Contact Form

Name

Email *

Message *

Z

Thursday, April 27, 2017

सरुभक्तियन शून्यवादी अहमवाद

त्य यदि प्रमाणित गर्नै पर्ने जिनिस हो भने, यो दुई रेखाको समानान्तर वार्तालाप हो । पदार्थ, ऊर्जा र शून्य पहिलो रेखा हुन् । हाम्रो स्थान र समय भर्ने कुरामा पदार्थ छ, कि ऊर्जा छ, कि दुवै छैनन् अर्थात् शून्य छ । समानान्तर अर्को रेखामा जैविकता, चेतना र अहम् पर्दछन् ।
जैविकता पदार्थ र ऊर्जाको निरन्तर प्रतिक्रिया हो । सबै जीवमा समान चेतना हुँदैन । चेतना जीवमा सन्निहित इन्द्रियहरूको ग्रहणशीलता हो । पदार्थ, ऊर्जा, जैविकता र चेतना सबैलाई हामी मेरो' भनेर स्वामित्व लिन सक्छौं । भागवत गीता भन्छ, ‘जुन कुरा मेरो होइन त्यही अहम् हो ।' जुन कुरालाई हामी मेरो भन्न सक्दैनौं त्यही '' हो ।
यसरी शून्य' पदार्थ र ऊर्जाको अनुपस्थिति हो भने अहम् मेरो' अनुपस्थिति हो । यो सनातन पूर्वीय डिस्कोर्स हो । शून्य र अहम्को सरुभक्तीय डिस्कोर्स अलिक फरक छ । उनी दुवैलाई मिसाएर शून्यवादी अहमवाद' को कुरा गर्छन् । सरुभक्तले बोक्सीको आह्वान र घोषणापत्र' नामक आफ्नो तेस्रो कृतिमा शून्यवादी अहम्वादको अवधारणा पहिलोपटक सार्वजनिक गरेका थिए भने त्यसको संशोधन/व्याख्या आफ्नो चौथो कृति इतिहासभित्रको इतिहास' मा गरेका छन् । यही दर्शनको टेकोमा अडिएको प्रसिद्ध कृति पागल बस्ती' तिनताका प्रकाशोन्मुख थियो । आजको यो आलेखमा म सरुभक्तको शून्यवादी अहम्वाद' को सतही व्याख्या गर्छु ।
सरुभक्त आफ्नो दर्शनलाई कुनै चामत्कारिक आविस्कार मान्दैनन् । भन्छन्, मानव जीवन ऐतिहासिक विकासको परिप्रेक्ष्यमा जति सामान्य छ, सम्पूर्ण मानवीय दर्शन र कलागत सत्य अन्वेषण त्यति नै सामान्य हुन्छ । मानवीय वास्तविकता अन्तरिक्षबाट अवतरित हुने नितान्त मौलिक चमत्कार होइन । जस्तो कि बुद्धले जीवन दु:खपूर्ण छ भन्नु अति सामान्य कुरा हो र यही सामान्य कुरामा तथागत बुद्धत्व' अर्थपूर्ण हुन्छ । अनि यौन फ्रायडको मौलिक सिर्जना होइन, वैज्ञानिक विश्लेषण हो । फ्रायड पूर्वको यौन साहित्य फ्रायडपछिको यौन साहित्यभन्दा सुन्दर छन् । पूर्वका रसवाद, ध्वनिवाद, अलङ्कारवाद, रीतिवाद, वक्तौक्तिवाद, औचित्यवाद हुन् या पश्चिमका शास्त्रीयतावाद, स्वच्छन्दतावाद, यथार्थवाद, प्रगतिवाद, विम्बवाद, अस्तित्ववाद तथा विसंगतिवाद आदि कुनै पनि वादहरू सर्वाङ्ग मौलिक नवीनताको दाबी गर्न सक्षम छैनन् ।
उनी शून्यवादलाई अहम्केन्द्रित मानवतावाद मान्छन् र भन्छन्, अहम् केन्द्रित मानवतावादअनुसार असन्तुष्ट मानवीय अहम््ले मानव सभ्यताको स्थापना र विकास गरेको हो । पशुजगत्बाट पृथक् उत्पादनमुखी अहम् चेतना विकास सभ्यताको आधारशिला हो । निम्नतम अहम्बाट विशिष्टतम् अहम्तर्फ उन्मुख हुनु' लाई यथासम्भव अत्यधिक सन्तुष्टि प्राप्तिप्रति लक्षित हुनु भनी व्याख्या गर्दै यही प्राप्ति उन्मुख प्रक्रिया' लाई सभ्यता निर्माण प्रक्रियाको रूपमा अध्ययन गर्दछन् । 'अहम्' बारेको आम बुझाइ तमसो मा ज्योर्तिगमय' सूत्र वाक्यको तमस' समानान्तर स्थिति हो जसमा सम्भाव्य अर्थमा ज्योर्तिगमयतापूर्ण विस्तृतिको सन्धान सुरक्षित हुन्छ । मानवजाति आदिम, बर्बरतापूर्ण युगमा तमस' समस्तर अहम् स्तर सापेक्ष थियो, र आदिम पूर्वजहरू पशुवत् अहम्पूर्वक जीवनयापन गर्दथे । आदिम मानव पशुवत् यौन, भोक, आक्रमण र सुरक्षाको प्रक्रियाहरूमा बर्बरतापूर्वक सापेक्ष हुनु अहम् चेतनाको सबभन्दा तल्लो स्तर हो ।
अहम्को निम्नतम पशुजन्य स्तर स्वीकार्य नभएको कारणले मानिसले अहम्का अभिव्यञ्जना प्रणालीमा विविधता ल्याउन थाल्यो । यसैको फलस्वरूप अहिलेको मानव सभ्यता अवस्था स्थापित छ । सरुभक्तका अनुसार प्रेम, घृणा, भोक र यौन मानव सभ्यता विकासमा प्रमुख अभिव्यञ्जनाहरू रहिआएका छन् । यिनमा परिवर्तन नआएसम्म कुनै पनि साहित्यकार सिर्जनशीलताको पराकाष्टामा पुगेर होमर, व्यास, शेक्सपियर, तोल्सतय हुन सक्छ तर तीभन्दा महान्' हुन सक्दैन । मानवीय अहम् कदापि पनि अहम्मुक्त हुन सक्दैन तर त्यसका अभिव्यञ्जनामा परिवर्तन हुन सकेमा मानवीय अहम्मा आशाजनक परिवर्तन सम्भव छ, स्थापित महानताभन्दा पनि महान हुन पनि सम्भव छ, जसलाई सरुभक्त मानवीय अहम्को परिवर्तन सम्भावना सिद्धान्त' भन्दछन् ।
उनी अहम्लाई प्रभु अहम्, सहिष्णु अहम् र सिर्जनात्मक अहम्मा विभाजन गर्दछन् । सरुभक्त भन्छन् : अहम् चेतनाको विभाजनपछि वर्गीय सामाजिकताको जन्म हुन्छ । त्यसको संघर्षको इतिहास मानव सभ्यताको इतिहास हो । उनका अनुसार कार्ल माक्र्सको वर्ग संघर्षको इतिहास मूलभूत रूपमा अहम् संघर्षको इतिहास हो । वर्ग संघर्षका क्रममा सिर्जनात्मक अहम्ले सहिष्णु अहम्को पक्षमा आफ्नो सिर्जनशीलता उत्सर्गित गर्दछ । क्रान्ति उपासना' सिर्जनात्मक अहम्को प्रमुख विशेषता हो । यो कदापि विद्रोहात्मक वैशिष्ट्यरहित हुन सक्दैन ।
सरुभक्तले अहम् चुम्बकत्वको नियम' को व्याख्या गर्दै भन्छन् भौतिक चुम्बकत्वको नियमविपरीत मानव इतिहासमा समान अहम्हरू आकर्षित हुन्छन् भने असमान अहम्हरू विकर्षित हुन्छन् । मानव इतिहासको विकासक्रममा समान अहमाणु/इगोट्रोनहरू आकर्षित हुन्छन् तर अहम् चुम्बकत्वको नियमानुसार आकर्षण र विकर्षण प्रक्रिया शाश्वत प्रक्रिया होइनन् । इगोट्रोनहरू तबसम्म मात्र आकर्षित रहन्छन् जबसम्म यिनीहरूका अहम् चेतना समान रहन्छन् ।
यिनका विचारमा इतिहासमा प्रत्येक क्रियाका प्रतिक्रिया हुन्छन्, अनुकूल वा प्रतिकूल र इतिहास तबसम्म स्थिर गतिमा रहन्छ जबसम्म प्रतिक्रियाजन्य सन्तुलन हुन्छ । प्रतिक्रियाजन्य असन्तुलनले इतिहासलाई क्रान्तिउन्मुख पार्दछ । न्युटनको नियममा जस्तै अहम् क्रान्तिको नियममा पनि हरेक क्रियाको प्रतिक्रिया हुन्छ तर चालको नियममा जस्तो बराबर तर विपरीत' हुँदैन । इतिहासमा प्रत्येक क्रियाको अनुकूल वा प्रतिकूल प्रतिक्रिया हुन्छ ।
महात्मा बुद्ध, सुकरात, प्लेटो, हिगेल, फेरवाख र कार्ल माक्र्स आदि सबैले गरेजस्तै द्वन्द्वात्मक विधिको प्रयोग सरुभक्त पनि गर्छन् । सरुभक्त आफ्नो द्वन्द्वात्मक खेलवाद' माक्र्सको द्वन्द्वात्मक भौतिकवाद नभएको बताउँछन् । हिगेल द्वन्द्व न्यायका हिसाबले परम सत्य' प्राप्त गर्न चाहन्छन् । निषेधको निषेध मार्फत उनी दार्शनिक स्पिनोजाको निष्कर्ष नै निषेध हो' लाई उल्टाउँदै भन्छन्, ‘निषेध नै निष्कर्ष' हो । त्यस्तै निषेधको निषेध, विरोधी समागम र गुणात्मक परिवर्तन माक्र्सका विश्लेषण शैलीका आधार हुन् । हिगेल र माक्र्सको वाद' प्रतिवाद' का द्वन्द्वात्मकतामा जुन संवाद' को विकास हुन्छ त्यो ‘+संवाद' नभएर ‘–संवाद' पनि हुन सक्छ । त्यस्तै इतिहासमा निषेधको निषेध गर्दा अथवा वाद' प्रतिवाद' ले संघर्ष गर्दा संवाद' स्थापना हुन्छ भन्नु आंशिक (५० प्रतिशत) प्रायिकताको कुरा हो, अर्को पचास प्रतिशत प्रायिकताअनुरूप संवाद नहुन पनि सक्छ । कार्ल माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद आर्थिक धु्रवीकरणसापेक्ष रहेको छ ।
अर्थ' मानवजातिको आविस्कार भएको हुनाले मानवीय चेतनामा अर्थ द्वन्द्व' त हुन्छ, तर अर्थ' बाहेक मानवीय द्वन्द्वका अन्य प्रचुर भूमि छन् । सरुभक्तको द्वन्द्वात्मक खेल प्रणालीले सामान्यता विजय पराजय' को निरपेक्ष भविष्यवाणी गर्दैन तर पनि सिर्जनात्मक अहम्को भूमिका पक्षधरता' को हुन्छ र यही सापेक्षमा साहित्य लेखिन्छ, चित्र कोरिन्छ, मूर्ति कुँदिन्छ र शून्यवादी आदर्श स्थापित हुन्छ । साहित्यिक क्षेत्रमा सिर्जनात्मक अहम््वादिताको सोझो अर्थ साहित्यिक अहम्वादिता हो र साहित्यिक अहम्वादिताको प्राप्ति शून्यता' हो ।
सरुभक्त भन्छन्, ‘म कार्ल माक्र्ससित झन्डै आधा बाटो हिँडेको छु भने फ्रायडसित एक तिहाई बाटो ।' बाँकी आधी बढी बाटो उनको आफ्नो बाटो हो । सिगमन्ड फ्रायडको मानवीय व्यक्तित्वको विश्लेषणअनुसार इद, इगो र सुपरइगोको संगठित सामञ्जस्यतामा मान्छेको वातावरणीय अभियोजन सम्भव हुन्छ । उनी मानवीय मानसिकताको तीन पत्रचेतन, पूर्वचेतन र अचेतन मनमा अवधारणा प्रस्तुत गर्छन् । साहित्यकार र कलाकारलाई दिवास्प्नद्रष्टा र मनोरोगी सम्झने फ्रायडको विचारमा कलाको स्रोत दमित अवचेतन' हो । दमित, निषिद्ध र कुण्ठित अनुभूतिहरूका उदात्तीकरण, रूपान्तरण र स्वप्निल परिपूर्तिफ्रायडियन कलाकारिता र सिर्जनशीलताको विश्लेषण-व्याख्या हो । फ्रायडको मानवतावाद यौन केन्द्रित मानवतावाद' हो ।
सरुभक्त भने अहम् केन्द्रित मानवतावाद' को कुरा गर्छन् । फ्रायड यौन ऊर्जा' लाई सभ्यता निर्माणको प्रेरक तत्त्व मान्छन् भने सरुभक्त अहम् ऊर्जा' लाई महत्त्व दिने गर्छन् । फ्रायडको विचारमा सिर्जनात्मक कलाकारिता यौनको उदात्तीकरण हो । सरुभक्तका दृष्टिकोणमा भने, ‘मानवीय अहम्को उदात्तीकरण ।' फ्रायडियन कलाको मूल स्रोत दमित अवचेतन' हो । सरुभक्तको सिर्जनात्मक अहम्वादी कलाकारिताको सुरु असन्तुष्ट अहम् चेतना' हो । सरुभक्त फ्रायडभन्दा ज्यादा एड्लरको क्रियटिभ सेल्फ र जुङ्को कलेक्टिभ इगोको नजिक छन् । जुङ फ्रायडभन्दा व्यापक दृष्टिमा कलागत मूल्य स्थापित गर्दछन् तथापि उनको व्यापकता' संस्कार प्राप्तिमा वा आदिमताको खोजमा सीमाङ्कित भएको छ ।
सरुभक्त आफूलाई दार्शनिक फिक्टेभन्दा फरक दाबी गर्छन् । फिक्टेको विचारमा परमतत्त्व भौतिक नभएर विशुद्ध आध्यात्मिक हुन्छ जुन वास्तवमा 'आत्मा' वा 'चित्शक्ति' हो । यो आत्मा ज्ञानरूप हुन्छ, त्यसैले ज्ञाता र ज्ञेय दुवैको सत्ता सिद्ध हुन्छ । उनको विचारमा आत्मा र अनात्मा परमात्माका दुई स्वरूप हुन् र विश्वको तत्त्व नै 'परमात्मा' हो । फिक्टेको परमतत्त्व' का तीन रूप छन् : परमात्मा, जीवात्मा र अनात्मा । आत्माको द्वन्द्वात्मक गति स्वीकार गर्दै फिक्टे अद्वेत आत्मालाई 'पक्ष' र अनात्मा वस्तुलाई 'प्रतिपक्ष' र परमात्मालाई समन्वय' स्वीकार गर्छन् । फिक्टेको दार्शनिकता परम तत्त्व' निरुपित गर्ने अथवा द्वेत र अद्वेतको समन्वय विशिष्टाद्वेत स्वरूप परमात्मा' प्राप्तिमा लक्षित छ । तर सरुभक्तको 'इगो' फिक्टेको जस्तो आध्यात्मिक नभएर विशुद्ध भौतिक हुन्छ ।
सरुभक्तले आफूलाई सात्रसापेक्षमा पनि व्याख्या गरेका छन् । अस्तित्ववादी दार्शनिकहरूको प्रस्थान बिन्दु 'अस्तित्व सारको पूर्ववर्ती हुन्छ' मा सात्र्रको दर्शन पनि स्थापित छ । हिगेलको तर्क नै सत्य हो, सत्य नै तर्क हो' तथा किर्केगार्डको विश्लेषण जीवोमुखी यथार्थ' परिलक्षित भए पनि अस्तित्ववादीहरूले नै अस्तित्वको अस्तित्व' बुझ्न नसकेको दाबी सरुभक्त गर्दछन् । उनी भन्छन् : वस्तुत सात्र्रको 'विइङ' नै अस्तित्व' हो र यही अस्तित्व विइङ (भविता/हुनु) को 'सार' हो । यसर्थमा अस्तित्व नै सार हो, सार नै अस्तित्व हो ।
सरुभक्तका अनुसार सात्र्रको भनाइ 'मान्छे जे होइन त्यो हो, जे हो त्यो होइन' वाक्यमा अस्तित्व 'भएको' मा स्थापित नभएर 'हुनुपर्ने' मा स्थापित छ । यस्तो 'हुनुपर्ने' मानवीयताको 'आदर्श' हो, 'अस्तित्व' होइन । मान्छे 'हुनु' का रूपमा अस्तिगत हुन्छ, त्यसैले अस्तित्वले अस्तित्वको खोजी गर्नुको कुनै तात्त्विक र दार्शनिक अर्थ हुँदैन । सरुभक्त भन्छन्, 'सात्रको 'भविता' ले जीव जगत्को 'नथिङनेस्' बोध गर्छ, तद्पश्चात् 'जड' 'चित्' मा रूपान्तरित हुन्छ । तर मान्छेले सात्र्रद्वारा विश्लेषित अर्थमा 'नहुनु' बोध गर्दैन । ... मानवीय अहम् असन्तुष्टिको निम्नस्तर बिन्दुहरूमा 'नहुनु' झैं भ्रमित हुन सम्भव हुन्छ, तर 'नहुनु' हुन सक्दैन ।'
असन्तुष्ट अहम्चेतनाले सन्तुष्टिको पथयात्रा नगरेसम्मको अवस्थालाई सरुभक्त 'संक्रमणकालीन अहम्-स्थिति' भन्दछन् । यस्तो अवस्थामा नहुनु' को भ्रम हुन्छ, तर तात्त्विक अर्थमा त्यो 'सन्तुष्टिको वरण' स्थिति हो । सरुभक्त भन्छन् : अहम् (भविता) ले 'सन्तुष्टि पथयात्रा' गरेपछि त्यो नहुनु' जस्तो भ्रम स्वत: हराउँछ । दोस्रो विश्वयुद्धपछिको युरोप (फ्रान्स) मा सात्र्रलाई नथिङ' को भ्रम परेको थियो ।
सात्र्रको विश्लेषण छ : रेने डेकार्टको आई थिङ्क, देयरफर, आई एम' मा जुन चेतनाले 'थिङ्क' गर्छ त्यो र 'एम' (भविता) एउटै होइन । सरुभक्तका विचारमा सात्र्रको तार्किक विश्लेषण यथार्थपरक सुनिए पनि सूक्ष्म दार्शनिक दृष्टिमा सात्र्र 'अनुत्तीर्ण' छन् । भविता अहम्को प्राथमिक स्व: घोषणा हो, र अस्तित्व अहम्घोषणाको व्यञ्जना हो । यस अर्थमा 'अहम्' 'चेतना' बीच विभाजन रेखा खिच्न सकिँदैन । अहम नै चेतना हो, चेतना नै अहम् हो । मनुष्य नै मनुष्यता हो, मनुष्यता नै मनुष्य हो । त्यसैले 'कन्ससनेस अफ् इगो' खोज्नुको औचित्य हुँदैन । डेकार्टको आई थिङ्क' मा ' अथवा 'अहम्' ले विचार' गर्छ भनी सोच्नु सात्र्रको दार्शनिक अज्ञानता हो । वास्तवमा ' ‘हुनु' नै 'सोच्नु' हो, ‘सोच्नु' नै ' हुनु हो । अर्थात म सोच्छु' एकाकार रूपमा 'अहम् चेतना' हो जसको व्यञ्जना 'म छु' हो । 'आई थिङ्क, देयरफर, आई एम' मा आई' एम' का बीचमा जति पनि शब्दावली प्रयुक्त छन् (थिङ्क, देअरफर, आई) तिनको भाषिक संरचनागत महत्त्व भए पनि दार्शनिक महत्त्व छैन ।
ब्रह्माण्डशास्त्री वेलिमेत्रेको महा विस्फोट सिद्धान्त' सापटी लिंदै सरुभक्त भन्छन्, मानवीय अहम्को सिर्जनात्मक विस्फोटको सर्वोत्तम अभिव्यक्ति साहित्य हो । ...मानवीय अहम् इतिहासको कुनै सापेक्षमा असन्तुष्ट हुँदा क्रमिक रूपमा विस्फोटको प्रक्रम आरम्भ हुन्छ । अहम्को विस्फोट जति व्यापक हुन्छ, त्यति मूल्यवान हुन्छ । अहम्-गाथाको खोजमा ब्रह्मसूत्रदेखि लिएर उपनिषद्सम्मविशेषगरी केनोपनिषद्, कठोपनिषद्, मुण्डकोपनिषद्, तैत्तिरीयोपनिषद् र श्वेताश्वतरापनिषद्मा उनी पुगेका छन् । श्रमिद्भागवद गीतामा उल्लेख अहम्' गाथालाई उप्काएका छन् । बाइबलको पुरानो जिनेसिसमा उल्लिखित गड मेड म्यान लाइक हिज मेकर' लाई अहम नै ब्रह्म हो भन्ने अर्थमा सरुभक्त बुझ्छन् र निष्कर्षित हुन्छन् '...प्राचीन कवि मनीषीहरू मानवीय अहम्को सर्वतोमुखी, सर्वव्यापक, यथार्थप्रति सचेत थिए ।'
सरुभक्तको विचारमा शून्यताको दुई धार छन्व्याप्त र सीमित । पश्चिममा चलेको रिक्तता (रहितता) को शून्य हो, उनले भनेको व्यापकताको शून्यता हो । शून्यजस्तो अतिसामान्य सत्यलाई मान्छेले नबुझ्ने शैलीमा वा बुझ्नै नसकिने पराभौतिक अध्यात्मको रूपमा व्याख्या गरिनु मान्छेलाई ज्ञान र स्वतन्त्रताको शौभाग्यबाट विमुख गरिनु हो । शून्यवादी अहमवादको उत्सर्ग उपन्यास पागल बस्ती' को नायक भन्छ : 'म नागार्जुनले झैं तार्किक शून्य हुनु पनि भन्दिनँ, निहिलिष्टहरूले झैं ध्वंसात्मक शून्य हुनू पनि भन्दिनँ, अस्तित्ववादीहरूले झैं विसंगत शून्य हुनू पनि भन्दिनँ । म अहम्ले शून्य हुनू भन्छु । यो शून्यावस्था तब उपलब्ध हुन्छ, जब मानिस अहम्ले सम्पूर्ण हुन्छ, परिपूर्ण हुन्छ ।'

मायावी बस्तीको रहस्य


घडीले मध्यरातको संकेत गरिसकेको थियो । पहिरो पीडित विस्थापित भएर बसेको सुकुम्बासीजस्तो बस्तीका घरघरमा टुकी निभिसकेको थियो । नजिकको खरघारीबाट स्यालको एकोहोरो आवाज पनि बन्द भइसकेको थियो । यही उपयुक्त समय थियो । रातको ११/१२ बजे, करिब १५ जनाको काबिला अचानक क्याम्पबाट निस्क्यो ।
किचनमा पाकेको भर्भराउँदो भात थियो । तातो दाल र मनतातो तरकारी थियो । क्याम्पमा पालिएका पाँचवटा जर्सी गाईको दूध कुँडेमा सेलाएर तरको तह बनाइसकेको थियो । तर हिजो जस्तो भएन आज । किन हो किन केही खानै मन लागेन । पाकेको खानालाई थालमा समेत नपस्किकनै उनीहरू ट्याक्सीमा कोचिए र अन्तिम पटक क्याम्पको भवन अघिल्तिर रोपिएको गोब्रे सल्लाको बोटमा हेरे । गोब्रे सल्ला जसलाई आचार्य रजनिशको जन्मदिनमा उनीहरूले रोपेका थिए, क्याम्प स्थापनाकै वर्ष ।
दस वर्षदेखि प्रेम, भक्ति र साधनालाई घोटीघोटी स्वर्ग जस्तो बनाएको एउटा सानो बस्तीलाई छोडेर जाँदै थिए उनीहरू । बस्तीको तथ्यांक यस्तो थियोः
  • नामः नियो सन्यासिन क्याम्प
  • चल्तीको नामः रजनिश क्याम्प
  • केटाकेटीले भन्ने नामः रन्जिश क्याम्प
  • क्याम्प प्रखुमः योगी चिनमय
  • स्थानः दक्षिणी पोखरा, छिनेडाँडा
  • क्षेत्रफलः करिब तीन सय ६५ रोपनी
  • सञ्चालनः सन् १९७९ देखि
  • अवशानः सन् १९८९ (९०) देखि
०००
पोखराको रजनिश क्याम्पको कथा लामो छैन, मात्र १० वर्षको छ । तर यादको कथा लामो छ । कम्तीमा पोखरेली ओशो सन्न्यासीहरू यसै भन्छन् ।
भारतीय राजनीतिको कोपभाजनका कारण रजनिश पुनेमा बस्न नसक्ने अवस्थामा थिए । उता अझ ठूलो क्षेत्रफलमा कम्युन चलाउने उनको निजी महत्त्वाकांक्षा बाक्लिँदो थियो । रजनिश अमेरिकाको ओरेगन पुगे । उनका दुई निजी सचिवमध्येका एक योग चिनमय भने यता नेपाल आए । अर्की निजी सचिव योग लक्ष्मीको सट्टामा रजनिशले आनन्द शिलालाई नियुक्त गरी ओरेगन लगे ।

योग चिनमयले ओशो ओरेगन हिँडेपछि पोखराको छिनेडाँडामा आ श्रम खोले । चिनमय नै ती व्यक्ति हुन् जसले आचार्य रजनिशलाई 'भगवान रजनिश' हुन सिफारिस गरे ।

रजनिशका प्रारम्भिक सन्न्यासीमध्येका एक हुन् योग चिनमय । रजनिशलाई भेट्नुपूर्व नै स्वामी क्रियानन्द सरस्वती भएर मुसाफिर घुमेका योग चिनमयले ओशो ओरेगन हिँडेपछि पोखराको छिनेडाँडामा आ श्रम खोले । ओशो प्रेमीहरूका माझ 'ऐतिहासिक' भए पनि अचेल चिनमयको खास विवरण राम्ररी भेटिँदैन ।
चिनमय नै ती व्यक्ति हुन् जसले आचार्य रजनिशलाई 'भगवान रजनिश' हुन सिफारिस गरे । भएछ के भने आफ्नो 'नियो सन्न्यास' कार्यक्रम लागू गर्नुपूर्व रजनिशले चिनमयलाई 'आचार्य' शब्दको विकल्पमा नयाँ शब्द खोज्न भनेछन् । सयौं शब्द सिफारिस गर्दा पनि रजनिशलाई चित्त परेनछ । अन्त्यमा चिनमयले 'भगवान्' शब्द सिफारिस गरेपछि त्यही सदर भयो र 'आचार्य रजनिश' 'भगवान् रजनिश'मा कायाकल्प भए ।
निजी सचिव हुनुको एउटा फाइदा पनि होला, चिनमयले रजनिशलाई अति निजी प्रश्नहरू सोधेर हैरान पार्थे । यिनले रजनिशको निजी जीवनका यौन, प्रेम, सम्बन्ध आदि विषयका गोप्य कुराहरू सोधेका छन् र ओशेले 'वेफिक्र' तिनको जवाफ दिएका छन् । यो कुरा ओशो इतिहासका आधिकारिक (? ) दस्तावेजहरूमा पाइन्छ । योग चिनमयले त्यो बेला रजनिशको 'प्रेस वर्क' हेर्थे । यिनका सम्पादनमा नै रजनिशका पुनेकालीन सयौं किताबहरू निस्केका हुन् ।
पुनेको सानो क्षेत्रफलले कम्युनको आफ्नो सपना पूरा नहुने देखेपछि रजनिशले अल्ली फराकिलो ठाउँ खोज्न लगाएका थिए चिनमयलाई । जसमध्ये गुजरात, पोखरा र हिमाञ्चल प्रदेशका तीन ठाउँ खोजिएका थिए । पोखराको ठाउँ रोज्न चिनमय आफैं आएका थिए । उनलाई सहयोग गरेका थिए, स्थानीय रजनिशप्रेमी मथुरा साहुले ।
मथुरा साहुको होलसेल पसलबाट कपडा लागेर बेच्ने अर्का कपडा व्यवसायी तथा पोखरा नगर पञ्चायत वडा नं. १८ का वडाध्यक्ष तोरणबहादुर केसीले आफ्नोसहित अन्य गाउँलेको मिसाएर ठूलो क्षेत्रफलको उक्त जग्गा मिलाइदिएका थिए । पोखराका कुनाकाप्चा चहारेपछि चिनमयले दक्षिणी पोखराको बस्तीविहीन यस्तो ठाउँ रोजे जहाँबाट अन्नपूर्ण हिम शृंखलाको पूरै माला 'फुटहिल' सहित अनवरत देखिन्थ्यो ।
हिमालका जराजरालाई एकसाथ अवलोकन गर्न मिल्ने त्यो ठाउँ प्रेम श्री वात्सायनको तपस्या थलो वात्सायन घाटभन्दा थोरै माथिल्लो भाग हो । 'कामसूत्र'का लेखक प्रेम श्री वात्यायनको तपोभूमि छेउछेउमा 'काम से राम कि और'का लेखक प्रेमगुरु रजनिशको नामबाट कम्युनको स्थापना हुनु सुखद आध्यात्मिक संयोग थियो सायद ।
तर संयोगमात्र संयोग भयो । सुख ओशोको जिन्दगीजस्तो छोटोछोटो भयो । रजनिशका 'ऐतिहासिक' शिष्य चिनमयले खोलेको विशाल 'रजनिश क्याम्प' किन धराशायी भयो ? किन बन्द भयो ? किन चिनमयले पोखराको आ श्रम बेचेर पुने पुगे ? किन त्यहाँबाट पनि हिमाञ्चल हानिए ? किन उनी एकपटक पनि फर्केर नेपाल आएनन् ?
के नेपालका तत्कालीन रजनिश समर्थकले यो क्याम्पलाई जीवित राख्न कुनै प्रयत्न गरेनन् ? गरेको भए के गरे ? के ओशो सन्न्यासीकै धर्म–राजनीतिले यो धराशायी भयो ? प्रश्नको उत्तर सजिलो छैन तर नेपालका पुराना सन्न्यासी सबैसँग यसको उत्तर छ । दुःख यही छ कि सबैसँग यसको उत्तर फरकफरक छ । उत्तरका कुरा अर्को कुनै आर्टिकलमा ओकलुँला ।
०००
तीन सय ६५ रोपनीको विशाल कम्पाउन्ड अत्यन्त अग्लो पर्खालले घेरिएको थियो । आठ/दस फिटकै थियो कि ! पर्खालमाथि काँडेतार लगाउन फलामे 'एंगल' राखिएको थियो तर काँडेतार भने हालिसकिएको थिएन । चीनमा ठूलो अग्लो ग्रेटवाल पर्खाल छ भनेर कक्षामा पढ्दै गर्दा म ग्रेटवाललाई रन्जिश क्याम्पको त्यही पर्खालसँग 'एसिमिलेट' गर्थेँ ।
क्याम्पको खास आकर्षण भने मलाई थिएन । बरु उत्सुकता थियो, यत्रो पर्खालले घेरेर राखिएका साना राता घरमा के होला ? को बस्छन् होला ? के गर्छन् होला ? यो प्रश्नको उत्तर मैले कहिल्यै पाइनँ । गाउँभरि हल्ला त थिए, तर हल्लालाई उत्तर के मान्नु ।
गाउँका हल्ला यतिबिघ्नका थिए कि एकलै रजनिश क्याम्पतिर जान डर लाग्थ्यो । मेरो घरमा गफ हुन्थ्यो कि 'त्यो रन्जिशका गुरुले दिनको एक बोड्को मान्छेको रगत खान्छन् रे !' यस्ता 'रे'का शृंखला कति थिए कति । 'तिनीहरू धनीबाबुका बिग्रेका सन्तान हुन् । तिनीहरू लागूपदार्थ खान्छन् । खासमा यिनीहरू एकखाले पागल हुन् । तिनीहरू नाङ्गै नाच्छन् र अर्काकै मुखेन्जी खुलेआम यौन संसर्ग गर्छन् ...।'
यस्ता हल्लाको प्रभाव यति ठूलो थियो कि रजनिश क्याम्पको स्थापनादेखि अन्त्यसम्म नै यसले स्थानीय गाउँलेहरूको सहयोग पाएन । त्यसो त क्याम्पका सन्न्यासीले पनि अशिक्षित गाउँलेको आफ्ना मान्यतालाई आघात नपुर्‌याउन खास सचेत भएनन् । छिनेडाँडाकै ओशो सन्न्यासी शिव पोख्रेलका अनुसार क्याम्पको वहानामैं सही, गाउँलेले आफ्नै गाउँको विकासका लागि आएको बिजुली र पानीको लागि समेत सहयोग गरेनन् । न पाइप बिच्छ्याउन र बिजुलीको पोल गाड्न मद्दत गरे । बरु उल्टै पटकपटक खानेपानीको पाइप काटिदिए । निर्माणाधीन पर्खाल भत्काइदिए । ध्यान चलिरहेका बखत भित्र ढुंगा हाने ।
एउटा घटना सम्झन्छु । सायद म कक्षा तीन/चार मा पढ्दाताका हो । एक दिन स्कुल हापेर हाम्रा हलीदाइ प्रसाद परियारको छोरा सूर्यसँग माछा मार्न गएको थिएँ । ओखलढुंगा भनिने सेती नदीको किनारमा ठूलो मूल थियो । मूलमा दुवालो थुनेपछि माछा कति मर्थे कति । हामी माछा छोप्दै थियौ अचानक नदी किनारबाट गर्याङगुरुङ आवाज आयो । त्यो ठाउँ मान्छे पोल्ने घाट पनि हो ।
त्यसैले डर लाग्यो र दगुर्दै हेर्यौँ । ८/१० जना नचिनेका वयष्क मान्छेहरू नुहाउँदै थिए । महिला र पुरुष बरोबरी थिए । प्रायः सबै सर्वाङ्ग नाङ्गै थिए । कुनै च्याट्ठिएर चिच्याउँदै थिए । कुनै लमतन्न आकाशतिर फर्केर सुतेका थिए । एक जोडी नरनारी छिल्लिएर साबुन दलेको शरीर बेर्दै अँगालिएका थिए ।
त्यहाँ कुनै लाजको अंश थिएन । एकछिनपछि हामीले हेरिरहेको एउटा मान्छेले थाहा पायो । ऊ नेपाली थियो । नेपाली भाषामै हामीलाई हकार्यो । हामी डराइडराई घर फर्कियौं । ममाँ नांगो स्त्री–शरीर हेर्ने रहर पलाइसकेको थिएन । धेरै मान्छेलाई एकसाथ नाङ्गै देख्दा सातो गयो । सूर्य र म भाग्दै माथि आयौं । यो घटना सायद एकपटक मात्रै भएन । अरु बेला पनि भयो होला । गाउँलेले देखे हुनन् । क्याम्पप्रतिको गाउँले मनोविज्ञान यस्तै घटनाहरूले बनाएको होला ।
रजनिश क्याम्प हामी केटाकेटीको 'हन्टिङ रिजोर्ट' थियो । क्याम्पभित्र रसिला किम काफलका सयौं बोट थिए । स–स्यानो जंगल नै थियो त्यो । वसन्तयाममा कलेजी भएर पाकेका किम काफल खाँदैनथ्यौं मात्र, तिनलाई निचोरेर मसी बनाउँथ्यौ । काफल निचोरेको रङलाई कचौरामा राखेर दिनभर घाममा टट्टाइदियो भने त्यो गजबको बाक्लो मसी हुन्थ्यो ।
मैले क्याम्पभित्र बस्नेमध्ये कसैलाई चिनेको थिइनँ, न त अनुहार सम्झन सक्नेगरी प्रत्यक्ष देखेको मात्रै पनि थिएँ । तर एकजना थियो । अग्लोअग्लो डरलाग्दो मान्छे । हामी उसलाई रन्जिश किस्ने भन्थ्यौं । काफल चोरेको थाहा पाउनेबित्तिकै ऊ ताससमान बेगमा कताबाट आइपुग्थ्यो कताबाट । हामी पनि झटपट बोटबाट ओर्लन्थ्यौं । काँडेतार फट्याएर फुत्त बाहिरिन्थ्यौं र कुलेलम ठोक्थ्यौं ।
ठूलो ज्यान भएका कारण सबै रन्जिशेहरू काँटेतार फट्याएर हामी जसरी छिर्न सक्दैनथे । हामी तारबाहिर हुन्थ्यौं उनीहरू भित्रै । तर रन्जिश किस्नेको कुरै अर्को थियो । ऊ त करिब पाँच फुट अग्लो काँडाको तार फिडिक्क फड्किदिन्थ्यो र हामीलाई खेद्दै टाढाटाढा पुर्‌याउँथ्यो । एउटा न एउटालाई नभेटी छोड्दैनथ्यो । हात र लात्तीले बरोबरी पिट्थ्यो । खल्तीको काफल खोसेर फालिदिन्थ्यो । रन्जिस किस्नेलाई छल्ने एउटै उपाय थियो । उसको भटभटे । उ बुलेट बाइक चढ्थ्यो । गाउँभरिको एकमात्र भटभटे हल्लाखल्ला गर्दै जब सहर जान्थ्यो हामी क्याम्पको काफलका टिप्न हानिन्थ्यौं ।
मेरो बाल मनोविज्ञानमा रन्जिश किस्नेको डरको प्रभाव अति गहिरिएर परेको रहेछ । बीए पढ्दाका बखत ओस्कर वाइल्डको 'द सेल्फिस जाइन्ट' भन्ने कथा पढ्नु पथ्र्यो । त्यहाँ एउटा राक्षसले आफ्नो बगैंचामा पस्ने केटाकेटीलाई खेद्दै लखेट्थ्यो । त्यो कथा पढ्दा मैले झल्झली रजनिश किस्नेलाई सम्झिएँ । कथा पढेको केही दिनपछिको रात सपनामा रजनिश किस्ने आयो । मलाई उसले खेद्दै लखेट्यो । म काँडेतारमा अल्झिएँ । भाग्नै सकिनँ । ... बीए पढ्दाको उमेरमा बाल्यकालीन सपना देखेर म हैरान भएको थिएँ ।
तिनै रजनिश किस्नेलाई मैले सौराहको ध्यान केन्द्रमा २०५३ सालमा भेटेँ । मित्र महेश भण्डारी र म थियौं । मैले त देखेर चिनिहालेँ । बोलेँ पनि । धेरै पछि मात्र मलाई थाहा भयो कि पोखराको रजनिश क्याम्पको व्यवस्थापनको मुख्य भूमिका यिनैले निभाएका रहेछन् । यिनको खास नाम गुणचन्द्र विष्ट रहेछ ।
राजनीतिकर्मी रूपचन्द्र विष्टका भाइ रहेछन् यिनी । यिनकै पहलमा आफ्नो प्रधानमन्त्रीकालमा कीर्तिनिधि विष्टले क्याम्प भ्रमण गरेका थिए भनेर पोखरेली ओशो सन्यासी तथा चित्रकार गोपाल भारती बताउँछन् । प्रधानमन्त्रीले नै क्याम्पसम्म बिजुली पुर्‌याउन मद्दत गरेका थिए रे !
०००
रजनिश क्याम्प कहिल्यै 'ओशो क्याम्प' हुन पाएन । तथापि ओशोको देहान्त भएको चार÷पाँच वर्षसम्म पनि यो ठाउँ जस्ताको तस्तै थियो ।
रजनिश काठमाडौं आएका बखत उनको दर्शन गरेका तर ओशो दर्शनदेखि टाढा रहेका स्थानीय समाजसेवी जेबी कुँवरका अनुसार क्याम्पको निर्माण र सञ्चालनमा नेपाली सन्न्यासी र प्रेमीहरूको ठूलो योगदान थियो । आत्मतीर्थ भारतीले त त्यो बेलामै करिब एक लाख सहयोग गरेका थिए !
एकजना वान्तवा थरका सन्न्यासीले पनि ठूलो सहयोग गरेका थिए । पोखरेली व्यापारी मथुरा साहु (देव चैतन्य), उनका भाइ मुक्तिलाल (धर्म चैतन्य), गोपाल श्रेष्ठ (गोपाल भारती), गोविन्दहरि पालिखे, सुवर्ण कायस्थ (सत्यम् भारती), अर्जुन श्रेष्ठ, सप्तबहादुर थापाले दिलोज्यान दिएर स्वयम् सेवा र सहयोग गरेका थिए ।
रमाइलो कुरा त के भने एमालेको नौ महिने शासनकालमा जल तथा उद्योगमन्त्री भएका पोखराका प्रख्यात उद्योगपति हरि पाण्डे आफैंले क्याम्पको फलामे गेटको 'डिजाइन' र 'वेल्डिङ' गरेका थिए । त्यो गेट अझै उस्तै छ । उस्तै छन् रजनिशको प्रतीक चिन्हस्वरूप गेटमा कुँदिएका उडिरहेका दुई थान चरा पनि ।
८/१० जना नचिनेका वयष्क मान्छेहरू नुहाउँदै थिए । महिला र पुरुष बरोबरी थिए । प्रायः सबै सर्वाङ्ग नाङ्गै थिए । कुनै च्याट्ठिएर चिच्याउँदै थिए । कुनै लमतन्न आकाशतिर फर्केर सुतेका थिए ।
क्याम्पमा सबैभन्दा पहिला दुई/तीन सय जना अटाउने ध्यान हल र भान्छाकोठा बनाइएको थियो । योग चिनमयको लागि क्याम्पको बीचमा दुइटा गोलघर बनाइएको थियो । 'अट्याच फ्रेसरुम' भएको शयन कक्षसँग जोडिएको अर्को कक्षमा पुस्तकालय थियो । शिविर चलेका बेलामा सुत्न बस्नका लागि सप्तबहादुर थापाको स्टोर्सबाट जस्तापाताहरू लगिन्थे र अस्थायी टहरा बनाइन्थे ।
त्यो सुरुवाती कुरा थियो । पछि त सुविधायुक्त स्थायी शयनकक्षहरू पनि निर्माण भए । स्विमिङ पुल बन्यो । गौशाला बन्यो । बन्जर जमिन कोतरेर मलिलो खेत बन्यो । खरबारी फाँडेर हरियो बगैंचा बन्यो । तीन सय ६५ रोपनीको त्यो विशाल क्याम्पमा कामदारकै आँखा हैरान हुने गरी छिटोछिटो काम भयो । काम भइरहेकै अवस्थामा एकदिन अचानक 'रजनिश क्याम्प' बन्द भयो । पश्चिमपट्टि लगाउँदै गरेको पक्की पर्खाल त पूरा पनि भएको थिएन । न त पर्खाल माथिका फलामे 'एंगल'मा तार कसिएको नै थियो । बस् बन्द भयो ।
चित्रकारसमेत रहेका गोपाल भारतीलाई क्याम्पको सम्झना एउटा चित्र जस्तो लाग्छ । रङहरूको विम्बजस्तो । उनी सम्झन्छन् कसरी उनीहरूले रजनिशको जन्मदिन क्याम्पमा धूमधामसँग मनाएका थिए । त्यो क्याम्प स्थापनाको पहिलो वर्ष थियो । प्रिय गुरुको जन्मदिनको चिनो राखेर उनीहरूले क्याम्प परिसरमा एउटा गोब्रे सल्लाको बोट रोपेका थिए । त्यो बोट हाँगा छिमलिएको अवस्थामा अहिले पनि छ ।
त्यसो त क्याम्पको भौतिकता अहिले पनि धेर थोर उस्तै छ । पानी नभरिए पनि स्विमिङ पुल दुरुस्त देखिन्छ । गौशाला भएको ठाउँ प्लटिङले खाए पनि गाईलाई दाना राख्ने 'डुँड' अझै भत्केको छैन । मैले बाल्यकालमा चोरेर खाएका काफल, अम्बा र अरु फलफूलका भने एउटै रूख पनि छैनन् । भवन मुन्तिरको विशाल फलफूल बगैंचामा अहिले जंगली सिसौका पोथ्रा र प्लटिङले काटेका घडेरीका चिराचिरा देखिन्छन् ।
क्याम्पको मुख्य भवन भएको स्थानमा एउटा कलेज स्थापना भएर चलेको हुनाले पनि पुराना बगैंचा र भवन धेरथोर जोगिएका हुन् । अझै पनि कलेजले खानेपानीको पुरानै ट्यांकी प्रयोग गरेको छ । तर योग चिनमय बस्ने गोलघरका दुवै कक्षलाई 'मोडिफाई' गरेर अहिले भान्छाघर बनाइएको छ । त्यसो त भर्खर ८५ वर्ष पुगेका स्वामी आत्मतीर्थले क्याम्पकालीन आफ्नो जवानीको पुरानो ओशोप्रेमको यादलाई मेट्न दिएका छैनन् ।
क्याम्पको दक्षिणी भेगमा 'अवशेष' जस्तै उनको एउटा निजी ध्यान केन्द्र छ । जहाँ उनी बेलाबेलामा आउँछन् । ध्यान गर्छन्, गराउँछन् । आफ्नो सम्झनाको एल्बमबाट 'नियो सन्न्यासी क्याम्प'को धुमिल तस्बिर निकाल्छन् र काठमाडौं बोकेर लैजान्छन् । अब त उनी पनि बुढो भइसके । उनको यादको तस्बिर बोकेर काठमाडौं लगिदिने पनि अब को पो होला र ?
०००
मसँग जोडिएको हकमा रत्तिभर लामो कथा छैन पोखराको रजनिश क्याम्पको । तर यसको सम्झनाको छाया मायावी तौरले बसेको छ मेरो हृदयमा पनि ।


http://www.annapurnapost.com/news/55297

YouTube