Contact Form

Name

Email *

Message *

Tuesday, January 31, 2017

अलविदा हेडसर !



मझेरी पाटनको यौटा शैक्षिक धरोधर गुरु मुनबहादुर कार्कीको दैहिक जीवन आजबाट सकिएको छ । तर वहाँसँग जोडिएका मेरा स्मृतिहरू सकिएका छैनन् । बौरिरहेका छन् ।

१) एअरपोर्टभित्रको घर : आँप र अमरा । 

वहाँको पुरानो घर मेरो घरदेखि पूर्वपट्टि खोल्सोपारी थियो । अघिल्तिर सायद आँपको रुख थियो । घर छेऊमा अमराको रुख थियो । मझेरी पाटनका सबै केटाकेटी वहाँदेखि थर्कमान हुन्थे तर मलाई थाह छैन किन हो, वहाँसँग कहिल्यै डर लागेन । कक्षा १ पढ्दाखेर म वहाँको घरमा गैरहन्थेँ । सायद त्यति बेलै हो, वहाँले मलाई पिढीँमा बसालेर आँप खान दिनुभएको थियो । आँपको स्वाद जिब्रो पर्दा हमेशा म त्यो पुरानो स्वाद सम्झिन्छु ।

२) म ४ कक्षामा पढ्थेँ । भर्खरै मात्रै अँग्रेजी वर्णमाला सिकेका थियौ । यौटा खाली परियडमा मुनबहादुर सर पस्नुभयो नेपाली अक्षरलाई अँग्रेजी हिज्जो (रोमन)मा लेख्न सिकाउनु भयो । मलाई त्यसले यत्ति छोयो कि मैले केही दिनमै केए क, केएचए ख भनेर पुरै नेपाली वर्णमालालाई अँग्रेजीमा लेख्न सिकेँ । बाह्रखरी पनि छिचोलेँ । 

एक दिन फुर्तिफार्तीमा मैले साथीहरूलाई भनिदिएँ — मलाई संसार सबै मान्छेको नाम अंग्रेजीमा लेख्न आउँछ । 

मेरा मित्रहरूले मलाई उडाए । धेरैले धेरै नामको स्पेलिङ सोधे । मैले सही सही भन्दै गएँ । तर मित्र महेशले आफ्नै दाइ तीर्थ भण्डारीको स्पेलिङ सोधे । दिपक देम्जोङ (चँखे)ले कन्फ्युसियसको स्पेलिङ सोधे । तीर्थमा ह्स्व ति र कन्फ्युशियसको फ्युमा एफयु नगरेर पिएचवाइयु गरेको हुनाले मेरो स्पेलिङ बिग्रेको थियो र मेरो ‘घोर‘ अपमान भएको थियो ।

३) कक्षा ३ मा पढ्दा वहाँले नेपाली पढाउनु हुन्थ्यो । मेरो नेपालीको किताब हराएको थियो । साथमा पुस्तक नदेखेपछि वहाँले झपार्दै भन्नुभयो, ‘किताब खोई ?’ 

गोलिगाँठोमा लड्ठी खाइने कल्पनाले मात्रै म छुल्छुली हुनै आँटेको थिएँ, अकस्मात बोली फुस्कियो – ‘सर मलाई पुरै किताब कण्ठै आउँछ त्यही भएर नल्याएको ।‘

मेरो जवाफपछि मलाई वहाँले एकपछि अर्को गर्दै कथाहरू कण्ठ सुनाउन भन्नु भयो । (त्यो बेला कविता त सबैलाई कण्ठै हुन्थ्यो ।) मैले सोधे जति सुनाउँदै गएँ । ‘खरायो र कछुवाको दौड‘ शिर्षकको कथा कण्ठै सुनाउँदा अन्तिम वाक्यमा अड्केको थिएँ । त्यही अड्काई पछि गोलीगाँठोमा लड्ठी खाएको थिएँ । मुनबहादुर सरले मलाई पिट्नु भएको पहिलो र अन्तिम घटना त्यही यौटा थियो ।

४) सायद कक्षा ४ पढ्दा हो, उबेलाको प्रख्यात स्कुल गण्डकी बोर्डिङले छात्रवृत्तिको लागि प्रवेश परीक्षा लिन्थ्यो । मुनबहादुर सरले आफैँले लिएर मलाई परीक्षा केन्द्र ज्ञानभूमि प्रावि (नदिपुर) लैजानु भयो । मेरो परीक्षा भइन्जेल कुर्नुभयो । त्यसको केही दिनमा वहाँ आफैँ गएर त्यसको रिजल्ट पनि बुझ्नुभयो । मेरो नाम एक नम्बरमैँ निस्केको रहेछ । वहाँले मलाई बधाई दिनुभयो र बोर्डिङ गएर पढ्दा यो यो कुरा ख्याल गर्नुपर्छ भनेर सिकाउनु भयो । म नयाँ वातारणको व्याख्या मात्रैले निक्कै प्रफुल्ल भैरहेको थिएँ । गुणस्तरीय विद्यालयमा पढ्न पाइने आशाले खुब पुलकित भएको थिएँ । तर खै किन हो गण्डकी बोर्डिङमा मेरो भर्ना हुन पाएन । केही बर्षसम्म नाम निकालेर पनि पढ्न नपाएको घटना सम्झेर निक्कै दुख लाग्थ्यो, तर पछि बिस्तारै जे भयो ठिकै भयो भन्ने लाग्न थाल्यो ।

५) त्यो बेला म मात्रै १० वा ११ बर्षको थिएँ । रामेश्वरी प्राविबाट कक्षा ५ उत्तीर्ण भएपछि कक्षा ६ पढ्न कता जाने दुविधामा थिएँ । नजिकै र सजिलो स्कुल शुक्रराज बलभद्र थियो । तर मलाई मुनबहादुर सरले आफैँले लिएर घारिपाटनस्थित भवानी कालिका मावि लैजानुभयो । त्यहाँका प्रधानाध्यापक र शिक्षकको अगाडि मेरो क्षमताको तारिफ गरिदिनु भयो र मेरो निःशुल्क अध्ययनको व्यवस्था गरिदिनु भयो । पछि म आफैँ शिक्षण पेशामा लागेँ । एउटा विद्यालयको प्रधानाध्यापकले अर्को ४÷५ किलोमिटर टाढाको स्कुलसम्म आफैँ हिँडेर गई मेरो भर्ना गराएको त्यो दृश्य सम्झिदाँ अहिले पनि भावातित हुन्छु । मप्रतिको वहाँको अप्रतिम विश्वास मैले निभाउन सकेँ या सकिनँ भनेर सधैँ द्विविधापन्न हुन्छु ।

६) मुन बहादुर सरसँग हाम्रो परेली थियो । हाम्रो घरमा त्यो बेला गुरे गोरु थियो । आफ्नो घरमा जोताई परेको बेला सरको घरमा पुगेर गोरु ल्याउने जिम्मा प्रायः मेरो हुन्थ्यो । दाइ दिदीहरू वहाँसँग डराउँथे, त्यसैले गोरु लिनै भए पनि जान हिच्किचाउँथे । मलाई भने कुनै डर लाग्दैनथ्यो । बिहान गोरु लिन जाँदा वहाँले ‘यो पढेर सुना’ भनेर मलाई युवा मञ्ज, गोरखापत्र आदिका केही किस्सा दिनुहुन्थ्यो । ती प्रायः रोचक किस्सा हुन्थे । मैले टेक्स्ट बुकभन्दा परको कुनै अनुच्छेद पहिलो पटक पढेको भनेको सायद त्यहीँ थियो । पछि वहाँकै नेतृत्वमा विद्यालयमा ‘ह्याङ्गिङ लाइब्रेरी आयो । हामीले साना बालकथाहरू पढ्न पायौँ । 

७) मैले पहिलो अक्षर जहाँ सिके, शिक्षक भएर अरुलाई सिकाउने अवसर पनि त्यहीँ पाएँ । मैले रामेश्वरी निमाविमा शिक्षकको रुपमा काम गर्न जाँदा वहाँ प्रधानाध्यापक नै हुनुहुन्थ्यो । म जाने वित्तिकै वहाँले मलाई परीक्षा संचालनको महत्वपूर्ण जिम्मेवारी दिनुभएको थियो । मलाई शिक्षक पेशा सिकाउने पहिलो गुरु पनि आखिर वहाँ आफैँ हुनुभयो । म गएकै बर्ष वहाँले अवकाश लिनुभयो ।

वहाँसँगका किस्सा अनेक छन् । जति लेखे पनि नसकिने । कहिलेकाँही त लाग्थ्यो वहाँले मलाई जति माया गर्नुभयो त्यसको ऋण म कहिल्यै तिरेर सक्ने छैन । तर मलाई थाहा छ, माया ऋण होइन । त्यसलाई तिनु पर्दैन स्मृतिमा राखे मात्रै पुग्छ । 

आज मेरो साँच्चिको अभिभावक, साँच्चैको गुरु, प्यारो हेडसरले छोडेर जानु भयो । 

अनुशासित जीवन, प्रखर विद्यालय व्यवस्थापन, शिक्षाप्रतिको अविचलित अनुराग, आफैँ अग्रसर भएर विद्यार्थीलाई गर्ने निस्वार्थ सहयोग .... खरो तर प्रेमिल मिजास .... मैले वहाँ जत्तिको असल शिक्षक अहिलेसम्म देखेको छैन । म तपाईँलाई जीवनपर्यन्त मिस गरिरहने छु ।

म तपाईले रोपेका ज्ञानका अनेकनमध्ये यौटा सानो बोट हुँ । 

हार्दिक श्रद्धाञ्जलि छ हेडसर ! मेरो हृदयतलमा तपाईँ सदैव जीवित हुनुहुनेछ । अलविदा !





0 Comment:

Post a Comment