Contact Form

Name

Email *

Message *

Z

Sunday, August 25, 2019

थाह छैन

झरी पर्छ —
झरझर, छमछम र तपतपको तालमा ।
कुत्कुत्याउँछे मायावी गीत गाउँदै यौवना बर्षाले
उसको थोपा थोपा प्रेमको स्पर्श अनुभूत गर्न अनुहारभरि
म साइकल लिएर कुद्छु ।

झरी पर्छ —
दरदर, स्वारस्वार, ख्यारख्यारको कर्कश आवाजमा ।
टिनका पातामाथिको फुस्रो बालुवालाई साबेलले कोतार्दा
निस्कन्छ नि जस्तो कान टन्टनाउने किरिङकिरिङ
म त्यस्तै झिझ्याटलाग्दो कोलाहलमा फस्छुँ ।
न सम्झने मन हुन्छ न बिर्सने चासो
बन्दी बनाएर बस्छु आफैँलाई एकलै एकलै, उदास उदास ।

प्रिय तिमी झरी हौ
मलाई थाह छैन
मलाई झरी मन पर्छ या पर्दैन ।

* * *

निदाउँछु ब्युँझदा ब्युँझदै
ब्युँझन्छु निदाउँदा निदाउँदै
खासमा
कहिले वारीको निन्द्राबाट पारीको ब्युँझाईतिर
कहिले वारीको ब्युँझाईबाट पारीको निन्द्रातिर
वारपार गर्दागर्दै सकेको छु मैले माझी जिन्दगी ।
यसरी न म वारीको भएको हुन्छु न पारीको ।

सोच्छु,
वारी र पारी बिचको खोलाजस्तै
पक्कै कुनै बिन्दू छ होला अस्तित्वमा
जो खुसुक्क आउँछ निन्द्रा र ब्युँझाईको बिचमा र पलायन हुन्छ ।

तर त्यो बिन्दू कस्तो छ ? निन्द्राजस्तो छ या ब्युँझाईजस्तो ?
वा अर्कै केहीजस्तो छ जस्को अनुभव कसैसँग छैन ?
जिन्दगीको २४ घण्टामा
निन्द्रा र ब्युँझाईका रेखा छोट्याएर त्यो बिन्दूलाई तन्काइदिन पाए
कस्तो हुन्थ्यो होला ?
त्यो तन्काई सपनाजस्तो रंगीन हुन्थ्यो कि विपनाजस्तो सपाट ?
त्यो बिन्दू हुन त होला नि है अस्तित्वमा ?

प्रिय तिमी त्यही बिन्दू हौ
मलाई थाह छैन
मलाई त्यो बिन्दू मन पर्छ या पर्दैन ।

* * *

कहिले घाम डुबिसक्दा पनि तिमी आउँदिनौँ
अनि म घुप्लुक्क निदाइदिन्छु ।
कहिले घाम उदाइसक्दा पनि तिमी जाँदिनौँ
म जाग्राम-जाग्राम अग्राख पलाइदिन्छु ।

याद बनेर यसरी रातबिरात
कहिले तिमी नआइदिए हुन्थ्यो झैँ लाग्छ
कहिले नगइदिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले रात नपर्दिए हुन्थ्यो झैँ लाग्छ ।
कहिले जून नसर्दिए हुन्थ्यो झैँ लाग्छ ।

तिम्रो यादमा म जति मुस्काउँछु
उत्तिकै उदास किन हुन्छु ?

प्रिय तिमी याद हौ
मलाई थाह छैन
मलाई याद मन पर्छ या पर्दैन ।

___________________
पोखरा
भदौ १, २०६१

Sunday, July 28, 2019

पठन वार्ता

पठन वार्ता

‘पैताला’ पुस्तकका लेखक गनेस पौडेलसितको फुर्सद-गफ यहाँ प्रस्तुत छ 
कत्तिको फुर्सद हुन्छ ?
जत्तिको जनावर, चराचुरुंगी, जलचर वा रूखहरूलाई हुन्छ।
के गर्नुहुन्छ फुर्सदमा ?
अहिले मेरो कामै पढ्ने, लेख्ने, सिनेमा हेर्ने मात्रै छ। त्यसबाट छोटो फुर्सद निस्क्यो भने छोरीसँग खेल्छु, लामै निस्क्यो भने घुम्न निस्कन्छु।
 कस्ता किताब, संगीत, सिनेमा रुचाउनुहुन्छ ?
यस्तै भन्ने छैन, सबै खाले किताब मन पर्छन्। दिउँसो एक झमट नाच्ने बानी छ। त्यसका लागि नेपाली पुराना लोकगीत वा अमेरिकी कन्ट्री संग्स् बजाउँछु। बेलुका हरिप्रसाद चौरसिया, रवि शंकर, ल्याङ्ल्याङ, जाकिर हुसैन आदिका वाद्यवादन सुन्दै सुत्छु। सिनेमा त झन् सबै खाले मन पर्छन्।
 पछिल्लो पटक पढेको किताब ?
फ्रस्फ्वा वोर्गिनियनको ‘द ग्लोबलाइजेसन अफ् इनइक्वलटी’।
पछिल्लो पटक हेरेको सिनेमा ?
प्रशान्त बर्माको ‘अ’।
‘अ’ कस्तो सिनेमा हो ? किन मन पर्‍यो ?
मनोवैज्ञानिक थ्रिलर हो। बहुव्यक्तित्वको द्वन्द्व प्रस्तुति गज्जब छ।
सिरानीमा किताब ?
रोबट्र्सद्वय जोन वि. र एलिजाबेथ ए. लिखित ‘फ्रिइङ् टिबट ः फिफ्टी इअर्स अफ् स्ट्रगल, रिजिलियन्स एन्ड होप’। तिब्बती शरणार्थीबारे उपन्यास लेखिरहेको हुनाले सन्दर्भका लागि पढ्दै छु।
हातमा भएको किताब ?
रवीन्द्र समीरको ‘मृत्युको आयु’।
थाती राखेको किताब ?
जर्ज सौन्डर्स्को ‘लिंकन इन द बार्डो’।
धेरै पल्ट पढेको किताब ?
महाभारत।
 पहिलो (बच्चाको) किताब ?
‘कृष्ण चरित्र’। हजुरआमा र काकीका लागि पढियो। आफ्नै लागि पढेको गोर्कीको ‘आमा’।
 धेरैपल्ट उपहार दिएको किताब ?
युभल नोह हरारीको ‘स्यापियन्स : अ ब्रिफ् हिस्ट्री अफ् ह्युमनकाइन्ड’। बुद्धिसागरको ‘कर्णाली ब्लुज’, नगरकोटीको ‘मिस्टिका’, नयनराज पाण्डेको ‘घामकीरी’, अमर न्यौपानेको ‘पानीको घाम’।
धेरैपल्ट उपहार पाएको किताब ?
रुमीको ‘लभ पोअम्स्’, खुसवन्त सिंहको ‘द कम्पनी अफ् विमिन’।
 पढ्न मन लागेर नपाएको किताब ?
सल्मान रुस्दीको ‘द सटानिक भर्सेस्’। साथी सर्कलमाझ कुरा हुँदा अहिलेसम्म पढेको छैन भन्दा लाजै लाग्छ।
कहाँ किन्नुहुन्छ ?
प्रायः पोखराको हिमालयन रिडर्स कर्नरमा। काठमान्डु जाँदा एड्युकेसनल बुक हाउसमा।
कसरी किन्नुहुन्छ ?
पसल गएर। अनलाइनबाट त उपहार मात्रै पठाउँछु।
समीक्षाहरूमा विश्वास छ ?
पढेका किताबका समीक्षा मात्रै पढ्छु र फिस्स हाँस्छु।
पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् लाग्छ कि सकेसम्म नभेटून् ?
राम्रा किताब राम्रा मान्छेलाई पढाउन मन लाग्छ। उपहार दिन्छु वा फोन गरेर पढ्न सुझाउँछु।
पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?
लाग्छ तर आफैं पनि लेखक भैटोपलेको हुनाले थोरै डर, धेरै दया जाग्छ र लेख्दिनँ।
पढ्दै गर्दा मन परेको, नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने गर्नुहुन्छ ?
मैले पढेको किताब ‘सेकेन्ड ह्यान्ड’ पसलले पनि किन्दैन होला। केरकारले ध्वस्तै हुन्छ।
किताब धेरै मन परे के गर्ने बानी छ ?
नेपाली रहेछ भने टाइप गर्थें। अरू भाषाको रहेछ भने अनुवाद गर्थें। तर यो मजस्तै अनियमित छ।
अक्सर कहाँ र कति बेला पढ्न मन पराउनुहुन्छ ?
घरमा। मुड चले पढ्छु, नत्र सिनेमा हेर्छु।
यहाँसँग भएको दुर्लभ पुस्तक ?
छैनन्। केही समय अघिसम्म सेल्डन वी. कोपको ‘इफ् यु मिट द बुद्ध अन द रोड, किल हिम !’ लाई दुर्लभ ठानी बसेको थिएँ। अचेल जतासुकै पाइँदो रहेछ।
 राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल र शेरबहादुर देउवालाई कुन पुस्तक सिफारिस गर्नुहुन्छ ?
राष्ट्रपतिलाई फिट्जराल्डको ‘द ग्रेट ग्याट्स्बी’। प्रधानमन्त्रीलाई खुशवन्त सिंहको ‘द बिग फ्याट जोक बुक’। पुष्पकमल दाहाललाई मेरै किताब ‘पैताला’। शेरबहादुर देउवाले दैनिक पत्रिकासम्म पढिदिए हुन्थ्यो।
किनेको सबैभन्दा महँगो पुस्तक ?
भागवत गीता। विशेष प्रकाशन भएको हुनाले महँगो पर्‍यो।
बढ्ता होहल्ला भएको औसत पुस्तक ?
फ्वाँक्कैमा अपजस किन खेप्नु ?
कम होहल्ला भएको गज्जबको पुस्तक ?
फर्नान्डो पेसोआको ‘द बुक अफ् डिस्क्वाइट’। उनका कविताहरू पनि शानदार छन् तर कमै चर्चामा छन्।
रोजाइमा साहित्य कि गैरसाहित्य ?
लेख्नमा साहित्य, पढ्नमा गैरसाहित्य।
आख्यान कि गैरआख्यान ?
लेख्नमा आख्यान, पढ्नमा गैरआख्यान।
 कुन लेखक पढ्न चाहनुहुन्छ ?
भेटेजति भ्याएजति सबै। पुरानाभन्दा समकालीन लेखकमा रुचि छ। प्रायः सबै नेपाली लेखकका नयाँ रचना पढ्छु। युभल नोह हरारी, जरेड डायमन्ड, स्टेफन हकिन्स्, टमस पिकेटीका किताब रिडिङ टेबलमा सधैं हुन्छन्।
Published at:
http://annapurnapost.com/news/133142

Sunday, July 21, 2019

बोन्पो थलोको यादमा


सिरानमा फोक्सुन्डो थापेर बसेको रिग्मो गाउँमा निदाएर उठेको पहिलो बिहान म निकै चंगा थिएँ। चंगा हुनु भनेको स्वतन्त्र हुनु होइन। अदृश्य धागोले खैँचेको परिधिमा हावा काटेर बस्नु हो। त्यस्तो अदृश्य कुन धागो थियो जसले मलाई ताल किनारको न्यानो होटलमा चंगा बनाएर उडाइराखेको थियो?

त्यो बिहान हामीहरू फोक्सुन्डोको देब्रे गालामा अवस्थित थासुङछोलिङ गुम्बा जानेवाला थियौं। १२ औं शताब्दीमा निर्माण भएको भनिएको यो गुम्बा पुग्ने बाटोमा दुर्घटित घुँडाको ‘लिगामेन्ट’ खियाउँदै गर्दा अचानक मलाई यस्तो आभास भयो– ‘यो गुम्बाको कुनै गोप्य कक्षमा कैयौं हातहरू भएको एउटा कालो रङको मूर्ति हुनुपर्छ जसको काखमा निर्वस्त्र यौवना खप्टिएर बसेकी छे।’ मेरो आभास एउटा देजाभू असरजस्तो गहिरो थियो

गुम्बाभित्र त्यस्तो केही देखिएन। मैले लामालाई सोधेँ, ‘यो भवन खासै पुरानोजस्तो लागेन। यहाँको पुरानो गुम्बा अर्कै होला है? हामी जान मिल्दैन?’ मेरो जिज्ञासाले प्रमुख लामा सेम्डुक ङिमाका अनुहारमा उज्याला रेखाका मुना–मुजुराहरू उम्रिए, निमेषभरमा हुर्किए, पात र हाँगा हाले, गमक्क फुले अनि लटरम्म फले। रसिलो फलको एउटा दानालाई कर्याम्म टोक्दा मुखमा भरिने पानीले बोल्न असजिलो भएझैँ ओठको एक कापबाट र्‍यालको लर्को चुहाउँदै बगलमा उभिएका अर्का लामा लोडोइ घोछालाई भने, ‘उताको पनि खोल्दिनुस्। उहाँहरूले दर्शन गरे राम्रै हुन्छ।’

आगन्तुकका लागि लगभग अप्राप्य र दुर्लभ दर्शन हाम्रा लागि उपलब्ध हुने भयो। ध्वाँसोले खियाएको पुरानो भोटो ताल्चा खुलेपछि मोबाइलका बत्तीहरू सल्काउँदै अँध्यारो सुरुङजस्तो कोठामा हामी छिर्‍यौं। त्यो कोठाबाट होचो न होचो ढोका अर्को कोठाको लागि खुल्यो, त्यसपछि अर्को अर्थात् गुम्बाको मुल कक्ष। मेरा आँखाहरू सिसाको घरभित्र भुन्भुनिएको माहुरीजस्तो भएर चारै दिशा हानेर दौडिए। तर जता उडे पनि सिसामा मुन्टो बज्रियो अनि पछारियो। मैले खोजेको दृश्य कतै देखिएन। त्यसैबेला फोटोग्राफर गुरिल्लाले थिचेको क्यामेराको ‘फ्ल्यास’ ले अँध्यारो कक्षको एउटा छेउलाई भुलुर्क्क उज्यालो बनाइदियो। मेरो आभास सही निस्कियो। कालो मूर्ति मेरो अनुमानकै वय र बान्कीमा ध्यानस्थ थियो

कुनै कुनै ठाउँहरूमा पहिलोपटक पुग्दा मलाई यस्तो लाग्छ, म धेरै पहिल्यै यहाँ आइसकेको थिएँ। आएको मात्रै होइन, मैले एउटा पूरै जीवन यहीँ कतै काटिसकेको थिएँ। बाटो, जंगल र चौरस्तामा समयको कथा रुँगेर बसेका बूढा रूखहरू देख्दा मलाई यस्तो लाग्छ सयौँ वर्षपहिले मैले यसकै छहारीमा एक झमट दिवानिद्रा भोग गरेको थिएँ। पहाडी खोलाका किनार छलेर बसेका अजंगका पत्थरहरू देख्दा वा खोलामाथिका चट्टाने भीरमा प्रकृतिले खोपेका गहिरा गुफाहरूमा पस्ता मलाई लाग्छ, मैले यिनै अल्छी पहाड, भूत्याहा गुफा, अत्यासलाग्दा हिमाल र फुर्तिला नदीहरूको सम्पूर्ण सेरोफेरोलाई कालजमानामै नापिसकेको थिएँ। खोलामा पहिलो बखत हेलिएको कुकुरले कहिल्यै नसिकेको पौडी खेलेर जसरी किनार भेट्टाउँछ उसै गरी मलाई आफूले कहिल्यै नभोगेको यस्तो स्मृतिको हरक्क बास्ना हुबहु आउँछ। सायद मेरो ‘जिन’ भित्रको कुनै अम्लीय चोटाकोठामा त्यसका स्मृतिहरू बसेका होलान्। सायद मेरो मस्तिष्कको ‘केस’ भित्र कुनै ‘बायोटिक चिप्स’ सुषुप्त बसिरहेको छ जो स्थानविशेषको एक ‘क्लिक’ ले अचानक बौरिन्छ ः पुर्ख्यौली यादजस्तो भएर, पुस्तैनी ज्ञानजस्तो भएर

जब पहाडहरूमा हुन्छु, म आफूलाई झन्–झन् यस्तो अनुभवइतरको स्मृतिमा हराइरहेको पाउँछु। अभेद्य अतीतको अनकन्टार कुनामा एकलै सयर गरिरहेको पाउँछु। मैले आफूलाई जे ठान्दै आएको छु, खासमा म त्यो हुँदै होइन भनेजस्तो आफ्नै परिचय खिइँदै गएको पाउँछु। अहिलेसम्म मैले जे जति देखेँ, पढेँ, जानेँ, बुझेँ त्यो खासमा मेरो देखाइ, पढाइ, जानाइ वा बुझाइ होइन भन्ने अनुभूति झन्–झन् गाढा भएको पाउँछु। अरूले यात्रामा आफूलाई झन्–झन् आफ्नो नजिक भएको पाउँछु भन्छन्, तर मलाई भने यात्राले मैदेखि झन्–झन् टाढा–टाढा लग्दै गरेको पाउँछु। यात्राले हुत्याएदिएको बिरानो संसार र समयमा शनैशनै विलय भएको पाउँछु। तर पनि मलाई पहाडी पदयात्रा मन पर्छ। सायद म आफूलाई खोज्न होइन, आफूबाट हराउन यात्रा गर्छु
मलाई ईश्वरमा छेउकुनाको पनि विश्वास छैन त्यसैले पूर्वजन्मको अवधारणा नै बकम्फुसे लाग्छ। तर, मैलाई किन यस्तो आभास हुन्छ? आफू पुग्दै नपुगेको ठाउँमा पहिल्यै पुगिसकेको अनुभूति किन हुन्छ मलाई? मलाई लाग्छ, या त त्यो ठाउँको बारेमा ज्यादै नै पढे–सुनेको हुनाले मलाई त्यस्तो अभास हुन्छ या हुन सक्छ मेरा जैविक पुर्खाहरूले हजारौँ वर्ष पहिले भोगेका अनुभवहरू आनुवंशिक याद बनेर मेरा स्मरणग्रन्थिमा कैद छन्। कुकुरले जन्मजात पौडी खेल्न जानेजस्तै सायद केही स्मृति कुरबाट माछाका भुरा निस्केझैँ फुतुफुतु मेरो मस्तिष्कको अन्तरकुन्तरबाट बाहिर निस्कन्छन्। अथवा यो पनि हुन सक्छ कि संसारको कुनै व्यक्तिको ज्ञान, सीप वा भोगाइको केही अंश संसारको अर्को कुनाको कुनै व्यक्तिमा कुनै न कुनै रूपले आफैँ स्थान्तरण हुन्छ। जस्तो कि कोलम्बसले अमेरिकी भूभागमा टेक्दा कथित रेड इन्डियनहरूलाई डुंगा सयर गरिरहेको देखेका थिए। पहिलोपटक डुंगा बनाएको ‘पेटेन्ट’ दाबी गर्ने कुनै मनुवाले त्यो दृश्य देखेको भए मूर्च्छै पो पर्थ्यो कि ! मलाई थाहा छ, मेरो स्मृतिमा आउने किस्साहरू मेरा नभएर कुनै अनजान मनुष्यका भोगाइहरू हुन्। मान्छेको मस्तिष्क रहस्यका तहै तहले ढाकिएको समयको मौलो गाढिएको यस्तो पुरातन पोखरी हो जसको गहिराइ कति छ कसैलाई थाहा छैन। जस्तो कि सुन्नुस् न गुम्बाका लामा सेन्डुक ङिमाकै कुरा, जसलाई मैले पहिलोपटक त्यहीँ सुनेको थिएँ, तर जसको बारेमा मलाई पहिल्यै थाहा थियो :

‘नौ सय वर्षअगाडिको कुरा हो, रिग्मो गाउँको यो गुम्बा भएको कुनो सिकारीहरूको चुनिन्दा थलो थियो। फोक्सुन्डो खोलाको तिरैतिर खेदेर ल्याइएका नाउर, कस्तूरी वा अरू जनावरहरू जब यो तीनकुने ठाउँमा पुग्थे, तब रनभुल्लमा पर्थे। त्यो तीन कुना उनीहरूको लागि त्रिशूलझैँ मारक अवस्था भैदिन्थ्यो। अगाडि उभिएको अजंगको कुप्रे भीर चढ्न सक्ने कुरा थिएन, अर्को छेउमा गहिरो ताल थियो जसको चिसोमा पछारिएपछि ठाउँका ठाउँ ज्यानको पूरै रगत जम्थ्यो। पछाडितिर भाला र धनुषकाँड बोकेका सिकारीहरू हुन्थे। चेपुवामा परेका निरीह जनावरका आगाडि ती तीनैवटा विकल्प प्राणघातक थिए। मृत्युको यस्तो नजिक उभिँदा उनीहरूको डर र्‍याल, सिँगान र आँसुको भेल्कोमा मिसिएको भयानक आर्तनाद बनेर मुखबाट निस्कन्थ्यो। तर मान्छेले पशुको आवाज बुझ्ने भए पो ! बुझेकै भए पनि छोड्ने भए पो ! काँचो होस् या पाकेको, मासुको स्वादका अगाडि हाम्रो दया, करुणा, मानवता उहिल्यैदेखि हार्दै आएको हो
अनि विकल्पहीन बरा जनावरहरू भकाभक तालमा हामफाल्थे। गर्भिणीहरू खस्थे, भर्खरै जन्मेका नाबालक पाठापाठीहरू खस्थे, यौनवको प्रथम संसर्गको उत्सव मनाउन भर्खरै भेट भएका प्रेमातुर यौवनाहरू खस्थे, वयस्कहरू खस्थे। कति भीरका चुच्चा ढुंगामा घिच्रो बजारिएर हिक्क पनि गर्न नपाई मर्थे, कति सोझै तालमा हेलिएर प्राण विसर्जन गर्थे। जो खस्तैनथे उनीहरूको छातीमा तिखा भाला र बाण रोपिन्थे। मृत्युको यस्तो अवश्यंभावी कुनोबाट समस्त जनावरलाई जोगाउने कुनै जागरुक मनुष्य आउने समयसम्म पर्खिन उनीहरूलाई कैयन वर्ष लाग्यो। अनि आए लामा टेतन छेवाङ छुल्डिम जसले त्यही ठाउँ रोजेर बनाए बोन्पो गुम्बा र नाम राखिदिए थासुङछोलिङ। थासुङछोलिङ गुम्बा अर्थात् सिकारीहरूबाट जनावरलाई जोगाउन खोलिएको गुम्बा। त्यसउप्रान्त सिकारी कुनोमा जनावरको आर्तनाद सुनिएन। गाउँलेहरू विश्वास गर्छन्, जुन दिनदेखि थासुङछोलिङ गुम्बा स्थापना भयो, त्यसै दिनदेखि फोक्सुन्डो तालमा तालदेवी बस्छिन्। तालको पिँधमा भएको पत्थरमा उनका एकजोर पैतालाका छाप छन्।’ 

मलाई थाहा छ, मेरो ‘सेपियन्स’ मस्तिष्कको आनुवंशिक कुनामा लुकेको स्मृतिको यो कथामा न म लामा थिएँ न ती निरीह जनावर। बरु म कुनै दयाहीन सिकारी थिएँ। आफूले सजिलो गरीकन जनावरलाई फँसाउन प्रयोग गरिरहेको तालछेउको ‘बर्मुडा त्रिकोण’ मा गुम्बा बनेपछि म सायद अहमको हड्डी फुत्किएको दुर्योधनसरह रन्थनिएको थिएँ। हुन सक्छ, लामाको हत्या नै गर्ने योजना पनि बुनेको पो थिएँ कि !

अघिल्लो दिन फोक्सुन्डो तालको छेउमा पुग्दा कवि साथीहरू छेउकुनामा एकान्त खोज्दै आ–आफ्ना कविताहरू वाचेको भिडियोलाई क्यामेरामा कैद गर्दै थिए। फोटोग्राफरहरू तालको कुन कुनोबाट, कुन कोणबाट खिज्दा अरूभन्दा फरक छाया उतार्न सकिन्छ भनेर कोसिस गर्दै थिए। आर्टिस्ट कृष्ण परियार फुस्रिएका पहाडको रङलाई कसरी क्यानभासमा मिलान गर्न सकिएला भनेर रङहरूलाई घोलघोल पार्दै थिए। सिनेमाबाजहरू एरिक भालीले खेदेको ‘क्याराभान’ को ‘ह्याङओभर’ बाट कतै कुनै ‘फुटेज’ छुटेको पो छ कि भनेर सोधखोज गर्दै थिए। पत्रकारहरू गोजी पुस्तिकामा मसिना अक्षरले कर्‍याङमर्‍याङ कोरेर कथा–किस्साहरू समेल्दै थिए। म भने तालको किनारैकिनार भौँतारिएर तालदेवीका पैतालाका छाप खोज्दै थिएँ
वा हुन सक्छ सिकारी छँदा मैले गर्भिणी मृगको कोखमा रोपेको बिखालु भाला यतै कतै छुटेको छ कि भनेर खोज्दै थिएँ। वा खोज्दै थिएँ मैले लामा टेतन छेवाङ छुल्डिमले माने घुमाउँदै, मालाका दाना गन्दै पहिलोपटक मन्त्रोच्चारण गरेको ‘ओम मा ट्री मु ये सा ले दु’ को अवशेष। सायद कान्जिरोवा वा कानताकातुङ हिमालको कुनै गल्छेडाभित्र उनको मन्त्र पुरिएर बसेको हुनुपर्छ। त्यसलाई सुन्न वा बुझ्न भोटे भाषा जान्नुपर्छ। जो मलाई आउँदैन

भाषाको निर्माण, शब्द र ध्वनिको चयन पनि भूगोलको खेलो हो। नपत्याए भोटको भाषा नै सुन्नुस्। भोटको बोली पेटको जराबाट निस्कन्छ। फुस्रा पहाड, हिमाली खोँच, गड्गडाउँदो आँधी, तिखो चिसो बेतोड बतासको बीचमा कानमा माकल लगाएको मान्छेले पनि सुन्ने बुझ्ने किसिमका ध्वनि भएका शब्दहरूको संगठन भोटे भाषाको विशेषता हो। अरू भाषाका कतिपय शब्दहरू हिउँमा कप्कपाउँदा जिब्रोभित्रै छुट्छन्, कतिलाई बतासले उडाउँछ कतिलाई फुस्रो माटोले सोसिदिन्छ त कतिलाई पहाडले फर्कादिन्छ। कस्तै कठिन मौसममा पनि भोटेको बोली सित्तिमिति बिलाउँदैन। तर भनिहालेँ मलाई भोटे भाषा आउँदैन, त्यसैले हिउँमा पुरिएको लामाको आवाजलाई मैले रत्ति पनि सुन्न सकिनँ। सुन्दै नसुनेको हुनाले बुझ्ने कुरा पनि भएन

यसरी मैले छेकछन्द केही नबुझी, केही नदेखी फोक्सुन्डोबाट फर्केँ। ताल कस्तो थियो भनेर कसैले सोध्यो भने ‘गहिरो थियो, नीलो थियो, सफा थियो, वरपर फुस्रा पहाड र सेता हिमाल थिए’ भन्नु सिबाय अर्को उत्तर मसँग छैन। प्रकृतिलाई दिइने सुन्दरताको व्याख्या हाम्रा निजी धारणा मात्रै हुन्, मान्छेका अनुभूति मात्रै हुन्। बरा हिमाललाई त आफू हिमाल हुँ भन्ने पनि थाहा हुँदैन जसरी मन्दिरको मूर्तिलाई आफू ईश्वर हुँ भन्ने पनि थाहा हुँदैन। जसरी मलाई म को हुँ भन्ने थाहा हुँदैन। ज्ञान भनेको, परिचय भनेको मान्छेको चेतनाले जबर्जस्ती लादेको शब्दको मलखाद मात्रै हुन जसमा अहंकार सिबाय केही फस्टाउँदैन
मलाई ओरालोभन्दा उकालो मन पर्छ। उकालोमा गन्तव्य गौण हुन्छ, यात्रा केन्द्रमा हुन्छ। उकालोमा तपाईं कहिल्यै वरपर हेर्दै हिँड्न सक्नुहुन्न, खासगरी त्यो उकालोमा जो फोक्सुन्डो झरनाको काँधमा छ। आकाशमा उडिरहेको चरा, बेंसीमा बगिरहेको फोक्सुन्डो, हिमालमा रगडिँदै बाफिएको बादल केही हेर्न सक्नुहुन्न। हेर्नै परे सजिलो ठाउँ खोजेर रोकिनुपर्छ। जसरी जुकाले अर्को टेक्ने सुरक्षित ठाउँ नपाएसम्म मुन्टो ठड्याएर लिन्ठिङ लिन्ठिङ गरिरहन्छ उसैगरी अर्को पाइलो थमाउने ठाउँ खोज्दै धर्मराउँदो पाइला चालेर बढ्नुपर्छ उकालोमा। एउटा गलत चालले तपाईंलाई ५ सय मिटर मुन्तिरको गल्छीमा लगेर थेचारिदिन्छ। किनारमा उभिन जानेन भने मात्रै पनि तपाईंलाई थिन्ले लोन्डुपलाई झैँ खच्चडले धकेलिदिन्छ। त्यसैले उकालो चढ्दा तपाईंको आँखाको बास पैताला र त्यसले टेक्ने जमिनमा मात्रै केन्द्रित हुन्छ। सुने आफ्नै पैतालाको पदचाप, हेरे आफ्नै जुत्ताको डाम। सीमितताबीचको संघर्ष उकालोको उपहार हो। तर ओरालोको यात्रा अलिक फराकिलो हुन्छ। खुट्टाहरू फुक्काफाल हुन्छन्। चाल वेगवान हुन्छ। यात्राभन्दा पियारो गन्तव्य लाग्छ। आफू मुन्तिरको आकाशमा उडेको चरा पनि देखिन्छ, खोला देखिन्छ, बस्ती देखिन्छ। संसार देखिन्छ। तर हिजो उक्लेको उकालोभन्दा आज ओर्लने ओरालोमा मैले धेरै संघर्ष गरेँ। च्यातिएको घुँडाको ‘लिगामेन्ट’ ले घरीघरी रनाहा पारेर रोक्थ्यो। म दुखाइ मार्ने मल्हम दलेर उसलाई थुम्थुम्याउँथे। बरु उक्लँदा यार्चागुम्बु टिपेर फर्केका मान्छे र तिनका खच्चडको क्याराभान थियो, अहिले ओर्लंदा त बाटो सुनसान थियो। तैपनि मेरो नियति फरक थियो। मैले यसअघि बनाएका उकालो र ओरालोको अवधारणा भत्केको थियो। सजिलो र अफ्टेरोको मूल्यांकन फेल खाएको थियो। सोचेँ, सबै अनुकूलता सधैँभरि अनुकूल भै राख्दैनन्। सबै प्रतिकूलता सधैँ असजिला हुँदैनन्

फर्किँदा सुम्दुवाबाट दाहिने हानिएर पुग्मो गाउँको लाम्ग्याल लाखाङ गुम्बा पुग्ने धोको थियो, तर खुट्टाले धोका दियो। त्यसो त खुट्टा सद्दे हुने साथीहरूलाई पनि त्यो अवसर मिलेन। जाने ३ जनामध्येका मित्र अमृत भादगाउँलेलाई भनेँ, ‘कृपा गरेर मेरा आँखाहरू सापटी लैजानोस् र हेरेर आइदिनोस्।’ उनले त्यसै गरे तर सापटी लगेका आँखा अझै फिर्ता दिएका छैनन्। उनले आँखा फिर्ता गरे भने एकबार फेरि पुग्मो उक्लेर त्यहाँभन्दा ५ घण्टा माथिको कान्जिरोवा हिमालको फेदीसम्म पुग्ने इच्छा छ। त्यहाँका छो–ङोन्पो, छो–कारपो, छो–नाक्पो र छो–लुगाल तालमा सुन्निएका गोडा पैताला चोबलेर आराम गर्न मन छ। जीवनका नीला, सेता, काला र हरिया अनुभूतिलाई उतै विसर्जन गरेर फर्किन मन छ

प्रकाशित : असार २८, २०७६ १२:००
Published at: 
https://www.kantipurdaily.com/koseli/2019/07/13/15629985239126236.html 

Sunday, July 7, 2019

जीगिषा पछ्याऊ


आफ्नो जीगिषा पछ्याऊ
सिँच बारीका बिरुवालाई
प्रेमले मुस्कुराऊ गुलाफसँग
बाँकी त अन्जान रुखहरूका
फगत छाया मात्र हुन् ।
यथार्थ भन्नु जहिल्यै
हाम्रो चाहानाभन्दा कि बढी भैदिन्छ कि कम ।
हामीसँग बराबरी हुने भनेको
हामी मात्रै न हौं ।
एकलै बस्नु बरु जाती
सुसभ्य र उन्नत । सिधा, सादा, सम्पुर्ण ।
दु:खका पथ्थरहरूलाई चढाइदेऊ देउरालीमा
र हलुका भएर घर फर्क ।
जीवनलाई अलिक दूरीबाट हेर ।
प्रश्न नगर जीवनसँग ।
जीवनसँग तिमीलाई बताउने कुनै जवाफ हुँदैन ।
अस्तित्वका उत्तर ईश्वरभन्दा पनि प‍‌र छन ।
गुरु थापेर हिमाल (ईश्वर)लाई हृदयमा
हिँड चुपचाप चुपचाप ।
ईश्वर भनेका ईश्वर हुन्
किनकि ईश्वरलाई आफैँ को हुँ भन्ने पनि
खास्सै थाह हुँदैन ।
~फर्नान्डो पोसोआ
(अनुवाद: गपौ)

Saturday, July 6, 2019

नांगो म


माई माइन्ड इज एन इनिग्मात धेरैले भन्छन् । मलाई भने मेरो दिमाग नै आफूसँग छैनजस्तो लाग्छ । यो कतै डुल्न गएको छ, कुन दिन बिखर्ची हुन्छ र फर्केर मेरो खप्परमा बस्न आउँछजस्तो लाग्छ । खासमा जस्तो लाग्छहोइन, मेरो दिमाग साँच्चै डुल्न हिँडेको छ । ऊ फर्केर बास बस्न आएको दिन मलाई नै नचिनेर फेरि फिर्ता भागोस् भन्ने कदापि चाहन्नँ । त्यसैले पनि मौका पाएसम्म म निर्वस्त्र बस्छु । नांगिएर बस्छु ।
कपडा लगाएर बस्दा नचिन्न पनि त सक्छ नि !
आवरण मानव मस्तिष्कले बनाएको कुरुप आविष्कार हो । वस्त्र, अलंकार र आभूषणले ढाकिएको शरीर, विचार, विज्ञान र वादको आवरणले छोपिएको विवेक, शिक्षा, सम्पक्ति र शत्तिले ढपक्कै ढ्यापिएको दृष्टि, उन्माद, कुण्ठा र असन्तुष्टिको सिरकभित्र गुटमुटिएको आदर्श... ! योभन्दा कुरुप के हुन सक्छ ? सायद यही कुरुप दृश्यले मेरो दिमागलाई दिग्भ्रमित बनाउँछ र भित्रै नपसी फर्केर जान्छ । कैयन पटक मैले मेरो दिमाग बास बस्न फिर्ता आएको, मेरो वरपर हावामा कावा खाँदै अन्योलग्रस्त भौँतारिएको अनि यो त मेरो घर हुँदै होइनभन्ने सोचेर फेरि टाढिएको आफ्नै आँखाले देखेको छु । आफ्नै सन्तानले आफूलाई बाटोमा भेट्दा म तपाईंलाई चिन्दिनँभन्यो भने एउटी आमाको अवस्था के हुन्छ ? वा आफूले सर्वाधिक प्रेम गरेर पढाएको शिष्यले बाटोमा भेट्दा अपरिचितझैँ व्यवहार गर्‍यो भने एउटा मास्टरको मनोभाव के हुन्छ ? जब आफ्नै दिमागले मलाई चिन्दैन र फर्केर जान्छ, त्यस्तै अनुभूति हुन्छ ।
कहिलेकाहीँ बिहान उठेपछि मात्रै थाहा लाग्छ, हिजो रातभर मेरो दिमाग आफैँसँग बिस्तरामा थियो । निदाएका बेला ऊ पनि मेरो खप्परभित्र आराम गरिरहेको थियो । एउटा सपनाजस्तो धमिलो सम्झना बाँकी हुन्छ, बिहानपख । सम्झनामा यस्तो विवरण बाँकी हुन्छम नउठ्दै मेरो दिमाग उठिसक्छ अनि रातको अघोर निद्रामा निर्वस्त्र पल्टिरहेका बखत कानसम्म आफ्नो थुतुनो जोड्दै आउँछ र फुस्फुसाउँछ, ‘बुझिस् गनेस, म तेरो शरीरको निर्गुण निराकार स्वरुप हुँ । तेरो शरीर मेरो सगुण साकार प्रारुप हो । म अदृश्य तँ हुँ । तँ सादृश म होस् ।उसले भनेको म निद्रामै सुन्छु, तर बिहान उठ्दा सबका सब बिर्सिसक्छु । दिमागै नभएको मान्छेले सम्झनु पनि त कसरी ? दिमाग नभएकै कारण मैले धेरै कुरा बिर्सिसकेँ । अस्ति भर्खर कञ्चनपुर हो कि कतातिर हो, एउटी बालखी बलात्कृत भएर मारिएकी थिई, त्यो बिर्सें । दुई साता अगाडि काठमाडौँमै बम पड्केर कुन्नि कति जना मरे भन्ने विवरण बिर्सें । वाइडबडी बिर्सें । मार्सीको चामल बिर्सें । जनस्वास्थ्यको बरखी बार्न बसेको एउटा बूढो डाक्टर थियो रे केसी थरको, त्यो पनि बिर्सें । नाकाबन्दीको कारण त मेरो दिमाग झन् कैयन साता भारतमै अलपत्र परेको थियो । त्यसलाई नबिर्सने त कुरै भएन । भुइँचालो बिर्सें । जनयुद्धबिर्सें । दासढुंगा र १९ जेठ त लासमाथिको राजनीति न थिए, त्यसलाई सम्झन सक्ने कुरै छैन । मैले बिर्सेका यस्ता कैयन कुरा छन्, त्यसलाई यहाँ राखिसाध्य छैन ।
हो, यसरी रात्रि विश्राममा आएर सपनामा फुस्फुसाउन छाडेको पनि धेरै भयो, मेरो दिमागले । खै के भयो, ऊ अचेल सपना र सम्झनामा समेत आउन छाड्यो । उसको अत्तापत्ता केही नभएको पनि मुलुकौँ समय भयो । चेतना, आत्मा र शरीरको अनेकन व्याख्या गरेर रात सुधार्नेर मेरो दिमाग अचेल कहाँ गयो ? न्याय, समता र मुक्तिको बखान छाँटेर नअघाउने मेरो दिमाग कता हरायो ? ऊ हिँडेकै दिनदेखि रात रत्ति नसुध्रेकाले मैले उसलाई नखोजी भएको छैन । जुन दिन ऊ भेटिनेछ, चिरिप्प समातेर मेरो खप्परकक्षमा आजीवन कैदी बनाएर राख्नेछु ।
त्यसैले त म दिनदिनै टाढाटाढा पुगिरहेको हुन्छु । उसलाई खोज्नै भनेर म कहिले दर्शनशास्त्रका गहिरा खोँचमा भासिन्छु, कहिले धर्मशास्त्रका अभेद्य गुफामा पस्छु । कहिले प्राचीन युद्धका वीभत्स किस्सामा फस्छु, कहिले रुमानी साहित्यका मुलायम हरफहरुमा डुब्छु । कहिले समयले कहिल्यै सुल्झाउन नसकेको देशी राजनीतिको भुलभुलैयामा अल्झिन्छु, कहिले कुनै गरिब राष्ट्रलाई उठ्नै नदिने गरी बुनिएको पुँजीवादको कुटिल कूटनीतिमा घोत्लिन्छु । ठेगानाविहीन ठेगानामा पठाइएको कुनै गुमनाम चिट्ठीलाई ठेगान लगाउन हिँडेको बूढो हल्काराझैँ म अचेल साह्रै अन्योलग्रस्त छु ।
कहिले पुग्छु म छाउगोठमाकतै प्रथम रजस्वलाको रगतमा डुबेर मरेकी किशोरीसँगै मेरो मगज पनि मरिसक्यो कि ? कहिले पुग्छु, सहरको अस्पतालमाकतै ओखतीको बिल तिर्न नसकेर आत्महत्या गरेको बिरामीसँग । उसले पनि हाम फाल्यो कि छतबाट ? कहिले अमिताभको फिल्मी चरित्र सहन्साहझैँ सहरका अध्याँरा गल्लीमा पुग्छु र हेर्छु वरपरकतै बलात्कारबाट जन्मेको सन्तान खेलाउँदै बसेकी कुनै बौलाही स्त्रीको मगजसँग सट्टीपट्टी पो हुन पुग्यो कि ? कहिले पोखरा लेकसाइडका आधुनिक औराहरुमा भड्किन्छुकतै खोल्न बाँकी इन्जोय जोनका परिकल्पनाकारको पछिपछि कन्डोम माग्दै पो हिँडिरहेको छ कि ? कहिले सिंहदरबारका सबै गेटतिर बरोबर आँखा दौडाउँछुकतै प्रधानमन्त्रीको चुट्किलामा ताली पड्काउन पालो कुरेर पो बसेको छ कि ?
कहिले पुग्छु म, भावुक कविका उच्चाट संवेदनाले भरिएका अक्षरमा । कहिले टुपुल्किन्छु, आक्रोश ओकल्ने गद्यहरुमा । कहिले टाँसिन्छु, आर्ट ग्यालरीका भित्तामा अनि पर्खेर बस्छु, ऊ नभए पनि उसको छायाचित्र मात्रै पनि टाँसिन पो आइपुग्छ कि एक दिन । कहिले टहलिन्छु इतिहासले म्युजियम बनाइदिएका दरबारका चोटाकोठामा । कहिले हिमालको कठ्यांग्रिदो कुहिरोभित्र पुग्छु, कहिले तालु सुकाउने गर्मीले सेकिएको मधेसको मिराजमा । कहिले कर्णालीका दुख्याहा पहाडी छालसँग आँसुझैँ बग्दै पो आएको छ कि भनेर तटहरुमा पर्खिबस्छु, कहिले सडक कुनामा लुकेर गम सुँघ्दै पो बसेको छ कि भनेर पेटीपेटीमा पैदल मार्छु । तर अहँ, ऊ भेटिन्न ।
साँच्चै भनेको हुँ । ढाँट्नु केलाई छ र ?’ मैले उसलाई खोज्न बाँकी कुनै ठाउँ बाँकी भए मरिजाम् । त्यसैले सोचेको हुँ, सायद उसले आफू फर्केर आउने शरीर नै पो चिनेन कि ? मलाई नांगिन मन पर्दै जानुको मूल कारण खासमा यही हो ।
थाहा छैन, मेरो मस्तिष्क अहिले कहाँ छ ? मेरो चेतना अहिले के गर्दै छ ? मेरो विवेक कता बन्दी भएको छ ? पुलिसले बरु निर्मलाको बलात्कारी फेला पार्ला, अख्तियारले बरु ह्वेलभन्दा पनि ठूलो भनिएको माछालाई कानुनको मसिनो बल्छीमा उधिन्ला, एनसेलले बरु पूरापूर कर तिर्ला, स्वीस बैंकको अदृश्य पैसा बरु सुटुक्क राष्ट्र बैंकको सरकारी खातामा जम्मा होला, क्यान्टोनमेन्टको फाइलमा सपनाको डेबिटक्रेडिट नमिल्दा बितर्किएका सिपाहीको हरकिताब मिल्ला वा टुप्लुक्क आउला रेलपानीजहाजसमृद्धिको सुखी सपना दैलोमा । तर अहँ, मेरो मस्तिष्क फर्केर आउने कुनै गुन्जायस छैन । मेरो दिमाग घर फर्किने कुनै छेकछन्द छैन । मेलोमेसो छैन । भाँतभाँती छैन ।
म त्यसै जोगी भएको होइन, साथी । मन थिएन जोगी बन्नलाईभन्ने गीत मेरै लागि लेखिएको हो ।
कहिलेकाहीँ लाग्छ, ऊ अखबारको कुनै श्यामश्वेत पानामा कुँजिएको खिरिलो सूचनाका निख्ला अक्षरहरुमा कैद भएर बसेको छ, जहाँ लेखिएको छ– ‘मालिक म बौलाएँ । मलाई लिन आऊ ।तर उत्ति नै खेर लाग्छ, मेरो दिमागले त कुनै चल्तीको म्यागजिनको कभर फोटोमा टाँसिएर आउने हैसियत राख्छ । कोही किन बौलाओस् ? कोही किन गुमनाम होस् ? कोही किन बर्बाद होस् ?
कहिले लाग्छ, कुनै सम्भावना नभएको मेरो खप्परमा बेरोजगार भएर बस्दाबस्दा आजित भएरै ऊ त्यहाँबाट भागेको हो । अहिले कुनै अरबको ओयसिसमा मकै गोड्दै बसेको छ वा कुनै तबेलामा घोडा वा ऊँटका कुभो कन्याउँदै छ वा हुन सक्छ, विश्वकप फुटबलको आयोजनाका खातिर बनाइएको कुनै रंगशालाको स्क्याफोल्डिङमा अडेस लागेर रंगरोगन गर्दै छ ।
बाध्यताले गर्नुस् या रहरले, जब कुनै काम बारम्बार गरिरहनुहुन्छ, त्यो तपाईंको बानी हुन्छ । आदत हुन्छ अनि मान्छे आदत से मजबुरहुन्छ । दिमाग खोजीको चक्करमा लाग्दालाग्दा मलाई नांगिने बानी परेको हो । चुरोटको अम्मलीलाई निकोटिनको तलतल लागेझैँ आवरणभित्र बसेको केही बेरमै मलाई नांगिने रहर तीव्र भएर आउँछ । यसरी नांगिनु मेरो चेतन चाहनाजस्तो भएको छ । त्यसो त सुनेको छु, नांगिनु सबै मनुष्यको अवचेतन चाहना हो । त्यसो भए के, मेरोजस्तै अरु मनुष्यको दिमाग पनि अचेल तिनको शरीर छाडेर डुल्न हिँडेको छ ?
त्यसो भए त विप्लव हुन्छ । प्रलयको प्रारम्भ हुन्छ । कल्पना गर्नुस् त, संसारका सबै मान्छे एकातिर, तिनको दिमाग अन्तैतिर । उफ् !
नांगिदानांगिँदै मलाई यस्तोसम्म भान पर्न थालेको छ– ‘खासमा म नांगिनकै लागि जन्मेको हुँ । नांगिनु मेरो बाध्यता होइन, बरु रहर हो । त्यसैले म हरहमेसा आशा गर्छु कि तन, मन, विचार, बुद्धि र विवेकले पनि नांगिरहन पाऊँ । नग्नताले मलाई सिर्जनात्मक ऊर्जा दिन्छ । आफू हुनुको अनुभूति दिन्छ । बचाइको भान दिन्छ । आडम्बरबाट मुक्ति दिन्छ ।
यही भानले गर्दा अवसर पाउनेबित्तिकै म नांगिइहाल्छु । जब कोठामा एक्लै हुन्छु, म कपडा फुकालिहाल्छु । कहिले पण्डित हरिप्रसाद चौरसियाका बाँसुरीले पार्ने बयेलीमा गहुँको बालाझैँ लहरिन्छु, त कहिले चिनियाँ पियानोवादक ल्याङल्याङका स्ट्रोकमा मदमस्त बहकिन्छु । कहिले टेलिभिजनमा घन्काउँछु, पिना वाउसका डेड क्यान डान्सका सिरिज अनि नग्न नृत्यमा फनाफन फन्किन्छु । कहिले आफ्नो किशोरकालीन यादमा रल्लिँदै साउन्ड अफ अन्डरग्राउन्डमा उफ्रिन्छु, त कहिले अल्ला रखाको तबलामा कसैले ननाचेको कत्थक नाच्छु । नग्नता र नृत्यको कम्बोमा म आफूलाई जीवनको अत्यन्त नजिक पाउँछु ।
नाचेर पुगेन वा नाच्ने दिमागै आएन भने म विजयपुर खोलाको एकान्तकुनातिर जान्छु र जोरजोरले तथानाम गीत गाउँछु । नांगो गीत । त्यो गीत, जो मैले यसअघि कहिल्यै गाएको थिइनँ, जो सुनेकै थिइनँ । लेखेकै थिइनँ । भकाभक गीत फुरायो, गायो । जथाभावी गायो । एकान्तमा गाइने नग्न गीत मलाई अस्तित्वको आराधनाजस्ता लाग्छन् ।
भान न हो ।
जब सिर्जनात्मक ऊर्जा सकिँदै गएर मानसिक शिथिलता महसुस गर्छु, मलाई नांगिने जरुरत पर्छ । नृत्य र गीत मात्रै होइन, कहिलेकाहीँ मेरा औँला पनि कम्प्युटरका किबोर्डमा नांगा शब्द खोप्न थाल्छन्टुकटुक, टुकटुक । टाकटाक टाकटाक । ठ्याकठ्याक, ट्याकट्याक । अविराम, अविचल टाइप गर्दै, डिलिट गर्दै । फेरि टाइप गर्दै, फेरि डिलिट गर्दै । यसरी टाइप गर्दै गर्दा म छेवैमा रेकर्डरलाई अन मोडमा राख्न भुल्दिनँ । मलाई कम्प्युटरको किबोर्डले निकाल्ने धुनजस्तो मधुर केही लाग्दैन । त्यो धुन मात्रै सुन्नका खातिर पनि म केही न केही लेखिरहन्छु ।
अनुमान गर्नुस् त, यो आलेख लेख्दा मेरो कम्प्युटरको किबोर्डले कस्तो धुन बजाएको थियो होला ? यसको रेकर्ड सुन्ने हो ?

प्रकाशित: असार ४, २०७६
Published at: