Contact Form

Name

Email *

Message *

Z

Saturday, June 15, 2019

शालिग्राम

शालिग्राम निकै सफा थियो । उसका हातमा नसाको नीलो छाप देखिन्थ्यो । आँखा कञ्चन तलाउका झैँ शान्त र सफा, जसको वरपर काला र बाक्ला आँखीभौँको मिहिन पहरा । दुवैतिर भुक्क परेका गाला टाँसेर बसेको गोलाइरो अनुहार । बाबियोझैँ सलक्क तर रेशमझैँ कोमल कपाल । छोटो घाँटी । शालिग्राम सेतो शालिग्रामजस्तै पो थियो ।
स्कुल पढ्दा सबैको कपडामा कतै न कतै दागमैलो हुन्थ्यो । कतिका घुँडा र चाकमा भ्वाङ परेका हुन्थे, कतिका भ्वाङ टालिएका । टालाहरूको पत्रैपत्र चाकमा टाँसेर हामी हिँडिरहँदा, उसको भने कुनै पनि कट्टु र पाइन्ट सधैँ दुरुस्त हुन्थे । पुगिसरी आएर पनि होइन, असाध्यै जतन गर्ने भएर । ऊ कतिसम्म सफा थियो भने घाँटीको कल्लारको डिलमा समेत कुनै मयल हुँदैनथ्यो । हामी बरु उफ्रिन्थ्यौँ, पसिनै पसिना हुन्थ्यौँ र छिनछिनमा हात मुख र खुट्टा धोइरहन्थ्यौँ । ऊ त्यसो गर्दैनथ्यो त्यसैले छिनछिनमा धोइपखाली पनि गर्दैनथ्यो ।
उसको घर स्कुलबाट २० मिनेटको दूरीमा थियो । हामीजस्तै ऊ हिँड्ने बाटो पनि त्यही थियो । बाटोमा खोल्सा थिए, खोल्सामा पानी बगेको हुन्थ्यो । भैँसीले आहाल खेल्ने पोखरीहरू थिए, जसको डिलबाट हिलोमा नटेकी पाइला चाल्नै मुस्किल हुन्थ्यो । खेतका आली नै बाटो थिए, जहाँबाट अलिकति ध्यान अन्त गयो भयो धानको गाँजभित्र गजगज खुट्टा गढ्थ्यो । डहरभरि गाइडिँगाका बथान हुन्थे, जसको बीचबीचबाट पसेर गुहुमुतले भिजेको पुच्छरको सप्को नखाई निस्कनु मुस्किल प्रायः हुन्थ्यो । कतिखेर भैँसीको हिलाम्मे पुच्छर सोझै कमिजमा आएर बजारिने हो, अनुमान हुँदैनथ्यो । हिलो र गोबरको बरोबरी गन्ध हाम्रा कपडाभरि हुन्थे ।

तर, ऊ खै कसरी जोगिन्थ्यो जोगिन्थ्यो !
हाम्रोमा जस्तै उसको घरमा पनि इस्त्री थिएन । कपडामा इस्त्री लगाउन दमाईं दाइकै घरमा पुग्नुपथ्र्यो । अहिलेजस्तो बिजुलीले चल्ने आइरन थिएन । गाउँमा बिजुली भए पो त्यो वेला ? बिँडपट्टिको भागबाट खुल्ने ढकनीमा आगोको कोइला हालेर बल्ल तताइन्थ्यो आइरन । विद्यार्थीका पोसाक नयाँ सिलाउँदा मात्रै आइरन गरिएका हुन्थे । पुरानोमा आइरन गर्ने चलनै थिएन । तर, उसको कपडा सधैँ तिनिक्क । हाम्रा कमिज र कट्टुका टाँक फुत्तिसकेका हुन्थे, सट्टिमा थपिएका टाँक रंगिबिरंगी हुन्थे । तर, उसका कमिजका टाँक सधैँ ठाममा । कपडा मात्रै होइन, उसले किताबको पनि साह्रै जतन गथ्र्यो । हाम्रा किताबका कुनाकाप्चा एक गुजुल्टो परिसक्दा पनि उसका भने धमिलोधरि हुँदैनथे । 
साह्रै सफा थियो शालिग्राम सुवेदी । साह्रै मिलनसार थियो । उसका अक्षर टंकन गरिएका जस्ता बाटुला, सफा र एक रूपका हुन्थे । पाँच कक्षा पढ्दापढ्दै ऊ स्कुल आएन । ऊ मेरो मिल्ने साथी थियो । खै किन हो, मजस्तो चकचके, फोहरीसँग पनि ऊ निकै मिल्थ्यो । साँझपख उसको घर छेवैबाट कतै जाँदै थिएँ, उसले देखेर बोलायो ।
‘गनेस, म अब वनारस जाने अरे ! बासँग । उतै बसेर संस्कृत पढ्ने रे ! बाले तिमीलाई पनि जाने भए सोध भन्नुभएको थियो । तिम्रो घरमा गएर तिम्रा बाआमासँग पनि सल्लाह गर्ने भन्नुभाछ । जाने हो ? तिमी भयौ भने मज्जा हुन्छ । संस्कृत पढेपछि तिमीले पूजापाठ गर्न पनि सकिहाल्छौ । म त ज्योतिष पढ्छु । तिमी कर्मकाण्ड वा व्याकरण पढ ।’
इन्डिया जाने, रेल चढ्ने, फिरीमा खाने–बस्ने, यताउति पूजापाठ हुँदा दक्षिणास्वरूप खाइखर्चको पनि जोहो हुने, लड्डु, पेडा र जेरी मात्रै होइन, आँप र केरा त जति खाए पनि पाइने ... । उसले सुनाएको संसार स्वादिलो थियो त्यसैले मायावी थियो । म पूरापूर लोभिइसकेको थिएँ । नभन्दै उसका बा हाम्रो घरमा आउनुभयो । भोलिपल्ट साँझमा हो कि जस्तो लाग्छ । उहाँले पनि मेरी आमासँग त्यही कुरा गर्नुभयो ।  ‘ल भाउजू, विचार गर्नुस् । मेरो भन्दा हजुरको छोरा निकै टाठा छन् । फर्किंदा ठुला पण्डित भएर आउँछन् । चौकामा बस्ने गरी आएनन् भने भन्नुहोला । अर्को सोमबार या मंगलबार पठाउने कुरा छ ।’
शालिग्रामका बा हाम्रो घरबाट निस्केपछि आमाले मलाई ‘तेरो विचार के छ ?’ भनेर सोध्नुहोला जस्तो लागेको थियो । मेरो त मनपेट सबै वनारस पुगिसकेको थियो । किन कसो केही नभनी म त सोझै ‘हुन्छ’ भन्दिनेवाला थिएँ । तर, आमाले केही सोध्नुभएन । भोलिपल्ट बिहान पनि वास्तै गर्नुभएन । पर्सिपल्ट पनि त्यही भयो । हुँदाहुँदै हप्ता दिन सकियो । आइतबार साँझ आइपुग्यो । भोलि त सोमबार, अनि पर्सि मंगलबार । आज पनि कुरा चलेन भने मेरो वनारस यात्रा खुच्चिङ हुने पक्का हुने भयो ।
साँझमा भात खाने वेला डराइडराई आमासँग कुरा झिकेँ, ‘आमा शालिग्रामहरू भोलि जाने हुन् कि पर्सि ?’‘पर्सि होला नि !’ आमाले त्यसपछि बोल्नुभएन । ‘अनि मलाई पनि पठाउने हो र तपाईँले ?’ धक मानी–मानी मैले सोधेँ ।‘पर्दैन जान । कस्तो हो, के हो नबुझीकन त्यसै पठाउने ? भोलि बिरामी भइस् भने कसले हेर्छ तँलाई ? त्यसमाथि पण्डितै हुने भए किन जान प-यो वनारस ? घरमै बासँग सिके भैगो नि । तेरा बाले पनि आफ्ना बासँग सिकेका हुन् क्यारे !’ आमाले यति भनेपछि मेरो बोल्ने ठाम रहेन । ‘डाक्टर, इन्जिनियर, पाइलट हुन खोज्छ कि छोरो भनेको त पुरेत पो हुन खोज्छ बा !’ भातको गाँस घुपुक्क निलेपछि पुरेत बाले पनि थप्पु लगाउनुभयो । मेरो वनारस यात्रा सुरु नभई टुंगियो ।
शालिग्राम वेलावेलामा घर फर्किइरहन्थ्यो । तीन वा चार महिनाको बीचमा । दोस्रोपटक फर्किंदा उसले साइकल चलाउन जान्ने भइसकेको थियो । उतै सिकेछ । मंसिर महिनापछि कक्षा सकेर छुट्टी भएको समय थियो, मेरो स्कुल पनि बन्द थियो । ऊ हरेक दिन आफ्ना बाको साइकल कुदाउँदै मेरो घरमा आउँथ्यो । म क्यारियरमा बस्थेँ, उसले कैँची हानेर कुदाउँथ्यो । एक दिन ऊसँग साइकल सिकाउन मागेँ । उसले पछाडि क्यारियरमा समात्यो । मैले उसको सिको गर्दै कैँची पारेर पेडलमा खुट्टा घुसारेँ । तर, यसो अलिकति कुदेको के थियो साइकल पल्टियो । जन्जिरले मेरो खुट्टो लछा-यो । साइकलको घन्टी भाँचियो । ‘अब बाले मार्छन्’ भनेर ऊ डराई–डराई घर भाग्यो । म हेरेकोहे-यै भएँ । मैले साइकल सिक्नै पाइनँ ।
उसलाई बाले मारे कि मारेनन् थाहा भएन, तर भोलिपल्ट पनि ऊ साइकल लिएर आयो । तर, भोलिपल्ट न मैले साइकल सिक्न मागेँ, न उसले नै मलाई ‘सिक न त’ भनेर दियो । दुई–चार दिनमा त उसको छुट्टी पनि सकियो । फेरि वनारस गयो । म एक्लिएँ । प्रायः चार–चार महिनामा घर फर्किने शालिग्राम यसपाला चाहिँ फर्केन । बरु उसका बा आफैँ वनारस गए । शालिग्राम बिरामी परेको हुनाले उसको उपचार गर्न र उसलाई घर फर्काउन भनेर उसका बा त्यता गएका रहेछन् । तर, उसका बा पनि लामो समयसम्म फर्केर आएनन् । धेरै पछि फर्किंदा छोरोलाई पनि सँगै लिएर आए । त्यसपछि शालिग्राम फर्केर बनारस गएन । उसको टाउकोमा जटिल समस्या देखिएको रहेछ, जसको उपचार असम्भव छ भन्ने सुनेँ ।
फर्केर आएको शालिग्राम हामीसँग हाम्रो स्कुलमा पढेन, अन्तै कतै पढ्न थाल्यो । यसपटकको शालिग्राम पहिलाको जस्तो थिएन । उसले कहिल्यै साइकल कुदाएन । चुँगी खेल्न पाटनमा निस्केन । कहिलेकाहीँ मलाई भेट्न आउँथ्यो, त्यसबाहेक अरू साथीलाई भेट्दा पनि भेटेन । ऊ एकांकी हुँदै गयो ।उसको टाउको पहिल्यैदेखि कमलो थियो । हावा कम भएको भलिबलमा छामेजस्तो थिल्थिल्याउँदो थियो । कदाचित कोही साथी उसको टाउकोमा ठोक्कियो भने ऊ रनाहा परेझैँ हुन्थ्यो । त्यो वेला हामीले खासै वास्ता गरेका थिएनौँ । तर, आज उसको रोग परिपक्व भएर आएको थियो । उसले आँखा धमिलो देख्न थालेको थियो । मोटो न मोटो चस्मा नभई नदेख्ने भएको थियो । र, समयक्रमको एक दिन ऊ पूरै आँखा नदेख्ने भयो । मेरो घरमा पनि आउन नसक्ने भयो । अत्यास लागेका वेला सूचना कसैकसैमार्फत पठाएर, मलाई बोलाउँथ्यो । म जान्थेँ ।
अचम्मको कुरा के भने हामी सबैजना बिस्तारै बढिरहेका थियौँ तर शालिग्राम जत्राको तत्रै थियो । जस्ताको तस्तै थियो । उस्तै बालखी अनुहार । उस्तै कोमल छाला । एक खालले भन्ने हो भने उसको उमेर झ्याप्पै रोकिएको थियो । तर, शरीरले बढ्न छोड्दैमा, उमेर रोकिँदैमा, आयु नरोकिने भए पो ?उसलाई देखेर म निराश हुन्थेँ तर मेरो उपस्थितिले भने ऊ उज्यालो र खुसी देखिन्थ्यो । ‘एक दिन सबैजना मर्ने नै हो गनेस । बाँचिन्जेल कसैको कुभलो गर्नु हुँदैन । मैले जानेको यत्ति हो,’ उसले निकै परिपक्क कुरा गर्न थालेको थियो । म त अल्लारे नै थिएँ, उसका कुरा बुझे पनि बुझ्न सक्दिनथेँ । भर्खरको उमेरमा भलो–कुभलोको चिन्ता लिने कुरा पनि भएन । यो कलिलो उमेरमा कसले कसको कुभलो गर्छ र ?
शालिग्राम अमरसिंह स्कुलको अन्धा सेक्सनमा भर्ना भयो । त्यतिवेला दृष्टिविहीन भन्ने शब्द चलनमा थिएन । यत्रो शारीरिक र मानसिक दबाबका बाबजुद पनि उसले स्कुल जान छाडेको थिएन । मलाई उसको जीवनशैली देखेर ताज्जुब लाग्थ्यो । उस्तै सफा, उस्तै मिहिनेती, उस्तै कोमल । अन्धा सेक्सनमा पढेको केही समयमै उसले ब्रेल लिपि जानेको थियो । उसले मलाई पनि सिकाउन खोज्थ्यो । मैले केही अक्षर चिनेको पनि थिएँ । जस्तो कि अघिल्लो कुनाका दुइटा थोप्लोले ‘क’ । पछिल्लो कुनाका दुइटा थोप्लोले ‘ख’ । म हेरेर त भन्न सक्थेँ, तर छामेर भन्न सक्दिनथेँ । एक दिन कोठामा बसिरहेका वेला उसले मलाई आँखामा पट्टी लगाउन भन्यो । मैले लगाएँ । इमानदारीपूर्वक पट्टीका कापबाट छिरेको उज्यालोलाई समेत मिलाई–मिलाई बन्द गरेँ । 
‘जाम् हाम्रा बारीमा गएर गाँजर उखेलेर खाम्,’ उसले प्रस्ताव राख्यो ।म उसको हात समातेर पछिपछि लागेँ । उसको गाँजर बारी घरको पछाडिपट्टि थियो तर धेरै टाढा थिएन । त्यस्तै सय मिटर पर थियो होला, तर आँखामा पट्टी लगाएर हिँडेको भएर होला, मलाई त्यो निकै टाढाजस्तो लाग्यो । उसले मलाई तान्दै–तान्दै बारीमा पु-यायो ।‘गनेस तिमीले सम्झेका छौ, सानोमा हामी यहाँ पुतली समात्न दौडेको ? धनियाँ र मुलाको फूलमा कति धेरै पुतली बस्थे है ?’
‘हो नि । किन नसम्झनु ?’ मैले सम्झेँ । खासमा त्यो दिन विज्ञान पढाउने राधा म्याडमले स्कुलमै पुतली पक्रिन लगाउनुभएको थियो । हामीले झुसिलकिरा कसरी पुतली बन्छ भन्ने पढेर घर फर्केको दिन थियो त्यो ।‘अहिले पुतली छन् कि छैनन् नि ?’ उसले सोध्यो ।‘मेरो आँखामा पनि पट्टि बाँधेको छ, साथी । के थाहा नि ?’ म अझै आँखामा पट्टी बाँधेरै बसिरहेको थिएँ, ‘हिजोअस्ति त देखिन्थे । पक्कै होलान् नि ।’बारीमा पुगेपछि उसले एउटा गाँजर उखेलेर मलाई दियो । उसले पनि राख्यो होला । हामी कोठामै फर्कियौँ, उसैगरी । उसले भान्छाबाट लोहोटामा पानी ल्यायो । गाँजर पखाल्यो । मलाई पनि पखाल्न भन्यो ।
‘गाँजर खाएर फेरि बारीमा जाऊ है । पट्टी खोलेर जाऊ । पुतली छन् कि छैनन् हेरेर आऊ ।’ उसको अनुरोधलाई मैले सामान्य लवजमा ‘हुन्छ’ भनेँ ।गाँजर खाइन्जेलसम्म मेरो आँखाको पट्टी जिमका तिम थियो । खाइसकेर पट्टि खोलेँ र बारीमा गएँ । धनियाँको फूलमा दुइटा सेता पुतली डुलिरहेका देखिए । माहुरी, बारुला र अनेकन् जातका भँवरा पनि देखिए । केटाकेटीमा छोपेको जस्तो पहेँलो पखेँटामा कालो टिकटिक भएको पुतली पनि देखियो । कोठामा फर्केर मैले उसलाई बारीमा देखिएका किराको वर्णन गरेँ । ऊ निकै खुसी भयो ।त्यस दिन अबेर गरी म फर्किएँ । फर्किंदा अँध्यारो भइसकेको थियो । बाटोमा खोल्सो पथ्र्यो, जहाँ भँयेन्नीले तर्साउँछ भनेर हामी निक्कै डराउने गथ्र्यौं । तर, त्यो दिन मलाई कुनै डर लागेन । सोचेँ, ‘शालिग्रामका लागि त सधैँ अँध्यारो छ । अँध्यारोसँग पनि डराएर साध्य हुन्छ ?’
स‌ंसार जोगाउनकै लागि भए पनि हामी मरिरहनुपर्छ । हामी मर्नु भनेको संसार जोगाउनका खातिर सहिद हुनु हो । शालिग्राम, तिमी मरेका होइनौ, अस्तित्वको निरन्तरताका खातिर सहिद भएका हौँ !
म काठमाडौं हिडेँ, पढाइको सिलसिलामा । शालिग्राम झन्–झन् बिरामी पर्दै गयो । एक दिन घर पुग्नेबित्तिकै आमाले भन्नुभयो, ‘भान्दाइको छोरा (शालिग्राम)लाई साह्रै रहेछ । तँलाई सोध्दै थिए । जा न भेट्न ।’‘घर फर्केकै दिन के जानु ? भोलि फलफुल–सलफुल दिएर जान्छु,’ आमालाई भनेँ । भोलिपल्ट पनि खै के भयो जान पाइनँ । बरु पर्सिपल्ट बिहानै जानुपर्ला भनेर फलफूल भने किनेर ल्याएँ । तर, पर्सि बिहान म उठ्दा–नउठ्दै खबर आयो– शालिग्राम गैसकेछन् । मैले उनको अन्तिम समयमा साथ दिन पाइनँ । मलाई भेट्ने उनको धोको पु¥याउन पाइनँ । त्यो दिन सामान्य थकथकी मात्रै लागेको भए पनि शालिग्रामलाई अन्तिम अवस्थामा भेट्न नपाएको वा नगएको ग्लानिले मलाई सधैँ लखेटिरह्यो । मैले यो आलेख त्यही लखेट्याइबाट उम्किन गरेको प्रयास मात्र हो ।
यतिसम्मको यो आलेख खासमा काठमाडौंको होटेल एअरपोर्टमा बसेर लेखेको हुँ, महिना दिनअगाडि । फर्केर शालिग्रामका बालाई पढेर सुनाउने र अनि बल्ल प्रकाशन गर्ने विचार थियो । बिहान उठेपछि थाहा पाएँ– शालिग्रामका बा दिनानाथ सुवेदीको हृदयाघातबाट देहान्त भइसकेको रहेछ, अस्ति बेलुका नै ।  किरियापुत्रीलाई भेट्न जाँदा मैले यो आर्टिकलको व्यहोरा सुनाएँ । शालिग्रामका दाजु र दुई भाइहरूसँग लामो गफ गरेपछि एउटा कुण्ठाबाट निवृत्त भएको महसुस गरेँ । साँझमा घर फर्केर डायरीमा लेखेँ :-
नित्सेकै घोषणाले लखेटेर सायद ईश्वर उहिल्यै मरिसक्यो । वा हुन सक्छ बाँच्दा–बाँच्दा झ्याउ लागेर ईश्वरले आत्महत्यै पो ग¥यो कि ! तर, ईश्वरकै मृत्युले पनि अस्तित्वलाई केही फरक पार्दैन किनकि ईश्वरकै मृत्युमा पनि मृत्यु ज्युँदो भएको प्रमाण कायम हुन्छ । मृत्यु अझै पनि निस्फिक्रीसँग ज्युँदो छ । जोन डनको ‘दाउ सल्ट डाई’ श्राप लागेर मृत्यु मरेको छैन । 
मृत्यु जीवित रहँदासम्म मानवता ज्युँदो हुन्छ । आध्यात्म ज्युँदो हुन्छ । रहस्य ज्युँदो हुन्छ । यथार्थ, कल्पना र पराकल्पनाले पोतिएको रंगीन कला–साहित्य ज्युँदो हुन्छ । मृत्यु रहँदासम्म प्रेम ज्युँदो हुन्छ, डर ज्युँदो हुन्छ, संवेदना ज्युँदो हुन्छ । सम्पूर्ण भौतिक, अभौतिक वा पराभौतिक चेतनामाथिको विश्वास, अविश्वास र अन्धविश्वास पनि ज्युँदो हुन्छ । 
मृत्यु बाँचुन्जेल हो, संसार बाँच्ने । कल्पना बाँच्ने । मृत्यु मरेको दिन संसार पनि मर्छ । कल्पना मर्छ र कल्पनासँगै मर्छन् कला, साहित्य र सौन्दर्य । स‌ंसार जोगाउनकै लागि भए पनि हामी मरिरहनुपर्छ । 
Published at: 

परिवर्तनको जोस

वयाजिदले अल्लाहलाई फरियाद गर्दा उ युवक थियो । उत्साही र क्रान्तिकारी थियो । उसले अल्लाहसँग अनुरोध गर्‍यो, "मलाई यस्तो शक्ति दिनुहोस् कि म संसार परिवर्तन गर्न सकूँ ।"

वयाजिदको यौवन ढल्कियो । मस्जिदमा गयो । पुकारा गर्यो, "हे अल्लाह । आधि जीवन सक्कियो । थाह भो कि म गलत रहेछु । संसार त ठुलो पो रहेछ । परिवर्तन गरी नसक्नु रहेछ । मलाई यत्ति गर्दिनुस् कि म मेरो परिवारलाई परिवर्तन गरुँ । "

वयाजिद बुढो भयो । लखर लखर मस्जिदमा गयो । भन्यो । "हे अल्लाह ! दूनियामा कसैको ठेक्का लिएर परिवर्तन हुने कुरा होइन रहेछ । न परिवार न समाज । तिनलाई परिवर्तन गर्ने खोज्ने म को ? हे अल्लाह, म आफैं परिवर्तन चाहन्छु । म फेरिन चाहन्छु । मलाई आत्म-शक्ति दिनुस् !"

मस्दिजको गोलाकार छत कतैबाट आकाशवाणी आयो, "मैले दिन सक्ने कुरा बल्ल माग्यौ । तर हे वयाजिद ! तिमीसँग मैले दिएको कुरा लिनसक्ने सामर्थ्य नै छैन । अब ढिला भैसक्यो । जाउ जेततेन यत्तिकै गुजारा गर ।"

Thursday, June 13, 2019

भाषाको यौन विन्यास

अघिल्लो शनिबार ‘फुर्सद’मै रमेश सायनको आर्टिकल पढेँ। ‘छुटेका अनुहार’का शब्दशिल्पी सायनका झैं रिट्ठो नढाँटी, बिलकुल इमानदार भएर यौनका अनुभव र अनुभूतिबारे लेख्ने ल्याकत मसँग छैन। यौनका मामलामा म खासै ‘अनुशासित’ र ‘आदर्श’ मान्छे होइन। खासगरी त्यस्तो ‘अनुशासन’ र ‘आदर्श’ जसको परिभाषा समाजले  गरेको हुन्छ। 
मसँग यौनका बारेमा अत्यन्त निजात्मक, अति संवेदनशील, आममान्छेका सोचाइ र सन्दर्भमा भन्दा, साह्रै असामाजिक र असभ्य करार भइन सकिने अनुभव र अनुभूति छन्। सरुभक्तको भनाइका रूपमा कतै पढेको ‘म आत्महत्या गरूँला तर आत्मकथा लेख्दिनँ’ भन्ने वाक्य मेरा लागि पनि उत्तिकै दुरुस्त वाक्य हो। सरुभक्तको सात्विक प्रेमको विषय होला, मेरो होला तामसिक। तर अन्तिम कथन मेरो पनि त्यही हो।
प्रेम र यौनका बारेमा मैले जे देखेँ, जे भोगेँ त्यसलाई समेटेर संस्मरण वा आत्मकथा लेख्ने कुनै मनसुवा मसँग छैन। त्यो आवश्यक पनि छैन। मलाई थाहा छ— संसारका सबै अनुभव वा अनुभूति बाँड्नका लागि हुँदैनन्। सबै अनुभवलाई, सबै भोगाइलाई कथ्नैपर्छ भन्ने छैन। केही याद जिन्दगीसँगै मरिजानु पर्छ।
म हुर्कौलो हुँदै गर्दा मेरो संगत दामलीहरूसँग भन्दा ज्यादा पाकाहरूसँग भयो। स्कुलबाट भाग्ने, सिनेमा हेर्ने, पौडी खेल्ने, माछा-चरा मार्ने, फलफूल चोर्नेजस्ता काममा लागियो। खोलामा पौडी खेल्दा सिनियरहरू ‘हस्तमैथुन’ प्रतियोगिता नै गर्थे। हामी केटाकेटी रमिते हुन्थ्यौं। टीभी र भिडियो प्लेयर भाडामा ल्याएर हरेक शुक्रबार रातभरि र शनिबार दिनभरि सिनेमा हेर्ने चलन थियो। मध्यरातमा खोलमा ‘रामायण’, ‘महाभारत’ लेखिएका ‘पोर्न मुभी’हरू देखाइन्थ्यो। म १०/११ वर्षकै उमेरमा यस्ता फन्डामा परेँ। पैंचालीस सालको मध्यतिर गाउँमा सार्वजनिक टीभी आयो। टीभी हेर्न सारा गाउँले गुन्द्रीकाम्लो बोकेर चौतारोमा आउँथे। टीभी देखाइने ठाउँको अलिक पर्तिर मात्रै सुनसान ठाउँमा पुरानो औडी थियो जहाँ टाप्रेको गाँज मात्रै थियो। गाँजभित्र सिनियरहरू आ-आफ्ना तरुनी बोकेर जान्थे। ‘मलाई मान्छे आउँछन् कि हेर !’ भनेर बाटो कुर्न लगाउँथे। 
उमेर नपुग्दै मलाई यौनका बारेमा धेरै कुरा थाहा भइसकेको थियो। तर अचम्मलाग्दो कुरा के भने कक्षा ८ पढ्दासम्म पनि मैले ‘सम्भोग, लिंग, योनि’ जस्ता शब्द सुनेकै थिइनँ। त्यसो पनि होइन। शिवलिंगको प्रसंगमा ‘लिंग’ शब्दचाहिँ सुनेको थिएँ। तर मलाई शिवलिंगको लिंग पनि यही मान्छेको जस्तै लिंग हो भन्ने कुरा थाहा थिएन। मलाई अझै पनि शिवलिंग र मेरो लिंग उस्तै अवयव र अवधारणा हुन् भन्ने कुरामा विश्वासै छैन। त्यसो त सम्भोग, योनि, लिंग आदि शब्द मेरो भाषाका शब्द होइनन्। यी संस्कृत शब्द हुन्। मलाई थाहा नहुनु कुनै ठूलो कुरा होइन। तर मैले यी शब्दको सेरोफेरो जनाउने खाँट्टी नेपाली नाम भने बालखैमा सिकेको थिएँ। ती पनि एउटा होइन, अनेकन। 
आठ कक्षा पढ्दा मलाई लागेको एउटा उटपट्याङ जिज्ञासा थियो— हामीलाई संस्कृतका शब्द सम्भोग, योनि, लिंग अथवा अंग्रेजीका सेक्स, भजाइना वा पेनिस भन्दा वा लेख्दा कुनै सकस नहुने। लाज नहुने। असभ्य नभइने। तर त्यही अर्थ दिने हाम्रा आफ्ना नेपाली शब्द बोल्दा वा लेख्दा किन लाज हुने ? किन असभ्य भइने ? सँगसँगै मलाई अर्को जिज्ञासा आएको थियो— स्वयं बेलायतमा चाहिँ यो कुरा पढाउँदा आफ्नो भाषाका शब्द प्रयोग गर्छन् कि अरूका ? चीन वा कोरियामा के गर्छन् ? के उनीहरू पनि हाम्रोजस्तै अर्काको भाषाबाट सापटी लिएर लाज जोगाउँछन् ? 
दुई हप्ताअघि हेटौंडाबाट पोखरा फर्किंदा लेखक ब्रजेश र व्यवसायी दिनेश कार्कीसँग पनि संयोगवश यस्तै प्रसंग उप्काएँ। मैले यिनै प्रश्न दोहोर्‍याएँ। ब्रजेश दाइले प्रस्तावै राखे, ‘नेपाली भाषामा ‘सेक्स’लाई जनाउने शब्द के के छन् भनौं त ?’
शब्दकर्मीको प्रस्ताव टार्ने कुरा भएन। एकपछि अर्कोले पालैपालो गर्दै हामीले भटाभट आएजति शब्द भन्न थाल्यौं। एकपछि अर्को जिब्रोबाट शब्दहरूको मकैफुला उठिरह्यो। सागर किनारमा छाल आउन रोकिएला तर शब्दको लहर रोकिएन। नारायणगढ-मुग्लिन खण्डको सडक नापेर सकियो तर हाम्रा जिब्रोबाट कामुक शब्दको फेहरिस्त खस्न रोकिएन। गर्नु, पल्टाउनु, सेट्नु, दाप्नु, ङ्याक्नु, क्वाँक्नु, मच्चिनु, ख्याँस्नु, कन्याउनु, सुत्नु, .ि..क्नु, सुताउनु, लडाउनु, ठोक्नु, अँचेट्नु, ढिच्काउनु, च्यात्नु, दपेट्नु, छिराउनु, चिप्ल्याउनु, दन्काउनु, फट्याउनु, जोल्टिनु, सिल तोड्नु, तातो पानी फाल्नु, पाँच खुट्टा टेक्नु, 
ढिकिच्याउँ गर्नु, कोल चलाउनु, भाँडा बजाउनु, ट्याम्पु पल्टाउनु, मियो गाढ्नु, दही मथ्नु, घिउ निकाल्नु, फलफूल खानु, जग्गा हेर्नु...।
एउटै वा उस्तै अर्थ दिने शब्दहरू जति धेरै हुन्छन्, त्यो अर्थको विषयमा त्यो भाषा बोल्ने समाजको मानसिक चित्र उति नै प्रस्ट हुँदै जान्छ। भन्छन् नि, क्यानडाका आदिवासी इस्किमोहरूको भाषा युपिकमा जमेको पानी अर्थात् हिँउ जनाउनका लागि मात्रै दर्जनौं शब्द छन्। तिनले हिउँको अनेकन प्रकारलाई बताउँछन्। हिउँको आकार, रङ मात्रै होइन; कुनै हिउँ कति पुरानो हो, त्यो कति बेला देखियो, कसरी देखियो आदि अनेकन सूचना पनि एउटै शब्दले दिन्छ। हिउँ मात्रै होइन, हिउँ परेको स्थान र त्यसलाई हेर्ने मान्छेअनुसार पनि हिउँका अनेकन नाम उनीहरूसँग छन्।
के सेक्स जनाउने हाम्रा शब्दले पनि यस्तै ‘प्रकार’लाई देखाउँछन् ? पक्कै देखाउँछन्। जस्तो कि ‘टेम्पो पल्टाउनु’ शब्दावली सिनेमामा काम गर्ने प्रोड्युसरका लागि प्रयोग गरिन्छ/थ्यो जसले सिनेमामा ‘रोल’ दिने बहानामा महिला कलाकारसँग यौनसम्बन्ध राख्ने नियत राख्छ/थ्यो। उता ‘फलफूल’ शब्द नेपाली क्यासिनोमा प्रचलित शब्द हो। जस्तो कुनै यौन अड्डामा नयाँ युवती आएकी रहिछन् भने ‘बजारमा नयाँ फलफूल आएको छ’ भनिन्छ। कुनै यौनकर्मीको गुण-दोष बताउनु परे ‘फलानी त जुनारजस्ती छ, भुइँकटहरजस्ती छ, कट्मेरो आँपजस्ती छ’ भनिन्छ। ‘हिजो त्यसले रातभरि फलफूल खाएर बस्यो। ऊ त फलफूल व्यापारी हो नि’ आदि वाक्य पनि त्यताका आमसंवाद हुन् !
आजकाल जग्गा कारोबारीहरूले पनि नयाँ शब्दको प्रयोग गर्न थालेका छन्। फोनमा कुरा गर्दा सुन्ने (श्रीमती वा अरू कोही)ले थाहा नपाओस् भनेर उनीहरू यसरी ‘कोड’ भाषामा बोल्छन् :
- आज जग्गा हेर्न जाने हो ? (प्रस्ताव राखेको)
- कति आनाको हो ? (यौनकर्मीको उमेर सोधेको)
- मोहोडा कस्तो छ ? (उसको अनुहार सोधेको)
- अनि चारा पाटा मिलेको छ कि छैन ? पिछाड कस्तो छ ? (फिगर सोधेको)
- आना/हातको कति लाग्छ ? (एक पटक/रातको मूल्य सोधेको)
- खाली जग्गा हो कि घर पनि छ ? (विवाहित
हो कि होइन ?)
- जग्गाधनी नेपालमै छ ? (लोग्ने विदेश छ कि
यतै छ ?)
- आजै बैना हुन्छ त ? (आऊँ त ?)
यौनसँग सम्बन्धित मात्रै हामीसँग यति धेरै शब्द रहेछन् कि हामीले बलपूर्वक तिनलाई सम्झनै परेन। शब्दको डोर नसकिने देखेपछि झ्यावै लागेर छोड्यौं। अझ हाम्रो नयाँ पुस्ताले अनेकौं नयाँ सडक-शब्दहरू जन्माइसकेको होला, जुन शब्दले अहिलेसम्म हाम्रो कानमा पर्ने ‘सौभाग्य’ पाएकै छैनन्। सम्भवतः एउटै काम जनाउने यति धेरै शब्द भएको हाम्रोजस्तो ‘समृद्ध’ भाषा अन्त खोज्न गाह्रै पर्ला।
तलतिर व्याख्या गरिएका पेसागत शब्दावलीलाई छोडेर बाँकी चल्तीका क्रियापदलाई एकबाजी केलाएर हेरौं। ती शब्दको प्रयोग गर्ने व्यक्तिको मनोविज्ञान नियालौं। महिलाप्रतिको उसको धारणा कस्तो रहेछ भनेर सोचौं। अनि यसरी पनि सोचौं— ती क्रियापदको प्रयोग कसले गर्छ, महिला या पुरुष ? के नेपाली महिलाहरूसँग पनि यस्तै शब्दभण्डार छ ? तीमध्ये कति क्रियापदले पुरुष कर्ता माग्छ ? कतिले महिला माग्छ ? कतिमा महिला वा पुरुष जे भए पनि फरक पर्दैन ? 
व्याकरणीय हिसाबले सोच्ने हो भने ती सबै शब्दको कर्ता पुरुष छ र कर्म स्त्री। भाषाबाटै (यौन) मनोविज्ञानको निर्माण हुन्छ भन्ने विचारलाई मान्ने हो भने हाम्रो समाजमा ‘सेक्स’ पुरुषले मात्रै ‘गर्ने’ काम हो भन्दा हुन्छ। महिला फगत ‘सेक्स टोय’ मात्रै हुन्। यसको भोक्ता पुरुष हो, महिला भोग्या हुन्। यसले यौनका मामलामा पुरुष सक्रिय र महिला निष्क्रिय हुनुपर्छ भन्ने धारणा गर्छ। हाम्रा संसर्गजनक क्रियापदले ‘पुरुषत्व’को अहम् र तुजुकलाई यसरी नै हाम्रो मस्तिष्कमा स्थापित गरेका छन्। र हाम्रो यौन मनोविज्ञान यिनै शब्द प्रयोगको सिलसिलाबाटै निर्माण भएको छ।
त्यसो त पूर्वीय परम्परामा यौन कर्मका लागि दुई शब्द छन्— कामक्रीडा र रतिक्रीडा। रतिदेवी र कामदेव यौनका देवजोडी हुन्। संसर्ग गर्नु भनेको हिन्दू परम्पराअनुसार एक ‘क्रीडा’मा सामेल हुनु हो जसको मूल ध्येय मनोरञ्जन हुन्छ। यसमा महिला र पुरुष दुवैको अहम्, सक्रियता र आनन्दलाई समेटिएको छ। आनन्द, सक्रियता र यौन-अहंका हिसाबले पुरुषप्रधान सम्भोगलाई कामक्रीडा भनिन्छ भने स्त्रीप्रधान सम्भोगलाई रतिक्रीडा। खैर यी कुरा पौराणिक जिनिस भइसके जसको सामाजिक अभ्यास अहिले छँदैछैन। 
मेरो एकजना नजिकका भाइ छन्। अझै अविवाहित। १५ वर्षअघि बेलाबेलामा उनी मेरो फ्ल्याटको चाबी माग्न आइरहन्थे। उनी केटी साथी लिएर आउँथे। उनका कम्तीमा तीनजना पूर्वप्रेमिकालाई म पर्सनल्ली चिन्थेँ। सबैजनासँग उनको सबैखाले सम्बन्ध थियो भन्ने कुरा मलाई थाहा छ।
तीन वर्षपहिले उनको विवाहको कुरा चल्यो। अर्कै कुनै युवतीसँग। त्यो बेला उनी कसैसँग ‘रिलेसन’मा थिएनन्। मागी विवाहका लागि राजी थिए। परिवारले खोजेकी ती युवती पढेकी थिइन्। जीउडाल मिलेकी थिइन्। परिवार पनि सुहाउँदो थियो। तर उनले मरिकाटे उनीसँग बिहे गर्न मानेनन्। मैले एकान्तमा लगेर कारण सोधेँ। उनले भने, ‘यो केटीको पहिले अर्कैसँग सम्बन्ध थियो। यसको केटो बाहिर गएर उतै बिहे गरेको हो। सी इज नट भर्जिन। जुठो कुरा कसले बेहोर्छ ?’ उनले साथी ‘सर्कल’ परिचालन गरेर ती युवतीको पूरै ‘हिस्ट्री’ उतारेर ल्याइसकेका रहेछन्। केटाको कुरा सुनेर मेरो भाउन्ना छुट्यो। विवाहअघि दर्जनौं केटीसँग सम्बन्ध राखेको एउटा युवाले आफूले बिहे गर्ने केटीको पहिलो मापदण्ड ‘भर्जिनिटी’ राखेको थियो। योभन्दा घिनलाग्दो अवधारणा अर्को के हुन सक्छ ? 
केही समयपहिले अन्नपूर्ण दैनिककै अनलाइन संस्करणमा एउटा बलात्कारको समाचार पढेको थिएँ। त्यहाँ बलात्कृत महिलाकै भनाइको छेकलमा ‘उसले इज्जत लुट्यो’ भन्ने शब्दावली प्रयोग गरिएको थियो। यहाँ पत्रकारले लेखेको ‘इज्जत’ भनेको अरू केही होइन ‘भर्जिनिटी’ हो। के कुनै स्त्रीको हाइमन नष्ट हुनु भनेको इज्जत जानु हो ? नत्र भन्नोस्, खासमा बलात्कार गर्नेको इज्जत जान्छ कि बलात्कृत हुनेको जान्छ ? 
विवाह गरेको केही हप्तामा गृहकलह सुरु भएर घरबार बिग्रेका कैयन् उदाहरण मैले देखेको छु। बुझ्दै जाँदा तिनको मूल कारण ‘भर्जिनिटी’ नै हुन्थ्यो। संसर्गको पहिलो रातबाटै लोग्ने बितर्किन थालिहाल्थ्यो। 
पुरुषको हकमा विवाहपूर्वको सेक्सलाई अति सामान्य मान्ने हाम्रो समाजले २४/२५ पुगेकी कुनै अविवाहित युवती अझै पनि ‘भर्जिन’ हुनैपर्छ भन्ने घिनलाग्दो मान्यता किन राख्छ ? बालखैमा बिहे गरेको पुरानो पुस्ताले यस्तो मान्यता राख्नु अर्कै कुरा हो तर सुपठित नवयुवकले समेत महिलाका बारेमा बनाउने यस्तो अवधारणा लैंगिक विभेदको निकृष्ट नमुना हो। मलाई लाग्छ— ‘भर्जिनिटी’को अवधारणा राख्नु लैंगिक अपराध गर्नु हो र कलुषित अन्धविश्वासको घिनलाग्दो अभ्यास गर्नु हो भनेर सामाजिक बहस चलाउनु जरुरी छ।
मनोविद् अब्राहम मास्लोले गाँस, बास, कपासजस्तै यौनलाई पनि मान्छेको आधारभूत आवश्यकताका रूपमा व्याख्या गरेका छन्। यौन अतृप्तताले मान्छेको शारीरिक मात्रै होइन; मानसिक, सामाजिक र आत्मिक स्वास्थ्यमा पनि असर पुर्‍याउँछ। जसरी खानेकुराको कमीले मान्छेलाई कुपोषण लाग्छ, यौन अतृप्तताले पनि मान्छेको मस्तिष्कलाई कुपोषित गर्छ।
अब एउटा सामाजिक प्रश्न सोधौं, यति ठूलो आधारभूत आवश्यकता मानिएको यौन चाहनाको परिपूर्तिका लागि हामीसँग सामाजिक व्यवस्था के छ त ?
क) विवाह गर्ने 
ख) प्रेम गर्ने
ग) वेश्यावृत्ति गर्ने 
घ) एक अर्काको खाँचो टार्ने
मनोविद्हरू १८ वर्ष पुग्नुलाई यौनिक आवश्यकता पूर्ति गर्न थाल्नुपर्ने उमेरको रूपमा लिन्छन्। अधिकांश नेपालीको यौनजीवन विवाहपछि मात्रै सक्रिय हुन्छ। आवश्यकता पुग्ने गरी होइन कि अनुभवका लागि मात्रै गरिने विवाहपूर्वका एकाध ‘सेक्स’का कुरा भिन्दै हुन्। ‘लभ गर्ने’ र ‘सेक्स गर्ने’ कुरा झन् अनौठो कुरा हो। होटलमा भेटिएको जोडीलाई अपराधीलाई झैं समातेर थुन्ने पुलिस प्रशासन भएको ठाउँमा ‘सेक्स’ गर्ने सुरक्षित स्थान नै छैन। उता होटलबाट पक्राउ गर्दा पनि महिलालाई वेश्याको अरोप लाग्छ, पुरुष छुटिहाल्छ। यसको अर्कै पाटो छ।
पश्चिमाहरूका झैं केटा वा केटी साथीलाई घरमै ल्याएर आमाबाबु र परिवारको मुखेन्जी कोठामा पस्ने संस्कार हाम्रोमा छैन। होटलमा जाँदा पुलिससँगसँगै कसै न कसैले देख्ला वा चिन्ला भन्ने डर उत्तिकै हुन्छ। सायद त्यसैले होला, अचेल होटलबाट मात्र होइन; जंगल, खोला, खहरे र खोँचहरूबाट समेत प्रेमीहरू पक्राउ परेका समाचार बग्रेल्ती सुनिन्छन्।
एकातिर विवाह गर्ने औसत उमेर बढेको बढ्यै छ। सहरमा त २५ वर्षअघि बिहे गर्ने चलन लगभग हराइसक्यो। यो वर्ष म आफैंले निम्तो मानेका १५ वटा विवाहमा केटाको औसत उमेर २७ वर्ष आयो भने केटीको २३। यो हिसाबले सहरिया युवकयुवतीको अन्दाजी १० वर्षको आयु यौन कुण्ठामै बित्ने रहेछ। त्यो १० वर्ष जुन उमेरमा मान्छेभित्र सर्वाधिक यौन अभिरुचि हुन्छ। 
मेरा एकजना मित्र छन्। उनी नेपालका सुविख्यात लेखक हुन्। एक दिन उनले मलाई सुनाए, ‘गनेस, म लेख्नुअघि प्रायः हस्तमैथुन गर्छु।’ हस्तमैथुनले उनलाई शान्त र स्थिर बनाउँदो रहेछ। कस्तो स्वाभाविक र शान्त अभिव्यक्ति ! यस्तो खुलस्त विचार ! अभिव्यक्तिका लागि मैले उनलाई धन्यवाद पनि दिएँ।
महिलाको मनमा के हुन्छ मलाई थाहा छैन तर हरेक पुरुषको मनमा हरेक क्षण यौनको चिन्तना रहेकै हुन्छ। मेरोमा पनि बस्छ। दिमागमा त्यही योनि, स्तन र नितम्बको छायाँ अविराम बसेको हुन्छ। टुप्पीदेखि पैतालासम्म कुण्ठै कुण्ठाबाहेक केही छैन। र त्यो कुण्ठा जीवित हुनुमा उसको व्यक्तिगत दोष छैन। यौन-कुण्ठा भाषिक र सामाजिक व्यवस्थाको परिणति हो।
१६ देखि २५ वर्षसम्मको उमेरमा मान्छे यौनका मामलामा कति कुण्ठित भइसकेको हुन्छ भने विवाहपछि पनि त्यो कुण्ठा जीवितै रहन्छ। कुण्ठा बिस्तारै व्यवहारबाट बदलिएर स्वभावमा रूपान्तरण भइसकेको हुन्छ। मान्छेले आफ्नो व्यवहार बदल्न सक्छ, स्वभाव फेर्न सक्दैन। प्रवृत्ति फेर्न सक्दैन। विवाहपछि पनि मान्छेको यौन-कुण्ठा उस्तै रहनुको मूल कारण यही हो। कुण्ठाले समात्ने भनेकै कि सिर्जनाको बाटो हो कि हिंसाको। सिर्जना अप्ठेरो बाटो हो। सिर्जनाले धैर्य माग्छ, शिल्प माग्छ। हिंसा तात्कालिक  बाटो हो। यसले हतारको निर्णय र फुर्सदको पछुतोबाहेक केही माग्दैन।
Published at: 

मेरी आमाका गीत


आमाको सपना ।।
मेरी आमाको सपना थियो, रेडियोमा गीत गाउने । उनको स्वर साह्रै मधुर छ । बारीमा भर्खरै उम्रेर तरकारीका मुनासँग गफ गर्दै आमा गीत गाइरहनुहुन्छ । धान गोड्दा वा रोप्दा त झन् गीत फुरेर हैरान । केटाकेटी छँदा म आँठामा बसेर सुनिरहन्थेँ । एक दिन धान गोड्दै गीत गाइरहेकी आमालाई सुनेर मेरा माइला काका जगन्नाथ पौडेल टेप रेकर्डर बोकेर बारीमै आउनुभयो र भकाभक गीत भर्न थाल्नुभयो । काकासँग अहिले पनि होला त त्यो टेप ? 
तर मलाई मेरी आमाले गीत गाएको कहिल्यै मन परेन । कारण के भने, आमाले आफ्नो गीतमा कहिल्यै खुसी गाउनुभएन, अभाव, पीडा, दुःख, आक्रोश, गाली मात्रै । आमाको बानी नै कस्तो बस्यो भने कसैसँग वह पोख्दा होस् या गुनासो गर्दा गीतमै गर्नुहुन्थ्यो । दसैँ, तिहारजस्ता चाडबाडमा हुने पारिवारिक भेलामा पनि आमाको ताल सधैँ त्यही, गीत गाएरै गुनासो गर्ने । तुक्का वाचेर होइन कि भाकै हालेर । गाउँदै, पछ्यौराको सप्कोले आँसु पुछ्दै । हामी केटाकेटीलाई अर्ती दिन होस् कि थर्काउन वा गाली गर्न, आमाको मुखबाट गीत नै फुथ्र्यो । अँगेनाको डिलमा बसेर आमाले गीत गाउन थाल्नुभयो भने पूरै घर सन्नाटामय हुन्थ्यो । थर्कमान ! चुपचाप ! आमाका गीत यसरी बुनिएका हुन्थे कि सुन्नेजति सबैको मनमा सुई पसिहाल्थ्यो र भतभती पोल्न थाल्थ्यो ।
बा बितेर घाटमा लैजाने वेला आमालाई अन्तिम दर्शनका लागि बोलाइयो । अब आमाले के गर्नुहोला भनेर म निकै आकुल भइरहेको थिएँ । तर, आमा कोठाबाटै गीत गाउँदै आउनुभयो । आँगनबाट तगारोसम्म गीत गाउँदै पछ्याएर बालाई बिदाइ गर्नुभयो । पीडालाई तत्क्षणिक गीतमा व्यक्त गर्ने आमाको जस्तो सीप र भाका चयनको तरिका मैले अरू कसैमा देखेको छैन । 
बा बितेर घाटमा लैजाने वेला आमालाई अन्तिम दर्शनका लागि बोलाइयो । अब आमाले के गर्नुहोला भनेर म निकै आकुल भइरहेको थिएँ । तर, आमा कोठाबाटै गीत गाउँदै आउनुभयो । 
गन्धर्व गाउँ बाटुलेचौरमा जन्मे–हुर्केकी मेरी आमामा गीतप्रतिको अनुराग देखिनु अनुमानित विषयै थियो, तर यो बिघ्नको अनुराग देख्दा ताज्जुब लाग्छ । आमाको गीतकै प्रभावले होला, मेरी दिदी वसन्ती पनि मस्तै गाउने । कुनै वेला थियो, मेरी दिदी उपस्थित नभएसम्म गाउँको चौतारीमा तीजको जमघटै हुँदैनथ्यो ।
सुर, ताल र लयको भर्सेला परोस्, म पनि गुन्गुनाइरहन्छु । स्कुल पढ्दाताकाका शुक्रवासरीय कार्यक्रममा निकै गाउँथें । आमाको त्यही स्वभाव अहिले मेरी छोरी सौरभीमा पनि सरेको छ । फुर्सद पायो कि गीत गाउन थालिहाल्छे । तीन पुस्तादेखिको रेडियोमा गाउने रहर सायद अब सौरभीले पूरा गर्ली !
आमाको रिस ।।
९ वर्षको हुँदो हुँ । बर्खेबिदा थियो । पर्मे खेतालीहरूसहित परिवारका सबैजना धान गोड्न बारीमा गयौँ । मध्याह्नखेर आमाले मलाई खाजा बनाएर ल्याउन घर पठाउनुभयो । दाल–भात त मैले पकाएकै थिएँ, तर खेतालीलाई खाजा बनाएको थिइनँ । ‘यतिवटा मकै यसरी पोल्, यो यो सर्दाम हालेर यति पिरो पिन्, कित्लीमा चिया पका अनि यति बजे लिएर आइजा ।’ आमासँग दोहोरो कुरा गर्नै डर लाग्थ्यो । ‘हुन्न’ भन्ने साहसै थिएन । घर आएर आमाले भनेकै संख्यामा मकै उधिनेँ । भुत्ल्याएँ र पोल्न थालेँ । ९ जना खेतालीलाई मकै पोल्दापोल्दा हत्तु भैसकेको थिएँ । हातभरि ठामठाममा आगोले डामेको थियो । मकै पोलेपछि पिरो पिन्दा पो चह¥यायो । त्यसपछि चिया पकाइवरी खाजा बोकेर बारीतिर लागेँ । थर्मस थिएन । कित्लीको चिया नसेलाओस् भनेर चाँड्चाँडो हिँडेँ । बीच बाटोमा पर्ने एउटा तगारो कट्नै लाग्दा सन्तुलन बिग्रियो । कित्ली हातबाट फुत्केर कुलोमा खस्यो । चिया सबै पानीमा मिसियो । बर्बाद भयो ।
म दगुर्दै घर फर्किएँ र फिक्का चिया पकाएर लगेँ । ढाटेँ, दूध त सबै बिरालोले खाइदिएको रहेछ । त्यतिसम्म त ठिकै थियो । तर, जब खेतालीहरूले मकै कोपर्न थाले, सबैको मुख बिगिँ्रदै गयो । मकै त पाकेकै रहेनछन् । आमाले भक्कु थुर्नुभो र पिट्न थाल्नुभो । साँझमा घर फर्केपछि बल्ल आमाले मेरो हात देख्नुभयो । सुक्सुकाउँदै पोलेको ठाउँमा घिउ दलिदिनुभयो । 
आमाको संघर्ष ।।
सन्तान धेरै, बाको कुनै लगन थिएन । घरको काम खासै नहेर्ने, जुवा खेलिरहनुपर्ने । पुरेत्याइँको पैसा अलिकति जोहो हुनेबित्तिकै घर छाडेर घुम्न निस्कने । बाको कामबाट धेरथोर धान–चामल घरमा आउँथ्यो, तर बाले पैसा दिदैँ नदिने । घरको पूरै व्यवहार आमाले धान्नुहुन्थ्यो । आमा घरको मुली हुनुहुन्थ्यो । परम्परागत हिसाबबाट सोच्दा हाम्रा लागि बा आमा हुनुहुन्थ्यो, आमाचाहिँ बा ।
काका र मावलीहरू हामीभन्दा पढेका, जागिर भएका थिए । तर, आमाले त्यस्तो ‘फेमिली सपोर्ट’ पाएको मलाई सम्झना छैन । उसो त हरेक चराका आफ्नै चुच्चा, आफ्नै चारा र बचेराका टन्टा हुन्छन् । हाम्रो गुँड हाम्रै हालमा थियो । हामी आफ्नै बुताले बाँच्यौँ, धेरै लड्यौँ, तर सम्हालियौँ ।
भनिहालेँ नि बाको बानी घरबाट भागिरहने । जब बर्खा लाग्थ्यो र घरमा कामको चटारो हुन्थ्यो, बा गायब । जब हिउँद आउँथ्यो र मंसिरको माहोल हुन्थ्यो, बा फेरि गायब । वर्षको दुई–तीनपटकसम्म भागिदिने । एकपटक भागेपछि हप्तौँ र कहिलेकाहीँ त महिनौँ नआइदिने । भागेर जाने उहाँको गन्तव्यमा देवघाट, जनकपुर, माडी र धनगढी बढी हुन्थे । बा साह्रै कामचोर र अल्छी । अनि बिचरी आमा हामी ६ थान भन्ट्याङभुन्टुङलाई ततेरेर पूरै खेतबारीको मेलो सक्नुहुन्थ्यो । त्यत्रो ठूलो परिवार पाल्ने खेतबारीका लागि हली, बाउसे र खेतालीको पर्म एक्लै लगाउनुहुन्थ्यो । मैले आमा घरमा आरामले बसेको कहिल्यै देखिनँ । उहाँ दिनदिनै खेतालो जानुहुन्थ्यो । अत्यन्तै दुब्ली, ख्याउटी हुनुहुन्थ्यो । अझै उस्तै त हुनुहुन्छ । 
हामी केटाकेटीले बेलुकाको भात पकाउँथ्यौँ । आमा ६ बजेतिर मेलाबाट फर्किनुहुन्थ्यो । दिनभरिको कडा परिश्रमले गर्दा उहाँको गानो जान्थ्यो । तेल वा घिउ तताएर उहाँको गानो तान्ने दैनिकी नै थियो घरमा । 
ढ्याप्रिको मधुरो प्रकाशमा आमा सुक्सुकाइरहनुहुन्थ्यो । आमा नरोएको कुनै साँझ भएन । रुँदैरुँदै बालाई गीतमा गाली गर्नुहुन्थ्यो– ‘घर बारेर सरुवा सारेको, रुन मलाई कर्मले पारेको ।’ तत्कालै ‘के खाए होलान् ? कहाँ गए होलान् ?’ भनेर माया पनि देखाउनुहुन्थ्यो । मलाई आमा रोएको कत्ति मन पर्दैनथ्यो । म कहिलेकाहीँ ‘आमा मेलाबाट घर आएको र नरोई सुतेको’ सपना देख्थेँ । तर, मेरो सपना कहिल्यै साकार भएन । 
अभिभावक आमा ।।
कक्षा १० मा पढ्दा म स्कुलबाट रस्टिकेट भएँ । रस्टिकेट हुनु त्यो पनि कक्षा १० को टेस्ट परीक्षा आउन महिना दिन पनि बाँकी नहुँदै । अन्तिम पिरियड खेलकुदको थियो । फुटबल खेलेका सबै साथीको झोला चौरमै थियो । मेरो भने कक्षाकोठामै । म झोला लिन दौडिँदै कक्षातिर कुदें । ढोका खोलेँ । भित्र पसेँ । बेन्चमाथिको झोला तानेँ अनि फरक्क फर्केर ढोकातिरै कुद्दै थिएँ । अघि खोलेको ढोका कुकुरको छाउरोझैँ कुइँकुइँ गर्दै बन्द हुन लाग्यो । मैले झड्कालिएर खोलियोस् भनेर एक लात्ती ढोकामा बजाएँ । अरू सबै केटाहरूले पनि ढोका उघार्न त्यसै गर्थे । ढोकाको पलेटो त्रिकोशको काठमा ठोक्किएर बाउन्स हुँदै उघारिन्थ्यो । अनि हामी ढोका रिवाउन्स नहुँदै फुत्त बाहिर निस्कन्थ्यौँ । तर मेरो लात्ती खाएर ढोका फर्किएन, बरु एउटा फलिको फुक्लेर बाहिर पो पुग्यो । ढोकाको बीचमा एउटा प्वाल देखियो । प्वालभित्रबाटै देखिए हेडमास्टर । म डराएर भागेँ । भोलिपल्ट स्कुल आएको मलाई कक्षाकोठामा पस्न नदिई घर पठाइयो । भनियो, अर्को निर्णय नभएसम्म तँ रस्टिकेट भइस् ।
पढाइमा म कक्षाको पहिलो विद्यार्थी थिएँ । एसएलसीको बोर्डमै पर्ने आँट थियो । तर, परीक्षाको मुखैमा यस्तो निर्णय सुन्दा म निकै विचलित भएँ । मलाई के गरूँ कसो गरूँ भयो । मैले सबैतिर अँध्यारो मात्रै देखेँ । अब मेरो टेस्ट के हुन्छ ? एसएलसी के हुन्छ ? के मेरो भविष्य बर्बाद भयो ? 
स्कुलबाट रस्टिकेट भएको एक हप्तासम्म स्कुलले कुनै निर्णय सुनाएन । मनमा निकै कुरा खेल्थे– भागेर भारत पस्नेदेखि आत्महत्या गर्नेसम्म । केही दिनपछि आमाले किन घर बसेको भनेर केरकार गर्नुभयो । आमालाई बिस्तारमा बताएपछि पहिला त मसँग रिसाउनुभयो अनि पछि हेडमास्टरसँग झोक्किनुभयो । ‘केटाकेटी बिठ्याइँमा यस्तो सजाय गर्ने ? तँ नआत्ती पढेर बस् ।’ भनेर आमा निस्किनुभयो । कता जानुभयो मलाई थाहा भएन ।
‘त्यही मात्रै स्कुल छ र ?’ साँझमा आएपछि आमाले योजना सुनाउनुभयो । तिनताका जिल्लास्तरीय टेस्ट परीक्षा पास नभई एसएससी दिन पाइँदैनथ्यो । टेस्ट पास भएपछि मात्रै एसएलसीको परीक्षा फारम भरिन्थ्यो । आमा मैले पढिरहेको होइन, छिमेकको अर्कै स्कुलमा जानुभएछ । त्यो स्कुलका हेडमास्टर हाम्रो गाउँले थिए । उनले ‘शिक्षा कार्यालय गएर हाम्रो स्कुलबाट टेस्ट परीक्षा दिन मिल्ने व्यवस्था गर्न कोसिस गर्छु’ भनेछन् । अलिकति आशा जाग्यो । दुई दिनपछि खबर आयो, ‘भोलिबाट स्कुल पठाइदिनू ।’ मेरो खस्केको ह्याउ उकासियो । त्यो दिन म खुब खुसी भएँ । सोचेँ, कसो भारत भागेनछु । आत्महत्या त सोचेको मात्रै हो, कसले गथ्र्यो र ? भोलिपल्ट बिहान म नयाँ स्कुल जाने तरखरमा थिएँ । बिहान ९ बजेखेर पुरानो स्कुलको पियन दाइ घरमा आउनुभयो । ‘हेडसरले बोलाउनुभएको छ । अभिभावक लिएर जानू अरे ।’
म दोमनमा परेँ । नयाँ स्कुलमा जाऊँ कि पुरानोमा । आमासँग सल्लाह भयो । ‘नयाँ गएपछि त्यहाँ पनि भर्ना गर्नैप¥यो । फिस तिर्नैप¥यो (तिनताका सरकारी स्कुलमा पनि मासिक शुल्क लिइन्थ्यो) । बोलाएपछि जाम् न त के भन्दा रहेछन्,’ आमाले भनेपछि मान्नैपर्‍यो ।
समस्या गरिबीको थियो । नभए म पुरानो स्कुलमा फर्केर पनि जानेवाला थिइनँ । स्कुलको ढोका फोरेर मैले गल्ती त अवश्य गरेको थिएँ, तर त्यो अक्षम्य अपराध थिएन, किशोरकालीन जोस थियो । तै आमाको आग्रह टार्ने कुरा भएन । म आमालाई लिएर स्कुल पुगेँ । मलाई स्टाफरुममा बोलाइयो । संसारकै सबैभन्दा उच्छृङ्खल र खराब पात्रको रूपमा मेरो चित्रण गरियो । कान समाएर सबै शिक्षक–शिक्षिकाका अगाडि पालैपालो माफी माग्न लगाइयो ।
जीवनमा कहिल्यै मास्टरको चुटाइ त के थुराइसम्म नखाएको म यसपटक असहाय भएँ । माफी माग्ने कुनै शब्दै फुरेनन् मबाट । आक्रोशका आँसु मात्रै झरे । आँसु त आँसु नै हो । दुःख, सुख वा आक्रोश जेबाट खस्ने पनि आँसु उस्तै देखिन्छन् । आक्रोशले झरेका मेरा आँसुलाई उनीहरूले प्रायश्चितका ठाने र मलाई ‘माफ’ दिए । तर, मेरी आमाले मेरो आँसु नबुझ्ने कुरा थिएन । बाटोमा भन्नुभयो, ‘मनमा इख राखेस् । राम्रो रिजल्ट ल्याएर देखाएस् । तेरो बाउ सोझो भएको हुनाले हेपेका हुन् । फलानोको (एकजना गाउँलेको नामै तोकेर) छोरो भएको भए यस्तो सजायँ गर्थे ?’
त्यसपछि म स्कुल गइनँ । मलाई स्कुल जान नपाउने तर परीक्षा मात्रै दिने गरी पुनर्वहाली गरिएको थियो । पढाइ लगभग सकिएकै थियो । स्कुल जान नपरेकोमा म खुसी नै भएँ । अघिल्लो स्तम्भमा भनेकोझैँ हेडमास्टरलाई गोद्ने योजना त्यही वेलै पलाएको हो । मैले आफैँले त उनलाई गोदिनँ । तर, मलाई विश्वास छ, उनलाई समय, सन्तान, समाज वा नियतिले पक्कै भक्कु गोदिरहेको हुनुपर्छ ।
सपनामा आमा ।।
म निकै असजिला सपना देखिरहन्छु । भय–कथाका सिनेमाभन्दा पनि भयंकर । हरेक वर्षजसो एउटा सपना बारम्बार आइरहन्छ । आमा, म र छोरी सौरभी कुनै अनकन्टार पहाडमा ज्यान जोगाउँदै भागिरहेका हुन्छौँ । हुरीले उधिन्याएका रूखहरू भकाभक उखेलिदैँ पल्टिँदै हुन्छन् । खोलाहरू घरि उल्टो घरि सुल्टो गरी बग्छन् । तल उपत्यकामा ज्वालामुखीझैँ आगो उम्लिरहन्छ । माथि हिमालमा ठुल्ठूला पहिरो चल्छन् । हामीजस्तै अरू मान्छे पनि भागिरहेको आवाज सुनिन्छ तर तिनीहरू दृश्यमा हुँदैनन् ।
मैले प्रलयमा ज्यान जोगाउन हिँडेका मान्छेहरूका धेरै कथा पढेको छु । सिनेमा त कति कति हेरेको छु । मिथकहरूमा व्यक्त युगान्तका विनाशक किस्सा पनि चेतन–अचेतन दुवै हृदयमा टमाटम छन् । सायद तिनीहरू अचाक्ली गढेर बसेका छन्, र त म यस्ता सपना तारन्तार देखिरहन्छु । स्वप्नविदहरू भन्छन्– डरलाग्दा सपना देख्नु भनेको त राम्रो कुरा पो हो ! यसले स्वप्नदर्शी अझै पनि हारेको छैन भन्ने संकेत गर्छ । ऊ अझै संघर्षशील र मानवीय छ भन्ने संकेत गर्छ ।
यस्ता सपना देखेँ भने म अझै पनि आमालाई सुनाइहाल्छु । आमा पनि आफूले देखेका सपना सुनाउनुहुन्छ । यस्ता कैयन् घटना छन्, जुन वेला हामी आमाछोराले एकै रात एउटै सपना देखेका हुँदा रहेछौँ । 
आमा भन्नुहुन्थ्यो, म जन्मनुअघिको रात सपनामा एउटा जोगी आएको थियो । उसले भनेको थियो रे, ‘तेरो छोरोले जेलाई छुन्छ, त्यो सुन हुन्छ । तर, त्यो सुन उसको आफ्नै लागि कहिल्यै काम लाग्दैन । तेरो छोरो कि झोला भिर्छ, कि खरानी घस्छ ।’
सपनाका कुरै त्यस्ता । मैले केलाई छोएँ ? त्यो कहिले सुन भयो र कसका लागि काम लाग्यो ? मलाई केही हेक्का छैन । न म झोला भिर्ने नेता भएँ, न खरानी घस्ने जोगी । जिन्दगी त त्यसै पो बित्यो, मिस्कटै मिस्कट भएर ।
आमाको प्रेरणा ।।
पत्रिकामा छापिएका मेरा हरेक आर्टिकलको पत्तो आमालाई हुन्छ । भेट्नुभयो भने ‘पढेर सुना त !’ भन्नुहुन्छ । अब मेरो लेखाइ न पर्‍यो, कति आमालाई सुनाउन मिल्ने खाले हुन्छन् कति हुँदैनन् ।
आफ्नो पहिलो र एक मात्र उपन्यास ‘पैताला’को पहिलो कपी आमालाई उपहार दिन म घर गएँ । आमा सदाझैँ बारीमा तरकारी गोडमेल गर्दै हुनुहुन्थ्यो । आफ्नो नामबाहेक अरू लेखपढ गर्न नजान्ने मेरी आमाले छोरोको किताबलाई बिस्तारै सुम्सुमाउनुभयो । उनका आँखामा स–स्यानो फेवाताल देखापर्‍यो । तर, फेवामा हिमालको छायाँ परेझैँ आमाको अनुहारमा खुसीको छाया सोहोरियो । ‘पैताला’लाई मेरो शिरमा राखेर कपाल मुसार्दै भन्नुभयो, ‘किताब ठूलो रैछ, कसले पढेर सुनाउँछ मलाई ? तँलाई डुलेर हिँड्दै फुर्सद छैन ! बरु कोही पढ्न सक्ने मान्छेलाई लगेर उपहार दे । तेरा कुरा त मलाई थाहै छ नि !’ मलाई आमाले सुन्नै नपाउने कथा बेक्कार लेखेछु जस्तो पो भयो ।
आमालाई उपहार भनेर लगेको किताबलाई स्कुटरको डिक्कीका हालेर म पृथ्वीचोकतिर कुदेँ । बसपार्कबाहिरको चौताराछेउ स्कुटर रोकेँ । किताबको अघिल्लो पानामा यस्तो लेखेर एक प्रति ‘पैताला’लाई कुनै अन्जान पाठकको नाममा बाटोमा मिल्काइदिएँ:
अचानक
महाशून्यको अटल अक्केराबाट
फुतुक्क खस्यो हिउँको एउटा चोक्टा
मेरो कफीको मगमाः
छप्ल्याङ्ङ !
अनि ब्रह्माण्ड जन्म्यो,
समय जन्म्यो
तिमी जन्यौ, म जन्मेँ ।
आमा !
म समयको अन्त्य हेर्न चाहन्छु ।
तातो बिग ब्याङ्ग थ्योरीलाई चिसो कफीको मगमा छप्ल्याङ्ङ खसालेर साँझ फेरि घर गएँ । ‘कसलाई दिइस् त नि ?’ आमाले सोध्नुभयो । मैले व्यहोरा बताएँ । आमाले फिसिक्क मुस्कुराउँदै भन्नुभयो, ‘सम्पत्ति सक्ने मेलो समातिस् । भानुभक्त हुन हिँडिस् । नातिनीको ख्याल गरेस् ! अर्कालाई बिझ्ने नलेखेस् !’
Published at: 

हिउँमा लेखिएको नाम


त्यसो त, आजकाल कुन आख्यान कुन गैरआख्यान ? ‘साहित्यका समारोहमा मेरो कथा वा उपन्यासको (की) मूल पात्र’ भनेर जीवित मान्छेलाई दोसल्ला ओढाउने चलनै चलेको छ । कथाका पात्र र घटना यतिउति प्रतिशत सत्य हुन् भन्ने दाबीका साथ प्रसिद्ध आख्यान लेखिएका छन् । त्यसैले कथा र घटना हुबहु सत्य हुनु र नहुनु मात्रैले आख्यान र गैरआख्यान छुट्याउने जमाना गए । यहाँ आख्यानजस्ता कल्पनातीत आत्मवृत्तान्त चल्तीमा छन् । आख्यानभन्दा अविश्वसनीय अभ्यास समाजमा जस्ताका तस्तै छन् ।‘ननफिक्सन फिक्सन’ भन्ने विद्या त्यसै त आएन !
त्यसो त, आख्यान र गैरआख्यान छुट्याउन खोजेर साध्य पनि छैन । लेखकले त्यसलाई आख्यान भनेर छापे आख्यान हो, गैरआख्यान भनेर छापे गैरआख्यान । ‘लेखकको मृत्यु सिद्धान्त’को भर्सेला परोस् ! नारायण वाग्लेले ‘कोरियाना’लाई गैरआख्यान भनेका छन् ।
तथ्यलाई अवलोकन गरून्जेल मात्रै त्यो तथ्य हो, जब कथिन्छ त्यो इतिहास हुन्छ । कथ्नु अर्थात् कथा हाल्नु । त्यसैले आख्यान सदैव तथ्य र इतिहासको बीचबाटै अंकुराउँछ । अनि इतिहास कहिलेकाहीँ भक्तिमार्गमा पसेर लेजन्ड बन्छ र लेजन्ड मिथ ।
मिथ बन्ने भनेकै तथ्य अर्थात् अवलोकनबाट हो । ‘कोरियाना’ अवलोकन साहित्य हो । अवलोकन अर्थात् वर्तमानमा जे भइरहेको छ त्यसलाई हेर्नु, सुँघ्नु, सुन्नु, चाख्नु र छाम्नुको मनिखाँबो भएर ‘कोरियाना’को किलो जमेको छ । रङ, आवाज, स्वाद, स्पर्श अनि वास्नाको वर्णनलाई विचारको बान्कीमा मथ्नु र त्यसैमा लम्बेतान घोत्लिएर पाठकलाई एक–एक तुर्को आदर्श–देशनाको नौनीको डल्लो फ्याँक्नु कोरियानाको खासियत हो । मनिखाँबो मात्रै होइन, किताबको जग पनि यही हो र कटेरो पनि यही हो । नौनीको डल्लो मन पर्नेलाई ‘कोरियाना’ अच्छा किताब हो । 
त्यो तुर्को देशनामा उनी साहित्य, कला, संगीत, सिनेमा आदिको फुर्को समातेर कर्पोरेट समाज, पुँजीवाद, बजार–कूटनीति, पर्यावरण, हरित–प्रभाव, प्रेम, परिवार, सामाजिक सम्बन्धको विघटन, एकाकीपन, अत्यास, कुण्ठा आदि अनेक विषयमा बोल्छन् । बोल्छन् होइन, बताउँछन् । बताउँछन् होइन, कहिलेकाहीँ लदाउँछन् पनि पाठकलाई ।
उनी ‘विगतलाई हिस्ट्री र आगतलाई मिस्ट्री’ भन्दै गर्दा वर्तमानलाई दृष्टि बनाउँछन् । भन्छन् नि, हाम्रो एक सेकेन्ड अगाडिको कुरा भूत हो, पछाडिको भविष्य । हामी जहाँ छौँ, त्यो मात्रै वर्तमान हो । अर्थात् वर्तमान भनेको भूत र भविष्यलाई छुट्याउने समयरेखाको एउटा बिन्दु मात्रै हो जसको लम्बाइ, चौडाइ, उचाइ हुँदैन । मोटाइ हुँदैन । त्यसैले वर्तमानको क्षेत्रफल हुँदैन, आयतन हुँदैन । गुदी हुँदैन । वर्तमानजस्तै हुँदाहुँदै पनि नभएकोजस्तो किताब हो ‘कोरियाना’ । कटन क्यान्डीजस्तो, खाए पनि नखाएजस्तो अनुभूति ।
त्यसो त हामी कटन क्यान्डी खोज्दै बजार डुल्दैनौँ । भेटियो भनेचाहिँ मज्जा मानेर खान्छौँ । ‘कोरियाना’ कटन क्यान्डी किताब हो । कटन क्यान्डीले मन–पेट त भरिन्न, तर त्यसको स्वाद र त्यसलाई खानुको आनन्दानुभूति भने अर्को कटन क्यान्डीवाला देख्नेबित्तिकै जिब्रोमा आइहाल्छ । जस्तो कि ‘कोरियाना’ चाख्नासाथ मैले ‘दोचा’ सम्झेको थिएँ ।
हलुका हुनुको अर्थ, गुदी नहुनुको अर्थ, अर्थहीन हुनु होइन । कटन क्यान्डीभन्दा हलुका हावा छ, हावाभन्दा हलुका छ शून्य । हलुका हुन नसकेकै कारण मान्छे ‘स्लिपिङ ट्याब्लेट’ खान्छन् । चक्कीको निन्द्राभन्दा बोझिलो रात के होला ? सायद शून्यभन्दा पनि हलुका हुनुपर्छ प्राकृतिक निद्रा । निद्राभन्दा हलुका हुन्छ ध्यान । र, ध्यान गर्नु भनेको वर्तमानप्रति सचेत हुनु हो । बौद्धमार्गी,झेनहरू जसलाई अवलोकन भन्छन् । प्रकृति, आश्चर्य र विचारको त्रिखुट्टीमा उभिने अवलोकनबाटै हाइकु जन्मेको हो । तर, ध्यान ज्ञान होइन । ज्ञानवादी पाठकले ‘कोरियाना’ नपढे पनि हुन्छ ।
त्यसो त ‘कोरियाना’ले आफ्नो पाठकको प्रस्ताव नै गरेको छ । भन्छन् नि विद्वानहरू– आख्यान र गैरआख्यानको भेद छुट्याउने जिनिस भनेका स्थापित कथावाचक (न्यारेटर) र प्रस्तावित पाठक हुन् ।
आख्यानको न्यारेटर भनेको लेखक आफैँ हुँदैन । होजस्तो देखिए पनि हो भन्न पाइँदैन । गैरआख्यानको न्यारेटर लेखक स्वयं हुन्छ । होइनजस्तो देखिए पनि होइन भन्न पाइँदैन ।
लेखक : नारायण वाग्ले
प्रकाशक : नेपालय
पृष्ठ : २४२
मूल्य :रू.४९५/–

उता पाठकका हिसाबले आख्यान आमसाहित्य हो जो अक्षर खुट्याउने सबैका लागि लेखिएको हुन्छ । कसैले पढ्दै–नपढ्नु वा पढेर नि नबुभ्mनु भिन्दै कुरा । आख्यान मेरो पाठक यस्तै हुुनुपर्छ भन्ने पूर्वानुमानमा लेखिँदैन । पाठकको प्रकार ताकेर लेखिने आख्यानमा प्राण हुँदैन । तर, गैरआख्यान सबैका लागि लेखिँदैन । वा कम्तीमा लेखकले गैरआख्यान लेख्नुअघि आफ्ना सम्भावित पाठकको अनुमान गरेको हुन्छ : यति पढेको, यस विषयमा सामान्यज्ञान भएको, यस्तो व्यहोरा अनि विचारको, यहाँ बस्ने, यो लिंगको, यो उमेरको आदि आदि ।
जस्तो कि, वाग्लेकै ‘कोरियाना’मा पाठकको एउटा चित्र छ । किताबैभरि पाठक अर्थात् ‘तपाईं’सँग उनी संवादरत छन् । पाठकलाई उनले ‘तँ यस्तो छस् उस्तो छस् । अबचाहिँ यसो गर । उसो नगर ।’ भनेर काम अह्राएका छन् । घरि ‘कफी, चिया वा मिल्कसेक घुक्र्या’ भन्छन् । घरि ‘चिसो पानीमा कागती निचोरेर खा’ भन्छन् । घरि ‘कोठाभित्र लिड लाइट बालेरै भए पनि गमलामा बिरुवा रोप’ भन्छन् । उनको अह्रनखटनले बनेको खरी घोटेर मोटा रेखाले स्केच गर्दा ‘कोरियाना’को प्रस्तावित पाठकको चित्र यस्तो देखिन्छ :
क) ऊ मध्यमवर्गीय सहरिया हुनुपर्छ ।
ख) ऊ सूचना, प्रविधि, सामाजिक सञ्जालको मामलामा खग्गु हुनुपर्छ ।
घ) ऊ पुरुष नै हुनुपर्छ ।
ङ) १७औँ पेजको अन्तिम वाक्यअनुसार ऊ भनसुने मनुवा हुनुपर्छ ।
यो मेरो बेफ्वाँकको अनुमान हो । लेखकले पाठकसँग प्रत्यक्ष बोल्न थालेपछि उक्त पाठकको बयबान्की र बसोवास आफैँ बन्दै आउँदो रहेछ, मस्तिष्कमा । त्यो मान्छे म आफैँ हुँ कि होइन ? थाहा हुँदै जाँदो रहेछ । मैले जिज्ञासा मात्रै मेटाउन यसो ख्यारखुर पारेको यस्तो अन्टसन्ट चित्र पो बनेछ ! यस्तो चित्र पाठकैपिच्छे फरक आउन पनि कति बेर ! त्यसैले यसमा जोडबल गर्दिनँ । माथिका चार बुँदालाई नजरअन्दाज गरिदिए पनि हुन्छ । बरू म विषयवस्तुको बातमा थिएँ । त्यतै फर्किन्छु ।
‘कोरियाना’का दुई पाना पढ्दापढ्दै झलक्क लाग्छ, यो ‘स्ट्रिम अफ कन्सस्नेस’ हो । चौथो पाना सक्दा लाग्छ, होइन यो त ‘इन्टेरियर मोनोलग‘ हो । छैटौँ पाना पढेपछि सोच्छु, यो खासमा सोह्रौ“ सदीको मेटाफिजिकल कविताको छनक अहिले गद्यमा गएर पुनर्जन्म भएको हो ।
‘कोरियाना’मा असली ट्विट पाराका फुर्के विचार प्रशस्तै उनिएका छन् । विचार र बहकाउपन कोभेल्कोले पाठकलाई उल्कै उफार्छ । पहाडी बर्खेखोलामा पौडी खेलेजस्तो हुन्छ पठन । खोलाको बहाव कहिले स्वाभाविक, प्राकृतिक र प्रासंगिक लाग्छ । अनि ‘अब त भेल्को कटियो कटियो’जस्तो भान हुन्छ, तर यसो पानीमाथि टाउको उचालेर हेर्‍यो, ज्यान त ठामको ठाम । पठन पूरै वारिको वारि । उत्तिखेरै के उर्लेर आउँछ के ? सबैकुरा आकस्मिक लाग्छ, ठेलमठेल लाग्छ । कतै सचेत लाग्छ, कतै सतत । अचेत भने लाग्दैन ।
‘कोरिनाया’का दुई पाना पढ्दा–पढ्दै झलक्क लाग्छ, यो ‘स्ट्रिम अफ कन्सस्नेस’ हो । चौथो पाना सक्दा लाग्छ, होइन यो त ‘इन्टेरियर मनोलग’ हो । छैटौँ पाना पढेपछि सोच्छु, यो खासमा सोह्रौँ सदिको मेटाफिजिकल कविताको छनक अहिले गद्यमा गएर पुनर्जन्म भएको हो । तर, आठौँ पाना पछि लाग्छ, होइन यो अर्कै केही हो, तर माथि सोचेका जम्मैको मिसमास पक्कै हो । त्यसमाथि थपथाप पनि हो । कतै असाध्यै भावुक– कतै चञ्चल, कतै अचाक्ली गहिरो– कतै साह्रै सतही, कतै उधुम वैचारिक– कतै उखुम बहकाइला, कतै सारगम्य मूर्त – निस्सार अमूर्त, कतै वर्णनको वर्षा – कतै वाचनको खडेरी; यस्तो लाग्छ ‘कोरियाना’ आख्यानको धागोमा उनिएका बहुरंगी गैरआख्यान फूलहरूको माला हो । भलै यसरी अथ्र्याउँदा मालाको डोरी साह्रै मसिनो, तर उनिएका फुलका थुंगा साह्रै गह्रुँगो देखिने खतरालाई आत्मसात् गनुपर्छ । खतरा किनभने, यस्तो माला गलामा सिउरिन मिल्दैन । फूलको वजनले झड्काल्ने हुनाले धागो चँुडिन्छ । बरू गैरआख्यानको धागोमा उनिएका आख्यान फूलहरूको माला भनिदिँदा माला नचुँडिने पक्का हुन्छ । तर, फूलभन्दा मोटो धागो ? यो त अल्लि सुहाउँदो हुँदैन । मोटो त लट्ठो पो हुन्छ । लट्ठोले तोरण बन्छ माला बन्दैन ।
म कहिलेकाहीँ विचार्छु, संसारको साहित्यिक इतिहासलाई‘ होल–टाइमर’ लेखकभन्दा ‘पार्ट–टाइमर’ लेखकका कृतिले ज्यादा प्रभाव पारेका छन् । शुद्ध साहित्यिकलाई भन्दा यस्ता ‘अशुद्ध’ अनुयायीलाई विषय र अनुभवको एउटा अतिरिक्त सुविधा सदैव रहेको हुन्छ । एडम स्मिथको श्रम विशिष्टीकरणको सिद्धान्तले वस्तुको मात्रै होइन, साहित्यको उत्पादनमा समेत उत्तिकै प्रभाव पारेको छ । विभिन्न पेसा व्यवसाय र अध्ययनको क्षेत्रबाट साहित्यमा हाम्फालेका यस्तै लेखकहरूका कारण खासमा साहित्य कोठाभित्रको घोत्ल्याइँबाट बाहिर निस्केको हो । यसमा अनेकन विधा, विचार र विधि थपिएका हुन् ।
वाग्ले पनि एउटा उदाहरण हुन् । उनको भनाइमा साहित्य उनको व्यसन हो, पत्रकारिता पेसा । उनको साहित्य लेखनमा पत्रकारिताको र पत्रकारितामा साहित्यले पारेकोे प्रभावको विषय अर्कै खोजको कुरा होला, तर वाग्लेको लेखनीले छोट्याएको अभिव्यक्तिको आकारका बारेमा र्‍यान्डम रिडर्सका धेरै फोरममा मैले बोलेको छु । शब्द चयन, वाक्य संगती, अनुच्छेद विभाजन आदिमाथिको वाग्ले तकनिकी अहिले आम तकनिकीजस्तै भएको छ । छरिता वाक्य, कचिला अनुच्छेद, फारु संयोजक, निषेधित (छद्म)विराम वाग्ले–अभिव्यक्तिका अभिव्यञ्जना हुन् । विशेषणभन्दा बिम्बको प्रचुरता उनको लोभलाग्दो लेखन–सम्पदा हो । उनको लेखनमा गण्डक क्षेत्रमा बोलिने ग्रामीण शब्द र लवजको छेलोखेलो बसोवास हुन्छ । वाग्लेको ‘कफिगफ’ स्तम्भ र ‘पल्पसा क्याफे’ उपन्यासले नयाँ पुस्ताका सबैको लेखन शैलीलाई पारेको प्रभाव छरपस्टै छ । आफ्नो सदाकालीन लेखनशैलीमा यसपटक भने कुमार नगरकोटीका झैँ शब्दको उच्चारण पद्धतिमा समेत लेखेर ‘कोरियाना’मा उनले गज्जबको ‘सिम्फोनिक इफेक्ट’ निकालेका छन् । शब्दको ध्वनि र विन्यासको बिटमा उनका वाक्यहरू नृत्यमग्न देखिन्छन् । अनुच्छेदहरू सोचमग्न । पाठक त्यसै मनमग्न ।
‘कोरियाना’का हरेक वाक्य बाटोजस्तै लाग्छन् जसका प्रत्येक शब्दहरूबाट अन्तै पुग्ने आँखाले बाटा उम्रिएका छन् । एउटा वाक्यमा आउने सबै मूल शब्दमा घोत्लिनु र विचारको लामै फुर्को जोडेर फेरि मूलबाटोमा ढलिमली फर्किनु ‘कोरियाना’को संगठन हो, संरचना हो ।
मलाई खित्कनः हाँसो उठेको एउटा कुरा के भने किताबकै बीचमा उनले ‘यो किताब राति पढे उत्तम’ भनेर सुझाएका छन्, तर खासमा यो किताब पढ्ने उपयुक्त समय बिहान हो । कोरियाना जो छ, ब्रेकफास्टजस्तो छ । ब्रेकफास्ट स्किप गर्ने मेरोजस्तो बानी भएकाहरूले भने डेजर्ट वा सलादका रूपमा पढे पनि हुन्छ । तर, रातिचाहिँ नपढ्नू । अब एउटा ‘अफलाइन’ कुरा गर्छु ।
हामी कटन क्यान्डी खोज्दै बजार डुल्दैनौँ । भेटियो भनेचाहिँ मजा मानेर खान्छौँ । 'कोरियान' कटन क्यान्डी किताब हो । कटन क्यान्डीले मन–पेट त भरिन्न, तर त्यसको स्वाद र त्यसलाई खानुको आनन्दानुभूति भने अर्को कटन क्यान्डीवाला देख्नेबित्तिकै जिब्रोमा आइहाल्छ ।
जीवजन्तु र वनस्पतिका प्राकृतिक स्वभावमा मान्छेको प्रवृति घुसाएर बिम्ब बनाउने परिपाटी आमलेखकमा छ । एकाध अपवाद बाहेकजीव–वनस्पतिलाई गलत बिम्बका रूपमा उभ्याउने हुतिहारा खेलो ‘कोरियाना’मा खासै नदेख्दा मलाई सन्तोषै भयो । स्याल, फ्याउरो, ब्वाँसो, हुँडार, गिद्ध, कुकुर, सुँगुर, जुका, सर्प, भ्यागुता, बिच्छी आदिजस्ता निरीह प्राणी मात्र नभई सिउँडी, सिस्नो, खिर्रो, काँडा, काँस आदि वन्यजाति सदैव साहित्यिक बिम्बको कोपभाजनमा पर्दै आएका छन् । यस्तो साहित्य पढेका कलिला पाठकको अवचेतनमा जीवजन्तुप्रतिको दृष्टिकोण कस्तो भएर बस्छ ? साहित्यिकहरू बिर्सन्छन् ‘हिंस्रक’ भनिने स्यालले रमाइलोका लागि कुखुरा मार्दै हिँड्दैन । अघाएको बाघ हामीजस्तो भात–भ्रमणमा निस्कँदैन । बाघलाई थाहा छ, ऊ निस्कियो भने जंगलको शान्ति भंग हुन्छ ।
साना किराहरूको जाल बुनाई, कमिलाको खुदो, बाघको लोककथा, चराको छिनछिने वर्णन ‘कोरियाना’का उत्सवयोग्य अवसर हुन् । तर, अग्ला बाँसको निहुराइलाई मान्छेको स्वभाव जनाउन प्रयोग गरेको भने चित्त परेन । ‘फलेको वृक्षको हाँगो’ मलाई मन नपर्ने कवितांश हो जसले नफुल्ने नफल्ने बिरुवालाई अपमान गरेको छ । बाँस साना जातका चरा बस्ने उन्नत घर हो । घर होइन, समाजै हो । चरा–किराका बारेमा काव्यिक प्रेम छताछुल्ल देखाएका वाग्लेले बरा बाँसलाई किन कातर, डरपोक देखाएका होलान् ?
सक्किनुअघि कवि तीर्थ श्रेष्ठको कविता
‘हिउँमा लेखिएका नामहरू’ उद्धृत गरिनँ भने शीर्षक रिसाउला:
हामीले लेखेर आएका छौँ हिउँमा आ–आफ्ना नामहरू
एक छिनपछि हिउँ थपियो भने बाँकी रहने छैनन्
हाम्रा नामहरू
एकछिनपछि घाम लाग्यो भने पनि बाँकी रहने छैनन् हाम्रा नामहरू
हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू
हामी नरहँदा कसरी रहलान् हाम्रा नामहरू ।
Published at:

जोगी जिन्दगी

मेरा शब्दहरू माथि–माथि उड्छन् 
मेरा विचारहरू तलतिरै रहन्छन्
विचारविहीन शब्दहरू
कहिल्यै स्वर्ग पुग्दैनन् ।
– विलियम शेक्सपियर, ह्याम्लेट
ग्र्याजुएसनको अन्तिम परीक्षा दिएर डेरामा फर्केको साँझ ठानेँ, मेरा अगाडि अब दुईवटा बाटा छन् । एउटा, काठमाडौंमै बस्ने र मास्टर्स सक्ने । अर्को, पोखरा फर्किने र भैपरी आएको जिन्दगी बाँच्ने ।
मैले दोस्रो बाटो हिँड्ने निर्णय लिएँ । सायद मलाई औपचारिक पढाइदेखि वितृष्णा जागिसकेको थियो । त्यही साँझ डायरीमा एउटा लिस्ट बनाएँ । शीर्षक राखेँ, रहरको लिस्ट । ठानेँ, यति रहर पूरा गरेपछि जिन्दगी बाँचिन्छ । बाँचेको सार लाग्छ ।
मेरो रहरको लिस्ट यस्तो थियो :
१)    हेडमास्टरलाई गोद्ने : स्कुल पढ्दाका एकजना हेडमास्टर थिए जसलाई आफैँले गोदेर वा अरूमार्फत गोदाएर म सात वर्ष पुरानो कुण्ठाबाट निवृत्त हुन चाहन्थेँ ।
२)     बन्जी जम्प गर्ने, प्याराग्लाइडिङ गर्ने, भोटेकोसीमा -याफ्टिङ गर्ने, एक्लै थोरङ्ला क्रस हान्ने ।
३)    संसारका सबै देशमा कम्तीमा एकजना साथी बनाउने ।
४)    दिनको एउटा कविता, हप्ताको एउटा किताब र सिनेमा सक्ने । संसारका सबै देशका कम्तीमा पाँच–पाँचवटा सिनेमा हेर्ने, एउटा उपन्यास पढ्ने, एउटा–एउटा कवितालाई नेपालीमा अनुवाद गर्ने ।
५)    जोगी भएर देश घुम्ने, सके विदेश
पनि हान्ने ।
६)    अलग–अगल देश, वर्ण, बुनोट र जातिका स्त्रीसँग सेक्स गर्ने ।
७)    कुनै अञ्जान सहरको मूलबाटोमा एक महिनाजसो भिख मागेर खाने ।
८)    कुनै अज्ञात बस्तीको सम्भ्रान्त घरमा घरेलु कामदार भएर एक वर्ष बिताउने ।
९)    बाँसुरी वा सारंगी बजाउन सिक्ने ।
१०)    मन परेका लेखकलाई कहिल्यै नभेट्ने, तर मन परेकी लेखिकालाई सकभर नछोड्ने ।
११)    अभिनय सिक्ने र नाटकमा खेल्ने ।
१२)    स्पेनी भाषा सिकेर त्यसमा एउटा कवितासंग्रह निकाल्ने ।
१३)    एउटा मात्रै उपन्यास लेख्ने । मरिकाटे
अरू नलेख्ने ।
१४)    पेन्टिङ सिक्ने । सकेसम्म पेन्टरलाई गर्लफ्रेन्ड बनाउने, उस्तै परे बिहे गर्ने ।
१५)    सबै प्रकारका लागुऔषधमा कम्तीमा एकपटक ढलमग्न हुने ।....
जम्माजम्मी सयवटा बुँदा थिए, अहिले यत्ति राखेँ । यति पढ्दापढ्दै मेरो रहरको लय र बान्की पक्रिनु भएको भए बाँकी ८५ वटा आफैँ थप्न सकिहाल्नुहुन्छ । म सोच्थेँ, यति गरेँ भने बाँच्नुको अर्थ पूरा हुनेछ । जिन्दगी र संसारप्रति खासै गुनासो हुनेछैन ।
मलाई लाग्छ, ग्र्याजुएसन गरेपछि रहरका यस्ता लिस्ट अरूले पनि बनाउँछन् । कति मजस्ता हुन्छन्, जसले डायरीमा लेखेरै यस्ता लिस्ट बनाउँछन्, कतिले मनमनै बनाउँछन् । तपाईंले पनि पक्कै बनाउनुभएको होला । लिस्ट न हो, बनाउँदैमा के फरक पर्छ र ? तपाईंले अझै नबनाएको भए अब बनाए पनि हुन्छ । रहरको जिन्दगी बाँच्न कहिल्यै ढिला भइसकेको हुँदैन ।
अन्तिम परीक्षा सकिएको साँझ मसँग दारु खाने पैसा थिएन । खासमा पैसै थिएन । जाऊँ कहाँ जाऊँ, गरुँ के गरुँ ? भर्खर परीक्षा सकिएको दिन, किताब त के मलाई पत्रिकासमेत पढ्न मन थिएन । अक्षर देख्दैमा अल्छी लाग्ने भइसकेको थिएँ । तिनताका आउन त मोबाइल आइसकेको थियो, तर मसँग हुने कुरै थिएन । सम्झन्छु, त्यसवेला व्यापक क्रान्तिकारी पार्टी भनिने एमालेका एकजना धनाढ्य नेतालाई ‘तपाईं कम्युनिस्ट (वा यस्तै अर्को शब्द पनि हुन सक्छ) भएर खल्तीमा मोबाइल बोकेर हिँड्ने ?’ भनेर हिजोआजैतिर बिबिसी नेपालीका एक अन्तर्वार्ताकारले झाँको झारेका थिए । त्यो पनि लाइभ । म बरा डेरावाल विद्यार्थी ! कोठामा रेडियोधरि थिएन, मोबाइल परको कुरा !
साइबरक्याफे पूरै कीर्तिपुरभरि थिएन । सहरमा थिए, तर जाने पैसा थिएन । (फेसबुक र ट्विटरलाई जन्माउने मनुवाहरू सायद नर्सरीतिर एबिसिडी पढ्दै थिए ।)
अनि के गर्नु ? पाडाको कुभो कन्याउने मेलो समातियो । कोठामा एक्लै धुम्धुमिएर रहरको त्यो लामो लिस्टलाई पटक–पटक पढेँ । जति–जति लिस्ट दोहो-याउँदै पढे उतिउति भएभरका सबै बुँदा सलल्ल कण्ठ हुँदै आए । जति–जति ती मुखाग्र हुँदै गए मुख उति–उति ङिच्च पर्दै गयो । खल्तीमा दुम्सो नभएको वेला आफ्नै रहरले गिज्याउँदो रहेछ । मलाई रहरको लामो फेरो देखेर टीठलाग्दो हाँसो उठ्यो । त्यसलाई छोट्याइदिने र छरितो रहर पालेर बस्ने मनसुबा आयो । आफ्नो रहरको सम्पादकमा आफैँलाई नियुक्त गरेँ अनि त्यसमा रन्दा लगाउन थालेँ । बिस्तारै–बिस्तारै सयको लिस्ट पचासमा झ-यो, पचासबाट तीस, तीसबाट पन्ध्र, पन्ध्रबाट पाँच अनि अन्तिममा एक । मात्र एक ।
तपाईं भए अन्तिम रहर बनाएर केलाई रोज्नुहुन्थ्यो होला ? मैले कुन रोजेको थिएँ होला ?
भो छोड्नुस् यस्ता रहरको रोजाइ, यस्ता उटाटापी बुँदा ! यस्तो रहरको कल्पनाले बेफ्वा“कमा उदास मात्रै बनाउँछ । मलाई उदास हुन झ्याउ लाग्छ । ङिच्च पर्न अल्छी लाग्छ । लिस्टबाट रहर छाँटिरहँदा अचानक सोचेँ, रहरको लहरमा एउटा मात्रै बुँदा बाँकी रहने मान्छे त अन्तिम प्रहरमा पो हुन्छ । धमिलो आवाजलाई कानमा लर्ब¥याउँदै कसैले सोधेको हुन्छ, ‘बाजे, तपाईंको अन्तिम इच्छा के छ ?’
मर्नुअघि कसैले अन्तिम इच्छा सोधोस् भन्ने म कदापि चाहन्नँ । आनन्दले मर्ने समयमा ठसठस कन्दै ‘बाबु, मलाई यो पु-याइदेऊ’ भन्नुजस्तो निस्सार जिन्दगी के हुन्छ ? सोचाइ आउनेबित्तिकै रहर सम्पादकको पदलाई त्याग गरेँ । अघिका सम्पादित कागजलाई च्यातचुत पारेर डस्टबिनमा मिल्काइदिएँ । मलाई अन्तिम इच्छा रोज्नु थिएन । मलाई यति चाँडै मर्नु थिएन । बरू इच्छै–इच्छाको विशाल पहाड बनाउनु थियो । मलाई नयाँ–नयाँ इच्छा थपिरहन सक्ने भएर बाँच्नु थियो ।
आजकाल सोच्छु, मैले बनाएको त्यो लिस्टमध्येबाट कतिवटा रहर पूरा गरेँ ? कतिवटा अधुरा रहरले मलाई कुरिबसेका छन् ? के ती अझै रहरकै लिस्टमा त छन् ? कि रहर झ्याउमा बदलिइसके ?
मर्नुअघि कसैले अन्तिम इच्छा सोधोस् भन्ने म कदापि चाहन्नँ । आनन्दले मर्ने समयमा ठस्ठस् कन्दै ‘बाबु, मलाई यो पु-याइदेऊ’ भन्नुजस्तो निस्सार जिन्दगी के हुन्छ ? सोचाइ आउनेबित्तिकै रहर सम्पादकको पदलाई त्याग गरेँ । अघिका सम्पादित कागजलाई च्यातचुत पारेर डस्टबिनमा मिल्काइदिएँ । मलाई अन्तिम इच्छा रोज्नु थिएन । मलाई यति चाँडै मर्नु थिएन ।
कहिलेकाहीँ त यस्तो पनि सोच्छु, मैले टिपोट गरेका रहरको पूरै लिस्ट बाँच्ने एउटा रहरलाग्दो पात्र बनाऊँ र त्यसकै नामका मैले लेख्ने भनेको त्यो एउटा उपन्यास लेखूँ । आफ्ना हरेक रहरलाई एकपछि अर्को गर्दै पूरा गर्न खोज्ने उसको कोसिस, त्यसका लागि उसले गर्ने उटाटापी उपद्रो, षड्यन्त्र वा संघर्षको किस्सा पक्कै रोमाञ्चक हुन्थ्यो होला । त्यो कतै थ्रिलरजस्तो, कतै सस्पेन्सजस्तो, धेरथोर हररजस्तो स्वादिलो आख्यान हुन्थ्यो होला !
रहर बाँच्ने भनेर पोखरा त फर्के, तर पोखराले रहर बाँच्न दिएन । मैले रहर त के कल्पनासमेत नगरेको पेसा मास्टरी गर्न थालेँ । एक्काइस वर्षको रहरलाग्दो जिन्दगीलाई चक घोटेझैँ, होइन चक घोटेरै सक्काउन थालेँ । स्कुल र युनिभर्सिटी देखेर दिक्कार लाग्ने मान्छे म, त्यसैको मतियार कारिन्दा हुन पुगेँ । थुक्क जिन्दगी ! मास्टरीको भ-याङ उक्लिएर उमेर चढाउँदै जाँदा रहरको सग्लो शरीरबाट कतिले मुटु झिके कतिले माया ।
कतिले आँखा झिके कतिले आँसु । कतिले पैताला झिके कतिले गन्तव्य । साँच्चै ग्र्याजुएसनपछि घर फर्केको म रहरको भारी थाम्नै नसक्ने गरी बुढो भैसेकेको थिएँ । इमर्शनको भनाइजस्तै ग्र्याजुएसनपछि घर फर्कंदा नियतिले मलाई अर्कै मान्छे बनाइदिएको थियो । त्यसो त आइन्स्टाइनले पनि भनेकै हुन्, मेरो सिकाइलाई अवरोध गर्ने एउटै कुरा शिक्षा हो । मेरो शिक्षा नै मेरो जिन्दगीको घाँडो भएर उभियो ।तर, न म इमर्सन थिएँ न आइन्साटाइन ! अरू त अरू ममा ‘म’ भन्ने जिनिससमेत थिएन । औसत मान्छेले आफू जे होइन, त्यही बाँचेर जिन्दगी सक्काउँछ । म औसतभन्दा पनि तल्लो दर्जाको जिन्दगी बाँचेँ ।
हाम्रो समाज र शिक्षापीठले हामीलाई सपना देख्न बारबन्देज लगाउँछ । संसारभरका समाज र शिक्षालयको मौलिक उद्देश्य खासमा त्यही हो । विद्यार्थीको मस्तिष्कको गोजेरोमा हात घुसार्नु अनि बल गरीगरी तानेर उसका रहरलाई एक–एक गर्दै एम्प्युटेट गर्नु, चटाचट चुँडालेर फाल्नु ।ग्रेटेलको खल्तीबाट फुतुफुत खसिरहने रोटीका टुक्राजस्तै हुन् मान्छेका सपना । फर्किने बाटो नबिराउने लोभमा हामी आफ्ना रहरका टुक्रालाई उमेर र एड्युकेसनसँगै फाल्दै–फाल्दै जान्छौँ । तर, अन्तिममा बाँकी रहेको एउटा सानो टुक्राले न हाम्रो भोक मेटाउन सक्छ, न अघि खसालेका टुक्राले हामीलाई बाटो देखाउनै सक्छन् ।
बाटोमा खसालेका टुक्रालाई बनचराले उडाइसकेका हुन्छन् । कथामा झैँ न हामीलाई बाटो देखाउन कुनै रजहाँस आउँछ न हामी कुनै केकको कुटीसम्म पुग्न पाउँछौँ । असत्ते बूढीको देहान्त र खजानाको प्राप्ति झन् परका कुरा भए । र मान्छे हराउने भनेको यसरी नै हो रहेछ । मिसलेड, मिसगाइडेड । युनिभर्सिटीबाट निस्किएको हरेक मान्छे खासमा मिसगाइडेड हिरो हो । त्यसो त युनिभर्सिटीमैँ छँदा पढेको थिएँ सेक्सपियर । ओफेलियालाई ह्याम्लेटले भनेको एउटा संवादपंक्तिले हरेकपटक मलाई जिस्क्याइरहन्छ : गड ह्याज गिभन यु वन फेस, एन्ड यु मेक योरसेल्फ अनोदर । (ईश्वरले तँलाई एउटा अनुहार दिएको छ , तर तैँले आफूलार्ई अर्कै कोही बनाउँछस् ।) 
मान्छेहरू सदैव अरू कोही बाँच्छन् । आफू बाँच्नै सक्दैनन् । मान्छेले ऐनामा समेत कहिल्यै आफूलाई हेर्दैन, देख्दैन । उसले देख्ने छायाँ एउटा तुलनामा मात्रै हो । फलानाको जस्तो मेरो आँखा छ, अथवा छैन । फलानोको जस्तो मेरो नाक छ, अथवा छैन । अरूसँग नभए आफैँसँग पनि दाँजिन्छ मान्छे : म हिजोजस्तो देखिन्छु, अथवा देखिन्नँ । हिजो नाकमा ठुस्स हुने घिरौला आज किन खाऊँ–खाऊँ लाग्छ ? हिजो हिरिक्कै थिएँ उसँग आज किन देख्दै झ्याउ लाग्छ ? म किन मजस्तो छैन ? हिजोको म खासमा म थिएँ कि आजको म खासमा म हुँ ? के म कहिल्यै म थिएँ ? कि म, म हुनै बाँकी हुन्छ ?ह्याम्लेटको त्यही संवादले पछ्याएको पछ्यायै गरेर मैले उसकै छेकलमा ‘पैताला’भित्र एउटा वाक्य घुसाइदिएको थिएँ, वालेटको चिठीमा । उसले जोस्मणीलाई लेख्छ– ‘जतिसक्दो आफू हुने प्रयास गर्नू !’
तर, त्यो आफू हुनु भनेको के हुनु हो ?त्यो कसरी हुन सकिन्छ ? सक्न त सकिन्छ ?अंग्रेजीमा कतै एउटा फेन्सी हरफ पढेको थिएँ, “लाइफ र लिभिङ फरक कुरा हुन् ।” तर मलाई लाग्छ, त्यसको फरक थाहा नपाउँदै मान्छे मर्छ । हामी आफ्नो ज्ञान, सीप, ओहोदा, पेसा वा पुरस्कारलाई नै आफ्नो जिन्दगी ठान्छौँ, आफू ठान्छौँ । तर, ती खासमा जीवन नभएर जीवनयापन हुन् । एउटा जागिरेले जागिर खानुबाहेक अरू जे गर्छ खासमा उसको जिन्दगी त त्यो पो हो कि ! लिभिङको कमाइलाई जेमा खर्च गर्छौं त्यो बल्ल लाइफ पो हो कि ! यो त अलि उपभोक्तावादी कुरा आयो । जिन्दगीको सवालमा ‘उपभोक्तावाद’ होइन ‘उपभोगवाद’ सही सुनिन्छ । उपभोक्तावादीले फेसन फेरिएपछि पुरानो कपडा फेर्छ । उपभोगवादीले कपडा नच्यातिउन्जेल लगाउँछ । (तपाईंको वार्डमा पाँच–सातपटक मात्रै लगाएका कति जोर कपडा छन् ? सद्दे छँदै थन्क्याएका कति जोर जुत्ता छन् ? तपाईंले नफाटिउन्जेल लगाई हिँडेको अन्तिम कपडा कुन थियो ?)
ग्र्याजुएसन गरेपछि रहरका यस्ता लिस्ट अरूले पनि बनाउँछन् । कति मजस्ता हुन्छन्, जसले डायरीमा लेखेरै यस्ता लिस्ट बनाउँछन्, कतिले मनमनै बनाउँछन् । तपाईंले पनि पक्कै बनाउनुभएको होला । लिस्ट न हो, बनाउँदैमा के फरक पर्छ र ? तपाईंले अझै नबनाएको भए अब बनाए पनि हुन्छ । रहरको जिन्दगी बाँच्न कहिल्यै ढिला भइसकेको हुँदैन ।
यो मेरो ठम्याइ हो । तपाईंलाई  यसमा विमति राख्न छुट छ । तपाईंले जेसुकै मत राख्नोस् त्यसले मेरो ठम्याइलाई, मेरो जिन्दगीलाई खास फरक पार्दैन । फरकै पार्दैन । फरकै पारे पनि बाल मतलब !त्यो गुमेको सपनाको धन फिर्ता गर्न मलाई पूरै १२ वर्ष लाग्यो । युनिभर्सिटीले रटाएको जिन्दगीको ज्ञानलाई विस्मरण गर्न मलाई पूरै १२ वर्ष लाग्यो । आशो भन्थे, “अन्लर्निङ इज मोर डिफिकल्ट टास्क द्यान लर्निङ ।”त्यो रहरको जिन्दगी बाँच्न सक्छु भन्ने हिम्मत जुटाउन मलाई पूरै १२ वर्ष लाग्यो । म खोलो फर्किएँ । मेरो त्यो डायरी हराए पनि स्मृति हराएको थिएन, फक्र्यो ।
आजकाल मस्त छु । घडीलाई फुकालेको दिन मान्छे मस्त हुँदो रहेछ । आजकाल घडीले होइन, म ‘बडी’ले चल्छु । ११ बजिसक्यो, अब भात खानुपर्छ भनेर खाँदिनँ, भोक लागेका वेला खान्छु । रातिको दश बज्यो अब सुत्नुपर्छ भनेर सुत्दिनँ, निद्रा लागे सुत्छु, नत्र पढेर बसिदिन्छु । बिस्तारामा घाम प-यो अब उठ्नुपर्छ भनेर उठ्दिनँ, निद्रा जहिले पुग्छ त्यहिले उठ्छु । हिजो घरपालुवा अर्थात् डोमेस्टिकेटेड थिएँ अहिले प्राकृतिक अर्थात् वाइल्ड भएको छु । (मैले एकपटक ट्विट गरेको थिएँ : म्यान इज द फस्ट डोमेस्टिकेटेड एनिमल ।)
जँड्याहालाई साँझ पर्नेबित्तिकै रक्सीको तलतल लागेजस्तै खल्तीमा पैसा जगेडा हुनेबित्तिकै मेरो पैताला चिलाउन थालिहाल्छ । मलाई बचतमा विश्वास छैन । बैंकमा राखे पैसाले ब्याज दिन्छ, लगानी गरे नाफा, घुमेर सके स्मृति । ब्याज वा नाफा कमाउने कि स्मृति भन्ने कुराको वादविवादसम्म पनि म गर्दिनँ । विनाबहसको सोझो फैसला यही हुन्छ : उठ जोगी फट्कार छाला, जहाँ जाला भातै खाला ।
अहिलेलाई यत्ति !
Published at: 

Wednesday, June 12, 2019

घोकन्तेको काइदा



Exam को तयारी गर्दा पप्पुले अंग्रेजीको एउटा esaay घोकेर कण्ठ पारेको थियो । उसले घोकेको निबन्ध थियो : My Friend. तर exam मा 'MY FATHER' शीर्षकमा लेख्न पो आइदियो ।
परेन फसाद ?
तर पप्पु चलाख थियो । ऊ आत्तिएन । जुक्ती लगाइवरी उसले घोकेको निबन्धमा जहाँ जहाँ friend थियो त्यहाँ त्यहाँ Father लेख्दियो र मख्ख परेर घर आयो ।
पप्पुको निबन्ध यस्तो भयो :
I AM A VERY FATHERLY PERSON.
I HAVE LOTS OF FATHERS. SOME OF MY FATHERS ARE MALE AND SOME ARE FEMALE. MY MOTHER IS VERY CLOSE TO MANY OF MY FATHERS. MY UNCLE IS ALSO MY FATHER MY TRUE FATHER IS MY NEIGHBOUR.. AND I LOVE ALL MY FATHERS. B'COZ HAR EAK FATHER ZARURI HOTA HAI...!!
सूचना अनुसार जुन शिक्षकले उसको कापी जाँच्यो उ अझै बेहोस् छ रे !

शंका निवारण



कपडाभरी बान्ता गरेर घर पुगेको जँड्याहाले बिहान उठ्दा आफूलाई सफा कपडामा पाउँछ। मनपर्ने ब्रेकफास्ट टेबलमा हुन्छ। श्रीमति पनि मायालु र हँसमुख। श्रीमतीको अप्रत्याशित प्रेम र व्यबहारले ताज्जुब लोग्नेले अवस्था बुझ्न बाल्खोसँग सोध्छ:-
भन त के भो?
बाल्खो:-
हिजो तपाईंको बान्ताले भिजेको कपडा ममीले फेरिदिन लाग्दा बेहोसीमा भन्दै हुनुहुन्थ्यो 'प्लिज मलाई केही नगर। छोड्देऊ। मेरो घरमा श्रीमती छिन।'

Thursday, September 27, 2018

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जा मुद्दा अझै थाती





कम भएको भन्दै ७ परिवारले अझै लिएनन् मुआब्जा

विमानस्थल निर्माण प्रगति ४५ प्रतिशत

पोखरा — पछिल्लोपल्ट २०७१ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रय विमानस्थलले ५२१ रोपनी जग्गा अधिग्रहण गर्दा ७ परिवार १५ रोपनी जग्गाको मुआब्जा बुझ्नै गएनन् । भेग हेरेर विभेदकारी दरमा मुआब्जा रकम तोकिएको भन्दै उनीहरूले बुझेका थिएनन् ।
तत्कालीन सर्वदलीय समितिका संयोजक तथा सांसद रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको बैठकले उनीहरूलाई अधिग्रहणमा परेको जग्गाको सट्टा जग्गै दिने निर्णय गर्‍यो । आयोजनाले स्थानीयलाई फारम भरायो तर उक्त निर्णय हालसम्म कार्यान्वयन भएको छैन । अहिले आयोजनामा उक्त बैठकको निर्णय रहेको माइन्युट नै भेटिँदैन ।
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ४५ प्रतिशत काम सकिँदासमेत जग्गा अधिग्रहणको समस्या अझै सुल्झेको छैन । सरसाँधको उस्तै प्रकृतिको जग्गामा कुनैलाई २० लाख र कुनैलाई २९ लाख रुपैयाँ मुआब्जा तोकिएपछि असन्तुष्टले लिन मानेका थिएनन् ।
एउटै व्यक्तिका नाममा रहेको तर दुई वा बढी कित्ता भएको जग्गालाई पनि बाटाले छोएको र नछोएको भनेर फरक मूल्यांकन गरिएपछि स्थानीय रुष्ट छन् । हाल मुआब्जा बुझ्न जाँदा आयोजनाले प्रतिरोपनी २० लाख रुपैयाँकै दरले लैजान स्थानीयलाई भनेको छ । हाल उक्त जग्गाको मूल्य प्रतिरोपनी ३ करोड रुपैयाँभन्दा बढी पर्ने स्थानीयको दाबी छ । सम्झौताअनुसार जग्गाको सट्टा जग्गा दिनुपर्ने वा पुनर्मूल्यांकन गरेर क्षतिपूर्तिसहित मुआब्जा दिनुपर्ने स्थानीयको माग छ ।
विमानस्थल प्रभावित स्थानीयले संघर्ष समिति गठन गरेर माग अघि सारेका छन् । निर्माणाधीन विमानस्थलको निरीक्षण गर्न बुधबार पोखरा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँग संघर्ष समितिले आफ्नो माग राख्यो । ‘हामी प्रभावित पनि हुने, यहाँ जहाज रोकिएर प्रदूषित पनि हुने, अविकसित पनि हुने हामी जग्गादाताले चलनचल्तीको मूल्यभन्दा कम पैसा पाउने, यो त भएन नि,’ संघर्ष समितिका अध्यक्ष गनेस पौडेलले भने, ‘चल्तीको मूल्य पनि चाहिन्छ, सँगसँगै क्षतिपूर्ति । किन क्षतिपूर्ति चाहिन्छ भने सूचना निकालेको एक वर्षपछि मात्रै पैसा दिनुहुन्छ । त्यतिबेलासम्म जग्गाको मूल्य बढिसकेको हुन्छ । एकमुष्ठ पैसा र क्षतिपूर्ति चाहिन्छ ।’
२०३२ मा ३१ सय ६ रोपनी जग्गाको अधिग्रहण गरी दुई किस्ता र दररेटमा मुआब्जा वितरण गरिएको थियो । २०३४, ०३५ र ०३६ सालमा प्रतिरोपनी ४ हजार रुपैयाँको दरले मुआब्जा दिइयो । २०३७ बाट १० हजार रुपैयाँका दरले मुआब्जा दिइएको थियो । घरको हकमा प्रतिघर २० हजारदेखि २५ हजार रुपैयाँसम्म दिइएको थियो ।
त्यसबेला दिइएको मुआब्जाले साँध सिमानामा त्यसको दोब्बर क्षेत्रफलको जग्गा किन्न सकिन्थ्यो । तत्कालीन समयमा १५३ घरपरिवार विस्थापित भएका थिए । मझेरीपाटन र छिनेडाँडाका सबैजसोले थातथलोकै आसपासमा नयाँ घर बनाएर बसोबास गरेका थिए ।
२०७१ मा पुनः ५१५ रोपनी जग्गा थप अधिग्रहण हुँदा ३५ घरपरिवार विस्थापित भए, जसमध्ये आधाजसो घर विमानस्थलकै कारण यसअघि नै विस्थापित भएर आएका देखिन्छन् । जग्गाको अवस्था हेरी रोपनीको २० लाख, २९ लाख र ४२ लाख रुपैयाँ तोकिएको थियो ।
अधिग्रहण गर्दा र बस्तीहरू उठाउँदा विस्थापन र अधिग्रहणमा अन्तर्राष्ट्रिय अभ्यासको पालना नगरिएको आरोप स्थानीयको छ । ‘विगतको भन्दा उन्नत जीवनको प्रत्याभूति गरेर मात्रै अधिग्रहण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि हामीलाई चलनचल्तीको भन्दा निकै कम मुआब्जा दिइयो,’ पौडेलले भने ।
घरको मुआब्जा दिँदा नागरिकको आवास अधिकारको उल्लंघन हुने गरी अमानवीय अभ्यास गरिएको उनको आरोप छ । राज्यले विस्थापन गर्दा उस्तै र उत्रै घर निर्माण गर्न पुग्ने क्षतिपूर्ति दिने विश्व व्यापार संगठन (डब्लूटीओ) को प्रावधान र अन्तर्राष्ट्रिय अभ्यास भए पनि मूल्य ह्रासकट्टी गरी दिइएको उनले बताए ।
विमानस्थलले दक्षिणपट्टि बाहिरी परिधि सडकका लागि आवश्यक थप ५९.४८ रोपनी जग्गा तथा ३४ घरटहराको अधिग्रहण गरिरहेको छ । हालसम्म मुआब्जा वितरणसम्बन्धी प्रशासनिक कार्यसमेत गरी करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । विमानस्थलले दक्षिणपट्टि पुनः ३० मिटर जमिन पेरिफेरी सडकका लागि आवश्यक पर्ने जनाएको छ ।
गत वर्ष ह्यांगर, आयल डिपो, हेलिप्याड, लोकलाइजर र ग्लाइड पाथलगायत अन्य आवश्यक पूर्वाधारका लागि थप जग्गा आवश्यक पर्ने बेहोराको पत्र आयोजनाले वडालाई पठाएपछि फेरि अधिग्रहणले उठिबास लगाउने भन्दै स्थानीय आक्रोशित थिए । आयोजनाले सम्भाव्यता अध्ययन गरी उक्त प्रयोजनका लागि ५ सय रोपनी जग्गा आवश्यक हुने ठानेको छ ।
त्यसो त निवर्तमान विभागीयमन्त्री स्व. रवीन्द्र अधिकारीले थप जग्गा नचाहिने भनेर घोषणा गरिसकेका थिए । एउटै परियोजनाबाट एउटै परिवार ५ पटकसम्म उठिबास लाग्ने गरी हुने भनिएको पटके अधिग्रहणको शृंखला अन्त्य हुनुपर्ने संघर्ष समितिका अध्यक्ष पौडेल बताउँछन् ।
‘निर्माण सम्पन्न गर्न थप जग्गा नभई नहुने हो भने अब अन्तिम पटकका रूपमा जति जग्गा चाहिने हो, सोको अधिग्रहण गरियोस्,’ उनी भन्छन्, ‘बाँकी जग्गा रोक्का नराखियोस्, फुकुवा गरियोस् ।’ त्यसो त आयोजनाले जग्गाको मुआब्जा मात्रै एक अर्ब रुपैयाँ बाँडिसकेको छ । तत्कालीन आयोजना प्रमुख एवं हाल क्यानका निर्देशक प्रदीप अधिकारी त्यतिबेला रोपनीको २० लाख रुपैयाँ मुआब्जा थोरै भएको स्विकार्छन् ।
पर्यटनमन्त्री भट्टराईले जनताको उठिबास हुने गरी विमानस्थल नबन्ने बताए । तत्कालीन हिसाबले स्थानीय समुदायलाई केही मर्का परेको जस्तो देखिए पनि दीर्घकालमा त्यो सुखमा परिणत हुने उनले जनाए । उनले भने ‘थप्दै जाँदा स्थानीय समुदायलाई अधिग्रहण गर्नुपर्‍यो भने यहाँभन्दा सुन्दर ठाउँमा लगेर राख्छौं । यो निरन्तरको प्रक्रिया हो ।’ अन्तर्राष्ट्रिय उडान गर्न गौतम बुद्ध र पोखरालाई ध्यान दिँदै एक समिति बनाउने तयारी मन्त्रालयले गरेको उनले बताए ।
प्रकाशित : भाद्र १२, २०७६ १२:१०

Published at: 
https://ekantipur.com/news/2019/08/29/156704489218986458.html