Contact Form

Name

Email *

Message *

Sunday, May 24, 2015

तनाबोटलमा स्वागत छ


तनाबै तनाबले खोलिएको
हाम्रो युगको अन्तिम होटल
यो अवसाद गृहको द्वार,
‘तनाबोटल’मा स्वागत छ !

नमस्कार, ए तिमी आयौ ?
कति बस्छौं, कुनै छ अनुमान ?
यता नाम र ठेगाना राखेर दर्ता गर त !
दल र कुन गुटबाट आएको हो ? त्यो पनि लेख्नु है
विचारबिनाका कुनै पाहुना राख्दैनौँ हामी ।
हा हा हा हा ...

पुरै जिन्दगीको भारी बोकेर आयौ कि क्या हो ?
झोला त ठुलै देख्छु !
माफ गर यहाँ भारी बिसाउन मनाही छ ।
तिमी उठ्दा तिम्रो पिठ्युँमा
बस्दा काँधमा
सुत्दा छातीमा
निहुँरिदा टाउकामा
तिम्रो झोला देखिएकै हुनुपर्छ तनाबोटलमा ।
मुत्दा, हग्दा, मात्रै होइन है
सेक्स गर्दा पनि तिम्रो झोला तिमीसँगै हुनु पर्छ ।
हा हा हा हा ...

आहा, गजब देख्छु म !
तिमी त झोलाभरि आश्चर्य बोकेर आएका छौ ।
कसरी थाहा भो हँ तिमीलाई ?
यहाँ लगेजमा
डर र अपराधबोध मात्रै बोक्न पाइन्छ ।
आक्रोश र त्यसपछिको पश्चाताप मात्रै बोक्न पाइन्छ ।
जन–स्वास्थ्यको बरखी बार्न बसेको
टिचिङ अस्पतालको बुढो एप्रोन बोक्न पाइन्छ ।
ज्योति हराएको सिलिन्डर र भोक भरिएको भजालो बोक्न पाइन्छ ।
मध्य सडकमा ज्यूँदै पोलेर होस् आफ्नै शरिरलाई 
या होस् 
हाम्फालेर त्रिशूलीमा सन्तानसहित 
आत्मदाह गर्न अभिशप्त कुनै पिताको खल्तीमा डसिरहेको
असाध्य ऋणको तीर र अधुरो तमशुक बोक्न पाइन्छ ।
भिसा नलागेको पासपोर्ट र भनसुन नभेटेको बायोडाटा बोक्न पाइन्छ ।
र पाइन्छ बोक्न तनाबोटलमा
दशकै पिच्छे मरिरहने सहिदको 
काँचो खुनले लेखिएको प्रेत-सपना ।
हा हा हा हा ...

तिमीले त नियमले दिएका कुरा मात्रै ठ्याक ठ्याक बोकेर आएका छौ ।
तिमीले त नियमले पाइने जति सबका सब बोकेर आएका छौ ।

हामी खुसी छौं ।
हामीलाई
हामीले भन्नु भन्दा पहिल्यै नियम बुझ्ने मान्छे मन पर्छ ।
हामीले केही नबोल्दै सबै बुझ्ने विद्वान पाहुना मनपर्छ ।

यसो हेर्दा पत्रकार जस्ता छौ ?
कवि हौ कि समझदार जस्ता छौ ?
कि कुनै सरकारी स्कुलको मास्टर हौ, गाउँतिरको ?
हुलिया हेर्दा त कलाकार जस्ता छौ ?

माफ गर दर्तामा पेसा लेख्नु पर्दैन ।
यहाँ काम गर्नेहरू कति छन् कति
मात्र रोजगार छैनन् ।
त्यसो त
पत्रकार हुनु, कवि हुनु वा मास्टर हुनु
वा कुनै किसान वा कलाकार हुनु
पेसा पनि त होइन, रोजगारी पनि त होइन ।
यो त जिम्मेदारी पो त
निख्खर भोको जिम्मेदारी ।
हा हा हा हा ...

मन चिस्याएर खान्छौं भने
तिम्रो कोठामै फ्रिज राखिएको छ ।
दिमाग तताएर खान्छौ भने
बगलमै ओभन राखिएको छ ।
भावना होस्, सपना होस्, या होस् चेतनाको कुनै मिष्ठान्न परिकार
पोलेर, उसिनेर, वफाएर तर्तरी तारेर
जसरी खाए पनि हुने प्रबन्ध छ कोठामा ।
कोठाको छेवैमा छ
विश्वामित्रको ठोक्रो जस्तै कहिल्यै नरित्तिने तखता ।
तखताभरि तिम्रा लागि खानपिनका सर्दामहरू छन् :
आश्वासन र केही बासी भाषणहरू छन् 
केही थान घोषणापत्र र दस्तावेजहरू छन्
आन्दोलनताका बाँडिएका पर्चा पनि छन्
चुनावताका टाँगिएका पोष्टरहरू छन्
मन्तव्यहरू छन् । अन्तरवार्ताहरू छन् ।  
यहाँ यतिका धेरै खानेकुरा छन् कि
जिन्दगीभर स्वाद फेरीफेरी खान खानू !
हा हा हा हा ...

यहाँ जत्ति नुहाए पनि पाइन्छ ।
मनिलो आसुँ वा चिसो पसिना दुबैको व्यवस्था छ ।
आवेशको वीर्य वा आक्रोशको रगत सबैको व्यवस्था छ ।
ढुक्क हुनु,
यहाँबाट फर्किदाँ
मज्जाले पाइन्छ दुधले पखाल्न ।
हा हा हा हा ...

म धेरै बोलेँ ?
यति त बोल्नै पथ्र्यो
रिसेप्सन हो ।

तिम्रो बसाई लामो होस् !
तिम्रो अनिन्द्रा लामो होस् !
तिम्रो छटपटी लामो होस् !
तिम्रो अत्यास लामो होस् !
डिप्रेशनले आजित भएर आत्महत्या नगर्दै
तिम्रा तमाम सपनाहरु भकभकी पाकेर मरून्
र त्यो पाकिरहने समय लामो होस् !
शुभकामना छ !

तनाबै तनाबले खोलिएको
हाम्रो युगको अन्तिम होटल
यो अवसाद गृहको द्वार,
‘तनाबोटल’मा स्वागत छ !

................................................................................
गनेस पौडेल
पोखरा, मझेरी पाटन

0 Comment:

Post a Comment

YouTube