Contact Form

Name

Email *

Message *

Wednesday, December 4, 2013

पानी



मेरो ईश्वर
मलाई थाहा छ तँ पानी नै होस
तँलाई थाहा छ मलाई पानी मन पर्छ ।

पानी थुनिन्छ
तर बन्दी हुँदैन
पानी हुलिन्छ ढलमा नलमा सेफ्टिट्याङ्कीमा
तै पनि फोहोरी हुँदैन ।

पानी हो ऊ हतास हुँदैन
निरास हुँदैन उदास हुँदैन
पानी हो ऊ जन्मजात स्वतन्त्र
कसैको दास हुँदैन ।

पानीको एउटै गन्तब्य हुन्छ
पानीको एउटै भविष्य हुन्छ ।

रंग हुँदैन पानीको
जात हुँदैन पानीको
मदिराझै‌ पागल पागल 
मात हुँदैन पानीको

पानी उम्लेर पोखिन्न बरु वाफ बन्छ
पानी चिसिएर कमजोर हुँदैन बरु हिमाल बन्छ
पानी नाप्दछ आकाश बादल बनेर
पानी पगाल्छ पथ्थर मुल बनेर ।

पानीको एउटै धर्म हुन्छ
तिर्खा मेटाउने
पानीको एउटै कर्म हुन्छ
बगिरहने
पानीको एउटै मर्म हुन्छ
पानीसँग नछुट्टिने ।

पानीसँग पानी नमिलेर
छुट्टिएको सुनेको छैन
पानीको बाढी आएर
पानीलाई बगाएको
पानीले उचालेर फेरि खसालेको
वा झिल्झिले कागज जस्तै
युज एण्ड थ्रो गरेको भोगेको छैन
पानीमाथि नै पानी तैरिएर
कथित ओभानु भएको देखेको छैन


मेरो ईश्वर
मलाई थाहा छ तँ पानी नै होस
तँलाई थाहा छ मलाई पानी मन पर्छ ।

वरिपरि खेलाएर सतत् माछाहरु
अर्को जन्म छ भने कतै
मलाई पानी भएर जन्मने ईच्छा छ ।
मेरो ईश्वर
म तँलाई मैभित्र डुबेर मरेको हेर्न चाहन्छु ।

______गनेस पौडेल, पोखरा, असार ५, २०६७

0 Comment:

Post a Comment