Contact Form

Name

Email *

Message *

Z

Thursday, August 9, 2018

पोखरा विमानस्थल निमार्णको लागि थप जग्गा अधिग्रहण

 
पोखरामा निमार्णधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्णको लागि थप जग्गा आवश्यक भएको छ । पोखरा विमानस्थल निमार्णको क्रममा पुनः थप जग्गा अधिग्रहण गर्नुपर्ने भएको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निमार्ण आयोजनका प्रमुख विनेस मुनकर्मीले बताए ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा विमानको ह्याङगरको तथा इन्धन स्टोरेजको लागि (आयल निगमलाई) थप जग्गा आवश्यक भएकोले पुनः जग्गा अधिग्रहणको लागि सर्भे सहितको गृहकार्य सुरु गरेका छौंउनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा विमानस्थल निमार्ण कार्यको अध्ययन अवलोकन गरी दीर्घकालीन रुपमा संचालन हुने पूर्वाधार निमार्ण गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार आफूहरुले प्राविधिकहरुको सुझावमा थप जग्गा आवश्यक भएकोले पुनः जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था रहेको मुनकर्मीले बताए ।
बुद्ध एयरका प्राविधिकहरुले ह्याङगरको लागि ५ वाई ५ मिटर जग्गा आवश्यक भएको तथा आयल निगमको लागि हाल छुट्याएको ५ रोपनी कम हुने भएकाले पुनः जग्गा अधिग्रहण गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।
पोखरा विमानस्थलको लागि पुनः जग्गा अधिग्रण हुने कुरा चर्चा चलेसँगै स्थानीय भने शसंकित भएका छन । पोखरा विमानस्थल निमार्णको लागि पटक पटक गरी अधिग्रहण गरेकोले अब पनि फेरी विभिन्न वाहानामा जग्गा अधिग्रहण गर्न खोजे चुप नबस्ने स्थानिय गनेश पौडेलले बताए । उनले भने जग्गा अधिग्रहण गर्ने नाममा आर्थिक चलखेल भएको छ, राष्ट्रिय गौरवको योजना भन्ने पटक पटक जग्गा अधिग्रहण गरी विस्थापित भएकाहरुको अवस्था के हुन्छ सरकारले बुझेको छ ?’ विमानस्थलको जग्गा अधिग्रहण गर्ने नाममा ३ सय वर्षभन्दा पुरानो सामाजिक, सांस्कृतिक तथा मौलिक परम्परा नै मेटिने गरी मझेरीपाटनलाई ध्वस्त पार्ने काम भएको उनको आरोप छ ।
Published at: 

स्थानीयलाई दुख दिँदै पोखरा विमानस्थल आयोजना

पोखरा
ताण्डव न्यूज ।
पटक–पटक जग्गा अधिग्रहण गरेर पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले स्थानीयलाई दुख दिएपछि फेरी प्रतिकार समिति गठन भएको छ । यस अघि बनेको समितिले सरकारी एजेन्टको काम गरेर स्थानीयलाईनै सहयोग नगरेपछि अर्को नयाँ समिति बनेको एक पीडितले आरोप लगाए ।
साउन २२ गते बिना जानकारी थप जग्गा अधिग्रहणको लागि प्राविधिक टोली सर्वेमा पुगेपछि साविक छिनेडाँडा वडा नं १, २, ३ का स्थानीयले टोलीलाई लखेटेका थिए ।
आयोजनाले विमानस्थलको लागि थप जग्गा आवश्यक परेको भन्दै साउन २१ गते पोखरा–१४ वडा कार्यालयलाई पत्र पठाए पनि स्थानीयलाई जानकारी नदिई आएपछि प्राविधिक टोलीलाई सर्वे गर्न नदिएको एक स्थानीयले बताए ।
आयोजनाले विमानस्थल निमार्णको क्रममा ह्याङ्गर, आयल, डिपोट, ग्लाईड पाथ तथा अन्य पुर्वाधार निर्माण गर्नको लागि जग्गा अपुग हुने देखिएकाले साविक छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्व तर्फको सिमानाबाट ४ सय मिटर पूर्व तर्फ र दक्षिण तर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा (संलग्न नक्सामा देखाइएको क्षेत्रमा) थप जग्गा अधिग्रहणको सम्भावना अध्ययनको लागि २०७५/४/२२ गतेदेखी सर्बे कार्य सुरु गर्नको लागि सम्बन्धीत जग्गा धनिलाई जानकारी गराई आवश्यक सहयोग गराई निर्देशानुसार अनुरोध गर्दै पत्र पठाएको थियो ।
जग्गा धनीलाई पटक पटक पीडित बनाएपछि प्रतिकार समिति गठन गरिएको समितिको संयोजक गनेस पौडेलले बताए । ‘यत्रो ठूलो आयोजनालाई कति जग्गा चाहिन्छ भन्ने पहिलेनै तय गर्नु पर्दैन ?’ उनले आक्रोश पोखे, ‘पटक पटक जनतालाई दुख दिन पाइन्छ ? अहिलेसहित गरेर ७ औं पटक अधिग्रहणको शृङ्खला चलाएर जनतालाई आतंकित गरिएको छ । ’
प्रतिकार समितिको संयोजकमा पौडेल
संयोजक गनेस पौडेल
आज २५ सदस्य समिति चयन भएको उनले बताए । ‘समिति गठन भयो तर समितिको नाम तोकेका छैनौ,’ उनले भने, ‘आज साँझ ६ बजेको बैठकले नाम तोक्ने छ ।’ समितिको मुख्य काम अब जग्गा अधिग्रहण गर्न नदिनु रहेको उनले बताए ।
‘स्थानीयले सम्बन्धीत निकाय र महानगरपालिकाबाट स्वीकृत लिएर घर बनाएका छन् । कति घरका पिल्लर उभिँदै छन् । कतिका जग खन्दै छन् । कतिका सम्पन्न लिन मात्रै बाँकि छन् ।’ उनले भने, ‘अब फेरी त्यो घर छाडेर जनता कहाँ जाने ? एउटै परिवार एउटै परियोजनाको नाममा ३ पटकसम्म विस्थापित हुनुपरेको छ । योजस्तो अमानवीय आतंकित लखेटाई अरु के हुन्छ ?’ आयोजनाले पटक पटक अन्याय गर्दै आएको संयोजकको भनाई छ ।
‘१ रोपनी जग्गाको आयोजनाले जम्मा २० देखी ८० लाख सम्म मात्र रकम दिएको छ जब कि अहिले सामान्यतया २ देखि ३ करोड पर्छ,’ उनले भने, ‘कि हामीलाई नजिकै सट्टी जग्गा दे, कि बजारमूल्य दे भन्दा हामीले कसरी गलत माग राख्यौँ ? राज्यले जनताको जग्गा अधिग्रहण गर्दा मुआब्जा मात्रै दिएर हुँदैन त्यसको क्षतिपूर्ति पनि दिनु पर्छ । तर हामीलाई चल्तीको मूल्य पनि दिइएको छैन । दुःखको कुरा त के भने पोखराको नागरिक समाज, संचारकर्मी, मानव अधिकारकर्मीले यो बिषयमा चुँक्क बोलेका छैनन् । तर अब विमानस्थलका बारेमा नयाँ शिराबाट बहस हुन्छ ।’
Published at:

पोखरा विमानस्थल : थप जग्गा अधिग्रहण गरिने, स्थानीय आन्दोलित

सागरराज तिमिल्सिनापोखरा, साउन २४
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्ने भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलित भएका छन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सूचना वडामा पठाएपछि स्थानीयहरू आन्दोलित भएका हुन्।
आयोजनाले थप ४ सय रोपनी भन्दा बढी जग्गा अधिग्रहणका लागि वडा कार्यालयलाई पत्र पठाएको छ। अधिकरण गर्ने भनिएको थप जग्गामा करिब १ सय ५० भन्दा बढी घरहरू रहेका छन् ।
स्थानीय संर्घष समितिका संयोजक गणेश पौडेलले एउटै आयोजनाले एकै व्यक्तिलाई पटक/पटक उठाएर उठिबास भएको भन्दै आपत्ति जनाए। उनले एउटै व्यक्ति आयोजनाले गर्दा चारपटक सम्म सर्नुपर्ने अवस्था आएको बताए ।
आयोजनालाई विमानस्थलको ह्याङ्गर, आयल डिपोट, ग्लाइडपथ निर्माणका लागि जग्गा आवश्यक भएपछि जग्गा अधिकरण गर्न लागेको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । उनले सर्वे गरिसकेपछि कति जग्गा विमानस्थललाई आवश्यक हुन्छ त्यति नै जग्गा आयोजनाले अधिकरण गर्ने बताए ।
साविकको छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्व तर्फको सीमानाबाट ४ सय मिटर पूर्वतर्फ र दक्षिणतर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा थप जग्गा अधिग्रहण गर्ने सम्भावना अध्ययनका लागि सर्वे गर्न लागेको आयोजाले निकालेको सूचनामा उल्लेख छ।
आयोजनाले साउन २२ गतेदेखि थप जग्गा अधिग्रहणको लागि सर्वे गर्ने भने पनि स्थानीयको अवरोधका कारण सर्वे हुन सकेको छैन। सरकारले अहिलेसम्म करिब ३२ सय जग्गा अधिग्रहण गरिसकेको छ ।
 संर्घष समिति गठन
बिहिबार बिहान बसेको स्थानीयहरूको भेलाले गणेश पौडेलको संयोजकत्वमा २५ सदस्यीय सर्घष समिति गठन भएको छ । समितिले सबैसँग छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने पौडेले बताए । उनले पहिले जग्गा अधिग्रहण गर्दा सरकारले मुअव्जा निकै कम दिने गरेको बताए। उनले जनतालाई मुआव्जा मात्रै दिएर नहुने भन्दै क्षतिपूर्ति समेत दिनुपर्ने बताए ।
१५ प्रतिशत काम सकियो
विमानस्थलको हालसम्म ५० प्रतिशत अर्थवर्क कार्य सम्पन्न भइसकेको र डिजाइनसहित १५ प्रतिशत काम सकिएको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए।
धावनमार्ग २५ सय मिटर लम्बाई र ६० मिटर चौडाईको हुने जानकारी दिए । विजयपुर खोलातर्फको भागमा साउन मसान्तसम्ममा काम सकिने उनको भनाइ छ।
Published at: 

पोखरा विमानस्थललाई थप जग्गा आवश्यक ! सशक्त प्रतिकारमा उत्रन स्थानीयको यस्तो तयारी

रञ्जन अधिकारी 
पोखरा, २४ साउन । पोखरा अन्तर्राष्ट्रिय शहर बन्ने पहिलो आधार नै हो ‘विमानस्थल’ । साढे ४ दशकअघिदेखिको योजना बल्ल अहिले पूरा गर्न अग्रसरता देखाइएको छ । कहिले प्राविधिक कठिनाई, कहिले लागत, कहिले मुआब्जाका कारण काम भएको थिएन । अब सबै मिलिसकेपछि त द्रुततर गतिमा हुनुपर्ने हो । तर, आशंका कायमै छ । पोखरा जस्तो सानो उपत्यकामा ठूला जहाजको उडान/अवतरण सम्भव छैन भन्ने त सरकारी धारणा नै आईसकेको छ ।
अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बन्छ त ? बन्दैन रे त ! विज्ञले नै अन्तर्राष्ट्रिय उडान थेग्दैन भनेर प्रतिवेदन बुझाए रे ! लौ पोखरामा विकास हुन नदिने तत्व फेरि सक्रिय भए । केहि साता अघि पोखरा यसरी नै तात्यो । पर्यटन मन्त्रालयले नै अफवाह भनेपछि चियागफ फेरियो ।
चालिस वर्ष अघि पोखराको बजार क्षेत्रबाट छिनेडाँडा टाढा लाग्थ्यो । एयरपोर्ट बनाउन उपयुक्त थियो तर अब घना बस्तीका बीच पोखरा जस्तो प्राकृतिक शहरमा एयरपोर्ट काम छैन भन्ने तर्क गर्नेहरु पनि कम छैनन् । यद्यपी, पोखरेलीको सपना भन्दै महिनौं अनसन बसेका, सिंहदरबार घेर्न काठमाण्डौ नै पुगेका उनीहरु तोकिएकै समयमा विमानस्थल बन्नेमा ढुक्क छन् । कछुवा गतिमा नै भएपनि निर्माण काम भईरहेको छ ।
  

फेरि चाहियो जग्गा

वि.सं २०३१ सालमा छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार १०६ रोपनी जमिन अधिग्रहण गरियो । पछिल्लो पटक ५ सय २१ रोपनी जग्गा अधिग्रहण भयो । अब फेरि जग्गा आवश्यक पर्ने भन्दै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले महानगरलाई पत्र काटेको छ ।साविक छिनेडाँडा वडा नं १, २, ३ का जग्गा आवश्यक पर्ने आयोजनाको भनाई छ । हजार रोपनी बढी जग्गा अझै आवश्यक देखिन्छ । अब स्थानीय विमानस्थलका लागि जग्गा दिन तयार छैनन् । जग्गा हामी दिन्नौं भन्दै प्रतिकार समिति नै गठन भएको छ । यसअघि, ५२१ रोपनी जग्गा अधिग्रहण गर्दाको समयमा जस्तो टुलुटुलु हेर्दै जे भन्यो त्यही लुरुलुरु मानेर नबस्ने स्थानीयको चेतावनी छ ।
यसअघि पनि उचित मुआब्जाका लागि दबाब दिन समितिहरु गठन गरिएपनि सरकारी एजेन्टको काम गरेर स्थानीय नै मार्न उद्धत भएको स्थानीयको निश्कर्ष छ । वडा कार्यालय पोखरा १४ लाई आयोजनाले विमानस्थलको लागि थप जग्गा आवश्यक परेको भन्दै सोमबार (साउन २१) पत्र काट्यो । भोलिपल्ट मंगलबार कुनै जानकारी विना जग्गा थप अधिग्रहण गर्नुपर्ने ठाउँ भन्दै प्राविधिक टोली सर्भेमा पुगेपछि त्यहाँको स्थानीयले टोली नै लखेटे ।
‘ह्याङ्गर, आयल, डिपोट, ग्लाईड पाथ लगायत अन्य पुर्वाधार निर्माण गर्नको लागि जग्गा अपुग हुने देखिएकाले साविक छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्व तर्फको सिमानाबाट ४ सय मिटर पूर्व तर्फ र दक्षिण तर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा थप जग्गा अधिग्रहणको सम्भावना अध्ययनको लागि २०७५ साउन २२ गतेदेखि सर्भे कार्य सुरु गर्नको लागि सम्बन्धित जग्गा धनीलाई जानकारी गराई आवश्यक सहयोग गराई निर्देशानुसार अनुरोध गर्न’ भन्दै पत्र लेखेको थियो ।

प्रतिकार समितिको नेतृत्व गनेस पौडेलले गर्ने

राष्ट्रिय गौरवको आयोजना भन्ने तर कति ठूलो बनाउने, कति क्षेत्रफलमा विमानस्थल बन्छ भनेर तय नहुने ? भन्दै स्थानीय आक्रोशित छन् । मनलाग्दी हचुवाका भरमा किस्ता किस्तामा तारबार सार्दै गर्ने काम ठीक नभएको भन्दै उनीहरुले आफू जन्मेको, हुर्केको ठाउँ यसै नछाड्ने जिकिर गरेका छन् । समितिको नाम र संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी भईरहेको छ ।
प्राविधिक कारण भन्दै वर्षैपिच्छे जग्गा थप्ने श्रृंखला चलाएर आतंकित नपार्न संयोजक गनेस पौडेलले चेतावनी दिए । स्थानीय युवा पौडेलकै नेतृत्वमा अब सशक्त प्रतिकार समिति आयोजना विरुद्ध उत्रने उनीहरुको सामूहिक निर्णय छ । २ दर्जन सदस्य समितिमा छन् ।
‘विमानस्थल बनाउने भनियो । लामो समयदेखिको निर्माण अभियान नै हो । अहिलेसम्म सहयोग गरेकै हो । अब भने थप जग्गा दिँदैनम्’ संयोजक पौडेलले भने– ‘अब समितिको मुख्य जिम्मेवारी नै थप जग्गा अधिग्रहण हुन नदिनु हो ।’
पछिल्लो पटक अधिग्रहण भएपछि विमानस्थल निर्माण कार्य पनि अघि बढ्यो । त्यससँगै विमानस्थल जग्गाक्षेत्र बाहिरका जग्गाधनीहरुले पनि घर बनाउन थालेको पौडेलले बताए । ‘अब विमानस्थलले उठिबास गर्दैन भनेर घर बनाउन सुरु गरे । कतिले सम्पन्न प्रमाणपत्र लिन मात्र बाँकी छन् । किन दिएको स्थानीय तहले ? महानगरले स्वीकृति ? ’ पौडेलले भने – ‘एउटै परिवार पटक पटक सर्दै सर्दै कुना पुगिसकेको छ । अन्याय भयो स्थानीयलाई । हामी सशक्त प्रतिकार गर्छौं ।’

मुआब्जामा गुनासो

स्थानीयले उचित मुआब्जा नपाएको भन्दै गुनासो गरेका छन् । अहिले पोखराको जग्गाको भाउ सुनिसाध्य छैन । रोपनीकै २–३ करोडमा कारोबार हुने त्यहाँको जग्गाको मुआब्जा २० लाख देखि ८० लाखसम्म निर्धारण गरिएको संयोजक पौडेलको गुनासो छ । पौडेलले कि नजिकै सटही जग्गा दिनुपर्ने कि त मार्केट अनुसार जग्गाको भाउ कायम गर्नपर्ने आफूहरुको माग रहेको सुनाए । ‘चल्तीको मूल्य समेत नदिने अनि वर्षैपिच्छे मनलाग्दी हचुवाको भरमा जग्गा चाहियो भन्ने ?’ पौडेलको प्रश्न छ – ‘जग्गा बैंकमा छन् । बैंकले राखेको मूल्य जत्ति पनि मुआब्जा निर्धारण नहुने कस्तो मापदण्ड हो ?’
जग्गाको मूल्यसँगै पहिचानकै क्षतिपूर्ति कसरी हुन्छ ? भन्दै प्रश्न गरे । पोखराको सबैभन्दा पूरानो इतिहास बोकेका गाउँहरु नै अब सकिने खतरा उत्पन्न भएकोमा उनको चिन्ता छ । ३०० वर्ष पूरानो पितापुर्खाको थाकथलो मासिन नदिन आफूहरु उत्रेको पौडेलले बताए ।

विमानस्थल बनाउने समय: २०७८ असार २६ भित्र

सरकारले सन् २०१४ मे १२ (२०७१ वैशाख २९) मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो । कम्पनीले २०२१ जुलाई १० (२०७८ असार २६) मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । सहमति अनुसार नेपाल सरकार र चिनियाँ कम्पनीबीच विमानस्थल निर्माण तोकिएको समयमा नसके कम्पनीले क्षतिपूर्ति तिर्नेछ । विमानस्थल इपिसी मोडलमा निर्माण हुँदैछ ।
चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माणको काम अगाडि बढेको हो । पोखराको वडा नं १४ र १८ मा पर्ने झन्डै ३७ सय रोपनी क्षेत्रफलमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य भइरहेको छ । विमानस्थल निर्माणको शिलान्यास २०७३ वैशाख १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । ओलीले नै २०७२ चैत दोस्रो साता आफ्नो चीन भ्रमणकै क्रममा ऋण सम्झौता गरेका थिए ।
अहिले जग्गा सम्याउने काम भईरहेको छ । त्यसपछि सात मिटर फिलिङ हुने र त्यसपछि विजयपुर माथि डाँडा झण्डै १२ मिटर कटान गर्नुपर्ने प्राविधिकहरुको भनाई छ ।

Published at: 


सम्बन्धित समाचार

पोखरामा चाहिँदैन अन्तर्राष्ट्रिय विमानस्थल !

Friday, July 6, 2018

रनवेमा पुरिएको बालक

कुनै शनिबारको साँझपख तपाईंले देख्नुहुन्छ, गहुँबारीमा खेलेको बयेलीमा ताल मिलाउँदै नाचिरहेको छ एउटा बालक । ऊ बिल्कुल तपाईंजस्तै हुन्छ– वय, बानी, बान्की र बचपनामा । तपाईंले केटाकेटीमा लगाएजस्तै कुममा उध्रेको नीलो स्वेटर लगाएको छ उसले । तपाईंको जस्तै उसका गालालाई सर्दीले कट्कट्याएको छ । केटोलाई देखेपछि ३५ वर्षे तपाईंलाई आफ्नो बाल्यकालको सम्झनाले निचोरेर ल्याउँछ । आफूजस्तै गरी बतासको तालमा नाच्ने बालकलाई चिन्न मन लाग्छ र सोध्नुहुन्छ, “तिमी को हौ ?”
बालकले जवाफ दिन्छ, “म तपाईंको बाल्यकाल हुँ । अर्थात् म तपाईं नै हुँ । ऊ त्यो बारीको डिलमा बसेर केराउका कोसा छोडाउँदै, दाना चपाउँदै गरेको मान्छे देख्नुभो ? त्योचाहिँ अर्को तपाईं हो, तपाईंको बुढ्यौली ।”
मान्छेले कदाचित आफैँलाई भेट्यो भने के होला ? आफ्नै बाल्यावतार या वृद्धावतारसँग जम्काभेट भयो भने के गर्ला ? कुनै बेला मैले यस्तै कल्पना गरेर एउटा लामो कथा लेख्नेबारे सोचेको थिएँ । काटिकुटी यस्तै परिकल्पनाले बुनिएको ‘जंगबहादुरको खप्पर’ वाला चुट्किला सुनेपछि त्यो लेख्ने च्याँख मरेर आयो । छाडिदिएँ । आज यसै विषयमा एउटा निबन्ध लेखुँ कि भनेर सोचिरहेको छु । मेरा पाठक, यस्तो स्वैरकाल्पनिक निबन्ध लेख्दा अपनाउने कुनै तौरतरिका वा त्यसमा राख्न सकिने कुनै विशेष सर्दाम छ भने मलाई सुनाउनू है ! ठूलो सहयोग हुन्छ । मलाई यस्तो निबन्ध लेख्ने विचार आउनुका केही कारण छन् । अहिले म ती कारण र किस्साहरु बताउँछु । सुनेपछि तपाईंको मनमा अरु आइडिया पनि आउन सक्छ !
मुख्य कुरा गर्नु पहिले एउटा कुरा म सोझै भन्दिहालूँ– मैले आफ्नो बाल्यावतारलाई कुनै गहुँबारीको बयेलीमा नाचिरहेको भेट्नु सम्भवै छैन । न उसलाई कुनै चौतारामा बाघचाल खेलिरहेको देख्न सम्भव छ, न त उसलाई कुनै पोखरीमा ढड्याउन राखिएको सिमलको फलेकमा डुंगा खेलिरहेको अवस्थामा भेट्न नै । न म उसलाई कहिल्यै भेट्नेछु खलेगह्राको फुसको आगोमा अन्डा, आलु वा माछा पोलेर खाइरहेको अवस्थामा । यसको खास कारण सानो छ । त्यो स्वैरकल्पना यदि यथार्थमा सम्भव हुन्थ्यो भने पनि मेरो बाल्यावतार अहिले पोखरामा बन्दै गरेको विमानस्थलको रनवेमा पुरिएर बसेको हुन्थ्यो । रोडरोलरले थिचेको माटोको कुनै पत्रभित्र निस्सासिएर बसेको हुन्थ्यो । मरिसकेको पो हुन्थ्यो कि !
मेरो मनमा यस्तो असाध्य–विचारको बीजारोपण गर्ने मुख्य खलपात्र हुन्, शताब्दी पुरुष सत्यमोहन जोशी । महिना दिनअगाडि प्रात: भ्रमण हेतु म उनको घरअघिल्तिरको गल्लीमा हिँडिरहेको थिएँ, कुमार नगरकोटीको साथमा । अकस्मात एउटा मन–प्रश्न उब्ज्यो– यी बूढाले बाल्यकालीन काठमाडौँ उपत्यकालाई कसरी सम्झिँदा हुन् ? अनि मलाई त्यो ‘कसरी’ को उत्तर अनुमान गर्न निकै गाह्रो भयो ।
जसले तपाईंलाई कुनै स्मृतिमा लैजान्छन्, त्यस अवयवलाई अंग्रेजीमा मनुमेन्ट भनिन्छ । नेपालीमा स्मारक । जस्तो कि, पाटन कृष्ण मन्दिरको प्रांगणमा बिछ्याइएको कुनै ढुंगाको छपनीमा उभिएर जोशी बूढाले सोच्न सक्छन्, ‘म बच्चामा यही छपनीमा उभिएर परेवालाई चारा दिन्थेँ ।’ त्यसभन्दा अझ अतीतमा पुगेर उनले कल्पिन सक्छन्, ‘सायद मेरा हजुरबा पनि यही ढुंगामा उभिएर परेवालाई चारा दिन्थे ।’ त्यो अतीतबाट एक्कासि सुदूर भविष्यमा छलाङ मारेर उनी आशानुमान गर्न सक्छन्, ‘अबको हजार वर्षपछि पनि कुनै बालकले यही ढुंगामा उभिएर परेवालाई चारा दिनेछ ।’
थाहा छ– संसार परिवर्तनशील छ । सहर बदलिँदो छ । जीवनशैली फेरिँदो छ । तर केही न केही चीज यस्ता हुन्छन्, जो सदा दुरुस्त हुन्छन् । कथा र कायामा लगभग तन्दुरुस्त हुन्छन् । सहरमा यस्ता अपरिवर्तनशील कुरा धेरै हुनुपर्छ, जताततै छरिएर बसेका हुनुपर्छ । यिनै कुराले मान्छेलाई पुस्ता–पुस्तासम्म जोड्ने काम गर्छन् । मान्छेलाई स्मृतिमा फर्काउने गर्छन् । मान्छेलाई कल्पनाशील बनाउँछन् । भाग्यमानी सहरमा यस्ता स्मारकहरु मनग्ये हुन्छन् । अभागी सहरमा भएका स्मारक पनि ध्वस्त पारिन्छन् ।
अस्ति भर्खर जयपुरको आमेर किल्ला पुग्दा अत्यन्त बूढो रुख देखेर निकै भावुक भएँ । त्यो रुख करिब पाँच–सात सय वर्षको होला भनेर अनुमान गरेँ । तर आफ्नै अनुमान मलाई गलपासो भयो ।  यस्तो आभास भयो, आमेर किल्लाको एक मात्र जीवित साक्षी रुखले मलाई केही गोप्य कथा भन्न खोज्दैछ । मलाई यस्तो ह्यालुसिनेसन भयो कि रुखले भकाभक पुरानो कथा न्यारेट गरिरहेको छ, म कपाकप त्यो कथा निलिरहेको छु ।
मलाई यस्तै ह्यालुसिनेसन खप्तड जाँदा पनि भएको थियो । खप्तड बाजेको कुटीअघिल्तिर स्याउको एउटा बूढो रुख थियो । बाजे आफैँले सारेर हुर्काएका थिए रे स्याउ–बगैँचा । बगैँचाको नाममा अहिले त्यही एउटा रुख मात्रै थियो । त्यो बूढो बुटोको बोक्रामा औँला डुलाउँदा मलाई त्यसमा टाँसिएको खप्तड बाजेको हत्केला–स्पर्शले समाते–समातेजस्तो भएको थियो । बूढाको शयन कक्षमा जतनसाथ राखिएका औषधीका बन्डल देखेर म यति भ्रमित अनुभूतिमा घुसेछु कि तीन रातसम्म खप्तड बाजे सपनामा आएर भने– “बाबु, तिमीलाई डिप्रेसन छ, यो औषधी खाऊ ।” मैले उनको औषधीलाई वास्ता नगरेपछि बल्ल आउन छाडे ।
मलाई यस्तो ह्यालुसिनेसन भइरहन्छ नै । कहिलेकाहीँ कसैले बोलाएजस्तो लाग्छ तर फर्केर हेर्दा नजिकै कोही हुँदैन । एकपटक पुलिस कार्यालयभित्रै मलाई अचाक्ली गाँजाको बास्ना आएको थियो, जुन कुरा मेरो वरपरका कसैलाई आएन । गत कुकुर तिहारको साँझ सुतिरहँदा पिठ्युामुन्तिरबाट सर्प सुल्सुलिएजस्तो लाग्यो । हत्तपत्त सिरक फालेर हेरेँ तर त्यहाँ छालोफुस्रो केही थिएन । मेरा ज्ञानेन्द्रीयले धेरै ह्यालुसिनेट गर्छन्, जिस्क्याउँछन् । मलाई तिनीहरुसँग जिस्किन रमाइलो लाग्छ । तर यस्तो जिस्क्याइ अचाक्ली नै भएपछि म एक पटक र डाक्टरलाई भेट्न गएको थिएँ । ‘यस्तो हुने भनेको कि तपाईंलाई डिप्रेसन छ कि त विस्मृतिको लक्षण देखा पर्दैछ’ भन्दै उनले पनि मलाई खप्तड बाजेकै शैलीमा औषधी–पुरिया दिए । तर खाइनँ ।
मलाई डिप्रेसन पनि अचाक्ली मन पर्छ । बिर्सनु त मेरो सदाकालीन सोख हो । नित्सेले भनेकै छन् त, ‘बिर्सने गुण नभएको भए मान्छेको सभ्यता उहिल्यै ध्वस्त हुन्थ्यो ।’ मलाई नित्से पनि निकै मन पर्छ ।
त्यसो त, मान्छेको जात खासमा स्मृतिमा बाँच्छ । जीवनको सार्थकता स्मृतिहरुमा खुल्छ । तपाईंसँग जति विराट स्मृति छ, तपाईंको जिन्दगी उति नै सफल हुन्छ । तपाईंसँग सम्झनयोग्य र संसारलाई बताउनयोग्य कुनै स्मृति छैनन् भने तपाईंको जिन्दगीको कुनै अर्थ छैन ।
स्मृतिमा रहिरहने यही आदिम भोकका कारण नै मान्छेले अनेकन दरबार, धरहरा, मन्दिर आदि इमारत बनाएको हो । पोखरी, चौतारा, हिटी बनाएको हो । कला, साहित्यको रचना गरेको हो । सुदूर भविष्यका लागि स्मृतिहरुको निर्माण गर्नु नै मान्छेको अवचेतन अभीष्ट हो ।
मलाई त्यो स्वैरकाल्पनिक निबन्धको रन्को किन लागेको हो भने जुन गाउँमा बाल्यकाल बिताएँ, त्यो गाउँ अहिले पूरै विस्थापित छ । निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बीचोबीच मेरो पुख्र्यौली घर थियो । सयौँ वर्ष पुरानो हाम्रो गाउँ थियो । हाम्रा थान, देवस्थल, फाँट, बारी, चरन र चलन थिए । सरकारले अधिग्रहण गरेपछि रानो मरेको घारबाट माहुरी फैलिएझैँ गाउँले तितरबितर भए । ६ सय वर्ष पुरानो सामाजिक सम्बन्धको काँचो धागो चुँडियो । काहुँकोटदेखि ढुंगेसाँघुको मेलासम्म फैलिएको कृषि संस्कृतिका उपासकहरु तन्नम भए । यी सबै कुराको साक्षी छ– मझेरी पाटनको बूढो पीपलको रुख, जो संयोगले विमानस्थलको क्षेत्रफलभित्र अहिलेसम्म परेको छैन ।
बुढापाकाहरुका अनुसार ‘कामीको चौतारो’ भनिने यो रुख पोखरा उपत्यकाको सबैभन्दा बुढो रुख हो । केही समय पहिले विकासवादीहरुले यसका हात, पाखुरा र टाउको छिनालेर मुर्कट्टा पारिदिएका छन् । यसको टोड्कामा वर्षौंदेखि बसेको मौरीको घार उखेल्न कसैले झोसेको आगोले आधी हर पूरै जलिसकेको छ । लहरेसिमल र ऐँजेरुले कोतरी–कोतरी यसका हाडछाला सखाप पारेका छन् । तैपनि यो अझै जिउँदै छ । सायद अझै एकाध वर्ष जिउँदो रहला । अन्यत्र भएको भए ‘पोखरा उपत्यकामा सबैभन्दा पहिले बसोबास गर्नेले बनाएको चौतारो’ का रुपमा यसको पर्यटकीय प्रचार हुने थियो । हाम्रा नेतालाई भने कहिले यसका जरा खोतलेर फालूँ र बाटो चाक्लो पारुँ भन्ने ध्याउन्न मात्रै छ ।
यो आदिवासी भन्ने शब्द पनि राजनीतिक कुरा न हो, यसलाई जसरी अथ्र्याउँदा आन्दोलन थामथुम हुन्छ, मागदाबी सेलाएर जान्छ, राज्यले त्यसै गर्छ । जस्तो कि, मेचीपारिका क्षत्रीहरु दार्जिलिङका आदिवासी हुन् तर त्यही जातिका मान्छे वारि नेपालमा भने आदिवासी होइनन् । पोखरा उपत्यकामा सबैभन्दा पहिले बसोबास गर्ने, यहाँको औलो खाएर रगत छाद्ने, यहाँका झाडी, खोरिया र दौरा खोतलेर फाँट बनाउने, विजयपुरखोला, फेवाताल आदिमा बाँध हालेर फाँटहरुमा हरेलो हाल्ने हामी छिनेडाँडा, मझेरीपाटन, कुँडहरका बासिन्दा राज्यको परिभाषामा उपत्यकाका आदिवासी कदाचित होइनौँ । यो गुनासोको कुरा भने होइन तर पहिचानको अवश्य हो । काँहुकोटलाई केन्द्र थापेर हाम्रा पितापुर्खाले स्थापना गरेको कृषिसंस्कृतिलाई अलिकति भए पनि जोगाउन सकिन्छ कि भनेर गरेको कसरतको कुरा हो ।
मलाई त्यसै स्वैरकाल्पनिक निबन्ध लेख्ने झोँक चलेको होइन, पाठक । त्यतिका आगन्तुक र अचाक्ली अतिक्रमणका बाबजुद काठमाडौँका गल्ली–गल्ली, चोक–चोकका जात्रा–मेलाहरु कसरी सयौँ वर्षसम्म सुरक्षित भए होलान् भनेर सोच्नुभएको छ कहिल्यै ? नेपाल मात्रै होइन, विश्वका मान्छेले किच्दा पनि काठमाडौँमा नेवारी भाषा र संस्कृति कसरी सकुशल रहन सकेको होला ? कारण अनेक होलान्, तर यसको मूल कारण के हो भने काठमाडौँका नेवारले आफ्ना सांस्कृतिक सम्पदा आगन्तुकलाई कहिल्यै सुम्पेनन् । त्यसको पालनामा समेत आगन्तुकलाई कहिल्यै सामेल गरेनन् । तपाईं उपत्यकाको कुनै गाउँमा बडेमानको घर बनाएर जति नै शानपूर्वक बस्नुस्, मस्त समाजसेवा पनि गर्नुस्, त्यहाँका मेला, जात्रा र चाडहरुमा तपाईंलाई दर्शक बन्ने निम्तो आउँछ तर आयोजक हुने वा संलग्न हुने निम्तो कदाचित आउँदैन । त्यहाँका गुठी, पीठ, मठ, मन्दिरको सञ्चालनमा तपाईंलाई मरिकाटे छिराइँदैन ।
तर पोखराको हकमा त्यस्तो कहाँ ! हाम्रा पितापुर्खाले चलन चलाएको ढुंगेसाँघुको मेला अचेल कसले आयोजना गर्छ, मलाई नै थाहा छैन । यहाँका अनेक सांस्कृतिक धरोहर, मठ–मन्दिरको व्यवस्थापन र सञ्चालनमा मूलवासीहरुको पहुँच छैन । अलि अगाडि भद्रकाली मन्दिर परिसरमा पशुबलि दिने स्थानमा रातारात गणेशको मूर्ति स्थापना गरियो । भलै विरोधपछि त्यसलाई हटाउन लगाइयो । सांस्कृतिक चेतना भएको जोकोहीलाई थाहा हुने कुरा के हो भने पोखरा उपत्यकाका मूलवासीहरु गणेशलाई सात्विक देवता मान्छन् र रगतको भोग दिँदैनन् । त्यसैले यहाँका भोग दिइने शक्तिपीठमा गणेशलाई राखिँदैन । तर यस्तै सांस्कृतिक अतिक्रमणको शृंखला अरु मठमन्दिरमा छ कि छैन ?
सांस्कृतिक अतिक्रमण त सानो कुरा भयो, जबकि हामीलाई हाम्रो जरोकिलोबाटै उखेल्ने प्रयत्न गरिँदैछ । पोखरा उपत्यकाको सबैभन्दा पुरानो गाउँको अन्तिम अवशेष रनवे छेउमा छ । हामी त्यसलाई जोगाउन सकिन्छ कि भन्ने कसरतमा छौँ । तर विमानस्थललाई जग्गा अपुग भयो भनेर हामीलाई फेरि विस्थापित गर्ने कुरा हुँदैछ । त्यसैले कहिले तन्द्रामा, कहिले निद्रामा त कहिले होसमै पनि बर्बराउन थालेको हुँ । जरोकिलो खोतलेर जबर्जस्ती उप्काइएपछि मान्छे जहिल्यै बर्बराउँदो रहेछ । आफ्नै पहिचानलाई आफ्नै जन्मभूमिमा अर्घेलो पारिएपछि घरीघरी मलाई पोखरा बिरानो सहरजस्तो लाग्न थाल्छ । यस्तो लाग्छ, म भर्खरै बसाइँ सरेर कुनै अन्जान सहरमा आएको छु ।
प्रिय पाठक, मेरो मनमा खेलेका कुरा–किस्सा यत्ति हुन् । यस्तै हुन् । यस्तो विषयमा कुनै स्वैरकाल्पनिक निबन्ध लेख्न सकिएला कि नसकिएला ? तपाईंको मनमा जरुर कुनै आइडिया फुरेको छ । मलाई बताइहाल्नुस् है ! ठूलो गुन लाग्छ । म रनवेमा पुरिएको बालकलाई जीवितै उद्धार गर्न चाहन्छु ।   
प्रकाशित: मंसिर १९, २०७५
Published at:

YouTube