Contact Form

Name

Email *

Message *

Friday, May 8, 2015

ब्लडप्रेशर, माइला बा र गोलघर

बिहान दौडन थालेको आज ठिक १५ दिन भयो । खासमा मैले स्मोकिङ छोडेको कारणले गर्दा दौडन परेको हो । किलकिलले गर्दा सुरुका २ दिन राती सुत्नै सकिन । अनि दौडने आइडिया फुरेको हो । दौडको थकाइले गर्दा राती निन्द्रा पर्न थाल्यो ।
आज नियमित दौडाइमा थिएँ । तल बुबाको फोन आयो । मेरा माइला बाको ।
‘ए बिरगञ्जे, तुरुन्त आइज त । मेरो विपि बढेछ । चेक गर्न जान प¥यो ।’
माइला बाको विपि, सुगर, कोलेस्ट्रोलले डेरा जमाएको पनि १५ बर्षकै हाराहारी भयो होला ।
‘ल आइहालेँ । मर्निङवाकमा छु । २० मिनेट लाग्छ ।’ भनेँ ।
दौडेर घर पुगेँ । स्कुटर निकाँले र तलघर पुगँे । १५ मिनेट मात्रै भएछ । बा ठिक परेर बाटोमैं निस्किसक्नु भएको थियो ।
छिनेडाँडाको एउटा औषधि पसलमा विपि चेक गर्यौँ । १८०–९५ रहेछ । कम्पाउण्डरले ‘तुरुन्त हस्पिटल जानुहोस्’ भनेपछि कुदेर पद्म नर्सिङ होममा पुग्यौें । एकजना गौतम थरका डाक्टरको टिकट काटियो । २०१ नम्बरको कोठा बाहिर मान्छेहरुको भीड थियो ।
डाक्टरका बुबा र मेरा माइला बा पुराना साथीहरू भएको पत्तो लाग्यो । डाक्टरले कोठाबाटै आफ्ना बालाई फोन गरे । बुढाहरू पुराना कुरा गर्दै हाँसे । माइला बा उनासी बर्ष हुनुहुन्छ । डाक्टरका बा पनि त्यसै होलान् भन्ने अनुमान गरेँ ।
माइला बालाई ११ नम्बरको कोठामा लगियो, भिडियो एक्स–रे गर्न ।
‘यिनका बासँग कसरी चिनजान भयो तर हजुरको ?’ माइलाबालाई सोधेँ ।
‘ए ! व्यापारी हुन् । जोमसोमबाट च्याग्रा ल्याएर बेच्थेँ १७ साल तिर ।’
मैले बुझेँ । माइला बाको पोस्टिङ्ग लामो समय जोमसोम पनि थियो भन्ने मलाई थाहा छ ।
नर्सले बिल तिरेर आउन भनेर मलाइ चिट दिइन । काउन्टरमा गएँ । २५ सय रहेछ । मेरो खल्तीमा जम्माजम्मी ८ सय जति थियो होला । मर्निङ वाकमा जाँदा चिया चमेना खानका लागि राखेको पैसा मात्रै । ४२० रुपियाँ त टिकटमै सकिएको थियो । एटिएम भएको पर्स साथमा थिएन । पर्स बोकेर दौडन जाने कुरा पनि थिएन ।
सरासर ११ नम्बरको कोठामा गएँ । पैसाको ईशारा गरेर बासँग मागेँ ।
‘कति रै’छ ?’ बाले सोध्नुभयो ।
‘पर्स नबोकि आएछु । २५ सय रै’छ ।’
बाले खल्ती छामेर केही पैसा निकाल्नु भयो । तर त्यहाँ २५ हुने हुने छाँटकाँट थिएन । दुइटा ५ सय र बाँकि केही १ सयका केही नोट मात्रै थिए । मैले बालाई फिर्ता दिएँ । मलाई लाज लागेर आयो । बालाई हस्पिटल बोकेर आउने छोरोको आफ्नो ताल देखेर दिक्दारी लाग्यो ।
‘चिप्लेढुँगा तिरका कुनै साथीसँग माग्नु पर्ला ।’ वहाँलाई एकछिन बस्न भनेर बाहिर निस्केँ ।
बाहिर निस्कर पार्किङ्गमा हेर्छु त स्कुटर ठाउँमा थिएन । ग्रुप फोर सेक्युरिटीसँग जिज्ञासा राख्दा झसङ्गै भएँ । रङ्गसाइडमा पार्किङ गरिएको आरोपमा मेरो स्कुटर ट्र्याक्टर चढेर गोलघर पु¥याइ सकिएको रहेछ ।
अब के गर्ने ? उफ् । बाहिर गजल सन्ध्या पोखराका अध्यक्ष उदिपराज भाइ भेटेँ । उनको स्कुटर मागेर गार्डेन पुगेँ । पैसा मागेँ र फर्केँ ।
चेकिङका दौरान गौतम डाक्टरको आतित्थ्यता र सामिप्यले म निक्कै खुसी भएँ । उनले कुनै पनि कुरा निःशुल्क गरेनन् । तर उनका सबै कुरा–गराइले मनभन्दा पनि निक्कै गहिरो ठाउँलाई छोए । निःशुल्क गरेको भए एउटा नाथे गुन मात्रै लगाउँथे होलान् । मन मनै ‘एहशान मत करो ... किड्नी देना पडेगा ’ वाला हिन्दी विज्ञापन सम्झेँ ।
साँच्चे भन्दा मेरा माइला बालाई उपचार गराउन पाउँदा उनी निक्कै खुसी थिए । उनी आफैं भिडियो एक्स रे गर्ने ठाउँमा ओर्लेर आए र आफैंले एक्स रे लिए । उनले पनि आफ्ना बाबुको दौंतरीको जाँच गर्दै थिए नि !
एकछिनमा बाको चेकिङ सकियो । तर स्कुटर चेकवाउट गर्न बाँकि थियो ।
मसँग ड्राइभिङ्ग लाइसेन्स थिएन । तर पनि बालाई बोकेर गोलघर पुगेँ । लाइसेन्स बिना स्कुटर लैजान दिन मानेन भनेँ के गर्ने ? बाटोबाटै पशुपति दाइलाई फोन गरेँ ।

*****************
मेरा माइला बा रिटायर्ड प्रहरी निरिक्षक हुनुहुन्छ । रमाइलो कुरा के भने मलाई वहाँ प्रहरी हुनुहुन्छ भन्ने कुरा वहाँ रिटायर्ड भएपछि मात्रै थाहा भएको हो ।
खासमा वहाँ रिटायर्ड भएकै ढाई दशक जति भयो । वहालवाला छँदा म सानै थिएँ ।
माइला बाले मलाई पनि प्रहरीमा भर्ती गर्न धेरै कसरत गर्नु भयो । असईको भर्ती खुलेको बेला मलाई बोकेर वहाँ डिआइजीको क्वाटरसम्म पुग्नु भयो । मैले अनुरोध गरेको हैन बालाई । वहाँ आफैंले लानु भएको थियो । कुनै समयमा ती डिआइजी र मेरा माइला बा एउटै अफिसमा काम गर्थे रे । बा इन्सपेक्टर हुँदा डिआइजी असइ थिए रे ।
मेरा माइला बाले बुढो खुट्टाका खुम्चिएका नसा तन्काएर डिआइजिलाई सलोट मारे । बैठक कोठामा पस्ता जुत्ता बाहिरै फुकालिएको थियो । खाली खुट्टा जमिनमा बज्रदाँ कुनै आवाज आएन, जुन आवाज सलोट गर्दा आउँछ । आवाजविहिन सलोटले मेरो मनमा भने ठूलो आवाज दियो ।
मेरो मन खन्न भयो । बुढो मान्छेले सलोट गरेको मलाई कत्ति चित्त परेन । तै पनि खिन्नतालाई डिआइजि क्वाटरको फिका चियासँग पिएँ ।
‘ल हुन्छ मैले गर्न सक्ने हेछुँ ।’ डिआइजिले भनेँ ।
माइला बा मलाई धेरै माया गर्नुहुन्छ । एउटा बा जोसँग मैले कहिल्यै दुरी राखेर गफ गर्न परेन । मैले आमासँग जस्तै बिनादूरीको गफ गर्न सक्ने वहाँ नै हुनुहुन्छ ।
नेपाल प्रहरीको स्थापनातिरकै सदस्य हुनुहुन्छ वहाँ ।
असइको परीक्षाका फिजिकल टेस्ट कुनै पनि राम्रोसँग पार गर्नु परेन मैले । पास भइयो । पहिलो दिनमा डिआइजि आफैं आएर छनौटमा रहेका प्रहरीसँग मलाई चिनाएर गएका थिए । माइला बा सँगै थिए ।
छनौट परीक्षाको अन्त्यतिर मेरो निर्णयलाई लिएर घरमा आपत्ति प्रकट भयो । आमा रुन थाल्नुभयो । माओवादी द्वन्द्व उत्कर्षमा थियो । मैले थप छनौटका प्रकृयामा भाग लिइन । तर यो छनौटको परीक्षाले मेरा माइला बा र मेरो भावनात्मक सम्बन्धलाई अति नजिक ल्याइदिएको हो । टेस्टका विभिन्न चरणहरु हुन्थे । प्रायजसो दिनमा माइला बा बाहिर मलाई कुरेर बसेका हुन्थे ।

****************
तिनै माइला बाले भनसुन गरेर निकालिदिएको लाइसेन्स आज मसँग थिएन । (लाइसेन्सको कुरा अर्को पटक भनुँला) लागेको फाइन तिर्न तयारै थियौं हामी । तर लाइसेन्सबिना स्कुटर नदिन पनि सक्थ्यो ।
‘किन टन्टो गर्ने ? पशुपति आए पछि निकालौला ।’ माइला बाले भन्नुभयो । ‘चिनेको हुँदैनन् अचेल । हेलाँ गर्छन् । बेकारमा अनुरोध गर्न भन्दा फाइन तिरेर जाउँला ।’
बाको कुरा ठिकै थियो । तर कुरेर बस्न झ्याऊ लाग्यो मलाई । फाइन तिर्न तयारै थिएँ । मलाई लाइसेन्सको समस्या मात्रै सुल्झाउनु थियो । असईसँग कुरा गरेँ ।
‘हस्पिटल अगाडि नो पार्किङ होला भन्ने अनुमान भएन सर । खास कुरा मसँग लाइसेन्स छैन ।’ मैले यथार्थ भने ।
‘मर्निङ वाकमा निस्केको बेला इमजेन्सी वहाँलाई लिएर आएको हो ।’ बालाई देखाएर मैले भने । बा ८ पाइला पर्तिर जसो हुनुहुन्थ्यो । सजिलो कुरा पनि थियो एउटा, बाले कान राम्रो सुन्नुहुन्थेन । ‘पर्समा थियो सर । अहिले पर्स छैन ।’
असईले रिपोर्ट मागे । दिएँ । रिपोर्टको बाहिरपट्टि नेपाली प्रहरीको अस्पतालको रिपोर्ट थियो । ‘रिटायर्ड हो वहाँ ? ए है ।’ असइले बोले ।
मैले उत्तर दिइन ।
‘पर्ने जति तिरौंला सर । स्कुटर लैजान दिन प¥यो ।’ मैले भने ।
असईले मलाई काउन्टरमा लिएर गए । । ‘भुपु इन्स्पेक्टर साप हुनुहुँदो रै’छ । हेर्दे है ।’ काउन्टरको हवल्दारलाई आदेश आयो असईको ।
हवल्दारले ब्लुबुक मागे । स्कुटरको डिक्कीमै थियो । गएर, निकालेर, ल्याएर दिएँ । नम्बर रुजु गरेपछि उनले भने, ‘भर्खरकै हुनुहुँदो रै’छ त । कहिले रिटायर्ड हुनु भो सर ?’
मलाई पो रिटायर्ड ठानेछन् उनले ।
‘कति तिर्नु प¥र्यो ?’ दिनु पर्ने उत्तर बटारेर सोधेँ ।
‘पर्दैन सर ।’ उसले सदाशयता जतायो ।
साँच्चै मलाई पैसा तिरेर लैजान मन थियो । कसैको अनुग्रह चाहिएको थिएन । उसको सदाशयताले मन कुँडियो ।
गोलघरबाट घर फर्कँदा बाटोभरि मलाई रिटायर्ड अफिसर भएको जस्तै आभाष भएर आयो । रिटायर्ड भएर बाँच्नुको एउटा पिडायुक्त आभाष । आफ्ना मान्छेका लागि वहालवालाबाट खाइदिनु पर्ने अनुग्रहले दिने कस्तो कस्तो आभाष ।
घर पुगियो । माइला बाको गेट अगाडि स्कुटर रोकेर ओर्लेर ढोग गरेँ । बा छक्क पर्नुभयो । भेटिदाँ पो ढोग गर्छन् मान्छेले । मैले छुटिनेँ बेलामा ढोग्दै थिएँ । बा मुसुस्क हाँस्नु भयो । 

0 Comment:

Post a Comment