमाणित हुन्छ : ग्रहण गर्दाको बखत र ‘एसेम्बल’ गर्दाको बखत । यिनै दुई चरणमा देखिने गहनताको मूल्याङ्कनमा साहित्यलाई प्रभाव वा चोरी भनिन्छ । त्यसको रेसियो पनि व्यक्तिअनुसार फरक हुन्छ । जस्तो कि कसैका लागि २० प्रतिशत मिलेमा संयोग, ३० प्रतिशत मिलेमा प्रभाव, ५० प्रतिशतमाथि मिलेमा चोरी आदि आदि । यस्तो रेसियोलाई मूल्याङ्कनकर्ता र लेखकको सम्बन्धले पनि फरक पार्न सक्छ । जस्तो कि कसैको सिर्जनामा ३० प्रतिशतको हाराहारीमा अरुसँग मिलेको रहेछ भने कत्ति नचिनेको लेखक भएमा चोरी, चिनजानको भएमा प्रभाव, आफन्ती नै भएमा संयोगको सिलसिलामा मूल्याङ्कन टुङ्गिने गर्छ ।

एउटा घटना सम्झना हुन्छ ।

अहिले प्रदेशसभा रहेको पुरानो नगर विकास प्रशिक्षण केन्द्र (छोटकरीमा तालिम केन्द्र) ...लाई अहिले प्रदेश सभासद्‌ले तालिम लिने ठाउँभन्दा अझ उपयुक्त होला ...मा आयोजना हुँदै गरेको कुनै कार्यक्रममा डीपी भण्डारी आउँदै थिए । उनलाई हामी व्यङ्ग्य सम्राट भन्थ्यौँ । युवाकालको रन्कोमै भए पनि हामीले तत्कालीन ‘कान्तिपुर साप्ताहिक’लाई डीपी भण्डारीकै कारणले किन्थ्यौँ र पढेपछि उस्तै परे मध्यपृष्ठ पनि नहेरीकनै स्याँकिदिन्थ्यौँ ।

सभाकक्षको द्वारबाहिर उभिएका हामीमध्येमा उनले रोजा–रोजासँग हात मिलाए, हामीसँग मिलाएन् । अब कोकोसँग मिलाए भनेर तपाईंले अनुमान गरिसक्नुभयो होला । मैले सुनेअनुसार रसिक भण्डारी सरको यो पुरानो आदत थियो ।

पङ्क्तिको अन्तिममा फुल लिएर उभिएको मित्र महेश भण्डारीले सगोत्रीय प्रेम देखाउँदै सोध्यो, ‘सर, मृगस्थली पढ्न पाइएन नि हामीले ? पोखरामा त आएकै रै’नछ !

सरले उल्टै सोधिदिए, 'तिमीहरू ओशो पढ्दैनौ ?'

सायद पुष्प आचार्यले खितिति हाँस्तै भन्यो, 'पढ्छौँ नि सर !'

सरले भने, 'सब त्यही त हो नि ! मृगस्थली नपढे पनि हुन्छ ।'

त्यसको केही हप्तापछि मैले ‘मृगस्थली’ पढेँ । तर, पूरै मृगस्थली पढ्दा मलाई ओशोको कुनै सम्झना भएन । भण्डारी सरले आफ्नै रचनालाई किन ओशोको प्रभाव भन्नुभयो, मैले कहिल्यै बुझ्न सकिनँ ।

कुरा १३.१ : साइबर सम्बन्ध

साइबर युगमा मान्छेको अस्तित्व भनेको सामाजिक सञ्जालमा एकाध ‘क्लिक’ले खोलिने एउटा ‘एकाउन्ट’ मात्रै हो । एउटा जैविक अस्तित्वले यस्ता अनेकन एकाउन्ट सजिलै खोलेर आफ्नो ‘मल्टिपल पर्सनालटिज’लाई ‘म्यानेज’ गर्न सक्छ । बहुअस्तित्व, बहुपरिचय, बहुविचार, बहुयौनिकतालाई व्यवस्थापन गर्ने सुविधा यसअघि मानव सभ्यतालाई कहिल्यै थिएन ।

मैले राम्ररी चिनेका एक जना भाइ छन् पोखरामा । उनी यौनका कुण्ठाहरू आफ्नो ‘फिमेल एकाउन्ट’बाट पोख्छन् । ‘मेल एकाउन्ट’बाट त्यसलाई रिट्वीट गर्छन् । कहिलेकाहीँ त ‘कमेन्ट’ र ‘रिप्लाई’ पनि गर्छन् । उनको मानसिक अवस्था अझै नबिग्रिइसकेको देखिइने हुनाले कम्तीमा आफैँले आफैँलाई ‘डीएम’ चाहिँ नगरिसकेका छन् कि भन्ने विश्वास भने गर्छु ।

कसैसँग भेट हुनु भनेको ‘अनलाइन’ हुनु भएको छ ।

मेरा आफ्नै केही अन्तरंग मित्रहरू छन्, जसलाई मैले अहिलेसम्म भौतिक रूपमा भेटेकै छैन । यसरी भेटिँदै नभेटीकन ‘भेटिएका’, ध्वनि नसुनी स्वर बुझिएका ‘साइबर साथी’लाई म प्रेमपूर्वक ‘मानिस’ भनेर सम्बाेधन गर्छु । हालाकी कालान्तरमा कति जना भौतिक रूपमै भेटिन्छन् । भेटिएपछि कति मानिसै रहन्छन् कति रहन्नन् । मित्र भूपेन्द्र खड्काको गीतझैँ 'भेटिएर अमानुष हुनुभन्दा नभेटिएकै जाति हुन्थ्यो' भनेर गाउँदै हिँड्ने कुरा पनि भएन । मानिसको भौतिक आचरण, विचार, बौद्धिकीभन्दा निक्कै भिन्न साइबर आचरण, विचार र बौद्धिकी हुँदो रहेछ । फेसबुक र ट्विटरमा देखिने आदर्श एक चिया गफमा स्खलित परेर जान्छ र जाँदाजाँदै भन्छ– सार्वजनिक रूपमा यसरी भन्न त भए नि !

मलाई एक दिन एक जना अनुज–मित्रले सोधेका थिए, 'दाइ, तपाईंले कहिल्यै समाजले अपराध मान्ने कुनै गोप्य ‘पाप’ गर्नु भा’छ ? यस्तो पाप जुन सार्वजनिक भयो भने तपाईंको लेखकीय परिचय नै धरापमा पर्छ ।'

मैले बठ्याइँ गर्दै भनेको थिएँ, 'समाजले ठान्ने वाकानुन र व्यवस्थाले ठान्ने पाप-अपराध एउटा लेखकको हकमा पाप-अपराध नभएर स्वतन्त्रताको अभ्यास वा वकालत पनि हुन सक्छ । त्यसैले त हिजो पाप ठानिने कतिपय कुरा आज अधिकार बनेका छन् ।'

मेरो कूटनीतिक जवाफ सुनेर भाइ मुस्कुराए । केही समयसम्म हामी दुवै मौन बस्यौँ । उनी मैले थप बोल्छु कि भनेर कुरे । मैले उनले कुनै प्रतिक्रिया जनाऊलान् कि भनेर कुरेँ ।

अनि उनी आफैँले मौनता तोडे, 'तर दाइ, घटनाको व्याख्या गर्नु नपर्ने सर्तमा म घोषणा गर्छु कि मैले यस्तो ‘अपराध’ गरेको छु । ‘पाप’ गरेको छु । एक नभएर अनेक काम गरेको छु ।'

'हाम्रोबारेमा समाजलाई जे थाहा छ, त्यसबाहेक पनि हामी कोही हौँ । त्यो सबैको अस्तित्व हो, हुवाइ हो', मैले आदर्श छाँटेको थिएँ ।

'तर दाइ, मैले भन्न खोजेको खास कुरा के हो भने मान्छेको जातले आफ्नो परिचय निर्माण गर्न वा त्यसको प्रचार गर्न जति समय खर्च गर्छ, उति नै समय आफ्नो परिचय लुकाउनमा पनि खर्च गर्छ । मान्छेको सफलतामा उसको देखिएको परिचयको जति हात छ, उसले लुकाउन सकेको परिचयको पनि उत्तिकै हात छ', बोल्दै गर्दा भाइको हातमा त्यही पत्रिका थियो, जसमा सञ्जीव उप्रेती सरले भर्खरै कुनै पुरस्कार लिन इन्कार गरेको समाचार थियो । कुनै 'आदर्श' कमरेडको परिचय अनावृत्त भएको अवस्था थियो ।

साइबर संसारमा खोलिने यस्ता ‘मल्टिपल’ एकाउन्टमा म मान्छेको त्यो लुकाइएको पाटो छताछुल्ल भएको पाउँछु ।

मलाई फेक एकाउन्टहरू त्यसैले पनि आकर्षक लाग्छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७, ०९:३१:००

Tuesday, November 17, 2020

चाडबाडको संग्राम शृंखला

संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो ।


 पहिलो प्रसंग तिहारको बारेमा होइन ।

तीन वर्षपहिले दक्षिण भारतको लामो भ्रमणमा थिएँ । हामी चढेको मोटरको स्पिकरमा घनाघन मादल घन्किन थाल्यो । बिल्कुल नेपाली झ्याउरे गीतको ‘इन्ट्रो’ सुनेर मैले सोचेँ, क्याब ड्राइभरले हामीलाई नेपाली भनेर चिनेछन् र हाम्रो गीत बजाइदिएछन् । तर, जसै गीतको बोल सुरु भयो म अचम्भित भएँ । त्यहाँ नेपाली होइन उतैको मलयालम गीत बजिरहेको थियो । तर, बिल्कुल नेपाली लय र बान्कीमा ।

भनेपछि यताका लोकगीतमा पनि मादल घन्किदोरहेछ, होइन ? आत्मप्रश्नको जवाफ एउटा सांगीतिक संग्रहालयमा मिल्यो, जहाँ पुराना साजहरू सजाइएका थिए । हाम्रो मादललाई त्यता मृदंगम भन्दा रहेछन् । कुरा संगीतकै मात्रै थिएन । त्यहाँका कतिपय परम्परागत नाच पनि हाम्रैजस्ता चालढालका थिए । नृत्यको चाल मात्रै होइन दक्षिण भारतको भात पनि बिल्कुल नेपाली स्वादकै थियो । खाने पनि हातैले मुछेर, (हामीतिर किरियापुत्रीले मात्रै खाने भए पनि) त्यो पनि केराको पातमा ।

होटलमा फर्केपछि मानवशास्त्री सुरेश ढकाललाई फोनमा सोधेँ, ‘के हामी पहाडी नेपाली र दक्षिण भारतीयका बीचमा कुनै ऐतिहासिक सम्बन्ध छ, भन्नाले पुर्ख्यौली सम्बन्ध छ ?’ उनले त्यसको सम्भावना नभएको बताउँदै स्वाद र संगीत अथवा कुनै सांस्कृतिक सम्पदाको समानता अरू धेरै कारणले पनि देखिन सक्छ भनिदिए । संस्कृतिको समकालीन उत्पत्ति, विकास र प्रसारणका अनेक सम्भावना पो हुँदा रहेछन् ।

घर फर्केपछि पनि मलाई दक्षिण भारतीयसँगको हाम्रो सांस्कृतिक (स्वाद र सांगीतको) समानताको चक्करले छोडेन । यसका बारे लेखिएका सामग्री खोज्न थालेँ । अनलाइन पुस्तकालय चहारेँ । र फेला पारेँ, कहिलेकाहीँ भौगोलिक, जातीय वा भाषिक रूपमा भिन्न समाजमा पनि एकै समयमा एउटै सांस्कृतिक सम्पदा उत्पन्न हुन सक्दारहेछन् । सांस्कृतिक मात्रै नभएर वैज्ञानिक आविष्कारै पनि हुन सक्दा रहेछन् । जस्तो कि हेर्नुस्, कोलम्बस अमेरिका पुग्दा उनले त्यहाँका आदिवासी रेड इन्डियनहरूले डुंगा चलाइरहेको देखेका थिए । अब आफैँ भन्नुस्, डुंगाको आविष्कारक कसलाई भन्ने ? कुन जाति वा व्यक्तिले पहिलो डुंगा बनायो भनेर तथ्य राख्ने ? यस्ता समकालीन र समतुल्य आविष्कार र उत्पादनको प्रतिलिपि अधिकार कसलाई हस्ते गर्ने ?

अझ कुरा अर्कै छ । म गीत, संगीत र नृत्यकै कुरामा फर्किन्छु । तपाईं–हामीले वास्तै नगरेको एउटा तथ्यमा एक छिन गम्नुस् । संसारभरका हिमप्रदेश (अल्पाइन रिजन) का गीत, बाजागाजा र नृत्यलाई ध्यानपूर्वक हेर्नुस् (सजिलोका लागि हाम्रै हिमाली क्षेत्रका जनजातिका नृत्य सम्झिनुस्) । उनीहरू कहिल्यै एक्लै नाच्दैनन् । समूहमा नाच्छन् । त्यो पनि एकअर्काको हात वा कम्मर पक्रेर । नाचमा हात होइन बढी खुट्टा चलाउँछन् । नृत्यको ताल पनि एकनासको र धीमा गतिको हुन्छ । सबैले एकसाथ दाहिने खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । त्यसपछि देब्रे खुट्टा उचाल्यो अनि भुइँमा राख्यो । सकेसम्म गोलाकार भएर हलुका चालले फन्को मार्दै नृत्य सम्पन्न गर्‍यो ।

संसारभरका शीतक्षेत्रमा एकसमानको चालढालमा किन नाचिन्छ होला ? त्यस्तो संगीत र नृत्यको आविष्कार कुनै जाति, भाषा वा धर्मविशेषको कारणले नभएर भौगोलिक र प्राकृतिक कारणले भएको हो । हावाहुरी चलिरहने, हिउँ परिरहने यस्ता क्षेत्रमा एक्लै हिँड्न प्रायः सम्भव हुँदैन । हिँडिहाले ज्यान जाने खतरा रहन्छ । बाक्लो कपडा लगाएर एकले अर्काको साथ दिँदै सुस्तसुस्त चालमा हिँड्नु यहाँको भौगोलिक आवश्यकता हो । प्रकृतिले सुम्पेको यही आवश्यकताले नै यहाँको नृत्यको आविष्कार भएको हो ।

अब हिमालबाट अलिक तल पहाडमा ओर्लिनुस् । यहाँ एकल, दोकल वा सामूहिक सबै खाले नाच हुन्छन् । तर, संगीतको गति हिमालमा जस्तो धीमा हुँदैन । एकअर्कालाई (पूरै समय) नछोडीकन च्याप्प समातेर वा सम्हालेर नाच्ने पनि हुँदैन । मादलको घन्काइसँगै फन्फनी घुम्ने, बुरुक्क उफ्रिने, खुरुर्र कुद्ने नेपालका सबैखाले पहाडी नाचको समान विशेषता हो । नेपाल मात्रै नभएर संसारभरका पहाडी नाचमा उस्तै चालढालले फुर्तीसाथ किन नाचिन्छ ? कारण उही प्राकृतिक र भौगोलिक अवस्थाले हो । हाम्रैमा हेर्नुस् । पहाडका छरिता खोला तर्न होस् वा उच्चाल भीर उक्लिन होस् । वा कुनै टारीको एउटा आलीबाट बाख्रा खेद्दै अर्कोमा हाम्फालेर कुद्न नै किन नहोस् कसैको हात वा कम्मर समातेर फत्ते गर्न सम्भवै हुँदैन । पहाडले एउटा छरितो गति माग्छ । त्यो पनि एकल प्रयासको ।

अब तराईमा ओर्लिनुस् र त्यहाँका परम्परागत नाचलाई हेर्नुस् । पहाडमा जस्तो एकल नृत्य छैन । तर, हात वा कम्मर समातेर पनि नाचिन्नँ । संगीतको आवाज पनि चर्को चर्को छ । भाला, लाठीको प्रयोग छ । नाचमा आगोसमेत मिसिएको छ । त्यस्तो कसरी भयो ? कारण उस्तै छ । घना जंगलका बीचमा झुप्पा–झुप्पा गाउँमा बसोबास गर्ने जनजातिलाई जहिल्यै जंगली जनावरबाट आफू जोगिने अनि आफ्ना वस्तुभाउ तथा खेती जोगाउने सुर्ता भइरहने भयो । जंगली जनावरलाई तर्साएर खेद्न यस्ता ठूल्ठूला, तिखा र कर्कश आवाज निकाल्ने वाद्ययन्त्र चाहिए । लाठा–भाला चाहिए । आगोको प्रयोग अनिवार्यजस्तै भयो ।

गीत, संगीत र नृत्य मात्रै नभएर हाम्रा अन्य सांस्कृतिक सम्पदाको निर्माण र विकासमा पनि खासमा प्रकृतिले प्रभाव पारेको हुन्छ । खाने कुराको स्वाद, लगाउने पोसाक, बनाउने घर, चिन्ने चोक र चौतारामा पनि यसैको प्रभाव हुन्छ ।

दोस्रो प्रसंग तिहारको बारेमा हो ।

नेपालमा लामो समयदेखि ‘तिहार कसरी सुरु भयो ?’ भन्ने विषयमा लामो बहस चलेको छ । जातीय पहिचानको बहसको छेकोमा दसैँ र तिहारजस्ता चाडबाडहरू कतिले मनाउनै छोडेका छन् भने कतिले यस (तिहार) लाई हिन्दुकरण गरिएको निश्चित जनजातिको चाडबाड भएको अर्थमा व्याख्या पनि गरेका छन् । तिनको छिनोफानो गर्ने विज्ञता र सक्यता ममा छैन । इतिहास, संस्कृति र मानवशास्त्रका विज्ञहरूले यसका बारेमा बढी सामर्थ्य राख्लान् ।

इतिहासले ठूला राज्य भनेर बढाइँ गरेको भए पनि खासमा हाम्रा पहाडी राज्यहरू त्यस्ता ठूला थिएनन् । प्रशासनिक केन्द्र रहने दरबारदेखि एक दिनको पैदलयात्रा वा घोड–सवारीमा छिचोलिने क्षेत्रभित्रै हिजोका पहाडी राज्यहरू फैलिएका थिए । हाराहारीमा भन्दा अहिलेका एक जिल्ला बराबर एक राज्य थिए । राज्यका सीमाहरू वैज्ञानिक थिएनन् र स्थायी पनि थिएनन् ।

जति धेरै राज्य उति धेरै अन्तरद्वन्द्व, उति धेरै असुरक्षा, उति धेरै युद्ध ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशारण र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

नेपालका पहाडी चाडबाडलाई युद्धको पृष्ठभूमिबाट अवलोकन गर्ने प्रयास यो आलेखको हो । उसो त हिन्दुहरूले मनाउने अधिकांश चाडबाडको पृष्ठभूमि युद्ध नै छ । राम, कृष्ण र विष्णुका अन्य अवतारले अरू कुनै आसुरिक प्रतिद्वन्द्वीमाथि गरेको विजयको सन्दर्भमा चाडबाड मनाउन थालिएका व्याख्या भएकै छन् । तर, ती युद्धलाई समकालीन समाजमा हुने युद्धसँग तौलेर अध्ययन गरियो भने संस्कृतिको उत्पादन, प्रशासन र वितरण मात्रै होइन, त्यसको मनाई (प्रस्तृति) मा हुने भौगोलिक विविधताको कोणबाट बुझ्न अझ मद्दत पुग्छ ।

देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । त्यसैले ‘बलि राजाले पठाएको’ भनिएकाे हो । उहिले हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो ।तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

विशेष कारण र अपवादलाई बेवास्ता गर्ने हो भने तिनताकाका अधिकांश युद्धहरू हिउँदमा हुन्थे । आउँदो हिउँदमा हुने वा हुन सक्ने युद्धको छायामा हाम्रा अधिकांश ठूला चाडबाडहरू मनाइएका हुन् । त्यसको सुरुआत तीजबाट हुन्थ्यो । ऋषिपञ्चमी अन्यत्र पनि मनाइएला तर तीज मनाइने नेपालमा मात्रै हो । मुख्य बाली धान रोपिसकी थकाई मारेर बसेको बेला पर्छ तीज । हिउँदको सम्भावित युद्धमा मरिने वा बाँचिने पक्को नभएपछि पुरुष सदस्यहरूले विवाहपछि परिवारबाट छुटेका महिला सदस्यलाई बोलाएर भेटघाट गर्ने र दुःखसुख साट्ने काम तीजमा हुन्छ । उता जन्मघर आएका विवाहित महिला सदस्यले कर्मघरमा छोडिआएको लोग्नेको दीर्घायुका लागि व्रत बस्नाको कारण पनि त्यही हो । (महिनावारी सुरु नहुँदै बिहे गरिने तत्कालीन चलनलाई मध्यनजर गर्दा) महिनाबारी भएका महिलाले मात्रै तीजको व्रत लिनुपर्ने भन्नुको अर्थ बिहे गरेका महिलाले मात्रै तीजको व्रत लिन्थे भनेर बुझ्नुपर्छ । पछि व्रतको अर्थ फेरियो र अविवाहित महिलाका लागि पनि त्यसलाई अनिवार्य गर्न थालियो । यस्तै महिनाबारी बन्द भएपछि पतिको दीर्घायु–व्रत लिनु पर्दैन भन्नुको अर्थ त्यो बेलासम्म महिलाको लोग्ने बूढो भइसक्ने र बृद्ध सदस्यहरूलाई युद्ध नलाग्ने कारणबाट बुझ्न सकिन्छ ।

तीजपछि लाग्छ १६ श्राद्ध, जसमा युद्धमा दिवंगत भएका आफ्ना पुर्खाहरूलाई सम्झिइन्थ्यो । श्राद्ध भनेको श्रद्धा न हो । त्यो १६ दिनमा उनीहरूलाई श्रद्धाञ्जली दिइन्थ्यो । कालगतिले बितेका पुर्खालाई सामान्य तिथिमा श्रद्धाञ्जली दिइन्थ्यो भने युद्धमा वा अकालमा बितेकालाई १६ श्राद्धमा । अहिले सबैखाले पुर्खालाई दुइटै श्राद्ध गर्ने चलन बसेको छ ।

१६ श्राद्ध लगत्तै शक्तिपूजा अर्थात् बडा दसैँ सुरु हुन्छ । व्याख्यामा युद्ध विजयको पर्व भनिए पनि खासमा बडादसैँ युद्ध तयारीको चाड हो । त्यसका लागि हातहतियारको जोहो गर्ने, तिनमा सान लगाउने, तिनको पूजा गर्ने आदि काम हुन्थ्यो । राज्यका सैनिक र प्रशासनिक सेवामा पजनी गर्ने काम यसै बेला हुन्थ्यो । युद्धको तालिम गर्ने, पौष्टिक आहार खाएर हृष्टपुष्ट हुने बेला पनि त्यही थियो । वृद्ध सदस्यसँग विजयको आशीर्वाद त्यसै मागिएको होइन ।

घटस्थापनादेखि तिहारको अघिल्लो दिनसम्म युद्धका अधिकांश तालिमहरू सकिन्थेँ । मुख्य बाली धान भित्र्याउन योग्य हुने तरखरमा रहन्थ्यो तर अघिल्लो वर्षको जगेडा अन्नपात अझै भकारीमै हुन्थ्यो । बारीको काट्नयोग्य अन्न र भकारीमा जगेडा अन्नको मूल्याङ्कनका आधारमा परिवारले आउने वर्ष खर्चिने खान्कीको हिसाबकिताब हुन्थ्यो । अर्को वर्षका लागि यतिसम्म चाहिएला भनी अनुमान गरी जगेडा देखिने सम्पत्तिलाई प्रयोग गरिने चाड भएको हुनाले नै तिहारलाई धनलक्ष्मीको चाड भनिएको हो । यही अतिरिक्त बच्ने मूल्याङ्कन गरिएको अन्नपातलाई दुई भाग लगाइन्थ्यो— जुवा तास खेल्ने र देउसी–भैलोमा दान गर्ने । देउसी–भैलोका टोलीहरू राज्यबाट खटाइएका हुन्थे । ‘बलि राजाले पठाएको’ भनेको त्यही हो । हामी सानो छँदासम्म काग तिहार र कुकुर तिहारको दिनमा भैली खेल्ने चलन थिएन । अन्तिमका तीन दिनमध्ये तेस्रो दिन भैली खेलिन्थ्यो भने चौथो र पाँचौं दिन देउसी । आजकाल गाउँका सबै घरमा खेल्न नभ्याएपछि तिहारका पाँचै दिनले समेत नपुगेर छैटौँ, सातौँ वा अझै बढी दिनसम्म पनि (सामाजिक कामको लागि आँटिएका) देउसी खेल्ने गरिन्छ । कतिपयले तिहारपछि किन भैलो खेलेको भनेर आलोचना पनि गर्छन् । तर, उहिले त झन् हरिबोधिनी एकादशीको दिनसम्म देउसी–भैलो खेलिन्थ्यो । तर, तिहार सकिएपछिको देउसी–भैलो घरघरमा नभएर खेत–खलामा गएर खेलिन्थ्यो । तिहारका ५ दिनभित्रको भैलीदान अघिल्लो वर्षको अन्नबाट दिइन्थ्यो भने तिहारपछिको दान खलेगह्रामा थुपारिएको अन्नको नयाँ रासबाट झिकेर दिइन्थ्यो ।

हरिबोधिनी एकादशीलाई फुल तार्ने एकादशी पनि भनिन्छ । फुल तार्नु भनेको खोला तर्न योग्य भयो भनेर निर्क्योल गर्नु हो । हेलिएर तर्नयोग्य नभएको खोलालाई डोरी (अहिलेको तुइनझैँ) को माध्यमबाट तर्न योग्य बनाउनु हो । त्यसपछि खोला तरेर पराई देशमा आक्रमण गर्न जाने साइत आउने भयो ।

तिहारको बेलामा आफ्ना दाजुभाइलाई झट्टै नसड्ने सुख्खा फलफूल, तेलमा तारिएका सेलरोटीलगायतका पोषिला परिकार त्यसै दिइएको होइन । तिहारमा दाजुभाइको पूजा गरेमा उनीहरूको दीर्घायु हुन्छ भन्ने अर्थ यहीँ निहित हुन्छ । दाजुभाइलाई यस्ता मिष्ठान्न उपहार त्यही दिनमै खान भनेर दिइएका होइनन् । भोलि युद्धमा छँदा भाइ भोकै पर्ला भनेर जगेडा राख्न दिइएका हुन् ।

हिउँदभरिको युद्ध सकिएपछि सिपाहीहरू चैतमा घर फर्किन्थे । हार्नेहरू या त मारिन्थे या त दासदासी बनाइन्थे । घर फर्किने भनेको जित्ने सिपाही नै हो । यसरी विजय उल्लासमा घर फर्केको सिपाहीको स्वागतार्थ चैतेदसैं अर्थात् रामनवमी मनाइएको हो । खासमा भन्ने हो भने चैतेदसैं मात्रै विजयादशमी हो । बडादसैँ भनेको युद्ध तयारीको चाड हो ।

तेस्रो प्रसंग नेपालका पहाडमा हिन्दुहरूले मनाउने चाडबाड किन भारत वा अन्य ठाउँका हिन्दुहरूले मनाउने चाडभन्दा फरक भए वा फरक तरिकाले मनाइए भन्नेबारेमा छ ।

नेपालका धेरै इतिहासकार र संस्कृतिविद्हरूले चाडबाड, मेला, जात्रा आदिलाई कुनै अमुक राजाले चलाएको चलनका रूपमा व्याख्या गर्छन् । जनश्रुति पनि त्यसरी नै बनेका वा बनाइएका हुन्छन् । यो हास्यास्पद र अल्छे व्याख्या हो, जसका लागि कुनै अनुसन्धानको आवश्यकतै पर्दैन । सयौँ वा हजारौँ वर्षदेखि चलेका यस्ता चाडबाड–जात्रा–पर्वहरू कुनै सानो देशको एउटा शासकको उर्दीका भरमा चलेका हुन् भन्ने कुरामा कम्तीमा म त विश्वास गर्दिनँ । चल्थ्यो भने आफूलाई सर्वशक्तिमान् सम्झने संसारका हरेका शासकले त्यसो गर्दा हुन् । हाम्रा प्रधानमन्त्री केपी ओली त झन् आफ्नो नामको जात्रा चलाउन उहिल्यै कम्मर कस्दा हुन् ।

कुनै राजाले दिएको उर्दीका भरमा त्यो देश मात्रै नभएर सारा छिमेकी (सम्भवतः शत्रु) मुलुकभर कुनै चाड मनाउने चलन चल्यो भन्नु कदाचित वैज्ञानिक व्याख्या होइन । त्यस्तो हुन्थ्यो भने शासकले चलाउने यस्ता चलन शासकको राजनीतिक सीमाबाहिरका क्षेत्रमा पनि किन स्थापित हुन्थ्यो ? हामीले चाडबाडहरूको उत्पत्ति र विकासका बारेमा नयाँ वैज्ञानिक विधिबाट सोच्ने सकेनौँ भने यो गल्ती गरिरहनेछौँ । मलाई के लाग्छ भने यस्ता सांस्कृतिक सम्पदाको सामाजिक, आर्थिक, लैङ्गिक, मानवशास्त्रीय व्याख्या हुनु जरुरी छ । अझ जरुरी छ त्यस्ता सम्पदा चलनकै रूपमा स्थापित गरिन आवश्यक ठानिनुको भौगोलिक र प्राकृतिक कारण खोज्न ।

मैले पहिलो प्रसंगमा हिमाल, पहाड र तपाईंका नाचको ताल–चाल–ढालमाथि प्राकृतिक व्याख्या यसैले गरेको हुँ ।

चाडबाड मनाउन चाहिने यस्तै भौगोलिक र प्राकृतिक कारणले गर्दा नै एउटै धर्मका एउटै चाड पनि सबै ठाउँमा मनाइँदैनन् । कम्तीमा उही तरिका र अर्थले मनाइँदैनन् । मुम्बईमा ‘दिवाली’ का दिन एउटा प्रेमीले आफ्नी प्रेमिकालाई ‘ह्याप्पी दिवाली’ भन्दै प्रेम प्रस्ताव राख्न सक्छ । तर, के हामीले ‘तिहारको शुभकामना’ भनेर आफ्नो प्रेमी वा प्रेमिकालाई प्रेमपत्र थमाउन सक्छौं त ? यस्तो फरक कसरी भयो त ?

किनभने हाम्रा सांस्कृतिक पर्वले धर्म अर्थात् मिथक (कथा) को आडेस लागेको मात्रै हो । खासमा संस्कृतिको उत्पादन र विकासलाई बुझ्न तीन ‘कृति’ लाई गाँसेर बुझ्नुपर्ने हुन्छ : प्रकृति, संस्कृति र विकृति । प्रकृतिले दिएका कुराले मात्रै नपुगेपछि मान्छेले जे सुरु गर्छ, त्यो संस्कृति हो । संस्कृतिलाई प्रकृतिको विरुद्ध छाँटकाँट गरियो भने त्यो विकृति हो (किनकि संस्कृतिको निर्धारण प्रकृतिले गरेको हुन्छ ।)

जंगली खाद्यान्नले नपुगेपछि, जंगली जनावरको सिकारले नधानेपछि कृषि संस्कृति सुरु भयो । यसरी संस्कृतिका अनेकन आयाम बने । भाषा, वेशभूषा, आहार, निवास, जीवनशैली, कला, गीत, संगीत, नृत्य, साहित्य, धर्म, चाडबाड, जात्रा, मेला, पर्व... ।

हिन्दुइतरका नेपालका पहाडी जनजातिहरू कृषि संस्कृतिका उपकास हुन् । उनीहरूका चाडबाड, पर्व, जात्रा, मेला, गीत–संगीत, नृत्य आदि सबै कृषिसापेक्ष उत्सव हुन् । कृषि उत्पादनमा फरक पार्ने ऋतु परिवर्तन, मौसम, वर्षा, खडेरी आदिको प्रभावका आधारमा उनीहरूका धार्मिक विश्वास र अन्धविश्वासको निर्माण भएको छ । जीवनशैली बनेको छ ।

तर हिन्दुहरूको संस्कृति युद्ध संस्कृति हो । हिन्दुका सबै चाडबाडहरू मनाउन पर्नुका कारण स्वरूप सदैव एउटा युद्ध, लडाइँ वा संग्रामको पृष्ठमूमि छ । राम, कृष्ण, वामनलगायत विष्णुका अनेक अवतार, महादेव वा दुर्गा आदिले जितेका लडाइँको स्मृतिमा हिन्दुका चाडबाडहरू मनाइएका छन् ।

नेपालका खसहरूको हिन्दुकरण भएपछि (यसो भन्नेहरू पनि भएकाले) होस् अथवा नेपालमा हिन्दुहरूको प्रवेश भएपछि होस् (यसो भन्नेहरू पनि भएकाले) वा नेपालमा हिन्दु र प्रकृतिपूजक गैरहिन्दुले एकैसाथ बास बसेपछि (यसो भन्नेहरू पनि हुन सक्ने भएकाले) युद्ध संस्कृतिका उपासक हिन्दुहरूको घुलमिल यहाँका आदिवासी प्रकृतिपूजकहरूसँग भयो । युद्ध संस्कृति र कृषि संस्कृतिको अन्तरद्वन्द्व, संवाद र सहमतिका आधारमा नेपाली पहाडमा नयाँ संस्कृतिको निर्माण भएको हो । किनकि प्रकृतिलाई अपहेलना गर्ने हिम्मत कसैलाई हुँदैन । यहाँका हिन्दुका चाडबाडहरू आदिवासीका प्राकृतिक चाडबाडसँग मिसिए, घुले । यसरी घुल्दा दुवैतर्फ केही नयाँ चाडबाड निस्किए वा भनौँ चाडबाड मनाउने नयाँ तरिका निस्किए । नभए भारतीय हिन्दुले ‘दिवाली’ मा नखेल्ने भैलो नेपाली हिन्दुले किन खेल्थे ? दसैँमा अक्षता र जमरा किन लगाउँथे ? गोठ र खर्कपूजा किन चल्थ्यो ? लुतो किन फालिन्थ्यो ? धानको पहिलो पुला हिमाललाई किन चढ्थ्यो ? गाउँको पुछारमा झाँक्रीको थान किन बसालिन्थ्यो ? हरेलो किन हालिन्थ्यो ? साउने–पुसे–माघे संक्रान्ति, असार १५, किन मनाइन्थ्यो ?

जसरी नेपालका गैरहिन्दु प्रकृतिपूजकमाथि हिन्दु धर्मको प्रभाव पर्‍यो, उसै गरी यहाँका हिन्दुमा प्रकृति पूजकहरूको पनि प्रभाव परेको छ । नेपालका (त्यसमा पनि पहाडी) हिन्दुहरू प्रकृतिपूजक हिन्दु भएका छन् । प्रकृतिपूजकहरू भने हिन्दु प्रकृतिपूजक भएका छन् । यसको अनुपात र विस्तृतिमा भने अवश्य फरक छ । यहाँ यतिखेर संस्कृतिलाई धर्मसँग जोड्ने शासकीय यत्न, हिन्दु धार्मिक शासकहरूको ऐतिहासिक वर्चस्व र तिनले लादेको धार्मिक एकलौटीपनका कारणले हाम्रो सांस्कृतिक अन्तरघुलनमा परेको/पारिएको अप्राकृतिक प्रभाव र त्यसले जन्माएको अल्पसंख्यक जातिको सांस्कृतिक र धार्मिक पहिचानमाथिको अपमानको जालोलाई बिर्सनु भने अवश्य हुँदैन ।

त्यसो त अहिले संस्कृति कम विकृति ज्यादा चल्तीमा छ ।

प्रकाशित : कार्तिक २९, २०७७ ०९:४५प्रकाशन : कान्तिपुर


Sunday, November 8, 2020

कमरेड विकल्पको अन्तिम पत्र

कमरेड विकल्पको अन्तिम पत्र

लेखक — विकल्प

YouTube